भारतीय परिप्रेक्षमा भविलाल लामिछानेको गजलसङ्ग्रह गजल - एक पठन

- नवीन पौड्याल

(क)आमुख-
नेपाली कविताको परिप्रेक्ष्यमा भविलाल लामिछाने एक सम्मानित नाम हो।असम क्षेत्रबाट नेपाली कविता साहित्यका एक प्रखर प्रतिनिधित्व गर्ने लामिछाने चार दशकदेखि लेखनमा अनवरत रूपमा सक्रिय छन्। उनको जन्म असमको डिगबोइमा सन् १९५० सालमा भेको होय़ आजसम्म उनका जम्मा नौवटा कवितासङ्ग्रह प्रकाशित भएका छन्। यसबाहेक एउटा कथासङ्ग्रह पनि प्रकाशित देखिन्छ।नेपाली गजल-लेखनमा असम प्रान्तबाट पनि प्रतिनिधित्व गर्दै गजलकारका रूपमा अहिलेसम्म प्रमुख रूपमा गोविन्द शाण्डिल्य र भविलाल लामिछाने देखिन्छन्। शाण्डिल्यको गजल गान्धार तथा लामिछानेका केही नज्म केही गजल (२००७) र गजल (२०११) प्रकाशित छन्।
(ख) गजलको सामान्य चिह्नारी
कविताको एक प्रयोगका रूपमा रहेको गजल निकै लोकप्रिय रहेको छ।मूलतः यो अरबी भाषाबाट आएको शब्द हो। पछिबाट यो शब्द फारसी, उर्दू, हिन्दी हुँदै नेपालीमा आएको हो। हो। गजलका तीनवटा अर्थ छन्-
अ) व्युत्पत्तिगत अर्थ- गजल शब्द अरबेली भाषाको तीन शब्द मिली बनेको छ। ग को अर्थ बोली वा वाणी वा कुराकानी हो। ज को अर्थ नारी हो र अलको अर्थ साथ वा सँग हो। यसर्थ, गजल शब्दले नारीका साथ प्रयुक्त हुने वाणी अर्थात् प्रेयसीसित मधुर वार्तालाप बुझाउँछ।
आ) विस्तारित अर्थ- गजल शब्दको अर्थ नारीसितको प्रेमालाप भन्ने व्युत्पत्तिगत अर्थका अतिरिक्त फारसी र उर्दूका अनेक विद्वानहरूले यसका विभिन्न अर्थ लगाएका छन्। एउटा रोचक उदाहरण यस्तो छ- शिकार खेल्दा जब शिकारीको काँड हरिणको मुटुमा रोपिन्छ, त्यसबेला त्यो हरिणले विक्षत ह्रदयले गरेको आर्तनाद्लाई नै गजल भनिन्छ। यस उदाहरणबाट के प्रस्टिन्छ भने गजल भनेको अन्तर्मनका दुःख-पीडा, आर्तनाद, विह्वलता, परिताप र छट्पटी व्यक्त गर्ने शब्द हो। यसर्थ, यसले गजलको अझै अर्थविस्तार भइ प्रेमिकासित प्रेमको दुःख-सुखादिबाहेक कुनै पलि प्रकारको पीडा व्यक्त गर्ने शब्द हो। अतः कुराकानी मात्र सीमित नभई एकाकी आर्तनाद्लाई समेत गजलले ब्यक्त गर्ने भयो। आधुनिक गजलमा प्रणयको भावनाको मात्र नभएर समसामयिक हरेक कुराका संवेदना ब्यक्त गर्ने भयो।
इ) आध्यात्मिक अर्थः गजलको व्युत्पत्तिगत अर्थले प्रेमालाप हो भन्ने बुझिएपछि फारसी र सुफी धारणामा त्यो कस्तो खालको प्रेम रहेछ बुझ्न सकिन्छ। फारसी प्रेम कवितामा परमात्मालाई नायिकाको र जीवात्मलाई नायकको रूप दिइन्छ। जीवात्म परमात्मा प्राप्तिका निम्ति सदा लालयित हुन्छ र त्यसका लागि सदैव प्रयत्न रहन्छ। नायिकास्वरूपा परमात्माको रूप-सौन्दर्य र गुण-सौन्दर्यमा मुग्ध भई मिलनका लागि आतुर रही अनुनय,विनय,प्रार्थना,अनुरोध गरिरहन्छ। अतः प्रेममा आध्यात्मिक अर्थ पनि सापेक्षित छ।
