डिल्लीराम दुलालकृत चुचेढुङ्गामा चढ्दा

- शेरबहादुर कार्की

भारतीय नेपाली साहित्य पनि लख्ख जवान भइसकेको छ। यसले पनि अन्य साहित्यले जस्तै विभिन्न मोड र धुम्तीहरुको फडको मारी यो जवानी अवस्थामा आइपुगेको हो। साहित्य पनि एउटा जीवन हो। यसले पनि दुख, सुख, आभाव, पूर्णता, आँशु, हाँसो सबै अनुभूत गरेको हुन्छ। यसले पनि जीवनले जस्तै समाजको सबै पाटाहरुलाई छोएको हुन्छ। समाजमा भएका असमता, विस्मता, विसङ्गति, सङ्गति आदिलाई अक्षर र शब्दहरूको माध्यमबाट प्रकाश पार्छ। हामीलाई पहिलादेखि घोकाउँदै ल्याएको के हो भने साहित्यकार स्रष्ट्रा र द्रष्ट्र दुवै हो। यसैले एउटा बौधिक समाजमा साहित्यकारको प्रभुत्व अनि मान रहेको छ। के, साहित्यकारको विचारले मात्र समाज सञ्चालन भइरहेछ ? प्रश्न गजबको छ। यो त पक्का हो कि कवि, लेखक, उपन्यासकारहरूले समाजलाई एउटा नयाँ विचार दिन्छन्, नयाँ आयाम दिन्छन् र नयाँ क्षितिजको आरोहण गराउन खोज्छन्। समाजको व्यख्या नयाँ तरिकाले गर्छन्। नयाँ-नयाँ पाटा, आयम र दृष्टिकोणबाट समाजको विवेचना गर्ने गर्छन्। वास्तवमा कवि, लेखकहरूले आफनो सिर्जनामा समाजलाई विभिन्न आयामबाट हेरी बखान गर्छन। यतिबेला कवि, लेखकहरूले सोचेसम्म उनीहरुको विचार वैयाक्तिक रहे तापनि विचारहरु सिर्जनामा परिवर्तित भएपछि त्यो वैयाक्तिक रहदैन, सामाजिक सम्पत्ति बन्न पुग्छ। यहाँ ज्याक डेरिडाको लेखकको मृत्यु अवधाराणाले मेल खान्छ।

यहाँ यसो भन्नुको तात्पर्य हो, सिक्किमेली साहित्य जगतमा नयाँ कथाकारका रुपमा उदयामान चुचेढुङ्गाका सर्जक कथाकार डिल्लीराम दुलाल शमको बारेमा अनि पुस्तकको बखानमा भन्न खोजिएको हो। कथाहरुको बखान भन्दा अधी यहाँ कथाकारको बखान गर्न उचित ठहर्दछ। माता खरिमाया दुलाल र पिता रविलाल दुलालको कोखबाट 3 जुलाई 1978-मा पूर्व सिक्किमको मध्य पाण्डामको डुगा सामसिङमा जन्मिएका दुलालले इतिहास विषयमा एम.ए.-सम्मको औपचारिक शिक्षार्जन गरेका छन्। पेशाले उहाँ पत्रकार हुनुहुन्छ। समाजलाई उनले पत्रकारको आँखाले मात्र हेरेका छैनन् अपितु एक संवेदनशील कथाकारको पक्षबाट पनि हेरेका छन्। कथाकारकाबारेमा विजय कुमार सुब्बाले यसो लेखेका छन्- कथाकार डिल्लीराम शमले समाजका संवेदनशील मुद्दाहरूलाई कथामा उठाउँछन्। उनी कथालाई लम्ब्याउँदैनन्। कथाहरू साना-साना आँखीझ्याल भएका छन्। कथाका विषयवस्तुहरू आफ्नै युगका परिवेशहरूबाट टिपिएका छन्- कल्पनिकभन्दा बढी यथार्थ। झल्याक झुलुक इतिहासको पुनःलेखन पनि पाइन्छ। कतिपय कथाहरू प्रतिकात्मक छन्। यसरी उनका कथाहरूलाई छोटकरीमा विजयकुमार सुब्बाले भनी सकेपछि, यहाँ यही भनाइलाई अलिक गहिराइ र विस्तृत रुपमा बखान गर्ने चेष्टा गर्नु भएको छ।

चुचेढुङ्गाको सर्जक डिल्लीराम दुलालले आफनो कुराहरूमा कथाबारे आफ्नो अवधारणा पुष्टी नगरे पनि कथाहरु आफैले कथाकारको अवधारणा बोकेका छन्। आफनो कुराहरू कै आधारमा कथाकारको प्रथम कथा होम गार्ड भन्ने थाह लाग्छ, जो 1996-97- तिर डुगाको भानुजयन्तीमा पठन गरिएको थियो। त्यसपछि स्थानीय क्षेत्रमा हुने प्रयः साहित्यिक कार्यक्रमहरूमा कथाकारले भाग लिएको कुरा पनि उल्लेख गरिएको छ। अनि विभिन्न समाचार पत्रलगायत अन्य साहित्यिक पत्र-पत्रिकाहरूमा पनि आफ्नो लेख-रचनादि प्रकाशित गराउँदै आएका कथाकारले आज नेपाली साहित्य जगतलाई एउटा सिङ्गो पुस्तक दिएका छन्। शमद्वारा लिखित कथाहरू छोटा अनि छरिता छन्।

