मसानघाट

- सञ्जु बजगाईं

समयमै हरेक काम गर्न सकियोस् भनेर कोठैपिच्छे घडी राखेकी छु घरमा। संसारलाई समय तोकिदिने गि्रनविचसँग खेलवाड गर्न मनाही छ, यो बेलायती सहरमा। त्यसैले हतारिँदै तयार भएर बस चढ्यौँ, आमाछोरी। बस उही पुरानै बाटो भएर गुड्न थाल्यो। जुलाई र अगस्टभर गुडबाई भनिएको यो बाटो सेप्टेम्बर लाग्नासाथ खुलेको थियो, हाम्रा लागि।

मुना पलाएर तरुना भएका फूलका बोटहरू ढकमक्क फुलेछन्। 'वोक'का बोटहरूमा लटरम्म लागेका दाना झरेर भुइँभरि देखिए। घँघरुका पोथ्राजस्ता लाग्ने बुट्यानमा पनि रातै दाना देखिए। तिनै दाना च्यापेर लोखर्के खुर्र-खुर्र दगुर्न थालेछन्।

'बेन्टली ग्रेभ,' मेरो सोच बिथोल्दै बसले बोल्यो, आउने गन्तव्य।

बस स्टपसँगै जोडिएको खुला जमिनमा चिहानहरू भुइँभरि लम्पसार छन्। स्कुल पुग्न यिनै चिहानलाई नजर लगाउँदै हिँड्नुपर्छ। हतार हतार पार गर्न मन लाग्छ दूरी। परदेशमा बस्दा बस्दै घरदेशमा धेरै आफन्त गुमाइसकेकी छु मैले। कहिले मिरमिरे उज्यालो हुन नपाउँदै भाइबरमा 'हेलो...हेलो'को आवाजमा आउँछन्। फेसबुकको पानामा स्ट्याटस बनेर आउँछन्। दुई दिनअघि त मेरा आफ्नै हजुरबाले मलाई छाडेर गएको खबर आएको छ। शोकमा छु म। हिजोझैँ लाग्छ भेटेर आएको। भेटौँला भन्दा भन्दै मायाको साइनोसँग जोडिएकाहरूले पत्तै नदिई छाडेर जाने क्रम बढ्दो छ। मेरो नियति भने परदेशमा बसेर श्रद्धाञ्जलि दिनुबाहेक केही छैन।

जीवनको अन्तिम सत्यबोध गराउने यी अपरिचित चिहान देखेर म सधैँ आतंकित हुन्छु। छोरी स्कुल पुर्‍याउन आउने क्रममा यो चिहानघारीलाई ऋतुपिच्छे फरक फरक रूपमा देखेकी छु मैले। कहिले जिङ्गि्रङ्ग उराठ लाग्दो, कहिले कलकलाउँदो, कहिले सेतै फुलेको वृद्धको शिरजस्तो, कहिले झपक्क सिँगारएिकी यौवनाजस्तो ! रूप जे भए पनि चिहानघारी केवल चिहानघारी नै हो, जहाँबाट मात्र नैराश्य र जीवनको अन्तिम सत्यबाहेक केही मिल्दैन। त्यसैले होला म यसलाई घृणा गरेर चिहानघारी सम्बोधन गर्छु।

छुट्टीपछि स्कुल खुलेको पहिलो दिन छोराछोरी स्कुल छोड्न गएका आमाबाबुका लागि पर्वझैँ हुन्छ। छोराछोरीहरू साथी भेट्न पाएर दंग। हामी आमाबाबु छोराछोरी माथिल्लो कक्षा चढेभन्दा पनि एक वर्ष अरू ठूला भएकामा दंग पछौर्ं। अरू थप के चाहियो र ! उही छुट्टी मनाउन देशविदेश गएका कुरा, नयाँ नोकरीका कुरा, घर किनेका कुरा, कार बदलेका कुरा, व्यापार बढेका कुरा ! कुरै कुरा ! मानौँ हामी कुरा गर्ने मेसिन हौँ।

