"कमरेड भाउजू" कथासङ्ग्रहका डायास्पोरिक विषय र प्राप्तिहरू

- डा.लेखप्रसाद निरौला

१. विषय प्रवेश
प्रविधिको उच्चतम विकाससँगै विश्वलाई सानो भूखण्डका रूपमा लिन थालिएको छ । मानिसलाई एउटा बिन्दुबाट अर्को बिन्दुमा पु¥याउका लागि अनेकौँ कारण वा साधनहरूले सहयोग गर्न थालेका छन् । अथवा, विविध कारणवस मानिसहरू नयाँनयाँ क्षेत्रहरूप्रति आकर्षित हुँदै चाहेको क्षेत्रमा पुग्न सफल हुँदै गएका छन् । फलस्वरूप जुनसुकै क्षेत्रबाट कुनै नयाँ क्षेत्र वा मुलुकमा बसोबास गर्ने क्रमसँगै आफ्नो जातीय उद्गमले पारेको प्रभावलाई स्थानीकरण गर्ने प्रयाससमेत बढ्न थालेको छ । नेपालीहरूले पनि विविध समस्या अथवा भौतिक समुन्नतिको प्रलोभनका कारण दिनप्रतिदिन विश्वका कुनाकुनामा पुगेर जीवन निर्वाह गर्न थालेका छन् र त्यहाँ नयाँ परिवेशमा आपूm, आफ्नो सांस्कृतिक एवम् भाषिक पक्ष लगायतका सन्दर्भलाई स्थापित गर्ने जमर्को गर्दै आएका छन् । यसरी नेपालीमूलका व्यक्तिहरूबाट परदेशमा बसोबास गर्दै छुट्टै पहिचानका साथ साहित्यका माध्यमबाट आफ्नो जीवनशैली र समस्याहरूबारे प्रकाश पार्ने काम पनि हुँदै आएको छ । यस किसिमको नेपाली साहित्यलाई नेपाली डायास्पोरिक साहित्यका रूपमा लिने गरिन्छ । यद्यपि डायास्पोरिक साहित्यमा जातीय उद्गमका रूपमा रहेको भूमिबाट प्राप्त संस्मरणहरूको पर्याप्त रेखाङ्कन हुने गर्दछ । अझ त्यसमा पनि प्रवासिएको देशमा अथवा परदेशमा पुगिसकेको अवस्थामा सांस्कृतिक, आर्थिक, सामाजिक तथा राजनीतिक सत्ताका लागि सङ्घर्ष गर्नुपरेको यथार्थलाई प्राथमिकता दिइएको हुन्छ । नयाँ भूमिमा पुगिसकेपछि आर्थिक रूपले कसरी सबल बन्ने, सामाजिक तथा राजनीतिक अस्तित्व कसरी कायम राख्ने अथवा सांस्कृतिक पहिचानलाई कसरी निरन्तरता दिने लगायतका कुराहरूको उल्लेखका कारण यस्तो साहित्यले परदेशमा रहेका तमाम विषयवस्तुलाई समेट्ने गरेको हुन्छ । बहुसङ्ख्यकबाट दबिएको अवस्थामा अर्थात् दोस्रो दर्जाको नागरिकका रूपमा रहनुपरेको अवस्थामा उत्पन्न मानसिक तनावलाई पनि डायास्पोरिक साहित्यमा प्राथमिकताको विषय बनाइने गरेको पाइन्छ । साठीको दशकसँगै नेपाली डायास्पोरिक साहित्य लेखनले तीव्रता पाउँदै आएको हो । त्यसक्रममा अनेकौँ साहित्यकारहरूको सूचीसमेत तयार भइसकेको छ र तिनैमध्येका एक जना डायास्पोरिक साहित्यकारका रूपमा कृष्ण बजगाईँलाई लिने गरिन्छ ।

कृष्ण बजगाईँ सन् उन्नाइस सय नब्बेको दशकको उत्तराद्र्धदेखि नेपाली साहित्यमा देखापर्दे आएका र वर्तमान नेपाली डायास्पोरिक आख्यान क्षेत्रका स्थापित प्रतिभा हुन् । उनको पाँचौँ प्रकाशित कृतिका रूपमा कमरेड भाउजू (२०७१) प्रकाशित भएको छ । यो तेह«ओटा कथाहरू सङ्कलन भएको नेपाली डायोस्पोरिक कथासङ्ग्रह हो । यसमा कमरेड भाउजू, पलायन कमरेड, मिडिया मुस्कान, तेस्रो कुकुर, मौन युद्ध, मङ्गल ग्रहमा देवकोटाको सालिक, म सिसिफस, गडौँला उर्फ सत्यराज, लोग्ने र अस्थाइ शत्रु, गणतन्त्रपछिको पहिलो प्रेम, मौनता र शान्ति, चौथो विवाह, मीट सिङ्गल डट कम जस्ता शीर्षकका कथाहरू रहेका छन् । यी सङ्कलित तेह«ओटा कथाहरूले डायास्पोरिक नेपालीहरूको जीवन जगत्लाई नजिकबाट नियालेका छन् र तिनका विविध समस्यासहित नयाँ परिवेशको चिरफार समेत गरेका छन् । यिनमा कोही न कोही नेपालीमूलका पात्रहरू प्रवासमा पुगेका र तिनले नयाँ भूमिमा आर्थिक, सामाजिक, सांस्कृतिक र व्यक्तिगत अस्तित्वका लागि सङ्घर्ष गरेका छन् । त्यसैक्रममा यी कथाहरूमा डायास्पोरिक नेपालीहरूले भोग्नुपरेको जीवनशैली, वाध्यता, स्वभाव एवम् पारिवारिक अवस्था आदिसँग गाँसिएका रोचक, मार्मिक तथा यथार्थपरक विषय सन्दर्भहरूलाई पनि समेट्ने प्रयास गरिएको छ । यसरी डायास्पोरिक विषय सन्दर्भसँग गाँसिएर आएका यस सङ्ग्रहभित्रका तमाम विषयहरूलाई निम्नबमोजिमका मूलभूत प्राप्तिसँगै विश्लेषण गर्न सकिन्छ ः

