जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ

- भेषराज रिजाल

उत्साहको मधुरो स्वरलहरी विमानस्थलभित्रको कोलाहलमा हराइरहेथ्यो धेरैबेरदेखि ।
लुक्ला जाने प्लेन पर्खिरहेका सगरमाथाको हिउँ हेर्न लालायित विदेशीहरूको भीड हेरेर रल्लिएँ म । घण्टौँ पर्खिरहँदा पनि उभिएरै हाँसिरहेका थिए केही विदेशीहरू । तीमध्ये एकजनाको त नामै हँसमुख राखेको रहेछु मैले । आफ्ना अभिभावकसँग सगरमाथा आधार शिविरमा जान कस्सिएका दुईजना भारतीय फुच्चेसँग हुन्छ संक्षेप संवाद । ‘आधार शिविर पुग्न कति दिन लाग्छ’ भन्ने जिज्ञासामा बाह्र र सोह्र दिनमा विभाजित भए पनि उनीहरूको पदयात्रा प्रेम र उत्सुकताले एउटा असीम आनन्द सञ्चार भएथ्यो मभित्र । सुकेटार जान कस्सिएकी शेर्पिनी दिदीसँग हुन्छ साक्षत्कार । आफ्ना गाउँका भाइभतिजाहरूको हिउँ छेउछाउको भरिया जिन्दगी सम्झिन्छिन् उनले । फुङलिङ बजारका जीवन शाक्य पनि भेटिए सुकेटार जाने लाममा । मलाई पनि मकालु, कुम्भकर्ण, कञ्चनजङ्गाहरूको लस्करमा उभिएझैँ लाग्छ ।
एउटा गुण्डाजस्तो मान्छेले सुरक्षाकर्मीसँग हात मिलाउँछ । चिनजान वा सम्बन्ध भए पनि सार्वजनिक स्थलमा सुरक्षाकर्मीले सबैसँग हात मिलाउँदै हिँड्नुलाई मनले स्वीकार्न सकेनछ, फुस्फुसाए ओठ, ‘अपवित्र गठबन्धन’ ।
अन्ततः तारा एअरको पन्ध्रसिटे सानो प्लेन खुर्खुराउन थाल्यो धावन मार्गमा । ‘कति गाह्रो छ सबै कुराको सुखद तालमेल हुन’ उड्न पर्खिरहेको प्लेनको थर्थराहट जसरी निस्केथ्यो उच्छ्वास म भित्रबाट ।
‘करिब ४५ मिनटमा उत्रिन्छ सुकेटार, सुरक्षासम्बन्धी जानकारी चाहिए हेर्नुस् यो पुस्तिका’ एअर होस्टेज रमाको स्वर गुञ्जियो कानैमा । पछिल्लो सिटमा सँगै थियौँ हामी ।
‘फुङलिङ बजारभन्दा कति टाढा छ सुकेटार ?’ मैले जान्न चाहेँ ।
‘त्यसो त म पनि पहिलोपटक जाँदैछु’, उनको गोरो अनुहारमा लाचारी प्रकट गरिरहेका अनारदाना देखिए । भोटे ड्रेसमा सजिएको तिनको रूपमा झन् सिंगार थपिदिए तिनले । हिमाल हेर्न हानिएको बबुरालाई मिलेथ्यो हिम श्रृङ्खलाकै दर्शन । क्षणिक चहकमा उज्यालिए पनि मनमा एउटा बादलको छायाँ टप्किएथ्यो । त्यो वाक्यले हामीबीचको संवाद रोक्न खोजेझैँ लागेथ्यो । आश्चर्य प्रकट गर्दै म झ्यालतिर फर्किएथेँ ।
‘रोगी छ काठमाडौं, शरीरका नसा–नसामा स्वच्छ प्रवाह हुन नसके कसरी बन्दछ यो निरोगी’; ढलमा फेरिएको नदी हेर्दै सोचेथेँ मैले । सर्वत्र फैलिएको धमिलोसँगै धमिलिएथ्यो मेरो मन पनि ।
शिवलिङ्ग जसरी ठडिएका इटा भट्टाका लस्कर छोडिएथे, हरिया गाउँबस्ती आइरहेथे । रमाले झस्काइथिन् हवाई उड्डयन सुरक्षाका लागि सुझाव मागिएको फाराम तेर्साउँदै । प्रकृतिसँगै लगाव थियो मेरो, म फेरि झ्याल दर्शनमै मस्त रहेँ ।
समान गति र एकनासे आवाजमा तरङ्इिरहेथ्यो प्लेन । किरिङमिरिङ गोरेटाले जेलिएका थुम्क्याइला पहाड भुइँभुइँ दौडिरहेथे नजिकै ।
अनायास प्लेनभित्र छरिएथे मेरा नजर । पत्रिकामा हराइरहेका थिए एक दर्जन मान्छेहरू । रमा सौन्दर्य प्रशाधनमा मस्त थिइन् । शायद यो फुर्सदिलो क्षण हो तिनका लागि । नारी सौन्दर्यले तानी रहे पनि भर्खन चिनजान भएकी तरुनी केटीलाई, त्यो पनि सिंगारपटारमा मस्त रहँदा सोझा आँखाले हेर्न सकिनँ मैले । ‘राम्रो मान्छे त्यसै राम्रो, किन चाहियो यो सब’, बरू आफैसँग हाँसेथेँ र झ्यालतिरै फर्केथेँ म ।
