रातो पल्सर

- सिरुखर्के जेठा

दिनाङ्क— ९ माघ, २०६५
स्थान— जलुके ६, अर्घाखाँची

रातमा नदी सुसाएको आवाज उसको छाप्रोभित्रै पनि सुनिएको थियो । यस समय उसको मन एक तमासले अमिलो भइरहेको थियो । देशमा परिवर्तन ल्याउँछु भन्नेहरुको समूहमा लामबद्ध हुँदाहुँदै समयले उसलाई झनै एक्लो बनाएको थियो । लाम त छुट्यो छुट्यो, देश बनाउने ठेक्का लिएर हिँडेको ऊ यतिखेर सहिदगेट बनाउने ठेकेदार बनेको थियो । त्यो पनि आजै दिउँसो मात्रै । त्यही रातको कुरा हो यो । उसको मन एक तमासले अमिलो भइरहेको थियो ।

निकट अतीतमा बोकेर हिँडेको ग्रिनेड, राइफल र जिलेटिनका थुप्रोहरुले उसलाई पुर्लान् झैँ गरे त्यस रात । श्वास फेर्नै बन्द गरिदेलान् झैँ गरे, सहस्रौँ नेपाल बन्दहरुले । पश्चात्ताप, लाज, ग्लानी र त्यसैमा मिसिन आएको रीसको ककटेल भावनालाई उसले आफुभित्रै पटक–पटक निल्यो । मैले देशलाई गरेको माया के सत्य थिएन र ? मैले मेरा मान्छेहरुलाई गरेको वर्गीय प्रेममा दाग थियो र ? किन आज आफ्नै देश विरानो बन्दै गएको देख्छु ? किन आज आफ्नै छिमेकीहरुलाई पर पर सर्दै गएको देख्छु ? उसले त्यस रात यस्तै यस्तै कुरा सोँचेको थियो । जति सोँच्यो मन उति व्याकुल भइरहेको थियो ।

साम्यवाद, आमूल परिवर्तन, गास बास कपासको ग्यारेण्टी ........ लोभलाग्दा शब्दजाल कति थिए कति कमरेडहरुसँग । थाहा छैन कुनचाहिँ शब्दले उसलाई तान्यो अँकुशेलेजस्तो । तानेर जङ्गलमा पु¥यायो । त्यही शब्दको मोहले बारुद बनाउन सिकायो, बम पड्काउन सिकायो । थ्री नट थ्री हुँदै एलएमजी र एटी वन मोर्टारको निशाना साध्न सिकायो । खै’ कस्तो शक्ति थियो कुन्नि त्यो शब्दमा ? त्यही शब्दप्रति मोहित बनेको उसले सबै सबै गर्न सिक्यो । ठाउँअठाउँ रातो ब्यानर झुण्ड्याएर दुनियालाई तर्साउन सिक्यो । पम्पलेट टाँस्न, भित्तेलेखन गर्न, पुलपुलेसामा बम पड्काउन, नेपाल बन्द गर्न जम्मै जम्मै सिक्यो । अनि उसका यस्तै यस्तै क्रान्तिकर्मले गर्दा देशमा ठूलो परिवर्तन आयो । आमूल परिवर्तन आयो । हिँजोसम्म पनि ऊ यही भ्रममा बाँचेको थियो ।
परिवर्तन चानचुने तथा खुद्रा प्रकारले भएको थिएन नेपालमा । प्रजातन्त्रको ठाउँमा लोकतन्त्र लेखियो । केही नबुझेकाहरुले पनि चोकहरुमा संविधानसभाको बहस गरेको सुनिन थाल्यो । ऊ आफु एरिया कमिटिमा नेतृत्वको कोपभाजनको शिकार बनिरह्यो उता सङ्कटकालभरि इण्डियामा गएर भाँडा माझेर बस्ने अनि शान्तिवार्ताको समयमा नेपालमा आएर राँके–जुलुश र कोणसभा गर्दै बडो बहादुरीको नाटक देखाउने चतुरहरुले उसकै आँखाअगाडि डीसीएमको कुर्सी ओगट्न पुगे । लडाकु शिविरहरु हिँजोअस्तिसम्म मालेमावादको सिद्धान्त र क्रान्तिलाई तथानाम गाली गरेर नथाक्ने भुसतिघ्रेहरुले भरिभराउ हुँदैगर्दा वास्तविक लडाकुहरु अयोग्यको नमेटिने छाप मनभरि बोकेर रुँदै घर फर्किए । ठूलै परिवर्तन आएको थियो देशमा । अझ ठूलो र महत्वपूर्ण परिवर्तन भएको थियो, पुरानो राजा दरबार छोडेर हिँडेको थियो । त्यसको ठाउँमा नयाँ राजा नयाँ दरबारमा पसेको थियो ।
त्यो नयाँ राजा अरु कोही हैन, उसकै ‘महान नेता’ थियो ।
ऊ संगठन निर्माणार्थ रातबिरात गाउँवस्तीमा पुग्थ्यो, उसको नयाँ राजा बालुवाटारबाट निस्कँदा घामले डढ्छु कि भनेर डराउँथ्यो । ऊ रातभरि अनिदो बसेर जनतालाई सम्झाउने बुझाउने काम गथ्र्यो, उसको राजा कमरेड लाखौँ पर्ने ओछ्यानमा सुत्थ्यो । ऊ भोकैप्यासै उकालीओराली कुद्थ्यो, उसको महान सुप्रिम कमाण्डरलाई तस्करहरुसँग लञ्च र डिनरमा बस्न भ्याइनभ्याइ थियो । उसको सर्वोच्च नेता पाखुरा सुर्काउँदै र लाखौँ पर्ने राडो घडी देखाउँदै टुँडिखेलबाट कुर्लन्थ्यो, ऊचाहिँ आफ्नो एकतले ढुँगे छानोको घरभित्र ब्ल्याक एण्ड ह्वाईट टेलिभिजन हेर्दै ताली बजाउँथ्यो ।
हो, देशमा मात्र आएको थिएन पविर्तन । उसको महान नेताको बोलीमा पनि परिवर्तन आएको थियो । उसले आफ्नो बहुचर्चित थेगो बोल्न चटक्कै छोडिदियो साथसाथै साम्यवाद, आमूल परिवर्तन र गास बास कपासको कुरा पनि गर्नै छोडिदियो । यो उसका लागि अनपेक्षित परिवर्तन थियो । अविश्वसनीय र मनलाई हल्लाइदिने प्रकारको परिवर्तन थियो ।

