देवे

- मन्दिरा मधुश्री

शुरुमा त देवेलाई पटक्कै पनि आँट आएको थिएन । छेउमा पर्न पनि संकोच लागिरहेको थियो ।

देवेले मकैको खोस्टो नंग्याएजस्तै गरी एकपछि अर्को लुगाका पत्रै पत्र छोडाउँदै गए नवदुलही गीताका । सेती मकैको घोघो जस्तै सेतो, चिल्लो र पोटिलो जिउ देख्दा भित्रैदेखि अलिक कसिलो भएर आएको महसुस गरे आपूmलाई । धेरै पछि उनको शरीर आज यसरी कस्सिएको थियो ।

आफूमा निकै जोश भरिए जस्तो लाग्यो । त्यसैले चाउरी पर्न लागेका हातले गीताका जिउमा सुम्सुम्याए । नाइटोमा चोरी आंैलो घुसारे बिस्तारै । गीताले पनि सिरिगं पारिन् आङ । गाइको डँडेल्नोमा छुँदा खेरी हुने जस्तै एकलहर दौडियो उनको जिउमा पनि । संकोचले बाबरी झार भइन उनी ।

चिल्लो गोरो र पोटिलो जिउ देख्दा कप्लक्क नै निलुँ कि जस्तै लागेको थियो देवेलाई । उनले कतै हात दौडाए भने कतै मुख । गीताको ओठबाट रगत चुहिएला जस्तै भएको थियो । जिउ आरनमा तताएर निकालेको फलाम जस्तो । काम जरो आएजस्तो ।

आफनो कलेटी परेको ओठ गीताको रसिलो ओठमाथि खप्ट्याएर दुइचोटि तानेका थिए कि थिएनन् दुई महिना अघिमात्र लगाएका उनका मथिल्लो पटिका दुईवटा दाँत पो फुत्किए । हतार हतार उनले आफ्नो मुख अलग्याएर दाँत मिलाए । मदहोश भएकी गीताले नदेखे जस्तो गरिदिइन् ।

धेरै पछि आफ्नो अगाडि सेती मकैको घोघाजस्तो निर्वस्त्र नारी देह देख्दा रोगले र बुढ्यौलीले हड्डीमा नै टाँस्सिसकेको काँइलीको शरीर सम्झिए देवेले एकचोटी । त्यसैले त निकै जोस देखाएर जाईलागेका थिए गीतामाथि । तर उनको शररिले पटक्कै पनि साथ दिएन उनलाई ।

शारीरिक शक्ति ओह्रालो लागेपछि काम शक्ति पनि कता भाग्यो पत्तै पाएनन् उनले । कामीको खलाँती जस्तै भयो छाति । दम फुलेर श्वास ह्वार–ह्वार गर्न थाल्यो । युरिक एसिडले बन्धक बनाएका हात खुट्टा र कम्मरको जोर्नी पनि करकरी भयो । बिजय बिन्दुमा पुग्छु भनेर फेरी नकस्सिएका होइनन् देवे तर अहँ उनलाई सुगरले गलाएको उनको शररिले फेरीपनि साथ दिएन । शक्ति सन्तुलन धराशायी हँुदै गएपछि शरीर सन्तुलन पनि लथालिँग भयो उनको । ओच्छ्यानको अर्काेपटि थचारिएर हर्याक–हर्याक गर्न थाले उनी ।

जविनमा पहिलो पटक निर्धक्क भएर स्वतन्त्र छोडिदिएकी थिइन् आफ्नो शररिलाई गतिाले । किनभने अब भने उनीसँग एउटा अधिकार प्राप्त वा प्रमाणित प्रमाणपत्र थिए देवे । सामाजिक रितिरिवाज र संस्कार द्वारा प्रमाणित पुरुष । त्यसैले त उनी छताछुल्ल भएर पोखिएकी थिइन् । छचल्केकि थिइन् किनभने उनको पहिलो रात वा भनौं सुहागरात थियो । तर जसरी पोखिएकी थिइन्, त्यसैगरी कक्रक्क भएर जमिन् । हिउँपूmल भएर जमिन् । स्वाद विहिन् । रंग विहीन् अनि ताप बिहीन् । चीसो भएर । जब उनले देवेलाई आपूmबाट अलग्गिएर अर्काै पटि उत्तानो परेर कामीको खलाँती जस्तो छातीमाथि हात राखेर हर्याक–हर्याक गरेको देखिन् ।

टिठाएर हेरिन् गतिाले आफ्ना नव–विवाहित पति देवे तिर । अहँ आँखा जुधाउन सकेनन् उनले । हिनतावोध र आत्मग्लानी थोरै पोतियो उनको अनुहारमा । ‘आपूm पर्ण रुपमा पुरुषै छु’ भन्ने भ्रमको गगन चुम्बी गल्र्यामगुर्लुम्म भएर ढलेको थियो उनको ।