‘रुम्जाटार’ शब्दभन्दा बढ्ता हाउभाउ र कटाक्ष बोलिरहिथिन् उनी ।
‘ए हो त’ राम्ररी चिनजान नभएका पूर्वी पहाडका घुर्मैला छायाँतिरै लहसिन्छु म ।
शायद ति सुन्दरीको आकृति दोह¥याईतेह¥याई हेर्न वाहना खोज्दै थिए आँखाहरू, प्रकृति खोज्दै अर्को झ्यालतिर फर्किएँ म, त...ल देखिँदै थियो कालो जङ्गल । त्यसको छहारी नदेखिए पनि शितलता अनुभूत ग¥यो मनले ।
केही टाकुराको तस्वीर लिँदै थिएँ, जम्काभेट हुन्छ बादलका चिथरे टालासँग । प्लेन हल्लिन थाल्छ तब सम्झन्छु छोरी शुभेच्छालाई । बिरामी हजुरआमा र पाँच महिनादेखि कुरुवा बसेकी आमालाई भेट्न पोहोर साल भदौतिर काठमाडौंबाट भरतपुरका लागि उडेको प्लेन बेस्सरी हल्लनाले अचेल ऊ प्लेन चढ्नै मान्दिनँ । उडेको करिब दश मिनटपछि भनेकी थिई, ‘गाडीबाट जानुपर्ने रहेछ’ । बाल मस्तिष्कले पहिल्याएको विकल्प सुनेर बेस्सरी हाँसेका थिए प्लेनमा अरूहरू पनि । जुन सम्झनाले डो¥याएका भए पनि आफ्ना मान्छेहरू सम्झेर मनको द्वारमा खुसीका धजापताका हल्लिन थाल्छन् ।
नागबेली गोरेटा, सुन्दर वन, चौर, गोठ आइरहे । कतै छायाँले छहेँलिएका त कतै घामले पहेँलिएका वनपाखा मनमुटुमाझ छाइरहे । तरेली परेका खेतबारी र बस्ती आँखामा सजिइरहे । नदीनालाका स्वच्छ प्रवाह हृदयमा बेगिइरहे । थाहा पाएँ, मेरो नसा–नसामा आमाबाबुको वंशाणु रगत मात्र होइन प्रकृतिको सुन्दरता पनि घोलिएको रहेछ । त्यसैले त प्रकृति प्रेममा निमग्न हुँदा रहेछन् मेरा तन्तु–स्नायुहरू ।
प्लेनले उचाइ घटाउँदै थियो रमाले देखाइन् एउटा बजार । मैले अनुमान गरेँ, यो हुनुपर्छ ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार । तुवाँलोले घेरिएको फुङलिङ बजारको मुहार फुङ्ग उडेझैँ देख्दैथेँ, सुकेटारको ग्राभेल ग्राउण्डमा उत्रियो प्लेन । उचाइमा डुलेको चिसो बतासले सुम्सुम्याइहाल्यो । शितल प्रदेशमा उक्लँदाको उत्साहले, उल्लासले, उमङ्गले बुर्कुसी मा¥यो मभित्र ।
प्लेनमा उडे पनि वा जीउ छाडेर कुदे पनि समयलाई छल्न कहाँ सकिँदो रहेछ र ? अविराम बगिरहेछ समय । बाल्यकालका सम्झनाहरू हिजै हो कि जसरी आँखाको डिल वरिपरि दगुर्छन् तर कतै हिसाब नभएर बितिरहेछ समय । एकहत्तर सालको पूर्वार्धमा आफ्नै देशको पूर्वी सिमानामा उभिन पाएकोमा भने समयलाई मनमनै धन्यवाद दिन्छु र एउटा निःश्वास लिन्छु सन्तोषको, तृप्तिको, गर्वको । आहा ! मैले नेपालका चारै कुनामा टेकिसकेँ ।
दश बजिसकेर होला, आन्दोलन नमच्चाए पनि जागरण अभियान सञ्चालन गर्दै थियो भोकले । पाँच छ वर्षदेखि होटल सञ्चालन गरिरहेका सोलुखुम्बुका दाईको होटलमा पसेर पेटको क्षुधा शान्त गरेँ मैले । दाल, भात, आलु, साग र गोलभेँडाको अचार । मागेर थपेँ एक ढिँडी अकबरे खुर्सानी ।
