उऋण

- सानु शर्मा

आधारात घर्की सकेकोछ तर म अझै च्याटमा ब्यस्तछु । भोली बिहानै ५ बजे उठेर काममा हिड्नुछ तर उसका कुराहरु अझै सकिएका छैनन । म आफैलाई पनि कुरा टुड्•याउन मन छैन तर केही घन्टा पछी तयार भएर काममा हिडनु पर्ने बाध्यताले घरी घरी मन छडकाई रहेकोछ ।
" सुनन यूबिन, म भोली कुरागर्छु नि है ? आज..."
"तिमी लाई अचेल मसँग कुरैगर्न मनलाग्दैन, मलाई थाहाछ ।" उसले गुनासो गऱ्यो मेरो कुरा पुरा नहुँदै । मेरो मन कटीयो । हरे ! कस्तो कुरा नबुझीदिएको होला?
"त्यसो नभनन यूबिन, मेरो भोली चाँडैको सिफ्टछ । २-३ घन्टा पछी काममा जान उठनुपर्छ । एकैछिन नसुती.."
"उ, मैले भनिहालें नि, अचेल तिमीलाई मसग कुरागर्न भन्दा निन्द्रा प्यारो लाग्छ । जाउ, जाउ गएर सुत । अब म डिस्टर्भ गर्दिन तिमीलाई ।" उताबाट डिसक्नेक्ट गऱ्यो उसले । मैले कति कोशिश गरें तर उ अफलाईन भैदियो । मोबाइलमा फोनगरें त्यो पनि स्विच अफ थियो । मन मारेर म ओछ्यानमा पल्टीएँ ।
१० बर्ष देखी म यो बिरानो देशमा रगत र पसिना बेचि रहेकोछु । आउँदा राम्ररी अठार बर्ष पनि पुग्न भ्याएको थिईन तर अहीले २८ बर्षकी परिपक्व युबति भैसकेकी थिएँ म तर मन अझै पनि १७-१८ बर्ष कै थियो मेरो । मेरो बाध्यता दिमागले बुझे पनि मनले नकारी दिएको थियो सायद बुझ्न । त्यसैले त यो सपना देख्न सक्थ्यो । बिश्वाश गर्न सक्थ्यो । मायाँ गर्न सक्थ्यो अझै पनि ।
१२ क्लासमा एकदमै राम्रो मार्क्स ल्याएर उतृर्ण भएको बदलामा मेरो बाबाले मेरो अष्ट्रेलीया आएर नर्सिड• पढने धोको पुरा गरिदीनु भएको थियो, आफ्नो हैसियत भन्दा बाहीर गएर । म बाबाको बिश्वाशिलो, भरपर्दो छोरी थिएँ । आमा कराउनु हुन्थ्यो -" छोरीको जात, धेरै टाउकोमा नटेकाउनुस । केफाईदा यत्रो रिन धन गरेर बिदेश पढन पठाएर? भोली एउटाको पछीलागेर हिडीहाल्छे क्यार ? कस्ले तिर्छ यसले लगाएको रिण ? छोरा भए पो ?"
" यसैले तिर्छे । तँ हेरीराख, सुख दिन्छे, पाल्छे यसले तँलाई, मलाई ।"आमा ओठ लेप्राउनुहुन्थ्यो बाबाको कुरा सुनेर ।

मध्यबर्गीय परिवारको
बाबाको सपना पुरा हुनसकेको थिएन त्यसैले पनि होला वहाँले मेरो सपना पुरा गरीदिनुभयो, आफ्नो सारा जिबन भरिको कमाई, आफ्नो भएको एउटा घर धितो राखेर । आमाले रुवाबासी नै गर्नुभयो । बैनिले सुद्धा "भए जति सबै दिदी कै लागी ख़र्च गरेर मेरो लागी के नि ?" भनेर गनगन गरी । तर बाबाले कसैको कुरा सुन्नुभएन ।
"यो अरु जस्ती छैन । यसले हाम्रो दुख बुझेकीछ । यसलाई राम्ररी पढीहाल्न दे, यसले सबैको हेर बिचार गर्छे ।" वहाँ बारंबार भन्नुहुन्थ्यो तर आमा करकर गर्न छोडनुहुन्थेन । हुनपनि बाबाको अलि बढीनै भरोषा र बिश्वाश थियो ममाथी थाहाछैन किन ?