(ग) गजलको संरचनागत पक्ष-
गजलमा मतला, मतला-ए-उला, मतला-ए-सानी, मकता,काफिया, रदीफ, तखल्लुस, मिसरा, बहर, शेर जस्ता संरचनागत पक्षहरू रहेका हुन्छन्। गजलको छन्दलाई बहर भनिन्छ। नेपाली गजलमा बहरको प्रयोग भने नगन्य पाइन्छ।
(घ)भारतमा नेपाली गजल लेखन- भारतमा नेपाली गजल लेखन परम्परा शुरू गर्ने पारसमणि प्रधान हुन् भनेर तोक्न सकिन्छ। यद्यपि उनका गजलमा गजलका लेखन ढाँचा र शिल्प नपुगे पनि प्राथमिक प्रयास थियो। जे भए पनि उनले गजलको ढोका खोलेका हुन्।उनले तत्कालीन नेपाली गजलकार शम्भुप्रसाद ढुङ्गेल, पहलमानसिंह स्वार आदिका गजल-लेखनबाट प्रभावित भई शुरू गरेका हुन् भनी अनुमान गर्न सकिन्छ।गजलकार शम्भुप्रसाद ढुङ्गेलले ‘पारसमणिका गजल साह्रै असल’ भनी टिप्पणी गरेको पाइन्छ। यस्तैगरि सन् १९३८ सालमा देहरादूनका बहादुरसिंह बराल र अन्य कविहरूका संयुक्त कविता सङ्ग्रह प्रकाशित हुन्छ जसमा त्रिचालीसवटा गजल समावेश छन्।बरालका गजलमा एकाक्षरी काफियाको प्रयोग पाइन्छ भने केहीमा आंशिक अनिप्रास र केहीमा पूर्ण अनुप्रासमा आधारित काफियाको प्रयोग पाइन्छ।उनले जातिधर्म जोगाउनु पर्ने सन्देश धेरै गजलमा दिएको पाइन्छ।उनले भगवानसँग गोर्खालीको नामअनुसार काम भए हुन्थ्यो भन्ने आग्रह गर्नका साथै मद-मदिराको सेवनले सबैको विनास गर्छ भनी उपदेश पनि दिन्छन्। यसमा माया-प्रीतिका भाव साथै केही नैतिक उपदेश पनि दिन्छन्। उनका गजलमा आक्षरिक लयमा आधारीत छन्दको प्रयोग पाइन्छ।उनीबाहेक त्यस बरालको आँसु संग्रहमा दुर्गा मल्ल, गङ्गावती, मैतराम, पवित्रादेवी, शमसेरसिंह, मित्रसेन थापाका पनि एउटादेखि चारवटासम्म गजल छन।
यसपछि भारतमा नेपाली गजलको परम्परा निकै वर्ष बाँझो रह्यो।बेला बेलामा पत्र-पत्रिकातिर गजलका नाममा सीप र ढङ्ग नपुर्याका रचनाहरू प्रकाशित हुँदैआएका देखिन्छन्। यता भारतबाट सम्भवत् पहिलो गजल-संग्रह २००१ सालमा प्रकाशित सञ्जीव छेत्री र सन्तोष गुप्ताको तरल मुटुहरू हो।
पुस्तकाकार र विभिन्न पत्र-पत्रिका फाट्ट-फुट्ट रूपमा गजल लेखिए। लेख्ने भारतभूमिका वर्तमान पीँढीका गजलकारहरूमा गोविन्दसिंह घतानी गोविन्दे,गोविन्द शाण्डिल्य,खुसेन्द्र राई, दीपक ठटाल जलन,वासुदेव पुलामी,अनिलकुमार छेत्री, सुवास श्रेष्ठ, वीरेन्द्र खँड्का,असीम सागर,मनोज बोगटी,राजा पुनियानी,कमल रेग्मी, लीलाबहादुर छेत्री गोठाले,बलराम सापकोटा, डिल्लीप्रसाद अधिकारी, सुरेन्द्र चामलिङ,मनोहर शर्मा अविनाश,पवन नामदुङ,ध्रुब चौहान, शैलेन्द्र समदर्शी, सरिता समदर्शी,सन्तोष गुप्ता, सञ्जीव छेत्री,महेश दाहाल,कर्ण विरह, युवराज घलेभाइ, प्रकाश राई बादल, नवीन पौड्याल, कमल भट्टराई भावुक,मोहन ठकुरी, सपन प्रधान, पदम पराजुली, सूरज रेसूरी.