तृष्णा तृप्ति -१

- बद्री अधिकारी

"सर कता लाग्नुभयो ?” मेरो नजिककैबाट दानवीरलाई बाहिरिन लागेको देखेर मैले सोधेँ ।
“नास्ता खान बाहिर जाउँकी भनेको ।”
“सरलाई आपत्ती नभए मैले घरबाटै बनाएर ल्याएको नास्ता छ, खाऊँन ?”मैले उसलाई आफूनजिक रहेको कुर्सितिर बस्ने संकेत गर्दै भनेँ ।
“मैले खाएपछि तिमीलाई नपुग्ला नी !” उसले मुस्कुराउदै भन्यो ।
“बस्नु न बाँडीचुडी खाऔँ, घरको नास्ता चाखेर त हेर्नुहोस् कस्तो हुँदो रहेछ ।” मुस्कुराउदै मैले पुनः अनुरोध गरेँ ।
“साँच्चै निकै दिन भयो घरको नास्ता नखाएको ।” ऊ यती भनेर मेरो टेबल नजिक रहेको कुर्सी तानेर मेरो सामुन्ने बस्यो ।

टेवुलको अर्को छेउको कम्प्युटरलाई बन्द गर्दै मैले भने– “सर ! परिवारलाई यहाँ किन नल्याउनुभएको ?”
“यो शाखामा बढीमा एक वर्ष मात्रको बसाइ हो, अन्यत्र सरुवा भएपछि लानुपर्छ होला ।”
मैले टिफिनमा ल्याएको नास्तालाई दुई ठाँउमा भाग लगाएँ । हामी दुवै आ–आफ्नो भागको नास्ता खान थाल्यौँ ।
“साँच्चै रश्मि नास्ता त सारै मीठो रहेछ ।” उसले गाँस मुखमा लगाउदै भन्यो ।
“प्रशंसा गरेकोमा धन्यवाद !” मैले पुलुक्क उसलाई हेर्दै भनेँ । ऊ मेरो मुहारलाई नियालिरहेको थियो । उसको हेराइले म भित्रभित्रै लजाइरहेकी थिएँ ।
“रश्मि म तिमीसँग तिम्रो व्यक्तिगत कुरा सोध्न सक्छु ?”
“सोध्नु न तपाईं जस्तो आदर्शवान् मानिससँग आफ्नो सुखदुःखको कुरा गर्न पाउनु त मेरो अहोभाग्य हो ।”
"मलाई त्यति अग्लो सिँढीमा नचढाऊ, फेरि म पलापिएर धरतीमा झर्न सक्छु ।” उस्ले ठट्टेउली स्वर ओकल्यो ।
“होइन सर ! तपाईंले समाजलाई धुप्रै चीज आफ्नो लेख, नियात्रा, कथा, कविता, उपन्यासबाट दिनुभएको छ ।” म गम्भिर भएँ ।
“फुर्सदको समयमा लेख्न मन लाग्छ । त्यसो भए तिमी मेरा रचनाहरू हेर्ने गर्दछेऊ !”
“तपाईं मेरो मन परेको लेखक हुनुहुन्छ ।” मैले आफ्नो खुसी व्यक्त गरेँ ।

"म तिमीसँग तिम्रो ब्यक्तिगत कुरा सोध्न सक्छु ?"

"अबस्य....तपाईसँग लुकाउने मसँग कुनै कुरा नै छैनन् । सर ! बिस्वास भित्र गोप्यता स्थिर रहदैन भन्दछन्....होइन ?" मैले मुस्कुराउदै ऊ तिर प्रश्नवाचक दृष्टि फ्याकेँ ।