आजै दिउँसोको कुरा ।
एरिया कमिटिको मासिक बैठकमा धनबहादुर सारु उर्फ कमरेड तर्कले बडो गम्भीर हुँदै एउटा प्रस्ताव ल्यायो—
“कमरेड आकाशको नाममा जुन सहिदगेट बन्दैछ त्यसको ठेक्का हाम्रो कमरेडलाई दिनुप¥यो । कमरेडहरुको भन्नु के छ यसमा ?”
यसो भनिरहँदा कमरेड तर्कले उसको कुममा आफ्नो हत्केला राखेर मुसारिरहेको थियो । उसको हाउभाउमा उसलाई सानो बनाएर आफु ठूलो हुने मनशाय स्पष्टै झल्केको थियो । उसमाथि दया गरेको अर्थले सबैले बुझुन् भन्ने क्षुद्र ईच्छा पनि उसको अनुहारमा पढ्न सकिन्थ्यो । ‘हाम्रो कमरेड’ भन्ने शब्द उच्चारण गर्दा उसले आफ्नो हत्केलामा अझ बढी भार थप्दै उसमाथि अनुग्रह दर्शाएको भावलाई उसको मनमा नउखेलिनेगरि गाड्न चाहेको थियो ।

प्रस्ताव कमरेड तर्ककै पारित भयो । सबैलाई थाहा छ, प्रायः यस्तै हुन्छ । त्यसैले त उसले आफ्नो नाममा घमण्ड गर्दै भन्छ—
“तर्क हो तर्क । मलाई जित्न गाह्रै्र पर्छ ।”
यसरीउसरी जसरीतसरी जितेरै छाड्ने उसको स्वभाव छ । देशमा चरम सङ्कटकालको समयमा अरु अवसरवादीहरुले जस्तो कमरेड तर्कले देश छोडेन भलै अवसरवादीको सुचि बनाउँदा उसको नाम एक नम्बरमै आउँथ्यो । तरपनि उसले देश छोडेन बरु स्वदेशमै बाँच्ने एउटा विचित्रको उपाय अपनायो । सङ्कटकालको समयमा ऊ एउटा बाँसुरी भिरेर गाउँतिर डुल्थ्यो र भन्थ्यो—
“मलाई पार्टीले ‘साँस्कृतिक फाँटमा काम गर्नू’ भनेर महान जिम्मेवारी सुम्पेको छ ।” अनि फेरि युद्धविरामको समयमाचाहिँ एउटा कटुवा पेस्तोल भिरेर गाउँ डुल्थ्यो र भन्थ्यो—
“पार्टीले मलाई सैन्य फाँटको जिम्मेवारी दिएको छ । पार्टीको अह्रनखटन मान्नैप¥यो । हाम्रो लागि पार्टी, देश र जनता नै सबथोक हुन् ।”
देशमा गणतन्त्र आएपश्चात् उसको भूमिका झनै बढी सन्देहयुक्त देखा पर्न लाग्यो । ऊ जग्गा कारोबारीहरुसँग मिल्यो । धाक र धम्कीको बलमा सामुदायिक बनको ठेकेदार बनेर काठका तस्करहरुसँग टाँसियो । मान्छेहरु कानेखुसी गर्थे, उसले लागूऔषधको पनि कारोबार गर्न थालेको छ । उसको घरमा केही थान हतियार अझैपनि छन् भन्ने हल्लाबीच उसको विरुद्धमा बोल्ने साहस कसले जुटाउन सक्थ्यो र ? कमिटिका बैठकहरुमा भने ऊ बडो उपदेशक बनेर अरुलाई मेहनत र पसिनाको महत्ताबारे घण्टौँसम्मन् व्याख्या गरिगरि सिकाउँथ्यो ।
हिँजोसम्म चुहुने छानोमुनि बस्ने ऊ आज महलमा बस्छ । दुईओटा ट्रक, एउटा डोजर छ ऊसँग अहिले । बोलेरो कारमा ड्राईभर राखेर गुड्छ । काठमाडौं, दाङ, बुटवल र कपिलवस्तुमा थुपै्र घरघडेरी किनेको छ । हिँजो उसले सपना बाँडेका वस्तीहरु आजपनि उस्तै छन् । सपना बाँड्ने मान्छे ऊ कहाँबाट कहाँ पुग्यो ! अग्रगामी छलाङ यस्तैलाई भनिन्छ होला ! कहिलेकाहीँ ऊ आफ्नो मनमनै सोँचेर घृणा भरिएको मुस्कान मुस्कुराउँछ ।