०००००

दुलही भएर भित्रिएको भोलिपल्ट नै धेरै दिन जस्तै भएको थियो गितालाई । लोग्ने मान्छेको बिहे गर्ने उमेर कहिल्यै पनि जाँदो रहेनछ अनि आइमाईको भाग्य कहाँ पुगेर कतिखेर र कोसँग ठोकिन्छ त्यो पनि त थाहा हँुदोरहेनछ । यस्तै लाग्यो गीतालाई पनि । किनभने देवेको छोरोसँग वर्षांै प्रेम गरेर बिहेको कुरा चलाउंँदा दुवैका बाबु मिल्ने साथी भएकोले छोराछोरी दाजु बहिनी जस्तै हुने भएकोले बिहे गर्न नमिल्ने भनेर रोकिएको उनको बिहे आज त्यही बाबु, समानको अंकलकी पत्नी भएर भित्रिएकी छन् गीता आफैँले मनले रोजेको र माया गरेको मान्छेको आमा साइनोमा गाँसिएर । त्यसैले पनि जीवनमा आएको अपत्यारिलो उतार चढावलाई नियालिरहेकी छन् एकान्तमा उनी ।



बिहेको त्यति ठूलो उत्सव वा कार्यक्रम पनि भएन । न त त्यति ठूलो भीड । न त धेरै मान्छेहरुको जमघट नै । हुन पनि यस्तो खालको बिहेमा के को उत्सव र जमघट नि । बूढो मान्छेको त्यो पनि अनमेल बिबाह ।

“अब त तिम्रा माइती पनि कति खुकुला र खुशी भए होलान् तिमीलाई अन्माए पछि त..।” एकजना बृद्धाले प्वाक्क भनिन् । गीता झसंग भइन । तर कति खुशी भए कि दुःखी ? आफँैभित्र प्रश्न तेर्सियो ।

कस्तो बिडम्बना, जन्मिएर हुर्किएर आधा जिवन बिताएकोचाहिँ मेरो घर हैन रे । अधिकार नलाग्ने रे । अधिकार त के आफ्नो घर पनि भन्न नपाइने । माइत भन्नुपर्ने । तर जहाँ म भर्खर मात्र पस्दैछु त्योचाहीँ आफ्नो घर रे । सबै अपरिचितसँग नयाँ साइनो गाँसिदै मात्रै छ तीचाहीँ आफ्ना रे ।

जम्मा एकदिन मात्र बिताएको कोठा त्यति नै असहज लागिरहेको थियो गीतालाई जति असहज लागेको थियो आफूसँग बिहे गरेको बूढो लोग्ने र त्यस घरका प्रत्येक ब्यक्ति र ब्यक्तिले लगाउने साइनोहरु । बिहे भएर भर्खर पत्नी मात्र भएकी उनले आफूभन्दा बुढो देखिने ब्यक्तिलाई छोरा भनेर भन्नु पर्ने । आफूभन्दा ठूला त्यस घरका आइमाइलाई छोरी र बुहारी भन्नु पर्ने रे । सानालाई नातिनातिनी । कति असामान्य साइनो ।

हिजोसम्म उनी अबिबाहित हुँदा दिदी बहिनी र छोरीका तीनवटा साइनोमा मात्र सिमित थिइन् । तर आज लोग्ने भनाउँदाको एक चिम्टि सिन्दुर र एक लुंग पोतेसँगै एकैचोटि थुप्रै साइनो र सम्बन्धहरुमा बिभाजित हुन पुगिन् गीता ।

यस्तै तर्कना गरेर बसिरहेकी गीताले पर्दा उचालेर एउटी सानी केटीले चिहाइरहेको देखिन् । उसलाई देखेर हाँसिन् । ऊ पनि जम्मा आफूसँग भएका छ सात वटा सबै दाँत देखाएर हाँसी र गीताको इशारालाई पच्छ्याउँदै डराउँदै गई । अनि डराउँदै सोधी, “हजुरआमा तपाइँ किन यहाँ हजुरबुबासँग सुतेको ? उता टि.भि. कोठामा सुतेको भए पनि त हुन्थ्यो नि । अनि किन तपाइँले हाम्रो हजुरबासँग बिहे गरेको ?”

पुरुष स्पर्श पनि राम्ररी नपाएकी गीतालाई हजुरआमा शब्दले चसक्क बिझायो ।

प्रश्न सजिलो सोधेकी थिई तर उत्तर न त गीताले बुझाउन सक्थिन् न त नानीले नै बुझ्दथी कि किन उनले उसको हजुरबुबासँग बिहे गरेको भनेर । कुनै उत्तर नपाएछि नानी लुसुक्क निस्केकी थिई कोठाबाट ।

देवेकोलागि गीतासँगको प्रणय प्रतक्षमा रहर भएपनि परोक्षमा गर्नै पर्नै परिवन्द थियो, उमेरले र शरीरले साथ नदिएपनि । किनभने उनले वैंश चढ्दा देखि लिएर उमेरले नेटो नकाटुन्जेल दुई चारवटी आइमाइको फरियाको फेर समाइसकेका थिए । चौवन्दीका तुना तानी सकेका थिए । सत्र अठारको लर्के वंैशमा नै गोठालो जाँदा तामाङ जेठोकी छोरीलाई समातेर पहिलो चोटि आफ्नो यौवनको उद्घाटन् गरेका थिए । वीस नलाग्दै बिहे गरेर भित्राईसकेको थिए दुलही काइँलीलाई ।