“तिम्रो श्रीमान पियक्ड छरे ! छोराछोरी पनि छैनन् भनेको सुनेथेँ !”
“श्रीमानले त मृत्यु पर्खिरहेछ दुर्व्यसनी भएको कारणले । छोराछोरी हुन्थे होलान् तर मैले नै जन्माउने चाहना राखिनँ । खराब वंशबाट असल वंशको सृष्टी हुँदैन होला ।” मैले दुःख साथ आफ्नो कुरा ओकलेँ ।
“मलाई माफ गर रश्मि ! मेरो उद्देश्य तिम्रो दुःखलाई कोट्याउनु थिएन, यसलाई संयोगमात्र सम्झ ।” उसले म समक्ष क्षमा याचना ग¥यो ।
“तपाईंसँग सुखदुःखको कुरा गर्न पाउँदा आफूलाई हल्का हुन्छ झैँ लाग्यो । यसमा तपाईंको दोष छैन । सब कोहीसँग यस्तो कुरा भन्न पनि त सकिन्न, होइन र ?”
“त्यो त हो । श्रीमानको वंश वृद्धि नगर्ने तिम्रो विचारले मलाई निकै घच्घच्याई रहेछ । ममाथि भर लाग्छ भने तिम्रो अतीत सुन्ने मेरो इच्छा थियो ।” उसले आशामुखी नजर मतिर छर्दै मायालु स्वर उकल्यो ।
“तपाईंमाथि भर नगर्ने ठाउँ छैन । आफ्नो अतीत तपाईंलाई सुनाउन पाउँदा वर्तमानका लागि उचित सल्लाह पाउन सक्थेँकि ।”
“भन न त सुनौँ ।” नास्ताको अन्तिम गाँस मुखमा लगाउँदै उसले भन्यो । म पनि टिफिन क्यारीयर बन्द गर्दै आफ्नो अतीत सुनउने तरखरमा लागेँ ।
“अन्तरमनदेखि मन नपरेपछि त्यो कुरा प्राप्त हुन खोजे पनि मानिस त्यसदेखि टाढिने प्रयास गर्दो रहेछ । मलाई त्यस्तै भइरहेको थियो । बाबुआमाले मेरो विवाह गर्ने बेलामा राम्रोसँग बुझ्न खोजेकै हो । टाढाको कुरा भएकाले मिहीन तरिकाले बुझ्न सकिएन । केटो विदेश गएर पैसा कमाउन थालिसकेको छ भन्दथे । एउटै मात्र छोरो भएकाले ठीकै छ भन्ने मात्र सुनियो । यसमा मैले बुबाआमालाई दोष लगाउने ठाउँ पनि थिएन । विवाह गरेर दुई हप्ताजति घर बसेर मेरो लोग्ने विदेश गइहाल्यो । घरमा बस्दा पनि ऊ निकै रक्सि, चुरोट र फेन्सिडल खाने गर्दथ्यो । मसँग लुकिछिपी।"

"ससुरा र सासू खसिसकेका थिए । सुसरा औधी जाँडरक्सि खाने गर्दथे रे । रक्सिकै कारण उनको मृत्यु भएको भन्ने गर्दथे छिमेकीहरू । मैले कम्युटर सफ्टवेरमा डिप्लोमा गरिसकेकी थिएँ । एउटा प्राइवेट कम्पनीमा कम्युटर कर्मचारीमा छनौट भएँ । मेरो श्रीमान विदेशमा पैसा कमाउन गएको झन दुर्व्यसनीको संगतमा फँसेछ । दुई वर्षपछाडि खाली हात फर्केकाले अहिले ऊ मसँगै बसिरहेको छ।"

"मैले उसलाई निकै सुधार्ने कोशिस गरेँ । तिन-तिन पटक सुधार केन्द्र सम्म पुर्याएँ । उसका लागि मैले गरेका प्रयास केवल बालुवामा पानी हालेजस्तो मात्र भयो । अहिले ऊ घरमै धुमधुमती मातेर बसिरहन्छ । मैले उसको फर्माइस मन नलागि–नलागि पु¥याउनुपर्दथ्यो र परिरहेकको छ। मभित्र सुषुप्त अवस्थामा जहिले पनि ऊप्रति घृणा नै पलाइरहन्छ । घृणित वस्तुदेखि मानिस सदा टाढिन रूचाउँदो रहेछ । मैले झेलिरहेकी छु । लोग्नेलाई छाडेर टाढा बस्न सक्ने स्थिति थिएन र छैन पनि । म परिवार नियोजनको साधन प्रयोग गरिरहेकी छु।"

