ऐना

- एकराज प्रधान

‘चुप् । रुन्छस् ? पुलिस बोलाउँ ?’ रोएर दिक्क लाएपछि आमाले यसै भनेर मलाई थान्को लाउनुहुन्थ्यो । पुलिस नदेखेको मलाई ‘पुलिस’ भनिसक्दा मनमा अजङ्गको आकृति बन्थ्यो – ठूलो ज्यान भएको ‘ज्याङ्गो ’ मान्छे, जुँगा मुठे, डन्ठा बोकेको डरलाग्दो मान्छे । चुप नलागेर भो !
बजार जान खुब रहर लाग्ने । बजार भन्ने सुन्नासाथ मुख रसिलो–रसिलो, गुलियो–गुलियो हुने । रङ्गीचङ्गी खेलौना । अनेक किसिमका पसल, अनेक मान्छे । अनेक मिठाइ । त्यहाँ पुग्न पाए त आमालाई जसरी नै दङ्ग्याइहालिन्छ । मनले यसै भन्थ्यो । त्यहाँ पुगेपछि मिठाइ नखाई फर्किने कुरै हुँदैन । त्यसैले मैले बार याद गरेको थिएँ – बुधबार । हटिया । भरसक स्कुल नगई बस्थेँ । गए पनि आमा बजार जाने बेला भो है भन्ने थाहा पाएपछि सुटुक्क भागेर आइपुग्थेँ । रुँदै, कराउँदै, घुक्र्याउँदै आमालाई पछ्याउँथेँ । बाटोमै थियो, प्रहरी चौकी । चौकी आएपछि आमा कराउनुहुन्थ्यो – ‘ऊ पुलिस थाना, पुलिसलाई भन्दिऊँ ?’
यति भनिसक्दा चिरिक्चिरिक् सु आउला जस्तोहुन्थ्यो । कहिले पेटै कटक्क हुन्थ्यो र दगुर्थें घरतिर । कहिले चाहिँ अटेर गर्दै आमाको सारीको आँचलमा लुक्थेँ र लुकेरै बजार पुग्थेँ । बजार पुग्दा युद्ध जितेझैँ छाती ढक्क फुलेर आउँथ्यो । र, शानसँग बजार घुम्थेँ । आमासँग पैसा हुन्थेन । थाहा थियो । तर, एक–एक हप्ता पर्खेर, स्कुल छोडेर आएको केका लागि ? मिठाइ खानै त हो ! अब जिद्दी सुरु हुन्थ्यो मेरो । कहिले जितिन्थ्यो र खाइन्थ्यो, कहिले मुड्क्याउँदै घिसार्नु हुन्थ्यो । फर्किंदा पनि चौकी अगाडिबाटै हो । त्यहाँ देख्थेँ डण्ठा बोकेर उभिएका पुलिस । मैले सोचे जस्तो भयङ्करै चाहिँ होइन । तर, डर उस्तै हुन्थ्यो ।
हहह
एक दिन तल्लो गाउँका अम्बर अङ्कल सरुवा भएर गाउँकै चौकीमा आएछन् । ‘इन्स्पेक्टर अम्बरको घर’, साथीहरुले थुप्रैपटक उनको घर पु¥याएका थिए । तर उनलाई देखेको होइन । बजार एउटै हो, गाविस एउटै हो, वडा चाहिँ फरक । उनको ८, हाम्रो ७ । थानामा स्वागतका लागि गाउँलेको घुइँचो लाग्यो । फूलमाला, अबिर घसियो । काँधमा बोकेर बजार भर घुमाइयो । पुगेको थिएँ म पनि । बासँग । बाले मलाई पनि काँधमा बोक्नु भा’थ्यो, उसैगरी । हामी पछिपछि, उनीहरु अघि–अघि । त्यो देख्दा लाग्यो, पुलिस भनेका नि हामी जस्तै हुँदा रहेछन् ! पुलिस भनेको त ठूलो मान्छे पो हुँदो रहेछ ! अहा, पुलिस हुन पाए ?