काइँली सुत्केरी हँुदा र पर हँुदा काम गर्ने केटी नीरेलाई पनि अँध्यारोमा कैयौँ पटक छामेका थिए उनले । नेपालीको औषत आयु बाँचुन्जेल सम्म नै सँगै थिइन् उनकी पत्नी पनि ।

अकस्मात जीवनले उत्तरार्धको बाटो लिन लाग्दा आफ्नो सहयात्रीले यात्रामा बीचमै छोडेर अनन्त तिर लागेपछि रहर भन्दा पनि आवस्यक्ताले गर्दा गीतालाई काँइलीका ठाउँमा भित्राएका थिए देवेले । त्यसले त कुमारी गीताकालागि देवेसँगको प्रणय क्रिडा रहर अनि आवस्यक्ता दुवै थियो । किनभने उनकालागि पहिलो अनुभव थियो पुरुष स्पर्शको । नयाँ जीवन शुरुवातको पहिलो रात्रि थियो । तन र मन मिलन हुने सुहागरात थियो ।

उनको एघार वर्षको उमेरमा विधिवत बिवाह भएपनि व्यवहारिक रुपमा उनी कुमारी वा कन्ये नै थिईन् । किनभने उनको बिवाहित लोग्नेले उनको कुमारीत्व छेदन गर्ने उमेर नै नभोगि अनन्तमा लीन भएको थियो । उनी बाल विधवा थिइन् ।

त्यसैले त उनले सुनेको, बुझेको कुरेको सुहागरात थियो त्यो उनको । त्यसैले त उनी महसुस गर्न चाहन्थिन् सुहागरातको । कुमारीत्व छेदनको । पुरुष स्पर्शको । पौरुषत्वको ।

जीवनको लगभग आधा उमेर बिताइसकेकी उनी आज पूर्ण रुपमा ‘नारी’ भएको महसुस गर्न चाहन्थिन् तर अहँ उनको यो अपेक्षा पूरा गर्न सकेनन्, उनका नव बिवाहित पति देवेले ।

अतृप्त आँखाले गीताले आफूतिर टिठाएर हेरेको देखेर देवेले भने, “मलाई माफ गर है गीता, आजका दिन त सक्छु नै भन्ने लागेको थियो । प्रयाश गर्दा पनि अहँ पटक्कै सक्दै त सकिँन । शरीरले नै साथ नदिएपछि मनले मात्र हुँदो रहेनछ त ..। अब आइन्दा भने यस्तो हुने छैन पक्का...।”

आस्वासन जति गुलियो भएपनि सारै पत्यारिलो लागेन गीतालाई । देखिसकेकी थिइन उनले पाइन् देवेको ।



०००

बुढी मरेपछि पुर्णत एक्लो भए देवे । राँडी आइमाइलाई बरु सजिलो रहेछ जीवन बिताउन घर परिवार र समाजमा बाँच्न तर राँडो लोग्ने मान्छेलाई त ज्यादै अप्ठेरो हुँदोरहेछ । झन उनी त रोगी । उनको सह्यार सुसार, औषधीपानी, समय समयमा तातो चीसो खानेकुरा, कसले पो समय दिन भ्याउने ? विश्वासिलो जमाना पनि छैन । भरपर्दो मान्छे पाउनै गाह्रो । पत्नी बाहेक नजिकको र आफन्त अरु को पो हुन सक्छ र ..? त्यसैले छोरा बुहारी आफन्त सबैले बरु बिहे नै पो गरिदिने सल्लाह गर्दा मानेका थिएनन् देवेले । तर पैसठी कटिसकेका देवेले अप्रत्यासित रुपमा गीतालाई दुलही बनाएर भित्राए ।

मर्ने बेलाकि आमाको नातिनी कन्यादान गर्ने घिडघिडो पूरा गर्न खर्दार बलराज पण्डितले एघार वर्षे नाबालक छोरीको बिहे गरिदिएका थिए । तर जग्गेको आगो मात्र तापेकी छोरी गीता दुलहाको घर नै नगई एक वर्षमै बिधवा भइन् । त्यसैको केही वर्षपछि जब आफ्नी छोरी र देवेकी छोरासँगको सम्बन्ध कसिँदै गरेको थाहा पाए तब बसाइँ हिँडेका थिए बलराज आफनो पूर्खाको थातथलो र अभिन्न मित्र देवेलाई छोडेर ।

‘छोरीलाई शिक्षा आजको आवस्यकता’ भन्ने राम्ररी नै बुझेका थिए बलराजले । त्यसैले पनि छोरी पढाउनको लागि कुनै कन्जुस गरेनन् । गाउँभरिमा बि.ए. पढ्ने उनकै छोरीमात्र थिइन् । बलदेलको प्रभाव र गीताको शिक्षाको उचित कदर भयो ।

गाउँको बिद्यालयको शिक्षिका बनिन् । बिर्सीसकेका थिए उनले गीताको बिगतलाई । शिक्षा, आधुनिकताको प्रभाव परेका बलदेवले गीताको योग्य केटा खोज्न थाले । पढाइ रुप र जागिरको त्रीवेणीले गर्दा उनी नाङलो जत्रो छाती बनाएर हिँडेथे ।

