संतान

- सानु शर्मा

"कठै बिचरी राधिका" 'हरे शिब ! कस्तो कर्म बिचरीको' '१९ बर्षमै वैबध्य !' 'हरे भगबान !'
मेरो कानमा यस्ता अनेकौँ साहनुभुती दर्षाउने शब्दहरु ठोक्कीरहे । म त्यही शब्दहरुको लागी भएपनि रुने कोशिश गरीरहेँ तर बैरी आँखाहरु रसाउन सम्म मानेनन । केही सिप नलागेर मैले आफ्नो मैलो न मैलो भएको ओढ़नेमा अनुहार लुकाएर रोएको जस्तै गरेँ ।
लोग्नेको रुपमा नसही, एउटा मान्छेको मृत्युमा त दुख्नुपर्नेहो यो मन तर फेरी दामोदर मान्छे पो काहाँ थियो र ?
लगभग ४ बर्ष अघी भरखर १५ बर्ष पुगेकी मलाई मेरा बाबु आमाले दामोदरको ज़िम्मा लागाई दिएका थिए मन्दीरमा टीको टालो गरेर । उनिहरुको नजरमा उनिहरुले मेरो बर्तमान र भबिश्य सुरक्षित गरीदिएका थिए मलाई २८ बर्षको, एयरपोर्टमा काम गर्ने दामोदरको ज़िम्मा लगाएर तर बास्तबमा त उनिहरुले मेरो बाँच्नेहक खोसेका थिए मलाई दामोदर नामको त्यो नरपिचासको जिम्मालगाएर ।
मानिसमा हुनुपर्ने कुनै गुण उसमा थिएन । श्रृष्टीमा भएका हरेक अबगुण र खराबिहरु थिए सायद उस्मा । जाँड खान्थ्यो, होईन जाँडले उसलाई खान्थ्यो । गाँजा, चरेस र अरुपनि कुनै अम्मल थियो भने त्यो पनि खान्थ्यो । होस हराए पछी श्रृष्टीका हरेक स्वस्नीमान्छेलाई भोग्ने चाहना राख्थ्यो जुन की संभब थिएन, त्यसैले म माथी आफ्नो मन मानी गरेर चित्त बुझाउँथ्यो दिनमा, रातमा कैयौँ पटक । बिरोध गरे ज़बरदस्ती गर्थ्यो, मर्लान्त पिटथ्यो । मुखमा आएको फोहर गाली गर्थ्यो । जगल्ट्याउँथ्यो । उसको मारले थलापरेको बेला त झनै मनमानी गर्थ्यो मेरो सरीरसँग । रगताम्य भएको पर्बाह पनि गर्थेन । यस्तो बेला कैयौँ पटक मैले उसको मृत्युको कामना गरेकी थिएँ र आज त्यो कामना पुरा भएथ्यो मेरो ।

अत्याधिक रक्सी पिएर रगत छादेर मरेको थियो उ । के म साँच्चै उसको मृत्यु नै चाहन्थेँ त ? सायद । तर यो चाही पक्काहो की म मुक्ती चाहन्थेँ उसको त्यो पासविकता बाट ।

आफुले कमाए जती पैसा उडाएर नपुगेर उ मैले कामगरेर कमाएको पैसा पनि जबरजस्ती खोसेर लैजान्थ्यो । काममै पुगेर घोक्राउँदै मुन्ट्याउँदै घर ल्याएर ज़बरदस्ती गर्थ्यो । न पेट भरी खाए नखाएको पर्वाह गर्थ्यो न आड़• ढाकेको नढाकेको । आफ्नो पेट भरीनु र भोक मर्नु नै सबै भन्दा ठुलो थियो उसकोलागी ।

उसको गाउँमा उसको यो गुनगान पुगेको थिएन त्यसैले त्याहाँका मानिसहरु मेरो ईर्श्या गर्दथे मेरो बिहे दामोदर सँग भएकोमा अनि मेरा बाबु आमा दंगदास पर्थे आफुले पौरखी ज्वाई भेट्टाएकोमा ।
फेरी मेरो दुख सुनेर मलाई मद्दत गर्ने स्थीतीमा कहाँ थिए र उनिहरु ? त्यसमाथी, बिहेगरेर दिएकी छोरीको घर सप्रे भाग्य, बिग्रे दुर्भाग्य भन्ने उक्ती त छँदैथियो मन बुझाउन । सो उनिहरु मन चित्त बुझाएर पाखालागे ।

मै थिएँ, जो न कसैलाई आफ्नो ब्यथा देखाउन सक्थे न कसैलई आफ्नो कथा सुनाउन सक्थेँ । न उसलाई छोडेर कहीँ भाग्न सक्थेँ न उसलाई मनमानी गर्नबाट रोक्न सक्थेँ। यस्तोमा उसको त्यसरी मर्नुले मेरो आँखा रसाउन मानेन त के यो मेरो अपराधहो ?

