अकवरी सुन कथा संग्रहको संक्षिप्त चर्चा

- उपेन्द्र पागल

कथाकार बद्री अधिकारीका २०६२सालका ९ कथा २०६३ सालका ४कथा र २०६५ सालको १ कथासमेत १४ वटा कथाको बटुलो 'अकबरी सुन' हो । उनका अभ्यासिक चरणका निकै राम्रा कथाहरूका बारेमा पनि सुनिएको थियो । ती पुराना कथाहरूले पनि त्यस बखतका सामाजिक यथार्थहरूको प्रत्यङ्कन गरेको र मैनालिको कथागोरेटो पक्रेको महसुस भएको थियो । ती कथाहरू किन यस संग्रहमा परेनन् ? त्यो कथाकारकै स्वेच्छा हुनसक्छ ।

समाज र व्यक्ति केन्द्रीत चरित्रहरु पनि रहेका पाईन्छन् । त्यसकारण कथाकारको रुचि क्षेत्र शहर र गाउँ केन्द्री एवम् यी दुवैको मिश्रत रुप रहेको पाइन्छ ।

बद्री अधिकारीका यस संग्रहमा सङ्कलित कथा शिक्षाले उनलाई अभ्यासिक, चरणका कथाकारभन्दा माथिल्लो स्तारमा पुर्याएको पाइन्छ ।

कथाकारको रूचि क्षेत्र गाउँमुखी विपन्न परिवार, द्वन्द्वका कारण पीडित ब्यक्ति, रहेकाछन् भने गाउँबाट सहरामुखी बन्दै गएका शिक्षित-अशिक्षित, सभ्य र द्वन्द्वयुक्त समाज र व्यक्ति केन्द्रीत चरित्रहरू पनि रहेका पाइन्छन् । त्यसकारण कथाकारको रुचि क्षेत्र सहर र गाउँ केन्द्री एबम् यी दुवैको मिश्रित रूप रहेको पाइन्छ ।

प्रस्तुत गरीएका प्रायः सबै कथाहरुको रीति क्षेत्र सामाजिक, मनोवैज्ञानिक, यर्थातवाद रहेको छ । त्यस भित्र चलायमान गतिशील चेष्टा चरित्रहरूका क्रियाकलापहरु रहेका छन् । आदर्शवादी यथार्थ पनि यी कथाहरूले ग्रहण गरेका छन् । पारलौकिकतापत्रि विश्वास, धर्म र न्यायको वकालतमा पात्र आस्थावान पनि रहेका छन् ।

सारवस्तुका द्रिस्टीले प्रस्तुत कथाहरू :

१) कैदी नं. ११. — चरित्रहिन यौनचारी आफ्नै पतिको हत्या गर्ने नारीको मनोद्वन्द्व,अनियन्त्रित आवेगको प्रस्तुति रहेको गाउँकेन्द्री र पूर्वदीप्ति शैलीमा प्रस्तुत भएको कथा हो । पहिषासुरको मिथकले कथामा सहजता पनि आएको पाईन्छ ।

२) स्विकारोक्ति – सामाजमा विधवाहरुको पनि विशेष स्थान रहनुपर्छ भन्ने उदाहरणीय कार्य विधवा बुहारी प्रितिका सासु ससुराले आफ्नै क्याम्पसमा पढाउने शिक्षक प्रमोदसंग विवाह गराईदिएको उदारहण प्रस्तुत गरिएको कथा हो ।

३) अपनत्वको नाता — स्वार्थी आफ्नै छोराहररूद्धारा उपेक्षित विदुर बाबुको अन्तरव्यथा, तल्लो जातको भएर पनि ज्ञानेन्द्र र उसका परिवारले देखाएको ममतापूर्ण व्यवहारबाट प्राप्त अपनत्वबाट जातीयताको सङ्कीर्ण र स्वार्थी घेराबाट मुक्त भएका दिननाथको कथा हो ।