बाबाले हरेक कुरामा मेरो पक्ष्यलिन थालेपछी अामा र बहीनी झन झन मेरो बिरुद्ध हुन थाले । उनिहरु बात बातमा मलाई 'बाउकी साख्खै' भनेर भन्थे ।
जे होस जसरी होस बाबाले मेरो अष्ट्रेलीया जानको लागी सबै कुरा मिलाउनु भयो । समय सँगै भिषा पनि लागेर आयो । बाबा दंगदास पर्नुभयो । आमा र बहीनी, खासगरी बहीनीको अषंतो र गुनासो चरम सिमामा पुग्यो । मेरा सामानहरु प्याक भए । म हिड्न ठिक्क परेँ । अघिल्लो दिन बाबाले मलाई पसुपती लिएर जानुभयो । दर्शन गरी सकेर हामी पारीपटीको बेन्चमा गएर बस्यौँ । निक्कैबेर बाबा मेरो हात थामेर त्यतिकै बसिरहनुभयो । मलाई थाहाथियो वहाँ मसँग कुरा गर्न चाहनुहुन्थ्यो तर हिचकिचाई रहनु भएको थियो । मैले वहाँको सजिलोकोलागी बिस्तारै भने-" बाबा मैले सबै बुझेकोछु । म घरको रिण नतिरे सम्म, बहीनीको पढाई नसकिए सम्म आफ्नो लागी गाँस र बास भन्दा अरु केही सोच्नेछैन । कसम बाबा म तपाईले ममाथि गरेको बिश्वाशलाई लज्जीत हुन दिनेछैन । म तपाईको बोलीको मानकोलागी आफुलाई, आफ्नो मनलाई बिर्षीएर आमा र बहीनीको सबै आबश्यकता पुरा गर्नेछु ।" बाबाले निक्कै बेर टाउको उठाउनु भएन । मेरो हात दरोसँग थामेर वहाँ त्यसरी नै बसिरहनुभयो ।
"मलाई तँ माथी भरोषाछ नानु ।" वहाँले उठेर हिड्नु भन्दा पहीले बिस्तारै भन्नुभयो-" छोरा छोरीलाई केही दिएको बदलामा केही माग्नु उचित त होईन, म माग्दा पनि माग्दीन म जिउँदो रहुन्जेल तर यदी मलाई केही भईहालेछ भने आफ्नो कसम नबिर्षनु । आमा र बहीनीको ख्याल राख्नु । उनिहरुको आसंकालाई सत्य बन्न नदिनु ।उनिहरुले भनेझै मेरी छोरी भएर देखाउनु ।"

भोली पल्ट म गरुंगो मन लिएर अष्ट्रेलीया हिडेँ । मलाई छोडन एयरपोर्ट आउनुभएको बाबाले मेरो हात समातेर कातर स्बरमा भन्नुभयो "- कुसुम ! मैले कुनै कर काप र दबाबमा केही गरेको होईन । तँ मेरी लायक छोरी होस तैले कहील्यै कुनैकुराको ज़िद्दी गरीनस । सधैँ हामीले भनेको सुनिस, मानीस । तेरो यो एउटा ईच्छा मैले स्वईच्छाले पुरा गर्ने कोशिश गरेको मात्रहुँ । तँ मनमा कुनै बोझ नराख । आमा र बैनिको कुराले चित्त नदुखा । जसले जे भनेपनि तँलाई बाहीर पढन पठाउने ईच्छा मेरो पनिहो त्यसैले मनलगाएर पढ़ । म सधैं तेरो साथमाछु ।"
म हक्कानिएर वहाँको छातीमा टासिएँ । त्यो दिन एउटा गरुंगो ज़िम्मेवारीको बोझ आफुमाथि अनुभब गर्दै म बाबासँग अलग भएँ । बाबाको भरोषा र बिश्वाशको उठाउनै नसक्ने बोझ !!!

कलेजमा राम्ररी ब्यबस्थीत हुन पनि भ्याईसकेको थिईन कि अष्ट्रेलीया आईपुगेको पाँचौ दिन नेपालबाट बाबाको मृत्युको बिभत्स खबर आयो ।
"तेरो कारणले ।" आमाले अलाप बिलाप गर्दै फोनमा भन्नुभयो-" तैँले गरेर नै वहाँको मृत्युभयो । तैँले अष्ट्रेलीया जाने ज़िद्दी नगरेकोभए यो सब हुन्थेन । रिणको बोझ, तेरो फिस तिर्ने चिन्ताले नै वहाँलाई हृदयघात भयो । तैँले गरेर ।"
यो नाजायज़ आरोप थियो । मैले आजसम्म कुनै कुराको ज़िद्दी गरेकी थिईन वहाँहरुसँग । बाहीर पढन जान चाहेको कुरा मात्र त गरेकोथिएँ मैले बाबासँग, ज़िद्दी त परै जाओस, ईच्छा ब्यक्त गर्न पनि डराउँथेँ म त । तर मैले त्यसबेला केही भन्नसकीन । चुपचाप बहीनीको, आमाको हरेक आरोप सुनिरहेँ ।
त्यस पछिका कैयौँ दिन म आफुले गर्दै नगरेको अपराधबोधमा आफैँलाई सरापी सरापी रोएँ ।
"अब कसले फिस भर्छर पढछेस? खुरुक्क घर आईज । यहीँ कुनैकाम खोज । घर निखन्न पऱ्यो, बहीनी पढाउन पऱ्यो । तँ घरकी जेठीबाठी छोरी खुरुक्क घर आईज ।" आमाले हुकुम जारी गर्नुभयो ।
आमाले फोन राखेको घन्टौं सम्म म बिलौना गरीगरी रोएँ । रुदै रुदै सबै सामान समेटेँ । टिकट बुक गर्न फोनगर्दा मनले भन्यो ' ६ महीनाको फिस तिरीसकेकोछ । यो टिकटको पैसामा अलीकति पैसा थपे अर्को सेमेस्टरको पैसा तिर्न पुग्छ । घर फर्केर पनि के गर्छु म ? बार क्लास पास गरेकी मैले काहाँ खोज्छु घर निखन्न पुग्ने पैसा कमाउने जागीर ?' मैले नेपाल नफर्कने निदोगरेँ ।आमा फोनमा तथानाम आरोप लगाउँदै मलाई गालीगरीरहनुभयो, घर फर्कन दबाब दिईरहनुभयो तर म फर्कीन ।

