संस्कृत महाकाव्य परम्पराको संक्षिप्त अध्ययन

- नारायण बराल

१. विषय परिचय
कविता साहित्यको पुरानो विधा हो जसको सम्पर्कमा आउनासाथ मानव हृदयका सुषुप्त तन्त्रिहरु एकाएक जुर्मुराएर उठ्दछन् । कविता विधा सिर्जनात्मक लेखनको सर्वोत्तम प्राप्ति हो । जीवनमा कुनै न कुनै समयमा व्यक्तिले कविता लेख्दछ अन्य विधामा क्रियाशिल साहित्यकारहरु पनि कविता लेखनमा लालयित देखिनाले कविता सम्पूर्ण साहित्यकारहरुको परम रुचिको विषय बनेको छ भन्ने गरिन्छ । सौन्दर्यका दृष्टिले उच्चतम प्राप्ति र गुणवक्ताको दृष्टिले महत्वपूर्ण स्थान राख्न सफल कवितामा रागात्मक भाषाको प्रयोग हुने गर्दछ । विश्व साहित्यलाई हेर्दा कविता विधाका कृतिहरुले सर्वोच्च ख्याति प्राप्त गरेका छन् । कविता काव्यमात्रको श्रृङ्गार हो । जब कुनै भावना कल्पनालाई बाहन बनाई चुनिएको उपयुक्त पदावलीमा अभिव्युक्त हन्छ, तब त्यसलाई कविता भनिन्छ । सत्य र शिवलाई सौन्दर्यको आवरणमा प्रस्तुत गरी हृदयलाई आह्रादित गर्नु कविताको मुख्य धर्म हो (उपाध्याय २०४९ः२०) ।
साहित्यिक विधाको सर्वोत्तम शिखर चुम्न सफल कविता विधाकै श्रेष्ठतम रुप महाकाव्य हो । महाकाव्यलाई मानव सस्कृतिको समृद्ध भण्डार थेग्ने ढुकुटीका रुपमा हेर्न सकिन्छ । ज्ञानको विशिष्टीकरण भईनसकेको अवस्था र मानवहृदयमा सञ्चित र्आिर्जत ज्ञानलाई संरक्षण तथा जनमानसमा पु–याउन सञ्चार गर्ने युग माध्यमहरु (साधनहरु) सुविधा नभएको अर्थात् उपलव्ध नरहेको तत्कालिन प्राचीन समयमा कविताको यही महाकाव्य रुपले मानवीय ज्ञान र अनुभवलाई आफूमा समेटेर सभ्यता र संस्कृतिको महत्तम अभिलेख बन्न गौरव प्राप्त छ । कविताको विस्तारको सामथ्र्य, कलात्मक वैभव, सवल आख्यानकारिता, जीवन्त चरित्र एवं विविध विपुल सामग्री सङ्गग्रहका आधारमा महाकाव्यलाई महिमा युक्त विधाको श्रेणीमा विराजित गरिएको पाईन्छ ।
संस्कृत महाकाव्य परम्पराको वीज विन्दुका रुपमा वैदिक साहित्यलाई लिने गरिन्छ, जसमा सर्वाधिक मनोहर कल्पनात्मक काव्यात्मक उन्मेषयुक्त कवि प्रतिभाको दर्शन पाईन्छ । विश्वसाहित्यमा प्राचीनतम अभिव्यक्तिहरु ऋषिहरुले देखेका मन्त्रहरु नै हुन् । यिनै मन्त्रहरुको सङकनलाई वेद भनिन्छ । यी मन्त्रहरु विभिन्न संहितामा विभाजित गरिएका छन् । यस समयको समष्टि नाम वैदिक युग हो (खनाल २०६३ ः२) । वैदिक साहित्यमा काव्यतत्वको विशिष्ट अस्तित्व दृष्टि गोचर त हुन्छ तर महाकाव्य शैलीको पूर्ण परिपाक कतै प्राप्त हुँदैन । निःसन्देह पुराणहरुमा कतै कतै काव्यसौष्ठवको दर्शन हुन्छ तैपनि काव्यमयी शैली, कथावस्तुको एकसूत्रता, मनोरम र उदात्त वस्तुको वर्णन अप्राप्य हुनु तथा निरस श्लोकहरुको प्रार्चुयको कारण पुराणलाई पनि महाकाव्य परम्पराको मुलपटभित्र सजाएर राख्न सकिदैन । पूर्वीय संस्कृत साहित्यमा रामायण र महाभारत वैदिक संस्कृत युग तथा लौकिक संस्कृत युगका सन्धिकालिन प्रतिनिधि ग्रन्थ हुन् । यिनै महाकाव्यबाट संस्कृत वाङमयले वैदिक युग अन्त्य गदै लौकिक युगको आमन्त्रण गरेको हो (शर्मा २०६३ः५७) । लौकिक संस्कृत परम्परामा महाकाव्यको सर्वप्रथम प्रतिष्ठा आदिकाव्यका रुपमा आदिकवि वाल्मिकिको रामायण आर्ष महाकाव्य देखापर्छ । यस काव्यलाई लोकस्तरका मौखिक परम्पराका गाथा र अन्य विभिन्न गाथाहरुको विकसित रुप ठानिन्छ । यही