मध्यान्हउन्मुख छ समय । सुकेटार विमानस्थलका कर्मचारी नारायण श्रेष्ठका दम्पति र पाटनका दीर्घमान जोशीका दम्पतिसँग गफिइरहेछु । कञ्चनजङ्गाको आधार शिविरसम्म पुग्ने ताकमा निस्किएको म पाथिभरा उक्लने टोलीमा मिसिन खोजिरहेछु यतिखेर । तुवाँलोको घुम्टो ओढेर पूर्वोत्तर क्षितिजबाट डाकिरहेछ पाथिभराले मलाई ।
पाथिभरातिर हानिएँ म एउटा जीप चढेर । जीपमा छन् मसँगै ओम प्रकाश, दीर्घमान र उषा । जीप हाँकिरहेछन् सुवाशले ।
खुर्खुरे डाँडामा भर्खरैजसो खनेको बाटोका एकाध घुम्ती पार नगर्दै बिग्रेको ट्रकले अबरोध गरेपछि ब्याक भएर अर्को डाँडा घुम्यौँ हामी ।
‘सानो पाथिभरा’, सुकेटार विमानस्थलसँगैको सानो मन्दिर देखाउँदै ओम प्रकाश राई बोले, ‘पाथिभरा पुग्न नसक्नेहरूका लागि हो यो’ ।
मैले भने डाँडैडाँडाको खुड्किलो टेकेर उक्लनुपर्ने उचाइमा मुस्कुराइरहेको पाथिभरातिरै नजर लगाएथेँ । ‘अन्नैअन्नले भरिएको पाथीको आकारमा सजिएकोले पाथिभरा भनिएको’ भन्ने भनाइ दोह¥याएँ मनमनै ।
गीत बजिरहेछ, गाडी त्यसकै तालमा नाचिरहेछ – अघि–पछि, दायाँ–बायाँ । कसैको काँधमा बोकिएर नाचेझैँ भइरहेछ मलाई । घरि टाउको त घरि कुम ठोक्किँदा बिग्रेको बाटातिर नजर जान्छ बल्ल । ठूल्ठूला खोबिल्डा र पसारिएका चट्टान छिचल्दै घिस्रिरहेछ गाडी । पाङ्ग्राको स्पर्श पर्नासाथ मिहिन पाउडरले ढाक्छ वरपर ।
‘पाथिभराको पाउडर’ व्यङ्गय कस्छन् सहयात्री ।
‘फोक्सोमा छिर्न नदिउँ, शरीरमा दलौँ, झन् निखार आउँछ’ म पनि जिस्किन्छु ।
त्यो सबै सामान्य हो भने जसरी चर्कोचर्को बोलिरहेछन् राईजी, घरि सामुदायिक वनका कुरा, घरि खानेपानीका कुरा, घरि बाटोका कुरा, घरि रातो पाण्डाका कुरा । एक ठाउँमा भर्खर भाँचिएका र लतारिएका बोटविरुवा देखाउँदै गाडी दुर्घटना भएको स्मरण गरे उनले । अनि सुनाए, धेरै मान्छे मरेको र रात अबेरसम्म गरेको उद्दारबारे । आङै सिरिङ्ग भयो बाटाको त्यो डिल हेर्दा । भित्री मनदेखि निस्किएको भयभन्दा डरलाग्दो अरू के हुन सक्छ र ? म आतंकित भएँछु भयको डरलाग्दो भड्खालो देखेर ।
डा. सुन्दरमणि दीक्षितको सौजन्यमा बनेको धारो देखिएथ्यो देउराली नजिकै । अर्को ठाउँमा भने कसैले बनाएछ छाते ढुङ्गा । मान्छेको विवेक र लहडले थपिएको छ संसारमा विविधता र सुन्दरता । प्रकृतिको हिफाजत गर्दै प्राणीका हितका लागि जति गरे पनि हुन्छ सिर्जना, एक्लै बतुराएँ म ।
काफ्ले पाटी भनिने तल्लो फेदीमा ओराल्यो जिपले हामीलाई । ताप्लेजुङको याम्फुजिनमा जन्मेका टासी लामाको होटलमा एकछिन बिसियौँ हामी ।
‘माथिल्लो फेदी पुगेर बस्नोस् आज भोलि बिहानै पुग्नोस् पाथिभरा’, लामाजीको सल्लाह थियो ।
‘हेरौँ, गोडाले कहाँसम्म डो¥याउँछ, समयले कहाँसम्म पु¥याउँछ’ मनमनै मुस्कुराएँ म ।
उकालो सुरू भयो पाथिभराको । ठड्याएका लौरामध्ये एउटा सजिलो र हल्का छानेर टेकेँ मैले ।
आधाघण्टा नउक्लँदै चारैतिर कालोनिलो भएर बर्सन थाल्यो आकास । जीत बहादुर लिम्बुको चिया पसलमा छि¥यौँ हामी ।
नायिका झरना थापासँगै खिचाएको फोटो ढोकामा टाँसेका उनले अनायास सोधेथे, ‘भेडीगोठ फिल्म हेर्नुभएको छ ?’ पखनबेत, मकै, चाउचाउ, चिया आदि थापेर बसेका उनले सुझाए, ‘सिडी किनेर भए पनि हेर्नुहोला, पाथिभराको सेरोफेरो छ त्यसमा अनि स–सानो रोल गरेको छु मैले पनि !’