वर्तमान भारतेली नेपाली साहित्य जगतमा कविताको तुलनामा आख्यान लेखन धेरै शिथिल बन्दै गएको छ। यस्तो आख्यान लेखनको शिथिल अवस्थामा डिल्लीराम दुलालले कथा सङ्ग्रह प्रकाशन गरी ठूलो चुनौती दिएका छन्। 64 पृष्ठाकारमा 16 वटा कथाहरु समावेश गरिएको चुचेढुङ्गामा दुलालले सिक्किमको सामाजिक, आर्थिक, ऐतिहासिक र सास्कृतिक विषयवस्तुलाई नयाँ दृष्टिकोणबाट हेर्ने, बखान गर्ने र लेख्ने प्रयास गरेका छन्। कथाहरुमा कथाकारका पात्र-पात्राहरू गम्भीर छन्। पात्रहरूले सूत्रात्मक शैलीमा कुरा गर्छन्। परिवेश विस्तृत छ, कथाहरूमा। संवादहरु सरस, सरल र शुद्ध छन्। प्रत्येक कथाहरूको उद्देश्य प्रबल र शशक्त छ।

कथाहरूका विषयवस्तु

सूर्यबहादुर कार्की र मनमाया कार्की ग्रामीण र अल्पज्ञ पात्र-पात्राको रुपमा ब्लड रिपोर्ट कथामा प्रस्तुत गरेका छन्। उसको छोरा अष्ट्रेलियामा पशु विज्ञानको अध्यान गर्दैछ। गाउँमा छोरा-छोरीको विवाह गर्न आतुर हुन्छन्, यो विषय कथाकारले यस कथामा राम्रोसँग उठाएका छन्। मानव जातिमा विवाह एउटा पवित्र बन्धन हो, अनि यसलाई पनि आधुनिक समाजमा विकृति र विसङ्गतिले विशुद्ध राख्न सकेको छैन्। समयअनुसारनै हाम्रा विचार र मान्यताहरू पनि परिवर्तित हुँदैछ। त्यसको परिणाम स्वरूप कथाकारले कथामा हाम्रो परम्पराअनुसार चिना-टिप र पात्रोको बद्लामा हिजो-आज ब्लड रिपोर्ट मागेको प्रसङ्गलाई आधुनिकताको एक विशेषताको रुपमा प्रस्तुत गरेका छन्। साइबर संस्कृतिको दुष्प्रभाव हाम्रो समाजमा पनि व्यप्त छ, जो कथामा सुनिता गौण पात्रले गरेको च्याटिङको प्रसङ्गमा कथाकारले उठाएका छन्। च्याटिङमा भएका संवादहरूले साइबर युगको प्रतिनिधि गरेको स्पष्ट छ।

कथाकारद्वारा सिर्जित कथा चुचेढुङ्गा कथा प्रतिकात्मक छ। कथामा चुचेढुङ्गा पुरानो व्यवस्थाको प्रतीकको रूपमा प्रयोग गरिएको छ, जो समयसँगसँगै शिथिल बन्दै जादैछ। प्रकृतिको वर्णनबाट शुरू गरिएको यस कथामा रामप्रसादले तत् व्यवस्थाको अनुभव गरेको छ। यद्दपि, उसले यो कुरा प्रकाश गर्न सकेको छैन। अन्तर्मुखी छ, रामप्रसाद। कथामा सामरिङ गाउँ व्यवस्था पीढित छ। यो मिथकीय कथावस्तुमा आधारित छ भने कथावस्तुलाई अझै प्रबल र शशक्त बनाउन कथाकारले सूत्रात्मक उक्तिको प्रयोग गरेका छन्, जस्तै- काँक्रालाई थाङ्ग्रा दियो थाङ्ग्रै धनी, मुसाले माटो खोदालेको ठाउँमा बुच्चो लगाउ आदि यस कथामा उदाहरण रहेका छन्। यस्ता सूत्रात्मक उक्तिहरु कथामा यत्र-तत्र भेटिन्छ भने यी उक्तिहरुले कथावस्तुलाई प्रबल मात्र नबनाएर व्यवस्था विरोधको झिल्को पनि प्रदर्शन गरेको छ। समय परिवर्तनशील छ, अनि कथाकार पनि परिवर्तनमाथि विश्वास राख्छन्। यस कथाको कथावस्तुमा पनि चुचेढुङ्गामा पानी पर्नु, त्यहाँ सूर्यले आफ्नो प्रकाश लुकाउनु जस्ता साङ्केतक वाक्य गठनहरूले पुरानो व्यवस्था भाँचिन्दै अथवा टुटदै गएको सङ्केत दिएको छ, जो परिवर्तनगामी हो, अनि कथाले गरेको आग्राह पनि यही हो।