१३ दिनको कामसकेपछी उसका बाबु आमाले मलाई छोरोको मृत्युको ज़िम्मेवारीको साथ गाउँबाट पाखालाए ।
मेरा बाबु आमाको आफ्नै दुखेसो थियो त्यसैले जवान बिदुइ छोरीको ज़िम्मेवारी उठाउनुपर्ला भनेर त्रस्त थिए उनिहरु । त्यहिभएर म फर्केर काठमांडू आएँ ।
मैले कामगर्ने ठाउँ की दिदीले मलाई आफ्नै घरको पछाडीको टहरोमा बस्न दिईन । बदलामा म साँझ बिहान, फ़ुर्सतमा उनको घरको काम सघाई दिन्थेँ ।
उनि नै पहीलो ब्यक्ती थिईन जस्ले मलाई मेरो गर्भ तुहाउने सल्लाह दिईन ।
"यति सानो उमेरमा, यस्तो अबस्थामा बच्चा पाएर के गर्छ्यौ ? म लगेर अबोर्सन गराई दिन्छु । पहीले आफ्नो बारेमा सोच । बच्चाको बारेमा सोच्न त सिंगो जिबन बाँकीछ ।" उनले भनिन । तर मेरो लागी त आफ्नो बारेमा सोच्न न हिजो केही थियो न आज केही छ न भोली केही हुनेछ । अब जे पनि थियो मेरो बाँचिरहनको लागी, त्यो मेरो गर्भमा भएको दामोदरको अंस थियो । त्यो बाहेक मसँग अरु केही थिएन ।

त्यसपछी ज-जसलाई थाहािभयो मेरो गर्भको बारेमा, ति सबले मलाई गर्भपातको सल्लाह दिए । तर मैले कसैको सुनिन ।
काममा लागेको दिन देखी पेटकाटी काटी गर्भको संतानको नाममा पैसा पैसा जोडन थालेँ । पुराना फाटा टालटुल गरेर लगाएर, आधापेट खाएर पनि संतुष्ट थिएँ म ।
आफ्नो कोख बाट जन्मने संन्तानलाई म न 'राधिका' बनाउन चाहन्थेँ न 'दामोदर' । म उसलाई एउटा मान्छे बनाउन चाहन्थेँ । पढेलेखेको, सभ्य, अरुको भाबना बुझ्ने, अरुको सम्मान गर्ने ।

कहीले काँही डरलाग्थ्यो कि कँही दामोदरको रगतले दामोदरकै बिकृती पछ्याउने त होइन ? तर फेरी मलाई आफ्नो दुध, रगत, आस्था, तपस्या र बलिदान माथि बिश्वाश थियो ।

अनेक कष्ट सहेर मैले महीना पुगेपछी छोरो जन्माएँ । आमा भएको गौरव र सुखले आफ्नो सारा कष्ट बिर्षिएँ मैले ।

छोरो जती ठुलो हुदैगयो मेरो भोकै सुत्ने क्रम बढदैगयो । जति म कमाउँथे दिनरात हाड़ घोटेर, त्यसमा एकै जनाको गुजारा हुनु ठुलो कुरा थियो त्यसमाथि छोराको स्कुल, किताब, कापी, फिस, लुगा फाटो ।

मैले छोराको नाम श्रबण राखेको थिएँ र उसमा म गुण पनि उस्तै चाहन्थेँ । हरेक आमाहरुको झैँ मेरा पनि अनिगीन्ती सपना र आकाड्•क्ष्या हरु जुडेका थिए उसँग ।

दिनहरु बितीरहे । मेरो छोरो श्रबण समझदार हुँदैगयो । मेरो अनअथक परीश्रम र कठिनाईहरुसँग दुईचार हुँदै हुर्केको उ सानै देखी समझदार र परीश्रमी हुदैगयो । दुब्लो पातलो सरिरको उ हरबखत पढाईमा खटीईरहन्थ्यो । धेरै कम बोल्थ्यो तर प्राय यो भन्न बिर्षन्थेन "आमा मलाई जन्मदिएकोमा तपाईले पछुताउनु पर्ने छैन । म तपाईको लायकको छोराभएर देखाउनेछु । म तपाईको श्रबण कुमार भएर देखाउँछु ।" मेरो छाती गर्बले चौडीन्थ्यो ।

मेरो छोराले बोर्डमा फस्ट भएर एस एल सी पास गर्यो । म अनपढकोलागी त्यसको महत्व थाहा नभएपनि वरपरकाले दिएको बधाई, छोरोको खुशिले धपक्क बलेको अनुहारले मलाई पनि खुशि तुल्यायो ।

छोराको अनअथक मेहनत र कोशिशले अगाडी पढन स्कलरसिप पायो जसको मैले यत्तीनै उपलब्धि माने की महँगो स्कुल फिस तिर्न परेन ।
छोराले भाबपुर्ण स्वरमा भन्यो-" अब यो बचेको पैसाले आफुलाई एकजोर न्यानो लुगा हालीहाल्नुस । मैले देखेदेखी तपाईले कहील्यै नयाँ, न्यानो लुगा लगाउनु भएको छैन ।"
मेरो सरीर मात्र होईन मन र आत्मा पनि न्यानो भयो ।
"मलाई किन चाहीयो नयाँ लुगा? म काहाँ जान्छुर ? तँ पो त स्कुल कलेज जान्छस । तलाई पो न्यानो लुगा चाहीन्छ ।" मैले उसलाई अँगालेर गदगद स्वरमा भने ।
"मलाई एकपटक पढाई सकेर कमाउन दिनुस आमा, म तपाईलाई रानी माहारानी बनाएर राख्छु ।" उसले मेरा रुखा, खस्रा, पटपटी फुटेका हातलाई आफ्नो हातमा लिदै भन्यो । म त्यतीले नै धन्यभएँ ।