सूरज सुब्बा, मिलन बान्तवा, केवलचन्द्र लामा, नोर्ज्याङ स्याङदेन, जस योञ्जन प्यासी, धिरेन छेत्री,धिरेश आचार्य,रोशन राई चोट,अरूण साङपाङ, छुदेन काविमो,सुकुमार बराइली, विकाश वान्तवा, योगेन छेत्री,दीपेन्द्र आचार्य सुमी,आई.के सिह, नैना राई, ज्ञानेन्द्र सुब्बा, विक्रम राई, दीलिपराज राई, बुद्ध राई, सुरज सुब्बा, प्रदीप कँडेल विप्लव,सुकुमार बराइली, शरद् रावत,दिवाकर ठकुरी,दिवाकर आले आदि प्रमुख हुन्।
यता दार्जीलिङ-सिक्किमतिरबाट लगभग बीसवटा जति गजल-सङ्ग्रह प्रकाशित भएको पाइन्छ। एउटा उल्लेखयोग्य कुरो के छ भने सन् २००१ सालदेखि मात्र यतातिर गजल-सङ्ग्रह प्रकाशित हुनथालेको देखिन्छ।अहिलेसम्मको भारतबाट प्रकाशित नेपाली गजल-दीवान(सङ्ग्रहहरू)-
१) तरल मुटुहरू- संजीव छेत्री र सन्तोष गुप्त (२००१)
२) मेरा एकाउन्न गजल- खुसेन्द्र राई (२००५)
३) गजल गान्धार- गोविन्द शाण्डिल्य ( असमका,२००६)
४) जून पोखिएको रात- असीम सागर (२००७)
५) केही नज्म केही गजल भविलाल लामिछाने ((२००७)
६) अस्तित्वका आवाजहरू- असीम सागर (२००८)
७) गजल जल- वीरेन्द्र खँड्का, अनिल छेत्री र सुवास श्रेष्ठ (२००८)
८) गजल दीप- वीरेन्द्र खँड्का र सुवास श्रेष्ठ (२००९)
९)गजल महक- लीलाबहादुर छेत्री,बलराम सापकोटा र बुद्ध राई (२००९)
१०) गोविन्देका गजल- गोविन्दे- (२००९)
११) गजल कानन- दीपक ठटाल जलन(२००९)
१२) केही घाउ केही मलम- छुदेन काविमु (२००९)
१३) समुद्र रोएको साँझ- सुवास श्रेष्ठ (२०१०)
१४) कालो गुलाब- अरूण साङपाङ र सुरज सुब्बा (२०१०)
१५) शुरूआत(बालगजल)- शैलेन्द्र समदर्शी (२०१०)
१६) मनोराग- धिरेन संघर्ष (२०१०)
१७) मनचरी- मिलन बान्तवा(२०१०)
१८) ऋतुगीत- कमल रेग्मी (२०१०)
१९) कमलकोठी- कमल रेग्मी (२०११)
२०) गजल भविलाल लामिछाने (२०११)
२१) सुनगाभाका स्वरहरू (कवितासंग्रहभित्र २४वटा गजल समावेश)- डिल्लीप्रसाद अधिकारी २००९)
२२) स्वर्ग पुग्ने सपनाहरू (गजल वाचन सिडी अल्बम) -असीम सागर र अन्य (२००९)

यी गजल-सङ्ग्रहबाहेक गजलसम्बन्धी यस्ता मुख्य कार्यक्रम सञ्चालन भएका हुन्-
१) गजल लेखन एकदिने कार्यशाला,कालिम्पोङ,२००७, संयोजक- असीम सागर
२) गजल गोष्ठी- सिलगडी देवकोटा सङ्घ,सिलगडी,२०१०.