वाल्मिकिको रामायण नै संस्कृत परम्पराको प्रथम महाकाव्य हो (त्रिपाठी २०५३ः२६४)। रामायण वास्तवमा आप्mनो कोटिको अनुपम रचना हो र यो परवर्ती महाकाव्यको तुलनामा काव्यकौशलका दृष्टिबाट निकै उच्च छ साथै परवर्ती महाकाव्य काव्य र नाटकको प्रेरणा स्रोत पनि हो । जबकी अन्य महाकाव्यका साथ यसलाई नराखेर आदि काव्य नाम दिई विद्धानहरु अद्धीतीय कोटिको ग्रन्थ स्वीकार गर्दछन् । यस प्रकार वाल्मिकिद्धारा रचिएको रामायणबाटै संस्कृत महाकाव्यको अजस्र परम्पराको सुरुवात हुन्छ । यसपछि संस्कृत महाकाव्य परम्पराको परम्परामा संसारकै वृहत महाकाव्य महाभारत देखापर्दछ । यसको काव्यात्मक मूल्य भन्दा ऐतिहासिक मूल्य बढी छ । यी दुबै महाकाव्य उत्तरवर्ती संस्कृत साहित्यका उपजीव्य ग्रन्थ हुन् । समष्टिमा संस्कृत महाकाव्य परम्परालाई मुख्य रुपमा तीन चरणमा विभाजन गरी अध्ययन गर्नु सान्दर्भिक हुन्छ ।
१. प्रथम चरण – आर्ष महाकाव्यकाल –(इ पू ६०० देखि इ.पू १००० सम्म)
२. द्धितीय चरण – कलात्मक महाकाव्यकाल –(इ पू ५०० देखि इसाको चौथो शताब्दी)
३. तृतीय चरण – विचित्रमार्गी महाकाव्यकाल –(इसाको पांचौ शताब्दीबाट बाह्रौ शताब्दी)




१.१ आर्ष महाकाव्यकाल
१.१.१ प्रमुख प्रतिभा र महाकाव्यात्मक प्राप्ति
आर्ष साहित्य भन्नाले वैदिक युगपछि लौकिक युगमा लेखिएका ऋषिहरुबाट तयार गरिएका साहित्य हुन् यसमा रामायण र महाभारत पर्दछन् । ऋषि परम्परामा लेखिएको साहित्यको श्रृङ्खलामा वैदिक र लौकिक साहित्यको सेतुबन्धका रुपमा उदाएका आदिकवि वाल्मिकि र पूर्वीय लौकिक संस्कृत साहित्यको दोस्रो ऐतिहासिक महाकाव्य महाभारतका रचयिता व्यास हुन् (शर्मा २०६३ः७०) । जसले विभिन्न गाथाहरुको व्यवस्थित प्रबन्धन गरेर रामायण र महाभारतजस्ता महाकाव्य प्रदान गरेर जुन विश्व साहित्यकै महान् कृतिका रुपमा प्रतिष्ठित भएको स्पष्ट हुन्छ । यिनै महाकाव्यबाट संस्कृत वाङ्मयले वैदिक युगको अन्त्य गर्दै लौकिक युगको आमन्त्रण गरेको हो । यसप्रकार संस्कृत महाकाव्ययात्राको ऐतिहासिक मूल उद्गमस्थलका रुपमा आफूलाई प्रतिस्थापित गराएर यी दुई उपजीव्य काव्यले महाकाव्यका सबै प्रवृत्तिहरुको सम्यक् दर्शन गराईदिए ।
१.१.२ महाकाव्यात्मक प्रवृत्ति र मूल्याङ्कन
कविता विधामा सामान्यतः स्वीकार गरिने पाँच उत्तरोत्तर विस्तारित श्रेणीहरुमध्येका वृहत् तथा वृहत्तर÷वृहत्तम दुवै रुपको समष्टि संज्ञा महाकाव्य नै हो । लौकिक संस्कृत परम्पराका आदिकाव्यका रुपमा आदिकवि वाल्मिकिको रामायण नै संस्कृत परम्पराको प्रथम महाकाव्यको रुपमा देखा पर्दछ । चौबीस हजार श्लोकको यस महान कविताकृतिले कविताको वृहत्तर रुपको प्रतिनिधित्व गर्दछ जसलाई आर्ष महाकाव्य भनिन्छ (त्रिपाठी २०५३ ः६४ ) । वाल्मिकिकृत रामायण संस्कृत साहित्यको प्रथम महाकाव्यमात्र नभएर विश्व साहित्यको प्राचीनतम महाकाव्यहरुका तुलनामा भाव, भाषा, शैली, परिश्कार, रचना विधान, रसव्यञ्जना, छन्द योजना दृष्टिबाट समेत एक उत्कृष्ट कृतिका रुपमा प्रतिष्ठित भएको स्पष्ट हुन्छ । यस महाकाव्यमा प्रसङ्ग अनुसार श्रृङ्गार, वीर र करुण रसमा काव्य प्रवाहित भएता पनि करुण रसकै अधिक्य भेटीनुको साथै तत्कालीन समाजको राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक जस्ता अनेक पक्षहरुको छाँया वाल्मिकि रामायणमा देख्न पाइन्छ । अनुभूति र अभिव्यक्तिको कलात्मक प्रस्तुतिकर्ताका साथै ऋतुहरुको मनोहर वर्णन गदै ठाउँ ठाउँमा उपमा, रुपक अनुप्रास, प्रभृति अलङ्काकार चमत्कारीक प्रस्तुति पाइन्छ ( भट्टराई २०५५ः ७ ) । काव्यको अभिव्यक्तिमा सरसता, सरलता र स्वाभाविक जस्ता विषयक पाइनु तथा लघु समासविहीन पदहरुमा वाल्मिकिले भावहरुको अभिव्यञ्जना गरेका छन् (शर्मा २०६३ः ६७ ) । प्रकृतिको स्वभाविक चरित्रको अङ्कन रस –परिपाक र अलङ्गकृत काव्य भाष।