अर्जुन–बाणको एक झलक

- सदानन्द अभागी

परिचय
कवि, गजलकार, हाइकुकार, मुतककार खनाल रेवतीरमण (रमण एप्याथी) को जन्म प्राकृतिक रमणियताले भरिएको ऐतिहासिक गोर्खा जिल्लाको सानाबेसी मिरकोटमा वि.सं २०१३ साल अषाढ २३ गते पिता केशरी प्रसाद खनाल र माता खिमकुमारी खनालका जेष्ठ सुपुत्रको रूपमा भएको थियो । खनाल रेवतीरमणजी साहित्य सङ्गम, चितवन र प्रगतिशिल लेखक सङ्घ चितवनमा आवद्ध हुनुहुन्छ । पल्लव साहित्य प्रतिष्ठानबाट २०६१ सालमा सर्वोत्कृष्ट कविता सम्मानले र विभिन्न साहित्यिक सङ्घ संस्थाबाट पुरस्कृत भै सक्नु भएको छ । उहाँका ‘ल्याउँ साम्यवाद’ (काव्य, २०४७), ‘कथोपकथन (कविता–गीत सङ्ग्रह, २०५९), मान्छे भित्र मान्छेको खोजी (हाइकुसङ्ग्रह २०६१), । गजल यात्राका यात्रीहरू (सहलेखन गजलसङ्ग्रह, २०६१) जूनको रोटी (कवितासङ्ग्रह, २०७१) र अर्जुन–बाण (मुक्तकसङ्ग्रह, २०७१) गरी हालसम्म ६ कृतिहरू बजारमा आइसकेका छन् ।
कृतिको संरचना–
(३३ +७१ =१०४ पृष्ठको यो कृतिमा २३०वटा मुक्तकहरू समावेश गरिएका छन् । आवरण पृष्ठ निकै आकर्षक देखिन्छ । आकाशमा राखिएको माछालाई पानीमा परेको छायामा हेरेर अर्जुनले भेदन गर्न लोगेका छन् । पछिल्लो आवरण पृष्ठमा खनालजीको तस्विर सहित उषा शेरचन र गोविन्दराज विनोदीजीका धारणाहरूलाई समाबेस गरिएका छन् । यो कृति प्रज्ञान प्रकाशन काठमाडौले प्रकाशन गरेको छ र मूल्य रु. १६१ ÷– राखिएको छ । कृतिलाई सहचरीमा समर्पण गरिएको छ ।
कृतिकार र कृतिप्रति विभिन्न साहित्यकारको धारणा
प्रकाशकीयमा प्रज्ञान प्रकाशनका अध्यक्ष लीलानाथ पौडेलले यो मुक्तकसङ्ग्रहका मुक्तकहरूले पाठकका मन छुनेमात्र नभई मतिष्कमा समेत तरङ्ग पैदा गर्ने धारणा राख्नु भएको छ । केशवराज आमोदीले ‘अर्जुन–बाँण को तीब्र प्रहारमाथि दृष्टि प्रक्षेपण शीर्षक दिएर लेख्नुहुन्छ –‘.... नवस्वच्छन्दवादी, प्रगतिवादी र यथार्थ वादी खनाल रेवतीरमण राष्ट्रिय प्रतिभामा गणनायोग्य कुशल काव्य साधक हुन्’ । डा.मुरारी पराजुलीले यस काव्यको , ‘खनाल रेवती रमणका मुक्तकमा पाइने विषयगत प्रवृत्ति शीर्षक दिएर आमुख, मुक्तक गन्थन, विषयगत प्रवृत्ति (राजनीति समास्या, आर्थिक समस्या, साँस्कृतिक समस्या, प्रशासनिक समस्या, प्रणय, शिष्ट प्रणय, कामवृत्तिमूलक प्रणय, जीवनप्रतिको दृष्टिकोण्, मानवता, वेथितिको चित्रण र आक्रोश)मा मुक्तकले पस्केका धारणालाई राम्रोसङ्ग विश्लेषण गरी भूमिका लेखेको पाइन्छ । डा. मुरारीजीले ‘खनाल रेवतीरमणको प्रस्तुत मुुक्तकसङ्ग्रह अर्जुन–बाण मूलतः रुवाई शैलीको मुक्तक हो ’ भन्ने ठहर गर्नु भएको छ । यस भूमिका लेखनले यस कृतिको राम्रैसँग चिरफार गरेको छ ।