सातै दिन केबल पानीले पाउरोटी निलेर म १८-२० घन्टा, भेटेजति काममा खटीन थालेँ । सबैभन्दा सस्तो बस्नेठाउँ र सबैभन्दा सस्तो खानामा बाहेक म आफ्नोलागी एक सेन्ट ख़र्च गर्थिन ।
फिसको पैसा जम्मा भएको दिन मैले पहीलो पल्ट एक बोतल जुस किने र आँशु सगैँ पिएँ ।

घरमा पहीलोपल्ट पैसा पठाएको दिन मैले याहाँ आएदेखी पहीलो पटक राम्ररी खानाखाँए । नशालागे झैं लाग्यो त्यो खाना मलाई ।

घर पैसा पठाउन सुरु गरेपछी आमाको आरोप र गाली त कम भयो तर माँग दिन प्रती दिन बढन थाल्यो । साथमा बहिनीको पनि । उनिहरुलाई कुनै पर्वाह थिएन कि म उनिहरुको माँग कसरी पुरा गर्थे, बस माँग पुराहोस त्यसैसँग मतलब थियो उनिहरु लाई ।

दिनहरु बित्दैगए । म उस्तै रुपमा काम गरीरहेँ । फिस र आफ्नो एकदमै सिमीत ब्यक्तीगत ख़र्च बाहेक अरु सारा पैसा म घर पठाउँथे तर बदलामा आमाको दुई बचन मिठो सुन्न पाउँथिन ।

म याहाँ आएको तेस्रो बर्षको अन्त्यतिर आमाले बहिनीले मेडिकलको पढ़ाई सुरुगरेकोले अझै बढ़ी पैसा पठाउने आज्ञा दिनुभयो ।
"तर आमा डॉक्टरी पढन कम पैसाले त पुग्दैन, म कसरी..."
"तलाई त्याहाँ जान पनि त कम पैसा लागेको थिएन नी ? त्यही पैसाको पिरले तेरो बाबा बित्नुभयो । वहाँको ज्यान भन्दा पनि महँगो छ र डॉक्टरी पढ़ने फिस ? तेरो ख़र्च पुऱ्याउन घर बन्धक नराखेको भए म त्यही बेचेर भएपनि पढाउँथे उसलाई तर..."
मैले चुपचाप फोन राखीदिएँ । मेरो बिरोधको कुनै अर्थ थिएन ।

दिन, महिना, बर्ष बिती नै रहे त्यसपछी पनि, तर मेरो दिनचर्यामा कुनै बिविधता आउन सकेन । मरुन्जेल काम गर्नु, आमा र बहीनीका जायज़, नाजायज़ माग पुरागर्नु, पैसा कमाएर पनि हरेक कुराकोलागी कल्पीदै बाँच्नु । यही थियो मेरो दिन चर्या ।

पढ़ाई सकियो । रेसिडेन्ट भएँ म । यो खुशिको ख़बर आमालाई सुनाएर पुलकित हुँदै मैले भने-" आमा ! अब घर आउँछु म ।"
"त्यत्रो पैसा ख़र्च गरेर किन आउनुपऱ्यो ? बरु टिकटमा ख़र्च गर्ने पैसा याहाँ पठाईदे, बहिनीलाई एजुकेसनल टुरमा जान पुग्छ ।" आमाको जबाफ थियो । मैले वहाँको त्यो जवाफ पनि पचाएँ । म घर गईन ।

मेरो पोस्ट ग्य्राजुएसन सकियो । नेपाल छोडेको सात बर्ष बितीसकेको थियो । राम्रै पैसा कमाउँथे म त्यती बेलासम्म । नर्सिड• गर्नेलाई कामको कमी थिएन यहाँ । म एउटा असल नर्स थिएँ । मेरो कामसगँ सबै खुशिहुन्थे । पेसेन्टहरुको फ़ेवरेट नर्स थिएँ म । मेरो कामको बोझ कम भएको थिएन । न नै कमाएको लगभग सारा पैसा घर पठाउने क्रम ।

आमाले घर निखन्नु मात्र भएकोथिएन, तला थपेर भैँतले घरलाई साढेँ तिनतले बनाउनु भएको थियो । सबै भन्दा माथिल्लो तलाहरुमा आफुहरु बस्नु हुन्थ्यो बाँकी दुईतला भाडामा लागेका थिए । यो बर्ष त बहीनीको पढ़ाई पनि सकिदै थियो । तर मेरो आमाको माग आज पनि उस्तै थियो ।

एउटा मैँ थिएँ जसमा कुनै परीबर्तन आएको थिएन । म कामले खिईएर झनै सानो, मरन्च्याँसे हुँदै गएकोथएँ । मसग आज पनि नेपाल बाट आउँदाको त्यही एउटा सुटकेस थियो । तिनै खुईलीएका, धसिएका, उिध्रएर, च्यातीएर सिलाईएका पुराना लुगाहरुथिए । आउने बित्तीकै काम खोज्ने क्रममा एकजना नेपालीसगै किनेको सेकेण्ड ह्याण्ड मोबाईल थियो ।
आज पनि म कैयौँ जनासँग सेयर गरेर बस्थेँ । आज पनि मेरा कोही साथि थिएनन् । आज पनि म एउटा बर्गर किनेर खानुभन्दा पहीले ५ फेर सोच्थे र गिल्टी फिलगर्थे आफुमाथि ख़र्च गरेको प्रत्येक सेन्टकोलागी ।