‘हुन्छ हेरौँला, खोई म पनि खिचौँ त दाईको फोटो’ मैले पनि हौस्याएथेँ उनलाई ।
दर्कियो पानी । अँध्यारियो क्षितिज । चिसियो मौसम । आवतजावत भइरहेको दोहरीलत्ता रोकियो । यो सब देखेर नयाँ ठाउँमा अँध्यारियो मेरो मन पनि ।
रेडबुल चुसिरहेको एकजना भारतीयले पाथिभराको अद्वितीय उकालोको बयान गरिरहेथ्यो, ‘इससे बडा चढाइ कहीँ नहीँ’ ।
नेपालीहरूलाई इमान्दार र सहयोगी भन्दै प्रशंसा पनि गरिरहेथ्यो उसले । गाडी फुङलिङ बजारमै राखेको ऊ ठूलो पानी परेर नथुनिए हुन्थ्यो हामीसँगै, बदलामा शुभकामना राखेथेँ मैले ।
असिनापानी बेस्सरी दर्किँदा सुकेटारमा श्रीमती श्रेष्ठले गोजीमा हालिदिएको छुर्पी झिकेर टोकेँ मैले ।
पानी बन्द भयो । घाम लागेर आकास उज्यालियो । त्यो उज्यालो मान्छेका अनुहारमा सञ्चार भयो । पाइलाहरू सर्किए उज्यालो थुम्कातिर । र त, फेरि लस्कर देखियो उकालो ताकेको । म पनि मिसिएँ त्यही लस्करमा । र मिसिएँ जीवनको विजयोत्सवमा ।
ढुङ्गेनी सिँढीका छेउछाउ छन् एमानका ढुङ्गा । ती ढुङ्गामाथि ढुङ्गै चढाइएको छ । धागो नबाँधेको र पैसा नचढाएको त ठाउँ नै छैन ।
काबेली र तमोर खोलाका बीचमा सोतो परेर उक्लिरहेको ढुङ्गेनी पहाडको मोहक सौन्दर्यमा चुर्लुम्म छु म । दुई पाइला हिँड्दै नियालिरहेछु तल छोडिएको बाटो र सेरोफेरो ।
हामीलाई स्वागत गर्न गुराँसेमा उभिए गुराँसका अनगिन्ति पोथ्राहरू तर नफुलेका गुराँस देखेर त्यति रमाएन मन । ‘वसन्त नभोगी सुक्ने भए गुराँसे कोपिला’ मन पनि त्यसै चाउरियो ।
‘उकालोमा ठाडै बाटो नकाट्नु, थाच्च नबस्नु, सारै थाके पछाडि फर्केर सुस्तिनु’ बालाजु, काठमाडौंका गिरिराज अर्याल दम्पति पाथिभरा दर्शनपछि प्रफुल्ल हुँदै ओर्लिरहेका भेटिए । ३७९४ मिटर उचाइमा अवस्थित पाथिभरा उक्लँदा लेक लाग्ने झस्काले निल्दोरहेछ सबैलाई एकपटक ।
ओर्लिनेहरू सबैले पहाड चढ्ने तरिका, बस्ने ठाउँ र लैजाने सामानबारे सुझाइरहेथे । कसैका मुखतिर हेर्न पाएको छैन, चिनजान हुन्थ्यो र सुझाव तेर्सिइहाल्थ्यो । लाग्थ्यो, सत्कार्यमा सबैको साथ र सहयोग हुँदोरहेछ ।
उपल्लो फेदीमा टाँगिएको एउटा बोर्डले भनिरहेथ्यो, ३१५० मिटर उचाइमा टेकिसकियो । साढेचार बज्दा उपल्लो फेदीमा पुगेर बिसाएथ्यौँ आजको यात्रा ।
‘आधा उकालो उक्लिए होला’ नजिकै देखिएको पहाडको टुप्पोतिर नजर लगाएँथेँ मैले । पाथिभरा त्यही पहाडको शिखर रहेछ । अब त आँत भरियो – जङ्गली हरियालीजस्तै, आँखा उज्यालिए – उपल्लो फेदीका उज्याला घरहरूजस्तै, खुसी फक्र्यो मनमा – गुँडमा आमाबाबुसँग रमाएका बचेराहरूजस्तै ।