बितेका बर्ष हरुमा कतीले मसँग बिहेगर्ने उत्सुकता देखाए । मेरो छोरोको बाबु भएर देखाउने प्रतीबध्धता देखाए तर मैले कसैको कुरा सुनिन ।
एक त दामोदरले क्ष्यत बिक्ष्यत पारेको सरीर र आत्मा अरु कसैको बिश्वाश गर्नै मान्थेन त्यो भन्दा पनि ठुलो, श्रबणको चिन्ताले मलाई अरु कसैको हात थाम्न दिन्थेन ।

रातदिनको मेहनत र बिलक्ष्यण प्रतिभाको कारण मेरोछोरो स्कलरसिप पाएर अमेरीका जानपाउनेभयो पढन तर नपुगेको पैसाहाल्न मसँग पैसाथिएन । मेरो पढन्ते, जेहन्दार छोराले मेरो असमर्थता देखेर मनमार्यो । यस्तोमा मलाई बासदिने दिदी अगाडी आईन ।
मेरो साहुनी दिदीले मेरो गारो साघुरोमा सँधै गुनलगाएकी थिईन दामोदर गएदेखी, यसपटक त झन रिणीनै बनाईन उन्ले मलाई, श्रबणलाई अमेरीकाजाने चाँजो फाँजो मिलाईदिएर, पुगनपुग ख़र्च हालीदिएर । नत्र म गरीबको के लाग्थ्यो ?
भनिन-' कत्रा कत्रा मैँ हुँ भन्नेहरुले पाउँदैनन यो मौका, तिम्रो छोरोको पुर्पुरो बलियोरैछ, पैसाको के ? सकेको तिमी तिर्दैगर तिमीले नसकेको तिम्रो छोरोले तिर्छ ।'
पैसाको पिरलो सकिएपछी बल्ल श्रबणसँग छुट्टीने चिन्ताले छटपटायो मलाई । कसरी बाँच्थेँ म ऊ बिना ? म उसँग टाढीने दुखले मर्माहत भएँ उसको उपलब्धिले खुशि हुनभन्दा ।
गर्भमा बसेको थाहा पाएदेखी श्रबण मेरो बाँच्नुको आधार बनेको थियो । नत्र त किन पो बाँच्थे र म यो थड्•थिलो भएको सरिर र मनलीएर ? आजसम्म एउटा सानो कोठामा, एउटै ओच्छ्यानमा उसलाई च्यापेर सुत्दा पेट भोकै भएपनि मन सधैँ अघाएको हुन्थ्यो मेरो तर अब ?

श्रबणले अनेकौँ तरहले संझाएपछी मैले छातीमा ढुँड्गा राखेर उसलाई बिदादिएँ । बिचारा उ पनि रुदैँ सुकसुकाउँदै अमेरीका तिर लाग्यो ।
मलाई यस्तोलाग्यो मेरो बाँच्ने आधारपनि उसैको पछीलाग्यो ।

अमेरीका पुगेरपनि ऊ फोन गरीरहन्थ्यो । मेरो बारेमा चिन्तीत भैरहन्थ्यो । मलाई अली राम्रो डेरा खोजेर सर्न भन्थ्यो । काम कम गर्न भन्थ्यो । आफ्नो ख्याल गर्न आग्रह गरीरहन्थ्यो । तर म न आफ्नो ख्याल राख्नसक्थेँ न काम कमगर्न, उसको अमेरीका जाँदाको रिन जो तिर्नथियो ।

बिस्तारै दिनहरु बित्दै जाँदा उसका फोनकल हरु पातलीदै गए ।

४ बर्ष बितेपछी उसले त्यहीँ एउटी सगै पढ़ने नेपाली केटासँग कोर्टमा बिहे गरेको कुरा सुनायो । मेरो बिश्वाश र सपनाको घर बिस्तारै चर्कीयो कहीँ । म निक्कै बेर केही बोल्न सकिन । उसैले अली अपराधबोध गरेझै गरी भन्यो-"आमा याहाँ डॉक्टरी पढन सजिलो छैन । एक्लै त झन संभब नै छैन । पढनपाउने खर्चले धान्दैन । दुईजाना भएपछी एकजनाले पढ्यो एकजनाले काम गरेर ख़र्च धान्यो । त्यसैले मैले मन्जुसँग बिहेगरेँ । अहीले म पढदैछु उ काम गर्छे । मेरो पढाई सकिएपछी म काम गर्छु ऊ पढ़ाई पुरागर्छे । अन्यथा सोचेर मन नदुखाउनुहोला ।"
मन त कती दुखेकोथियो कती तर त्यो दुखेको मनको पिडा मैले उसलाई देखाउन, बुझाउन कोशिश गरीन ।

अर्को चार बर्ष बित्यो । श्रवणका सिमीत फोन कल अब झनै कम भएकोथियो । अब म अलि चिन्तितथिएँ भबिश्यलाई लिएर । के हुन्छ मेरो ? दिन दनै उमेरले नेटो कटदैथियो । कुनै निस्चीत आम्दानी थिएन । कमाएकोले रिनतिर्दै र दुख सुख हातमुख जोड्दै ठिक्कथियो । तलमाथि केही भैहाले कस्ले हेर्थ्यो मलाई ? रगतले सिंचेर हुर्काएको छोरो मेरो, दशैँ, तिहार,मातातिर्थे औँसी, तीजमा त मलाई संझन्नथ्यो भने, उस्ले मेरो रेखदेखमा औँला हल्लउला, मलाई आशलाग्न छोडेको थियो अब।