को प्रयोगले रामायणले उत्कृष्टता प्रदान गरेको छ । शब्द र अर्थको योग, राजधर्म, पारिवारिक मर्यादा, नारीधर्म, आदर्श बन्धुत्व, परहितकारी, उदात्तता, धर्मानुकूल आचरण, दीन पीडितहरुको संरक्षण आदि प्रवृत्तिजस्ता मूल्यवान गुणहरुले गर्दा रामायण महाकाव्य कालजयी शाश्वत काव्यका रुपमा प्रतिष्ठित भएको छ ।
ब्यासद्धारा रचित र आजसम्म फेलापरेको पुस्तकहरुमध्ये संस्कृत वाङ्मयमा सबभन्दा बृहत ग्रन्थ हो महाभारत । यसमा एक लाख श्लोक महर्षि ब्यासले रचना गरेको पाईन्छ । ब्यासद्धारा रचित संस्कृत महाकाव्य परम्परामा संसारकै बृहत महाकाव्यात्मक रुपमा देखापरेको महाभारत महाकाव्य हो । वृहत कथानक, आख्यानात्मकता जस्ता विशेषताले युक्त महाभारत संङघषर््ाशील, वैविधमुलक, यथार्थमुलक, चरित्रहरुको जमघट हो । कौरव र पाण्डवका बिचको युद्धलाई मूल विषय बनाइनुको साथै व्यवहारिक जीवनका विविध समस्याको समाधानको लागि पनि महाभारत उत्तिकै उत्प्रेरक छ (खनाल २०६३ः२९ ) । महाभारत धार्मिक, अर्थनीति, युद्ध नीति र मोक्षमार्ग आदि सबैको प्रस्तुति भएको महाकाव्यका रुपमा लिईन्छ (शर्मा २०६३ः ८० ) । धार्मिक, सास्कृतिक, सामाजिक, आध्यात्मिक तथा भक्तिपूर्ण, ऐतिहासिक आदि विभिन्न विषयवस्तुहरुको प्रस्तुतिले पनि यस काव्यको उचाई प्रशंसनीय रुपमा रहेको छ । यस ग्रन्थमा उपजाति र अनुष्टुप छन्दको प्रयोग तथा शान्त रस छताछुल्ल भएर प्रवाहित भएपनि प्रसङ्गनुकल वीर, करुण, श्रृङ्गगार र हाँस्य रसहरुको पनि उपस्थिति पाईन्छ ।
यस महाकाव्यमा अधर्मको नाश पश्चा्त धर्मको ऐतिहासिक विजय देखाएर कर्मको जुन महामन्त्रको उद्धोष गरेको छ त्यसले महाभारतलाई पञ्चमवेदको अमिधान प्राप्त छ । रामायणमा जत्तिको भाषाशैलीगत परिष्कृत नभए पनि यसको कलापक्षको अद्धितीय गुण हो सुवोधभाषा । दहीमा नौनी, मनुश्यमा बा्रह्मण, वेदमा आरण्यक, औषधिमा अमृत, जलाशयमा समुद्र र समस्त इतिहासमा महाभारत श्रेष्ठ छन् भनि प्रशंसा गरिएको यस ग्रन्थमा यस भनाईले पनि महाभारतको स्थानको मूल्याङ्ककन् गर्न सकिन्छ । चार पुरुषार्थ धर्म, अर्थ ,काम र मोक्ष यी चारै विषयमा जो जहाँ छ त्यो अन्यत्र पनि पाईन्छ जुन कुरा यहाँ छैन त्यो अन्यत्र कहंी पनि पाइदैन यो भनाइबाट कति विशाल र कति व्यापक महाभारत रहेछ भन्ने अनुमान गर्न सकिन्छ (भट्टराई २०५५ः१२ ) ।
धार्मिक विचार र आध्यात्मिक भावनाले अभिप्रेरित भएको यस काव्यको आख्यान हृदयस्पर्शी घतलाग्दो र स्वाभाविक छ । संस्कृत वाङ्मयको महासागरको रुपमा स्थापित भएको यस महाकाव्यलाई गहिरिएर अध्ययन गर्दा महाभारतको उद्देश्य मानवजातिको भौतिक जीवनको निःसारता बताएर मोक्षमार्ग तर्फ प्रवृत्त गराउनु हो (शर्मा २०६३ः७१ ) । महाभारतमा बगिरहेका गण्डकीतुल्य प्रवाहले आपनो प्रवल प्रवाहमा बगाएर अहृदयलाई सहृदय, अज्ञलाई विज्ञ, निरसलाई सरस, अनीतिज्ञलाई नीतिज्ञ, पापात्मालाई पुण्यात्मा र अन्ततः नरलाई नारायण बनाईदिन्छ । व्यासद्धारा रचित यो महानकृति बृहत ज्ञानराशि इतिहास, पुराण, बृहत महाकाव्य र धर्मग्रन्थ तथा व्यापकता र महाकाव्यको विस्तारको उत्कर्ष हो महाभारत ।
