डायस्पोरिक कथा–संसार: "कमरेड भाउजू"

- विवश वस्ती

नेपाली समाजको चरित्र उधिन्नु कदापि ख्यालख्यालको विषय होइन । समाजको चरित्र उधिन्नका लागि समाजको अन्तरकुन्तरलाई बुझेको हुनुपर्छ, समाजभित्र बाँचेका अनेक पात्रहरूसँगको उठबस र दैनिक क्रियाकलापलाई पनि नजिकैबाट छामेको हुनुपर्छ । तर, डेढ दशकदेखि नेपाल बाहिरै बसेर साहित्य–सिर्जनामा रमाइरहेका कृष्ण बजगाईं भने विदेशमा बसे पनि नेपाली समाजभित्रकै पात्रहरूलाई कथा–लेखनको संसारमा उतार्न चाहन्छन् । बजगाईको नवकथाकृति ‘कमरेड भाउजू’भित्रका अधिकांश कथामा विदेशमा बस्ने नेपालीहरूको जीवनशैली, वेदना र अरु पक्षहरू उतारिनुका साथै स्वेदशभित्रकै केही घटनावस्तुहरू पनि अंकित छन् ।
‘कमरेड भाउजू’ नेपालमा क्रान्तिको गोरेटोमा यात्रारत रहँदारहँदै हठात् रुपमा क्रान्तिसँग सम्बन्धविच्छेद गरेर लन्डनतिर पलायन भई त्यहीको समाज र नेपालीहरूमाझ भिज्न सफल एक जना क्रान्तिकारीको कथा हो । धर्मप्रसाद नामक ती व्यक्ति समयक्रममा पतनको दिशातिर यसरी उन्मुख हुन्छन् कि, कुनै बेलाका महान् क्रान्तिकारी उनी लन्डनमा पुरेत्याइँ समेत गर्न थाल्छन् । त्यही कारण देखाउँदै उनलाई उनको क्रान्तिकारी भनाउँदो पार्टीले कारबाही गर्न चुक्दैन । धर्मप्रसादकी पत्नी भने लन्डनस्थित नेपालीबीच कमरेड भाउजूकी नामले चिनिन्छन् । र, लन्डनमा उनका पत्नी अर्थात् कमरेड भाउजूको अधिक चर्चा हुन्छ भने उनी चाहिँ ओझेलमा पर्न पुग्छन् । मूलत: यो कथाले विदेशमा सपरिवार बसोबास गर्दै आइरहेका नेपालीहरूको भित्री पक्ष र उनीहरूको मनोदशा छाम्ने दिशामा सफलता आर्जन गरेको छ ।
‘पलायन कमरेड’ चाहिँ माओवादी जनयुद्धमा सामेल दुई भिन्न चरित्रका व्यक्तिबीचको अन्तरद्वन्द्वले भरिएको कथा हो । लन्डनमा बसिरहेका एक जना व्यक्तिको निमन्त्रणामा नेपालबाट अर्का व्यक्ति लन्डन जान्छन् । ती दुवै माओवादी जनयुद्धमा सहभागी भएका पात्र हुन् । तर, लन्डनमा बसिरहेका कमरेडको भड्किलो जीवनशैली देखेर अझै पनि क्रान्तिमा विश्वास राख्ने सामान्य जीवनशैली अपनाइरहेका नेपालबाट केही दिन घुम्न भनेर लन्डन पुगेका ती कमरेड भने चकित मात्र पर्दैनन्, लन्डनमा बस्ने कमरेड बिग्रिएको निष्कर्षमा पुग्छन् । विगतमा क्रान्तिमा होमिदा पुजारीहरूको टुप्पी काट्ने अभियानमा लागेका लन्डनबासी कमरेडले लन्डनमा स्वस्थानीको व्रत लिएका र स्वस्थानीको कथा राम्रोसँग वाचन गर्न पनि जानेका हुन्छन् । व्यंग्यको प्रचुरता रहेको यो कथाले क्रान्तिकारीहरूको जीवनशैलीमा आएको आकाश–पातालको फरकपना र उनीहरूमा भित्रिएको पुँजीवादी प्रवृत्ति र संस्कृतिबारे बेजोडले बखान गरेको छ ।
अर्को कथा ‘मिडिया मुस्कान’ले भने मिडियामा कार्यरत भएकाहरूको मनोदशा केलाउने जमर्को गरेको छ । मनभित्र जतिसुकै पीडा, छट्पटी र बेचैनी भए पनि टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्नेले मुस्कुराएर नै कार्यक्रम चलाउनुपर्छ भन्ने देखाउन चाहेको छ । यो कथाले द्वन्द्वकालीन समयमा बाबु–आमा गुमाएका एउटी टेलिभिजन प्रस्तोताको रहस्यमयी जीवन उतारेको छ । मूलत: जीवनमा असंख्य पीडा भए पनि मिडियामा मुस्कुराउन बाध्य प्रस्तोताहरूको कथा हो यो ।
विदेश गएका नेपालीहरूले सम्बन्धित देशको नागरिकता लिन सोही देशका नागरिकसँग नक्कली बिहे गर्ने गर्छन् । तर, त्यो नक्कली बिहे कति भयावह र पीडादायी हुन्छ ? ‘तेस्रो कुकुर’ नक्कली बिहे गरेर विदेशमा बसेका एकजना नेपालीको मार्मिक कथा हो । नागरिकता पाउने लोभमा त्यसरी विदेशमा नक्कली बिहे गरेर बसेका नेपालीलाई आफ्ना तथाकथित पत्नीले कुकुरलाई भन्दा पनि तल्लो स्तरको व्यवहार गरेको प्रसंग यो कथामा उतारिएको छ ।
‘मंगलग्रहमा देवकोटाको सालिक’मा चाहिँ विदेशमा बसोवास गर्दै आइरहेका केही साहित्यकारहरूले साहित्यलाई भजाएर कसरी आर्थिक लाभ प्राप्त गरिरहेका छन् ? यही नाङ्गो पक्षलाई उजागर गर्न सक्षम रुपमा उभिएको छ । मंगलग्रहमा महाकवि देवकोटाको सालिक राख्ने योजना बनाएर पैसा धुत्ने एकजना धूर्त साहित्यकारको कर्तुतको दैलो उघार्न सफल यो कथाले साहित्यको नाममा बढिरहेको व्यापारलाई छर्लंगै देखाएको छ ।
‘गड्यौला उर्फ सत्यराज’ मा विदेशमा बस्ने पति र पत्नीबीचको सम्बन्धमा उत्पन्न दरार र त्यसले निम्याउने भयावह परिस्थिति अंकित छ । आफ्नै अनुसन्धानमा व्यस्त एउटा व्यक्तिले पत्नीलाई समय दिन नसक्दा पत्नीले परपुरुषलाई अंगीकार गरेको पक्ष यो कथामा उल्लेख छ ।
‘मौनता र शान्ति’ चाहिँ विदेशमा बस्ने पति र पत्नीबीच सौहार्दपूर्ण सम्बन्ध रहेको झल्काउन सक्षम कथा हो । यो कथामा पारिवारिक सुख र शान्तिका लागि सन्तानहरूको महत्त्वपूर्ण भूमिका रहने कुरा दर्साइएको छ । सबैजसो कथा डायस्पोरिक पृष्ठभूमिमा लेखिएको हुँदा कथाकृतिभित्रका हरेक कथा विदेशमा बस्ने नेपालीहरूको वास्तविक तस्बिर उतार्न सक्षम देखिएकोमा कुनै सन्देह मान्नु पर्दैन ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 25 फागुन, 2071

लेखकका अन्य रचनाहरु