छोरो गएदेखी मेरो उपलब्धी एउटै थियो- फ़ुर्सत निकालेर मैले घर नगिचैको, साँझमा पढाईहुने स्कुलजान सुरुगरेथेँ, जाहाँ हरेक उमेरका मान्छे पढन आउँथे । बिगत आठ नौ बर्षमा मैले नेपाली राम्रैसँग र अंग्रेजी जिन तिन पढन लेख्न जानेथेँ । श्रबणको बियोगले मलाई शिक्षित त होईन शाक्षर बनाईदिएकोथियो ।

एकदिन बिना कुनै सुचना मेरोछोरो मेरो सामु उभिन आयो ।
उसलाई रिष्ट पुष्ट,देखेर मैले आफ्ना सारा दुस्चीन्ता र गुनासो बिर्षिएँ । तर उसले भित्रपस्ने बित्तीकै निधार खुम्चाउँदै भन्यो-" तपाईले अझै छोडनु भएनछ यो मुसाको दुलो जस्तो निसास्सीने कोठा ।"
मेरो आँखामा उसलाई देखेर जुन खुशिको आँशु उत्रेथ्यो त्यसमा अचानकै पिडा मिसीयो ।
यही निसासीने कोठाको आश्रयमा हुर्केर अमेरीका पुग्न सफल भएको उसले यो पनि बिर्षन भ्याई सकेकोथियो की उसको अस्तित्वलाई दुनियाँ सामु ल्याउनको लागी सुरक्षा कबच साबित भएकोथियो यो मुसाको दुलो मेरोलागी ।
उँचाईमा पुगेर भर्याड• बिर्षन सिकीसकेको थियो उसले यि बर्षहरुमा, यो जानेर झनै मर्माहत भएँ म । तर पनि मनको तितो बोलीमा नमीसाउन कोशिश गर्दै मैले उसको हालखबर सोधेँ । उसले मुख खुम्चाउँदै मलाई ढोग्यो अनि काँहा बसौ, काँहा बसौ भन्ने भाबले कोठाभरी आँखा डुलायो र अन्त्यमा हिचकीचाउँदै गएर खाटमा बस्यो । म उसको अनुहारको भावमा प्रस्ट झल्केको असुभिधा नदेख्ने प्रयत्न गरीरहेँ

जब मैले चिया बनाउन तरखर गरेँ उसले 'दुख न गर्ने' आग्रहका शाथ भन्यो-" बरु छिट्टै तयार हुनुस् । तपाईको पासपोर्ट बनाउने ब्यबस्था मिलाएकोछु ।सकेसम्म सबै कुरा समय मै मिले तपाईलाई शाथै लिएर फर्कन्छु ।"
पछी मैले थाहापाएँ- ऊ त लगभग एक हप्ता देखी आएर ससुरालीको महलमा बसेको रहेछ ।

मेरो डलर कमाउने, डाक्टर छोराले सजीलैसँग भिसा छाप्यो मेरो पासपोर्टमा र एकदिन मलाई साथ लिएर अमेरीका उड्यो ।
मलाई चिन्ने जान्ने सबैले हिड्नु अघि प्रतक्ष्यमा मलाई बधाईदिए अनि भित्र भित्रै डढेर खरानिभए । आमा सरहकी घरबेटी दिदीले आँखा भिजाउँदै भनिन-" राधिका, तिम्रा दुखका दिन सकिए । हाम्रो सल्लाह मानेर गर्भपात गरेकीभए यो दिन कसरी देख्थ्यौ ? काटनु जती गोता काटीसकेउ, अब तिम्रा सुखका दिन आए । संझदै गरे, सुख पाएपछी हामीलाई नबिर्षे ।" मेरो मन र आँखा दुबै रसाए । त्यो मुसाको दुलो जस्तो कोठा छोडदा किन किन मन हक्कानियो ।

अमेरीका पुगेर थाहापाएँ, बुहारी भरे भोली भएकी रहीछ । छोरोलाई आमा होईन सुसारे चहीएको रहेछ ।
जन्मेर हुर्केको कोठामा एकदिन नबसेर, आमाको हातको एकछाक नखाएर ससुरालीको महलमा मेजमानि खाएर आएको छोरोको ब्यबहारले नै सबै राम काहानी भनिसकेपनि भबिश्यको चिन्ताले घेरीएकी म छोरोको पछीलागेर सात समुन्द पारी त आएँ तर छोरा बुहारीको चिसो ब्याबहारले भोलीपल्टै देखि पछुताउन थालेँ ।

बुहारीले छोरो पाई । त्यसै छोईनसक्नु बुहारी झन महँगीभै ।
छोराले ससुरालीले पठाएका बच्चाका लुगा फाटा र अरु सामानहरुको रास लगाएको देखेर त्यसै खुम्चीएकी मलाई लक्ष्य गर्दै बुहारीले भनि-" एउटा भोटो पनि ल्याउनु भएन तपाईले ? हजुरआमा त तपाई पनि हो नी ? कती नै पर्थ्यो र एकजोर लुगालाई ? मनमा नभएपछी के लाग्छ?"
"बाबुले केही भनेन..." सँधै चुपलागेर सबै सहने मैले आहत भएर भन्न खोजेँ-" नत्र त..."
"भो बाहाना नबनाउनुस ।" उसले उपेक्ष्या पुर्बक भनि ।
मलाई भन्न मनलाग्यो-" मनमा नभए रगत पसिनाले जोडेको नाक कानको सुन मासेर, खरखाँचोकोलागी साँचेको सबै पैसा खर्चेर म तिम्रो निम्ती तिलहरी र बाला किन ल्याउँथेँ ?" तर भन्नसकीन ।