उषा शेरचनको दृष्टिमा खनाल रेवती रमणाको मुक्तकसङ्ग्रह – ‘मुक्तककार खनाल रेवती रमणले आफ्ना मुक्तकहरूमा हाम्रा युगले भोग्न अभिशप्त समयका यावत त्रासदीहरू र समाजमा व्याप्त विसङ्गतिहरूप्रति तीक्ष्ण व्यङ्ग प्रहार गरेका छन् । उनका मुक्तकहरूमा मानवजनीन आशा, निराशा, कुण्ठा, प्रेम, तथा युगवोधी र अग्रगामी भावनाका बहुविध तरङ्गहरू, समाहित छन् । मुक्तककार विशेष गरी सहिदको बलिदानबाट प्राप्त लोकतन्त्र बाँदरको हातमा नरिवल भएको देखेर आजित मात्र छैनन् बरु जनताका लागि लोकतन्त्र मल्हम नभएर उल्टै निको नहुने घाउ (उकुच) भएकोमा अत्यान्तै दुखित पनि छन् ’। उषजीले राख्नुभएको धारणाले मुक्तकमा पोखिएका धारणाको सङ्क्षेपीकरण गर्ने प्रयास भएको देखिन्छ ।
गोविन्दराज विनोदीको दृष्टिमा कृति र कृतिकार – खनाल रेवतीरमण कवि गजलकार, हाइकुकार, हुँदै मुक्तककारकारूपमा सुप्रतिष्ठित भएका छन् । उनका अभिव्यक्ति शोषक सामन्ती, श्रमचोर, अन्यायी, भ्रष्टचारी, छद्मभेषीहरूका लागि अर्जुन–बाण हुन् । सत्यका पक्षधर न्यायप्रेमी, मानवताप्रेमी र राष्ट्रप्रेमीहरूका लागि भने उनका अभिव्यक्ति तिर्खामा झरनाको पानी पिएझैं आनन्द तृप्तिदायी छन् । यस मुक्तकसङ्ग्रहमा छरिएका विभिन्न मुक्तकीय स्वच्छन्द रचनाले मुलुकको अवस्था, राजनीतिक अस्थिरता, नेतृत्ववर्गको अकर्मण्यता, मानवीय कर्तव्य ह्रास हिंसा विखण्डन असमनता, आदिप्रति व्यङ्ग्यको अग्निबर्षा, गर्दै, शान्ति सुव्यवस्था, राष्ट्रप्रेम, प्रकृतिप्रेम मानवीय सम्वेदना र नवयुगीन जनप्रगतिका निम्ति शङ्खघोष गरेका छन् । गोविन्दराज विनोदीका यी अभिव्यक्तिले मुक्तककारको साहित्यिक व्यक्तित्व र मुक्तकसङ्ग्रहमा मुक्तककारले पोख्न चाहेको मूल अभिव्यक्तिलाई सवलरूपमा उठाएको देखिन्छ । गोविन्दराज विनोदीले उठाएका तर्कपूर्ण अभिव्यक्ति कृतिको अध्ययनबाट पनि पुष्टि हुन्छ
कृतिभित्र पस्दा
यस कृति भित्रका मुक्तकहरूलाई हामीले विविध दृष्टिकोणबाट अध्ययन गर्न सकिन्छ । देशलाई अग्रगमनमा लाने भनेको राजनीतिले हो । राजनीति सञ्चालनमा राजनेताहरूको गहन भूमिका हुन्छ । देशमा आज देखिएको राजनीतिक विकृति, विसङ्गतिले गर्दा देशको विकासमा ठूलै असर परेको छ । भ्रष्टचारले राज्य जमाएको छ । राजनेतामा बोलीको कुनै सत्यता छैन ।एकातिर सुरा र सुन्दरीमा रित्याएको राज्य ढुकुटी अर्कोतिर देश रोग, भोक, शोकले ग्रसित छ । यस विषयमा पस्किएको एउटा चोटिलो मुक्तकलाई हेरौं–