"खराब जिन र खराब वंश भएको श्रीमानबाट मलाई छोराछोरी जन्माउने इच्छा अहिलेसम्म पनि पलाउन सकेको छैन। यो कुरालाई मेडिकल साइन्सले पनि मानेकै छ । मभित्र रहेको आमा बन्ने रहरलाई घाँटी निचोरेर मारिरहेकी छु । अब त उसमा त्यो क्षमताको पनि कमी भइसकेको छ क्यारे । ऊ आजकल मलाई गिजोल्न छाडिसकेको छ। पहिला एकपटक त उसले मसँग भनेको थियो—'खोइ! हाम्रो त छोराछोरी पनि भएनन्' ?"
“यो त संयोगले हुने कुरा हो । कसैको ढिलो नै हुन्छ ।” म यसरी जवाफ दिएर पन्सिने कोशिश गर्दथेँ। आजकाल त ऊ त्यो बिषयको कुरा पनि गर्दैन । मेरो कुराबाट उसलाई कति सन्तोष मिल्दथ्यो ऊ नै जानोस् । मेरो कमाइ राम्रो भए पनि उसको खर्चिलो स्वभावको कारणले महिना गुजार्न हम्मेहम्मे पर्दथ्यो । मलाई ऊ र उसको अबस्था प्रति अति दयालागेर आउँछ । साँच्चै भन्नुपर्दा मपनि उसलाई औधि माया गर्छु । मेरो मायाले उसको कुलतको आदतलाई छुटाउन सकेन । मेरो कर्मकै दोष हो की ! खोई ! म के भनौं...।"

" मैले अर्को विवाह गर्दा पनि आफूले चाहेअनुसार लोग्ने पाउन सम्भव थिएन । ममा त्यो चाह पनि छैन । हाम्रो जस्तो पुरुषप्रधान समाजमा अर्काकी श्रीमतीले, अर्को योग्य मान्छे सोचे अनुसारको पाउँन गाह्रो कुरा थियो । रहर नभएको कुराको खोजिगर्ने कुरा भएन । पोइल जाँदा पनि रश्मि पोइलगै'छ बाइफाले ! भनी विभिन्न लाञ्छना र आरोप सहनु नै पर्दथ्यो । समाजको दूर्वाच्य शब्द झेल्नुभन्दा थपनाको रूपमा श्रीमानलाई झेल्नु मलाई उचित लागिरहेथ्यो र लाग्दैछ । सायद यो नै म भित्र रहेको ऊ प्रतिको माया होला । बिबाह गरेको श्रीमान माया नहुने र नालाग्ने कुरै भएन । उसले आफूलाई सुधार्नै चाहेन, खोई किनहो किन !"