बहिनीले ईन्टर्न गर्न सुरु गरेपछी मैले एउटा ल्यापटप किने । यहाँ आएदेखी यो नै सबैभन्दा ठुलो रक़म थियो मैले आफ्नोलागी ख़र्च गरेको । कतीदिन म अपराधबोधले ग्रस्त भैरहेँ त्यतीका पैसा आफुमाथि ख़र्च गरेकोमा ।

यही त्यो समय थियो जब मैले यूबिनलाई भेटेथेँ फ़ेसबुकमा । मजस्तो आफैँमा सिमीत, ब्यस्त मान्छे कसरी कसैसग नजिकीन सक्थ्यो, त्यो त यूबिन नै थियो जसले मलाई बसमा गरेको थियो ।
सामान्य चिनजानमा मैले आफ्नो सही नाम भन्नसकीन उसलाई, पछी मलाई कुशा, आफ्नो फ़ेसबुके नाम कै बानि पर्दै गयो तथापि उसग झुठो बोल्ने, उसलाई ढाटने मेरो कुनै उद्देश्य थिएन ।

फ़ेसबुकमा फेक आई डी देखाउनुको अरुको जे उद्देश्य भएपनि मेरो उद्देश्य एउटै थियो, अामा र बहीनीको आँखामा नपर्नु । आमा र बहीनीको डर ले मैले आफ्नो सही नाम सम्म राख्न सकेको थिईन त्याहाँ । मलाई यही डर थियो की मेरो फ़ेसबुक अकाउण्ट देखेर उनिहरु यो नसोचुन की म उनिहरु देखी उदासीन, फ़ेसबुकमा रमाई रहेकोछु । यही कारणले मैले फ़ोटो कहील्यै राखिन आफ्नो प्रोफ़ाईलमा ।

लगभग दुई बर्ष उसँग गफ गर्दै बित्यो । गफ त उही गर्थ्यो म त बस सुन्थेँ । सुनेर मोहित हुन्थेँ उस प्रती । एकदमै कम बोल्ने मलाई उसका कुराले एउटा छुट्टै संसारको सपना देखाउँथ्यो, जाहाँ कुनै जिम्मेबरी हुन्थेन । अभाब हुन्थेन । आरोप र अपराधबोध हुन्थेन ।
उ मलाई " नेपाल आउ, अनि बिहेगरेर सेटल हौँ" समेत भन्न भ्याउँथ्यो अनि म कल्पनामै उसँग बिहेवारी गरेर, एउटा छुट्टै घर संसारमा, उसका छोराछोरीकी आमा सम्म भएको अनुभब गरिसक्न भ्याउँथेँ । मेरो निस्छल मन, कुमारी भाबना र सरीर हरेक रात उसका कल्पना र सपनाहरु सँग बिटुलीन्थे । म मनले आफुलाई उसकी भैसकेकी मान्थेँ । यो मुर्खता थियो मेरो तर म जस्तो जिबन बिताई रहेको ब्यक्तीको लागी यो मुर्खता बाँच्ने उद्धेश्य बनिदीएको थियो ।

जाहाँ आमा र बहीनीको लागी म आबश्यकता पुरा गर्ने एउटा साधन मात्र थिएँ, त्यँही यूबिनकोलागी हाड़ छालामा बेरीएको एउटा शुन्दर आत्मा । उ मेरो खोज खबर राख्थ्यो । खाए न खाएको सोध्थ्यो । थाकेको न थाकेको चिन्ता गर्थ्यो । निन्द्रा नपरे लोरी समेत गाउँथ्यो उ मेरोलागी, जुन की मेरी आमाले मरोलागी गरेको मलाई यादै थिएन । उसको मिठो, मनमोहक कुरा गराईमा मलाई मेरो बाबाको कुराको महक र स्पर्ष याद आएझैँ लाग्थ्यो ।
म उसलाई पनि पैसा पठाँथेँ, जसकोलागी अझै धेरै काम गर्नु पर्थ्यो मैले । हुनत उ मसँग पैसा माग्थेन तर जब उ उसका रहरहरु, आबश्कताहरु सुनाउँथ्यो, म पैसा पठाई दिन्थेँ । एक्ट्रा सिफ्ट काम गरीगरी । उसको ४-५ लाखको बाईकको रहर, उसको महँगो मोबाइल र ल्यपटपको रहर, महँगा रेस्टोरेंट र लुगाहरुको रहर सबै पुरा गरीदिन्थे म उसलाई आफ्नै मानेर ।