फर्किंदा बालाई सोधेको थिएँ, ‘बा पुलिस कसरी भइन्छ ?’
बाले काँधबाट उतार्दै भन्नुभाथ्यो, ‘पुलिस हुन धेरै पढ्नुपर्छ, धेरै खेल्नु–कुद्नुपर्छ ।’
‘ए...’ मैले बुझेँ ।
अब डर भाग्यो । त्यसदिन देखि आमाको पुलिस भन्ने शब्दलाई टेर्न छाडियो । उल्टै भन्थे, ‘म हुँ पुलिस । इन्स्पेक्टर सज्जन ।’
कहिले हाँस्नुहुन्थ्यो । कहिले सिर्कनाले तुरुक्क सु आउने गरी पिट्नुहुन्थ्यो । पुलिसको प्रभाव यत्ति बढेको थियो कि साथीहरुसँग चोर पुलिस खेल्दा पुलिस चाहिँ मै हुनुपर्ने । नियमै थियो, पुलिसले भेटेपछि भकुर्ने । कुद्नमा च्याम्पियन थिएँ, नभेट्ने कुरै हुन्थेन । केटाहरुले खुब खाए धुलाइ । त्यसैले होला, म कक्षा पस्नासाथ उनीहरु सलाम ठोक्थे ।
एक दिन बाले मलाई थाना लानुभो । अम्बर अङ्कललाई नमस्ते गर्न लाउनु भो । मैले सलाम ठोकेँ । उनी फिसिक्क हाँसे । मेरो बारेमा बुबाले खूब सुनाउनुभो । उनले फाइलतिर आँखा डुलाउँदै सुनिरहे ।
यत्तिकैमा एकजना सानो झोला, हातमा डायरी बोकेको मान्छेको प्रवेश भयो । इन्स्पेक्टर अङ्कल जुरुक्क उठेर ‘नमस्कार सर, आउनोस् बसौँ न’ भने । तुरुन्तै जवानलाई आदेश दिए, ‘सरलाई चिया मगाऊ ।’
उनीतिर हेर्दै अङ्कलले भने, ‘भन्नोस्, के सेवा गरौ“ ?’
हामी बाउ–छोरा हेरेको हे¥यै भयौ“ । एकछिन्मा बिदा भएर बाहिर निस्कियौँ । सोधेँ, ‘त्यो मान्छे को हो बा ?’
उहाँले भन्नुभो, ‘पत्रकार ।’
‘पत्रकार भनेको को हो ?’
‘जसले देश विदेशको खबर भन्छ, लेख्छ उही हो पत्रकार । रेडियोमा समाचार भन्ने पत्रकार, पत्रिकामा समाचार लेख्ने पत्रकार, टिभीमा समाचार पढ्ने पत्रकार ।’
‘पत्रकार ठूलो मान्छे हो ?’
‘हो त ।’
‘पुलिसभन्दा पनि ?’