देश रोग भोक र शोकले ग्रस्त छ
तीतो सत्य हो यो घाम जस्तै प्रष्ट छ
भाषण र वक्तव्यबाजी निकै हुन्छ यहाँ
राज्य संयन्त्र टुप्पीदेखि पैतालासम्म भ्रष्ट छ ।
पृष्ठ १३ मुक्तक ३९,
राज्यबाट गरिब जनताले चाहाने भनेको पेटभरी भात हो, शान्ति हो र राष्ट्रको अखण्डता हो । आज न गरिबले गास, बास, कपास पाएका छन् । न त देशमा शान्ति नै छ । देशमा विदेशी छस्तक्षेप बढ्दो छ । सीमा अतिक्रमण बढ्दो छ यसमा मुक्तककारका कन्सिरी जलेको भन्दै पस्केको एक कसिलो मुक्तक–
धेरै दिन भो मनमा कुरा चलेको छ
कुरो सुन्दैमा मेरो नौनाडी गलेको छ
सीमाना सर्दा चुप बस्ने नेताजीसँग
किन किन कुन्नि ! मेरो कन्सिरी जलेको छ ।
राजनीतिमा देखिएका विकृतिहरूमा मुक्तककारले आफ्ना गहकिला धारणा पस्कनु भएको छ ।उनलाई आजका राजनेताको अकर्मण्यताले गर्दा सम्प्रभुता गुम्ने डर छ , आज आएको लोकतन्त्र र गणतन्त्र बाँदरको हातमा नरिवल भएको ठहर छ । जातीय राज्यका आवाजका कारण समाजमा देखिएको सामजिक बिभाजन र जातीय राज्यको नाममा राज्य टुक्र्याउन नमिल्ने धारणा, विकासको लागि राजनीति स्थायित्वको चाहना, राजनीतिमा डनवादी प्रवृत्तिप्रति घृणा, जनकल्याणकारी सम्बिधान निर्माणको माग, राजनीतिलाई गुण्डाहरूसँग तुलना, बिभिन्नदल तथा अन्तरदल बीचको द्वन्द्व आदि थुप्रै थुप्रै राजनीतिक समस्या तथा विकृति विसङ्गतिलाई समाउँदै, समस्या र समसामयिक सुधारका सुझावहरू व्यवहारिकरूपमा प्रष्ट्याउने प्रयास भएको छ मुक्तकमा ।
सामाजिक तथा आर्थिक दृष्टिकोण र मुक्तककार–
साहित्य समाजको दर्पण हो । समाजमा आर्थिक, सांस्कृत, धार्मिक र विविधखाले गतिविधिले असर पार्द छ । मुक्तककार खनालजी पनि यस्ता गहन विषयमा आफ्ना धारणा राख्न पछि पर्नु भएको छैन। समाजको विविधताको उदाहरण दिंदै लेखेको एउटा मुक्तक हेरौं–
एउटा साथी किसान छ काउली, आलु र सागको खेती गर्छ
अर्को साथी नेता छ रोव, रववाफ र धाको खेती गर्छ
दुनियाँमा पृथक–पृथक मान्छेको पृथक–पृथक पेशा हुन्छ
पाना भेट्यो कि यो पङक्तिकार रागको खेती गर्छ
(मुक्तक १११, पृष्ठ ३७,)
मानवीय प्रवृत्तिलाई केलाउँदै खनालजी लेख्नुहुन्छ –
कहिले झरी कहिले बादल कहिले घाम घमाउँछ
कहिले उष्ण कहिले शीतोष्ण कहिले लुग लुग कमाउँछ
यो प्रकृतिमा अनौठो प्राणी मान्छे् मान्छे पो रहेछ हजुर
आफ्नैले आफ्नैको घर पोलेर आगो तापी रमाउँछ
