समयको सबक र खत्रीको खबरदारी

- राजेन्द्र पहाडी

राजेन्द्र पहाडी
आए त आँप
नआए झटारो भो
मायाको खेल । (हाइकू ३८)

थोरै शब्दले धेरै भन्नु आफैमा चुनौतीपूर्ण कुरा हो । त्यसमा पनि साहित्यिक रस, स्वाद र आकर्षण मिसाएर छोटा शब्दले ‘मोटा’ भावनाहरु अभिव्यक्त गर्नु चानचुने तरिका हुँदै होइन । पृथक ढंगको चेत, समझ, कला, शब्दज्ञान, विषयको गहिराई तथा प्रेषण विधिले मात्र चुट्कीमा धेरै कुरा व्यक्त गर्न सकिने हुन्छ । कनीकुथी शब्दको थुप्रो लगाउँदैमा भन्न खोजेको कुरा लालित्यपूर्ण र सम्प्रेषणीय हुन्छ नै भन्न पनि सकिँदैन । भाव गाम्भिर्यता, प्रस्ुततीमा छरितोपन र सामयिक सवाल उद्वोधनको समिश्रणले मात्र छरितो प्रस्तुती पाठकको तर्फबाट रुचाइन्छ ।
पछिल्लो समयमा नेपाली वाङ्मय फाँटमा छोटा, छरिता वा टुक्रे सिर्जनाका पाठकको संख्यामा ह्वात्तै बृद्धि भएको देखिन्छ । गीत, गजल, मुक्तक, चोका, ताङ्काजस्ता तुलनात्मकरुपमा छोटा रचनाहरुले धेरैथोरै आफ्नो स्थान बनाएको देख्न पाइन्छ । यही उपक्रममा जापानी शैलीका हाइकू सिर्जनाहरुले पनि पाठकको ध्यानाकर्षण गरिरहेको अवस्था छ । जापानी शैलीका छोटा कविता ‘हाइकू’ ले आफ्नो संक्षिप्त स्वरुपमा विहङ्गम दृष्टिकोण प्रस्तुत गर्दछन् । ५–७–५ को संरचना अन्तरगत जम्मा १७ अक्षरमा लेखिने हाइकू कविताले कविका भावना, विचार र चिन्तनलाई अत्यन्त छोटो रुपमा शक्तिशाली ढंगले प्रस्तुत गर्दछन् भन्ने विश्वास गरिन्छ । हाइकूमा कविले कमभन्दा कम शब्द खर्चिन्छ तर उसले प्रयोग गरेका हरेक शब्दको भाव, संकेत र मर्म ज्यादै धेरै, गहन र फराकिलो हुने गर्दछ ।
हाइकू लेखनमा कलम चलाउनु सजिलो विषय किमार्थ होइन । हाइकूको शास्त्रीय मान्यता, यसको विद्यागत संरचना र पाठकलाई रत्याउने पाराले विषयको प्रस्तुती गर्नुपर्ने चुनौतीले गर्दा यसको लेखनलाई साधारण नमानिएको हो । जम्मा तीन हरफमा लेखिने हाइकूले एउटा सिङ्गो विषयलाई तेस्रो हरफसम्म पुग्दा टुङ्ग्याइसक्नु पर्दछ । पहिलो हरफमा ५ अक्षर, दोस्रोमा ७ अक्षर र अन्तिम हरफमा पुनः ५ अक्षरमा आफ्ना भनाईलाई सक्नुपर्ने भएकाले हाइकू कविमा मसिनो सुझबुझको खाँचो पर्दछ । कमिलाले चिलेजस्तो वा माहुरीले सुँड गाडेजस्तो हाइकूको अध्ययनपछि पाठकले ‘चसक्क’ कोपेको अनुभव गर्न सक्यो भने हाइकू सफल भएको मानिन्छ । एउटा प्रभावकारी हाइकू पढ्दा पाठकले जाडो याममा तात्तातो कफीको सुर्की÷चुस्की लिएको अनुभूति गर्न सक्नु पर्दछ भन्ने मान्यता पनि पाइन्छ ।
कालीगण्डकी
नुहाउँदाको पूण्य
सफाई शून्य । (हाइकू ५७)
जापानी साहित्यबाट नेपालमा भित्रिएको हाइकू कवितामा हिजोआज आफ्नै खालका स्वाद, रङ्ग र ढंगहरु थपिएको महशुष हुने गरेको छ । कतिपय हाइकू कविहरुले यसलाई नेपालीकरण गर्न खोजेको पनि प्रतित हुन्छ । तथापी हाइकू लेखनको मूल मर्मलाई आत्मसाथ नगर्दा हाइकू लेखन परम्पराले बाटो बिराउने कुरातर्फ पनि सचेत हुन जरुरी हुन्छ नै । जे होस् नेपाली साहित्याकाशमा हाइकू लेखनको बाहुल्यता स्थापित हुँदै जानु सुखद विषय नै हो । हिजोआज पूर्वदेखि पश्चिमसम्म र उत्तरमा हिमाली भूखण्डदेखि दक्षिणमा तराई–मधेशसम्मका कवि साहित्यकारले आफूहरुलाई हाइकू लेखनका क्षेत्रमा उत्साहपूर्वक लगाइरहेको स्थिति छ । यसै माहोलमा पर्वतका युवा स्रष्टा इन्द्रमान खत्रीले ‘‘समय’’ (२०७०) हाइकू सङ्ग्रहमार्फत आफूलाई एक शसक्त हाइजिनको रुपमा परिचित गराएका छन् ।
पर्वतको तिलाहारमा जन्मे हुर्केका इन्द्रमान खत्री भरपुर सम्भावनाले युक्त साहित्यकार हुन् । यिनले यस अघि नै ‘मनको तृष्णा’ गजल सङ्ग्रह–२०६७ प्रकाशन गरिसकेका छन् भने विभिन्न राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाहरुमा यिनका सैयौं साहित्यिक लेख रचनाहरु प्रकाशन भएका छन् र यो क्रम निरन्तर छ । पर्वत साहित्य सङ्गम (२०५५) का परिकल्पनाकार तथा संस्थापक सदस्य समेत रहेका खत्रीको सहभागिता बैङ्गिङ, शिक्षा, समाजसेवा तथा पत्रकारितातिर पनि उत्तिकै महत्वकासाथ रहेको देखिन्छ । यिनी पर्वतबाट प्रकाशित हुने हाम्रो पर्वत खबर साप्ताहिकका प्रकाशक तथा सम्पादक, कालीको सुसेली साहित्यिक त्रैमासिकका सह–सम्पादक र बाल सुसेली त्रैमासिकका सम्पादक हुन् । नेपाल पत्रकार महासंघ, पर्वत शाखाको सदस्यका रुपमा यिनले पत्रकारिताको संस्थागत विकासमा योगदान पु¥याउँदै आएकाछन् ।
अनुदान भो
जीवन तिमीलाई
राजी खुशीले । (हाइकू ७३)