यसरीनै अर्को कथा हो, चाल्नो। यस कथामा कथाकारले मान्छेको मन ईर्ष्या, द्वेष, क्लेष, लोभ, क्रोध आदिले भरिएको छ। यी असङ्गत गुणहरूले मान्छेको मन चाल्नो बनाएको छ। यही मानवीय गुणलाई कथाकारले कथाको रुप दिएका छन्। कथामा काजरीमान मूल पात्रको रूपमा छ, अनि उ नेता हो। यो कथा पनि ऐतिहासिक धरातलबाट उठान गरिएको छ। जनता परिवर्तित भइसकेको अनि कालोभारी, झार्लाङ्गी, घरलौरी आदिलाई स्वीकार नगर्ने चेतनाको विकास भइसकेको परिवेशमा कथानक प्रबल भएको छ। कथामा कथाकारले काजरीमान (बाबु)-लाई पुरानो परम्पराको पक्ष अथवा प्रतीकमा उभाएका छन् भने छोरा हर्कबहादुर परिवर्तन हुने समय अनि युगको प्रतिनिधिको रूपमा प्रस्तुत गरेका छन्। हर्कबहादुरले बाबुलाई समयको मागअनुसारको सकारात्मक नीति निर्माण गरी राजनीति गर्ने सल्लाह दिन्छ भने बाबु पुरानो विचारलाई त्याग्न नसक्नुले कथामा द्वान्दको सिर्जना भएको छ। यही द्वान्द पक्षले कथालाई चरम बिन्दुमा पुर्याएको छ।

प्रथम पुरूष पात्रको प्रयोगमा लेखिएको कथा शिक्षाको मोलमा कथाकारले शिक्षा व्यवस्थालाई कथावस्तु बनाएका छन्। कथामा शिक्षण व्यवस्थामा सकारात्मक ढङ्गमा अङ्क थप्ने विषयलाई विरोध गरेका छन्। कथामा विक्रम, गणेष, दीपक र सुसिला गौण पात्रको रुपमा रहेका छन्। कथामा श्याम सर, विक्रम सरको आ-आफ्नै खण्ड-खण्ड गर्दै कथा बुनिएको छ। कथामा सुसिला र श्याम सरको सम्बन्ध पहिला पारदर्शि नभए तापनि यति भन्न सकिन्छ उनीहरु व्वस्थाको शिकार भएर त्यसो गरेका हुन। हाम्रो समाज अनि गाउँ-घरमा अझै पनि जेठीतिरका सन्तानलाई अर्कै दृष्टिकोणले हेरिन्छ तर यसो गर्नु के न्याय सङ्गत हो ? नारीहरूमा पनि राष्ट्र सेवाको भावना हुन्छ भन्ने विषयलाई कथाकारले सुसिलाको माध्यमबाट प्रस्तुत गरेका छन्। गौण भए पनि सुसिलालाई यस कथामा एक शशक्त पात्र मान्न सकिन्छ। मानवीय समाजमा सम्बन्ध एउटा यस्तो बन्धन हो, जो सकारात्मक भए फूल हुन्छ तर नकारात्मक भए काँडा हुन पनि बेर लाग्दैन। यही विषयलाई कथामा कथाकारले विषयवस्तु बनाएका छन्।

माथिल्लो तलाको मान्छे कथा शहरीय परिवेशमा लेखिएको छ। कुनै गल्लीमा कोही हिडदै गर्दा माथिबाट फ्याँकिएको मैलाले मान्छेलाई कति असर गर्छ, त्यस विषयबाट कथाको उठान गरिएको छ। यो शहरीय परिवेशको यथार्थ पनि हो। यसको वक्रीय अर्थ पनि रहेको पाइन्छ जो माथि अथवा ठूलो ओहोदामा बस्ने मान्छेहरूले तलका कर्मचारीहरूलाई कस्तो व्यवहार गर्छन्, कुन दृष्टिकोणले हेर्छन् त्यो स्पष्ट पारिएको छ। माइला बाजे र युवाराजको वरिपरी कथानक घुमे पनि शहरको प्रतिस्पर्धा, कोलाहल, ट्राफिक जाम, फोहोर-मैला, कमाउनेको होड आदिले ल्याएको विसङ्गतिलाई कथामा प्रस्तुत गरिएको छ। यस कथामा कथाकारले पर्यावरण चेतनालाई पनि पश्रय दिएको पाइन्छ। कथामा जलवायु परिवर्तन र मौसम परिवर्तन जस्ता आजका जटिल विषयलाई कथामा स्थान दिएर प्रकृति प्रेम पनि दर्शाएका छन्।

यसरीनै जीविकोपार्जन शीर्षक कथामा रबीन पात्र पढेलेखेको छ। आजको समयमा विश्वमा शिक्षाको क्षेत्रमा जीविकोपार्जनको अवधारणा नयाँ देखिए तापनि सबैको निम्ति आवश्यक बनेको छ। यो कथा यही विषयवस्तु वरीपरी घुमेको छ, कथामा। रबीनले स्नातकसम्मको शिक्षार्जन गरेर गाउँमा केही काम गर्ने इच्छा राख्नु फल्को वृक्ष निहुरिन्छ भन्ने उखानलाई चरितार्थ बनाएको छ। विश्वबजारीकरणले ल्याएको निवेश अवधारणा र बहुराष्ट्रिय कम्पनीहरुले गरेको प्रतिस्पर्धालाई कथामा विषयवस्तुको उठान गरिएको छ। तर, कथामा रबीनले कृषी क्षेत्रलाई नै आधुनिक ढङ्गमा गर्ने निर्णय लिएर गाउँ आएकोले कथामा पलायन होइन एउटा थप प्रेरणा भरिएको छ। कथामा रबीन र सरिता दिदी मूल पात्रको रुपमा रहेका छन् भने गाउँलेहरु गौण पात्रको रुपमा प्रयोग भएका छन्। कथामा पञ्चायती राज व्यवस्थाअनुसार सञ्चालन हुने ग्राम सभा, एउटा क्षेत्रको विकास गर्न खण्ड प्रसाशनिक केन्द्र, आदि पनि कथामा चित्रित गरिएको छ। सरिता गाउँको पञ्चायत हो, तर गाउँलेहरुको अज्ञानताको कारणले गर्दा सरकारले चाहेजस्तो विकास गाउँमा गर्न सकिरहेकी थिइन। रबीनले पढदाको कथामा फलासब्याक ट्याक्निकको आंशिक प्रयोग भए तापनि रबीनले विगतमा दुःख गरेर पढेको कथा यथार्थ छ। रबीन स्नातकसम्मको शिक्षा लिएपछि जीविकोपार्जन विषयमा तालिम लिएको छ। उसले पनि तालिममा सिकेका कुराहरुलाई गाउँलेहरुमाझमा आदन-प्रदान गरी अझै सिक्न र सिकाउन चाहन्छ। देशको अर्थतन्त्र व्यवस्था पूर्ण रुपले ग्रामीण क्षेत्रमा लगाइने कृषीमा आधारित रहेको विषयलाई कथामा प्राधान्ता दिइएको छ। यस कथामा पनि कथाकारले सिक्किमको कारवारी, जमीनदारी र मण्डल प्रथाको इतिहासलाई कथाको पृष्टभूमीको रुपमा प्रयोग गरेका छन्।