कमरेड तर्क मात्रै हैन उसका आसेपासे र उसको हो मा हो हो थप्नेहरु पनि अहिले सर्वहाराबाट रातारात पूँजीपति बन्ने होडमा लागिपरेका छन् । पार्टीमा लाग्यो, डब्ल्यू टी बन्यो, एक दर्जनभन्दा बढी ज्यानमारा भिडन्तमा प¥यो, घाईते भयो तर ऊ त्यस्तै नै रह्यो जस्तो पहिले थियो ।
नवधनाढ्य कमरेडहरुले उसलाई जिस्क्याउँछन् बेलाबेलामा—
“क्या हो कमरेड ? साह्रै लाटो पनि हुन भएन क्या अब । समयअनुसार चल्न नि सिक्नुप¥यो । चेञ्ज गरौँ है आफुलाई ।”
कोही भन्छन्—
“लाष्टै सिद्धान्तवादी हुनुभो कमरेड तपाईँ । यस्तो आदर्श बोकेर त जिन्दगी कसरी चल्छ ? अल्लि व्यवहारिक बन्नुप¥यो अब ।”
पैसाको अभावकै कारण घरमा श्रीमानश्रीमतीबीच ठाकठुक पर्दा, अस्ताउन लागेका बाआमाको दुखिरहने रोगको राम्ररी उपचार गराउन नसक्दा, गतिलो खानलाउन नपाएर सिठ्ठाझैँ सुकेको आफ्नो शरीरलाई नियाल्दा उसलाई पनि लाग्छ कहिलेकाहीँ— हो न हो, म लाटो नै रहेछु क्या र । म बढ्ता आदर्शवादी भएछु क्या र । तर आफ्ना वरिपरि आफुजस्तै असँख्य निमुखाहरुलाई देखेपछि ऊ आफैप्रति गौरवान्वित हुन्छ । कुनै अप्ठेरो युद्ध जितेझैँ उल्लसित हुन्छ र मनमनै भन्छ—
‘मैले एक्लै धनी हुनु छैन ।’
तर आज दिउँसोको कुरो अर्कै भयो ।
ऊपनि ख्यालख्यालैमा ठेकेदार बन्यो । सहिदगेट बनाउने ठेकेदार । ती गाउँका सर्वहारा जनताकोभन्दा आफ्नो आर्थिक हैसियत सुध्रिन लागेको कल्पना एकातिर, अर्कोतिर सिद्धान्त, आदर्श र अहिलेसम्म बचाइराखेको आफ्नो निष्ठा बेचिँदैछ कि भन्ने नजानिदो त्रास एकैचोटि उसको मनमा पसेको थियो यो अन्धकार रातमा । त्यसैले उसको मन अमिलो भइरहेको थियो ।
त्यही समयमा अचानक उसको एकतीस दस मोडेलको रङ खुइलिसकेको नोकियाको फोनमा रिङ्गटोन बज्न थाल्यो । हे¥यो, कमरेड तर्कले कल गरेको रहेछ । फोन कल रिसिव ग¥यो । उताबाट आवाज आयो—
“के गर्दै कमरेड ?”
“म त सुतेको कमरेड ।” उसले जवाफ दियो ।
उताबाट मरिमरि हाँसेको आवाज आयो— “के रे कमरेड ? सुतेको रे ? सुत्ने बेला हो र यो ? कति बज्यो कति बज्यो, अँ भर्खर बाह्र बज्न लाग्या रैछ । अनि तपाईँ यति चाँडै कसरी सुत्न सक्नुहुन्छ कमरेड ? म त दुई नबजी निदाउनै सक्दिनँ ।”
कमरेड तर्कको जिब्रो लर्बरिएको थियो । फोनमा कुरा गर्दै गर्दा पनि केही चीज बेलाबेलामा पिएको घुटुकघुटुक आवाज आएको थियो ।
उसले चुपचाप कमरेड तर्कको कुरा सुनिदियो । उसको अट्टहासलाई चुपचाप नै सहिदियो । हिँजोको धनबहादुर सारु आज मरिसकेको थियो । उसको चोला फेरिएको थियो । हिँजो भूईँमाथिको एकसरो गुन्द्रीमा पल्टनेबित्तिकै निदाउने धनबहादुर सारु आज कमरेड तर्क बनेर महलमा छिरेपछि एक हात अग्लो डन्लपमा पनि निदाउन नसक्ने भएको छ । उसले यस्तै यस्तै सोँचिरह्यो ।
उताबाट साखुल्ले बनेको कमरेड तर्कको स्वर लर्बरिँदै उसको कानसम्म आइरह्यो—
“हेर्नुस् कमरेड, विपक्षी पार्टीका कार्यकर्ताहरुले विरोध गरेका थिए । त्यो त स्वाभाविकै भयो रे, ल मानेँ । तर आफ्नै पार्टीका कमरेडहरुले पनि विरोध गरेको देख्दा पो झनक्क रीस उठेको थियो मलाई त । हेर्नुस् है कमरेड, मान्छे चिन्नुस् । वैद्य समूहका को को हुन् ? चिन्ने बेला नै यही हो । काम नभ’का, अरुको काममा भाँजो हाल्ने, हूल्याहाहरुलाई अब विस्तारै पन्छाउनुपर्छ । हेर्नुस् है, सँस्थापन भन्या सँस्थापन नै हो क्या । हाम्रो अध्यक्ष कमरेडले भन्नुभएकै छ नि त्यो के रे ......