२. कामको खोजी र सम्मान
नेपालीहरू कामको खोजीका क्रममा भौतिक सम्पन्न विदेशी भूमिहरूमा पाइला टेकिरहेका छन् । यो क्रम दिनानुदिन बढ्दै गएको छ । यस सङ्ग्रहमा सङ्कलित कथाहरूले पनि तेस्रो मुलुकतर्फ विभिन्न कारणवश बिदेसिएका तमाम नेपाली चरित्रहरूलाई समेटेको छ । यहाँ ती सबैजसो चरित्रहरू युरोप (बेलायत वा लन्डन) पुगेकामध्ये रहेका छन् । यसरी बिदेसिनेहरूमा धेरैजसोले नेपालको राजनीतिलाई मूल कारण बनाएका छन् भने केही आर्थिक प्रलोभन वा महत्त्वाकाङ्क्षाका कारण र केही पढाइका कारण त्यहाँ पुगेका देखिन्छन् । केहीलाई अनाथाश्रमबाट पनि लगिएको अवस्था छ ।

सङ्ग्रहभित्रका कथामध्ये कमरेड भाउजू कथाको परिवार लन्डन पुगेको छ । धर्मप्रसाद आफैँ पनि नेपालमा क्रान्तिकारी परिवर्तनका लागि होमिएका व्यक्ति हुन् । उनले धर्म भनेको अफिम हो भन्ने गुरुमन्त्र सुनेका पनि थिए तर उनले नेपालमा क्रान्तिकारी परिवर्तनलाई साकार तुल्याउन सकेका छैनन् । बरु, पार्टीभित्रैबाट कयौँ पटक राजनीतिक दाउपेचको सिकार हुनु परेको थियो । त्यसैले पनि उनी काम र सुनौलो भविष्यका लागि लन्डन पुगेका देखिन्छन् । पलायन कमरेड कथाको कमरेड विश्वासको अवस्था पनि त्यस्तै छ । उनी पनि नेपालमा क्रान्तिकारी परिवर्तनका लागि चन्दा उठाउनेमध्येका एक हुन् । उनलाई भाटे कारबाही गर्ने परिस्थिति पनि थियो तर लन्डन पु¥याउनमा कमरेड गौरवको योगदान उल्लेखनीय रहेको छ । म सिसिफस कथाको डेमो पात्रको अवस्था पनि त्यस्तै छ । उनी २०४६ सालमा नेपालमा आएको प्रजातन्त्रको खुसीयालीका क्रममा आमा गुमाएका तथा ¥याफ्टिंग पेसाका व्यक्ति हुन् तर विदेशीको सम्पर्कका कारण लन्डन पुगेका छन् । गणतन्त्रपछिको प्रेम कथाका नायक र नायिका पनि नेपालमा भएको राजनीतिक क्रान्तिकारी परिवर्तनकै अभियान कारण लन्डन पुगेका छन् । नेपालमा उनीहरू दुबैको फरक अवस्था भए पनि आखिर नेपाली राजनीतिकै प्रभावका कारण उनीहरू बिदेसिनुपरेको छ । त्यस्तै मिट सिङ्गल डट कमकी रिताले लेख्ने उपन्यासभित्र पनि नेपालको जनयुद्धलाई समेट्ने प्रयास गरिएको छ । यसरी केही चरित्रहरू नेपाली राजनीतिको कुप्रभावका कारण त्यस्तो परिवेशबाट मुक्त हुन र नयाँ कामको खोजीसहित सुनौलो भविष्य बाँच्नका लागि विदेश पुगेका देखिन्छन् ।

त्यसैगरी एम.ए पढेर दुई छोराछोरीको बाबु भइसकेको तथा श्रीमतीबाट सम्बन्ध विच्छेदको कागज तयार पारी अर्की विदेशी श्रीमतीसँग बिहे गरेर आर्थिक रूपमा सबल हुन खोज्ने म सिसिफसको म पात्र र तेस्रो कुकुरको म पात्रजस्ता पात्रहरू आर्थिक सुदृढीकरणकै लागि बिदेसिएका देखिन्छन् । मौन युद्धको म पात्रलाई अनाथाश्रमबाट लगिएको पाइन्छ भने गँड्यौला उर्फ सत्यराज र मीट सिङ्गल डट कमकी रिताचाहिँ पढाइका सिलसिलामा लन्डन पुगेका देखिन्छन् । स्पष्टतया कारण नखुलाइए पनि भौतिक सम्पन्नता र प्रतिष्ठाप्रतिको मोहकै कारण मङ्गल ग्रहमा देवकोटाको सालिक, चौथो विवाह, मौनता र शान्ति तथा लोग्ने र अस्थाइ शत्रु आदि अन्य कथाका पात्रहरूले विदेशी भूमिमा आफ्नो उपस्थिति कायम राख्दै आएका छन् । यसरी सङ्कलित कथाका पात्रहरू कुनै न कुनै कामकै सन्दर्भमा नयाँ परिवेशमा विदेशी भूमिमै बस्न बाध्य भएका छन् । वस्तुतः कमरेड भाउजू कथासङ्ग्रहको एउटा महत्त्वपूर्ण प्राप्ति भन्नु पनि नेपालीहरू कसरी विदेश जान बाध्य भइरहेका छन् भन्ने कुरा दर्साउनु पनि हो ।