(मुक्तक १३२, पृष्ठ ४४)
सामाजिक परिपाटीमा देखिने यी कर्महरू एक व्यवहारिक उदाहरण हुन् । समाजमा खुट्टातान्ने प्रवृत्ति, महगाइले गाँजेको गरिब समाजमा आधारभूत आवश्यक्ताको कमीको कारणाले गर्दा दिन गुजार्नको समस्या, कतै छाक टार्न समस्या देखिएको छ भने कतै महलमा बसेर अनेक थरिका खाना खाएर तृप्तहुने्प्रति पनि असमनाताले भरिएको समाजका लागि पनि मुक्तककारले आफ्ना धारणा राखेका छन् –
रात दिन खुन पसिना बगाउनेहरू पनि छन्
बसी–बसी अरूलाई जोती अघाउनेहरू पनि छन्
सबै –सबै त छन् को छैनन् र हजुर ! यो समाजमा
आलु खाएर पेडाको धाक लगाउनेहरू पनि छन्
मुक्तक २१२, पृष्ठ ७१
प्रणय
मुक्तक, गजल, कविता, कथा आदि सबै प्रकारका लेख रचनामा सिङ्गार रसको अतिमहत्त्वपूर्ण स्थान हुन्छ र पाठक बर्गलाई रसस्वादन प्राप्तगरी आनन्दमयी बनाउँछ । खनालजीका यी मुक्तकहरूमा हामीले शिष्ट प्रणय, कामवृत्ति मूलक प्रणयको स्वाद मीठोरूपमा चाख्न सक्दछौं । खनालजीले प्रेमिकाको रूपमा आकर्षण भएर लेखेको एउटा मुक्तकको रसास्वादन गरिहालौं–
रति, रम्भा, तिलोत्तमा कुन हौ तिमी
हेर्दा लाग्यो पूर्णिमाको जून हौ तिमी
जति सुन्यो, सुनूँ सुनू सुनिरहूँ लाग्ने
हृत्केन्द्रको अति मृदुल धुन हौ तिमी
मुक्तक १५१ पृष्ठ ५१
तिमीसँगै बसी पिउन पाए हुन्थ्यो
फाटे उधे्र्रको मन सिउन पाए हुन्थ्यो
अमृत प्रेमको प्याला प्यूँदै तिमी र म
शताधिक आयु जिउन पाए हुन्थ्यो
मुक्तक २०९, पृष्ठ ७०
जीवनजगत र मुक्तककार
मुक्तककार जीवन जगतको राम्रो ज्ञाता हुन् भन्ने धारणा उनले पोखेका मुक्तकबाट प्रष्टिन्छ । मानव जीवन क्षणभङ्गुर छ ।मानव जीवनमा हाँसो छ, रोदन छ, उकाली छ ओराली छ , त्यसोहुँदा मानव जीवनमा कोही कसैसँग द्वन्द्व राख्न हुँदैन । मानव जीवन कसैले ईश्वरको देन हो भन्ला तर मुुक्तककार भने प्रकृतिको उपहारको हो भन्न मन पराउँछन् । यसको राम्रो उपयोगको चाहना राख्दछन् । जीवन के को लागि हो ? भन्दै गजलकारले एउटा राम्रो मुक्तक पस्केका छन् हेरौ–
जल्नकै लागि हो जीवन
बल्नकै लागि हो जीवन
हारजीत चाहे जे होस्
ढल्नकै लागि हो जीवनं
(मुक्तक १११, पृष्ठ ३७,)

मुक्तककारले मुक्तकमा जीवनमा उत्थान चाहान्छन्, खुकुरीको धारमा रहेको जीवनलाई श्रमशीलतामा परिवर्तन चाहान्छन् । जीवनमा मानवताको उत्थान खोज्छन् । शान्तिमय जीवनको चाहना राख्दछन् । उनलाई काम चाहिएको छ, पसिनाको माम चाहिएको छ र मानव जीवनमा अन्धकार नभै उज्वालै उज्वालोको चाहना छ ।
मुक्तकमा विविधता
