पछुतोको आँसु

- बद्री अधिकारी

मान्छे घरिघरि आफूले सोचे, ठाने, ठम्याए र अनुमान गरे विपरित कुनै
प्रकारको घटना घटेको यथार्थबाट जब परिचित हुन्छु त्यस अवस्थामा अपराध
बोधले छट्पटिन थाल्छ ।

रूपेश आफ्नो दाँया छाती सुम्सुम्याउँछ जसमा भित्री घाउ अझै नथाकिसकेकोले
होला चस्स दुखेको अनुभव गर्छ । उसको छातिमा आफ्नै श्रीमती प्रभाले दुई
हप्ता अघाडि ऊ निदाएको अवस्थामा छुरी प्रहार गरेकी थिइन् । डाक्टरहरूले
उसलाई मुस्किलले बचाउन सकेका थिए । प्रभा कसरी ऊप्रति त्यति निर्दयी र
कठोर भइन्, उसले चित्त दुख्ने बोली त कहिल्यै बोलेको थिएन । उसले
अनुमानसम्म गर्न सकेको थिएन । दुई घण्टा अघिसम्म प्रभाको स्मरण हुँदा
घृणा जागेर आउँथ्यो । तर अहिले कताकता मनको भित्री कुनामा उनीप्रति दया
जागेर आइरहेको छ । ऊ हात लम्काएर अघि मात्र पढिसकेको, टी टेवलमाथि रहेको
प्रभाको हस्तलिखित डायरी उठाएर पुनः पाना पल्टाउन थाल्छ । उसलाई त्यो
डायरीको हरेक अक्षर, शब्द र वाक्यले आफूप्रति व्याङ्ग्यकसे झैँ लाग्छ ।
डायरीको पहिलो पृष्ठ उघार्नासाथ प्रभाको व्याङ्ग्यपूर्ण मुस्कानको
आकृतिले आफूलाई जिस्क्याए झैँ भान हुन्छ । आफ्ना दुवै आँखा चिम्लन खोज्दछ
प्रभाको व्याङ्ग्यात्मक मुस्कानदेखि बँच्नको लागि तर त्यसो गर्न सक्दैन र
डायरीमा लेखिएका अक्षर, शब्द र वाक्यलाई पुनः एक पटक पढ्न थाल्छ, मनमनै ।