खै’ यतिका कुरा गर्न जरुरी थियो कि थिएन कुन्नि ? तर कमरेड तर्क बोल्न थालेपछि कसले रोक्ने ? अनि अन्तमा फोन राख्नुअघि कमरेड तर्कको भन्नु यस्तो रह्यो—
“साढे छः लाख निकासा भएको छ माथिबाट । पचासहजार जिल्ला कमिटिले हेर्ने कुरा छ । सात लाख भयो । बढीमा दुई लाखजति खर्च हुन्छ त्यो के रे त्यो.... त्यो छ नि के रे ................’
सहिदगेट भन्न नआएर केहीबेर रोकियो कमरेड तर्क ।
उसैले भनिदियो— “सहिदगेट ।”
“अँ अँ त्यै । जाँठो सहिदगेट भन्न पनि कस्तो मुखमै नआको ?” यति भनेर कमरेड तर्क भद्दा हाँसो हाँसेको आवाज उसको कानमा बज्रिन आयो ।
‘मुखबाट सहिद शब्द निकाल्नका लागि त मनमा सहिदलाई राख्नुप¥यो नि कमरेड । मनभरि कालो धन थुपारेपछि सहिद भन्न पनि कति गाह्रो हुँदो रहेछ । भन्न त यति गाह्रो अझ सहिद बन्ने कुरा त झन के गराई भो र ?’ उसले मनमनै भन्यो । मन पीरो भएजस्तो भयो । सहिदहरुलाई सम्झेर आँखा डम्म भरिए । कमरेड तर्क उताबाट बोलिरहेको थियो—
“बाँकी पाँचमा मेरो दुई हो । तपाईँको तीन । ज्यामीहरु लगाएर त्यो.... त्यो ... के भन्छ, अँ अँ सहिदगेट बनाएर भ्याउने जिम्मा मेरो भो । कमरेड ढुक्क हुनुभए हुन्छ । ...... तीन लाख तपाईँकै हो कमरेड । तपाईँलाई खाली खुट्टा हिँडेको देखेर मेरो मन कस्तो कटक्क दुख्छ कमरेड । अब दुईसय पचास सीसीको पल्सर ल्याउने अनि हुइँकिने कमरेड, भट्भट्भट्भट्भट्भटटटटटट गर्दै ।”
यति भनेर कमरेड तर्कले केही जिनिस पिएको सुरुप्प आवाज आयो ।
यतिका बेरको सम्वादमा उसले मुश्किलले पाँचपटक ‘हजुर’ भनिदिएर कमरेड तर्कको कुरामा कुरा मिसायो होला । फोनवात्र्ता सकिएपछि झन् बढी सोँचाईहरुले उसलाई घेर्न आए । कमरेड आकाश, जसको मन आकाश जत्रै विशाल थियो । जसले आफु मरेर अरुको ज्यान बचाए । उनको त्यो उज्यालो अनुहार उसले त्यो अन्धकार रातमा पनि आँखै अघि देख्यो । उसरी नै मुस्कुराइरहेको अनुहार । अनि नरम स्वरमा जब्बर शब्द बोलिरहेको—
“जित नजिकै छ । कमरेडहरु, सुत्ने बेला हैन यो । उठौँ अब । अलिकति मात्रै हिडौँ यो कष्टको बाटो । यो अकंटक यात्रा अब चाँडै टुँगिनेछ । धैर्यतालाई खेर जान नदिएर सँगाली राखौँ कमरेडहरु ।”
सायद जित नजिकै थियो होला तर त्यो नभेटिँदै र भेटेर हामीले सँगै उत्सव मनाउनुभन्दा अगावै कमरेड आकाशले हामी सबैलाई छोडेर गइदिए । अहिले भगौडा, कायर, गद्दार र अवसरवादीहरु सबै छ्यासमिस भएर खुसीयाली मनाइरहेको यो समय वास्तविक जितारु कमरेड आकाश र अरु थुपै्र कमरेडहरु चुपचाप छन् । जसले नमर्दासम्म अन्याय अत्याचारको विरोध ग¥यो, भ्रष्टहरुलाई ठीक पार्दै हिँड्यो, जसले आफ्नो प्राण जानुभन्दा एक सेकेण्ड अघिसम्म पनि उज्यालो नेपालको सपना देख्यो, त्यस्तो कमरेडको नाममा निर्माण हुन लागेको सामान्य प्रवेशद्वारमा चार लाख रुपैयाँ भ्रष्टाचार ? त्यो पनि उसकै सहयोद्धा कमरेड भनिनेहरुबाट ?
यो सोँचेर उसको घाँटी र ओँठ चक्रक्क सुक्यो । आँखामा भने आँसुको साउने भेल उर्लन थाल्यो । मौनतामै उसले बग्न दिइरह्यो आँसुलाई । एकछिनपछि उठेर गाग्रो राखेको ठाउँसम्म पुग्यो । एक अम्खोरा पानी सासै नफेरी घटघट पियो । स्वास्नीले बल्ल थाहा पाइछ, सोधी—
“हजुर अझै निदाउनु भाछैन ?”