घर फर्किन चढ्ने बस पनि 'बेन्टली ग्रेभ'को बाटो नभई आउँदैन। म छोरीलाई स्कुलको जिम्मा लगाई भर्खरै मृत्युवरण गरेका हजुरबाले दिएको स्नेह, अर्ति र संस्कारको धङधङी बोकेर बस स्टपमा ठिंग उभिएकी छु, चिहानघारीसामुन्ने। मायाको संसारमा रोपिएका तीखा काँडाजस्ता चिहान लमतन्न देखिएका छन् अघिल्तिर। मायै मायाले बेरएिको सम्बन्ध कसरी जमिनमुनि भासिन सकेको, बाँचेका सबै आफन्तलाई छाडेर? म हेर्छु एकपटक, लमतन्न सुतेका बग्रेल्ती चिहानलाई, आँखाभरि उही मेरा हजुरबाको स्नेह सलबलाउन थाल्छ।

कठै, मेरा हजुरबा ! बिचराले पनि चिहानघारीकै अन्तिम सत्य स्वीकारे। तिनको त्यत्रो खाइलाग्दो ज्यान कसरी खरानी भयो होला? आउने दसैँमा लगिदिउँला भनेर किनेको भेडाको विशुद्ध ऊनको खैरो कोट अब म कसलाई दिऊँ? मेरा लागि माया र स्नेहको मुहान थिए उनी। उनलाई भेटेपछि मेरो बालापन फर्किएर आउँथ्यो। हरेकपटक भेट्दा केही न केही कोसेली झोलामा हालिदिएकै हुन्थे। एक महिनाअघि मात्र यसपटक तेरो बेलायती घरमा राख्नलाई सानो फलामे ओदान र चिम्टा ठीक पारििदएको छु भनेर सुनाएका। उनलाई के थाहा? बेलायती घरका अँगेनामा पुतपुत धूवाँ उडाउने दाउराका ठुटा ठोसिन्न भनेर। उनैले दिएका काँसका बैठके बटुका, करुवा र खुकुरी मेरो सोकेसमा सजिएका छन्। यस्तो नि:स्वार्थ माया देखाउने मेरा हजुरबा अब यो संसारमै रहेनन्।

हजुरबाको स्नेह सम्झिएर मुटु फुट्लाझैँ भएको छ। आँखाका कोशका आँसुका दाना मान्छेले देख्लान् भन्ने डरले ब्यागभित्रको टिस्यु पेपरले कोशमै थिचेर बग्न लागेका आँसुलाई सुकाइदिन्छु म। मन आफ्नै देशतिर पुगेको छ। घर, परविार र आफन्तसँग दु:ख साट्न नपाएकामा हीनताबोध भएको छ।

बस आइपुगेको छैन। पर्खनु छ, मैले अझै केही बेर। एक्ली म ! अनि, छेवैको चिहानघारी। जति नै छल्न खोजे पनि मेरा आँखा चिहानघारीमा नठोक्किई सक्दैनन्। रंगीविरंगी फूल फुलेका छन् वरपिरि। आफूलाई त केटाकेटीमा शव देखेको रात निद्रै पर्दैनथ्यो। पिकनिक खाएर घर फर्किंदा मन्त्र फुकेर अक्षता फ्याँक्दै उनै हजुरबा भन्थे, "चिहानघारीका छेउमा वनभोज खान जान्छौँ पिसाच लाग्न बेर छैन।" बेलायती चिहानका सामुन्ने म उनै हजुरबाले फुकेका अक्षता सम्झिरहेकी छु झलझली।

"हेलो... लङ टाइम !" चिनेको आवाजले पछाडिबाट बोलायो।

"हाई !" आवाज आएतर्फ फरक्क मुन्टो फर्काउँदै बोलेँ म। चारचक्के वाकरको सहाराले हिँडेर बिस्तारै म भएतिर आउँदै थिई निकोल। पछिपछि उसको कुकुर पनि। निकै समयपछि भेटिई, मेरी पुरानी छिमेकी बूढी। उसको मोटो शरीर वाकर घिसारेर फत्रक्कै थाकेको देखिन्थ्यो। रातोपिरो भएको निधारभरि पसिनाका दाना फुटेका थिए। श्वास बढेर राम्ररी बोल्न नि नसक्ने भएकी थिई। उसको अवस्था देखेर दया लाग्यो।

"यति सबेरै कता हिँडेकी?" नजिकै आइपुगेकी निकोललाई सोधेँ मैले।

"यहीँ सेमेट्रीसम्म।" स्वाँ स्वाँ हुँदै बोली ऊ र सोधी, "छोरीको स्कुल सुरु भयो?"