छोरीकालागि धेरै ठाउँबाट कुटुम्बको लाइन लाग्न थाल्यो । सबैले मन पराउँथे । कुरा पनि मिल्थ्यो । तर अन्तिममा के हुन्थ्यो कुन्नि, कोही पनि फर्केर आउन्नथे । गीता पनि घरमा मान्छे आउँदा पारिजात भएर फक्रिन्थिन तर पछि त्यत्तिकै जाँदा पारिजात नै भएर ओइलाउँथिन पनि ।

उनको ओर्लँदो वैँश र उमेर कहिलेकाहीँ उनलाई स्वनिर्णय गर्न घचघच्याए पनि समाज, दायित्व, पद र बाबुको मान–सम्मान, मर्यादा, इज्जत, उनका अगाडि ठिंग भएर उभिन्थे । त्यसैले त उनी बाबरी झार झैँ हुन्थिन बारम्बार...। मरिच भएर चाउरिनुपथ्यो सँधै । उनका चीसा रातहरु चीसै मन चीसै तन पारेर कचपल्टिरहन्थे ।

जुनसुकै कुराको पनि एउटा उपयुक्त समय र अवधी मा मात्र त्यसको महत्व हुन्छ नत्र समय गएपछि महत्वहीन । त्यस्तै महत्वहीन हुँदै गइन् गीता । पहिला सबैको नजरमा पर्ने उनी बिस्तारै सबैबाट ओझेल पर्दै गइन् । उनले हात समाएर स्कूल लैजाने गरेका केटीहरु कतिले त नानी लिएर माइत आएको र केटाहरुको पनि दाह्रीजुँगा छिप्पिसकेको देख्दा आफूलाई अप्ठेरो महसुस गर्थिन् गीता । दिनानुदिन उनी पँधेरे गफ र भट्टि गफमा मात्र अटाउन थालिन ।

अब त घरमा नयाँ मान्छे पनि उनको बिहेकोलागि कुरा लिएर नभएर गाई, भैँसी, जग्गा खोज्ने मात्र आउन थाले ।

बलराज दिउँसो कतैबाट घरमा आए । आफ्नो कोठामा पस्दै थिए । छोराबुहारीको कोठाबाट गुनगुन आवाज आएको सुने ।

“किन आएकी थिइन अरे त बिन्दा दिदी ?”

“उही त हो नि, गीताकोलागि केटाको कुरा लिएर आएकी”

“अनि कस्तो छ अरे त ?”

“आ जस्तो सुकै होस् नि मैले त खोजी नै गरिन । उनले त बताउँदैथिन् मैले त्यो त हाम्रा नाता पो पर्छ भनेर धपाइदिएँ ।”

“ठीकै भएछ त ..। कसै गरेपनि उम्कन दिनु हुन्न है गीतेलाई त यो घरबाट...।”

“कहाँ दिन्छु त ..? गीता त दुहुनो गाइ पो हो त ..। ऊ भएपछि काम गर्ने अरु पनि राख्नु पर्दैन । अनि खुरुखुरु पैसा पनि आउँछ । अब बुबाको शेख पछि त उसको सबै कमाइ हाम्रै त हो नि...।”

“अहिले त बूढाले के भन्लान भनेर पो सबै नमागेको त ...। पछि त सबै कहाँ छोडिन्छ र ?”

“अहिलेसम्म आएका सबैलाई मैले त बिधुवा हो भनेर भाँडिराखेकै छु यसपाली पनि नाताको हो भनेर खेदाइदिएँ .....।”

“ठीक गर्याै ..., तर अलिक चलाख भएर गर्नू नि । थाहा पाउलान नि बाबु छोरीले ।”

रिँगटा लाग्यो बलराजलाई यो सुन्दा । पहिले दाजुले बहिनीलाई कति माया गथ्र्याे त्यो सम्झना भयो उनलाई । स्कूल जाँदा आउँदा उसको किताबको झोला मात्र नभएर बहिनीलाई नै बोकेर हिँड्थ्यो । आफ्नो भाग बहिनीलाई दिन्थ्यो सबै । एक्लै केही खाँदैनथ्यो । बहिनी रोइ भने सँगै रोएर बस्थ्यो ।

जीवन्त भएर बल्झिए पूर्व दृष्य र ऐठन भएर बिझायो उनलाई ।

रातभर उनलाई निन्द्रा परेन । कोल्टो फेरिरहे । सुस्केरा हालिरहे । बारम्बार उनलाई छोरीको उजाडिएको सिउँदो मात्र हैन डडेलो लागेको भविष्यले सताइरह्यो । पछि गीताको जीवनमा आइपर्ने संभावित परिदृष्यहरु झल्याकझुललुक भइरहे । शिक्षा र संसकार दिएपनि सुरक्षित भविष्य दिन नसकेको दोषी ठानेर धिक्कारि रहे आफैँलाई ।