ऊ केहीपनि बोलेन मुखले तर मन आवेशमा आएर चिच्याउन खोजिरहेथ्यो—
“हाम्रो वरिपरि बसेर सहिदहरु बोलिरहेका छन् । उनीहरुको सपनालाई गद्दारहरुले कुल्चिमिल्चि पारिरहेको देखेर उनीहरुलाई असह्य पीडा भएको छ । सहिदहरु रोइरहेका छन् । कसरी निदाउन सक्छु म ? मेरो प्यारो कमाण्डर आकाश मसँग अहिले पनि बारम्बार बोलिरहेका छन्—
कमरेडहरु, सुत्ने बेला हैन यो । उठौँ अब ।”
—आफुलाई अनि परिवारलाई अभावमा रहन दिएर निष्ठालाई बचाउने या
—निष्ठालाई मारेर आफुलाई अनि परिवारलाई बचाउने ?
छोटकरीमा यही दुईटा विकल्प छान्नुपर्ने थियो उसले आजको रात । उसले आफ्नो मनको विरोधलाई नसुनेझैँ गरेर दोश्रो विकल्प छान्यो, रोज्यो ।...............................
०००
...... त्यसपछिको बाँकी कथा
बीसदिन पछि सहिदगेट निर्माणको काम सुरु भयो । एक महिना पनि लागेन त्यो बनाउन । कमरेड तर्कले भनेजति पनि खर्च लागेन । दुई लाख छुट्याएका थिए, त्यसमा सबै हिसाब गर्दा तीसहजार जति पैसा उब्रियो । त्यो पैसाले एकदिन बनभोज मनाउन जाने सल्लाह भयो । दुई लाख कमिसनको रुपमा कमरेड तर्कको भयो । तीन लाखचाहिँ उसको घरभित्र पस्यो । जिन्दगीमा पहिलोपटक मुसारेको थियो उसले त्यति धेरै पैसालाई । स्वास्नी र बाआमा पनि उसको कमाई देखेर खुसी भएका थिए ।
अनि एउटा रातो रङको पल्सर बाइक पनि झोपडी घरको आँगनमा आइपुग्यो । त्यो किनिदिन कमरेड तर्क नै गएको थियो । बुटवलको बजाज शो–रुममा गएर हेर्दा उसलाई बाइक त कालो रङको असाध्यै मन परेको थियो तर कमरेड तर्कको आफ्नै तर्क थियो—
“हामी कमरेडहरुको थीम कलर भनेकै रातो हो । तसर्थ रातो रङको नै लैजान उचित होला कमरेड । धेरै कमरेडहरुले रातै रङको किनेका छन् । मेरो पनि रातो नै छ ।”
रातो रगत, रातो झण्डा, रातो क्रान्ति, रातो सलाम, राता मान्छे खुब सुनिन्थ्यो सुनाइन्थ्यो युद्धको समयमा । अब कमरेडहरुको शब्दकोषमा ‘रातो पल्सर’ पनि थपिएछ । रातो पल्सरमा कमरेड तर्कको पछाडि बसेर घरतर्फ फर्कँदै गर्दा यस्तै यस्तै सोँचिरह्यो उसको मनले ।
—त्यो मोटरसाइकल चलाउन सिक्यो उसले ।
—ट्रायल दिन नेपालगञ्ज गयो ।
—सक्कली हो कि नक्कली, लाइसेन्स पनि पायो ।
तर ऊ त्यसपछि नराम्ररी बिरामी प¥यो । रोग कुनै शारीरिक अङ्गमा लागेको थिएन । रोग त उसको मनमा लागेको थियो र त्यो दिनप्रतिदिन गहिरो बन्दै जाँदो थियो ।
गाउँतिर बजारतिर बाइकमा चढेर डुल्ने उपक्रम भर्खर सुरु गरेको थियो । ठेक्कापट्टामा डब्ल्यू टी बन्ने धूनमा थियो अब ऊ । त्यही समय एक रात उसले एउटा अचम्मको सपना देख्यो । निद्रावस्थामा देखिएको सपनामाथि विश्वास गर्न त उसले आजसम्मन पढेको द्वन्द्वात्मक भौतिकवादका किताबहरुले कुरीकुरी गर्ने थिए, त्यसकारण उसलाई सपनामाथि विश्वास त थिएन तर सपना नै त्यस्तो थियो कि उसले नचाहेर पनि त्यो सपनालाई वेवास्ता गर्न सक्दैनथ्यो । उर्लँदो खहरे खोलामा कमरेड आकाशले उसलाई आफ्नो पिठ्यूँमा बोकेर पारि तारेका थिए सपनामा । ब्यूँझेर ऊ केहीबेर अक्कमक्क परिरह्यो । सपना हो कि विपना ? खुट्याउन उसलाई साह्रै सकस परेको थियो । त्यो त सपना नै थियो तर त्यसले उसलाई एउटा विपना सम्झाइदिएको थियो ।
त्यो विपना यस्तो थियो—