‘अँ हो त ।’
‘त्यसो भए अब म पत्रकार बन्ने ।’ मैले अठोट सुनाएँ ।
बाले एकोहोरो मलाई हेर्नुभो ।
हहह
चोकको चौतारोमा चौकुना मिलाएर, तार जाली ठोकेर टाँगियो भित्तेपत्रिका । गाउँकै पहिलो ‘सम्पादक’ भइयो । ठूल्ठूला बल्ड्याङ्रे डबल अक्षर गरेर लेखियो, ‘बाल चौतारी’ । सुरुको ठाडो लाइनमा थियो, सम्पादक – सज्जन तिम्सिना । त्यसपछि सहसम्पादक – लेखनाथ, सहयोगीहरु – रोशन, भवानी, विनोद, शर्मिला, खगेन्द्र...। केटाहरुलाई स्कुलमा उर्दी जारी गरिएको थियो – हरेक महिनाको अन्तिम शुक्रबार कविता, कथा, समाचार सङ्कलन गर्ने । मन परेको छान्यो, लेख्यो । खिपेर लेख्न सक्ने मै थिएँ । शनिबार हात कक्रिउन्जेल लेखिन्थ्यो । आइतबार टाँसिन्थ्यो, टिलिक्कै टल्काएर ।
हहह
एसएलसीमा सेकेन्ड डिभिजन ल्याएपछि पढ्नलाई बिर्तामोड आउनुपर्ने भो । कारण थियो, पत्रकारिता विषय गाउँको क्याम्पसमा थिएन । बिर्तामोड, मेरो सपनाको सहर । पत्रिका यहीँ छापिन्छ, सुनेको थिएँ, रेडियो पनि यहीँबाट बज्ने हो ।
एक दिन क्याम्पसको क्लास सकिएपछि रेडियो स्टेसन हेर्न जाने भइयो । सजेशले लग्यो । ऊ बिर्तामोडको स्थायी । बिर्तामोडका गल्लीहरु घुमाउँदै पु¥यायो, कञ्चनजङ्घा एफएमको कार्यालय । बाहिरैबाट हेरियो, अग्लो रेडियोको टावर । ‘हो, यही टावरले फ्याँक्छ आवाज’, सजेशले गफ दियो, ‘ऊ त्यो कोठामा बोल्छन्, टावरले फ्याँक्छ र रेडियोमा बज्छ ।’
‘भित्र गएर हेर्न पाइन्न ?’
‘अनुमति लिनुपर्छ । कारण खुलाउनुपर्छ । त्यत्तिकै कहाँ पाइन्छ ?’
चौकीदार गेटमै थियो, गजधम्म उभिएको । घुम्न आएको भन्दा के देला र ! सोध्ने आँटै गरिएन । रेडियोमा बोल्ने मान्छेलाई देख्ने कत्रो धोको थियो, पूरा भएन ।
अर्को दिन पत्रिकाको कार्यालय जाने साइत जुराइयो । तीन भाइ, लेखनाथ, म र उत्तम । पुग्यौँ ‘विवेचना दैनिक’ । बिर्तामोडको भद्रपुररोडको सानो गल्लीमा फेला पारियो । धन्न ! त्यहाँ चाहिँ गेट थिएन, चौकीदार पनि थिएन । मेसिन गननन चलिरहेको थियो । छापिएको कुरा फुत्तफुत्त निस्कँदै गरेकोसम्म चियाउन पाइयो । क्याम्पस पढ्दै गरेका विद्यार्थी आएको थाहा पाएपछि पत्रिकाका सम्पादकले हामीलाई बोलाए ।
सानोमा ‘पुलिस’ शब्द सुनेझैँ भो । पेट बटारिन थाल्यो, डरले । कस्ता होलान्, के भन्लान् ? मुटु चिसो भो । कोठामा पुगियो ।
‘आउनोस् भाइहरु, बसौँ ।’
दायाँपट्टि ठूलो ¥याक । ¥याकभरि किताबैकिताब । अगाडि सिसाले कभर गरिएको टेबल । टेबलमाथि छरपस्ट कान्तिपुर, गोरखापत्र, पूर्वाञ्चल, विवेचना पत्रिका । मैले पुरै कोठामा आँखा डुलाएँ, कतै महान् वाणी, कतै महान् मान्छेको तस्वीर । ....
घुम्ने मेच । त्यसमा बसेका अधबैँसे मानिस । अगाडिपट्टिको टेबलमा त्रिभूजाकारको काठमा लेखिएको थियो – प्रधानसम्पादक । लामो नाक, नाकको टुप्पैमा अडिएको थियो पावरवाला चश्मा । चश्माको मास्तिरबाट तेर्सो आँखा पार्दै उनले सोधे – ‘कहाँ हो घर ?’