जमाना अठारौँ शताव्दीको पनि त थिएन, देवराजको छोरासँग झ्याँगिएको प्रेमलाई गोरुबेचेको साइनोको तघारो नतेर्साएको भए पनि त हुने रहेछ । पछुताउ भयो उनलाई यतिखेर । त्यसबेला गरेको निणर््ायप्रति । शायद अहिले त्यही पाप लागेको त हैन, यो उमेरमा पनि छोरीको अनिश्चित र अन्धकारमय भविष्य ।

आफ्नो अन्त्यपछि उनी आफ्नै घरलाई मानव वस्ती बीचमा रहेको मसानघाट, छोरा बुहारीलाई जल्लाद र छोरीलाई काँचो दाउराको चीतामाथि जलिरहेको जिउँदो लाशको कल्पना गर्छन् । एउटा अदृष्य गह्रौँ बोझ एकाएक झन गह्रुंगो हुँदै किचिरह्यो बलराजलाई । तर त्यो बोझ बिसाउने चौतारो दायाँबायाँ वा सामुन्ने कतै पनि देखेनन् ।

“गीता मलाई माफ गर है छोरी ...।” अनायाशै बलराजले गीतालाई अँगालो हालेर रोए । बाबुलाई दुधको गिलास लिएर कोठामा पुगेकी गीताले बाबुको यस्ता क्रियाकलाप देखेर छक्क परिन ।

“किन र बुबा ?”

“मैले तँलाई जन्म दिए पनि सुरक्षित भविष्य दिन सकिन छोरी....। देवेको छोरासँगको तेरो आत्मीय सम्बन्धलाई मैले तघारो तेर्साउनाले नै तेरो सुरक्षित भविष्य खोसियो ।”

“यो सबै मेरो भाग्यको दोष हो बाबा ।”

“भाग्य हैन कर्मको । मेरो कर्मको दोष हो । मैले आफ्नो छोरीको भविष्य अँध्यारो पारेँ । तर अब म त्यस्तो गल्ती दोहोर्याउने छैन । मेरो कुनै बन्धन र तगारो हुँदैन । आफूखुसी आफ्नो भविष्य सुरक्षित पार छोरी ।”

उनले छोराबुहारीको सबै कुरा छोरीलाई सुनाए ।

वास्तविकता थाहा पाएर किंकर्तव्यबिमुढ भइन गीता । उनले पनि महसुस गरिन् कि, जुन घरमा उनी आफूलाई सुरक्षाको महसुस गर्थिन त्यो त मानिसलार्ई जिउँदै जलाउने मसानघाट नै रहेछ नि ।

मन मस्तिष्क शिथिल भएपछि शरीर पनि उठ्न सक्दो रहेनछ । यस्तै भयो गीतालाई पनि । सम्पूर्ण जाँगर मरेर गयो । उनलाई लाग्यो स्वरुप मात्रै भएको भएपनि लोग्ने मान्छेको जातको एउटा प्राणी चाहियो अब उनकालागि । जसले आइमाइको जातलाई सुरक्षा कवच बन्न सक्छ । सत्य भन्दा, उनकालागि कम र अरुकैलागिचाहीँ बढी ।

चिने देखेजति सबैलाई सम्झिन् अहँ आँखा अगाडि कोहीपनि उभिएनन् ।

अकस्मात दिमागको ऐनामा काले उभियो ।

“हे.... त्यो त सानो हो आफूभन्दा ।” एक मनले भन्यो ।

“सानो छ.....? दाही जुँगा झ्याप झ्याप्ती भइसक्यो ।”

“तै पनि त आफैँले हुर्काएको भाइजस्तो......।”

“भाइ जस्तो त हो, तर भाइ नै त हैन नि ......। अनि सानो होस कि ठूलो होस् नि तँलाई समाजमा सुरक्षाको कवच स्वरुप उसको नाम मात्र त चाहिएको हो नि ..। अनि आफूभन्दा धेरै पाकासँगचाहिँ बिहे गर्न हुने रे कम उमेरकासँगचाहिँ किन नहुने ?”

“हो त्यो त ..तर....।”

“त्यसो भए के त ...????”

अन्र्तमनमा द्वन्द भइरह्यो उनको ।

गीताले झ्यालबाट हेरिन् । तल आँगनमा काले दाउरा चिरिरहेको थियो । एकक्षण अघिसम्म आँगनमा लडिरहेको मुढोलाई कालेको बल, शीप र मेहनतले धूजा धूजा हुँदै गइरहेको थियो । उसमा पूणर््ा इमान्दारिता, लगन र शीप पनि देखिन्थ्यो ।

“काले.....।”

अकस्मात कालेको ध्यान भंग गर्याे काले शब्दले । उसले टाउको उठाएर पल्याक पुलुक हेर्याे । झ्यालमा आधा जिउ निकालेकी गीतासँग ठोकिए आँखा ।

“यहाँ आइज त ।” गीताका शब्द र इशारा दुवै बुझ्यो कालेले । हातको बन्चरो भुइँमा पछारेर टोपीले पसिना पुच्छ्दै ऊ लम्कियो आवाज पच्छ्याउँदै ।

“सुन त अब तँलाई म नयाँ लुगा हालिदिन्छु नि ..।”

उसले गीतालाई पटक पटक भनेको थियो, उनको बिहेमाचाहीँ उसलाई नयाँ लुगा सर्ट पाइन्ट चाहिन्छ भनेर ।

“हो र दिदी ? अब तपाइँले बिहे गर्ने हो....?”