"भयो आजदेखि।" मैले भनेँ।

"छुट्टी के गरेर बितायौ त?" उसले सोधी।

"उही त हो, घरधन्दा !" मैले विरसिलो गरी भनेँ।

"तिमीचाहिँ जुलाई-अगस्टमा कतै गयौ?" मैले पनि सोधेँ।

"कहीँ गइनँ।" मेरा हात समाउँदै उसले भनी, "मलाई मेरी आमाको चिहानभन्दा शान्त ठाउँ कहीँ लाग्दैन। तिमीले यहाँभित्र गएर हेरेकी छ्यौ?"

"कहिल्यै पसेकी छैन।" मैले आफ्नो कुरा भनेँ।

"त्यसो भए आऊ मसँगै।" निकोलले मलाई चिहानघारीनजिकैबाट देखाउने विचार सुनाई।

हजुरबाको मृत्यु र मेरो मनभित्र सलबलाइरहेको निराशावादी चिन्तनले आज नजिकबाटै चिहानघारी हेर्न उक्सायो। नाइँनास्ति नगरी म निकोलको पछि लागेँ। मैले भन्ने गरेको चिहानघारी त जिउँदा मान्छेले भरएिको सडक, बजार र बस्तीभन्दा कैयौँ गुणा सुन्दर र शान्त रहेछ। मुर्दाहरूको स्वर्ग वास्तवमै स्वर्ग ! श्रद्धाको फूल चढाउन आएका मान्छेको लस्कर देखेर मेरो चिहानघारीप्रतिको धारणा आधाउधी बदलिएजस्तो भो।

"मलाई विश्वासै लागेको छैन, जीवनमै पहिलोपटक आज सेमेट्रीलाई यति नजिकबाट हेररिहेछु।" मैले निकोलतिर हेरेर असजिलो मान्दै भनेँ, "तिमीलाई थाहा छ, हिन्दु धर्ममा शवलाई आगोले नष्ट पारन्िछ। मेरो हजुरबाको शवलाई पनि भर्खरै खरानी बनाएर अन्तिम संस्कार गरेको।"

"शव जलाउँछन् भन्ने कुरा थाहा छ मलाई। यो सिमेट्रीमा बार-बार आएर माया गरेकाहरू जमिनमुनि भासिएको हेर्नुभन्दा त एकैपटकमा आगोको लप्कोले खरानी पारेको सहनु नै बेस।" निकोलले फ्याट्ट भनी।

"तिम्रा आफन्तहरूको समाधि पनि छ यहाँ?" मैले सोधेँ।

"छ नि !" निकोलले उसकै सामुन्नेको समाधि औँल्याउँदै भनी, "यहाँ मेरी आमाको र मेरा बाबु अनि बाबुपट्टकिा हजुरबा र हजुरआमाको चाहिँ अर्कोपट्टकिो कुनामा छन्।"

"कस्तो संयोग ! मृत्युपछि पनि सिंगो परविार एकै समाधिस्थलमा ! मेरा हजुरबाको त मैले खरानीसम्म देख्न पाइनँ।" मैले मेरै व्यथा जोडेँ।

"तिमी यहाँ आइरहन्छ्यौ कि क्या हो?" मैले थप सोधेँ।

"आइरहनु...? हिउँ परेका दिनबाहेक अरू बेला दिनको एकपटक आएकै हुन्छु।"

"किन र?" मैले जान्न चाहेँ।

"दिन कटाउन। मलाई माया गरेर बिलाएकाको माया भेट्टाउन। म घीनलाग्दी बूढीको अस्तित्व यी चिहानमा सुतेका शवहरू बाहेर कसले स्वीकार्छ र अहिले ! मसँग सुन्दर रूप छैन। फुर्तिलो चाल छैन। समयसँगै जन्मिएका आईप्याड, आईफोन र कम्प्युटरको ज्ञान छैन। हरे ! के भनूँ? दुनियाँ हावाको वेगमा अघि बढिरहेजस्तो लाग्छ मलाई। बरू मै पछि हटिदिएर अघि बढ्नेलाई बाटो छोडिदिन्छु।" निकोलले लामो निश्वास छोडी।