पर्वत साहित्य सङ्गमले प्रकाशकीय भूमिका निर्वाह गरेको ‘‘समय’’ हाइकू सङ्ग्रहमा खत्रीका जम्माजम्मी १७२ वटा हाइकू कविताहरु सङ्ग्रहित छन् । यस कृतिमा समाविष्ट हाइकूहरु विचरण गर्दा कविले आफू सामाजिक जीवनका विभिन्न क्षेत्रमा संलग्न हुँदा आर्जन गरेका विषयविविध अध्ययन, अनुभव, अभ्यास र अनुभूतिहरुको संयोजन भेट्न सकिन्छ । खत्रीका हाइकूहरु सरल, सरस र पाठकलाई च्वास्स छुने खालका छन् । यिनले प्रयोग गरेका शब्दपुष्पहरुको सहजता र विषयको सघनताले हाइकुको ओझ बढाइदिएको छ । खत्री हाइकू लेखनमा निकै फुर्केर अघि बढेको अनुभव गर्दछ पाठकले । यिनी उदात्त र निमग्न भएर हाइकूका शब्दहरुसँग निखारको धार लगाइरहेका भेटिन्छन् हाइकूभित्र ।
मूल्य अनन्त
स्वर्ग लाने कोसेली
पुण्य र दान । (हाइकू २)