“हो र त भनेको त ...।”

“दिदी मलाई त सर्ट पाइन्ट, जुत्ता अनि क्याप है ल ।”

“के को सर्ट पाइन्ट मात्रै नि । तँलाई त सुट नै हािलदिन्छु नि ..।”

“हो र ..?” खुशी र आश्चर्य दुवै झल्कियो उसको निर्दाेष मुहारमा ...।

ऊ आफ्नै भाइ भइदिएको भए र ऊ र गीताबीच मर्यादाको खाडल नाग्नु नपरे ऊ गीतालाई जुरुक्क उचालेर ‘मेरी दिदी कति जाति’ भनेर फनफनी घुमाउथ्यो होला आफूभित्रको खुशी देखाउन । तै पनि डिच्च हाँसेर त्यो खुशी फूलाईरह्यो ।

“तर तैँले मैले भनेको मान्नुपर्छ अनि मात्र किनिदिन्छु....।”

पुलुकक गीतापटि फर्कियो प्रश्नसूचक दृष्टिले ।

“तैँले मसँग बिहे गर्नुपर्छ । गर्छस हैन ..?” नहाँसी भनिन् गीताले ।

“हे दिदी पनि ....जे पायो त्यही भन्नुहुन्छ ...।”

रातो अनुहार बनाएर कपाल कन्याउँदै काले फुत्त बाहिर निस्केर गयो । गीताको अन्र्तमनको आवाजलाई मात्र एउटा ठट्टा ठान्यो र आफ्नो काममा दत्तचित्त भयो ।

दाजु भाउजुको बास्तबिकता सुनेपछि गीताले जागीर खाने रहर पनि मािरदिइन । कारण थाहा नपाएका दाजु भाउजूले मुखामुख गरे ।

बलराज झोक्राउँदै गए । आफुलाई बुढ्यौलीले थल्याउादै गएपछि उनलाई होस आएको थियो, छोरीको भविष्यको । रुप र यौवन हुँदासम्म योग्य खोज्दा खोज्दै गीताको पनि त अब त उमेरले नेटो काटेको थियो । सबै दोष आफ्नै भएको देखे उनले ।

अकस्मात उनका अभिन्न मित्र देवे आइपुगे उनको घरमा एकदिन । अति मिल्ने भएर एक अर्कालाई देवे र बलु भन्थे । खासमा नाम देवराज र बलराज भएपनि ।

बलराजकी त उहिले नै बलुलाई एक्लै छोडेर गइसकेकी थिइन् तर देवेकी काइँलीले पनि बिभिन्न रोग पालेर बसेका देवेलाई एक्लै रोगसँग लड्न छोडेर गइछिन् केही महिना अघि मात्र ।

छोरा बुहारी दुवै जागिरे भएकोले जिल्ला बाहिर नै थिए । घरमा बस्न संभव पनि त भएन जागिरे भइसकेपछि । दुवै सँगसँगैका भएपनि सुगर, प्रेशर, दम, युरिक एसिड सबैले गर्दा अलिक बूढोजस्तो त देवे नै पो देखिन्थे ।

“साह्रै अप्ठेरो पो भयो त अब त त्यसोभए......।” कुराको गेडो बलेले नै उप्काए ।

“भीरको चिण्डो जस्तै नै पो पारेर गई त पापीनिले ....।” काइँलीलाई सम्झेर तीतो पोखे देवेले पनि ।

“तातोपानी पनि खान नपाई मरिने भैयो त ...।”

देवे आएको थाहा पाएपछि गीताले चिया बनाए ल्याइन । सानैदेखि घुलमिल राम्रो थियो गीताको । बाबु छोरीजस्तै गर्थे दुवै एकअर्कालाई ।

तीनैजना वरिपरि बसेर चिया चुस्की लिन थाले । एक चुस्की लिएर टेबलमा राख्दै देवेले भने, “अब हेर् न, काम गर्नै राखौँ भने पनि कस्तो राख्ने ? सानो केटाकेटी राखौँ भने केही जान्दैन मेरो उसले हैन उसको मैले नै सह्यार गर्नु पर्ला । ठूलो केटा राखौँ, आजकलको जमानाको के बिस्वास । भएको सबै सिरिखुरि पारेर हिँड्न के बेर...। घरमा अरु कोही पनि छैनन । आइमाई मान्छे राखौँ न त भन्दा पनि बिबिध कुराको सीमाले दिएन नाता नभएको मान्छे राख्न । अब बृद्धाआश्रम जाउँ न त भन्दा पनि आफ्नो त्यत्रो सम्पत्ति छ । भर्खरै मात्र घर बनाएको छ । अब बृद्धाआश्रममा टुहुरो जस्तो भएर के बस्नु ? के गरौँ लु तँै भन् त बले ।”

“अब बरु बिहे गर् तँ । तँ पनि एक्लो हुँदैनस् । स्वास्नीले जस्तो अरुले सह्यार पनि गर्दैनन् कसैले पनि । घर ब्यवहार पनि सम्हालिने ।”

“धत् अब यो उमेराँ पनि ...? के भन्छन् जोरीपारीले ??”