‘बुधबारे ।’ – मैले भनेँ ।
‘धुलाबारी ।’ – उत्तम बोल्यो ।
लेखनाथ बोलेन । ऊ र मेरो घर एउटै गाउँ ।
‘पत्रिकामा काम गर्ने हो ?’ सोधे ।
के बोलुँ बोलुँ भो । जिब्रो लर्बरिएला जस्तो भो । लुगलुग जाडो भएर काम छुट्ला जस्तो भो । भित्रभित्रै कामियो पनि ।
‘क...कस्तो काम ?’, करैले बोलेँ ।
‘पत्रिका बाँड्ने ।’
‘पाए त गर्ने हो सर ।’, मैले भनेँ ।
‘क्याम्पस छुट्टि भएपछि आउनु, यहाँबाट पत्रिका लानु, दिउँसो बाँड्नु ।... समाचार लेख्न आउँछ ?’
‘अलिअलि ।’
उनी मेचमा ढल्किए । कुइँक्क आवाज निस्कियो । पेटमा दुवै हात बाँधेर राखेपछि भने, ‘पत्रिका पु¥याउनु, गाउँकाले कति माग्छन्, कतिले पैसा तिर्न सक्छन् हेरेर बाँड्नु । महिना मरेपछि पैसा उठाउनु पर्छ । आधा तिमीले राख्नु, आधा यहाँ बुझाउनु ।’
उनको नजर सिधै मैतिर थियो ।
‘ए रञ्जित’, उनले बोलाए, रञ्जित देखिए ।
‘यी भाइलाई १०–१५ वटा पत्रिका देऊ र पठाऊ ।’
पत्रिका पाइयो । एक मुठा । बोकेर कहिले गाउँ पुगूँ भो । काम पाइयो भन्ने हर्षको सीमा नै थिएन । घर पुगियो । कहिल्यै पत्रिका किनेर पढ्न नसकेको मसँग आज १५ वटा पत्रिका छ । गर्वले छाती चौडा भो ।
गाउँकै धनी कृष्ण मामा कहाँ आउने गथ्र्यो एउटा पत्रिका । कहिलेकाहीँ हेर्न पाइन्थ्यो । उनले पढ्दै गरेको बेला पुगियो भने । नत्र थन्किसक्थ्यो दराजमा । एक दिन उनको फोटो छापिएको थियो, कृषक वार्ता भनेर । त्यसबेला मात्रै हो उनले गाउँभरि पत्रिका डुलाएको ।
पत्रिका किनेर पढ्ने आक्कलझुक्कल थिए गाउँमा । चोकको सुरेश अङ्कलको पसलमा आउँथ्यो । पढ्नेको भीड दिनैभर लाग्थ्यो । पत्रिका नकिन्ने त मेरो परिवार पनि कहाँ हो र ! दसैँ आउँदा किनिन्थ्यो । टन्नै । ४–५ किलो, तौलिएर । बाँसको टाटीमा टाँसिन्थ्यो, रङ्गीचङ्गी पारेर । अनि धितमरुन्जेल पढिन्थ्यो, खाटमा ढल्किएर । उपरखुट्टी लाएर । पाहुना पनि दसैँमा आउँदा भित्तैतिर टोलाइरहन्थे ।
तर, आज मसँग तात्तातो पत्रिका छ । छापाखानाबाटै ल्या’को । बाँड्नै लोभ लाग्ने । बाँडिनँ । बालाई एउटा दिएँ । बाले हेरे, शिरपुछार । पढ्न त के सक्थे र बरा ! फोटो मात्र त हेर्ने हो । त्यो पनि ब्ल्याक एन्ड ह्वाइट । हेडलाइनहरु पढेर सुनाइदिएँ । बाँकी पत्रिका सिरानेमा राखेँ । निद्रा परे पो ! कत्तिबेला बिहान होला र पढूँ जस्तो हुन्छ । बत्ती बालेर पढूँ भने बाले ‘बिल’ धेर उठ्छ भनिहाल्छन् । ‘होस्’, मनलाई मनाएँ ।