३) गजल गोष्ठी-आकाशवाणी खरसाङ,२०११.
४) गजल गोष्ठी-खुला साहित्यिक गोष्ठी मञ्च,संयोजकद्वय-डा. रूद्रराज मास्के र कमल भण्डारी (२०११,सितम्बर)
५) दैनिक सुनचरी समाचारले लगभग छ-सात वर्ष जति प्रत्येक शुक्रबार गीत-गजल स्तम्भ प्रकाशित गरिरह्यो।
६) यताका केही युवा गजलकारले फेसबुक र वेबसाइटमा गजल हाली यसलाई व्यापकता दिएका छन्।
ङ) भारतबाट प्रकाशित नेपाली गजलको सामान्य प्रवृत्तिः
१) भारतीय गजल-लेखनका नयाँ पुस्ताका सर्जकका भावधारा प्रायः प्रायः मिल्दो नै देखिन्छ। प्रायःजसो सबैका गजलमा जातिप्रेम, चेतना, माटोप्रेम, मुलुकको भ्रष्टतन्त्रप्रति व्यङ्ग र असहमति,सामाजिक, सांस्कृतिक पक्षमा आएको ह्रासोन्मुख स्थितिबारे चिन्ता व्यक्त जस्ता कुराहरू पाइन्छन्।
२) प्रायः गजलमा भारतमा हामी अति अल्पसंख्यक रूपमा हुनाले हाम्रो आस्तित्विक सुरक्षाका निम्ति कुनै छुट्टै प्रशासनिक इकाईको चाहनाका भावहरू पाइन्छ।
३) प्रेमका सामान्य उद्गार, नैतिक सन्देश,युवापुस्तामा आएको बेरोजगारी समस्या औ त्यसबाट उब्जेको नैराश्य, कुण्ठा, असन्तुष्टी जस्ता भावहरू सामान्य रूपमा पाइन्छन्। यसका साथै सामाजिक, राजनैतिक, कुव्यवस्थापनप्रति ब्यङ्ग्य पक्ष प्रायः सबैमा पाइन्छ।
४) यताका गजलमा गजल-लेखनका नयाँ-नयाँ प्रविधि,तकनिकी विस्तार, शिल्प सचेतता,सम्प्रेषण क्षमता,लेखनगत सुधार,को बढ्दै जाँदैछ।गजल सिद्धान्तका अँग्रेजी, हिन्दी भाषाका र नेपालबाट प्रकाशित गजलसम्बन्धित सैद्धान्तिक पुस्तक, अनेक पत्र-पत्रिका र पुस्तकमा फुटकर लेख अध्ययनबाट हाम्रा गजलकारहरूले लाभ उठाउन पाएका छन्। यसका साथै इन्टरनेट सञ्जालका माध्यमबाट पनि सहायता पाउन सकिन्छ।
५) यता दार्जीलिङ –सिक्किमबाट प्रकाशित हुने दैनिक समाचार-पत्र तथा पत्रिकामा गजलले धेरै ओगटेको पाइन्छ।
६) यस क्षेत्रबाट गजल लेख्ने क्रम दिनानुदिन बढिरहेछ। विशेषगरि युवा सर्जकहरू यसतर्फ बढी आकर्षित देखिन्छन्।
७) यताका केही गजलकारका गजलमा बहर प्रयोग पनि पाइन्छ। सुबास श्रेष्ठ, वीरेन्द्र खँड्का, शैलेन्द्र समदर्शीका गजलमा बहरको निर्वाह पाइन्छ।
८) दुई-चारजना बाहेक अधिकाङ्श गजलकारका रचनामा बहर प्रयोग नपाइए तापनि गीतात्मकता (मुसिकियत), काफिया-रदीफको सफल प्रयोग, आक्षरिक लयात्मकता पालन गरिएको पाइन्छ।