नेपालबाहिर खास गरी समुद्रपारिका मुलुकहरूमा नितान्त पढाइको डिग्रीलाई भन्दा कामको सिप अथवा क्षमतालाई बढी प्राथमिकता दिने गरिएको अवस्था छ । त्यहाँ कामका आधारमा कोही पनि सानो ठुलो अथवा सम्मानीय वा तिरस्कृत बन्दैन । यो काम फलानो व्यक्तिले मात्र गर्ने र त्यो काम फलानाले गर्न नमिल्ने भन्ने कुनै प्रावधान हुँदैन । जुनसुकै काम गर्ने व्यक्ति पनि कामको दक्षताकै कारण आफ्ना ठाउँमा सम्मानित हुने गर्दछ । यस सङ्ग्रहभित्रका कथाहरूले कामसम्बन्धी समान अवधारणालाई प्राथमिकताका क्रममा पस्किएका छन् । कमरेड भाउजू कथाकी भाउजूको मान्यता पनि त्यस्तै किसिमबाट व्यक्त भएको छ । उनले जस्तोसुकै काम गरे पनि कामले चाहिँ नमरिने बरु रोगचाहिँ नलागे हुन्थ्यो भन्ने आशयसहितको धारणा अगि सारेकी छन् । लोग्ने र अस्थाइ शत्रु काथाको लोग्ने पनि कामप्रति त्यति नै इमानदार देखिन्छ । उसलाई आफ्नो कामले पाएको सम्मानभावले सन्तुष्ट तुल्याएकै छ । उसको कामको प्रशंसा अरूहरूबाट भइरहे पनि श्रीमतीले सम्मान नगर्दा एक पटक त यतिसम्म भनेको छ– ‘‘काम कुनै पनि सानो ठुलो हुँदैन । श्रमको सम्मान गर्नुपर्दछ । जुन पेसामा लागिएको छ मन लगाएर काम गर्नुपर्दछ (पृ.८४) ।” त्यस्तै पलायन कमरेड कथाका दुवै पात्र बिलकुलै फुर्सदमा छैनन् । कमरेड अटलको सम्मान पनि समय निकालेर गर्नुपरेको छ । आफू श्रीमान् श्रीमती दुवै काममा जानुपर्ने भएकाले पाहुनालाई समेत दिनभरि डुलाउनका लागि बरु अर्का मित्रलाई अह«ाउनु परेको अवस्था छ । भारतीयकै पसलमा भए पनि विश्वासले मरुन्जेल कामलाई नै प्राथमिकता दिएका छन् । जबकि कमरेड विश्वासको त्यस्तो अवस्थालाई कमरेड अटलले पुँजीवादी अवसरवादीका रूपमा विश्लेषण गरेका छन् । त्यसैगरी गणतन्त्रपछिको पहिलो प्रेम कथाकी नायिकाको जीवनस्तर उठ्दै जानुमा पनि कामप्रतिको सम्मान नै प्रमुख कारण बन्दै गएको बुझिन्छ नै । नायकले पनि कामको महत्त्वलाई बल्ल त्यहाँ पुगेर बुझेको छ । उसले एउटा सन्दर्भमा यस्तोसम्म पनि भन्न भ्याएको छ– ‘‘विदेशी दलाल नेपाली नेताको चाकरी गर्नुभन्दा विदेशमा भाँडा मोल्नुमा नै मलाई गर्व छ । म श्रमको सम्मान गर्छु (पृ.९८)।’’ अझ कामप्रतिको इमानदारितालाई मिडिया मुस्कान कथाकी संवादाता सामनाको व्यवहारले निकै सशक्त रूपमा दर्साएको छ । उनको कार्यशैली, इमानदारिता, कामप्रतिको निष्ठा आदिका कारण सिङ्गो मिडिया क्षेत्र नै आश्चर्य चकित बनेको देखिन्छ ।

यसप्रकार नेपालीहरू विभिन्न कारणबाट विदेशी भूमिमा कुनै न कुनै काममा संलग्न रहँदै आएका छन् । लन्डनमा नेपालीहरूको बढ्दो घुइँचोलाई गणतन्त्रपछिको पहलिो प्रेम कथामा कथाकारका तर्फबाट व्यक्त यी भनाइले पनि सङ्केत गरेका छन्– ‘‘नेपाल नभेटिएका नेपालीहरू लन्डनमा भेटिए । प्रहरी र सेनाका भगौडादेखि पार्टीका चलाख नेता कार्यकर्ता र सरकारी कर्मचारीसम्मलाई जमेर बसेको देखे । उनीहरूको घर, फ्ल्याट, गाडी आदि देख्दा बेकारमा आफू क्रान्तिमा अलमलिएकोमा पछुताउ माने (पृ.९८)।’’वस्तुतः जेजस्तो सन्दर्भमा विदेशी भूमिलाई कार्य थलो बनाउँदै आए पनि ती मुलुकहरूमा जुनसुकै कामको पनि समान सम्मान रहन्छ भन्ने कुरालाई यसभित्रका कथाहरूले दर्साएका छन् । कामका आधारमा कोही पनि सानो ठुलो वा आदरणीय या अपहेलित हुँदैन भन्ने मान्यताका कारण विदेशी भूमिप्रति मानिसको अभिरुचि बढेको हुन सक्छ भन्ने कुराको सङ्केत पनि कथाहरूले गरेका छन् ।

३. पहिचानका लागि सङ्घर्ष
डायास्पोरिकको विशेषता भन्नु नै जातीय उद्गम क्षेत्रलाई छोडेर नयाँ परिवेशमा पुग्दा त्यहाँ आपूm अल्पसङ्ख्यक भएकै कारण आफ्नो जातीय संस्कृति, सामाजिक एवम् राष्ट्रिय प्रतिष्ठा र व्यक्तिगत स्वतन्त्रताका पक्षमा दिनप्रतिदिन लडेर पहिचान काम राख्न पहल गर्नु हो । हरेक स्वाभिमानी व्यक्तिलाई उसको परम्परा, रीतिरिवाज, पुख्र्यौली प्रचलन, धर्म, संस्कार, सामाजिक एवम् सांस्कृतिक मान्यता, राष्ट्रियता आदि कुराले भित्रभित्रै विशिष्ट पहिचानको घेरामा पारिरहेकै हुन्छ । त्यसैले ऊ अस्तित्ववान् प्राणीका रूपमा रहेको हुन्छ । ऊभित्र एक किसिमको स्वाभिमान वा अस्तित्वबोधी चेतना पनि लुकेको मानिन्छ । उसलाई आपूmभित्र लुकेर रहेको त्यस्तो चेतनाले परिवेश पाउना साथ जगाउँछ र ऊ पहिचानमुखी बन्छ या अस्तित्वको खोजीमा देखा पर्न थाल्छ । कतिपय अवस्थामा त राजनीतिक संस्कारले पनि निकै गहिरो प्रभाव जमाएको हुन्छ र त्यसविपरीतको अवस्था सिर्जना हुना साथ स्वत्वबोधले पिरोल्न थाल्छ । नेपालीहरू पनि जहाँ पुग्छन् त्यहीँ आफ्नो पहिचान वा अस्तित्वका लागि मरिहत्ते गरिहेकै हुन्छन् । यस सङ्ग्रहका कथाहरूले पनि त्यस्तै पहिचानका पक्षमा कसरी नेपालीहरू लडिरहेका वा सङ्घर्ष गरिरहेका छन् भन्ने कुरालाई दर्साएका छन् ।