तिन महीनामैँ बुहारी काममा जानथाली । म पकाउने, ख्वाउने, धुने, सुकाउने र सरसफाईमा यती ब्यस्त भएँ जती पहीले कहील्यै भएको थिईन ।
साँझमा छोरो बुहारी फ़ुर्सत भए घुम्न निस्कन्थे । म नाती खेलाउँदै खाना बनाउँथे ।

नेपाल देखि ल्याएको लुगाले याहाँको चिसो धान्न नसकेर मुटु लगलग काँप्थ्यो त्यसैले एकदिन मैले छोरा बुहारी सँगैहुँदा एउटा न्यानो स्विटर किनेर ल्याईदिने आग्रहगरेँ। छोराले बुहारीको अनुहार हेर्यो ।
केहीदिन यसै बिते ।
एकदिन बुहारीले एउटा होईन दुई तिनवटा न्याना लुगा मेरो सामु राखिन, जुन नयाँ थिएनन ।
मेरो लगभग सारा जिबन जडाउरी लगाएरै बितेपनि त्यसबेला बुहारीको जडाउरीले आहत भयो मन ।
मैले नमाग्दै उस्ले ति लुगा मलाई दिएकीभए म चुपचाप लगाई पनि दिन्थेँ तर छोरासँग आग्रह गरिसकेपछी आएको त्यो जडाउरी मैले स्विकार्न सकिन ।
छोरा बुहारी घोचपेच गरीरहे तर मैले बुहारीको पुरानो लुगा लगाईन ।

२ बर्ष बितीसक्दा पनि मैले त्यो घर, घरछेउको ठुलो पार्क,कुनाको न्यूज़ एजेन्सी, सँगैको कन्भीनीयन्ट स्टोर बाहेक अमेरीकाको अरु केही देखेकी थिईन ।
सम्धी सम्धीनी आए । २ महीनामा लगभग सिड्•गै अमेरीका घुमेर गए तर म छोरा बुहारीको भात भान्सा र खटन पटन मै ब्यस्त रहेँ । अँ यत्ती उपलब्धी चाँही भयो की हाम्रै छरछीमेकमा भएका केही अरु 'राधीका' हरु सँग मेरो चिनजान र घनिस्टता भयो । जसमध्ये हाम्रै घर छेउकी निर्मला दिदीको हालतले सारै अमिलीन्थ्यो मेरो मन ।
उनि पढेलेखेकी राम्रो ख़ानदानी मान्छे थिईन । लोग्ने बाँचुन्जेल उनलाई राजरानी बनाएर राखेका थिए । नोकर चाकर सम्मपन्न घर, तर लोग्ने बितेपछी सबै तितर बितरभयो ।
सोझी निर्मला दिदीको छोराले सबै बेच बिखन गरेर बैंकमा भएको पैसापनि 'अब तपाई फर्केर आउने होईन क्यरे, यो पैसा याहाँ के काम? म डलर साटेर तपाईको अकाउन्ट खोलेर राखिदीन्छु ।" भनेर जिटमिट्यायो ।
आज उनि दश धारा रोएर दिन बिताउँदैथईन । कहील्यै दुख नगरेकी, कुनैकामको ढँड्•ग थिएन उन्को । जानी नजानी रात दिन खटीदा पनि छोरा बुहारी बचनलाउन छोड्दैनथे ।
सँधै भन्थीन-" तिमी जसरी खट्न सके, काम काजमा यती खप्पीस भएकीभए म त फर्केर नेपाल जान्थेँ । दश धारा दुध चुसाएर हुर्काएको छोरोको बचन सुनेर यो बिदेश बस्नु भन्दा त आफ्नै देशमा आँटो पिठो खाएर बस्न बेस ।"
तर भन्न जती नै गर्न सजीलो काहाँ थियो र ? हातमा सुको थिएन, मद्दत गर्ने कोही आफन्त थिएनन ।

हुन त सबै छोरा बुहारी, ज्वाई छोरीहरु हाम्रै जस्ता थिएनन । साँचो श्रवणकुमार जस्तो छोरा छोरी जन्माउने भाग्यसाली, गौरवशाली आमाहरु पनि थिए छिमेकमा तर उपेक्षित आमाहरुको संख्या धेरै थियो ।
म नाती हेर्थे, घर हेर्थे र दिउँसो एक्कैछिन फ़ुर्सत हुँदा मुला, गोलभेडा र मसलाको अचार बनाउँथे जसलाई निर्मला दिदी वरपरका नेपाली, भारती, बांग्लादेशीको घर घरमा गएर बेच्थीन ।
मैले काम गर्दा उनि आफ्नी नातीनीसँगै मेरो नाती पनि हेर्थिन, उनि बाहीर जाँदा म उनको नातीनी हेर्थे । हामी चुप चाप यो काम गर्थ्यौ । निर्मला दीदी नै लिस्ट बनाएर सबै चीज़ किनेर ल्याउँथीन । म टाकटुक मिलाएर बनाउँथे । हातमा आएको पैसा हामी बराबर बाड्थ्यौँ । नाती नातीनीलाई इच्छा लागेको सानो तिनो कुरा किनीदीन्थ्यौँ । आफ्ना स-साना रहर पुरा गर्थ्यौ ।