टेण्डोङ र मैनामको कथा, शीर्षक कथा मिथकीय कथावस्तुमा बुनिएको छ। लेप्चा जातिमा रहेको जन-विश्वासलाई कथामा इतिवृत्त कथाको रुपमा प्रयोग गरिएको छ। यस कथामा हरि सर मूल पात्र हो भने विद्यार्थीहरु गौण पात्रको रूपमा रहेका छन्। गान्तोकदेखि सिङ्ताम, तिमीतार्कु, दाम्थाङ, नाम्ची र नामथाङको परिवेशलाई समिटिएको छ भने हरि सरले आफ्ना विद्यार्थीहरूलाई टेण्डोङ र मैनामको कथा सुनाउने गरेकोले यो कथा वर्णानात्मक शैलीमा लेखिएको छ। लेप्चा जातिको चाढ टेण्डोङ-लो-रूम-फात-लाई कसरी प्रचलनमा ल्याइयो। यसको महत्व कसरी बस्यो भन्ने विषयमा हरि सरले इतिवृत्तात्मक विवरण गरे पछि विद्यर्थीहरुलाई पनि यस पर्वको महत्व र इतिहास बारे थाह भयो। यस कथामा पनि कथाकार प्रकृति पूजक बनेका छन्।

म फर्की आउनेछु कथामा कथाकारले दरवारीय इतिहासलाई कथावस्तु बनाएका छन्। राजा त्रिरत्नवीरको मृत्युले दरवारमा शोक भन्दा अधिक राज सिंहासनका लागि भएको खिचातानीलाई कथामा खुबै रोचक ढङ्गमा प्रस्तुत गरेका छन्। राजकीय परम्परामा भएको सत्ता विषयका विभिन्न प्रकारका षढयन्त्रहरूलाई लेखकले ईमान्दारीका साथ राखेका छन्। यस कथामा कथाकार नारीवादी बनेका छन् भन्दा अतियुक्ति नहोला किन की कथामा त्रिरत्नवीरकी जेठीपट्टीकी छोरी पद्मावतीलाई कथाको मूल नारी पात्रा बनाएर उसलाई राज गद्दी उपलब्ध गराएका छन्। राजाको मृत्यु पछि दरवारमा भएको कुटनीतिबाट पद्मावती देश निकाला भई मामला भूटान जान्छिन्, अनि मामाको सहयोगमा पद्मावतीले फर्की आई धावा बोल्छिन र जीत हाँसिल गर्छिन। यस कथामा नेतृत्व पङ्कतिमा नारीलाई अघी ल्याउने विचारलाई अघी सारिएको छ।

यसरी नै अर्को कथा अर्जुन हो। यस कथामा अर्जुन पत्रकार हो। दिनभरी समाचार सङ्कलनका लागि उसले गरेको निमेक हरेक पत्रकारहरूको साझा निमेक हो। अनि उसले भोगेको प्रत्येक पीडा हरेक पत्रकारको पीडा हो। पत्रकार सामाजिक प्राणी हो तर अन्य साधारण मानिसहरू भन्दा उसले मानिसहरूलाई समाचार र सूचना दिनु पर्ने हुनाले उसले अधिक समय खट्नु पर्ने हुन्छ। पत्रकारको पेशालाई प्रष्ट्याउन लेखकले कथामा विवरणात्मक शैली प्रयोग गरेका छन् भने संवादको शैलीमा पनि उचित वाक्याशंहरुको प्रयोग गरिएको छ। यो कथा कुनै मिडिया हाउसको हुन सक्छ तर अर्जुनले भोगेको र सम्पादकले हप्काएको परिवेशलाई यथार्थ परिवेश मान्न सकिन्छ। समाचार सम्प्रेषन गरी सकेपछि प्रमुख समाचार (लिड न्यूज) बन्न सक्छ, सक्दैन, अनि फोटो ठिक भयो भएन त्यसबारे पनि विचार गर्नु पर्ने भएकोले गर्दा पत्रकारिता पेशा अधिक संवेदनशील हुन्छ। समाचार छापामा आए पछि कुनै व्यक्ति, सम्प्रादय, जाति र वर्गलाई ठेस पुर्याउन नहुने मापदण्डहरू छन्। पत्रकारहरूले यस्ता मापदण्डहरूलाई पनि पालन गर्नु पर्छ। त्यो भन्दा अझ कथाको चरम विन्दु अर्जुनको देरादुनमा पढदै गरेको भाइले पैसा माग्दा उसले विचारेको विषयलाई लिन सकिन्छ। एउटा मिडिया हाउसमा के कस्ता समस्याहरू हुन्छन् त्यसलाई लेखकले ईमान्दारीका साथ जस्ताको तस्तै राखेकै छन्। कुनै बेला सञ्जाल(नेट)- नहुँदाको समस्य, कोही बेला बिजुली आपूर्ति नहुँदाको समस्यालाई र यस्तो परिस्थितिमा सम्पादकको प्रतिक्रियालाई लेखकले रोचक अनि सौहार्द ढङ्गमा प्रस्तुत गरेका छन्। यस कथालाई यथार्थ धरातलमा लेखिएको मान्न सकिन्छ।