“रुपेश तिमीले ममाथि जुन अप्रष्टरूपको अन्याय र अत्याचार गरेका छौ ।
त्यसले तिमीलाई सदा पच्छ्याउनेछ । हो, म जान्दछु अन्य मानिसहरूले
तिमीमाथि सदासय र दयाको भाव देखाउलान् तर तिमी स्वयम् आफूमाथि त्यसो गर्न
सक्दैनौ । अनि म यो कुरा पनि जान्दछु रुपेश कि तिमी अन्यहरूसँग म निर्दोष
र आफू दोषी छु भनेर पनि भन्न सक्नेछैनौ किनकि तिमी अरूको सामु आफ्नो
अपराध कबुलगर्न चाहँदैनौं । तिमी एकपटक आफ्नो मनमस्तिष्कका हरेककुना
काप्चामा छामेर हेर त्यहाँ स्वयम् तिमीले आफूलाई अपराधीको रूपमा
गिज्याइरहेको पाउनेछौ । आधुनिक सभ्यतासँग तिमी परिचित नभएका पनि होइनौ
तथापि तिमी सङ्कीर्णताको घेराबाट कहिल्यै मुक्त भएनौं । मभित्रको असह्य
वेदना र पीडालाई तिमीले नाप्ने, जाँच्ने र जान्ने चाहना कहिल्यै राखेनौ र
मसँग खुल्ला र खुलस्त पनि हुन चाहेनौं । मैले तिमीलाई बिवाहपूर्व
हाइस्कुल स्तरमा अनिलसँग प्रेम गर्थेँ भनेर अवगत गराउँदा–गराउँदै पनि
स्वेच्छाले तिमीले मलाई पत्नी बनाउने निर्णय गरेका थियौ ।
अहिलेको तिम्रो व्यवहार देख्दा मलाई लाग्छ, त्यस समय तिमी मेरो शरीरसँग
आशक्त भएका थियौ क्यार ! प्रेमको बारेमा कुरा गर्नु पाप होइन । अनिल
महान् थियो, उसको विचार, सोंच पूजनीय थियो । ऊ मेरो आत्मा, विचार र
भावनासँग प्रेम गर्दथ्यो तर तिमी कायर, लाछी र लिंडेढिपीवाल पशु रहेछौ
किनकि तिमी त केवल मेरो रूप, सौन्दर्य र शरीरसँग मात्र प्रेम गर्दारहेछौ
। रुपेश शरीर भनेको केवल भोग्य र प्रयोग सामाग्री मात्र हो, त्यसभन्दा
माथि उक्लेर तिमीले मलाई चियाउने, हेर्ने, बुझ्ने प्रयाससम्म गरेनौ ।
मेरो निश्कलङ्क शरीरमाथि तिम्रो शंकालु मनले भित्रीरूपमा गरेको शंकालाई
आँखाको माध्यमबाट बारम्बार खुकुरीले प्रहार गरी शरीरलाई रक्ताम्य बनाएझैँ
मेरो अन्तर्मनको कोमल मुटुलाई छियाछिया मात्र पारिरह्यौ नित्य । साश्वत
तिमीबाट प्रयोग भएको त्यो प्रहाररुपि व्यवहार मेरा लागि असह्य कष्टकर,
मानसिक पीडा, शारीरिक वेदनाका कारणहरू बन्दै गए । जसको कारण मभित्र
तिम्रो व्यवहारप्रति मात्र होइन शरीरसँग पनि घृणा पलाएकोले शारीरिक
संसर्गको अवस्थामा तिमीले इच्छा गरे बमोजिम मबाट सहयोग प्राप्त नभएकोले
तिमीले त्यस्को अर्थ अर्कै निकालेको हुनुपर्छ । साँच्चै रुपेश त्यही
असहयोगलाई नै तिमीले आफ्नो शंकाको पुष्ट्याईँ सम्झेका रहेछौ र मेरो
ठम्याइ यथार्थ रहेछ भने म आफूलाई धन्य ठान्नेछु ।

म जे गर्ने अठोटमा पुगेकी छु त्यो तिम्रा लागि र मेरा लागि नै हितकर
हुनेछ । बाँस नै नभएपछि बाँसुरी बन्दैन र बज्दैन पनि, होइन रुपेश ?”

डायरीका अक्षर, शब्द र वाक्यहरूले टाउको टन्टन् दुःखेको अनुभव भएकोले
रुपेशले डायरीलाई टी–टेवलको पूर्व स्थानमा राख्यो । सिङ्गल सोफामा खुट्टा
तन्काएर आराम मुद्रामा आँखा चिम्लियो मनमनै बड्बडउँदै ।

“प्रभा ! मैले तिमीलाई चिन्न र बुझ्न सकिनँ । तिमीले पनि त आफ्नो
अन्तर्मनको वेदनालाई मसँग पोखेकी भए हुन्थ्यो नि । तिमी मेरी श्रीमती
भएपछि त्यो तिम्रो अधिकार क्षेत्रभित्र पर्ने कुरा थिएन र ? ऊफ्....!”
आफ्ना दुबै हातका बुढी औलाले रुपेशले दुःखेको कनचटी थिच्यो । उसका
आँखाअगाडि प्रभासँगको अतीतका घटनाहरू चलचित्रका दृश्यझैँ क्रमिकरूपले
सल्वलाउन थाले ।