"ससुरालाई जन्मजात दम रोग थियो रे । पछि ब्लडक्यान्सर भएर थलिएर खस्नुभयो र उहाँबाट जन्मेको छोरो मेरो लोग्ने दुर्व्यसनी भयो । उस्लाई पनि दमले निकै चापेको छ । सम्भव छ उसलाई पनि बाबुको जस्तै ब्लडक्यान्सर हुने हो कि ! किनकि लक्ष्यणहरू ससुराको जस्तै देखिन थालेको छ । ऊबाट नै मैले बंश बढाएँ भने ? यो प्रश्न उब्जाइले मेरो टाउको टन्किरहन्छ । प्रश्नको अन्तिम किनारसम्म म सोच्न सक्दिन । वर्तमानका युवा पुस्ताहरूको सङ्ख्या क्रमिक रूपले दुर्ब्यसनतिर लागेको देख्दा मलाई दिक्क लागेर आउथ्यो र आइरहेको छ । उनीहरूले यो देशलाई के देलान् ? अभिभावकले उनीहरूबाट के पाउने ? साँच्चै मलाई यस्ता कुराहरूले पिरोलिरहेको थियो र वर्तमानमा पनि पिरोल्दैछ । लोग्नेको वंश नबढाउने सोच मलाई ठीक लागिरहेरकोले सन्तानविहीन छु । मेरो कुरा सबैलाई सही नलाग्न सक्छ । यो त आफ्नो–आफ्नो बिचारको कुरा हो" । मैले आफ्नो कथन यसरी टुङ्याउदै दानवीरको मुहारको भावलाई पढ्ने कोशिस गरेँ ।
ऊ एकोहोरो मेरो मुहारको अवलोकन गरिरहेको थियो ।
“रश्मि ! हेरिडीटी र जेनेटिक्सले मानिसमा ठूलो असर पु¥याउँछ । वातावरणको पनि त्यस्मा ठूलै भूमिका हुन्छ ।” उस्ले गम्भिरसाथ मसँग आफ्नो बिचार ओकल्यो ।
“त्यो त हो सर ! के मेरो सोच गलत हो त ?”मैले हत्तारिदै प्रश्न गरेँ ।
उस्ले बिस्तारै आफ्नो कुरा अगाडि बढायो– “तिम्रो सोचमा यर्थाथताको मजवुत पक्ष छ । तिमी महिला हौ, महिलालाई आमा बन्ने रहर हुन्छ त्यो नभए उनीहरू आफ्नो जीवनलाई पूर्ण ठान्दैनन्, मान्दैनन् पनि ।”
“......"मैले बोलेर जवाफ गरिनँ । केवल मैले उसलाई आशामुखी नजरले हेरिरहेँ । ऊ पनि मलाई एकोहोरो हेरिरहेको थियो । उसको दिमागमा के कुरा खेल्दै थियो तर मेरो दिमागमा ‘कसरी ओकलुँ आफ्नो उत्कण्ठा’ भन्ने बिचार सलबलाइरहेको थियो । उसले कुरा अगाडि बढायो– “रश्मि.! तिमीभित्र जागरूक र सुषुप्त दुवै अवस्थामा आमा बन्ने प्रवल चाहना लुकेको छ । जसलाई तिमी दमित गरिरहेकी छौ, त्यसले भविष्यमा तिम्रो मानसिकतामा असर पु¥याउन सक्छ ।”
“कुलङ्गार शन्तान जन्माएर, जन्म दिने बाबुआमा र समाजलाई नित्य चिन्तित बनाउनुभन्दा त बाँझो बस्नु नै उचित लागिरहेछ मलाई । साँच्चै सर ! तपाईंजस्तो उचित र विद्वान सल्लाहकार पाएकी छु, यदि बिचार गर्नु भएमा म तृप्त हुने थिएँ र तपाईंको आजन्म ऋणी पनि हुने थिएँ ।” मैले अनकनाउँदै आफ्नो कुरा टुङ्याएँ ।