कमरेड भाउजू कथाका धर्मप्रसाद हुन् वा लन्डन पुगेका अरू नेपालीहरू हुन्, तिनीहरू दसैँ, तिहार, नववर्ष लगायत सामाजिक एवम् सांस्कृतिक परम्परालाई सगर्व निरन्तरता दिइरहेका पाइन्छन् । पूजापाठ अथवा परम्परित संस्कार आदिलाई समेत प्राथमिकताभित्र राख्दछन् । सामाजिक कार्यमा जुट्ने धर्मप्रसाद र कमरेड भाउजू घरको परम्परा र छिमेकीका घरको न्वारनलाई पनि त्यत्तिकै महत्त्व दिन पुग्दछन् । उनीहरूलाई आरोप लगाउने अथवा ईष्र्या गर्नेहरूले रेडबुक थेम्स नदीमा फ्याकेर कम्युनिस्ट नेताका सट्टा ईश्वरका फोटाहरू राख्दै गीता पाठ गरेको र पूजापाठबाट फलिफाप भएको पनि भन्ने गरेका छन् । जेसुकै भए पनि नौलो परिवेशमा उनीहरूलाई निजी तथा राष्ट्रिय पहिचानले सगर्व बाँच्न मद्दत गरेको बुझिन्छ । पलायन कमरेडमा पनि कमरेड भाउजू बेलायती परिवेशमा स्वस्थानीको ब्रत बसिरहेकै छिन् भने कमरेड विश्वास स्वास्थानी कथाको वाचन गरिरहेका छन् । उनीहरूलाई आफ्नो जातीय संस्कृतिको पहिचानले सचेत तुल्याएको मान्न सकिन्छ । तर, यदि व्यक्तिले आफ्नै अस्तित्व कायम राख्ने अवसर पाउँदैन भने उसलाई अन्य कुराप्रतिको फुर्सद नै हुँदैन । तेस्रो कुकुर कथाको डेमो पात्रले केवल विदेशको नागरिकताकै लागि फ्लोरेन्ससँग सम्झौताअनुसार श्रीमान्का रूपमा रहेर काम गरिरहेको छ तर उसले त्यहाँ आपूmलाई कुकुरभन्दा केही फरक नपाएका कारण विद्रोह गरेको छ । म सिसिफस कथाको म लोग्ने पात्र पनि एउटा रेस्टुरेन्टमा फरकफरक नेपाली पोसाकका साथ उभिएको छ । उसलाई श्रीमान्का रूपमा रहेर त्यसरी काम गर्नुको एउटै उद्देश्य थियो विकसित राष्ट्रको नागरिक बन्नु र सँगसँगै आफ्नो स्वाभिमान केही नपाएका कारण उसले असन्तुष्टि जाहेर गर्दै आएको छ । यसरी तेस्रो कुकुरको लोग्ने वा म सिसिफस कथाको मजस्ता पात्रहरू पहिले आफ्नो पहिचानको खोजीमा सङ्घर्षरत रहेका छन् । उनीहरूलाई सबैभन्दा पहिले आफ्नो व्यक्तिगत पहिचान संरक्षणको खाँचो छ । त्यसैले त उनीहरू बरु जस्तोसुकै काम गर्ने तर आफ्नो पहिचानमा आँच आउने कार्य भएमा त्यसलाई सहन नसक्ने प्रवृत्तिका कारण बेलाबेलामा निराश भई विद्रोही बनेर देखा परेका छन् । त्यसैगरी पलायन कमरेड कथाको कमरेड गौरवलाई विदेश भ्रमणका क्रममा भारतीय रेस्टुरेन्टमा एकरात बस्नुपर्दा आफ्नो राजनीतिक प्रशिक्षणको प्रभावले दिएको संस्कारका बिचको द्वन्द्वका कारण पहिचानबोधले सताएको प्रस्टै देखिन्छ भने मीट सिङ्गल डट कममा नारी अस्तित्वका लागि नारीले नै थालेको पहिचानमुखी अभियान पनि यस दृष्टिले कम मानिँदैन । यसरी हरेक जसो पात्रहरूले विदेशी भूमिमा आफ्नो धर्मसंस्कृति, रीतिरिवाज, भाषाधर्म र व्यक्तिगत स्वाभिमान कायम राख्नका लागि सङ्घर्ष गर्दै आएको कुरालाई सङ्कलित कथाहरूले प्रतिनिधिमूलक ढङ्गबाट प्रकाश पार्ने काम गरेको देखिन्छ ।