त्यो दिन मैले आमालाई फोनगरेँ । म बहाँसग यूबिनको बारेमा कुरागर्न चाहन्थेँ तर मैले 'हलो' पनि राम्ररी भन्न न भ्याउँदै वहाँले भन्नुभयो-" म फोन गर्नै लागेको थिएँ तँलाई । राम्रै भयो तैले गरीस ।" वहाँले मेरो हालखबर सोध्ने औपचारिकता सम्म पुरा नगरी एकनास सँग भन्नुभयो -" मैले कबिताको बिहे छिनीदिएँ । अब बिहेको तयारी गर्न पऱ्यो अर्को त को छ र अरु, तँ र मैँ त हो ? अर्को महिनाको अन्तीममा कबिताको अमेरीकाको फ़्लाइटछ । त्यो भन्दा पहीलै केटाहरु बिहे सकाउन चाहन्छन । तँ पैसा पठा, म याहाँ तयारी सुरुगर्छु, बरु अली चाँडैगर है !"
म केही बोल्न सकिन । कविता MD गर्न अमेरीका जाँदैथिई, त्यो मलाई यसकारण थाहाथियो कि त्यसको तयारीकोलागी मैले पैसा पठाएको थिएँ । तर बिहे ? यसरी? अचानक? मेरो भन्दा पहीले ? मलाई भाउन्न छुट़्यो । के मतलब थियो मेरो, उनिहरुको आँखामा ? के म साँच्चैनै पैसा छाप्ने मेसीन भन्दा बढ़ी अरुकेही मान्यता राख्थीन त्यो परिवारमा ? सधैँ पैसा चाँहीदा आमा मलाई 'तँ परिवारको जेठीबाठी छोरी, तैले नगरे कस्ले गर्छ ?' भन्ने गर्नुहुन्छ । त के यतिबेला, यति महत्वपुर्ण निर्णय गरिँदा म परिबार की जेठीबाठी छोरीलाई सम्मिलित गराउन ज़रूरी थिएन ?
अचानक मलाई बाबासँग रिस उठ्यो त्यतिबेला । मैले काठमाण्डौ छोडेको दिन देखि वहाँ हरेक रात मेरो सपनामा आउनुहुन्छ । दरोसँग मेरो हात थामेर यसरी मसँग बस्नुहुन्छ की मानौ म जिउँदो हुँदा सम्म छोड़्नुहुनेछैन वहाँले मेरो हात । किन ? ताकी म वहाँको रिण तिर्नबाट न पन्छीउँ ? वहाँले छोडेको वहाँको परिवारको ज़िम्मेवारी उठाउँ नछोडौ ? नत्र किन छोड्नुहुन्न वहाँ मेरोहात ? किन मुक्त गर्नुहुन्न मलाई यो बोझबाट ? बोझै त थियो यो ? जसलाई म सकि न सकी बिगत १० बर्ष देखी आफुमाथि लादी रहेकोछु । यदी यो बोझ नभएको भए सायद मेरो परिवारको महत्वपूर्ण निर्णयमा म पनि सम्मिलित गराईन्थे होला । मलाई अनायास रुन मनलागेर आयो ।
म निक्कैबेर नबोलेपछी आमाले भन्नुभयो -"सोच्न त मैले तेरो बिहेको सोचेथेँ तर कबिता र युवराज डेढ़ बर्षदेखी एक अर्कालाई चिन्छन, एक आर्काको नजिकछन । केटो राम्रो घर परिवारको र भलादमीछ । अहीले बिहे नगरे भोली के होला होला, तेरो बिहे त गर्दै गरौलानी । केटापनि त खोज्नैछ ।"
२९ बर्ष की भैसकेँ म, वहाँलाई अझै कुनै हतार छैन मेरो बिहेको तर मभन्दा अढाई बर्ष सानि बहीनीको बिहेको हतार छ वहाँलाई । के म साँच्चै नै कुनै महत्व राख्दीन वहाँको आँखामा ? यदी यस्तोहो भने मलाई के जरुरीछ वहाँको लागी यसरी खटीई रहन ?
" घर आँउदैछु म अर्को हप्ता ।" मैले दृढ़ स्वरमा भने ।
"किन आउनु पऱ्यो अहीले ? टिकटमा किन तेत्रो पैसा ख़र्च गर्नु पऱ्यो ? म बिहेको डीभीडी पठाईदिउँला । तँ काम छोडेर नआईज । कबितालाई अमेरीकामा सेटल हुनदिहाल, यता म केटा हेर्दै गर्छु तेरोलागी । अर्को बर्ष तिर हेरौँला ।" आमाले सँधैझै हुकुम दिनुभयो ।
मलाई भएभरको सक्ती बटुलेर चिच्याउन मनलाग्यो " भो, नखोज्नुस मेरोलागी केटा, त्यो एक चिज पनि किन गर्नुहुन्छ मेरोलागी ?" तर मैले केहीभन्नुभन्दा पहील्यै वहाँले 'छिट्टो पैसा पठाईहाल नत्र ढिलाहुन्छ' भन्दै फोन राखीदिनुभयो ।
त्यो दिन म बाबा मरेको बेलामा भन्दा धेरै रोएँ । बाबा बित्दा सयद मलाई यो ढाडस थियो की मेरो आमा र बहीनी अझै मेरो साथमा थिए तर आज मलाई आफु सम्पूर्ण अनाथ भएझै लाग्यो । हिजो सम्म गरेका ति अनगीन्ती संघर्षले आज थकाएझैँ लाग्यो । ति भोको पेट, असुरक्षित महसुस गर्दै अनगीन्ती मानीसहरुसँग सेयर गरेको कोठामा बिताएका आधा अधूरा रातहरुले आज तर्षायो मलाई । आफ्नोलागी मारेर राखेको मन र रहरहरुले गिज्यायो मलाई आज । मैले नेपाल जाने निधो गरेँ ।