फेरि दर्कियो पानी । थपिए ठूल्ठूला असिना । पिटिइरहेछ एकोहोरो आलापमा बलेनी । झरिरहेछ आकास रित्तिने गरी झरी । रूझिरहेछन् मेरो मनजस्तै वनपाखा । कामिरहेछ लुगलुगी मुटु । निस्किरहेछ सास फेर्दा धुवाँको मुस्लो । मिल्किरहेछ हेर्नै नसकिने धर्सा मिल्काएर आकास । चट्किरहेछ कानै फुटाउने गर्जन बर्साएर चट्याङ । प्रकृति यति कठोर किन भइरहेछ ? शायद यो हो उचाइको दम्भ ! होइन होइन, धमिलो तुवाँलो हटाएर प्रकृतिले स्वच्छ पार्दै छ पाथिभराको सेरोफेरो । एउटा भरोसा भिœयाएर सन्तोष सुसेल्छु मैले ।
टाउको ओत्ने ठाउँ नभेट्टिएको भए निकै चुट्ने रहेछ असिनापानीले । गोठजस्तो भए पनि बास भेटिएकोमा ढुक्क थिएँ म । आज रातभर बर्से पनि भोलि बिहान कसो नहोला विदो, एउटा आश पालेर खाना छड्किरहेको अगेनो घेरिरहेको छु । त्यो परिवारका तीनभाइ भट्टराई, घरकी साहुनी, धनकुटे तामाङ दम्पति, जोशी दम्पति र अरू छिमेकीहरू छन् अगेना वरपरको शेष भागमा । घरमूली भट्टराई बजारबाट फर्किएको छैन । ‘नचुटिए हुन्थ्यो असिनापानीले ऊ’ त्यो परिवारलाई भन्दा मलाई किन पिरोलो ? अनाहक चिन्ता लिने बानीले आफैसँग रीस उठ्छ ।
जुम्ल्याहा जस्ता एकवर्षे बच्चा रूझाउँदै ल्याइपु¥याए पाथिभरा पुगेर फर्केका भक्कलुले । हामीले अगेनो छोडिदियाँै । त्यहीँ बास बस्ने योजनासमेत बनाएका तिनले खानेबस्ने रैरकममा कुरा नमिलेको भन्दै पानी रोकिएपछि ओर्लिए तलतिर । काठमाडौंमा प्लेन चढ्ने बेलामा सुकेटारे यात्रुको झोला साटिएझैँ त हुँदैन भन्दै मैले तिनीहरूका हात र काँधतिर शङ्कालु नजर हुत्याएँ ।
‘लसुन कम थियो’, ‘भुटुन कम थियो’ खाना खाएपछि फुच्चेहरू हाँसिरहेथे अगेनाको छेउमा । ‘खाना त ठीकै थियो’ अरूले स्वाभाविक प्रतिक्रिया दिइरहेथ्यौँ । पछि थाहा भयो ‘लसुन’ र ‘भुटुन’ त तिनीहरूको जिस्क्याउने नाम पो रहेछ ।
हरेक कामलाई धन्दा गरेको भन्थे तिनीहरूले । सबै धन्दा सकेपछि मुढा जोतेर ठूलो डेक्चिमा भोलिका लागि पानी बसाल्ने धन्दा गरे तिनले । आगो तापिरहेँ मैले । अचम्म त के थियो भने आगोको सम्मुख ढेपिए पनि पिठ्युँ र खुट्टा भने चिसै रहिरहे । आगोसँग धेरै जिल्लिएपछि म पनि लागेँ ओच्छ्यानतिर । ओच्छ्यान के भन्नु, थाङ्गनाको डङ्गुर छ । रसाएको भित्तोको चिस्यान छेक्न सकेको छैन प्लास्टिकले । त्यही चिसो कुहिएर ढुसी बनेको छ नाकै फुटाउने ।
झोलाबाट झिकेर भएभरका लुगा भिरेँ जिउमा र पल्टिएँ मेरो लम्बाइ नथेग्ने खाटमा खुट्टा दोब्य्राएर । थकाइले गालेकोले होला छिटै लोलाएछन् आँखाहरू ।
अर्को दिन बिहान साढेचार बजे नै उपल्लो फेदीबाट लागियो उकालो ।
कान्छीदेवी थानदेखि धागाले डो¥याउन थाल्यो बाटो । ढुङ्गेनी खड्केरीका लाम तत्पर थिए शिखरमाथि पु¥याउन । वन–बुट्यानभित्र हुन्हुनाउँदै उक्लिरहेथ्यो उकालो बाटो । लक्ष्य पछ्याउन सके गन्तब्य अवश्य फेला पर्छ, निरन्तर उक्लिरहेँ म ।
क्षितिज रातो भयो । त्यसको पर्खाइमा बसेका चराहरूको चिरबिर पोखियो, जीवजन्तुको कल्याङबल्याङ गुञ्जियो वरपर । उत्तरोत्तर चुलिइरहेका हिउँचुलीमा झुल्कियो रातो । त्यो लालीगुराँसका थुङ्गामा पनि खस्यो र उफ्रँदै मान्छेका अनुहारमा मिसियो ।