“मैले तिमीले भनेको कुरा वुझ्न सकिनँ ।”उस्ले आश्चर्य मानेको थियो । उस्ले बुझेर पनि नवुझेको अभिनय गरेको देख्दा म निकै आवेशमा आइसकेकी थिएँ । मैले त्यो आवेशलाई आफूभित्र नै सिमित राख्न सकिनँ र ओकलेँ– “सर ! तपाईंले मेरो चाहना औ भावनालाई बुझेर पनि नबुझे झैँ गर्नुको पछाडि तपाईंको अस्वीकृति हो । हरेक मान्छेलाई अर्काको भावनासँग खेल्न रमाइलो लाग्छ, तर जब उस्ले नै त्यसका इच्छा पूर्तिका लागि सहयोग गर्नै पर्ने परिस्थितिको जन्म हुन्छ, त्यतिखेर ऊ सहयोग गर्नुको बदला पलायन हुनेगर्दछ, तपाईंजस्तो समाज परिवर्तनका लागि राम्रा–राम्रा कुराहरू लेख्ने र बोल्ने मानिस जहिले पनि केवल अरूलाई उपदेश मात्र दिने गर्दारहेछन् ।”
“रश्मि ! समाजले निषेध गरेको नियमलाई आफ्नो चाहना पूर्तिका लागि तोड्नु राम्रो पक्ष होइन, त्यसले समाजमा प्रदूषण फैलाउन सक्छ । म तिम्रो विचार उत्कृष्ठ हो भनी प्रशंसा गर्दछु । तर उत्तम विचारलाई गलत ढङ्गले प्राप्त गर्न खोज्नु मानिसको बुद्धिमतापूर्ण कार्य होइन ।” उस्ले गम्भिरसँग आफ्नो विचार पोख्यो ।
“......................”
मैले बोलेर जवाफ गरिनँ । म उसको मन–मस्तिष्कभित्र उब्जिरहेको भावनालाई शरीरमा देखिएको प्रतिक्रियाद्वारा जान्न खोजिरहेकी थिएँ । मलाई मौन देखेर उसले नै कुरा अगाडि बढायो– “रश्मि ! हेरिडीटी र जिनले विशेष गरी पुस्तौनी रोगलाई पच्छाउने गर्दछ, अन्य कुराहरू त देखाइको आधारमा आर्जित विषयवस्तुभित्र पर्दछन् । पुस्तौनी रोग नियमित रूपले पुस्तैपिच्छे सरिआँउदैन पनि म के भनौ ? तिमी बुझ्ने कोशिस गर ।”
“सर ! असल प्रतिफल प्राप्त हुने गरी देश, समाज र अरूको सुख सुविधाका लागि यो शरीरलाई आफ्नो इच्छाविपरीत प्रयोग गर्नु कुनै पाप होइन, अपराध त त्यो हो जसद्वारा देश, समाज र अरूको अहित हुने गर्दछ ।”
“अहिलेको वैज्ञानिक युगमा तिम्रो प्रवल उत्कण्ठा पूर्तिका लागि वैकल्पिक उपायहरू हुदाँहुदै प्राचीन युगमा प्रयोग गरिएका व्यवहारलाई दोहो¥याउने धृष्टता गर्नु भनेको युगानूकुल आफूलाई परिवर्तन गर्न नसक्नु मात्र हो ।”
उसको कुराले मलाई अस्वीकार गर्नका लागि घुमाउरो बाटो रोजे झैँ लाग्दै थियो । उसले भनेका हरेक वाक्यहरूलाई मैले सुने पनि बुझ्ने प्रयास गरिरहेकी थिइनँ, क्रोधको ज्वाला आफूभित्र दन्केकोले गर्दा । मैले आफूभित्रको क्रोधलाई पोखिदिएँ भावुक हुँदै– “सर खोक्रो आदर्शले मान्छेको पेट भरिन्न । कुन्ती र द्रौपदीका क्रियाकलाप र व्यवहारलाई हाम्रो नेपाली समाजमा गर्वका साथ लिने गर्दछौँ के त्यो केवल देखाउनका लागि मात्र गरिएको हो त ? खै र जेहोस् म तपाईंसँग बहस गर्न चाहन्नँ ।” ऊ मलाई क्वारक्वारती हेरिरहेको थियो । उसको हेराइको भावलाई मैले जान्ने कोशिस गरिनँ । जान्ने प्रयास गर्नु पनि मलाई बेकार लाग्दै थियो । म कुर्सिबाट उठेर शौचालयतिर लागेँ उसलाई नहेरी ।
