समय

- जी बी आचार्य

ऊ आयो

सबैलाई जदौ गर्यो

र भूईंमा बस्यो

हात मल्यो

दाँत िााच्यायो

चिम्सा आँखाले ख्वामितलाई

माथि देखि तल सम्म हेर्यो

उसले सिलाएको वस्त्र  

उसले बनाएको जुत्ता

मालिकलाई खुब सुहाएको

केही पाउने आशमा

आफ्ना आँखा उनीहरुमा टेकायो

उसले बकस पायो

एक जोर अर्धना कपडा

एकमानो चामल

ऊ उठ्यो  

झुकेर सबैलाई सलाम गर्यो   

अलि पर पुगेर  

लुगामा लागेको धुलो टक्टक्यायो

र गयो

ऊ फेरि आयो

धुलामा बस्न अस्विकार गर्यो

यो कुर्ची मैले बनाएको हो

म बस्न पाउनु पर्छ

यो मन्दिर मैले बनाएको हो

म पस्न पाउनुपर्छ

तिम्रो देवता र मेरो देवता  

तिमी र म

तिम्रो र मेरो खुन

केही फरक छैन

उसलाई मिथ्याचारी घोषित गरियो

धर्मको बर्खिलाप पापी बनाईयो

वरको बोटमा पाता कसेर

सय कोर्रा लगाइयो

उसको शीर जवर्जस्त निहुराइयो

ऊ फेरि आयो

तर यस पटक  

आफूलेबनाएको बन्दुक खुँडा र खुकुरी

आफैंले बोकेर आयो

आफूले सिलाएको वस्त्र आँफै लगाएर आयो

आफ्ना चिम्सा आँखामा

सहश्र सूर्यको ज्योति भरेर आयो

जदौ गर्ने लुला हातहरुलाई

दह्रा मुठी कसेर आयो

सक्छौ भने अब उसलाई

लुलो पारेर देखाउ

उसलाई अछुत घोषित गर

जोशिला उसका हातहरुलाई  

जदौ गरायर देखाउ

सक्तैनौ

आफूलाई परिवर्तन गर  

पुस्तौं देखिको शोषणको

बदला लिन  

ऊ आयो

अब जाँदैन

कलंकी, २०६४ फागुन

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 14 जेठ, 2065

लेखकका अन्य रचनाहरु