मनोवैज्ञानिक विचारधारामा लेखिएको झ्यालबाट अर्को कथा पनि उत्तिकै पठनीय छ। प्रेमप्रसाद यस कथाको मूल पात्र हो भने प्राकृतिक वस्तु पवन र पानी सहयोगी पात्राको रूपमा प्रयोग गरिएको छ। यो कथामा प्रकृतिक विषयलाई कथाको पात्र बनाएर एक लेखकीय ढाँचा र प्रयोग गर्न खोजेको पाइन्छ। प्रकृतिवादी विचारमा लिखित यस कथामा प्रेम र मानवतालाई कथावस्तु बनाएका छन्। अतीतमुखी अर्थात फ्ल्यासव्याक टेक्निकमा लेखिएको यस कथामा प्रेमप्रसादको जीवनमा सुनिता नाम गरेकी केटीले प्रेम गरेको हुन्छे भने त्यो प्रेम केही हदसम्म चलेर स्थगित हुन्छ। यस कथामा हामी आशावादी हुनुपर्छ भन्ने उद्देश्य रहेको छ।

यस कथा सङ्ग्रहको अर्को उत्कृष्ठ कथा अज्ञात व्यक्ति हो। यो कथामा प्रथम पुरूष पात्रको प्रयोग गरिएको छ। कथाको शुरूमा परिवेश सशङ्कित छ। म पात्रको छिमेकी अज्ञात व्यक्तित्वको छ। एक वर्षसम्म म पात्रले उसलाई चिन्न सकेको हुँदैन। अज्ञात छ। लगभग एक वर्षको समयावधि पछि त्यो अज्ञात व्यक्तिले यस्तो परिस्थितिमा लेखकसँग एउटा चिट्ठी लेखिदिने आग्रह गर्छ। पत्रमा उल्लेख गरिएको “ सत्य खुन भेल भएर बगे पनि सत्यलाई संसारमा कुनै सृष्टिले दबाउन सक्दैन” यस उक्तिले कथाको पृष्ठभूमीको सङ्केत गर्दछ। कथामा अज्ञात व्यक्ति उर्फ गोपालप्रसादको कुनै ठेगाना उल्लेख गरिएको छैन्। उ एउटा साहित्यकार र पत्रकार हो अनि उसले सिमानामा हुने ठूलो तस्करीको पर्दाफफास गर्न लागेको र केही प्रतिक्रियावादीहरुले उसको हत्य गरेको कथामा घटनाले पत्रकारहरू सुरक्षित नरहेको मुद्दा उठाइएको छ। पत्रकारहरु आर्थिक रुपले सुरक्षित त छैनन् तर सुरक्षाको दृष्टिकोणले पनि उनीहरू सुरक्षित नरहेको विषयमा कथामा उल्लेख गरिएको छ। लेखकले पनि क्रान्तिकारीहरू अव्यवस्थित अर्थात दाह्री, जुँगा, लुगा आदि नमिलाइको हुन्छ भन्ने मानसिकतालाई नै पश्रय दिएका छन्। कथामा अज्ञात व्यक्ति अथवा गोपालप्रसादको चारित्रिक विशेषताको वर्णनमा उल्लेख गरिएको छ। उसको हत्य गरिएको समाचार कुनै पत्रिका मार्फत लेखकले थाह पाउँछन्। गोपालप्रसादको नाममा लेखकले लेखिदिएको पत्र मार्फत यो थाह लाग्छ, उ एउटा सशक्त एवं ईमान्दारी पत्रकार थियो अनि उसले समाजका विभिन्न प्रकारका विसङ्गतिहरू र असमतासँग लडने कोसिस गर्दा असामाजिक तत्वहरूले उसलाई हत्य गर्न खोजिएको परिवेशमा पत्र समाप्त भएको छ। अनि पछि लेखकले पत्रिका मार्फत उसको हत्य भएको थाह पाउँछ। कथाको अन्त लेखकले उसलाई पहिला गलत बुझेकोमा पछुतो गरे पछि सकिएको छ।