'नेप्लीज पिकल' भनेर प्रख्यात हुनथालेको मेरो अचारको चर्चा मेरी बुहारीको कानमा के पर्यो, उ आफैँ अडर्र लिएर आउन थाली र मैले बनाएको अचारको, फुरंदाना र निम्कीको ब्यापारमालागी । मेरो मन खिन्न भयो ।

पैसा हातमा परेदेखी म प्रत्येक हप्ता लटरी टिकट किन्थेँ । निर्मला दिदी भन्थीन-" हामी जस्ता भाग्यहीनलाई के पर्थ्यो चिठ्ठा । बेकारमा हातमा भएको २-४ डलर पनि किन खेर फाल्छौ ?"
म भन्थेँ-" दिदी कुनै त कारण होला जो भाग्यले हामीलाई यहाँ ल्याएर पछारेकोछ ? के थाहा, तपाईको र मेरो उद्धार यसमै पो छ की ।"
उनि अविश्वास पुर्वक मलाई हेर्थिन ।

चौथो बर्षको अन्त्य तिर एकदिन जब निर्मला दिदी र म नाती नातीनी डुलाउँदै पार्कमा पुग्यौँ म दीदीलाई नाती ज़िम्मा लाएर सधैँ झैँ लटरी टिकट चेकगर्नगएँ । टुटे फुटेको कामचलाउ अग्रेजी त बुझ्थेँ बोल्थेँ म पनि तर त्यसबेला त्यो न्यूज़ एजेन्सीको मान्छेले ४ फेर भन्दापनि मैले बुझिन या पत्याउन सकिन ।
म दौडेर निर्मला दिदी भाठाउँमा गएँ अनि निलो कालो हुँदैभने-" ए दिदी याँ आउनुस त झट्ट । त्यो गोराले त अचम्मको कुरा पो गर्छ त ।"
दिदी र म फेरी न्यूज़ एजेन्सी गयौँ।
साँच्चै यो फुटेको तकदीरले चमत्कार गर्यो । मलाई चिठ्ठा पर्यो ।
दीदी वाल्ल परेर कहीले मलाई अनि कहीले त्यो पसलेलाई हेरीरहीन । पहीले त मलाई पत्यारै लागेन, जबलाग्यो, मेरो आँखामा आँशु उम्लीयो । पेटको आन्द्रा बटारीयो । मैले बाहीर निस्केर बान्तागरेँ।
अन्त्यमा दिदी र म कसैलाई केही नभन्ने अठोटकासाथ निक्कैबेर लगाएर फ़र्म सर्म भरेर न्यूज़ एजेन्टले भनेको सबै औपचारिकता पुरागरेर घर तर्फलाग्यौँ । बाटोमा लामो हिसाब किताब गरेर दिदीले भनिन-" ट्याक्स काटेर पनि करोडौ बराबरको नेपाली पैसा पाउँछेउ मोरी, के गर्छेउ त्यतीका पैसा ?" म केही बोलीन ।

खबर सानो थिएन त्यसैले हामी चुपलागेपनि कुरा एककान दुईकान मैदानभयो ।
मेरो छोरा बुहारीले मलाई याहाँ आएदेखी पहीलो पटक आफ्नो छेउमा राखेर बिनम्र स्बरमा चिठ्ठाको बारेमा सोधे र टिकट हेर्ने ईच्छा ब्यक्तगरे । मैले फोटोकापी देखाएँ । छोरा बुहारीले मुखामुख गरे ।
छोराले ओरीज्नलको बारेमा सोध्यो । मैले 'सुरक्षित छ' भने ।
छोरा बुहारीले नम्बर मिलाएरहेरे । दुबैको अनुहार धपक्क बल्यो । छोराले मेरो चिसोले कठाग्रीएर निलो भएको, दरखरीएको हात थामेर भन्यो-" केभएको यो तपाईको हात? हेर त मन्जु, कती सारो ?" बुहारीले पनि मेरो हात सुमसुम्याउँदै भनि-" लौ हेर त ! घरमा यती क्रिम र लोसनहरुछन यसो लगाउने गरे हुन्छनी ? म आज भरे आउँदा राम्रोखाले ह्याण्ड क्रिम लिएर आउँछु ।"
"आली ख्याल राखन है ।" छोरो मेरो हात सुमसुम्याई रह्यो ।
मैले म यहाँ आउँदाको सुरुको एउटा दिन याद नगरी रहन सकिन ।
एकदिन हात पटपटी फुटेर चहर्याएर छुट्टी भयो र बाथरूममा भएको एउटा बट्टाबाट केही नहेरी क्रीम झीकेरलगाएँ । अली संचो महसूस भयो त्यसैले दिनभरीमा २-३ फेर लगाएँ ।
साँझ बुहारी आएर बाथरूममा के छीरी, सिड्•गै घर उचाली ।
"यती महँगो अनुहारमा लगाउने क्रिम खाएर पो सकेजस्तोछ तिम्री आमाले । एकपैसाको उत्पती छैन ४ पैसाको खती । अनपढ़, गँवार त छन छन एकथोपाको सोहमत पनि छैन । अर्काको घरमा अर्काको सामान चलाउँदा सोध्न सम्म त पर्छनी ।"
बुहारीले नेपालीमा अग्रेजी मिसाएर भनेको एक एक शब्द बुझेर पनि म त्यती मर्माहत भईन जती छोराले-" क्या आमा, तपाई पनि, पढन आएन ठिकैछ, कमसेकम सोध्नु त पर्छ उसको सामान चलाउनु अघी ? थाहा छ कती पर्छ त्यो क्रीमको ? तपाईले नेपालमा एकबर्ष कामगरेर कमाएको पैसा भन्दा धेरै पर्छ । बुझ्नु सुझ्नुछैन, त्यसै ।" भनेको सुनेर भएँ ।