रातो हुन्छ परिश्रमी मान्छेको अनुहार । भर्भराउँदो रातो हुन्छ वीरहरूका बलिदानीले सिञ्चिएको मुलुकको मुहार । रातो रङ क्रान्तिको रङ, सङ्घर्षको रङ, अग्रगमनको रङ । सोच्दासोच्दै सर्वत्र देख्न थालेँ रातो । रातो सूर्य, राता हिमाल, राता मान्छे, ... । सुन्दर दिन जन्माउने रातो बिहानीलाई सलाम गरेँ मनमनै । पूर्वेली क्षितिजमा मेरो मन पनि रङ्गीन बनेर नाचिरहेको थियो शिखरशिखर ।
कुरा चाहीँ भर्खरै उदाउँदो रातो बिहानीको गर्ने तर व्यवहार औँसीको कालरात्रीको गर्नेहरूलाई सम्झँदा भने एउटा नमिठो स्वादले घाँटी पर्पराएझैँ भयो । यो शुभ बिहानीमा नसम्झेकै भए जाति हुन्थ्यो त्यस्ता ढटुवारेहरूलाई । विक्षिप्त मन थुम्थुम्याउन धेरै कठिन भयो मलाई ।
जति उक्ल्यो उति उक्लन बाँकी । टुङ्गो त्यही डाँडामा होला भन्यो, फेरि अर्को डाँडा उभिइहाल्छ । ‘अब पाथिभरा पुग्न थोरै मात्र बाँकी’ लेखेर झुण्ड्याएको बोर्ड पनि तलै छोडियो । अशक्त र वृद्धवृद्धाहरूलाई ढाढस दिन खोजेको होला त्यसले । तर गलत सूचनाले त्यति रमाएन मन ।
हिमालहरू नजिकै मुस्कुराए । हेर्दै जाँदा ती होचा देखिन थाले । हिमाल महाभारत लेकभन्दा होचो त कहाँ हुन्थ्यो र, लगातार उक्लँदा माथि पुगेझैँ ठान्नाले लागेको होला त्यस्तो । सबै अनुभूति सत्य कहाँ हुन्छन् र ? एउटा सत्यले भने चिमोटेथ्यो भित्रभित्रै – उचाइको खुला संसार भेट्टाउनैका लागि मरिहत्ते गर्दा हुन् मान्छेले पर्वतारोहण गर्न !
साथी छन् गुराँस, धुपी, ढुङ्गा र उकालो । निःशब्द छन् चराचुरुङ्गीहरू । स्तब्ध छन् रूखविरुवाहरू पनि । हावाको एकझोक्का नपाए पनि बाँचिरहेछन् ती, जसरी फोक्सो धप्काउँदै उक्लिरहेछु म । जति कठोर प्रकृति त्यति तगडा जीवजन्तु ।
करिब एकमहिना अघि मर्केको दायाँ हातको नाडी चिसोले गर्दा हिजो राती दुखेको थियो अनायास । उकल्चिने हो कि बारम्बार भनेर डराइरहेछु म ।
लोखर्के र लामपुच्छ्रेको चर्तिकला नियालिरहेथेँ, दीर्घमानजी आइपुगे । उनले मुभीमा उन्न चाहे तिनीहरूको राइँदाइँ । अम्बाको जस्तो काण्ड भएका लालीगुराँस र लोकताका फूल देखाएँ मैले ।
‘अनेकौँ थरिका लालीगुराँसमध्ये दुईचार थरिका त यहीँ सँगै रहेछन्’ मुभी क्यामरा गुलाबी र रातो गुराँसतिर तेर्साए उनले ।
विद्युतबिनाको तार छ टाउकैमाथि । त्यसकै लागि काटिएको हुनुपर्छ बाटो छेउछाउका यति बिध्न गुराँसका बोट । मान्छेको विध्वंश गर्ने प्रवृत्तिप्रति रोष प्रकट गर्दै थियो अन्तरहृदय ।
काखमा च्यापेर बली चढाउन लैजाँदै गरेका पाठाका म्याँम्याँ करुण रूवाइले साह्रै खिन्न भयो मेरो मन । योगी नरहरिनाथले डहरे देउरालीमा होम गरेर बली निषेध गरेको सम्झँदै चिचिले पाठाहरूको पक्षमा उभियो मन – ‘जीवन रक्षाका लागि पुजिने देवतालाई किन भेटी चढाउने अर्काको प्राण’ ?
