चियाबारीकी दिदी

- खगिन्द्रा खुसी

“तारा दिदी आइनन् आज ?”
“तारा दिदी ? ए....आज देखि हो ? तारा दिदी नआएको १५ दिन भन्दा धेरै भइसक्यो । ”
“ओए हो र ? मलाई त थाहै पो थिएन त ? किन नआएकी रे ? ”
“खै किन हो ? अहिले त चटपटे पसल पो खोलेर बसेकी छिन् अरे त !”
“लौ..चटपटे पसल पो ! चियाका मुना चुँडेर त्यत्रो कमाउनेले अब चटपटे पसल खोलेर के फाइदा ?”
“त्यै त भन्या” “ओए फोन लगा न तिनलाई, किन छोडिछिन्, बुझौं”
“एक छिन पख है......हेलो तारा दिदी !, अँ म दिलु, तपाईले त चिया टिप्ने काम छोड्नु भए छ त ? चिया टिप्दै छौं, हिमा र म । ए हो ? झन राम्रो भयो । हन्छ हुन्छ । ल राखें । ओए सुन् न यतै आउँदै छिन् रे अफिसबाट पैसा लिनलाई, भेटेर गफ गरौंला भनेकी छिन् ।”
“ए राम्रो भयो, जौं ऊ माथि नै गएर बसौं ।”
इलाम बजार भन्दा माथिको चियाबारीमा चियाका मुना टिप्दै गरेका हिमा र दिलुले केही क्षण छलफल गरेपछि आफ्नो ढाडमा भएको डोको भुईमा राखेर माथि डाँडा तिर लागे । उनीहरु दुवै जनाले चिया टिप्ने काम गर्न थालेको दुई वर्ष भयो । उनीहरुलाई चियाका मुना टिप्न सिकाउने पनि उनै तारा दिदी नै हुन् । तिनै तारा दिदीलाई भेट्न भनेर आजको हाँजिरा माया मारेर डाँडा तिर लागे उनीहरु । डाँडामा पुग्दा तारा दिदी अघि आएर बसिरहेकी रहिछिन् । यो ठाउँ उनीहरुको सधैं आई रहने ठाउँ हो । पहिलो पटक यो ठाउँमा तारा दिदीले नै लगेकी थिईन् उनीहरुलाई । त्यसपछि प्राय यो ठाउँ उनीहरुको बिश्राम गर्ने ठाउँ भएको छ । काम गर्दा गर्दा थकाई लागे पछि, अल्छी लागेपछि होस् या त काम नहुँदा, त्यहीं पुग्ने गर्छन् उनीहरु । त्यहाँ पुगेपछि उनीहरुको सारा थकानहरु मेटिन्छन् । चियाबारी भरीको सबै भन्दा अग्लो ठाउँ भएकोले त्यहाँबाट सम्पूर्ण चियावारीलाई देख्न सकिन्छ । अलि तल रहेको इलाम क्याम्पस, यता इलाम बस स्टेण्ड सम्म पुगेको सिमेन्टका खुटकिलाहरु । ईलाम बजार अनि तल झापा तिरका फराकिला फाँटहरुलाई एकै पटक देख्न सकिन्छ । पहिला पहिला त्यहाँ पुग्ने तारा दिदी मात्रै हुन्थिन । त्यसैले पनि उनिहरु त्यस ठाउँमा जाने गर्छन् ।
“ए अघि नै आई पुग्नु भयो ?” दिलुको भनाईमा तारा दिदीले छोटो उत्तर दिईन् “अँ” आओ न बस ।” तारा दिदीको भनाईको आज्ञा पालन गरे उनीहरुले, चप्पल ओछ्याएर दिदीकै ओर्तिर पर्तिर बसे । हिमाले लामो स्वास फेरेर चारै तिर हेरी । आँखाले भ्याए सम्मका ठाउँहरुमा चिया वारी नै चिया वारी छ । एउटै उही आकारका चियाहरुले सिंगारिएका डाँडाहरु कति सुन्दर लाग्छ उसलाई, “आहा ! कति हेरे पनि अघाउँदिन म यो चियाबारी । हेर्नु न दिदी, कत्ति राम्रो छ !” दिलुले उसलाई साथ दिँदै मुखको दुईतिर हात राखेर हु...