त्यसपछी उनिहरुले यो भन्दा राम्रो ठाउँमा घर किन्ने, छोरोलाई राम्रो स्कुलमा राख्ने, होलीडेमा जाने आदी सारा सपना देखेर भ्याए आफ्नोलागी ।
मेरो लागी नयाँ न्यानो लुगा आयो । ह्याण्ड क्रिम आयो । बुहारी म यहाँ आएदेखी भान्सामा छिरेकी थिईन उसले भान्सामा पस्न सुरुगरी ।

जब पैसा पाउने निदो भयो, छोराले भन्यो-" मेरो आकाउन्टमा राखे भै हाल्छ । तपाईको त अकाउन्ट पनिछैन त्यसमाथी त्यतीका पैसा । फेरी मेरो अकाउन्ट पनि तपाईकै त हो ।"
"जब तिम्रो घर मेरो भएन, तब तिम्रो अकाउन्ट मेरो कसरी हुन्छ बाबु ? तिमी चिन्ता नगर । म सबै सभाल्छु, सभालीराछु ।" मैले बिस्तारै भनेँ ।
एकैछिन छोराको अनुहार रातो भयो तर पनि उसले भनेरै छोड्यो-" आमा तपाई सोझो हुनुहुन्छ । लेखपढ गर्न जान्नुहुन्न । कसैले जाल झेल गरेर पैसा लिईदिए के गर्नुहुन्छ ?"
"सोझोछु बाबु त्यसैले परमात्माको निगाहमाछु । जे मेरो निधारमाछ त्यो मसँग कसैले खोस्न सक्दैन । जे मेरो निधारमाछैन त्यसलाई जतिक्कै कपट गरेपनि म आफुसँग राख्न सक्तीन त्यसैले तिमी चिन्ता नगर ।"