भोलिपल्ट नि गइयो । पत्रिका लिइयो । ल्याइयो । तर, बाँडिएन । लोभी मन भाँडियो र मात्रै तेस्रो दिन चाहिँ ८–१० वटा बाँडियो । धाइजनदेखि बुधबारे बजारसम्म पु¥याएँ । पत्रिकाको माग ह्वात्तै ३० पुग्यो । छापाखानामा थप मागियो । गाउँमा त चिनिएकै हुँ सम्पादक भनेर, बजारदेखि चौकीसम्म फिँजिएछ, फलानाको छोरो पत्रकार भएछ । आम्मै ! इज्जत त थामिसक्नु नै भएन । गाउँमा ‘छोरो होस् त सज्जन जस्तो’सम्मको भनाइ आफ्नै कानले सुन्नु प¥यो ।
थानामा कोई पक्रियो कि खबर आइपुग्थ्यो । कुदेर गयो, टिपोट ग¥यो । टिप्न त टिपियो, लेख्ने कसरी ? आपतै पथ्र्यो । पत्रिका पल्टायो, १७ वटा समाचार पढ्दा नि फुर्दैन त ! लेख्न बस्यो, डेटलाइन ‘बुधबारे’ पछि डटपेन हल्लिनै मान्दैन ! अनि फेरि पढ्न थाल्यो समाचार । उस्तैउस्तै भेटियो भने नाम, ठाउँ फेर्न त आइहाल्थ्यो । ठोक्यो, समाचार । ग¥यो फ्याक्स । पठाएको तेस्रो–चौथो दिन मात्रै छापिन्थ्यो । लेखेको हुन्थ्यो एक–दुई पाना, समाचार आउँथ्यो सानो एक कोलममा । त्यही देखाउन पुग्थेँ चौकीमा । इन्स्पेक्टर आफ्नो नाम पढेर मख्ख पर्थे र खुवाउँथे चिया ।
विस्तारै धेरैले चिन्दै गए । पत्रिका थपिएर सय नाघ्यो । पैसा बटुल्न एक हप्ता लाग्थ्यो । गाउँको फुटबलदेखि स्कुलको वार्षिकोत्सवसम्म भ्याइनभ्याइ हुन थाल्यो । जीवन मैले सोचेजस्तै लाग्न थाल्यो । पैसा कम भएर के भो ! इज्जत भन्दा पैसा ठूलो हो र ! मनैमन वादविवाद चल्थ्यो ।
दिन बिते, महिना बिते, वर्ष बिते । पढाई अघि सरेन, छाडियो प्लस टु सकेर । त्यसबेलासम्म रिपोर्टर र वितरण इन्चार्जमा नियुक्ति पाइसकेको थिएँ । गाउँ डुलेरभन्दा सहरको अफिसमा बसेर काम गर्ने इच्छाले मलाई कुत्कुताइरह्यो । मेरो लेखाइको निख्खरतालाई हेरेर त्यो अवसर पनि आयो । अनि म पसेँ बिर्तामोड ।
सुरुमा आउँदा एक्लो लाग्यो । सह–सम्पादक भनेर प्रिन्ट लाइनमा नाम छापियो । पहिला मेरो जिम्मामा थियो – कञ्चनजङ्घा र कान्तिपुर रेडियोले फुकेको समाचार सार्ने । ६–साढे ६ बजेको छुट्यो भने त बर्बादै हुने । पछि चिनजान बढ्दै गयो । कार्यक्रमहरुमा बोलाउन थाले । त्यसैबेला मात्र थाहा पाएको भत्ताको स्वाद । पत्रिकाको वार्षिकोत्सवमा अर्को स्वाद पनि थाहा पाइयो – मदिराको । सबै लठ्ठ थिए । कोकमा मिसाएर मलाई नि भ्याइहालेछन् ! उल्टासुल्टा कुराको भोलिपल्ट खूब चर्चा भो । मैले त प्रधानसम्पादकलाई नै पो ठाडै हप्काएछु ।
‘पचाउन नसक्नेले किन खानू ?’, भोलिपल्ट उनी जङ्गिए ।
म लुत्रुक्क परेँ ।
हहह
पहिलो तलब समातियो – तीन हजार पाँच सय रुपैयाँ । खिन्न भो मन । यति पैसा त गाउँमै पत्रिका बाँडेरै कमाइहाल्थेँ नि ! भन्न मन लाग्यो, बोलिनँ । खान र बस्न त दिएकै थिए !