म दानवीरजस्तो हितैसी हाकीमसँग उसको आशय नै नबुझी जुन ढङ्गले प्रस्तुत भएँ, त्यो सायद गलत थियो । म ऊसँग ठाडो शीर पारेर बोल्न नसक्ने भइसकेकी थिएँ । मसँग सदा मुस्कुराउदै बोल्ने मान्छे ऊ पनि त्यसो गर्न सकिरहेको थिएन । उसले अघि भर्खरै एउटा चिठी टाइप गर्न दिएको थियो । मैले त्यो चिठ्ठी टाइप गरी एकप्रति प्रिन्ट गरी उसकोमा पठाइदिएकी थिएँ । मेरो दिमागमा अनेकौँ कुराहरू खेलिरहेकाले टाइप गराइमा कति शुद्धता थियो । साँच्चै ऊसँग निकै मेरो गफ हुन्थ्यो । म ऊसँग तर्क गर्न रूचाउथेँ। घरिघरि म उसको लेख रचनाको बारेमा तर्क गर्दथेँ । ऊ पनि मेरो सबै जिज्ञासाहरूलाई सही ढङ्गले तर्कद्वारा चित्त बुझाउने कोशिस गर्दथ्यो । प्रमाणित कुराको आधारलाई वस्तुनिष्ठ तथ्यले जानेसम्म म खण्डन गर्दथेँ । घरि म आफूले घरबाट बनाएर ल्याएको नास्ता बाँडेर खाऊँ भन्दथेँ । ऊ मेरो कुरालाई हाँसीहाँसी स्वीर्काथ्यो । उसले आफ्नो कुरालाई बढी मानेकोले पनि होला मैले आफ्नो चाहना ऊसँग सहजै राख्न सकेकी थिएँ । समर्थनले विश्वास बढाउँछ, अनि विश्वासको आधारमा सहज अभिव्यक्ति गर्न सकिन्छ । आश गरेविपरीत परिणाम प्राप्त भएमा मानिसभित्र आत्मद्वन्द्वको जन्म हुँदो रहेछ । म ठीक ढङ्गले निश्चित समयमा कार्य–सम्पादन गर्न नसक्ने भइसकेकी थिएँ । हरेक कार्यमा विभिन्न त्रुटिहरू भइरहेका थिए । त्यो दिनको ऊसँगको वार्तालापलाई भुल्ने प्रयास गर्दा पनि म सकिरहेकी थिइनँ । नयाँ घटना, सम्वाद, दृश्यले मानिसलाई केही समयसम्म पछ्याइरहँदोरहेछ । उसलाई के भएको छ, म जान्दिन । उसको अनुहारको भाव र चालचलनलाई नजानिदो पाराले हेर्दा उसलाई पनि त्यो घटनाले पिरोलिरहेको हुनसक्छ । ऊ मलाई देख्दा सदाझैँ मुस्कुराउने प्रयास गर्दथ्यो तर त्यसमा प्रष्ट कृतिमता झल्केको पाउथेँ । म पनि प्रतिउत्तरमा औपचारिकता निभाउने प्रयास गर्दथेँ। उस्ले मलाई बोलाउन पठाएको थियो । हाकीमले बोलाएपछि मन नलागे पनि मैले जानैपर्दथ्यो । म उसको कोठामा गएर शीर निहुराएर उभिएँ ।
“तिमीले आज गरेको टाइपमा थुप्रै गल्ति छ, यस्तो त्रुटि तिमीबाट कहिल्यै हुँदैनथ्यो !" टेबलबाट चिठी उठाउँदै उसले गौड गरेर मेरो मुहारको अवलोकन गर्दै भन्यो ।
‘ए ! म सबै ठीक गरेर ल्याउछु ।” यति भन्दै चिठ्ठी लिन मैले ऊतिर हात लम्काएँ ।
“तिम्रो अनुहार मलिन छ, ओठमा मुस्कान छैन, आँखा राताराता छन् रातभरि सुतिनौ कि क्या हो ?”
“त्यस्तो केही होइन.।” सङ्कोच मान्दै चिठ्ठी लिएर म कोठाबाट हत्तपत्त बाहिरिएँ । वास्तवमा उसको अवस्था पनि पहिलाको जस्तो थिएन । “तपाईंको पनि हालत त्यस्तै लागिरहेछ मलाई ।” भन्न मन लागे पनि छुद्राई देखाउन सकिनँ । केवल मैले मनोसंवाद गरेँ । म उसेको नजरबाट अरू होचिन चाहन्नथेँ । चिठ्ठी रातो मसिले सुधारेको रहेछ । त्यही मुताविक म चिठ्ठी टाइप गर्न थालेँ ।