४. यौनिक स्वतन्त्रताको सन्दर्भ
यौनिक स्वतन्त्रताका पक्षमा उदार हुने कि अनुदार हुने भन्ने कुरा बहसको विषय छँदै छ तर पाश्चात्य मुलुकहरूमा बिस्तारै यौनसम्बन्धी विषय सामान्यजस्तै बन्दै गएको छ । यस सङ्ग्रहमा सङ्कलित कतिपय कथाहरूले यौनिक जीवनका केही त्यस्ता सान्दर्भिक एवम् रहस्यमूलक सन्दर्भहरूलाई पनि समेटेको पाइन्छ । गड्यौला उर्फ सत्यराज एउटा त्यस्तो कथा हो जसमा केही समयका लागि प्रवासी जीवन बिताउँदाको अवस्थामा सत्यराजकी श्रीमतीका माध्यमबाट जीवनमा यौनिक स्वतन्त्रताका लागि विद्रोह गरिएको छ । जीवनमा भोकप्यास जस्तै बनेर रहिरहने यौनकुण्ठाले समय समयमा मानिसलाई नयाँ कदम चाल्न बाध्य तुल्याउँछ भन्ने कुरालाई अनुलताको निर्णयले दर्साएको छ । हो, परिवारको सदस्यले उन्नति वा प्रगति गर्नुपर्छ तर सँगसँगै पारिवारिक सदस्यका हरेक पक्षलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ भन्ने मान्यतालाई पनि यस कथामा देखाउन खोजिएको छ । सुरुमा डेरामा बस्ने राधेश्यामले हिन्दी बोलेको सुन्दा मन नपराउने अनुलता पछि ऊसँग सहवास मात्र नभई भाग्न समेत तयार हुनुबाट मानिसमा अव्यक्त यौनचाहनाले कसरी सताउँदो रहेछ र त्यसका लागि मानिस कतिसम्म कठोर निर्णयलाई सहज ठान्दो रहेछ भन्ने दृष्टान्तलाई यस कथाले प्रस्तुत गरेको छ । त्यस्तै अर्को म सिसिफस कथामा पनि म पात्र डेमोक्रेसी (डेमो) की पत्नी फ्लोरेन्सको व्यवहार नितान्त यौनिक स्वतन्त्रताका पक्षमा अडिएको देखिन्छ । उसले कति सहजै आफ्नो पूर्व पतिसँग रेस्टुरेन्टको मूल ढोकामा चिनाएकी छे । उसको व्यवहार देखेर म पात्र पनि त्यत्तिकै चकित बनेको छ । त्यसैले म पात्रले भएको छ– ‘‘हुन त यी अङ्ग्रेजहरू पहिला कतिवटा लोग्ने, स्वास्नी, ब्वाई फ्रेन्ड वा गर्लफ्रेन्ड थिए भनेर कहिल्यै खोजीनिति गर्दैनन्, बरु आफैँ भन्दछन् । यसरी खोजीनिति गर्नु उनीहरूको निजी जीवनमा दख्खल पु¥याउनु रे ! असभ्य हुनु हो रे ! (पृ.६३) ।” यद्यपि फ्लोरेन्स एउटी लेस्बियन हो र ऊ पुरुषहरूलाई केवल श्रीमान्का रूपमा राखेर आफ्नो व्यवसाय चलाइरहन्छे तापनि उसले आफ्नो यौनिक स्वतन्त्रताको पक्षमाथि कसैलाई हाबी हुन दिएकी छैन । वास्तवमा म पात्रको भनाइ र फ्लोरेन्सको व्यवहारमा केही फरक छैन किनभने उसका डानियल, डेमोजस्ता कतिवटा श्रीमान् छन् वा थिए र तीसँगको यौनसम्बन्धका बारेमा कुनै प्रश्न गर्ने अवस्था नै छैन; सबै स्वतन्त्र मात्र देखिन्छन् । त्यस्तै मौन युद्ध शीर्षकको अर्को कथामो गेहरूको जीवन सन्दर्भबाट मानिसहरू कसरी दिनानुदिन यौनका दृष्टिले स्वतन्त्रताको पक्षमा देखा परिरहेका छन् भन्ने कुरामाथि प्रकाश पारिएको छ । मिलनबिन्दुको संरक्षणका क्रममा गेहरूको देखावटी दाम्पत्य जीवन र यौनसम्बन्धी रहस्यमयी चिन्तनलाई सशक्त रूपमा समेट्न सक्नु वास्तवमै उल्लेखनीय मान्न सकिन्छ । त्यसैगरी तेस्रो कुकुर कथाको प्रारम्भमा जब म पात्रले श्रीमतीका रूपमा स्वागत गर्न बसेकी श्रीमतीको वक्षस्थलमाथिको टाटुलाई नियाल्ने प्रयास गरेको छ तब ऊभित्रको यौनचेतना स्वाभाविक रूपले जागृत भएको देखिन्छ । तर, पहिलो पटक नै श्रीमनीका मुखबाट ‘इडियट’ शब्द सुनेपछि उसका सबै यौनिक चाहनाहरू चकनाचुर भएर हराएका छन् । यसरी एउटी श्रीमतीका रूपमा कागजी प्रक्रिया पुगेको श्रीमान्ले समेत विनास्वीकृति यौनका सन्दर्भमा हस्तक्षेप गर्न पाउँदैन भन्ने मान्यतालाई उक्त किसिमको अभिव्यक्तिले सङ्केत गरेको छ । वस्तुतः यौनिक जीवनका नयाँनयाँ रूप र प्रयोगहरूका साथै यौन स्वतन्त्रका पक्षमा विश्वमा देखा पर्दै गएका मान्यताहरूको सटीक प्रस्तुतिका कारण यस सङ्ग्रहमा सङ्कलित उक्त कतिपय कथाहरू निकै सान्दर्भिक बन्न पुगेका छन् ।

५ नेपाली राजनीतिको गलत प्रभाव
राजनीतिले व्यक्तिलाई सक्रिय तुल्याउँछ । त्यसका माध्यमबाट उसले आफ्नो जीवनशैली निर्धारण गर्दछ । व्यक्तिले जुन दार्शनिक विचार बोकेको राजनीति हो त्यसको पहिचान गरी आपूm त्यसकै आडमा प्रतिष्ठाका साथ बाँच्ने प्रयास गरेको हुन्छ । तर, थोरै मात्र व्यक्तिले राजनीतिक जीवनशैलीबाट आपूmलाई सन्तुष्ट राख्न सकिरहेका हुन्छन् । त्यसबाट प्राप्त पद, प्रतिष्ठा र आर्थिक प्रभावकारिता कतिखेर गुम्ने हो राजनीतिमा टुङ्गो हुँदैन । त्यसमा सबै खाले प्रवृत्ति भएका व्यक्तिहरूको हालीमुहाली हुँदै जान्छ । कयौँ कर्तव्यनिष्ठ व्यक्तिहरू पाखा लाग्न पुग्छन् र जीवनमा निराश बन्द सक्दछन् । कतिपय व्यक्तिहरू राजनीतिक विचार दर्शनका आधारमा बाँच्न खोज्दा कष्टकर जीवन गुजार्न पनि बाध्य हुन्छन् । राजनीतिको सिद्धान्त जडसूत्रझैँ नभए पनि कहिले समयअनुसार संशोधनको अवस्थामा नपुग्दा कार्यकर्ताहरूलाई प्रत्यक्ष प्रभाव पर्न थाल्छ । अझ नेपाल जस्तो अविकसित मुलुकका सन्दर्भमा राजनीतिले मानिसलाई विश्वस्त र आकर्षित तुल्याउन सकेको छैत । नेपालमा पटक पटक राजनीतिक परिवर्तन र क्रान्तिकारिताका नाममा आन्दोलन वा विरोधहरू देखा पर्दै गए पनि त्यसको प्रत्यक्ष प्रभावबाट फाइदा लिने भन्दा नोक्सानी बिहोर्नेको सङ्ख्या ठुलो छ । यस सङ्ग्रहका कतिपय कथाहरूले अन्ततः नेपाली राजनीतिकका कारण बिदेसिनुपरेको यथार्थलाई सङ्केत गरेका छन् ।