यसरीनै लेखकद्वारा सृजित अर्को कथा हो- भिखारीको आत्मकथा। आदर्शवादी विचारधाराको यस कथामा पनि प्रथम पुरूष म पात्रले आफ्नो कथा प्रस्तुत गरेको छ। हाम्रो सामाजिक दृष्टिकोणमा भिखारीलाई घृणाले हेर्ने गर्छौ। तर लेखकले यस कथामा भिखारीमा हुने सबै प्रकारका भावना र बोधित्वलाई लेख्ने कोसिस गरेका छन्। भिखारी देशहीन र माटोहीन हुन्छ भन्ने हाम्रो दुर्बल विचारलाई ठूलो चुनौती दिएका छन्। लेखकले भिखारीमा पनि देशभक्तिको भाव र माटाको स्नेह देखाइ उदार भावको विजारोपण गरी आदर्शको बोट बनाएका छन्। समाजमा भएको विसङ्गतिलाई लेखक कै शैलीमा- संसारमा खडेरी लागोको छ। माटो, ढुङ्गा र चामल, दर्शिन ढुङ्गा, चिनी, चिउरा र मिस्री चिन्न कम्प्युटर चाहिन्छ। यस कथामा लेखकले शान्तिको खोजी गर्ने र मान्छेको शान्ति खोज्ने प्रक्रियालाई एउटा भिखारी पात्रको माध्यमबाट देखाउँन खोजेका छन्। कथामा मन्दिर परिवेशको वर्नण दुख लाग्दो छ। मन्दिर, मस्जित र गिर्जाघरहरूमा अधिक शान्तिको वास हुन्छ भन्ने हाम्रो मान्यतालाई लेखकले वक्रोउक्ति ढङ्गमा प्रस्तुत गरेका छन् अनि त्यहाँ भिखारीलाई शान्ति नमिलेको परिवेशलाई यसको उदाहरण लिन सकिन्छ। यस कथामा लेखक लोभ, मोह र ईर्ष्यालाई मानव जातिको विकारको रूपमा प्रस्तुत गरेर आदर्शवादी बनेका छन्।

यसरी नै सामाजिक यथार्थवादमा आधारित अर्को कथा हो- होमगार्ड। यस कथामा पनि प्रथम पुरूष पात्रको प्रयोग गरिएको छ। यस कथामा मान्छेले आफ्नो कर्तव्यसँग सधै सँगै रहनु पर्छ भन्ने विचारलाई अघी सारेको छ। कथामा होमगार्ड र इन्स्पेक्टर माझ भएको संवादले ठूलोले सानोलाई हेप्ने प्रवृतिलाई प्रस्तुत गरिएको छ। आखाँ र सृष्टि होइन् अपितु यहाँ मानवीय गुण अन्धो भएको छ भनी लेखकले वर्तामान समाजको कैरन गरेका छन्। कथामा नशालु पदार्थको ओसार-पसारलाई कथाको विषयवस्तु बनाएका छन्। नशालु पदार्थले पार्ने प्रभाव र आजका युवाहरूको भविष्यमाथि यस कथामा लेखक चिन्तित देखिन्छन्। नशालु पदार्थको लतले आजको मानव दानव भइसकेको सङ्केत यस कथामा पाइन्छ। मान्छेलाई सबैभन्दा बढी डर आफनो भविष्यसित लाग्ने हुनाले लेखक पनि यहीबाट पीडित भई छिट्टो होमगार्डमा लागेको अनि पछि गएर हीनता बोधले ग्रसित हुनु बिडम्वना रहेको छ। सानो मान्छेले सपना पनि सानै देख्छ भन्ने विषयलाई यस कथामा चरितार्थ बनाइएको छ। लेखकको आत्मस्वीकृतिअनुसार यो कथा लेखकको पहिलो सिर्जना हो।

एउटा लाटो मान्छे कथा विवरणात्मक शैलीमा लेखिएको छ। यस कथामा एउटा लाटो मान्छेको चारित्रिक वर्णनबाट कथा शुरू गरिएको छ। कथामा लेखकले लाटोको मस्तिष्कमा आएको विचारहरूलाई कुनैवेला कुनै समयको एक ठाउँको सामूहिक कथा मान्न सकिन्छ। माटोको मूल्य थापेर फर्किएको परिवेशमा यस आशयको जानकारी पाइन्छ। यस कथामा पनि सामाजिक विसमताहरूलाई नयाँ परिपाठीमा प्रस्तुत गरिएको छ। पढेर सरकारी नोकोरी नै गर्नु पर्ने आजका युवाका मागलाई प्रस्तुत गर्दै लेखकले नोकरीमा कसरी लागी रहेका छन्, त्यसवारे स्पष्ट देखाएका छन्। नोकरीमा लाग्ने प्रक्रियाअन्तर्गत अन्तर्वार्ता पनि अर्कै ढङ्गमा हुने विषयलाई उठाएर सामाजिक विसमताको यथार्थ मजिक पुगेका छन्। आतङ्कवाद भनेको नकारात्मक सोच, गलत व्यवहार र विरोधी भाव हो भने यस्तो प्रवृत्ति अथवा व्यवस्थालाई सधै निरन्तर रुपमा टेवा दिए अवश्यै पनि आतङ्वादीहरू जन्मिने विषयलाई लेखकले गम्भीर भएर सचेत गराएका छन्। कथामा प्रयोग भएको पात्र लाटो पीडित छ। उसले कहिले पनि जीवनको आनन्द लिएन अनि हीनताभाष र हीनभावले पिल्सिरह्यो। उ समाजका यी विसङ्गतिहरूसँग विरोध गर्ने, क्रान्तिको थालनी गर्ने इच्छा गर्छ तर हाम्रो सामाजिक व्यवस्थाले यस्ता क्रान्तिमय विचारलाई निष्क्रिय बनाइ हाल्छ। हाम्रो संस्कार, संस्कृति र मान्यताहरू दिनप्रति दिन सङ्कटको अवस्थामा पुगेको अनि यसबाट हामीले केही उपाय सोच्नु पर्ने लेखकीय सोच रहेको छ।