यसरी नै असजिलो पाराले दिनहरू व्यतित भइरहेका थिए । हामी एकअर्कासँग आवश्यकताभन्दा बढी बोल्न नसक्ने भइसकेका थियौँ । प्रत्यक्षभन्दा अप्रत्यक्ष रूपले काम लगाउने र गर्ने गर्दथ्यौँ । सिधै भनौ न हामी एक–अर्कादेखि टाढिने वातावरण मिलाउन प्रयत्नशील थियौँ । प्रयत्नले प्राप्ति गर्लाकी नगर्ला त्यो त समयले बताउला....।
शनिबारको दिन थियो । खाना खाएर म आफ्नो ओछ्यानमा पल्टिरहेकी थिएँ । दुर्व्यसनी लोग्ने कुकुर पुच्छ्रे ‘ढ’ भएर भूइँमा ओछ्याएको गलैँचामाथि लडिरहेको थियो । ऊ मस्त निन्द्रामा थियो । मोवाइलको घण्टी बजेकोले मोवाइल उठाएर हेरेँ । दानवीर सरको फोन रहेछ । उठाऊँ कि नउठाऊँ दुविधा उत्पन्न भयो । ऊसँग नजर उठाएर गफ गर्न मलाई अपठ्यारो पर्दथ्यो । “फोनमा गफ गर्न किन नसक्नु” मनमनै कुरा खेलाउँदै फोन रिसिभ गरेँ –“हेलो सर नमस्कार !”
“तिम्रो खबर के छ ? के गर्दै छौ ?”
“घरधन्दा सकेर भान्सातिर लाग्दै छु ।”–यति भन्दै म भान्सातिर लागेँ ।
“श्रीमान हुनुहुन्न ?”
“बिहानको डोजले लठ्ठ भएर कार्पेटमाथि निदाइरहेछ, अहिले म भान्सामा चिया बनाउन खोन्दै छु ।”
“त्यसो भए तिमीलाई फुर्सद छैन ।”
“फुर्सद नै छ, भन्नु न !”
“फुर्सद भए कहीँ बसेर तिमीसँग गफ गर्न मन लागिरहेको थियो, के तिमी आउन सक्छेऊ ?” उसको स्वरमा अनुरोध भरिएको थियो ।
“तपाईंले बोलाएको ठाउँमा आउन नसक्ने त कुरै भएन, तर के फोनमा गफ गर्दा हुँदैन र ?” ऊसँग आँखा जुधाएर गफ गर्नुभन्दा फोनमा गफ गर्न मलाई सजिलो भैरहेको थियो ।
“हुन्छ, नहुने कुरै छैन, तिमीलाई आजकल उदास देख्दा मलाई साह्रै नरमाइलो लागिरहेछ । तिम्रो बानीव्यवहारमा पनि परिवर्तन देख्दा आफूलाई के–के गुमाएँजस्तो लाग्छ । खोइ म के भनौ ? भन्ने शब्द नै पाइरहेको छुइनँ ।” उसको दुःखित स्वर कानमा ठोकिदा म भित्र—भित्रै छटपटाइ– रहेकी थिए । मेरो मन भक्कानिदै थियो । एउटा पवित्र मानिसलाई आफ्नो अभिलाषा पूर्तिको साधनको रूपमा प्रयोग गर्ने मेरो आशक्ति साँच्चैनै घिनलाग्दो थियो ।