कमरेड भाउजू कथाको कमरेड परिवर्तन–धर्मप्रसादले बाल्यकालसँगै प्राप्त गरेको आदर्श राजनीतिक चेतना जीवनको उत्तराद्र्धमा आएर अवसरवादी कार्यकर्ताहरूको आरोप र कार्यशैलीका कारण जीवन्त बन्न सकेको छैन । त्यस्तै पलायन कमरेड कथाका कमरेड विश्वास र कमरेड अटल आपूmले प्राप्त गरेका राजनीतिक जीवन दर्शनलाई समय सापेक्ष किसिमबाट प्रयोग गर्न सकिरहेका छैनन् । कमरेड विश्वासले नेपालको क्रान्तिकारी राजनीतिक परिवर्तनलाई आत्मसात् गर्न नसकी पहिले नै पलायन हुनुपरेको अवस्था छ भने कमरेड गौरवले लन्डनको परिवेशलाई देखेर भारतीय र शाही नामसँग विदेशी भूमिमा समेत सम्झौता गर्नुपरेको पीडाबाट मुक्ति पाउन सकेको छैन । गौरवलाई आफ्नो राजनीतिक जीवनदर्शनले त्यहाँ पनि त्यति उत्साहित तुल्याउन सकेको छैन । अझ साम्यवाद र गैरसाम्यवादबिचको चर्चाका क्रममा उनीहरूमध्ये अटलका माध्यमबाट साम्यवादी परिकल्पनापछि विकास हुने कुरा बताइएको पाइन्छ भने विश्वासका मुखबाट गैरसाम्यवादी मुलुकमा पनि नेतृत्वको इमानदारिताका कारण विकास हुन सक्छ भन्ने कुरा उठाइएको छ । जबकि दुबै जना नेपालको राजनीतिक परिवर्तनका नाममा भएका परिघटनाहरूबाट सन्तुष्ट हुन सकिरहेका छैनन् । गणतन्त्रपछिको पहिलो प्रेम शीर्षकको कथामा पनि गाउँमा छँदा नायिकाले देखेभोगेको नेपालको राजनीतिक क्रान्तिको दुष्परिणाम स्वरूप सबैलाई गुमाएर आखिर टुरिस्टका माध्यमबाट बिदेसिनुपरेको यथार्थलाई समेटिएको छ । गालामा कालोकोठी हुने नायक विद्यार्थी कालदेखि नै क्रान्तिकारी स्वभावको भएकाले उसलाई नायिकाले चिन्न गाह्रो नभएको र आठ वर्षपछि लन्डनको इन्डियन रेस्टुरेन्टमा काम गर्न बाध्य भएको देखेर ऊ आफै पनि छक्क परेकी छ । उसले विगतका राजनीतिक क्रान्तिका नाममा आफ्ना परिवारमाथि भएका कुकृत्यहरू नसम्झिएकी पनि हैन । झोलुङ्गे पुल, विद्युत् गृह, पानीको कुलो आदि भत्काउँदै हिँड्ने नायकले गणतन्त्रको आगमनसँगै बुर्जुवा शिक्षा भनी नपढेको र पैसा बटुलेको अवस्थामा सबै कुरा गुमाएर कमजोरीपन भोग्नुपरेको कुरा स्मरणीय देखिन्छ । साथै राजनीतिमा नायकभन्दा पछिल्ला चलाख झुन्डले उछिनेकै कारण पनि अन्ततः उसले एकदिन लन्डनलाई रोज्नुपरेको मानिन्छ ।

मङ्गल ग्रहमा देवकोटाको सालिक शीर्षकको कथाका त्रिलोकनाथले आन्तरिक रूपमा अवलम्बन गरेको कार्यशैली र राजनीतिक विचारका बिच निकै ठुलो अन्तर देखा पर्दछ । साम्यवादी आदर्श राजनीतिमा मानव जातिलाई विचारको एकात्मक सूत्रले समेटेको हुन्छ । विकसित मुलुकहरूमा त्यसको अभ्यास नभएको पनि होइन । तर, नेपालजस्तो मुलुकमा बढ्दै गएको जातीय नाराले राजनीतिको त्यो विशिष्ट विचारलाई निमोठ्ने काम भएको अवस्थामा त्यसको प्रभाव जातीयताको कुनै गन्ध नहुने मुलुकमा बस्ने प्रवासी नेपालीहरूमा पनि पर्नु निश्चय पनि दुर्भाग्यको कुरा हो । त्रिलोकनाथले देवकोटाको सालिक मङ्गलग्रहमा पु¥याउने भनेर सङ्कलन गरेको रकमलाई दुरुपयोग गर्नका लागि साहित्यका क्षेत्रमा र त्यो पनि दिवङ्गत प्रतिभाहरूको जातीयतालाई उठाएर कसरी राजनीति गरेका छन् त्यो विचारणीय बनेको छ । साहित्यका क्षेत्रमा पनि समावेशीकरणको नाराले ल्याएको विकृति घत लाग्दो बन्दै गएको छ । अझ शेरचन, पारिजात, श्रेष्ठ, विद्यापति आदिका नाममा विवाद जन्माउने र विवाद समाधानको पहल पनि आफैबाट हुँदै छ भन्ने राजनीतिको चरित्रलाई समेत दर्साएर नेपालमा विकसित हुँदै गरेको राजनीतिको गलत दिशालाई सङ्केत गरिएको छ । त्यस्तै मीट सिङ्गल डट कम कथामा पनि माओवादी जनयुद्धको सन्दर्भलाई लिएर नेपाली नारीहरूले पुरुष मानसिकताको अध्ययनलाई निरन्तरता दिइरहेका देखिन्छन् । यसरी कुनै न कुनै रूपमा नेपाली राजनीतिमा होमिएर वा त्यसबाट प्रभावित बनेर असन्तुष्ट भई बिदेसिएका तमाम नेपालीहरूको जीवनसन्दर्भलाई सङ्कलित कथाहरूले सङ्केत गरेका छन् । वस्तुतः नेपाली राजनीतिको गलत प्रभाव अझै विद्यमान छ भन्ने कुरामा उक्त कथाहरूको कुनै विमति देखिँदैन ।