ऊ १२ कक्षाका विद्यार्र्थीलाई अन्तिम घण्टी पढाइसकेर घरतिर फर्किरहेको
थियो । आमाले उसको बिवाह गर्ने कुरा चलाएकी र एउटी केटीको फोटो
देखाएकी थिइन् । केटी सारै पढन्ते, वाणिज्य शास्त्रको स्नातक तहमा राम्रो
अङ्क ल्याएर पास गरेकी रहिछन् । ऊ आफ्नो साथीसँग घुम्ने बहानामा उनको
घरमा गएको थियो । प्रभा, उसलाई सारै राम्री लागेको थियो । ऊ उनकै बारेमा
मनमा कुरा खेलाउँदै अगाडि बढिरहेको थियो मोटरबाईकमा । अलि पर उनलाई
हिँड्दै गरेको देखेर उनीसँग गफगर्ने चाहना ऊभित्र पलाएको थियो । उसले
दिएको चिया पिउने निम्तोलाई उनले सहर्ष स्वीकारेकी थिइन् ।

“प्रभा ! तिमीसँग तिम्रा बुबाआमाले मेरो बारेमा केही भन्नुभयो ?”–एउटा
होटलको क्यावीनभित्र पस्दै उसले सोधेको थियो ।

“हजुर ...।”

“अनि तिमी त्यो कुरामा सहमति जनाउन सक्छ्यौ ?”

“बुबाआमाले मलाई धेरै कुरा सम्झाइसकेकाले मैले उहाँहरूसमक्ष सहमति
जनाइसकेकी छु ।”

“तिमी मलाई अनुमति दिन्छ्यौ भने म तिमीसँग तिम्रो नितान्त व्यक्तिगत कुरा
सोध्न चाहन्छु ।”

“सोध्न सक्नुहुन्छ, म तपाईंलाई कुनै कुरा ढाँट्तिन, बिवाहपूर्व एकअर्काको
बारेमा सबै कुरासँग परिचित हुनु राम्रो पक्ष हो ।”

“तिम्रो कुनै केटा साथीहरू पनि छन कि ?”–उसले सोध्यो ।

“हाइस्कूल स्तरको अध्ययनदेखि एउटा अनिल नाम गरेको केटो थियो जो अहिले
राजधानीमा बस्दछ । उसले मलाई असाध्य मन पराउँथ्यो ।”–यति भनेर प्रभा मौन
भएकी थिइन् ।

“तिमी चाहिँ ”–उसले उत्सुक्ता जनाएको थियो ।

“रुपेश जी ! साँच्चै भन्नु पर्दा म पनि उसलाई माया गर्न थालेकी थिएँ ।
हामीबीच धेरै प्रेमपत्रहरूको आदानप्रदान भयो र कति त अहिले पनि ऊसँग
सुरक्षित होलान् र मसँग पनि ।”

“तैपनि तिमी मसँग बिवाह गर्ने कुरामा सहमत जनाइरहेकी छौ ।” उसले आश्चर्य
प्रकट गरेको थियो ।

“म कसैकी छोरी पनि हुँ, मेरो आफ्नो कर्तव्य र दायित्व पनि छ । म आफ्नो
स्वार्थपूर्तिको लागि मात्र अग्रसर भएमा बुबाआमा मेरो त्यो अनादरबाट
पीडित हुनुहुनेछ । म त्यसो गरेर उहाँहरूको नजरबाट सदाका लागि गिर्न
चाहन्न ।”–प्रभाले भावुक स्वर उकलेकी थिइन् । वेटरले अर्डर बमोजिमको
नास्ता टेवलमा ल्याएर राखेको थियो । ऊ उनको विश्लेषणबाट निकै प्रभावित
भएको थियो ।

“अनिललाई यो कुराको जानकारी गरायौं ?”