काम बढेको थियो – पत्रिकाको भित्री पानाको लागि विचार खोज्ने, समाचार खोज्ने, स्तम्भ अनुसारको सामग्री तयार गर्ने, त्यसलाई सच्याएर कम्प्युटर अपरेटरकहाँ पु¥याउने । दिउँसो निम्त्याइएको कार्यक्रम भ्याउने र फर्केर ती सबैको शुद्धाशुद्धी हेर्ने । फ्याक्समा आएका समाचारलाई आफ्नो ढाँचामा पुनर्लेखन गर्ने । हुँदा–हुँदा विज्ञापनको जिम्मा पनि आइलागेको । विज्ञापनदाता रिझाउने, फकाउनेसम्म । बिहान ९ बजेबाट सुरु भएको ड्युटी कहिलेकाहीँ राति १ बजे सकिन्थ्यो । र, सुतिन्थ्यो बिहान ८ बजेसम्म । लमतन्न ।
पहिलो महिनाको तलब महिना बित्नासाथै पाएको हो । दोस्रो महिनाको तीन महिनातिर पुग्यो । पछि–पछि त दसैँ आउँदा चाहिँ पाइन्छ भन्नेमा पुगियो । या त कुनै ठूलै कारण चाहिन्थ्यो तलब पाउन । तलब मात्रै कहाँ हो र ! बिदा पाउन पनि ठूलै कारण चाहिन्थ्यो । सामान्य टाउको दुखाइलाई अफिसले बिदा दिँदैनथ्यो । रात–दिनको खटाइले ज्यान सुक्न थाल्यो । १२ किलोमिटरमा थियो घर, तर १२ माइल टाढा जस्तो भएको थियो । पुग्नलाई २–३ महिनामा साइत जुराउनु पर्ने ।
जनताको सुसूचित हुने अधिकारमा कसैसँग सम्झौता गरिएन । धेरैको पीडामा मल्हम लगाइयो । समाजको ऐना भइयो । जस्तालाई त्यस्तै देखाइयो । कति शत्रु कमाइयो, कतिको शुभेच्छा पाइयो । रिपोर्टिङमा जाँदा पाइने इज्जतको आनन्दानुभूतिले भने लाग्थ्यो – जीवन सोचे जस्तै भयो । धेरैले हामीलाई ठूलो आदर र सम्मान गर्थे । धेरैको नजरमा ठूलो मान्छे भइयो । पैसा थुपार्न नसकेर के भो !