निचोडमा भन्दा रामायण र महाभारत दुबै ऐतिहासिक विशेषता बोकेका आर्ष महाकाव्य हुन् । महाकाव्यको तुलनात्मक अध्ययन गर्दा कतिपय तथ्य असमानताका रुपमा देखापर्नु स्वाभाविक हो । जे भएपनि विश्व साहित्यकै अद्धितीय रत्नका रुपमा रामायण र महाभारत स्थापित भएका छन् । रामायण र महाभारत रचना वेदमुलक हुनुको साथै ऋषिद्धारा रचिएका छन् । यस आर्ष कालमा काव्यहरु÷कृतिहरु आध्यामिक भावना र हिन्दु धर्मदर्शन सम्बन्धी सिद्धान्तमा आधारित छन् । ऐतिहासिक तथ्यलाई कल्पना, अलङ्कार र लक्षणका माध्यमबाट शिल्प जड्दै ज्ञान, दर्शन, र्वैराग्य भक्ति, धर्म, सस्कृति विषय अङ्कित भएको पाइन्छ । ग्रन्थहरुबाट पुरा वा आशिंक विषयवस्तु लिएर काव्यग्रन्थ रचित नैतिक मर्यादा कायम गरी सच्चरित्र र आदर्श समाजको सृजनामा आर्ष महाकाव्यकाल सफल भएको छ ।

२. कलात्मक महाकाव्यकाल
२.१ प्रमुख प्रतिभा र महाकाव्यात्मक प्राप्ति
रामायण र महाभारत महाकाव्यपछि कलात्मक महाकाव्य परम्पराको सुरुवात भएको हो । आर्ष महाकाव्यकाल पछि अश्वधोषको आगमन नहुन्जेलसम्म पाणिनीको पातालविजय वररुचिको वाररुचा आदि महाकाव्यको चर्चा र कतिपय उदधृतांश भेटिन्छन् । रामायण र महाभारत बाहेक कालिदास पूर्वका कुनै पनि कृतिहरु हाल उपलब्ध छैनन् । हाल अनुपलब्ध तर निकै चर्चामा आएको महाकाव्य पाणिनीको जाम्बवतीविजय हो जसलाई पातालविजय पनि भन्ने गरिरहेको पाईन्छ । कलात्मक महाकाव्य श्रृङ्गखलामा देखापरेका पाणिनी , अश्वघोष र कालिदास नै प्रमुख मानिन्छन । केही विद्धानहरु अश्वघोषलाई कालिदासका परवर्ती भन्ने पनि छन् तर प्रायः जसो विद्धानहरु कवि अश्वघोषलाई कालिदासका पूर्ववर्ती मान्दछन् र कृतिगत अन्तः साक्ष्यले पनि यस कुरालाई प्रमाणित गर्छ । कालिदास भन्दा परवर्ती वा पूववर्ती जे भएपनि यिनी कलात्मक महाकाव्य कालका विशिष्ट प्रमुख प्रतिभाशाली कवि हुन् । संस्कृत महाकाव्यपरम्परामा यिनका सौन्दरानन्द र बुद्धचरित महाकाव्य देखापरेका छन् । बुद्धरचरितलाई नै आधार बनाई काव्यात्मक शैलीमा बुद्धधर्मको सन्देश प्रचार प्रसार गर्नु नै अश्वघोषको काव्यगत प्रयोजन हो । अलङकृत र सुरुचिपूर्ण तरिकाले कथावस्तुको संयोजन गरिएको सौन्दरानन्द महाकाव्यमा सिद्धार्थ गौतम जन्मनु भन्दा पूर्वको आख्यानको वर्णन पाईन्छ । जे होस संस्कृत महाकाव्य परम्परामा अश्वघोषको उपस्थितिले एक नयाँ मोड लिन्छ र कलात्मक महाकाव्यपरम्पराको थालनी हुन्छ ।
महाकवि कालिदास संस्कृत साहित्यका कलात्मक काव्याधाराका विशिष्ट प्रतिभा हुन् । पूर्वीय संस्कृत महाकाव्य विकासक्रममा महाकवि कालिदास दोसो्र चरणका कलात्मक महाकाव्य परम्पराका विशिष्ट प्रतिभा हुन् । प्राचीन महाकाव्यहरु मध्ये यिनको अति उच्च स्थान छ (शर्मा २०६३ः१०१) । कालिदासका दुईवटा महाकाव्यहरु मध्ये प्रारम्भिक अर्थात् पहिलो काव्य कृति कुमारसम्भव हो । यस महाकाव्यमा पौराणिक आख्यानलाई उपजीव्य वस्तुका रुपमा प्रयोग गरिएको पाईन्छ । यस काव्यलाई रामायणको प्रतिरुपात्मक रुपमा पनि लिईएको छ । उनको दोसो्र प्रसिद्ध महाकाव्य रघुवंश बहुनायक भएको महाकाव्य हो । कालिदासका कृतिहरुमा मात्र नभएर सिङ्गो संस्कृत साहित्यमा रघुवंश लाई उत्कृष्ट महाकाव्यका रुपमा लिईन्छ ।