त्यो रात आफ्नो निर्णय यूबिनलाई सुनाउनु भन्दा पहील्यै उसले दुखद ख़बर सुनायो, गाउँमा उसकी हजुर आमा बितेको ख़बर । मैले केही भन्नै सकिन ।
"कुशा !" उसले गम्भीर स्वरमा भन्यो-" मलाई थाहाछैन त्याहाँ कति समय लाग्छ ? मेरो ड्याडी एक्लो छोरो हो वहाँको त्यसैले अर्को बिकल्प छैन । गाउँमा इलेक्ट्रिसीटी पनि छैन त्यसैले म त्याहाँ बस्दा सम्म तिमीसँग सम्पर्क गर्न सक्दीन तर म गाउँबाट निस्केर तिमीलाई कन्ट्याक्ट गर्ने कोशिश गर्नेछु । फोन गर्न कोशिश गर्नेछु । हुनत सारै महँगो होला त्यसरी फोन गर्न तर..."
"तिमी चिन्ता नगर यूबिन, म पैसा पठाई दिन्छु भोली बिहानै ।" मैले भने ।
" तिमीलाई अफ्ट्यारो त हुन्न कुशा ? मन त लाग्दैन तिमीसँग यसरी पैसा लिन तर..."
" मलाई केही अफ्ट्यारो हुन्न यूबिन, तिमी राम्ररी गएर आउ त्यसपछी कुरा गरौँला । मलाई तिमीसँग केही भन्नु पनि थियो, तिमी फर्केर आउ अनि भन्छु । फोन गर्न नमिले केही छैन तिमी आफ्नो ख्याल राख ।" मैले भने । निक्कै बेर मेरो चिन्ता गरेर अलग भयो उ ।

भोली पल्ट मैले उसलाई पैसा पठाईदिएँ । गाउँ हिडनु अघि उसले फोन गरेर पैसा पाएको कन्फर्म गऱ्यो साथमा मलाई आफ्नो ख्याल राख्न आग्रह गर्दै उ बिदा भयो । मैले कबिताको बिहे भन्दा २ दिन अघिको काठमाण्डौको टिकट बुकगरेँ अनि पाए जतिको, भ्याएजतिको काम गर्न लागी परेँ । यतिबेला त म यूबिनसँग कुरा गर्ने समय पनि काममै लगाउन सक्थेँ ।

दश बर्ष भन्दा पनि लामो अवधी पछी काठमाण्डौ एयरपोर्टमा ओर्लदा एकै क्षण त जिल्लीएँ म । मैले आफुआउने कुरा गरेको थिईन घरमा । बिना सुचना त्यसरी आएकी मलाई आफ्नै घर खोज्न हम्मे पऱ्यो । बस्ती बाक्लीएर गजमज्ज सहर मै परिणत भएको थियो । त्यसमाथि मेरो घर पुरानो घर काहाँ थियो र अब ? त्यो सान्दार घरको त मैले कल्पना सम्म गरेको थिईन आफ्नो घरको रुपमा । सोध्दै खोज्दै गएर मैले घरको बेल बजाएँ । एउटी अधबैसे आईमाईले ढोका खोलीन । पछी थाहापाएँ उनि घरको काम धन्दा सघाउन राखिएकी रहिछन बर्षौं देखी ।

घरमा बिहेको चहल पहल धुमधामका शाथ सुरु भैसकेको थियो । त्यो घरको चमक दमक त्याहाँकामान्छेको रहन सहन, पत्याउनै गाहारो थियो की त्यो एउटा मध्यवर्गीय परीवार थियो ।
आमा र कबिता दुबै खासै खुशि भएनन मलाई देखेर । बाँकी अरु कसैले त मलाई चिन्दा पनि चिनेन । कामको बोझले थिचिएर म उमेरसँगै ठुलीहुनु भन्दा झनै सानी भएथेँ । मेरो तुलनामा कबिता अग्ली, मच्योर र शुन्दर देखिन्थी । हाड़ र छालामात्रकी म त त्यो भिडमा देखिँदा पनि देखिन्नथेँ र सायद आमा र कबिता पनि म नदेखिएकै रुचाउँथे ।

आएको केही घन्टा बित्दा नबित्दै मलाई पछुतो लाग्न थालीसकेको थियो याहाँ आएकोमा ।
साँझमा निम्तो लिएर जानेबेलामा म पनि जान तम्सीएँ ।
" तँ किन जानुपऱ्यो ?" आमाले अप्रिय भाबले भन्नुभयो ।
"म पनि त हेरौँ मेरो हुनेवाला ज्वाई ।" मैले तथस्ट स्बरमा भने । कबिता र आमाले आँखै आँखामा मंन्त्रणागरे । आमाले भन्नुभयो-" भोली देखिहाल्छेस नी । तँ जेठी सासुले जान हुन्न निम्तो लिएर ।"
"कसले मान्छ आजकल यस्तो कुरा ?" मैले आफ्नो ज़िद्दी छोडीन -" म नभनौला नी कबिताको दिदी हुँ भनेर ।" कबिताको अनुहारको रंग फेरीयो । मैले ज़िद्दी नछोडेपछी आमाले मलाई तानेर अर्को कोठामा लग्नुभयो अनि कबिताको एउटा झीलीमिली साड़ी लगाउन दिनुभयो । तर मैले त्यो लगाउन मानिन । अरुबेला भए मलाई कुनै आपत्ति हुन्थेन तर यतिबेला म उनिहरुको ब्यबहारले यती दुखेको थिएँ की उनिहरुले भनेको बिरुद्ध गएर एककिसिमको खुशि महसुस भैरहेथ्यो मलाई ।
म आफ्नो त्यही पुरानो धुरानो लुगामै जान तयार भएँ ।