ग्रामीण पृष्ठभूमिमा लेखिएको अर्को कथा हो- मूल फुटेपछि। यस कथामा लेखकले असारको समयमा गाउँ-बस्तीमा हुने चटारो र झटारोलाई प्रस्तुत गर्न खोजेका छन्। गाउँमा धान रोप्ने समयमा कृषकहरूलाई पानीको आश्यक पर्छ अनि कथाको शुरूमा दिन सुख्खा भएको परिवेशमा कथानक बुनिएको छ। वसन्त र पवित्र यस कथामा ग्रामीण पात्र-पात्राको रूपमा रहेका छन्। कथामा पिरो मरिच हालेको चिया, लुँडो काटेर दिउँ, भारबाट दाउरा झिकेर, मकैका झुत्ता बनाउनु, ठूलो चिलाउनेको मूडो निकालेर अगेनामा झोसी जस्ता वाक्याशंले कथालाई गाउँको धेरै नजिक पुर्याउनु सहयोग गरेको छ। वसन्त र पवित्रमाझ भएका संवादहरुले गाउँमा खलिएको नयाँ सजकको माटो पानी लेदो बनाइ ल्याएर गाउँलाई आतङ्कित बनाएको छ। हामीले मान्दै ल्याएका पुराना मान्यता र परम्परा अनि अन्धविश्वासलाई पनि लेखकले कथामा पश्रय दिएका छन्। पवित्रलो विहान देवीथानमा पूजा गर्दा कुना-काप्चा रसाएको उल्लेख गरेको घटनाले यो आशयको पुष्टि गर्छ। गाउँ वस्तीमा विपतको समयमा रहातको व्यवस्था कसरी गरिन्छ अनि सरकारबाट के-कस्ता सुविधाहरू उपलब्ध हुन्छ, कथामा राम्रो प्रस्तुतिका साथ राखिएको छ। कथामा आसाम र मेघालयको प्रसंगसितै ग्रामीणस्तरमा हुने घटनाहरुलाई क्रमबद्ध रुपमा बुनिएको छ भने नारी हठ पनि कथामा उचितस्थानमा प्रस्तुत गरेर लेखकले आफनो आख्यान क्षमता देखाएका छन्। कथामा लोग्ने-स्वास्नीमाझको माया-प्रीतिलाई पनि कथामा प्रस्तुत गरिएकोले कथा स्वच्छन्दवादको हिमायती पनि बनेको छ। वसन्तले राती सपनामा खेत-वारी भलले बगाएको देख्नु उसको अवचेतन मनमा रहेको त्रुटि मान्न सकिन्छ भने यसलाई मनोविज्ञनको आधारमा विश्लेषण गर्न सकिन्छ। कथामा बनको बाघले भन्दा अधिक मनको बाघले खाएको छ पात्रलाई अनि कथाको यही परिवेशनै आख्यानको चरम मान्न सकिन्छ।

यस सङ्ग्रहको अन्तिम कथा हाम्रो गाउँको स्कूल हो। भक्तबहादुर उदारवादी व्यक्तित्वको रूपमा प्रस्तुत भएको छ भने उसले स्कूलमा विद्यार्थीहरुलाई पढदेखि अन्य विषयको पनि ज्ञान लिनुपर्छ भन्ने विषयमा सचेत गराइ बस्छ। स्कूलमा स्वतन्त्रता दिवस पालन गर्ने विषय लिएर भक्तबहादुरलाई पनि समितिले निमन्त्रण गरेको थियो। सभामा अधिकाशं अभिभावकगणले आ-आफ्नो दुखेसो वा गुनासो पोखाउँ छन्। कसैले विद्यार्थीको पढाइ विग्रिएको, नयाँ ड्रेस सिलाउनु परेको, पानीको कारणले जुत्ता फाटेको आदि गुनासो गर्छन्। विभिन्न प्रतियोगिताको आयोजन गर्नु पर्यो अनि प्रतियोगितामा विजय हुनेलाई पुरस्कार पनि दिनु पर्यो यस्ता समस्य त छँदै छ तर त्यो भन्दा अर्को समस्य फण्डको हुन्छ। यी सबै विचार विमर्श पछि स्वतन्त्रता दिवस नमनाउने पक्षमा सबै पुग्छन्। तर यही बेला भक्तबहादुरले स्वतन्त्रता दिवस नमनाए हाम्रो शिक्षा अधुरो रहने अडान लिन्छ। उसले भारतको कानून व्यवस्था, संस्कार, संस्कृति र परम्परा आदि बुझ्नलाई पनि स्वतन्त्रता दिवस मनाउने विचार व्यक्त गर्छ। उपस्थित व्यक्तित्वगणले विभिन्न प्रकारका प्रश्नहरु सोध्छन् तर भक्तबहादुरले क्रमबद्ध रुपमा उत्तर दिन्छ। भक्तबहादुरको तर्क र विचारमा सबै सहमत भएपछि स्कूलमा स्वतन्त्रता दिवस मनाउने पक्षमा सबै पुग्छन्। साधारण कथावस्तु आधारित भए तापनि यो कथा देशभक्ति भावले ओतप्रोत छ। लेखकले कथामा लेखकले देशभक्ति भावलाई प्रबल बनाउन स्वतन्त्रता दिवसको औचित्य, उद्देश्य, महत्व र यसको गरिमामाथि प्रकाश पारेका छन्।