९) केही गजलकार भने गजलसम्बन्धी सामान्य जानकारीसमेत नराखी अन्त्यानुप्रास मात्र मिलाइ गजलको नाम दिएर लेखेको नपाइने होइन।
१०) यताका गजल-गायन भने त्यति भएको पाइन्न। यदि गजललाई जीवन्तता दिनु हो भने गायन अपरिहार्य छ। यसतर्फ कमी रहेको देखिन्छ।
११) बालगजल क्षेत्रमा पनि यहाँका गजलहरू अघि बढेका छन्।शैलेन्द्र समदर्शी र सुवास श्रेष्ठ यसतर्फ सरिक छन्।
१२) नेपाली गजल कुनै गजल-घरानामा आबद्ध छैनन्। आफ्नै स्वतन्त्र लय, भाव-भंगीमा छन्।
१३) तखल्लुस प्रयोगतर्फ त्यति ध्यान गएको देखिन्न। गोविन्देले केही गजलमा यसको प्रयोग गरेका छन् भने सुवास श्रेष्ठ, कमल रेग्मी र वीरेन्द्र खँड्काले थोरै मात्रामा र अन्यले प्रयोग नगरेको पाइन्छ।
१४) यतातिरका गजल समालोचना पनि भर्खरै फस्टिँदो अवस्थामा देखिन्छ। विशेषगरि गजलसङ्ग्रहका भूमिकाले यस दिशातर्फ निकै सघाउ पुगेको देखिन्छ। अहिलेघरि डा. दिवाकर प्रधान, डा. जस योञ्जन, मिलन बान्तवा, शैलेन्द्र समदर्शी,असीम सागर,सुवास श्रेष्ठ, बासुदेव पुलामी आदि गजल समालोचनातिर सक्रिय छन्।
१५) यहाँका गजलमा प्रतीक, बिम्ब, अलङ्कार यथा प्रयोगका साथै मिथक र कसै-कसैले लेखक-नाम र आख्यानको पात्र-नामको उल्लेख पनि गरेका छन्।
१६) यहाँका गजलमा नेपाली लोकलयमा पनि कतिले गजल लेखेको पाइन्छ।
भारतमा हामी गोर्खाको आस्तित्विक चेतना र परिचय संकटको समस्याप्रति संवेदनशील भई आफ्नो भावोद्गार बढी मात्रामा परिलक्षित भएको पाउँछौं। हुन पनि प्रायः एउटै सामाजिक स्थिति,ऱाजनैतिक, आर्थिक, भौगोलिक परिवेशका कारणले लेखनको विषयवस्तुगत साम्यता, भावनात्मक तादात्म्यता आउनु स्वाभाविक ठहर्छ।यद्यपि भाव, भाषा,संवेदना,चिन्तन, प्रस्तुति,शैली आदि भने आ-आफ्ना नै पाइन्छ।जे होस्, यहाँको गजल लेखनको भविष्य उज्ज्वल नै देखिन्छ।



(च) भविलाल लामिछानेका गजलका विषयवस्तुगत पठन-
भविलाल लामिछानको पछिल्लो गजलसङ्ग्रह गजलमा जम्मा साठीवटा गजल सङ्ग्रहीत छन्। प्रस्तुत गजल-सङ्ग्रहमा विषयगत विविधता पाइन्छ। कतै जातगत छुवाछुतको विरोध छ त कतै बुढेसकालको संकष्टको चिन्ता छ। यस सङ्ग्रहमा उनी एक तत्वबोधी, चिन्तक, दार्शनिक, सामाजिक पर्यवेक्षक,विश्लेषक र कतै रोमान्टिक बन्नपुगेका छन्। उनले जीवनमा भोगेका तिता-मिठा यथार्थलाई गजलको स्वर बनाएका छन्।