पार्टीले दुश्मनको ढाडमा टेकेर टाउकोमा प्रहार गर्ने योजना भर्खरै सार्वजनिक गरेको थियो । अग्रगामी छलाङ नाम गरेको शब्दले व्यापक चर्चा र स्वागत पाएको समय पनि थियो त्यो । कालान्तरमा कमरेडहरुले आवश्यकताभन्दा बढी ठाउँमा छलाङ मारे, त्यो अर्कै कुरा । त्यही समय रुकुम, रोल्पा, प्यूठान र अर्घाखाँची हुँदै उसको सैन्य प्लाटुन पनि गण्डक क्षेत्रमा प्रवेश गरेको थियो । जनमुक्ति सेनाको एकिकृत र चलायमान शक्तिको आभास पाएर शाही सेना बहुलाएको थियो र निद्रामा हिँड्ने रोगीजस्तो भएर ऊपनि ब्यारेक छोडेर हिँडेको थियो । दुईटा सेनाको थुप्रै ठाउँमा जम्काभेट भएको थियो । आमनेसामने भिडन्त भएको थियो । अर्घाखाँचीको सिद्धारा डाँडामा उनीहरु यति नजिक भेट भए कि राईफल सोझ्याउने समय र स्थानको अभावले समातासमात गरेर कुस्ती लडेका थिए ।
त्यही समय उसको प्लाटुन स्याङ्जा जिल्लातर्फ अगाडि बढ्दैथियो । कमाण्डर आकाश नै थिए । कमिसार थिए कमरेड भूपेन्द्र । बर्दियाका थारु समुदायका थिए तिनी । वास्तविक नाम खुसीराम चौधरी । पहाडमा हिँड्न बानी पारिसकेका थिए ज्यानलाई ।
गुल्मी र स्याङ्जाको सिमानातिर हो सायद । बर्खा लागेको कारण सबै खहरे खोलाहरु वेगवान गतिमा ओह्रालो झरिरहेका थिए । पखेराको बाटो चिप्लो बनेको थियो । रातीमा नहिँडी सुखै थिएन । दिउँसोमा हिँड्नु भनेको आफ्नै काललाई निम्ता दिनुजस्तै हुन्थ्यो । टर्चलाइट बाल्न पाइन्नथ्यो । अँध्यारोमा छामछुम गर्दै बडो कष्टले हिँडिरहेको बेलामा अचानक उसको खुट्टा चिप्लिएको थियो । काँधमा लोडेड राइफल थियो । धन्न लक लगाएका कारण होला पड्किन पाएन नत्र नराम्रो घटना हुन केही बेर लाग्ने थिएन । चिप्लिँदै झण्डै तीस मिटर तल खसेको थियो ऊ । अँध्यारोमा ऊ चिप्लेको गोहो पहिल्याउँदै डेढ घण्टापछि बल्ल कमाण्डर र अरु सहयोद्धाहरुले उसलाई भेटाएका थिए । उर्लेको खहरे खोलाको सुसाइमा उसको आवाज त कता बिलाउँथ्यो कता । धन्न भेटे कमरेडहरुले र ऊ बाँच्यो ।
त्यसरात कमरेड आकाश आफैले उसलाई डो¥याएका थिए । भेल आएका थुपै्र खोला खोल्सीहरुमा उनैले बोकेर उसलाई पारि तारेका थिए । सपनामा पनि त्यही घटना दोहोरिन आएपछि उसको निद्राले सुईकुच्चा ठोकेर भागेको थियो ।
अनि रातैभर कमरेड आकाशको बारेमा कल्पेर ओछ्यानमा पल्टिरह्यो ऊ ।
जनमुक्ति सेनाले गण्डक क्षेत्रमा विशेष अभियान चलाइरहेको त्यही समयमा पाल्पाको तीनगिरे भन्ने ठाउँमा शाही सेनासँग आमनेसामने लडाई सुरु भएको थियो । कमरेड आकाश मर्ने थिएनन् अलिकति मात्रै ज्यानको माया गरेको भए । उनले टाउको लुकाउन चाहेनन् । अरु कमरेडहरुभन्दा अगाडि सरेर मोर्चा सम्हालीरहेका थिए । अचानक तलबाट हुर्रिँदै आएको एलएमजीको गोली उनको शीरमा वारपार भयो । ‘विदा कमरेडहरु’ भन्न पनि नपाइ उनी गए ।
त्यसअघि पनि कमाण्डर या सहायक कमाण्डर नै सहिद भएका थुप्रै लडाईँ उसले देखिसकेको थियो, भोगिसकेको थियो । अहिले पनि लडाईँमा कमाण्डर या भाइस कमाण्डर मारिनै पर्ने दुखद घटना दोहोरिएको थियो, आकाशको सहादतले । अर्कोतिर सुखद घटना पनि मानेर मन बुझाउनु पथ्र्यो, हाम्रा कमाण्डर हामीभन्दा अगाडि छन् । हामीभन्दा सूरो छन् । हामीभन्दा महान छन् भन्ने सोँचाई हरेक छापामारको मनमा गडेको थियो ।
यिनै सम्झनाहरुको जुलुशले उसलाई हेरिरह्यो रातभरि । बाँकी रात निदाउनै सकेन ऊ । उसले पनि सम्झनाका तिनै जुलुश हेरिरह्यो अँध्यारोमा ।
०००