चरित्र-चित्रणः चुचेढुङ्गा कथा सङ्ग्रहभित्रका अधिकाशं पात्रहरु ग्रामीणस्तरका रहेका छन्। पात्रहरुले गाउँ-घरमा हुने सुख-दुख, आपद-विपद र हाँसो-रोदनलाई जीवन्त तुल्याएका छन्। सिद्न्तका आधारमा पात्रहरु सामाजिक यथार्थमा उभिएर जीवनको गीत गाउन सक्षम देखिन्छन् अनि आदर्शसित प्रीत लगाउँछन्। कोही पात्रहरु हीनता बोधमा अल्झिएका छन् भने कोही प्रगतिशील विचारधारामा आधारित छन्। ब्लड रिपोर्टको सूर्यबहादुर र हर्कबहादुर, शिक्षाको मोलको म पात्र, जीविकोपार्जनको रबीन, म फर्की आउनेछुकी पद्ममावती, अर्जुन कथाको अर्जुन, अज्ञात व्यक्तिको म पात्र, हाम्रो गाउँको स्कूलको भक्तबहादुर आदि पात्र-पात्रा परिवर्तित छन् भने अन्य कथाका पात्र हीनता बोधले ग्रसित पनि भेटिन्छन् । कथानकले मागे जति पात्रहरु ठाउँ-ठाउँमा भूमिका निर्वाह गर्न नसके तापनि सालाखालामा हेर्दा लेखकले चरित्र चयनमा चातुर्य देखाएका छन्।

संवादः कथामा घटनाले मागे जति संवाद संवहन भएको प्रतीत हुन्छ। छोटा, छरिता, सरल अनि उखान-तुक्काले संवादलाई सबल बनाउन सफल भएको छ। ऐतिहासिक कथाहरुमा केही संवादहरु लामा भए तापनि दुरूह भने छैनन्। पुरूष अनि नारी दुवै थरीका पात्रहरूले बोलेको संवादबरु ओजस्वी रहेका छन्। सङ्ग्रहमा अधिकाशं कथाहरू ग्रामीणस्तरमा आधारित भएकाले संवाद शैली पनि ग्रामीस्तरकै रहेका छन् साथै कथ्य भाषामा आधारित संवाद शैलीको प्रयोग भएको छ।

भाषाः भाषाको कुरा गर्न साह्रै गाह्रो विषय हो तर पनि कृतिको आधारमा भाषा सम्बन्धी केही भन्नै पर्छ। चुचेढुङ्गामा प्रयुक्त भाषा सरल, सरस अनि मृदुल रहेको छ भने कहीं कतै रुपनारायण शैलीलाई पछ्याउँदै लेखकले अनुप्रासहरुको पनि प्रयोग गरेका छन्। काँक्रालाई थाङ्ग्रा दियो थाङ्ग्रै धनी जस्ता वाग्धारा,चुचेढुङ्गा चनाखो चम्चे चाल चल्न चतुर, प्रेमप्रसादले पर्दा पन्साएर पश्चिमतिर, पापीहरूलाई पापले पोलेपछि पानी पिलाउन पाउँछौ जस्ता उनुप्रसीय शब्द विन्यासहरूले कथाहरूको भाषिक गरिमालाई उच्च बनाएको छ। हामीले दैनन्दिन प्रयोग गरिने अङ्ग्रेजी, हिन्दी र अन्य नेपाली जातिका उप-भाषाहरुको भाषिक वाक्य र शब्दहरुको पनि प्रयोग भएका छन्। छोटा तथा छरिता वाक्याशंहरूले कथाहरु चिट्टिक्क बान्की परेका छन् भने आलाङ्कारिक शब्दवालीहरुले कथा मङ्सीरका धानका बाला बनेका छन्।

निष्कर्ष

कथाकार शमले अनावरणको वर्ष-2 अङ्क 2 को अगस्त महिनामा दिएको अन्तर्वार्ताअनुसार कथाहरू, आफनै वरिपरीका घटना र विषयवस्तु टिपेर आफ्नै पाराले कथाको रुप दिएको छु। कथामा के दिने भन्ने कुराभन्दा कथा सिर्जना गर्नेतिर ध्यान दिइयो भनी आफ्नो विचार स्पष्ट पारेका छन्। समग्रहतामा हेर्दा सबै कथाहरु हाम्रै समाज वरिपरी दैनन्दिन घट्ने घटनाहरूलाई लिएर लेखिएको छ। कथाहरू सामाजिक, सांस्कृत्क, ऐतिहासिक, पर्यावरण, राजनीतिक, पत्रकारिता आदि विषयवस्तुहरूलाई समेटेर कथा लेखिएको छ। अधिकाशं कथाहरू सामाजिक यथार्थवादमा आधारित रहेका छन् भने कति कथाहरू आदर्शवादी र मनोवैज्ञानिक पनि छन्। संरचनाका आधारमा छोटा-छरिता रहेका कथाहरुले समाजमा भएका विसङ्गतिहरूलाई हुवहु उतारेको छ भन्दा अतियुक्ति हुँदैन। आख्यान तत्वको बुनौटमा कति कथाहरू चुके पनि भविष्यमा निरन्तरताले यस्ता खाल्डाहरू पुर्दै लाने प्रबल सम्भावना रहेको छ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 4 भाद्र, 2072

लेखकका अन्य रचनाहरु