अर्जुन–बाण एउटा विविधताले भरिएको र सजिएको सिर्जना हो । यसले विविधखाले घटनाक्रमलाई समाएको छ, विकृति र विसङ्गतिलाई केलाएको छ, उत्थानका मार्गहरू अवलम्वन गर्ने सन्देश बोकेको छ, आर्थिक सामाजिक, राजनैतिक, सांस्कृतिक, प्रशासनिक, मानवीय प्रवृति, वेथितिको चित्रण र आक्रोशका धारणलाई चिरफार गरेको छ ।
भाषा शैली
साधारणरूपमा भन्नुपर्दा भाषा सरल, सहज, र सुबोध छ । भाषालाई केलाएर केशवराज आमोदी लेख्नुहुन्छ –‘भाषाको दृष्टिकोणबाट पदलालित्यमा भन्दा व्यवहारिक शैली अनुरूप सरल सुबोध र प्रवाहमयी आक्ष्रिक वा नादसौन्दर्यमयी शिल्पविधानका माध्यमबाट विषयबस्तुलाई अगाडी सारेका छन् ’ (पृष्ठ क) । मुक्तकहरूमा उखानटुक्काको प्रयोगले भाषालाई मिठास भरेको छ –
साग मीठो तोरीको
बोली मीठो छोरीको
काम पट्याउनु भए आफ्नो
पाउ मल्नु कोरीको
( पृष्ठ३२, मुक्तक९४)
शीर्षकीकरण–
यथा नाम तथा गुण भन्ने युक्तिलाई सार्थक पारेको छ यस कृतिको शीर्षकले किनकी अर्जुन भनेका एउटा योद्धा हुन्, उनले चलाएको बाण अभेद्य हुन्थ्यो र उनले महाभारतको युद्धमा सर्बजित भएर आफ्नो चमत्कारिता देखाएका थिए । यहाँ खनालजीले आफ्नो मुक्तक कृतिको शीर्षक पनि अर्जुन–बाण राखेका छन् । उनका मुक्तकहरूले पनि अन्याय, अत्याचार, विकृति विसङ्गति, भ्रष्टीकरण, आदि आज देश र जनताले भोग्न परेका यावत समस्यालाई केलाएर सुख शान्तिमय जीवनको कल्पना गर्दै तीखा र चोटिला व्यङ्गले भरिएका छन्, यी धारणाहरू यथार्थ परक, समसामयिक छन् । सर्जकले जुराएको कृतिको नाम सार्थक छ ।
अन्तमा यस मुक्तक(अर्जुन–बाण) पढ्दा यस्तो लाग्दछ कि यसमा के छ भन्दा यसको आध्योपान्तले यसमा के छैन भन्ने उत्तर सजिलै प्राप्त गर्न सकिन्छ । खनालजीका यी मुक्तकले आज देशले, जनताले भोग्न परेका समसामयिक अवस्थालाई समाएर समाज, देश, कालको साथै आज देशमा देखा परेका अनुशासनहीनता, उच्उच्छृङ्खलता, राजनीतिक आर्थिक विकृति विसङ्गति, राजनीतिक र प्रशासनिक भ्र्रष्टताआदि आदिमा तीखा तीखा व्यङ्ग कस्दै अर्जुनले छोडेका बाणसरि छोडिएका छन्् खनालजीका मुक्तकहरू ।उनका मुक्तकहरू चोटिला,्, प्रहारिल, सरल, सुवोध भएको कारणले नै मनन् योग्य, अनुकरण योग्य, सङ्ग्रहणीय भएको हुँँदा मुक्तककार खनालजीलाई मुरी मुरी धन्यवाद दिंदै दिर्घायु, सुस्वास्थको कामना गर्दै विदा चाहान्छु ।

कावासोती न.पा. शान्तिचोक, नवलपरासी

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 4 भाद्र, 2072

लेखकका अन्य रचनाहरु