यसरी महाकवि कालिदासको महाकाव्यकारिता आर्ष महाकाव्य र विचित्रमार्गी महाकाव्यको केन्द्रविन्दुमा कलात्मक काव्यशिल्पका रुपमा रहेकाले कालिदास पूर्वीय महाकाव्य परम्परामा कोसेढुंगा सावित भएको छ । संस्कृत साहित्यका अनन्य रत्नका साथै अतुलनीय काव्यशिल्पले कालिदास संस्कृत साहित्यका उज्ज्वल स्तम्भ बनेका छन् र विश्वसाहित्यमा नै विशेष चर्चित पनि छन् ।
२.२ महाकाव्यात्मक प्रवृत्ति र मूल्याङ्कन
संस्कृत महाकाव्यपरम्पराको स्वर्णिम युग कलात्मक महाकाव्यकाल हो । अश्वघोषका काव्यमा माधुर्य र प्रसादगुणको गरिमाले कुँदिएका, कृत्रिमताको नीरसताबाट टाढा रहेका अवश्घोषका कवितामा पाठकको हृदयलाई तान्न सक्ने खुबी देखिन्छ । परिचित र स्वाभाविक दृष्टान्त दिदै दार्शनिक आधारलाई पनि सुगम र सुबोध रुपले प्रकाश पार्नु यिनको विशेषता हो । कलात्मक महाकाव्य परम्पराको विशिष्ट प्रतिभाका रुपमा परिचित महाकवि कालिदासको रघुवंश र कुमारसम्भव महाकाव्यको स्थान संस्कृत काव्यमा विशिष्ट छ । यस स्वणर््ािम युग कालिदासीय काव्यपरम्परामा सुकुमार काव्यशैलीमा ब्यञ्जित छ । उपमा, प्रकृति र रस उनका काव्य सौन्दर्यका सुन्दर नमुना हुन् भन्न सकिन्छ (रिसाल २०५८ः१० ) ।
कालिदासको महाकाव्यको विषयवस्तुमा पूर्वीय धर्म दर्शनमा प्रतिबिम्बित आर्य सस्कृतिको अभिव्यक्ति पाईन्छ । आर्य सस्कृतिका षोडस संस्कार, धार्मिक कार्य, पितृऋण, देवगण, आचार्यऋण जस्ता कुराहरु समावेश गरिएका छन । परिवेश चित्रणका क्रममा प्रायः नागर परिवेश अर्थात् शहरिया परिवेशलाई अँगालेका छन् । आंिशक रुपमा ग्रामीण सभ्यताको चित्रण रहेपनि अपेक्षागत रुपमा शहरी सभ्यताको विलासी जीवनको चित्रण नै यिनको प्रमुख पक्ष हो । काव्यको प्रस्तुतिमा मनोहारिता पाईन्छ जसले गर्दा उनले प्रस्तुत गरेको काव्यका घटनामा चमत्कारपूर्ण र वर्णनमा सजीवता ल्याएर रस परिपाकमा मद्दत पु–याएका छन् । कविताको वाणीमा हृदयलाई आवर्जित गर्ने अनुपम शक्ति छ । पदगत माधूर्यका कारण पाठकलाई आकर्षित गर्ने खुबी यिनका कृतिहरुमा देख्न पाईन्छ । काव्यमा अपूर्व कल्पना शक्तिको वेजोड प्रस्तुति पाइन्छ । कथाको गूम्फन वा पात्रको चरित्राङनमा कल्पनाले चमत्कृत बनाउनुको साथै अर्मूत भावलाई मूर्त रुपदिन सफल भएका छन् । कल्पनामा परस्पर विरोधी र विसङगतिवादी भावनाहरुलाई एकान्वित तुल्याएर वर्णन गर्नुको साथै शैली र भाव दुवैपक्षबाट कालिदास उत्कृष्ट कल्पनाको नयाँ क्षितिज पहिल्याउने काव्यशिल्पी हन् । यसले उनको काव्य प्रवृत्तिलाई स्वच्छन्दतावादी बनाएको छ ।
महाकविका काव्यरचनामा अभिव्यक्तिको संक्षिप्ताको साथै विस्तृत विषयलाई पनि संक्ष्ोपमा भन्ने कलाको सामथ्र्य पाईनुको साथै व्यञ्जनाधर्मी सामथ्र्यको प्रयोग तथा मितव्ययी शब्द प्रयोगले काव्यकलामा संक्षिप्तता प्रदान गरेको छ तर पूर्णता भने रहिरहेको छ । पात्रको मनोभावना र परिवेशलाई सूक्ष्म ढङ्गले प्रस्तुत गरी पात्रको समाजसापेक्ष मनोवैज्ञानिकतालाई अँगाल्दै रसपरिपाकका दृष्टिले सिद्धहस्त कविका रुपमा परिचित कालिदासले प्रत्येक श्लोकलाई रसासिक्त बनाई सङ्ककथनमा पुग्दा रसपरिपाक बनाएका छन् । उपमा