६. अन्य महत्त्वपूर्ण सन्दर्भहरू
यस कमरेड भाउजू कथासङ्ग्रहमा सङ्कलित कथाहरूले उपयुक्त विशेष सन्दर्भबाहेक पनि अन्य विविध पक्षहरूलाई समेट्ने प्रयास गरेका छन् । तिनमा केही विकसित वा विदेशीमूलका नारी चरित्रहरूको बढ्दो दबदबाप्रति प्रवासमा पुगेका पुरुषहरूबाट असन्तुष्टि व्यक्त हुने गरेको अवस्थालाई लिन सकिन्छ । अथवा, विदेशी संस्कृतिको प्रभावसँगै कतिपय नारीहरूले पुरुषलाई आफ्नो मान्यता वा निर्देशभित्र राख्न चाहेको कुरालाई उठाइएको पाइन्छ । त्यसै सन्दर्भमा म सिसिफस कथाको डानियलले म पात्रसँग भनेको एउटा प्रसङगलाई लिन सकिन्छ । त्यहाँ उसले भनेको छ– ‘‘यताका आइमाईहरूले पुरुषहरूलाई जोताएका छन् । आवश्यकता हुन्जेल उपयोग गर्दछन् र नचाहिएमा मिल्काउँछन् (पृ.६७)।’’ तेस्रो कुकुर कथाको श्रीमान्लाई पनि आफू श्रीमतीको दास नै बन्नुपरेको महसुस भएको छ । यद्यपि त्यो आईमाई लेस्बियन भएको पनि सङ्केत गरिएको छ । त्यस्तै सम्भवतः विदेशी संस्कृतिको प्रभाव पनि बिस्तारै पर्न थालेको हुन सक्छ मौनता र शान्ति कथाकी श्रीमती पनि श्रीमान्का हरेक काममा सगाउँछे तर उसले पटकपटक आफ्नो क्रेडिट चाहिँ लिन छोडिरहेकी हुन्न । वास्तवमा उनीहरूको जीवन सहरिया परिवेशमा कामको चापाचापका कारण र सन्तानका कारण मात्र बाहिरबाट हेर्दा देखावटी रूपमा श्रीमान् श्रीमतीको सम्बन्ध कायम राख्दै अगाडि बढेको देखिन्छ । तर, सामनाजस्ती नारी चरित्रका माध्यमबाट नारीलाई पनि छिटै प्रगति गर्न थालेको सहन नसकी पुरुषहरूबाट आरोप वा लाञ्छना लगाउने कार्य पनि छँदै छ भन्ने कुरालाई भने बेवास्ता गरिएको छैन । यीबाहेक अन्य कथाहरूमा पनि नारी चरित्र नै बढी हाबी हुँदै गएकोतिर सङ्केत गर्न खोजिएको पाइन्छ ।

त्यस्तै नेपालीप्रतिको विश्वास संसारमा अझै पनि कायमै रहेको कुरालाई यसभित्रका कथाले सङ्केत गरेका छन् । नेपालीप्रतिको विश्वास कायमै रहेको कुरालाई नेपालीले विदेशी भूमिमा कतै न कतै पाएको कामका आधारमा मूल्याङ्कन गर्न सकिन्छ । त्यसमा पनि मौन युद्ध कथाकी मम्ले आफ्ना बुबाबाट सुनेको नेपालीप्रतिको इमानदारिता र ड्याडले बेलायती सैनिक जीवन बिताउने क्रममा गोर्खालीसँगको भेटसँगै नेपालीले देखाएको इमानदारी प्रवृत्तिकै कारण उनीहरू धर्मपुत्र लिन नेपाल आएका हुन् भन्ने सन्दर्भलाई समेटेर नेपालीप्रतिको विश्वासलाई उजागर गरिएको छ । त्यसैगरी नकारात्मक मानसिकताको प्रभावलाई सङ्केत गरिएको कथाका रूपमा लोग्ने र अस्थाइ शत्रुलाई लिन सकिन्छ भने मुस्कानको प्रभावकारितालाई दर्साउन सक्षम कथाका रूपमा मिडिया मुस्कानलाई लिन सकिन्छ । यस कथामा संवाददाताका रूपमा सामनाले देखाएको आकर्षक मुस्कानपूर्ण व्यवहारले मिडिया जगत्लाई निकै जिम्मेवारी बोध गरएको पाइन्छ । वास्तवमै बालबालिका र महिला सबालमा नेपालका मिडिया विषयमा विद्यावारिधि गरिरहेकी सदूर विकट पहाडी क्षेत्रकी सामनाको विगत र वर्तमानसहित उनको कलाकौशलका कारण मिडिया जगत्ले पाएको उचाइ अनुकरणीय मान्न सकिन्छ । अर्को जनावरप्रतिको मोहका सन्दर्भमा तेस्रो कुकुर कथामा रहेकी श्रीमतीको कुकुरप्रतिको मोह र सोही कथाको माग्नेले कुकुरसँगै सुतेर देखाएको कुकुरप्रतिको मोह पनि उल्लेखनीय मानिन्छ । मौन युद्ध कथामा पनि पहिले धर्मपुत्र पाल्नुभन्दा कुकुर, बिरालो र चराचुरुङ्गी पालेर पनि इच्छापूर्तिको प्रयास थालिएको देखिन्छ ।