हाइकूले जीवन, जगत र पर्यावरणका सर्वाङ्गिण पक्षहरुलाई बोधगम्य, शालीन, शौम्य तथा धीरतापूर्वक प्रस्तुत गर्नुपर्दछ भन्ने अपेक्षा राखिन्छ । झट्ट हेर्दा हाइकूहरु उखानटुक्काजस्ता, भजनको चुट्काजस्ता, धर्मग्रन्थका श्लोकजस्ता, मन्त्रजस्ता वा सामाजिक कहावतका रहनीजस्ता लाग्ने गर्दछन्, जसले समाजमा व्यक्तिहरुलाई एक खालको दर्शन, नैतिकता, सभ्यता र शिष्टाचार तथा आचार–विचार सिकाइरहेका हुन्छन् । इन्द्रमान खत्रीकृत थुप्रै हाइकूहरुले उपरोक्त जिम्मेवारीलाई पूरा गर्ने सत्प्रयास गरेकाछन् । यिनका अधिकांश हाइकूमा समयको आवाजले प्रमुख स्थान पाइरहेको भेटिन्छ । समयलाई यथोचित प्रतिबिम्बित गर्ने ध्येयमा खत्रीको लेखन अविचलित जुटिरहेको पत्तो पाउन कुनै कठिनाई हुँदैन । कालको सौंन्दर्य महिमा गाउन र यसको विद्रूपतामाथि कठोरतापूर्वक प्रहार गर्न यिनी चुकेका छैनन् । यो हाइकू सङ्ग्रह खत्रीको समय चिन्तन सम्बन्धी दस्तावेजको रुपमा बाहिर आएको बुझ्न सकिन्छ ।
जान्छौ लुरुक्क
किन हो मुग्लानमा
माटो खनन । (हाइकू १७०)

नेपाली समाजको गहनाको रुपमा रहेका सद्भाव, सहिष्णुता, सदाचार, सहयोग, सहकार्य, प्रेम, दयामाया, पारस्परिक स्नेह, ममता, बन्धुत्वभाव जस्ता पक्षको खुलेर बखान गर्न हाइजिन खत्री उत्साहित देखिन्छन् भने गरिबी, अशिक्षा, अभाव, अन्याय, शोषण, अत्याचार, वेविचार, खुराफाती प्रवृत्ति आदिको विपक्षमा खरो स्वरलाई घन्काएका भेटिन्छन् । यिनका हाइकूमा नेपालीपन झल्कने संस्कार, संस्कृति, रितिरिवाज र परम्पराका बारेमा पनि वकालत गरिएको छ ।
मुटु खोलेर
बोलेँ आफ्नो भनेर
तिमी बेमानी । (हाइकू ६)

यिनका कतिपय हाइकूहरु दुईजना बीचको संवादजस्ता पनि लाग्दछन् । समाजलाई सकारात्मक दिशामा डो¥याउँदा मात्र देशको आमुल परिवर्तन सम्भव हुन्छ भन्ने आफ्नो ठम्याइलाई कविले आफ्ना हाइकूको सहायताले प्रकट गरेको भेटिन्छ । यिनको हाइकू लेखनले उच्च सभ्यता, सु–संस्कृति र सामुहिक वैभवका पक्षमा प्राथमिकता दिएको छ । सर्वतोमुखी उन्नती प्रगति र खुशीयाली भित्राएर सबैको मुहार हँसिलो रसिलो देख्न चाहने यिनको अन्तरइच्छा हाइकूमा स्खलित भएका छन् । समाज चियाउने आँखीझ्यालका रुपमा यिनका हाइकुहरु कहिले ‘वाचडग’ झैं मौनतामा उभिएकाजस्ता लाग्छन् भने कहिले ‘बार्किङ डग’ का रुपमा समग्र विरुपताकाविरुद्ध हुँकार छेडिरहेका देखिन्छन् ।
विकास आयो
मोटाए नेताहरु
जनता सुके । (हाइकू ९८)

आफ्ना हाइकूमार्फत कवि खत्रीले मातृभूमि प्रेमको सतत् गीत गाएका छन् । जन्मभूमिमै केही न केही गर्नुपर्ने तर्फ यिनको जोड रहेको छ । अरबका खाडीमा गएर गोरु जोतिएझैं जोतिएर काम गर्दा पनि खासै परिवर्तनको संकेत देख्न भोग्न नपाएकाहरुलाई आफ्नै माटोमा रगत पसिना बगाउन यिनले ध्यानाकर्षण गरेका छन् । विभिन्न विषम अवस्थाका कारणले मुग्लान गएकै भए पनि फर्केर आफ्नै देशमा आउन यिनले आग्रह बिसाउँछन् ।
जाऊ र आऊ
स्वदेशमा रमाऊ
जन्मेको माटो । (हाइकू १६५)

देश प्रेम र मातृभक्तिका कुरा मात्र होइन, यिनका हाइकू व्यक्तिगत मायाप्रेमका भावनाले पनि ओतप्रोत भएका छन् । मायाप्रेमका नाममा घरबार बिग्रने गरेको प्रति पनि यिनले सचेत गराउन खोजेका छन् हाइकूमार्फत । बहुल विषयकेन्द्री विम्ब र प्रतिकको प्रयोगले हाइकूलाई सलल बगाउने यत्न गरेका छन् कविले ।
माया जपेर
घरबार बिगा¥यौ
जाल थापेर । (हाइकू १६१)