उनका केही गजलमा प्रेमका केही भाव छचल्किएका भने बेसी जसो प्रेमइतर छन्। यद्यपि समग्रमा हेर्दा उनका गजललाई दुई भाव-बन्धनमा विभाजन गर्नसकिन्छ- (१) वैयक्तिक अनुभूति र (२) सार्वभौमिक अनुभूति। वैयक्तिक अनुभूतिअन्तर्गतका गजलहरूमा नर-नारीबिचका प्रेमानुराग र त्यसका घात-प्रतिघात,पीडाको अनुभव, हृदयको टाडा-नजिकका कुरा इत्यादि छन् भने अन्य अधिकांश गजलको मूल स्वर सार्वभौमिक अनुभूति छन्। विश्वबोध, मानवता, अन्तराष्ट्रिय आतङ्कवाद, परमाणु हतियारको होडवाजी, गरीबी र यसबाट उब्जेका नैराश्य, युद्ध चेतना, भू-उष्णता,राजनैतिक स्वार्थान्धता, विकृत राजनैतिक परिदृश्य र नेतागिरीप्रति आक्रोश जस्ता विषय सार्वभौमिक स्वरभित्र समाविष्ट छन्।
लामिछानेले आफ्ना गजलमा समसामयिक युगचेतना, उत्तराधुनिक जीवनशैली, सांस्कृतिक-सामाजिक- मानसिक संक्रमणात्मक छापलाई गजलमा उतारेका छन्। देशको राजनितीको बिग्रँदो अवस्था, पुँजीवादी संस्कारबाट उब्जेको उपभोक्तावाद, बजारीकरण व्यवस्था इत्यादि कुरालाई स्वर दिएका छन्। भूमण्डलीकरण प्रक्रियाबाट देशका कर्णधारहरू देशबाहिर गई पलायन भएका, महँगाइको मारमा आमजनता पिसिएका,जाति-धर्म र अर्थका आधारमा ऱाजनितीको सस्तो खेल खेली देशमा विकृति फैलाइएको कुरालाई यसरी व्यक्त गरेका छन्—
कुर्सीको मोह छैन, सिँहासनमा आँखा ताक्छन
छोरा मरे मर्छन अरूका, यी रस्तामा हिँड्दैछन्।
--------- --------- -------- ------ ------- --
जाति धर्म इमानदारी, द्वेष कौशल सबै
निलामीको बजारभरि, यी सस्तामा बिक्तैछन्।

आतङ्कवाद, अशान्ति, परमाणु हतियारको होडबाजीले ल्याएको विश्वब्यापी संत्रास र हिंसात्मक मानसिकतालाई गजलकार लामिछानेले मार्मिक स्वरमा कथ्य-विषय बनाएका छन्। धार्मिक संगठनहरू धर्मका नाममा झगडा गर्छन् तर वास्तविक धर्म भने हराइसक्यो। यहाँ सुधारका पक्ष पनि छन्। सामाजिक, आर्थिक, राजनैतिक, नैतिक सुधारको आग्रह छ।
(छ) भविलाल लामिछानेका गजलको संरचनागत पठन- प्रस्तुत गजलसङ्ग्रहको भावपक्ष सबल र सफल छ भने यसको संरचना र शैली पक्ष भने सामान्य छ। गजल सैद्धान्तिक संरचनामा लामिछाने त्यति जम्न सकेका छैनन्। गजल पठनबाट जुन तासिर (आनन्द) पाउनुपर्ने हो, सो त्यति पाइन्न। गजलका सामान्य नियमअन्तर्गतका काफिया, रदीफ प्रयोगमा समेत कमजोरी पाइन्छ। उनले अधिकांश गजलमा आंशिक काफियाको प्रयोग गरेका छन्। कुनै कुनै गजलमा त कापिया नै छैनन्। जस्तै-