बेहुलाको घर देखेर झन तिन छक परेँ म । साईडमा दुई वटा महँगा गाडीहरु पार्क गरीएका थिए । एक पटक त गर्व पनि लाग्यो की मेरी बहीनी यति राम्रो घरमा बुहारी बनेर भित्रीदैछ । केटाको बाबु आमाले हाम्रो भब्य स्वागत गरे ।कती राम्रो घर । कती शुन्दर परीवार । कती भाग्यमानि मेरी कबिता । मेरो मनबाट मानौ सारा अफ़सोस र गुनासो पुछीयो । केटाकी आमाले गएर छोरालाई लिएर आईन । म हेरेको हेरै भएँ । कती शुन्दर र सभ्य देखिन्थ्यो उ । कति राम्रो ब्यक्तीत्व । बिगत दुई बर्ष देखि मैले मेरो कम्प्यूटरको स्क्रीनमा, फेसबुकमा देखीरहेको भन्दा सर्बथा भिन्न देखिन्थ्यो उ ।

"हजुर आमा मरेको दुई महिना पनि नपुग्दै बिहे गर्न मिल्छ तिम्रो कास्टमा, यूबिन ?" मैले टिका थाप्न ठिक्क उसको सामु गएर बिस्तारै भने । उसको अनुहार बिवर्ण भयो । उसले आतंकीत भाबले म तर्फ हेऱ्यो । म ब्यड्ग• पूर्वक मुस्कुराएँ ।
"को यूबिन ?" छेउमा बसेकी उसकी आमाले भनिन-" तिमी को हौ ?"
"छोरालाई सोध्नुस, उसले के भनेर चिनाउँछ तर यदी मलाई सोध्नुहुन्छ भने, म तपाई की फ़ेसबुके बुहारी, जोसँग तपाईको छोरो बिगत दुईबर्षदेखि बाँधिएकोछ ।" म फ़रक्क फर्कीएँ र बाहीर निस्कीएँ ।
यत्रो धोका ? कती पतन भएको समाज यो ? केबल मन बहलाउन, फाईदा उठाउन कसैले म जस्तो सरल मन भएको मान्छेलाई कसरी प्रयोग गर्न सक्छ ? तर फेरी टाठा बाठा कहाँ ठगीन्छन र ? म जस्तै भावनात्मक साहाराको खोजिमा भौतारी रहेकै मान्छे त ठगीन्छन । यदी घर परीवारको शाथ र सहयोग भएकोभए किन ठगीन्थेँ होला म त्यती सहजै ? दुई शब्द मायाँ र सहानुभूतिको सुन्न ब्याकुल म उसका ति मन छुने मिठा कुराहरु मै त बाँधिएको थिएँ ।