आमाले फोनमा ‘सज्जन ! कृष्ण मामाको ब्याजै मात्र तीन हजार पुगिसक्यो, तँलाई क्याम्पस पढाउँदादेखिको ऋण हो’ भनेको सम्झँदा आङ जिरिङ्ग हुन्थ्यो । टेन्सनले दिमाग तात्तिन्थ्यो । पैँतीस सयमा पन्ध्र सय रुपैयाँ नुहाइधुवाई, चिया–नास्तामै सकिन्थ्यो । तीन–चार महिनामा तलब पाउँदा पार्टी चल्थ्यो । यही मौकामा साथीभाइसँग बेला–बेला सुरापानको मिटिङ चल्थ्यो । तलब नपाएर मनमा हुँडलिएको आवेश यसैबेला पोखिन्थ्यो ।
एक दिन त बूढाले थाहा पाएछन् । जागिर चट् भो । जागिरबाट निकालेको अर्को कारण पनि थियो – बूढालाई केही... कुरामा टेरेको थिइनँ । विज्ञापनको पैसा उठाउने काम । अर्को थियो उनको प्रिय मित्रको अप्रिय समाचार छापियो, मेरो सम्पादनमा । उनले एकैचोटि पोखेका थिए रिस, ममाथि । पाउनेसम्मको चेक काटेर हातमा थमाइदिए । थिन त १० हजारको चेक थियो । तर, के गर्ने, खाजाघरमा ८ हजार नाघिसकेको थियो बिल । घरमा थाहा दिन पनि कति अप्ठ्यारो ! दुई दिन साथीकहाँ बसेँ । मलाई निकालेको हल्ला बिर्तामोडका पत्रकारहरुमाझ चलेछ । अर्को पत्रिकाले अफर ग¥यो । नाइ भन्ने स्थिति नै कहाँ थियो र ! गइयो । पत्रकारिताको लत जो बसेको थियो ।
‘तलबै पाइँदैन, के गर्नु र पत्रिकामा काम ।’ मैले भनेको थिएँ, नयाँ कामदातालाई ।
‘तलबले मात्रै कहाँ टिकिन्छ र पैसा कमाउन त थुप्रैथोक गर्नुपर्छ’, उसले फकाएको थियो, ‘पुलिस, व्यापारीसँग लाइन मिलाउनुपर्छ ।’ त्यो लाइनका बारेमा उसले खुलेरै भन्यो । तर म परेँ सज्जन । सुनेँ मात्र । सायद उसले भनेको मानेको भए पैसा चाहिँ कमाइन्थ्यो होला, टन्नै ।
पत्रकारितामा कपाल पकाएर थन्किएकाहरु पनि भेटेँ । पत्रकारिताबाटै सहरमा अग्लो घर ठड्याउने पनि भेटेँ । ठूला मिडियामा काम गर्नेको इज्जत पनि ठूलै छ । बाइकमा सररर हुइँकन्थे । एफएम, टीभी, माथिका पत्रिकाको रिपोर्टर र लोकल पत्रिकाको जागिरे बनेर महिनाको ४० हजार कटाउने पनि छन् । धुत्र्याईं गरेर, व्यापारी धम्क्याएर, पुलिससँग लाइन मिलाएर त्योभन्दा धेरै कमाउने पनि छन् । रातैपिच्छे मदिरा पानमा रमाउने अझ धेरै छन् । आफू परियो सज्जन । लप्पनछप्पन जाने पो !
तलब बढेर १० हजार पुगेको छ । खानबाहेक । होटलमा खानुपर्ने । छाकको ७० रुपैयाँले महिनामा आधा तलब सकिन्छ । खाजा त भत्ते कार्यक्रमको भरमा । कहिले एकै दिन तीन ठाउँ पुग्नुपर्ने, कहिले हप्तौँसम्म सुख्खा । भत्ताको के भर ! अभागीलाई जता गयो उतै ठक्कर भन्ने उखान त्यसै बनेको होइन रहेछ जस्तो लाग्यो । नयाँ थालेको पत्रिकाले पनि ६ महिना यता तलब दिन सकेन । होटलमा ङिच्च हाँस्दै थेत¥याइँ गर्नुको विकल्प थिएन । पेट भोकै राख्न त कहाँ सकिन्थ्यो र ! पत्रकारै भनेर मात्र हो, नत्र उहिले भाँडा मझाउने अवस्था ।
हहह
जीवन एवम् रितले चल्यो । दशक बित्यो । पैसाबाहेक सबैथोक कमाइयो । नाम कमाइयो, प्रतिष्ठा कमाइयो, साथीभाइ कमाइयो । विस्मत भन्नु यत्ति हो, घर–परिवार छोडियो । समय अर्काकै भयो । कतिबेला कसले घण्टी बजाउँछ र कुद्नु पर्ने ! धन्न कहिलेकाहीँ पुरानो गर्लफ्रेन्डको रिङ बज्छ । मन शान्त हुन्छ । खूब गफ जोतिन्छ । ऊ भन्छे, ‘गफमा चाहिँ पत्रकारलाई जित्न सकिन्न ।’
कुरैकुरामा ऊ भन्छे, ‘केटा माग्न आउन थाले, के गर्ने हो !’