मेरो जिन्दगी तिमी बन्दकी राखिलेऊ
मेरा सपनाहरू राख, केही विपना देऊ।
कतै भने काफियाको सफल प्रयोग भने नपाइने होइन। जस्तै-
बगिजाने खोला जस्तै बगिजान्छन् मेरा आँसु
दुनियाँको चलन यस्तै, खसिजान्छन् मेरा आंसु।
गजलमा बहरको प्रयोग त छैनन नै यद्यपि यसमा हुनुपर्ने भाव सघनता, प्रभावकारिता, शब्द सम्प्रेष्यता जस्ता कुरा पनि त्यति पाइन्न।
(ज) निष्कर्ष-
गजल अभिव्यक्तिको सुन्दर माध्यम हो। यसमा कोमल,कलात्मक र प्रभावकारी ढंगमा काव्यात्मक अभिव्यक्ति प्रस्तुत गरिन्छ। मूल रूपमा यो गाइने भएकाले यसमा गेयात्मकता पाइन्छ। यसमा रचनागत नियमावली हुन्छन् जसमा बहर, काफिया, रदीफ, मतला, मतला-ए-उला, मतला-ए-सानी, मकता जस्ता कुरा पर्छन्।
भारतीय परिप्रेक्ष्यमा वास्तविक गजललेखनको परम्परा त्यति लामो छैन। सन् २००१ सालमा प्रकाशित सञ्जीव छेत्री र सन्तोष गुप्ताको संयुक्त गजल-संग्रह तरल मुटुहरू नै यताको पहिलो गजल-सङ्ग्रह मानिन्छ भने त्यसदेखि यता लगभग बाइसवटा जति गजल-सङ्ग्रह प्रकाशित भएका छन्।
भविलाल लामिछानेको पछिल्लो गजल-सङ्ग्रह गजलमा जम्मा साठीवटा गजल रहेका छन्। आजको बदलिँदो सामाजिक यथार्थता, गिर्दो नैतिकता र विकृति-विसंगतिलाई लामिछानेले स्वर दिएका छन्। भाव पक्षमा लामिछाने निकै सफल र सबल छन् भने शिल्प-संरचनागत पक्षमा भने त्यति सफल र सबल छैनन्। यद्यपि कतै कतै आलङ्कारिक, स्वाभाविता, सुधारात्मकता, व्याख्यात्मकता, प्रतीकात्मकता, सूचनात्मकता, व्यङ्ग्यात्मकता जस्ता कुरा वस्तुचयनका रूपमा पाइन्छन्। जे होस, मोटामोटी रूपमा भन्नुपर्दा भविलाल लामिछाने गजल-लेखनमा पनि निकै सक्रिय, सफल छन् र नेपाली गजल क्षेत्रमा पनि उनले आफ्नो प्रतिभा देखाएका छन्।
सहयोग लिएका पुस्तकहरूः
१)डा कृष्णहरि बराल; गजल : सिद्धान्त र परम्परा;काठ. साझा प्रकाशन;२०६४।
२)देवी पन्थी ; गजल सिद्धान्त र समालोचना;काठ. साझा प्रकाशन;२०६४।
३)कृष्ण गौतम; नेपालीमा गजलसाहित्य,पृष्ठभूमि, परम्परा र मूल्याङ्कन (गरिमा,समालोचना विशेषाङ्क, पूर्णाङ्क १३७, वैशाख,२०५१,प्र. सम्पा. डा तुलसीप्रसाद भट्टराई)पृ.१२—३७।

दार्जीलिङ सरकारी महाविद्यालय, दार्जीलिङ

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 21 भाद्र, 2072

लेखकका अन्य रचनाहरु