४) पागल — समाजमा विपन्नताबाट पीडित परिवारको कथा हो यो । गाउँको अनैतिक र स्वार्थी चरित्र लिएको विक्रमका कारण गर्भवती भएकी छोरी नेपीको आत्महत्या भारतीय टेङ्कर धक्काबाट कृषि क्रृणमा लिएको भैँसीको मृत्यु र नेपीको आमाको हात भाँचिनु र मृत्यु हुनु पित्लेको बाबुको टाइफईडबाद्धारा मृत्यु हुनु, समाजमा कसैको माया नपाएर सामाजिक परिवेशदेखि पलायन हुनु अनि विराटनगर सहर राष्ट्र प्रमुखको आगमनमा बेहुलीझै सिँगारिनु तर पित्ले जस्ता निसहाय व्यक्तिलाई प्रहरी यति दण्ड बर्साउनु जस्ता घटनाक्रमले यो कथा चरित्र र घटनाको सङ्गम भएर उपस्थित रहेको पाइन्छ ।

५) थकथकी — विकासजस्तो यौनचारी र दुष्ट पात्रको तृष्णाको सुरपउ दाम्पत्य जीवन भताभुङ्ग भएर दुर्घाटित भएको छ । युगेनजस्तो विवेकशील पति गवाँउनु पर्दाको तृष्णाभित्रको सघन मनोद्वन्द्वको यर्थात प्रस्तुति छ ।

६) स्वविकेकी दण्ड — सुलोचनाको अवकाशप्राप्त पति विजय शङ्करद्वारा आफू थानेदार हुँदा दीप्तिको झडकेलो बाबु पीताम्बरका दुष्चरित्रबाट पीडित दीप्तिलाई रक्षा गरी आँफले हुर्काएर विवाहसमेत गरिदिएको कथा रहेको छ ।

७) कोहिनुर — दीपाले आफ्ना बाबुको आज्ञा पालनाका निम्ति आफ्नो प्रेमी मुकेशको प्रेम त्याग गरेर इञ्जिनीयर गोपालसँग विवाह गरेको छ । गोपालको सङ्किर्ण मानसिकताका कारण पारपाचुके गर्न बाध्य दीपालाई स्वीकारेर असल प्रेमीको परिचय दिएको मुकेश कोहिनुर हीरासमान बन्न सकेको छ ।

८) खोई के पो होला र ? — हत्या, आतङ्क लुटपाटबाट आहत भएका जनताको नैराश्यता पूर्ण र आहत मनस्थिति सत्यनारायण साहुका माध्यमबाट अभिव्यक्त छ । असक्षम सरकारका कारण देश दण्डहीनतातर्फ डुब्दै गँएको यर्थात स्थिति प्रस्तुत छ ।

९) पछुतोको आँसु — प्रभाको श्रीमान रुपेशको शङ्कालु प्रवृत्तिका कारण प्रभाले आत्महत्या गरेकी छ । श्रीमान–श्रीमती बीच समझदारी र विश्वास खिइदै जाँदा यस्ता दुर्घटना आइपर्छन् भन्ने सन्देश प्रवाहित छ ।

१०) अकवरी सुन — सकारात्मक, नकारात्मक मनोद्वन्द्व , आवेग र उत्तेजना, शङ्का आक्षेप आदिमा रुमलिएको मनस्थिति र विश्वासनीयताको कसीमा उत्तीर्ण झडकेलो ससुरा धर्मानन्द र बुहारीको कथा हो यो । भित्ती, कुखुराको भाले, बिजुलीको तर्जन, ज्वरोजस्ता यौन प्रतीकहरुले कथाभित्र रहस्य र कौतुहुताको सिर्जना गरेको छ र मानव मन सामान्यीकरण हुन सकेको छ । यसै कथाबाट सङ्ग्रहको नामाङ्कन पनि भएकोले मनोद्वन्द्वको सवल प्रस्तुती पनि रहेको पाइन्छ ।