त्यसको भोलिपल्ट । २२ चैत, २०६५
जब ऊ कतै जान भनेर आफ्नो पल्सर बाइकमाथि चढ्यो, उसलाई उनै सहिद कमरेड आकाशको ढाडमा चढेझैँ लाग्यो ।
जब बाइकको हेण्डिल समात्यो, तिनै सहिद कमरेडको कान समातेजस्तै ठान्यो ।
दिनभरि नै उसको मनमा यही विचार आउजाउ गरिरह्यो । सहिदको नाममा भ्रष्टाचार गरेको आफ्नो र कमरेड तर्कको कुकर्म दिनभरि नै सम्झियो । घरतर्फ आउँदैगर्दा सहिदगेट बाटैमा पथ्र्यो । बाइक रोकेर त्यो गेटलाई निर्निमेष हे¥यो । यसअघि ध्यानै दिएको रहेनछ, सहिदगेटमा पोतेको चूनको रङ महिना दिन नपुग्दै खुइलीसकेको रहेछ । अझै राम्रोसँग हे¥यो, प्लाष्टर गरेको सिमेण्टको खम्बा ठाउँ ठाउँमा भत्किसकेछ । कति ठाउँमा सिमेण्टको चोक्टै झरेको थियो अनि भित्रको ढुँगा देखिएको थियो ।
उसलाई औडाहा भयो । हतारिँदै घरमा आयो र कोही नभएको मौका छोपेर भर्खरको बालक झैँ कहालिँदै रोयो ।
त्यस रात पनि ऊ एकै झिमिक निदाउन सकेन ।
०००