गरेर कराई । तारा दिदी केही बोल्दिनन् । पहिला पहिला त उनी पनि खुब प्रशंसा गर्थिन् यो चियाबारीको सुन्दरताको तर आजकाल वास्तै गर्दिनन् । हिमा र दिलु चियावारीको वर्णन मै व्यस्त थिए । तारा दिदी उठेर हिँड्न खोजिन् । दुवै जनाले एकै चोटी भनें“अरे!” हिमाले भनी“किन हिँडी जानु भएको ? हामी चैं तपाई सँग गफ गर्न भनेर काम माया मारेर आउँदैछौं” “त्यै त अनि तपाईँ चै हिँडीजाने ?”दिलुले थपी । तारा दिदीले रिसाएर भनिन्“गफ गर्ने भए त म सँग पो गर्नु प¥यो त, के चिया सँग गफ गर्छाै ?” । हिमाले हाँस्तै भनी“ओहो ! यि चियाहरु चै तपाईका शत्रु हुन् की के हो?” “शत्रु होइन मित्रु हुन्, मैले सबै भन्दा बढी चिनेका यिनै चियाका बोटहरु त हुन्, यिनैको मायाले त मैले चिया टिप्ने काम छोडें” दिलु र हिमा खितिती हाँसे । दिदी केही बोलिनन् । दिदीको अनुहार हेरेर दुबैले हाँसो रोके । दिलुले गम्भिर भए जस्तो भएर सोधी “दिदीका कुरा त बुझ्नै सक्दिन” । “कहाँ बुझ्छौ त तिमीहरु ? तिमीहरुलाई हाँस्तै जिस्किँदै ठिक्क छ बुझ्न खोज्नु प¥यो तब पो बुझिन्छ त !” दिदीको आवाजले दुवै शतर्क भए । हिमाले भनी“चियाको बोटको मायाले चिया टिप्ने काम छोडेको भन्नु भयो र पो हाँस उठ्यो ..” ।
“ठिकै त भनेँ नि, मैले यिनै चियाका बोटहरुको मायाले नै चिया टिप्ने काम छोडेकी हुँ । नभए पन्ध्र वर्ष अघिदेखि गर्दै आएको काम कसैले छोड्छ ? ” दिलुले भनी “माया लाग्दैमा काम नै छोड्नु पर्छ त ?” “जुन मायाले मैले चिया टिप्ने काम छाडें त्यो माया त तिमीहरुले कहिल्यै गरेका छैनौ यी चियाका बोटहरुलाई, र कसैले कहिल्यै गर्न पनि सक्दैन । मलाई त सबैले चियावारी राम्रो छ आहा ! भनेको सुन्दा पनि रीस उठ्छ” “राम्रोलाई राम्रो भन्दा किन रीस उठ्नु त अनि ?” हिमाको प्रश्न नसकिँदै चर्को स्वरमा जवाफ दिन्छिन तारा दिदीले“कहाँ राम्रो छ चियाको बोट ?” चियाको बोटलाई समाउँदै “यो, यो राम्रो भनेकी ? यो त कहाँ चियाको बोट हो र ? चियाको बोट त तिमीहरुले देखेकै छौनौ । देख्यौ भने तिमीहरुले छि भन्छौ होला, तिमीहरु पनि यही कृत्रिमता मन पराउने दुनियाँका त हौ नि ! यो त चियाको कृतिम रुप हो बुझ्यौ ! चियाको वास्तविक रुप त कसैले देखेकै छैन । सबै यसैलाई चियाको बोट, चियाबारी, चियाका मुना भन्दै आनन्द मान्छन् तर तिनीहरुले त खास चियाको बोट त देखेकै छैनन् । उनीहरुलाई त यही नै चियोको बोट भन्ने छ । ” हिमा र दिलु नबुझेर एक अर्कामा हेराहेर गर्छन । तारा दिदीले उनीहरुलाई हेर्दै भन्छिन “ यत्रो त चियाको बिरुवा नै हुन्छ तर बिरुवा देखि नै चुँडेको चुँडेकै, काटेको काटेकै, छाँटेको छाँटेकै गरेर यसलाई यत्राको यत्रै बनाएका हुन् । यसले बढ्नै पाएको छैन, आफ्नो रूप देखाउनै पाएको छैन । यदि यसलाई हुर्कन दिुन हो भने कति ठूलो राख बन्छ यो । यि सबै चिया रोपेर हुर्कन दिनु हो भने यहाँ त चियाको कत्रो ठूलो जङ्गल हुन्थ्यो, चियाको जङ्गल, राम्रो त त्यो पो हुन्थ्यो । यो त कृतिम सुन्दरतामा रमाउनेहरुका लागि हो । यी चियाबारीका चियाका बोटहरु अहिलेका नारीहरु हुनु हो भने कत्रो ठूलो आन्दोलन गर्थे होला” दुईटी फेरि खित्का छोडेर हाँस्छन् । तारा दिदीले हेरेपछि चूप लाग्छन । “ यिनलाई हेरेर खुसी भएका मान्छेहरुले मलाई त व्यङ्गय गरे झैं लाग्छ । म पनि आफूलाई यी चियाका बुटाहरु जस्तै लाग्छ, म पनि जन्मे देखि नै यि चियाका मुनाहरु जस्तै पटक पटक काटिएकी छु, छाँटिएकी छु । पुतली खेल्ने कलिलो उमेर देखि नै मेरा मनका हाँगाहरु काटिएका छन् । मैले छोरी भएकै कारणले स्वतन्त्र आकाश मुिन खेल्न नपाएको हो नि । म भन्दा सानो भाइ अर्को गाउँ सम्म खेल्न जाँदा छोरी मान्छेले खेल्नु हुँदैन, घरका काम पो सिक्नु पर्छ भन्दै आमाले जान दिनु भएन । जबरजस्ती जान खोज्दा कुटाई खाएँ र नजाने भएपछि मात्र माया गर्न थाल्नु भयो । त्यसैले म जानै छोडें । मलाई नाच्न मन लाग्थ्यो, आमा बुबाले कराउँदा कराउँदै पनि अलि अलि गर्दै नाच्न थालेकी थिएँ । गाउँ घरका र स्कुलका केही कार्यक्रमहरुमा बुबाका आँखा छलेर नाचेकी पनि थिएँ, सबैले स्यावासी दिए पनि बुबाले थाहा पाए पछि अर्को पटक देखि नाच्न नपाउने गरी गाली र कुटाई खाएकी थिएँ । त्यसवेला पनि मेरो मनमा पलाएको नृत्यकार बन्ने ठुलो हाँगो छाँटिएको थियो । म गीत पनि गाउँन सक्थें ।” दिलुले भनी “ अँ, हो त पहिला पहिला दिदीले चिया टिप्दा पहाडै थर्कने गरी गीत गाउनु हुन्थ्यो तर पछिल्लो समयमा चैं गाएको सुनिन हैं ” “हो त्यहाँ पनि म छाँटिएकी थिएँ । म सानैदेखि गीत पनि गाउँथे । तर बिबाह अगाडि अबसर आउँदा पनि अबसरहरुमा भाग लिन जान पाईन । गाउँ भन्दा टाढा, बजार तिर गीत गाउने कार्यक्रमहरुमा बोलाउँथे तर बुबाले कहिल्यै जान दिनु भएन । तै पनि घरमा, मेला पातमा गाउथें । त्यतिकै बिहे भयो, छोरा छोरी भए । मेरो गीत गाउने रहर पनि अधुरो रह्यो । तर पनि म सँग भएको गाउने क्षमता म चिया टिप्दा यिनै चियाका बोटहरुलाई सुनाउने गर्थे, तिमीहरुलाई सुनाउने गर्थें तर मैले चियाबारीमा गीत गाएको सुनेछन् मेरा बुढाले । उनलाई मैले त्यसरी चियाबारीमा गीत गाएको कुरा मन परेनछ । एक दिन चिया टिपेर घर फर्कँदा रीसले आगो हुँदै भने “कस्लाई सुनाएकी गीत गाएर ! अब देखि गाएको सुनें भने राम्रो हुँदैन, तेरो र मेरो छुटानाम हुन्छ” । त्यसपछि मैले गीत छोडेर उनमा आत्म समर्पण गरेँ । त्यसवेला त झन् मेरो स्वतन्त्रताको नामेट नै भएको थियो ।