व्यक्तिमा रहेको अटेरीपना र बैगुनी स्वभावलाई पनि यिनले व्यङ्ग्य प्रहार गरेको भेटिन्छ । कुराले आकास–पाताल जोड्ने तर आमनेसामने हुँदा देखो नदेखो गर्नेहरुको नकच्चरो वृत्तिलाई यिनले उत्तिसारो रुचाएका छैनन् ।
भेटमा तर्कियौ
बोलाउँदा झर्कियौ
माया कता छ । (हाइकू १६३)

नेपाली समाजमा व्याप्त बेइमानी, स्वार्थी र भ्रष्ट आचरण यिनका लागि सह्य छैन । राजनैतिक क्षेत्रमा देखापरेको घटियापन र फोहोरी जालझेल कविले पटक्कै रुचाउँदैनन् । यस्तो नौटंकी तथा दोहोरो चरित्रको भण्डाफोर गर्न यिनी लालायित देखिन्छन् । तस्कर, छलछाम गर्ने तथा पातकी स्वभाव भएकाहरुलाई यिनले झटारो हान्छन् ।
भन्सार हाम्रो
पोका पन्तरा छाम
तस्करी लाम । (हाइकू १५५)

कवि खत्री सबै नागरिक अनुशासित, हार्दिक, परिश्रमी र कर्मभिरु भएको देख्न चाहान्छन् । व्यक्ति–व्यक्ति इमान्दार, न्यायी र दूरदर्शी बन्न सक्दा नेपालको शान र मान उचाईमा पुग्ने यिनको ठहर छ । त्यसैले आफ्ना हाइकुमार्फत यिनले आव्हान गर्दछन् ः
गहना भिर
अनुशासन तिम्रो
सुयोग्य बन । (हाइकू २३)

स्थानीय साधन र स्रोतको उपयुक्त सदुपयोग गर्न नजान्दा अभाव, असुरक्षा, अन्धकार र अन्यौलपूर्ण अवस्थाबाट गुज्रिनु परेकोतर्फ पनि कविको मानसपटल उद्देलित हुन पुग्छ । नजिकको तिर्थ हेला भनेजस्तो आफ्ना वरपरका प्राकृतिक सम्पदाहरुमा ध्यान पु¥याउन नसक्नुलाई कवि खत्रीले निको मानेका छैनन् । उनले राजनैतिक नेताहरुलाई भाषणमा भन्दा काम गरेर देखाउन पनि विन्ति विसाउँछन् । काखैबाट बगेर गइरहेको कालीगण्डकीको पानीलाई ऊर्जामा बदल्न नसकेर लोडसेडिङको मार सहनुपरेकामा उनलाई दुःख मनाउ छ ।
काली गण्डकी
अथाह बगिरहन्छ
बत्ती नबाली । (हाइकू ६०)

माथि विविध सन्दर्भमा उदृत गरिएका इन्द्रमान खत्रीका हाइकूहरुले यो वा अर्को ढंगले हामी बाँचेको समाजको यथार्थतालाई पटाक्षेप गरेका छन् । समयको वस्तुगत अभिलेखन सिर्जनामार्फत गर्न सक्नु खत्रीको सवलता हो । दुर्बलताहरु माथि खोट देखाउने मात्र होइन, अपितु राम्रो गर्नका लागि सुझाव प्रस्तुत गर्ने आँट गर्नु उनको लेखनको सौन्दर्यका रुपमा रहेको छ । तथापि नयाँ विधामा कलम चलाउँदा सबैथोक चिरिच्याँट्ट छन् भन्न सकिँदैन । खत्रीका हाइकूहरुमा हाइकूको भावना, मर्म र सिद्धान्तलाई के कसरी कसी लगाउने भन्ने कुरा पाठकको स्वतन्त्रताको विषय पक्कै हो । यिनका हाइकू पढ्दा पाठकले रोमाञ्चकता महुशुष गर्न सक्यो र हाइकूभित्र आफ्नोपनको अनुभूति कतै न कतै गर्न सक्यो भने इन्द्रमान खत्री उम्दा हाइजिन ठहरिने तथ्यमा विवाद हुन सक्दैन ।
कृति ः समय
विधा ः हाइकू
कृतिकार ः इन्द्रमान खत्री
प्रकाशक ः पर्वत साहित्य सङ्गम
पृष्ठ संख्या ः ९६
प्रकाशित वर्ष ः २०७०

कुश्मा, पर्वत

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 9 माघ, 2071

लेखकका अन्य रचनाहरु