मैले आफूलाई सम्हाल्दै भने—“सर ! प्रसव वेदानको पीडालाई अनुभूत गरी बच्चा जन्माउने आशाक्तिले ग्रसीत भएको अवस्थामा अज्ञानतावश मैले त्यो दिन तपाईंलाई जुन अनादर गरेँ त्यसको कारणले हिजोआज मलाई हिनता बोध भैरहेछ । म भित्र–भित्रै नित्य गलिरहेकी छु । साँच्चै तपाईंसँग साक्षतकार गर्ने क्षमता पनि मैले गुमाइसकेकी छु ।”
“रश्मि तिमी बढी भावुक नबन, आत्मग्लानीले मान्छेको विकासको मार्गलाई अवरूद्ध तुल्याउछ । तिमी आफ्नो मनबाट पछुतोलाई निकालेर फालिदेऊ । मुखबाट निस्केको त्यो कुरा केवल तिम्रो प्रवल चाहनाको उपज मात्र हो, मैले त्सलाई शरीरको सहज प्रकियाको रूपमा मात्र लिएको छु । बरू चाहना प्राप्तिको लागि तिमी घुमाउरो बाटो प्रयोग गर्न सक्छेऊ, त्यसबाट कसैको गरिमामा चोट पुग्दैन ।”
“सरले भनेको कुरा मैले राम्रो बुझ्न सकिनँ !”
“तिमी टेस्ट ट्यूव –आइभिएफ(इनभिट्रोफर्टिलाइजेसन) द्वारा आफ्नो प्रवल उत्कण्ठालाई पूरा गर्न सक्छेउ ।”
“त्यस्का लागि त धनराशी निकै चाहिन्छ होला ?”
“यहीँ काठमाण्डौमा मेरो एउटा डा. साथी त्यही विषयमा काम गरिरहेछ । उस्को परीक्षण सफल भइसकेको छ । मैले कुरा गर्दा लागत मूल्यमा सहयोग गर्छु भनेको छ । तिम्रो स्वीकृती विना मैले केही भन्न सकिन । पैसा त चाहिन्छ तिमीसँग के–कति छ ?”
“मसँग व्यालेन्स त एक लाख मात्र छ.।”
“पैसाको तिमी चिन्ता नगर । हाम्रो अफिसमा मेरो स्वविवेकले प्रति वर्ष दुईलाख खर्च गर्न सक्ने फण्ड पनि छ ।”
“......."–म बोल्न सकिरहेकी थिइनँ ।
“हैन तिमी त बोलिनौ त !
“खोइ सर ! म के भनौँ ?”म असमञ्जस्यमा परिरहेकीले मुखबाट स्वर बाहिरिन सकिरहेको थिएन ।
“तिमी चाहना पूर्तिका लागि त्योभन्दा ठूलो खतरा मोल्न र भोग्न तयार थियौ । मैले भनेको कुरा त सामान्य हो । यसमा सोच्नु पर्ने कुरा त केही छैन ।"
“त्यसो भए डाक्टरकोमा कहिले लगिदिने त सर ?”
“भरे बेलुकीसम्ममा म उसँग भेट गरेर सबै कुरा बुझ्नेछु । भोलि अफिसमा सबै कुरा भनौला ।”
“सर ! म तपाईंको यो गुनलाई जीवनभर भुल्ने छुइँन ।”–मैले रमाउँदै भनेँ ।
“यसमा केको गुन, मैले पनि त एउटा गुम्न आँटेको साथीलाई पुनः प्राप्त गर्नेछु नि,त्यो सहयोगले की कसो ?”
“..........”–मसँग बोल्ने शब्द नै रित्तीइ सकेको थियो।
“ए ! रश्मि सुन त !”
“भन्नु न !”रमाउदै मैले भेने ।
“अब त भोलिदेखि काममा गल्ती गर्दिनौ होली ! मसँग बोल्न पनि सङ्कोच मान्दिनौ होली .....होइन ?"
उसको ठट्टेउली स्वरले मलाई आनन्दको अनुभव गराइरहेको थियो । इच्छापूर्तिको सम्भावित द्वारले मलाई गद्गद पारिरहेको थियो । साँच्चै इच्छापूर्तिको सम्भावनाले पनि मानिसको शरीर फूलको थुङ्गाजस्तो हलुङ्गो हुँदोरहेछ । म पनि त्यस्तै अनुभव गरिरहेकी थिएँ । मैले रमाउँदै भने—“ममाथि भरोसा गर्नुहोस्, तपाईले मलाई सहयोग गरेकोमा अन्तरमनदेखि धन्यवाद !
“म पनि त तिमीलाई सहयोगगर्न पाएकोमा ज्यादै हर्षित छु । बाइ........, भोलि भेटौँला ।”
फोन काटिएकाले मैले मोवाइललाई नजिकैको डाइनिङ टेवलमाथि राखिदिएँ । उद्देश्यपूर्तिको सम्भावनाले मेरोमन पुलकित हुदै थियो । म भित्र रहेको मर्न लागेको तृष्णा पुन: बौरिन खोज्दै थियो ।
--*--

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 29 श्रावण, 2072

लेखकका अन्य रचनाहरु