“उसलाई म राम्ररी जान्दछु । मेरो इच्छा र चाहनाको परिपूर्तिको लागि ऊ
जुनसुकै कष्ट सहन सदा तयार रहन्छ । प्राप्तीको लागि उब्जेको प्रेम त केवल
चाहना मात्र हो, त्यसको अस्तित्व प्राप्तीपछाडि सकिन्छ । रुपेशजी ! प्रेम
गर्नेमा त्याग र समर्पणको भावना हुनुपर्दछ ।”–प्रभाले नास्ताको प्लेट
आफूतिर तान्दै आफ्नो विचार टुङ्ग्याएकी थिइन् । उसले केवल उनलाई टुलुटुलु
एकोहोरो रूपले हेरेको थियो, मानौं उनको विचार र भावनाले पनि उसलाई
प्रभावित पारिरहेको थियो ।

“तिमी मसँग बिवाह गरेर सुखी रहन सक्छ्यौ ?”–उसले प्रश्न गरेथ्यो ।

“रुपेशजी ! तपाईं मभन्दा बढी ज्ञान आर्जन गरेको मान्छे, सुख भन्ने चिज त
मान्ने र ठान्ने विषयवस्तु हो । यसलाई निरन्तर रूपले अभ्यास गरेमा सहजै
प्राप्त गर्न सकिन्छ । साँच्चै भन्ने हो भने अभ्यासकर्ताको एकाग्रतामा
निहीत हुने कुरा हो ।”–प्रभाको भावुक स्वर क्यावीनमा छरिएको थियो ।

“निर्णयमा पुग्नु अगावै म एक पटक यस विषयमा अनिलसँग पनि गफ गर्न चाहन्छु,
के तिमी उसलाई बोलाउन सक्छ्यौ ?”

“सक्छु, तर एउटा सर्तमा । उसको भावनामा चोट पर्ने गरी कुनै अभिव्यक्ति
तपाईंबाट हुँदैन भने ।”–अनिललाई बोलाउने कुरामा सहमति भएर दुवै होटलबाट
बाहिरिएथे । प्रभाको रूप र सौन्दर्यले ऊभित्र उनलाई प्राप्त गर्ने लालच
बढ्दै गयो । प्रभाले अनिललाई बोलाएपछि उसले अनिलको बारेमा बुझेथ्यो र गफ
पनि गरेथ्यो । गफको सिलसिलामा अनिलले भनेको थियो –“रुपेशजी ! म प्रभालाई
असाध्य माया गर्छु तर उनको इच्छा वाधक भै उनको नजरबाट होचिन चाहन्न ।
प्रेम त्यस समयसम्म जीवित रहन्छ जुन समयसम्म प्रेमी–प्रेमीका व्यक्तिगत
स्वार्थको जालोबाट मुक्त रहन सक्छन् । म के भनौँ, तपाईं मभन्दा हरेक
क्षेत्रमा सिनियर हुनुहुन्छ । कुरा सबैको सुन्नुहोस्, निर्णय आफ्नो
दिमागले गर्नुहोस् ।” अनिलले योभन्दा बढी ऊसँग गफ गरेन । ऊ पुनः
राजधानी फर्कियो ।

प्रभासँग अनिलको त्यसबीच के कुरा भयो उसले बुझ्ने प्रयास गरेन ।
अनिलभन्दा आफू हरेक क्षेत्रमा योग्य छु भन्ने घमण्ड रुपेशमा त्यस बखत
नपलाएको पनि होइन । आफ्नो योग्यता र क्षमताको कारणले प्रभा र उसको
परिवारले आफूलाई गुमाउन नचाहेका हुन् भन्ने कुरा उसले ठानेको थियो ।
उनलाई प्राप्त गर्ने अभिलाषाको बसिभूत भएकाले अन्य कुराहरूमाथि गम्भीर
ढङ्गले उसले सोचेनथ्यो । सडकतिरबाट गाडीको टायर पड्केको आवाजले झस्केर ऊ
अतीतबाट वर्तमानमा आइपुग्छ ।

आँखा उघारेर कोठाको अवलोकन गर्छ । टेवुलमाथिको डायरीले आफूलाई
गिज्याइरहे झैँ भान हुन्छ । ऊ हात लम्काएर डायरी उठाउँछ र पुनः बाँकी
पानाहरू पढ्न थाल्छ ।