अलङ्ककार त उनको निजी पेवा जस्तै देखिन्छ । यिनको उपमा संयोजन वेजोड रहेकाले उपमा कालिदासस्य भन्ने उक्ति चर्चित रहेको पाईन्छ । यिनले नयाँ नयाँ उपमाहरुको उद्भावना गरेका छन् । उपमामा विशेष चमत्कारको अर्थ के हुन्छ भने कालिदासले अन्र्तजगत् र वाह्य जगत् दुवैबाट उपमा लिने गरेका छन् (शर्मा २०६२ ०६३ः ५३) । यिनले आपना काव्यमा जुन जुन उपमाहरुको प्रयोग गरेका छन् ती उपमाहरु जीवन्त देखिएका छन्, त्यसकारण उपमामा कालिदास जस्ता धनी व्यक्तित्वहरु जन्मेका छैनन् । प्रसाद, माधूर्य गुणको प्रयोग गरी काव्य रचना गरिहेका उनका काव्यकृतिमा विभिन्न शास्त्रीय छन्दको प्रयोगले लयात्मक हुन पुगेको छ । छोटा र मझौला दुवै प्रकारका योजनाबाट यिनका काव्य कृतिमा गेयता थपिएको छ ।
निश्कर्षमा महाकवि कालिदास संस्कृत साहित्यका अनन्य रत्न र अविजेय प्रतिभा हुन् । यिनको काव्यको भाषा सरल, सहज, सम्प्रेषणीयको साथै थोरै शब्दमा चमत्कारी भावको ध्वनन गर्ने क्षमता र सूक्तिमय अभिव्यक्ति पनि पाईन्छ । कालिदास आर्षमहाकाव्य र विचित्रमार्गी महाकाव्यको मध्यविन्दु वा सीमास्तम्भका रुपमा कलात्मक काव्यशिल्प लिएर देखापरेका हुनाले उनलाई संस्कृत महाकाव्य परम्पराको कोसेढुंगाको रुपमा लिइन्छ । यसरी हेर्दा सहज, सम्प्रेष्य भाषाशैली, व्यञ्जनाधर्मी काव्य शिल्प, सन्तुलित भावसंयोजन, कल्पनाको मोहकता, शिल्पकता, परिश्कार र स्वछन्दतावादी काव्यप्रवृत्ति जस्ता विशेषताहरु काव्यगत प्राप्ति हुन् ।
धर्म एवम् दर्शनका दुरुह जटिल एवम् कठोर तथ्य एवम् सिद्धान्तहरुलाई सामान्य पाठकसम्म पु–याउन सम्प्रेषणीय भाषाशैली र कोमल, सरल र अमृतमय भाव काव्य रचनाको आश्रय लिएका अश्वघोष र प्रकृतिको सूक्ष्मनिरीक्षण गर्ने र मानव हृदयमा अन्तनिर्हित भावतरङको व्यक्त गर्ने कौशल तथा शैली र भाव दुवै पक्षबाट उत्कृष्ट कल्पनाको नयाँ नयाँ क्षितिज पहिल्याउने काव्यशिल्पी कालिदासको उपस्थितिले एक नयाँ मोड लिन्छ र कलात्मक महाकाव्यपरम्पराको थालनी हुन्छ जसलाई संस्कृत महाकाव्यपरम्पराको स्वर्णकाल भनिन्छ ।
३. विचित्रमार्गी महाकाव्यकाल
ईशाको पाँचौ शताब्दीपछि पूर्वीय संस्कृत महाकाव्य परम्परामा कलात्मक महाकाव्यको युगपछि विचित्रमार्गी युगको प्रारम्भ हन्छ (शर्मा २०६३ः ११६ ) । विचित्रमार्गी महाकाव्य श्रृङ्खलाका प्रमुख प्रतिभाहरुमा भारवि, माघ, भट्टि र श्रीहर्षलाई स्वीकारिन्छ । सर्वप्रथम भारविले किरातार्जुनीयम नामक महाकाव्यको रचना गरे जुन काव्य तत्कालीन महाकाव्यीय शास्त्रीय परिभाषाको कसांैटीमा खरो रुपमा उत्रिएको छ । त्यसैले महाकाव्यपरम्परामा यस कृतिको स्थान सर्वोपरि छ भन्ने मूल्याङकन गरेको पाईन्छ (खनाल २०६३ ः४७ ) । भारविको यस महाकाव्यमा संस्कृत काव्यकलाको पूर्ण उत्कर्ष प्राप्त हुन्छ । उत्तरवर्ती महाकाव्यकारहरु भारविकै शास्त्रीय रचनाशैलीबाट प्रभावित भएको पाईन्छ । भट्टिको भट्टिकाव्य, माघको शिशुपालवध तथा श्री हर्षको नैषधीयचरित महाकाव्यमा पाण्डित्य प्रदर्शनकै शास्त्रीय धाराको प्रभाव देखिन्छ । यस युगका प्रथम प्रवर्तक भारवि हन् (शर्मा २०६३ ः ११७ ) । महाकवि कालिदास पश्चात् पनि महाकाव्य लेखन प्रक्रिया निर्वाध रुपमा अगाडि बढिरहयो तर कालिदासको काव्यकलालाई ग्रहण गर्ने कविहरुले उनको महाकाव्य लेखन परम्परालाई ठीक ढङ्गगले अगाडि बढाउन सकेनन् । फलतः कालिदासोत्तर महाकाव्य परम्पराले एक नयाँ मोड लियो ।