म त स्वतन्त्र भएर पढ्न चाहान्थें, गीत गाउन, चाहन्थें, नाच्न चाहान्थें, डाक्टर, ईन्जिनियर, पाइलट बन्न चाहान्थें, पुरुषहरु जस्तै काम गर्न चाहान्थें । तर आमाहरु बुबाहरु दाजुभाइहरु र यो समाजबाट अलि अलि गर्दै काटिंदै काटिंदै, छाटिँदै छाटिंदै गएँ । मेरा चाहाना रहर लक्ष्य र योजनाहरु अलि अलि गर्दै मैले नै थाहा नपाउने गरी छाटिँएर म यही चियाको बोट जस्तै भएँ । मैले आफ्नो बारेमा सपना देख्नै छाडें, आफ्ना लागि योजना बनाउनै नसक्ने भएँ । बुबा आमा, दाजुभाइ परिवार र समाजको इज्जतको लागि मैले मेरा ईच्छा आकाङ्क्षाहरुलाई मारें । “अब नाच्दिन म” भनेको दिन बुबाले कति धेरै माया गरेर काखमा राख्नु भएको थियो । अब देखि गाउँदिन भनेको दिन बुढोको माया पाएकी थिएँ । घरलाई श्रृंगारेको दिन घर र गाउँकाको स्यावासी पाएकी थिएँ । तल्ला गाउँकी चपेतीले माइतमै बाबुबिनाको बच्चा पाउँदा सबैले उसलाई कस्तरी थुकेका थिए, नानाभाती गाली गरेका थिए तर मैले उस्को पक्ष लिएकी थिएँ, उस्को मात्र दोष छैन भनेकी थिएँ । त्यसवेला गाउँलेहरुले मैले नै बाबु बिनाको नानी पाए झैं गरेर नानाभाँती गाली गरेका थिए । तर अर्को पटक चमेलीलाई उस्कै काका पर्नेले बलात्कार गरेछ । सबैले उही उस्ती हो भनेर चमेलीलाई गाली गर्दा मैले पनि हो मा हो मिलाएपछि सबै गाउँलेले माया गरेका थिए । यसरी अलि अलि गर्दै म पनि यही रुढि ग्रस्त समाजकै आकारमा आएकी थिएँ । यसरी जति आफूलाई दवाउँदै आफ्ना चाहाना इच्छा र रहरहरुलाई दवाएर अरुको बुबा, भाइ, परिवार र लोग्ने र समाजको ईच्छा अनुरूप गर्न थालें त्यति मलाई शुसील, संस्कारी र सुन्दर भन्न थाले । मैले बाबु, आमा, परिवार र समाजको कुरा नसुनी आफ्ना ईच्छा र रहरहरुलाई पुरा गराउन लागेकी थिएँ भने त्यही समाजले मलाई तिरस्कार गथ्र्यो, नराम्रो भन्थ्यो त्यसैले त्यो घृणा भन्दा त्यही प्रशंसाको लोभ लाग्यो । त्यसैले आफ्ना ईच्छाहरु मारेर म झन् समाजकै ईच्छा अनुरुपकी भईदिएँ । चुरा टिकामा श्रृंगारिएर घरभित्रै बसेर पिता पति र छोरो अनि दाजुभाइका ईच्छा पूरा गर्दै बस्न थालें । म अरुले देख्दा सुन्दर, शुसील, ईज्जती भएकी थिएँ । तर वास्तवमा मेरो स्वभाव, मेरो ईच्छा, रहरहरु भन्दा पनि समाजको ईच्छा र आशाहरुको थुप्रो बनेकी थिएँ । विश्वका करोडौं मान्छेहरुको स्वादको निम्ती आफ्नो स्वरुप बिगारेर चियाका सानो बुटो बन्न बाध्य यिनै चियाका बुटाहरु जस्तै समाजमा परम्परागत रूपमा चल्दै आएका रुढि नियम मान्नेहरुको स्वाद बनेर निस्कीएँ म पनि । त्यसैलाई समाजले प्रशंसा गरेको थियो । यथार्थमा त्यो म थिईन । म त घर भन्दा बाहिरको संसारमा आफ्ना कला, प्रतिभा र क्षमता प्रदर्शन गर्दै, जात भात भेद भाव र समाजका रुढी परम्परालाई चिर्दै स्वतन्त्र रुपमा बाँच्ने प्राणी थिएँ, तर मेरो त्यो रुप कसैले देख्न पाएनन् । म त समाजका ईच्छा आकांक्षाको प्रतिरूपका रूपमा रूपान्तरित भएँ । सबैले त्यही रूपमा देखे र सवैले त्यही रूपलाई सुन्दर भन्छन् तर त्यसमा म कहिल्यै खुसी थिईन, आज पनि छैन र कहिल्यै खुसी हुन्न । किनकी तिनीहरुले मेरो यथार्थ रुपलाई सुन्दर भनेका हैनन् । यदि मैले मेरो आफ्नो ईच्छा चाहानाहरु