“रुपेश म एक कर्तव्यनिष्ठ पत्नी भएर आफ्नो जीवन तिमीसँग उल्लासपूर्ण
ढङ्गबाट व्यतित गर्न चाहन्थेँ तर तिमी त्यस लायक रहेनछौ । सायद तिमीलाई
याद छ होला दुई बर्षअगाडिको कुरा । शनिबारको दिन थियो, पल्लोघरमा डेरा
लिएर बस्ने चार्टर एकाउन्टेन्ट श्यामभक्त दाइ हाम्रोमा घरिघरि आउनु
हुन्थ्यो । उहाँ मलाई वहिनी भन्नुहुन्थ्यो र मेरो पनि कुनै दाजु नभएकोले
म पनि उहाँलाई आफ्नै दाजु सरह ठान्दथेँ । दिनको समय थियो, हामी दुबै
बैठकमा बसी गफ गर्दै नास्ता खाइरहेका थियौँ । उहाँले बिवाह गर्नुभएको
थिएन तथापि व्यवहारिक कुराको उहाँमा राम्रो ज्ञान थियो । उहाँले मलाई
व्यवहारका तौरतरिकाका बारेमा धेरै उपदेश दिनुहुन्थ्यो । उहाँका हरेक
विचार यथार्थनजीक भएको म पाउँथे । सोही समयमा तिमी बजारबाट आइपुगेका
थियौँ । हामीलाई देख्नेवित्तिकै तिम्रा आँखामा शंकाका बादलहरू मडारिएको
मैले अनुभूत गरेकी थिएँ । नदेखेझैँ गरी आफ्नो कोठातिर लागेका थियौँ ।
तिमीले हाइ हल्लोसम्म गरेनौ । कता–कता मैले त्यो दिन पहिलो पटक तिम्रो
व्यहारको कारणले आफ्नो मुटु घोचेको महशुस गरेथेँ । श्यामभक्त दाइले के
सोच्नु भयो ? म जान्दिन । त्यसपछि उहाँ निकै दिन आउनुभएन ।

एक दिन मैले कर गरी उहाँलाई बोलाउँदा आउनुभएको थियो । मैले “आजकल मेरोमा
किन आउनुहुन्न ?” भनी सोधनि गर्दा उहाँले आल्टाल गर्नुभएको थियो । मेरो
ढिपी र जिद्धिको अगाडि केही नलागेर उहाँले भन्नुभएको थियो, तिमीले एकदिन
उहाँलाई “मेरोमा बढी नआउनुहोस् ” भनी अशिष्ट ढङ्गले भनेका थियौँ अरे !
त्यो कुरा सुन्दा तिम्रो छुद्¥याइँले आफूलाई श्यामभक्त दाइको नजरबाट
धेरै होच्चिन पुगेकी महशुस गरेथेँ । यो कुरा तिमीसँग नगर्नू भनी मलाई
विभिन्न प्रकारले शान्त्वना दिँदै उपदेश र आशिर्वाद दिई उहाँ त्यो दिन
जानुभएथ्यो ।