"ल हेर के भनेकी त्यस्तो ! लोग्ने, छोराछोरी, नाति-नातिना, भाइ-भतिजा, भान्जा-भान्जी, साथीभाइ, इष्टमित्र सब भएकी मान्छे पो तिमी त! बरू म पो यो परदेशमा एउटा लोग्ने र एउटी सानी छोरीसँगको 'माइक्रो' दुनियाँमा बाँचिरहेकी छु।" म आफ्नो वास्तविकताले उसको अवस्थालाई विस्थापित गर्दै बोल्न लागेँ, "जे भए पनि सन्चो-बिसन्चोमा ख्याल गर्ने लोग्ने र छोराछोरी त नजिक छन्।"

"सन्चो-बिसन्चोमा ख्याल गर्ने हस्पिटल र सोसियल सर्भिस छँदै छ नि !" ऊ समाधिछेउ टुसुक्क बसी र भनी, "गाह्रो छ यो बुढेसकाल बिताउन। बात मार्ने साथीसम्म नहुँदा एक दिन पनि साताजस्तो लामो लाग्छ। छेउछाउका कोठाका छिमेकीहरू फेरइिरहन्छन्। सबै अल्लारे तन्नेरी ! भेट हुँदा हालखबर सोध्ने हाम्रो चलन उनीहरूका लागि पुरानो भइसक्यो। हातमा फोन र कानमा तार घुसारेर हतारँिदै यता र उता गररिहन्छन्। मेरा छोराछोरी पनि त्यस्तै बेफुर्सदी छन्। लोग्नेको के कुरा गर्नु ! उसलाई रोगले छोएन। बुढेकालमा पनि तन्नेरीझैँ थियो। उसलाई पनि मेरो बिराम र व्यथालाई साथ दिन झर्को लाग्यो। मैले बाटो खुला गरिदिएँ। ऊ आफ्नै बाटो लाग्यो।"

उसले प्लास्टिकको झोलाबाट पानीको बोतल झिकेर केही घुट पानी पिई। बिस्कुटको प्याकेट खोलेर कुकुरलाई एक टुक्रो दिई। सानो रुमालले निधारभरि उमि्रएका पसिनाका दाना सिनित्त पारेर फेरि एकपटक पुछी र सामुन्नेको समाधितिर मोडिई। मैले भने समाधिको अरू निकट पुग्ने आँट गर्न सकिनँ। तर, उसका कुराले भने मैले बोकेको सुखको भ्रम चिरििदयो। जसको देशमा सुख खोज्न आएकी छु, उसैको यो असन्तुष्टि? म के पाउँला !

विश्वमा बहादुर कहलिएका गोर्खालीकी सन्तान म, लाचार भई आज दुई छाक जुटाउन देशै छोडेर हिँडेकी छु। मलाई थाहा छ, कालान्तरले मलाई न बेलायती बनाउँछ, न मेरा सन्ततिलाई। अर्काको संस्कार स्वीकारेर न मेरो शवको समाधि बन्नेछ, न त मेरै संस्कारको चिता। मलाई आफ्नै उद्देश्यसँग चित्त बुझेन आज।

मेरा हजुरबाले जीवनभर भोक, प्यास र अभाव भोगेर पनि इमानदार जीवन बाँचेर गए। जीवन जति बाँचे आफ्नो पहिचानभित्र बाँचे। आफ्नो माटोमा बाँचे। उनलाई खोरयिा फाँडेर श्रम गर्न सरम लागेन। मयलको कालो कस बसेको झुत्रे ढाकाटोपी शिरमा ढल्काएर गाउँबेँसी गर्न लाज लागेन। चरचरी चिरा परेर फुटेका कत्ले पैतालामा भुक्के चप्पलका लोती उनेर एक मानो नुन जोहोका लागि मधेस र्झन गाह्रो लागेन। मलाई निकोल र मेरा हजुरबा उस्तै लागे। उनीहरूको माटोप्रतिको इमानदारी एउटै लाग्यो। दुवैका बीचमा आफूलाई राखेर हेरेँ, उनीहरूसँग समानान्तर उभ्याउने गुण आफूसँग केही भेटिनँ।

म समाधिस्थलबाट उठेँ। घडी हेरेँ। अरू दस मिनेटमा मेरो बस आउने थियो। परविार, मृत्य, अन्त्येष्टि र समाधिको फरक धारणा बोकेर निकोलसँग बिदा भएँ। बस चढेपछि पनि हजुरबाको सम्झना आइरह्यो ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 11 फागुन, 2071

लेखकका अन्य रचनाहरु