‘श्रद्धाभन्दा ठूलो अरू कुनै पूजा सामग्री हुँदैन’, आस्तिकहरूलाई सुझाइरहेथ्यो मभित्रको नास्तिक मान्छे ।
‘सानो पाइला तर निरन्तर हिँडाइ’ एकजना यात्रु मभन्दा अघि पुग्यो । ऊ अलिमाथि पुगेर करायो ‘बेबी स्टेप’ । सहयात्रीलाई सुझाव होला, मैले अथ्र्याएँ ।
मुखभरी सातु दलेका एक हूल मान्छे आइपुगे । कसैले भने सातु शरीरभर दलेको देखिन्थ्यो । तिनका शरीरले भनिरहेथे, ‘सातुले लेक लाग्न दिँदैन’ ।
चुचुरो चुम्नै लाग्दा देखिए बैजनी र सेतो रङ मिश्रित सुन्दर फूलहरू । सुरूमा त लालीगुराँस वैलेर झरेको ठानिरहेथेँ; गौर गरेर हेर्दा थाहा पाएँ, ती त उचाइमा फुल्ने फूल पो रहेछन् । मुलायम होलान् भन्ठानेको त कक्रक्क जमेको हिउँजस्तै स्पर्शित भए । तिनैमाथि तुषारो जमेर हो वा उचाइ उचाल्ने प्रजाति नै त्यस्तै, अनुत्तरित रहेँ म । जेहोस्, कठिन उकालो छिचोलेर टेकेको लेकमा भेटिएका ती फूलले मुग्धै बनाए मलाई । जोशीजीले मेरो तस्वीर टाँसिदिए युगयुगलाई ती फूलसँग । उषाजी भने फूल नछुन आग्रह गर्दै थिइन्, लेक लाग्ने डरले ।
शारदा शर्माको कृति ‘भुइँफूलको देश’ को आवरणका फूल सम्झेँ, ठ्याक्कै मिल्थे ती । मैले ती लेकाली फूलको नाम ‘भुइँफूल’ होइन ‘शिखरफूल’ राख्न चाहेँ । चिसो खाएर सुन्दरता ओकल्ने तिनलाई मुटुमै सजाएँ ।
उकालो सकिएर ते¥पाएँ लागेपछि बाटैमुनि देखिएका गुराँसका पोथ्रा हेरेर भनेथेँ मनमनै, ‘हावा नलाग्ने यो शान्त प्रदेशमा सोझो नउभिएर किन बाङ्गिएको ?’ ‘हिमाललाई नमन गर्न’ मन बोल्यो । मनसँगको संवादले मुस्काएँ म ।
आहा ! शिखरमै टेकियो ।
मान्छेले मन्दिर बनाउन नसकेको अग्लो चुचुरो हिमालै त होला, मेरा नजर फैलिएथे पारिपारि । आहा ! क्या सुन्दर हिमश्रृङ्खला । सगरमाथा, मकालु, कुम्भकर्ण, यलुङकाङ आदि हिमचुलीसँग परिचय गराइदिएथे एकजना अपरिचित यात्रुले । कञ्चनजङ्गा भने तुवाँलोमा लुकिसकेको थियो । ‘पर्ख, म छिटै आउँदैछु तिम्रो नजिक र तुवाँलोको धुमिल घुम्टो मिल्काएर हेर्नेछु अपलक तिमीलाई’, साउती गर्दै भनेथेँ कञ्चनजङ्गासँग ।
जिन्दगीले पारेका एकाध पाइला तिनै हिमालका छेउछाउ छर्न पाए, कल्पेथेँ मैले । निर्बाध स्वच्छताका पक्षधर अटल हिमालले टाढैबाट पनि चुम्बकले जसरी तानेथे मलाई । जिन्दगीका बेफुर्सदिला बिब्ल्याँटा मोडहरू त हुन् नि सुन्दर प्रकृतिदेखि बिमुख गराउने मलाई; सरल रेखामा छोइएको हिमालसँग समानान्तर उभिएर सोचेथेँ मैले ।
हिजोको बर्षात्ले तुषारोको जालो छरिदिएको रहेछ थुम्काभर । पाथिभरा थान वरिपरि पूजा आरधना भइरहेथ्यो । घण्ट बजिरहेथे । पाथिभरालाई श्रद्धा चढाएपछि त्यो सब हेर्दै थुम्काभर छरिएथे मेरा पाइलाहरू ।
पाथिभरा थान मास्तिरको डाँडामा कोरिएको हेलिप्याडले भने दुईदिन लगाएर उक्लेको मजस्ता लाखौँको मेहनत अबमूल्यन गरेझैँ लाग्यो । दूरदराजका मान्छेहरूलाई पनि काठमाडौंले डस्न आइपुगेझैँ लाग्यो, जसरी दैनन्दिन डसिरहेछ मलाई । विरक्तियो मेरो मन अनि पाथिभरालाई साक्षी राखेर छातीमा हात राखेँ मैले –