साँच्चै रुपेश तिम्रो छुद्¥याइँ र मिथ्या शंकालाई सम्झी–सम्झी त्यो दिन
निकै समयसम्म रोएकी थिएँ । तिम्रो कारणले श्यामभक्त दाइले त्यो डेरा
छाड्नुभयो । एउटा असल दाजुको माया पाउने कुराबाट तिमीले मलाई बञ्चित
गरायौ । त्यो दिन पहिलो पटक तिम्रो श्रीमती हुने आफ्नो निर्णयप्रति
पछुतोको आँसु बगाउँदै मैले अनिलको स्मरण गरेथेँ । अनिलको माया र
श्यामभक्त दाइको उपदेशको अगाडि तिम्रो छुद्¥याइँ मेरा लागि असह्य
पीडादायक बन्दै गयो । झन तिमी घरमा आउनसाथ तिम्रो दृष्टीमा शंकाका
बादलहरू मडारिइरहेको देख्दा म छट्पटिन्थेँ, तड्पिन्थेँ, आत्तिन्थेँ र
भित्रभित्रै क्रोधले मुर्मुरिन्थेँ । अनिललाई छाडेर तिमीसँग बिवाह
गरेकोमा तिमीले आफूलाई सर्वश्रेष्ठ सम्झेका थियौ र त्यसको अभिमानले अन्धो
भएका थियौ क्या !जहाँसम्म मलाई लाग्छ तिमीभित्र एउटा भ्रम प्रतिदिन
बिकसित हँदै गइरहेको थियो । त्यो के भने “अनिलभन्दा म योग्य भएकोले मसँग
बिवाह गरी, मभन्दा योग्य भेटेमा मलाई पनि छाड्न सक्छे ।” यो केवल तिम्रो
कोरा भ्रम मात्र थियो । किनकि तिमीमा भ्रमको पर्दा च्यात्ने साहस थिएन ।
यदि तिमीमा त्यो साहस थियो भने त श्याम भक्त दाइलाई बाटो छेकेर गाली
गर्नुभन्दा सिधै मलाई भन्न सक्थ्यौँ नि ?

तिमीमा मप्रति विश्वास थिएन । साँच्चै रुपेश, मनरूपी तिम्रा आँखा फुटेर
तिमी अन्धो भएका थियौ । रगतको नाता सिन्दुरको साइनोभन्दा भावनात्मक
सम्बन्ध उपासनीय हुन्छ जसलाई मनरूपी आँखाले देख्न र ठम्याउन सकिन्छ ।
भित्री आँखा फुटिसकेको तिमीजस्तो लोग्नेले त्यस्तो उपासनीय सत्यलाई कसरी
देख्न सक्थ्यौ र !? साँच्चै रुपेश तिमीसँग यथार्थलाई अनुमान गर्ने,
ठम्याउने क्षमता नै रहेनछ । आज मलाई पहिलो पटक तिमीजस्तो स्वाँठकी
श्रीमतीको परिचयको यो बिल्लादेखि पनि घृणा लागिरहेको छ । तिम्रो शंकालु
व्यवहार मेरो शरीर दुखाइ र टाउको दुखाइको कारण बन्दै गयो । म बढी
एकान्तप्रिय हुन थालेँ । तिमीले एक पटक औपचारिकता देखाउँदै आफूसँग पढेको
डाक्टरकोमा मलाई देखाउन लगेका थियौ ।

डाक्टरले हरेक कुराको जाँच पश्चात भनेको थियो –“उहाँमा बढी मानसिक तनाव
देखिन्छ, चिन्तादेखि बच्नु नै उहाँको उपचार हो ।” तिमीले
त्यो कुरा सुन्र्यौ होला तर बुझ्ने प्रयास गरेनौ । मनको अन्धो मात्र होइन
तिमी त बहिरो पनि भइसकेका थियौ क्यार ! साँच्चै रूपेश मलाई तिमी र तिम्रो
शरीरदेखि असाध्यै घृणा लाग्न थाल्यो । घृणाको मात्रा घट्नुको साटो
प्रतिदिन बढ्दै गयो तिम्रो शंकालु दृष्टीभेदनले गर्दा । रुपेश मैले आज
अठोट गरेर ठोस निर्णय गरिसकेकी छु । अब ममाथि बारम्बार दृष्टी सम्भोग
गर्ने तिम्रा आँखाहरूलाई सदाका लागि बन्द गरिदिनेछु ।

पढ्दा–पढ्दै उसका आँखाबाट पश्चातापी आँसु डायरीका पानामा थप्थप झरे ।
पढ्दै गरेको डायरीलाई पुनः टी टेवलमाथि राख्दै ऊ मनमनै बड्बडायो ।“प्रभा
! मलाई माफ गर ! मलाई मारे पनि तिमीले झुण्डिएर आत्महत्या नगरेकी भए हुने
थियो ।”

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 28 पौष, 2071

लेखकका अन्य रचनाहरु