देवेले उचित मानेनन् साथीको सल्लाह ।

“के भो त ? जोरीपारीले तँलाई सह्यार्न आउँछन् त कोही ? बरु यसो गरीबकी छोरी, बूढीकन्या वा एकल महिला........।”

पूरा भएन उनको वाक्य । अकस्मात चसक्क भएर गीतातर्फ गयो उनको ध्यान र आँखा ।

गीताले पनि झस्कँदै बाबुसँग आँखा जुधाई । तीनै जनाले एक अर्कालाई पालैपालो हेरे । कसैका मुखबाट केही शब्द पनि फुत्केन । अप्रत्यासित रुपमा सबैको मुख रातो भयो ।

तीनैजना एउटै समस्याको घेरोमा जेलिएका थिए । यदि सम्झौता गर्ने हो भने तीनै जनाको समस्या सजिलै समाधान हुन सक्थ्यो ।

बलेलाई आफ्नो जीवनपछि छोरीको सुरक्षित भविष्य को निस्चिन्तता, गीतालाई एउटा नामको सुरक्षाकवच र देवेलाई एक भरपर्दाे स्वास्नी मान्छे, जस्ले निस्वार्थ र श्रद्धाका साथ सेवा सहयोग गर्छे पाइला पाइलामा ।

“गीता.....।” लर्बराएको स्वरमा बोले बलराज । अरु केही भन्न सकेनन् । कसरी भन्नु र बाबु समानको बूढो सँग बिहे गर छोरी भनेर । गीताले बूढेशकालको थाप्लोका बोकेको छोरीको गरुँगो भारी देवे रुपि चौतारोमा बिसाउन खोज्दैछन् यस्तै भाव पढिन् बाबुको आँखामा । उनले बाबुलाई हेरिन् । बाबुले देवेलाई हेरे । देवेले गीतालाई । सबैको आँखामा एक प्रकारको चीसो बाध्यता झल्किन्थ्यो ।

हुन त देवे बलेकोमा कुनै पनि उद्धेश्य राखेर आएका थिएनन् र यस्तो कुरा उठ्ला वा यस्तो अन्योलको स्थिति आइपर्ला भन्ने सोचेका पनि थिएनन् ।

छोराले हुरुक्क गरेर गीतालाई मन पराएको थियो । सबैथोक मिलेपनि देवेले छोरालाई भनेका थिए, “बले र म त एउटै दाजु भाइजस्ता पो हौँ त ...। गीता त तेरी बहिनी जस्ती नै भई । अब दाजु बहिनीको बिबाह कसरी गरिदिउँ तैँ भन् त ?”

आज देवेलाई आफूले त्यसो भनेर छोरी जस्तै मानेकी गीतालाई बुहारी स्विकार्न असम्भव लागेको र छोरो धेरैदिनसम्म असामान्य अवस्थामा भएको कुरा झल्भलि भयो । उनको आत्माले अझै पनि स्विकार गर्न चाहेन गीतालाई पत्नी बनाउने कुरा ।

तिनैजनाका आँखा अपराधवोधले ग्रस्त देखिए । समस्याको मोतिया बिन्दुबाट ग्रसित सबैले जीवनको अगाडिको दृष्यमात्र देखे सुदुरको दृष्य कसैले पनि अनुमानै गरेनन् ।

गीता अतितमा अल्मलिएको देखेर फूच्ची लुसुक्क बाहिर निस्केकी थिई ।

बूढै भएपनि पुरुष स्पर्शले रन्किएकी गीता आज पनि बिस्तारै चिसिँदै गइन । देवेले आँखा झुकाउँदै उनैमाथि घोप्टिएर हीन भावमा भने....सकिन है गीते । मलाई माफ गर....। गीताले दम र खोकीले कुहेको गन्हाउने स्वास बाहेक अन्य केही पनि महशुस गर्न सकिनन् लोग्नेको ।

देवे गीताको स्पर्शमा नै सन्तुष्ट हुन खोज्थे भने गीता देवेको स्पर्शमा झन अधकल्चो हुन्थिन् । देवेको हीनताबोध झन झ्याँगिदै गयो । उनलाई थाहा छ उनले आफू पूर्ण पूरुष नै हुँ भन्ने आभाष दिलाउन सकेका थिएनन् गीतालाई ..। बारम्बार प्रयाश गर्दा पनि ।

‘यो यौन भन्ने वस्तु पनि कति अप्ठेरो रैछ । आफँैमा सम्पूर्ण रुपमा परिपूर्ण भएपनि उपभोगको लागि अरु नै चाहिने । न त डाक्टरी औषधीले हुने न त धामी झाँक्रीको तन्त्रमन्त्रले नै । आजको बिज्ञानले यो चाहिँ किन नसोचेको होला, मान्छेलाई यौन इच्छा जाग्दा एक चक्की खाने बित्तिकै चरमानन्दमा पुगोस्.....। टाउको चट्कँदा सिटामोल खाए जस्तै ....।’ कहिलेकाहिँ त गीता यस्तो पनि सोच्न थालेकी थिइन् ।