अनूुरुप व्यवहार गर्नु हो भने तिनै मलाई सुन्दर भन्नेहरुले मलाई कूरुप देख्न थाल्छन् । लबस्तरी भन्न थाल्छन् । जङ्गल देख्न थाल्छन् । बिरूप र कुसंस्कारी देख्न थाल्छन् । अहिलेको मेरो रुप यही चियाका बोटहरु जस्तै छाँटेर काटेर बढ्न नदिएर सुन्दर बनाएको चिटिक्क परेको रुप हो । मेरो असली रुप त चियाका जङ्गल जस्तो छ । बिना काँटछाँटको । स्वतन्त्र रुपमा पर पर सम्म हाँगा फैलिएर आकाश छुन लागेको चियाको बोट जस्तो । त्यसैले मलाई त्यस्तै घना जङ्गल मन पर्छ । किनकी त्यो प्रकृति हो । मलाई तीतो भएपनि सत्य मन पर्छ, बिरुप भएपनि प्राकृतिक अबस्था नै मन पर्छ । त्यसमै आनन्द लाग्छ । अरुले जति नै सुन्दर भने पनि यि चियाका बोटहरु मलाई सुन्दर लाग्दैनन् । यिनीहरुका पीडा त म मात्रै बुझ्न सक्छु होला । म यिनीहरुका कलिला मुनालाई जति पटक टिप्थें त्यति नै पटक आफ्ना रहरहरु ईच्छा सपना लहलहाउँदा मुनालाई दुई पात हुन नपाउँदै निमोठे जस्तो लाग्थ्यो । पन्ध्र वर्षमा मैले कति त्यस्ता मुनाहरुलाई टिपें होला ? आज मलाई त्यसप्रति अपराध बोध भइरहेको छ । यहाँको एउटा चियाको मुना म हुँ र यी सारा चियाका बोटका मुनाहरु सारा नेपाली नारी जाति हुन् । मेरा जस्तै यी समाजका नारीहरु कुनै न कुनै रुपमा यसरी नै चुँडिएका छन्, भाँचिएका छन्, च्यातिएका छन् र यही समाजका जिव्राहरुका स्वाद बनेका छन् । त्यसैले मैले यो चियाका मुना टिप्ने काम नै छोडेकी हुँ” भन्दै तारा दिदी त्यहाँबाट उठिन् र दुईहातले दिलु र हिमाको हातमा समातेर उठाइन अनि तान्दै हिँड्न थालिन् । उनिहरु हेराहेर गर्दै तारादिदीको हातबाट तान्निईरहे । उनले टुँडिखेल हुँदै गोलबस्तीमा भएको उन्को घरमा पु¥याईन र आँगनमा रहेको एउटा रुखलाई देखाएर भनिन् । “यो के हो थाहा छ ? हो यही हो चियाको रुख, आज भन्दा ६ बर्ष अघि मैले रोपको चियाको रुख, हेर कति ठूलो, अग्लो र झ्याम्मिएको छ ?” उनीहरु हेरेको हेरेकै भए । उनीहरुले कहिल्यै चियाको त्यत्रो रुख देखेका थिएनन् । लामा लामा हाँगा भएको, अग्लो झ्याम्म परेको, यस्तो पनि चियाको बोट हुन्छ भन्ने उनिहरुले कहिल्यै सोचेका पनि थिएनन् । दिदीले फेरि उनिहरु तिर हेरेर भनिन्“हेर मेरो त उमेर गै सक्यो, मैले अब जति नै बिद्रोह गरे पनि यो रुख जस्तो बन्न सक्दिन, तिमीहरुको त वेला छ, तिमीहरुलाई चिया टिप्न छोड त भन्दिन तर चिया टिप्तै भए पनि यो रुख जस्तो बन ती छाँटिएका चियाका बुटाजस्तो हैन ।” हिमा र दिलुले एक अर्कालाई हेराहेर गरे र त्यही चियाको रुखको फेदमा गएर एउटा हातले रुखलाई समाएर अर्को हात कम्मरमा राखी दुई तिर उभिए । तारा दिदीले मोवाइलको क्यामेरा झिकेर एक क्लिक हानिन् ।
भद्रपुर न.पा.१५ झापा

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 29 श्रावण, 2072

लेखकका अन्य रचनाहरु