"यो बिहे हुँदैन ।" घरमा पस्ने बित्तीकै मैले घोषणा गरेँ ।
"होईन के भन्छे यो ?"आमाले मलाई तानेर अली छुट्टै कुनातिर लग्दै भन्नुभयो-" बहुलाउन त बहुलाईनस ?"
"मलाई अरु केही थाहाछैन, तर त्यो केटासँग कबिताको बिहे हुदैन ।"
"तैले भनेर ?" पछीपछी आएकी कबिताले च्याँठिदै भनि-" एक डेढ बर्ष देखी हामी एक अर्कालाई चिन्छौ, मन पराउँछौ, यो कुरो आमालाई पनि थाहाछ । अब अहीले आएर तैले भन्दैमा किन हुन्न मेरो बिहे ?"
"किन की दुई बर्ष देखी उ मसँग फ़्लर्ट गरीरहेकोछ फेसबुकमा । तँलाई चिन्नुभन्दा पनि पहीले देखि मसँग बिहेगरेर सेटल हुने सपना देखाई रहेछ उ मलाई ।" मैले नचाहँदा नचाहँदै मेरो स्वरमा तिक्तता मिसीयो-" मेरो एक्लोपन र भवना सँग खेलाँची गरीरहेछ उ । मेरो रगत पसिनाले भिजेको कमाईमा मोज गरीरहेछ उ । सबै भन्दा असहीय, मेरो पवित्र मनसँग बलात्कार गरिरहेछ उ लगातार ।"
"झुठ !" उ कराई-" युबराज बस्नेत जस्तो धनि मान्छेलाई पैसाको के खाँचो ? अनि म जस्तो गर्लफ्रेण्ड हुँदाहुँदै गर्छ होलानि खुब तँसग त्यस्तो कुरा ?"
"किन ? तँ सँग गर्ने कुरा म सँग किन गर्न सक्दैन उसले ?" मेरो स्वर चिसो भयो ।
"एेनामा अनुहार हेरेकी छस आफ्नो ? कँही नपाएर तँसँग बिहे गर्छु भन्छ होला नी उसले ? मेरो राम्रो घरमा, राम्रो केटासँग बिहेहुन लागेको देख्न नसकेर भनेकी होस तैले, मलाई थाहाछ मेरो रिस..." मैले कसेर एक झापडलगाएँ उसको गालामा ।
"तेरो रिस ? कुन कुरामा बेटर छस तँ म भन्दा ? के छ तँ मा रिस गर्न लायक ? यो चमक दमक ? त्यो मेरो बुताको । तेरो डॉक्टरको डिग्री ? मेरो पसिना होईन रगत बेचेर कमाएको पैसाले आर्जेको । यदी यो सब नहुँदो हो त फर्केर हेर्ने थिएन उसले तेरो अनुहार ।"
"चुपलाग !" आमाले भन्नुभयो"- यहीगर्न आएकी तँ याहाँ ? बिहे गरेर जान लागेकी बहीनीको मन दुखाएर ।"
"अनि मेरो मन नी आमा ? यो त दुखेको मात्र होईन दुख्दा दुख्दा कुहीसकेकोछ बाबा बितेदेखी ।" मैले कातर स्वरमा भने-" कुनै दिन एकै पलकोलगी मेरो मनको बारेमा पनि सोचेर हेर्नु भयो तपाईले ? हेर्नुस मलाई, यो मेरो जिउमा भएको लुगा त्यहीहो जुन याहाँ बाट जानु अघी बाबाले किनी दिनुभएको थियो । आज दश बर्ष पछी पनि त्यही लगाउँदैछु म । तपाईहरुको यत्रो सान सौकतको ख़र्च भर्न सक्ने मैले यदी चाहेकोभए के गर्न सक्थीन आफ्नोलागी ? तर मैले त आजसम्म आफुलाई मनलागेको खानेकुरा सुद्धा खान सकिन । आमा ! तपाई हरुको रिण तिर्ने कोशिशमा मैले त बाँच्नै बिर्षिदीएँ तर मैले तपाहरुबाट एक शब्द साहनुभुतीको सुनिन ।" म कबिता तिर फर्कीएँ-" केही छैनस तँ मेरो तुलनामा किन की तँ अर्को सात जन्म कोशिश गरेर पनि म बन्न सक्दीनस । म सँग जे छ त्यो तँसग कहील्यै हुनेछैन त्यसैले मलाई तँसग रिस गर्नु पर्ने कुनै कारण छैन । बाँकी तँ यदी त्यो केटा सग बिहे गर्छेस भने खुशि खुशिगर तर त्यो भन्दा पहीले यो सत्य सुनिराख कि युबराज बस्नेत चाहे जतिसुकै धनाद्दे होस, जतिसुकै रुपवानहोस, उसको र एउटी बेश्याको औकातमा केही अन्तर छैन आज मेरो नजरमा । फरक यति नै हो की बेश्या सरिर बेच्छे, उ शब्द र भाबना बेच्छ । तर सायद बेश्याहरु उ भन्दा ईमान्दार हुन्छन, कमसेकम उनिहरु जोसँग पैसालिन्छन उसलाई ईमान्दारी पुर्वक सरिर सुम्पन्छन तर युबराज बस्नेतमा त त्यो ईमान्दारी पनि रहेनछ त्यसैले त उ पैसालिएर पनि म प्रती ईमान्दार हुनसकेन । भावना म सँग बाँडीरह्यो सरिर तँसँग ...."
"कुशुम !" आमा कराउनु भयो तर म पुर्ववत कबितासँग भनिरहेँ-" त्यो मान्छेले तँलाई चढाएको बाक मेरो पैसाले किनेको, त्यसमा हालेको पेट्रोल मेरो पैसाको । तलाई खाना ख्वाएको बिल तिरेको मेरो पैसाले । तँलाई फूल, गिफ़्ट किनेर दिएको मेरो पैसाले । सायद तँलाई दिने औंठी समेत मेरो पैसाले किन्यो होला उसले किनकी केही हप्ता अघीमात्र ३ लाख पठाएथेँ मैले उसलाई हजुरआमाको मृत्युमा गाउँ जानलागेको बाहानामा ।
मलाई थाहाछ तिमीहरुलाई पत्यार लाग्दैन यो कुरा त्यसैले म अष्ट्रेलीया पुगेर उसलाई पैसा पठाएको सारा रसिदहरु पठाई दिन्छु ।अब पनि तँ आफुलाई सर्बश्रेष्ट र उसलाई सर्बश्रष्ठको लायक सोच्छेस भने मेरो भन्नु केही छैन ।" मैले गएर आफ्नो ब्याग झिकेर ल्याएँ । आमा र कबिता अझै मुर्तीवत त्यहीँ उभिएका थिए । मैले आमालाई लक्ष्य गरेर भने-" तपाईहरुलाई जति अफ़सोसछ म घर आएकोमा त्यो भन्दा कैयौँ गुणा बढ़ी अफ़सोसछ मलाईछ । त्यहाँ हुँदा जे जस्तो भएपनि सोच्न कै लागी सही,मेरो घर थियो परिबार थियो तर घर आएर म सर्वथा अनाथ र बेघर भएर फर्कदैछु ।" मेरो स्वर रुंघियो-" तर एउटा कुराको मलाई संन्तोछ की मैले बाबाको रिण मात्र होईन, तपाईको दुधको भारा पनि चुकाई सकेको रहेछु आमा । अब स्वतन्त्रछु म । रिण मुक्त !!!" म बाहीर निस्कीएँ । कसैले मेरो पछाडी आउने कोशिश गरेन ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 श्रावण, 2072

लेखकका अन्य रचनाहरु