११) विद्रोह — एउटी सवल शिक्षित, दुरदर्शी र हक्की केटी प्रदीप्तिको कथा हो यो । समाजमा यस्ता थुप्रै नारीपात्र पनी हुन्छन् र तिनीहरुको पक्षमा समाज पनि रहन्छ । बेहुलाको बाबु रोशनको आश्वासनले मात्र भविष्य सुध्रिदैन समयमा नै प्रदीप्तिकै जस्तो बुद्धि पुर्याउन नसके आपत्ति भोग्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न सफल छ कथा ।

१२) ओइलिएको फूल — सुन्दर नारीदेह, स्वतन्त्रताको उपभोग गर्न चाहने मन, पुवार्टी एजको उत्सुकता र निकासको खोजी, आदि मनोवैज्ञानिक कारक तत्वहरु छन् । जसले म पात्रका उत्सुकता र चन्चलतालाई उनकै बाबुआमाले पनि होश नपुर्याएर प्रश्रय दिइरहेका हुन्छन् र आफ्नै घरको नोकर प्रेमबाट म पात्रले जैवीक आवश्यकताको निकास लिन र मनोजजस्ता पतिको उपदेशभन्दा पाएको कष्टपुर्ण जीवनको भोगाइको यर्थात प्रश्तुत छ ।

१३) सम्झौता — विवाह भएको १३ वर्षसम्म पनि सन्तान नपाएका दम्पत्ति इल्या र रुद्रका बीचको कथा हो यो । यी दम्पतिका सामाजिक र मनोवैज्ञानिक संस्कारयुक्त समस्याहरु डा. ज्ञानुका कारण समाधान भएको छ । दामपत्य जीवनलाई सुखि र खुसि बनाउन दुबैमा सद्भाव र समझदारी, सहिष्णुता विवेक र
अपनत्वको पन रहन सक्नुपर्छ भन्ने यस कथाको सारवस्तु रहेको पाइन्छ ।

१४) जय पराजय — गरीबी, भोक, रोग र थोकको चरम विन्दुमा पुगोका काका
हर्कराजको परिवार भित्रको कथा हो यो । गरीबीले थङ्थिलो भएका जनताप्रति
उत्तरदायीत्वविहीन निकम्मा र अविवेकी सरकारप्रति हर्कराजका सबै परिवार
सबैले आत्माहत्या गरिएको यर्थातबाट व्यङ्गको गहन थप्पड दिएका छन्
कथाकारले यस कथामार्फत ।

यी कथाहरुका सारवस्तु उपस्थित गराइसकेपछि कथाकारको एउटा असाध्य मनपर्ने
युक्तिका सन्दर्भमा पनि सङ्केत गर्नु उपयुक्त होला । त्यो हो सम्पूर्ण
कथाको सारलाई सूत्रहरु र सङ्केतमा भनेर कथाको प्रारम्भ गर्नु । जस्तै —
पछुतोको आँसु कथामा कथाकारले सुरूमै भनेका छन्, “मान्छे घरिघरि आफूले
सोचे, ठाने, ठम्याएर र अनुमान गरे विपरीत कुनै प्रकारको घटना घटेको
यर्थातबाट जब परिचित हुन्छ त्यस अवस्थामा अपराघबोधले छट्पटिन थाल्छ ।”
यहि सुत्रवाक्य कथाभरि विस्तारित भँएर किम्, कथम्, केन, कृदृशी सुत्रमा
कथानक तत्वहरुलाई डोर्याएका छन् । नयाँ प्रवृति भएर आएको पाइन्छ । गुरु
प्रसाद मैनालीका प्रवृतिहरुलाई बद्रि अधिकारीले नयाँ धरातल दिएका छन् ।
ठोकुवा गरेर भन्न सकिने आधारमा प्रायः सबै कथाहरूमा पाइन्छ ।