७. निष्कर्ष
कमरेड भाउजू नेपाली कथापरम्परामा समसामयिक डायास्पोरिक कथासङ्ग्रहका रूपमा देखा परेको हो । यस कृतिलाई डायास्पोरिक नेपाली समाजको एउटा सशक्त प्रतिबिम्बका रूपमा रहेको मान्न सकिन्छ । यस कृतिले एकातिर डायास्पोरिक नेपालीहरूद्वारा गरिएको कामप्रतिको खोजी र कामको सम्मानलाई जति महत्त्वका साथ देखाएको छ त्यति नै विदेशी भूमिमा अल्पसङ्ख्यक नेपालीले सांस्कृतिक, भाषिक र व्यक्तिगत पहिचानका लागि गर्नुपरेको सङ्घर्षपूर्ण तर महान् कार्यको महत्त्वलाई देखाएको छ । यहाँ डायास्पोरिक नेपालीको जीवनशैलीलाई निकै नजिकबाट नियाल्ने क्रममा उनीहरूले मूलतः लन्डन र त्यसको आसपास (युरोप वा बेलायत) का अनेकौँ क्षेत्रहरूमा बिहोर्नुपरेको यथार्थपरक परिघटनाहरूलाई नै मुख्य रूपमा उद्घाटन गरिएको छ । त्यस्तै नेपाली राजनीतिको गलत परिणामसँगै नेपालीले भोग्नुपरेको डायास्पोरिक जीवनको लामो पाटोलाई पनि टड्कारो समस्याका रूपमा सङ्केत गरिएको छ । साथै आधुनिक विश्वमा देखा पर्दै गएको यौनिक स्वतन्त्रताको सन्दर्भ र गे तथा लेस्बियनहरूको जीवन सन्दर्भलाई पनि समेटेका कारण यो कथासङ्ग्रह अद्यावधिक प्रकृतिको बन्दै गएको देखिन्छ ।

यसमा विषय सन्दर्भअनुसार आधुनिक जीवनशैलीका अनेक पाटाहरूलाई पनि यसमा समावेश गरिएका छन् । मेट्रो ट्रेनको सुरुङ मार्गमा यात्रा गर्नुपर्ने वा ट्युब समाउने कामलाई प्राथमिकतामा राख्नुपर्नेदेखि गाडी पुछ्नुपर्ने, सरसफाइमा जुट्नुपर्ने, बगैँचा गोडमेलमा लाग्नुपर्ने, कुकुरको हेरचाह गर्नुपर्ने, रेस्टुरेन्टहरूमा कुकको काम गर्नुपर्ने र डिपार्टमेन्टल स्टोरहरूमा पसिना बगाउनुपर्ने लगायतका तमाम कामहरूसँगै नेपालीको दैनिकी बितिरहेको कुरालाई मार्मिक रूपले उठाइएको छ । त्यस्तै कामको व्यस्तताका बाबजुद पनि बेलाबेलामा भेटघाट र आपसी सरसहयोगमा जुट्ने नेपाली प्रवृत्ति र लन्डन ब्रिज, न्याचुरल पार्क, कम्युनिटीहल आदिमा घुमघाम तथा भेटघाटलाई पनि नेपालीले निरन्तरता दिँदै आएको सन्दर्भमाथि पनि प्रकाश पारिएको छ । हिजोआज विकसित मुलुकहरूमा वाइन, बियर, रेडलेबल आदि मदिराजन्य पेय पदार्थलाई सामान्य रूपमा लिने प्रवृत्ति बढ्दै गएकोतर्फ पनि यस सङ्ग्रहले सङ्केत गरेको छ । त्यस्तै आधुनिक उपकरणको प्रभावका रूपमा मोटर गाडी, ८५० सिसीको हेलिडेविड्सन मोटर साइकलजस्ता कुराहरू र सञ्चार जगत्का फेसबुक र ट्विटर आदिको प्रयोगलाई पनि सामान्य रूपमा लिन थालिएको कुरा उठाइएको छ । अझ मंगलग्रहमा देवकोटाको सालिक पुर्याउने मानसिकताको बीजारोपण र नेपालीलाई ४०–४५ डिग्री सेल्सियस माथि र माइनस १५ डिग्री सेल्सियस तापक्रम भन्दा कम डिग्रीको हावापानी अथवा हिउँको सेताम्मेपनसँगै बाँच्न सक्ने जातिका रूपमा पाउन थालिएको सन्दर्भसमेत समेटिएको छ ।

यसरी नेपाली साहित्यमा डायास्पोरिक कथासङ्ग्रहको अद्यावधिक प्रतिनिधिका रूपमा देखापर्ने यो कमरेड भाउजू मूलतः डायास्पोरा नेपालीहरूको जीवन र जगत्सँग गाँसिएका यथार्थबोधी, समस्यामूलक र मनोवैज्ञानिक विषयहरूको त्रिकोणात्मक संयोजनका रूपमा रहेको छ । काम, पहिचान, यौन र मनोविज्ञानका दृष्टिले निकै सशक्त रूपमा देखा परेको यो कृति यदाकदा शैलीगत विचलन, आख्यानीकरणको तीव्रता र भाषिक शिथिलताबाहेक समग्रमा नेपाली डायास्पोरिक आख्यान साहित्यका दृष्टिले अमूल्य रत्न बनेर रहेको मान्न सकिन्छ ।

सन्दर्भसूची:
एटम, नेत्र. २०६७. नेपाली डायास्पोरा र अन्य समालोचना. ललितपुर : साझा प्रकाशन ................ (सम्पा). २०७०.
नेपाली डायास्पोराका नारी कथाकार र कथा. काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठान ।
प्रसाईँ, नरेन्द्रराज र इन्दिरा प्रसाईँ. (सम्पा.). २०६७. नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय विस्तार. काठमाडौँ :त्रिमूर्ति निकेतन
बजगाईँ, कृष्ण. २०६६. स्रष्टा र डिजिटल वार्ता. वासिङ्टन डी.सी.: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ।
कमरेड भाउजू. काठमाडौँ : शब्दार्थ प्रकाशन, ................. . २०७१.
भट्टराई,गोविन्दराज. २०६६. साहित्यमा डायास्पोरा : सिद्धान्त र समालोचनाको स्वरूप. रश्मि. २५ : १.पृ.११–३० ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 29 श्रावण, 2072

लेखकका अन्य रचनाहरु