देवेले त उनलाई चाहिने जस्तै वा खोजेजस्तै स्वास्नी भेटेका थिए तर गीतालेचाहीँ लोग्नेको नाम बाहेक लोग्ने महसुस गर्न सकिनन् ।

गीता दिनभरि देवे अँकलको सेवामा समर्पित हुन्थिन् । समयमा खाना । तातो चीसो पानी, खाजा, औषधी , सबैको समय तालिका मा हुन थाल्यो । जहाँ जाँदा पनि उनी चनाखो हुन्थिन् बच्चालाई जस्तै गोजिमा चकलेट हालेर हिँड्थिन् । कतिखेर बूढाको सुगर घटेर स्वात्त हुने हो भनेर बैकल्पिक उपायका लागि । जे होस, उनले आफूले गर्नुपर्ने दायित्व र कर्तब्य राम्ररी पुरा गरेकी थिइन् ।

देवेलाई लाग्यो, “प्रतक्षमा गीताको र आफ्नो समस्या समाधान भए पनि उनीसँगको बिवाहले परोक्ष रुपमा झन ठूलो समस्या खडा गर्दिएको थियो । गीताको मानवाधिकार हनन भएको महसुस गरे उनले । गीतामाथि अन्याय मात्र हैन, अपराध नै गरेको आत्माग्लानी भयो । आफँैलाई पापी हुँ भन्ठाने उनले । सँधै घोत्लेर सोचिरहन्थे देवे ।

नयाँ ठाउँ, नयाँ मान्छे नयाँ सम्बन्ध, भएर होला गीता अलिक असहज भइरहेकी छिन् । घरको नियास्रो लागेको जस्तो छ । केही दिनकोलागि कालेलाई पठाइदिने पो हो कि ?” अनुरोधको भावमा खबर गरे बलराजलाई देवेले ।

देवेको निमन्त्रणा र बलराजको आज्ञा मानेर काले उपस्थित भयो गीतका घरमा ।

माइतीको कुकुर पनि प्यारो हुन्छ रे । कालेलाई देख्दा गीतामा पनि स्फूर्ति जाग्यो । भीडमा एक्लै हराएको बेला परिचित आफन्त भेटेजस्तै खुशी देखिइन् गीता ।

देवेको पुरुष स्पर्श र असक्षम फितलो प्रयासले सँधै झैँ भुँग्रो भएर दनदनी हुन थालेकी गीता अर्ध बेहोसीमा छटपटिरहेको बेला देवे कोठाबाट बाहिर निस्के र काले सुतेको ठाउँमा पुगे ।

“दिदी टाउको दुखेर निकै छटपटिरहेकी छिन् जा जा काले तँ गएर टाउको थिचिदे एकक्षण ।”

किंकर्तब्यबिमुढ भएर विस्फारित आँखाले हेर्यो कालेले देवेलाई ।

“जा न मैले सकिन के... ।” बढेको दम स्याँ–स्याँ गर्दै देवेले भने ।

आज्ञाकारी बालक झँै आँखा मिच्दै काले बिरामी दिदी भए ठाउँमा गयो र आँखा चिम्लेर लामो लामो स्वास फेर्दै सुतिरहेकी गीताको निधारमा बिस्तारै छाम्यो कालेले डराउँदै । अलग स्पर्श महशुस हँुदा तर्सेर आँखा खोलिन् गीताले । पुलुक्क कालेलाई हेरिन र पुनः बन्द गरिन् आँखा ।

आक्कल झुक्कल ठोक्किए पनि कालेले एकान्तमा यसरी कहिल्यै छोएको थिएन गितालाई ।

गीता क्रमशः सेलाउँदै गइन् । उता देवेले पहिलेको कुरा सम्झे । बिहे गरेको केही दिन पछि उनकी दुलही देख्दा लाहुरे भोटेले उनकी दुलहीमाथि आँखा गाड्दै, ‘कति राम्री ल्याएछौ हौ दुलही त’ भनेर एक आँखा झिम्काएको थियो जिस्केर तर झण्डै दाँत खुस्काइदिएका थिए देवेले ।

झण्डै भाउन्न भएर ढलेका थिए देवे अहिले पनि तर तुरुन्तै सम्हालिए र तुलना गरे पहिलेको त्यो पच्चिस वर्षिय जोश र अहिलेको साठी बर्षे रोगीलाई ।

देवेलाई रातभर ऐठन भइरह्यो । एक्लै सुत्दा जिउ नतातेर पनि हो कि रात भर ठ्याँस–ठ्याँस खोकि लागि रह्यो ।

अबेरसम्म छटपटिएका देवेलाई गीताले आरती गर्दा गुन्जिएको घण्टीको मधुर ध्वनीले सम्बन्ध बिच्छेद गरिदियो निन्द्रासँग । थोरै आत्मग्लानी र हीनताबोध भइरहेको थियो उनलाई । गीताले पो के ठानीहोली ..?

अकस्मात गीताले गिलासमा दूध लिएर पसिन् कोठामा । उनले देखे, सँधै बुहारी झार झँै हुने गीताको मुहारमा सूर्यमुखी फक्रिरहेको थियो ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 14 भाद्र, 2072

लेखकका अन्य रचनाहरु