अर्थ सापेक्षतामा दृष्टिले सबै कथाहरुको कथन पद्धतिले अमिधात्मक अर्थ
सापेक्षताको वर्णनात्मक शैली रहेको पाइन्छ । कहीँ पात्रहरुका माध्यमबाट,
कहीँ लेखकका माध्यमबाट, कहीँकहीँ नाटकीयताको समिश्रणबाट पनी कथानक अगाडि
बढेको पाइन्छ ।

कथानकको ढाँचा

कथानकको ढाँचाको विविधताको चयन लेखकले गरेका छन् ।

कैदि नं. ११ वर्तमानबाट विगतमा फर्किएको कथा हो भने स्वीकारोक्ति
विगतबाट वर्तमानमा आएको रैखिक ढाँचाको कथा हो ।अपनत्वको नाता, पागल,
थकथकी कथाले पनि रैखिक ढाँचा पक्रेको छ । स्वविवेकीय दण्ड र ओइलिएको फूल
कथा पूर्व दीप्तिका रुपमा रहेर पन रैखिक ढाँचामा छ । कोहिनुर, खै के पो
होला र ?, अकबरी सुन, बिद्रोह, सम्झौता, जयपराजय रैखिक ढाँचामा रहेर आदि,
मध्य र अन्त्यको कथानक ढाँचालाई कुशलतापूर्वक निर्वाह गरेको पाइन्छ ।

यस सङग्रहका कथाहरूमध्ये “अकबरी सुन, अपनत्वको नाता, कोहिनुर,
स्वीकारोक्ति, विद्रोह, सम्झौता, कैदी नं. ११, स्वविवेकीय दण्ड, जय
पराजयजस्ता उच्चास्तरीय कथाशिल्पी बद्रीले ओइलिएको फुल, पागल र खोइ, के
पो होला र ? जस्ता कथाहरु विशिष्ट उद्देश्यमूलक भए पनि केही परिमार्जन
नगरेर छपाएका भए सवै कथाहरु एकनासका रहनसक्ने संभावनाचाहिँ गँवाएको
पाइन्छ ।

वर्णविन्यासको शुद्धताका दृष्टिले पुस्तकको गरिमालाई ओझलमा पार्न खोजेको
छ । कहीँकहीँ एउटै कथ्यलाई पुनरावृति पनि दिएको छ जसलाई साहित्यमा दोषकै
रुपमा लिइन्छ ।

कथाको रूपविन्यासलाई नियाल्दा कथाकारले सर्वसंवेध भाषाको प्रयोग गरेर
कथालाई सरल बनाएका छन् । भाषालाई कलात्मक बनाउन पात्र अनुकूलको भाषा
प्रयोग गरिएको पाइन्छ । उखान, टुक्का, सुक्तिमयताको प्रयोगले भाषालाई
सुन्दर बान्की दिएको छ । पात्रहरु प्रायः विपन्न र मध्यम वर्गीय समाजका
रहेका पाइन्छन् । यर्थात जीवनको प्रस्तुती रहेको पाइन्छ । प्रायः
पात्रहरु आदर्शउन्मुख रहेका पारलौकिक अस्तित्व स्वीकार्ने पनि भएकाले
बद्रीका कथाहरू आदर्शोन्मुख यथार्थवादका धेरै नजिक रहेका पाइन्छन् ।
मनोआन्तरिक द्वन्द्वको सवल प्रस्तुति, योन मनोविज्ञानका जटिल तहहरुको
उद्घाटन, सामाजिक कुरीतिहरुको भण्डाफोर आदि उनका कथासंरचनाका आधारहरु
हुन् । गुरु प्रसाद मैनालीको कथाशिल्पको गोरेटो प्रक्रेर समसामयिक
प्रवृत्तिहरुको उद्घाटन गर्नु यिनका कथा संररचनाको उद्देश्य रहेको पाइन्छ
। त्यसकारण पुस्तक पठनीय र उपयोगी रहेको देखिन्छ ।

मधेसा, सुनसरी

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 माघ, 2071

लेखकका अन्य रचनाहरु