म भन्छु, ‘भन्देऊ न मेरो ब्वाइफ्रेन्ड पत्रकार हो भनेर ! थर्कमान भएर भागिहाल्छ नि !’
ऊ भन्छे, ‘मैले भन्द्या छु, चाँडै घरजम गरौँ अब ।’... उसले फोन राखी ।
कमाउन नसक्नुको थोरै धक्का मनमा प¥यो । बिहेपछिको अवस्था सम्झेँ । आँट नभएको लाछी ! – उसले भन्दी हो । अन्योल र अभावको भुँवरीमा उनलाई किन लपेट्ने ? – एक मनले भन्छ । म राति १ बजे घर पुगुँला । ऊ रिसाउँदै सुतिसकेकी होली ! खान टाइममा नजाँदा भोकै रुँघेर बस्ली । उसले सोचे जस्तो जीवन पक्कै हुँदैन । त्यसले मनमुटाव आउला, कलहको रुप लेला । .... मनमा अनेक तर्कना खेल्न थाल्छ ।
यत्तिकैमा गाउँको ल्यान्डलाइन नम्बरले मोबाइल घन्कियो । ‘आमा सिकिस्त छिन्’, लेखनाथले खबर सुनायो । ममाथि आकाश खसेझैँ भो । तुरुन्त एम्बुलेन्स ल्याउने आदेश थियो । एम्बुलेन्सलाई तिर्ने भाडासम्म गोजीमा छैन । भौँतारिँदै जसोतसो एम्बुलेन्स लिएर घर पुगेँ । घोपा पु¥याइयो । भोलिपल्ट डाक्टरले रिपोर्ट पढेर सुनाए –
‘आन्द्रामा घाउ छ । अप्रेसन गर्नुपर्छ । ४०–४५ हजार लाग्छ । तुरुन्तै नगरे ज्यानलाई खतरा छ, हामी रिस्क लिँदैनौँ ।’
अब किच्यो मलाई पैसाको ठूलो पहाडले । तलब जोड्दा जम्मा ३० हजार हुन्थ्यो । फोन गरेँ, समस्या बताएँ । आए साथीहरु कुदेर । ल्याइदिए दोस्रो दिन ३० हजार नै । अरु पैसा खोज्न लगाएँ ।
आँखा अगाडि आमा छटपटाएको हेर्नु परिरह्यो । दुई दिनमा बल्ल जुट्यो खोजखाजबाट । अप्रेसन सुरु भो । तर, बचाउन सकिएन । इज्जत र पैसा कुन ठूलो भन्ने मनको वादविवादमा सधैँ इज्जतले जित्थ्यो । तर, आज हा¥यो ।
भोलिपल्ट समाचार छापियो, पत्रकार सज्जनलाई मातृशोक ।
थुप्रै समवेदना पत्रहरु थुप्रिए । तिनमा आमाको तस्वीर हाँसिरहेको थियो ।
ऐना भएर बाँचियो । अव्यक्त पीडाहरु पछाडि भागमा चुपचाप लुकिरहे ।...

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 21 भाद्र, 2072

लेखकका अन्य रचनाहरु