संस्कृत महाकाव्यको विकासलाई अध्ययन गर्दा कलात्मक महाकाव्य युगका अश्वघोष तथा कालिदास महाकाव्यपछि विचित्रमार्गी धारा सुरु हुन्छ । कलात्मक युगमा अश्वघोष तथा कालिदासले भाव र कला दुवैको संयोजन गरेर काव्य लेखेका थिए । पाँचौ शताब्दीपछि यो परम्परामा भाव पक्षको ह्रास र कला पक्षको वृद्धि हुँदै गयो । कालिदासको जस्तो काव्यसौन्दर्य, भारविको जस्तो अर्थगौरव , दण्डीको जस्तो पदलालित्यका साथै भट्टिको जस्तो व्याकरणपरक काव्यशैलीलाई एकत्र संकलन गरी विचित्रमार्गीलाई चरमोत्कर्षमा पु–याईदिए (गौतम २०५९ः६१) । यस समयमा शब्दलाई कसरी चमत्कार गर्न सकिन्छ र अलङ्कंकारको कसरी बढी प्रयोग गर्न सकिन्छ भन्नेतर्पm तत्कालीन समयमा काव्यकारहरुको ध्यान केन्द्रित हुन थाल्यो । क्षीण कथावस्तु, मानवजीवनका शाश्वत पक्षलाई महाकाव्यहरुले समेट्न नसक्नु, काव्यहरु स्वाभाविक भन्दा कृत्रिमतायुक्त हुनु तथा कविहरुको दृष्टि दरबारकै सेरोफेरोमा केन्द्रित हुनु जस्ता विशेषताले युक्त भएको पाईन्छ । यस समयमा क्लिष्टता र बौद्धिकतालाई नै काव्यको आत्मा मान्दै क्रमशः सुकुमारमार्गको ठाउँमा विचित्रमार्गको साम्राज्यले जरा गाड्यो । फलस्वरुप काव्यकारहरुले अक्षरारम्भ र अलङ्गकार विन्यासलाई प्रमुख रुपमा प्राथामिकता दिन थालेको पाईन्छ । त्यसको साथ साथै परिश्कृत संस्कृत शैली काव्यहरु स्वाभाविकभन्दा भिन्न अर्थात् कृत्रिमतायुक्त एवं अलङ्ककारहरुको बढी भन्दा बढी प्रयोग गर्दै कविहरुमा पाण्डित्य प्रदर्शन गर्ने होडवाजी देखिनु यस कालका महाकाव्यात्मक वैशिष्ट्य हुन् (खनाल २०६३ ः३६ ) । अतिशय कृत्रिमता र नरिवल काव्यलेखनका कारण महाकाव्य रसमय र सुस्वाद नभएर दुरुह एवं कष्ट साध्य भएकोले सामान्य पाठकको सीमाभन्दा बाहिर हुत्तिदै अपकालतर्फ उन्मुख भयो । सामान्य पाठकलाई उपेक्षागरी विद्धानमण्डलीको मनोरञ्जनको साधन बनेकोले बाह्रौ शताब्दीपछि संस्कृत महाकाव्य लेखिए पनि त्यति युगान्तकारी वैशिष्ट्य देखाउन सक्ने महाकाव्य जन्मन नसकेकाले यसपछिको समयलाई संस्कृत महाकाव्यको ह्रासोन्मुखकाल भनिन्छ ।
यसरी हेर्दा संस्कृत साहित्यमा प्राचीन आर्षकाव्यहरु कलात्मक महाकाव्य परम्पराका आरम्भ ठहरिन्छन् र तिनले अश्वघोष र महाकवि कालिदासको समयमा उत्कर्ष प्राप्त गर्छ । तत्पश्चात् भने महाकाव्य सुकुमारमार्गको ठाउँमा विचित्रमार्गको साम्राज्यले जरा गाड्यो फलस्वरुप काव्यहरु क्लिष्टता, बौद्धिकता, दुर्बोध्य, अस्वभाविकता भित्रिन्छ र संस्कृत काव्यपरम्परा अपकर्षतातर्पm उन्मुख बन्दै अगाडि बढ्यो । हाल यो विधालाई पुरानो विधाको रुपमा अध्ययन गरिन्छ ।

४. महाकाव्यक मोडका प्राप्तिको तुलनात्मक मूल्याङ्कंकन ्
१। आर्षमहाकाव्यहरु ऋषिद्धारा रचित छन् भने कलात्मक र विचित्रमार्गी काव्य व्यक्तिद्धारा रचिएको पाईन्छ ।
२। कथावस्तु तथा आख्यानतर्फ दृष्टिँिददा आर्षमा वृहत आख्यान र विविध विषयवस्तुलाई समेटेको पाईन्छ भने कलात्मक र विचित्रमार्गीमा आख्यान कम र एक विषयवस्तुलाई लिईएको हुन्छ । अतः विचित्रमार्गीमा आख्यान अझ झिनो रुपमा प्रयोग हुन्छ ।
३. पात्रको प्रयोगमा पनि आर्षमा धेरै पात्रहरुको उपस्थिति देखिनुको साथै विचित्र प्रवृत्तिका हुन्छन् । कलात्मकमा आवश्यक मात्रामा पात्रको प्रयोग छ तर विचित्रमार्गीमा पात्रको प्रयोग न्यून छ ।