त्यही साँझ उसले एउटा फर्म मेरो अगाडी राख्यो र भन्यो-" पासपोर्टमा लेखेझैँ उ यो यो ठाउँमा नामलेख्नुस ।"
पासपोर्ट बनाउँदा मैलेनै अघीसरेर भनेकोथिएँ-" म आफ्नो नाम लेख्न सक्छु ।"
"केहो यो ?" मैले सोधेँ ।
"के हुनुनी अरु, तपाईको बैंक अकाउन्ट खोल्ने निवेदन । आफ्नै अकाउन्टमा पैसा राख्छु भन्या होईन ? पासपोर्ट पनि झिक्नुस, टिकट पनि झिक्नुस ।" उसले भन्यो ।
मैले त्यो फ़र्म हेरेँ । त्यो अकाउन्ट खोल्ने निवेदन नभएर अथरीटी लेटरथियो जसमा लटरीको पैसा आफ्नो एक मात्र संतानलाई बुझ्न र उसको अकाउन्टमा राख्न म सहर्ष, बिनाकुनै दवाब मन्जुर भएको कुरा लेखीएको थियो ।
"अंग्रेज़ीमा लेखीएकोछ तपाई काहाँ बुझ्नुहुन्छ र यती ध्यान दिएर हेरीरहनु भएको ? नाम लेख्नुस छिट्टो ।" छोराले हतारीदै मलाई पेन थमाउन खोज्यो । मैले आँखा उठाएर उसको अनुहारमा हेरेँ । आफ्नो अगाडी साक्ष्यात दामोदर लाई देखेँ मैले । मेरो हात उठ्यो र उसको गालामा ठोक्कीयो ।
"आमा !!!" उ बिस्मीत भावले चिच्यायो ।
"दामोदरको रगतमा आफ्नो दुध मिसाएर मैले सोचेँ त्यो रगतको बिकृती पखालीयो, कत्रो ठुलो भ्रम मेरो ? झुप्रो बाट उठाएर यहाँ सम्मको बाटोमा तँलाई उभ्याउन हज़ार, लाख पटक मारेँ मैले आफुलाई तर त्योसब ब्यर्थ भएछ ।
यो जुन थप्पड़ मैले अहीले तँलाई हाने त्यो वास्तबमा मेरो लागीहो । मैलेनै तँलाई सन्तान मान्ने गल्ती गरेँ । भबिश्यको पूँजी, सहारा मानेर रगतले सिंचेर हुर्काउने गल्तीगरेँ । आज मलाई ति बितेका हरेक रात प्रती अफसोचछ जब तँलाई न्यानोमा सुताएर म तैँले भिजाएको ठाँउमा सुतेँ। मलाई ति साँझ बिहान प्रती अफसोचछ जब तेरो पेट भर्न आफु भोकै बसेँ । त्यो जाडो याम प्रती अफसोचछ जब तँलाई न्यानो राख्न मैले हिउँ झैँ कठाग्रीएर रात बिताएँ । ति गर्मीका रातहरु प्रती अफसोचछ जुन तँलाई हम्केर सितलता दिदैँ आफु पसिनामा भिजीरहेँ। श्रवण, मलाई यती बेला सबै भन्दा ठुलो अफसोच तँलाई जन्माएकोमा छ ।" मैले निश्वास फेरेर आँशु पुछ्दै फेरी भने-" तेरो पेट भर्नको निम्ती म आफ्नो सरीर सम्म बेच्न तयारथिएँ कुनै दिन तर तँ पैसाको निम्ती मलाई अनि आफ्नो ईमानलाई बेच्न तयार भईस ।"
"आमा !"
"मलाई बाँकीको सारा जिबन तेरो भात भान्सा गरेर बिताउनमा कुनै गुनासो थिएन, बुहारीको बचन सहन गाहारो थिएन यदी तँ मात्र मेरो संन्तान बन्न सकेकोभए ।"
"हामीले तपाईलाई याहाँ नल्याएकोभए कसरी पर्थ्यो लाटरी तपाईलाई ? त्यसैले हाम्रो पनि हकछ यो लटरीको पैसामा ।" बुहारीले भनि ।
"हक ?" मैले ब्यग्य पुर्बक भने-" त्यसो त तिम्रो पोई मेरो पेटमा भएको थाहापाएका सबैले मलाई गर्भ तुहाउन सल्लाह मात्र होईन दबाव नै दिएका थिए । उनिहरुको कुरा मानेर १९ बर्षकी मैले गर्भ तुहाई दिएकोभए काहाँ हुन्थ्यौ तिमी हक जताउन ?"
बुहारी रातो मुखलगाउँदै के भनौ के भनौ भनेर शब्द खोजीरही ।
" तर मलाई तिमीसँग कुनै गुनासो छैन किन की मलाई थाहाछ की मेरो गर्भ चिरेर, मेरो भागको गाँस खाएर, मेरो रगत पसीनामा डुबेर हुर्केको मेरो छोराले मलाई आमाको सम्मान दिएकोभए तिम्रो हिम्मत हुन्थेन मेरो अनादरगर्ने ।" मैले भने-" तर पनि यती अबश्य भन्न चाहन्छु की छोरा तिमीले पनि जन्माएकीछौ, हुन सक्छ मैले भोगेको तिमीले भोग्नु नपर्ला तर यो नबिर्ष तिम्रो संतानको रगतमा मेरो संन्तानको रगत मिसिएकोछ । तिमी 'राधिका' नभएपनि तिम्रो संन्तान 'श्रबण' हुन सक्ने संभावना छँदैछैन भन्ने नसोच ।" उसको अनुहारको रंग फेरीयो । उसले घुटुक्क थुक निल्दै श्रबणलाई हेरी ।
" तिमी लाख सम्पन्न परीवारकी छोरी सही तर मेरो छोराकी स्वस्नी हौ, यो सत्य तिमीहरु लाई याद नभए पनि नियतीले बिर्षने छैन । आज मेरा छोरा बुहारीले मलाई जे दिए त्यो तिम्रा छोरा बुहारीबाट तिमीले कहील्यै पाउनु नपरोस । तिमीलाई दिनको लागी यो भन्दा ठुलो आसिर्बाद मसँग अरु केही छैन ।" म उठेँ । आफ्नो अगाडीको फ़र्म धुजा धुजा बनाएर छेउको डस्टबिनमा हालेँ अनि बिस्तारैभने-" यो फर्ममा लेखीएको जती अंग्रेजी कनिकुथी पढन र बुझ्न आउँछ मलाई । आज सम्मका तिम्रा ति अंग्रेज़ी गाली, अपशब्दहरु पनि नबुझेको होईन मैले, तर यो तिमीहरुलाई बुझाएर केही फाईदा थिएन ।"
उनिहरुको अनुहार बिर्वण भयो ।
" तिमीहरुको सबै दुर्ब्यबहार सहेर पनि म सबैजसो पैसा तिमीहरुलाई दिन तयार थिएँ तर तिमीहरुको सबै गुटमुट्याउने जाल जेल जानेपछी म तिमीहरु लाई एउटा फुटेको पैसा दिन सक्दीन । मैले वकील राखेकीछु यो सबै पैसा बुझेर नेपाल पठाउको लागी । त्यहीँ गएर म, म जस्तै अरु थुप्रै राधिका हरुको मद्दत गर्ने एउटा संस्था खोलेर बस्नेछु । किनकी यो पैसाको आवस्यकता ति राधिका हरुलाई छ जसको दामोदर जस्तो लोग्ने र तिमीहरु जस्ता संन्तान हुन्छन । मलाई थाहाछ यो सब पछी तिमीहरु मेरो नाम लिन चाहनेछैनौ तर केही छैन, म सोच्नेछु की मैले आफ्नो गर्भ त्यसैबेला तुहाएँ । कुनै संतान जन्माईन । मलाई दागबत्ति, किरीया र पिण्डको कुनै लोभ वा इच्छा पनि छैन र तिमीहरु जस्ता संन्तान, जस्ले जीवीतलाई कुनै मान दिन सकेनौ, हरुबाट त्यसको आश पनि छैन ।" म कोठाबाट बाहीर निस्कीएँ ।

अनि एकदिन हामी भाग्य, अनि सन्तति द्वारा ठगीएका ६ जना निर्मला र राधिकाहरु अरु कैयौँ राधिका र निर्मलाहरुलाई उनिहरुको संन्तानहरुबाट उद्धार गर्ने दृढ़ अठोटका साथ आफ्नो देश, आफ्नो माटोमा फर्कीयौँ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 29 श्रावण, 2072

लेखकका अन्य रचनाहरु