त्यही भूकम्पमय दिनको चारदिनपछि । २५ चैत २०६५
ऊ सदरमुकामस्थित शान्ति समितिको कार्यालयमा पुग्यो । झोलाबाट दुई लाख रुपैयाँ झिकेर त्यहाँको कर्मचारीलाई जिम्मा लगाउँदै भन्यो—
“यो रकम कुनै साँचो सहिद परिवारलाई दिनुहोला । मैले खर्च गरेको अरु बाँकी एक लाख म पछि आएर बुझाउँछु ।”
केही नबुझेर शान्ति समितिको कर्मचारी ट्वाँ परेर उभियो । उसको हातमा एक एक लाखका दुई बण्डल पैसा थियो । त्यस कर्मचारीले घरि पैसालाई घरि उसलाई हेर्दैथियो । ऊ फटाफट त्यहाँबाट निस्कियो ।

त्यसपछि ऊ कृष्णनगर जाने बसको पछिल्लो सिटमा बसेर सदरमुकामबाट फर्कियो ।
साँझ घरका मानिसहरुले देखे, ऊ लखर–लखर हिँड्दै आइरहेको थियो । नहिँडेर के गरोस ? उसले रातो पल्सर बेचिसकेको थियो ।
०००

पुनश्चः ............
—देश र जनताको नाममा हाँसीहाँसी प्राणको आहुति दिने सहिदहरुलाई, युद्धमा बाउआमा गुमाएका अनाथहरुलाई, गोली लागेर घाईते अनि अपाङ्ग भएकाहरुलाई, जिन्दगीका स्वर्णिम दिनहरु युद्धलाई सुम्पेर अहिले अयोग्य बनाइएर घर फर्काइएका योद्धाहरुलाई त्यत्तिकै अलपत्र अवस्थामै छाडेर, बचेखुचेका नीजि अहं, सडिसकेका सिद्धान्त, गन्हाएका चाप्लुसे कार्यकर्ता र सहिदका रगतसँग साटेका केही नगद र जिन्सी सम्पत्ति एकापसमा बाँडेर असन्तुष्ट र सँस्थापन पक्षले पार्टी विभाजन गरेको समाचार प्रकाशित÷प्रसारित भइसकेको छ ।
—सहिद आकाश स्मृत्ति प्रवेशद्वार एक वर्ष नहुँदै भत्किएछ र नयाँ ठेक्का नौ लाख रुपैयाँमा कमरेड तर्कले लिइसकेको कुरा पनि गाउँलेहरुले सुनाएका छन् ।
—शान्ति समितिका सदैव अशान्त कर्मचारीहरुले उसले बुझाएको पैसा खर्च गर्नका लागि कुनै शीर्षक नभेटेपछि एकदिन राम्रैसँग दारुपार्टीको आयोजना गरेको सूचना पनि पाइएको छ ।

र ‘ऊ’ ।
—ऊ चाहिँ साउदी अरबको मरुभूमिमा आँसु र पसिना बगाउँदै अरुको महल अग्ल्याउने काममा सकीनसकी लागिरहेको कुरा उसलाई त्यहीँ छोडेर घर फर्केका छिमेकी गाउँका युवाहरुले बताएका छन् ।

२८ मार्च २०१३, मलेसिया

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 29 श्रावण, 2072

लेखकका अन्य रचनाहरु