सम्झनाका डोबहरु

- ओमप्रसाद घायल

सम्झनाका मझेरीहरुमा
छुटेका तिम्रा गुलाबी यादहरु
मैले उसैगरि सजाइरहेको छु फूलमाया
यो आत्मिक म्यूजियममा ।
मेरा प्रत्येक ढुकढुकीहरुसँग गाँसिएका
तिम्रा इन्द्रेणी यादहरुले
विथोलिरहेका छन् आजपनि
मेरा हरेक सपनाहरुलाई।
र बर्षौदेखि
मैले आफ्नो अन्तरमनको आँखीझ्यालबाट
हेरिरहेको छु तिम्रो त्यही निठूरबाटो ।

तिमीले आरम्भ गरेको
प्रेमको पश्चगामी यात्राबाट
आ“खा चिम्लेर
हराउ“दै गएका तिम्रा पैतालाहरुलाई
सुम्सुमाइरहेको छु मैले अझै ।
सायद
निर्दयीताको यो बञ्जर भूमिबाट
उदाएका हजारौं सूर्यहरु
र अस्ताएका हजारौं सूर्यहरुको कसम
म आजपनि सतिसालझै
आ“खामा लिएर उही प्रेमिल याद
उसरीनै पर्खिरहेको छु तिम्रो प्रत्यागमन ।

मलाई थाह छ फूलमाया
प्रेमको यो प्रलयकारी पटकथामा
तिमीले निभाएको मायावी भूमिका
फेरिपनि
उत्सर्ग गरेर तिमीप्रति
आफ्ना सबै खुसीहरु
मैले पर्खिरहेको छु अझै तिमी फर्कने बाटो ।
तर फूलमाया
आफैलाई छलेर धेरै दिन
यसरीनै भैरवस्थानको क्षितिजबाट
जबजब ढलिरहन्छ मेरो आस्थाको सूर्य
तवतव मेरा खुसीका किरणहरु
अर्धमुर्छित हाम फालिरहन्छन्
वियोगको तलाउमा ।
ठिक त्यतिखेर
मैले सम्हाल्न नसकेका मेरा विक्षिप्त हौसलाहरु
सराप्छन् प्रेमका विसङ्गतिहरुलाई
र आत्महत्या गर्न विवश हुन्छन्
जिन्दगीको एकल सा“झमा ।

फूलमाया
तिमीलाई मेरो कसम
मेरो जिन्दगीको कसम
तिमीले त्यागेर गएको उही बञ्जरभूमिमा
रोपेर एउटा गुलाबी याद
पर्खिरहेको छु आजपनि तिम्रो प्रत्यागमनलाई
तिमी फर्केर नआउञ्जेलसम्म
यसरीनै कुरिरहनेछु तिम्रा पदचापहरुलाई
यसरीनै पर्खिरहने छु तिम्रा पदचापहरुलाई ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 11 फागुन, 2071

लेखकका अन्य रचनाहरु