के दिएको छ र काठमाडौंले मलाई ? महिनाभर बगाएको रगत र पसिना; दुईछाक खाना, एकसरो नाना अनि डेराको बासमै सिद्धिन्छ । जे दिनुगर्नु मै गरिरहेछु बरू । बिहान सबेरैदेखि राती अबेरसम्म यसैका लागि जोतिँदा अनेक रोगको आश्रय बन्न लाग्यो शरीर । तथापि, कामको कुनै मूल्याङ्कन गर्दैन बरू कमिशनखोर र भ्रष्टाचारीहरूसँग साँठगाँठ गर्दै रमाउँछ । र, सफेद झुट बोल्दै बनावटी मुस्कानका साथ आकासतिर फर्कन्छ । झुट बोल्दा त्यसको अनुहारमा झन् आभा छचल्किन्छ । सारा दुनियाँले सरम मान्छ, उसले मान्दैन । त्यसको निष्पक्षता, विश्वसनीयता र सुशासन भोग्दाभोग्दै अपाङ्ग भइसकेँ म । फुटपाथमा घिस्रिएको देख्दा धाप मार्दै ‘फरकरूपले सक्षम’ भनेर चेपारो घस्छ र मप्रति भएका अन्यायहरूको उपेक्षा गर्दै मुस्कुराउँछ । त्यसैले त काठमाडौंदेखि कुँडिएको छ यो मन ! जति धारेहात लगाए पनि शान्त हुँदैन अन्तरमन ।
अनपेक्षित हुँडलो मच्चाएर अशान्तिको कुहिरो ओढाउने काठमाडौंलाई बिर्सन पारिपारि फैलाएँ नजर । धर्तीको जम्मै सेरोफेरो समेटियो आँखामा । दक्षिणपश्चिमतर्फ नजिकै देखियो फुङलिङ बजार । त्यसमाथि डिका लागेझैँ डाँडैको टुप्पामा एकधर्को भएर कोरिएको सुकेटार । हिजो गाडीबाट छिचोलेको कच्ची बाटोले तीनचारवटा डाँडाका थुम्का मात्रै नघाएको त रहेछ । प्लेनबाट ओर्लिएर नजिकैबाट आएको त रहेछु नि म । हिँडेर टाढाटाढाबाट आउनेहरू पनि अनगिन्ति छन् यहाँ । भारतबाट आउनेहरू पनि असङ्ख्य छन् यहाँ । मन भए माया टाढा कहाँ हुन्छ र ?
हामी ओर्लिँदा थुप्रै यात्रु पाथिभराको उकालो उक्लिरहेथे । धेरैका अनुहारमा अनिश्चितता थियो उचाइप्रतिको । तिनको हिँडाइ हेरेर उक्लन लाग्ने समय, बाटोमा पर्ने बिसौनी लगायतका कुरा भनिदिएपछि आभारी प्रकट गर्दथे, मुहारमा चमक ल्याउँदै कम्मर कस्थे र दह्रा खुट्टा टेक्थे ।
‘जहाँ ढुङ्गाढुङ्गामा देवताको बास छ ...’ कान्छीदेवी थाननेर ओर्लँदै गुन्गुनाइरहेथेँ म; मयमका धनबहादुर र अरू दुईजना आमाले हाजिर जवाफी प्रतिक्रिया दिए, ‘हेर्न सके मान्छेका शरीरमा पनि छन् देवता’ । म अवाक भएँ । हृदयस्पर्शी जवाफले निःशब्द भएँ । दाउराको भारी टेकाएर थकाइ मारिरहेका तिनका काया र कर्म म पुगेका सबै तीर्थस्थल जत्तिकै पवित्र छन् । स्वीकृतिमा टाउको हल्लाएथेँ र मनमनै नमन गरेथेँ मैले तिनीहरूलाई ।
‘सुलुत्त चिप्लिएर गइसके पनि टेक्न, अडिन र घिस्रिन बडो सङ्घर्ष गर्नुपरेको आफ्नै जिन्दगीको चारदशकको तुलनामा चारघण्टे उकालो उक्लनओर्लन के कठिन मान्नु र ?’ फेदीबाट उक्लेर पाथिभरा पुगेको उकालोतिर नजर लगाउँदै मनमनै भनेथेँ मैले, ‘आगन्तुकहरूलाई एउटा उँचो विश्वास र दीर्घ जीवन दिइरहेछ पाथिभराले’ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 9 माघ, 2071

लेखकका अन्य रचनाहरु