४। आर्षमा पात्रहरु देवत्व गुण भएका छन् भने कलात्मकतामा केही मात्रामा देवत्व पाइएपनि विचित्रमार्गीमा देवत्वको ठाउँमा पूर्ण मानवीयको प्रयोग भएको पाइन्छ ।
५. आर्षले व्यापक परिवेश लिएको छ । कलात्मकले सामान्य परिवेश लिएको छ भने विचित्रमार्गीमा सूक्ष्म परिवेशको चित्रण पाइन्छ ।
६. आर्षमा सरल र सम्प्रेष्य भाषाको प्रस्तुति पाईन्छ । कलात्मक महाकाव्यमा कलात्मक र भावपूर्ण भाषाको संयोजन पाईन्छ भने विचित्रमार्गी दुर्बोध्य, अर्थ वैचित्र्यपूर्ण, ओजस्वी र आलङ्ककारिक भाषाको प्रयोग पाइन्छ ।
७. आर्षमहाकाव्यमा आख्यानात्मकताको प्रयोग पाईन्छ भने कलात्मकतामा साधारण आख्यान पाईन्छ तर विचित्रमार्गीमा आख्यानभन्दा अर्थवैचित्रय, वौद्धिकता र पाण्डित्य प्रदर्शनमा होड नै चलेको पाईन्छ ।
८. उद्देश्यको दृष्टिकोणबाट हेर्दा आर्षमा चतुवर्गफल प्राप्त गर्न सकिन्छ भने अन्यमा चारवटा फल मध्ये कनै एक फल पाउने उद्देश्य राखिएको छ ।
९. आर्ष महाकाव्य सरल र सहज छन् भने कलात्मक महाकाव्य हृ्रदयात्मक र मनछुने खालका पाईन्छन् र विचित्रमार्गीमा हृदयात्मक भन्दा बौद्धिकतामा जोड दिनुका साथै पाण्डित्य प्रदर्शनमा नै होडबाजी चलेको पाईन्छ । काव्यहरु स्वभाविकभन्दा अस्वभाविक र कृत्रिमतायुक्त भएको पाईन्छ ।

यसरी रामायण र महाभारतपछि संस्कृत ललित महाकाव्य–परम्पराको थालनी भएको हो । संस्कृत महाकाव्य परम्परामा आर्ष युगपछि क्रमशः कलात्मक युग र विचित्रमार्गी युग देखापरेका छन् । यस महाकाव्य परम्परामा देखापरेका संस्कृतका विशिष्ट प्रतिभाले संस्कृत साहित्यको उच्च गरिमालाई महाकाव्यिक कृतिहरुबाट स्थापित गरेका छन् । तापनि यी तिनै महाकाव्य धारालाई अध्ययन गर्दा कलात्मक महाकाव्य धारा नै सबैभन्दा बढी महत्वपूर्ण उत्कृष्ट देखिन्छ । यस महाकाव्यपरम्परामा कवितात्मक उत्कर्षको चरमता, सुबोधता, स्वभाविकता, सहज, सरल, सम्प्रेषणीय हुनु र मानिसको हृदयपक्षलाई छुनु नै यसलाई उत्कृष्ट बनाउने प्रमुख गुण हुन् । फलस्वरुप संस्कृत साहित्यको परम्परामा कलात्मक धारालाई उत्कर्षकालीन युग तथा सुकुमारमार्गको युगको रुपमा पनि चिनाउन सकिन्छ
सन्दर्भ ग्रन्थ सूची:-
उपाध्याय, डा.केशवप्रसाद, साहित्य प्रकाश २०४९ पाँचौ संस्करण, साझा प्रकाशन ।
खनाल, चुडामणि, संस्कृत साहित्यको परम्परा वि.सं.२०६३ पहिलो संस्करण, साझा प्रकाशन ।
गौतम, कृष्ण, प्राच्य महाकाव्य विं. सं २०५९ प्रथम संस्करण, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान ।
त्रिपाठी, डा. बासुदेव र अन्य, नेपाली कविता भाग –४ वि सं २०५३ दोस्रो संस्करण, साझा प्रकाशन ।
द्धिवेदी, डा. कपिलदेव, संस्कृत साहित्यका समीक्षात्मक इतिहास सन् १९८९ पाँचौ संस्करण ।
भट्टराई, घटराज, संस्कृतका अमर साहित्यकार विं.सं.२०५५ तेसो्र संस्करण, साझा प्रकाशन ।
रिसाल, राममणि, नेपाली काव्य र कवि विं.स. २०५८ पाँचौं संस्करण, साझा प्रकाशन ।
शर्मा, गोपिकृष्ण, संस्कृत साहित्यको रुपरेखा वि. सं. २०६३ तृतीय, संस्करण, काठमाडौं अभिनव प्रकाशन ।
शर्मा, गोपिकृष्ण, वाङ्मय १२, अनुसन्धान मूलक पत्रिका, नेपाली केन्द्रीय विभाग २०६२÷६३ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 21 भाद्र, 2072

लेखकका अन्य रचनाहरु