कवि मुकुन्दशरण र उनको महाभारत सूक्तिसुधा लघु–विवेचना

- बद्री प्रसाद दाहाल

“प्राकृत पोखरा” वर्णनात्मक काव्य सिर्जिएर लोकप्रियताको चुली चुमेका स्वच्छन्दतावादी कवि, प्राध्यापक एवं दीर्घ सुसाधक र गवेषक श्री मुकुन्दशरण उपाध्याय लेखनाथीय परिष्कारवादको संमोहनबाट पनि अनुरक्त सरस्वतीपुत्र हुन् । वि.सं. १९९७ साल बैशाख ५ गते कास्की पोखराको हेम्जा गाउँमा जन्मन पुगेका उपाध्यायले पिता पं. दशरथ उपाध्याय र माता केशकुमारीको गर्भलाई सफल बनाउन पुगेका छन् । तीन दशकसम्म प्राध्यापन व्यवसायमा आफूलाई समाहित गराएर आफ्नो बौद्धिक अनुसन्धानमूलक शिक्षणकलाले थुप्रै नवयुवाहरुका प्रतिभा सिंगार्ने कौशल बनाएका यिनी झन्नै डेढ दशकदेखि नेपाली भाषाको विश्वव्यापी एकरुपता अभियानमा तपस्यारत छन् । श्री निम्बार्कचरितम् (काव्य), प्राकृत पोखरा (काव्य) शैलसरिता (कविता संग्रह) प्रस्तावना र विवेचना (भाषा र व्याकरण) अक्षरप्रभा (व्याकरण सूत्रावली) ‘महाभारत सूक्तिसुधा’ जस्ता प्रकाशित ग्रन्थहरु नेपाली वाङ्मय भण्डारमा भण्डारण गरी भाषा साहित्यको श्रीबृद्धिमा लागी परिरहेका प्रतिभा हुन् मुकुन्द । उनका झन्नै डेढ दर्जन ग्रन्थहरु प्रकाशोन्मुख अवस्थामा छन्, जसमा विशेष गरेर महाकाव्य, काव्य, भाषाशास्त्र, शब्दकोष, वेदपुराणका अनुदित सूक्तिहरु छन् । सरल, विनयी, सहअस्तित्ववादी, आध्यात्मिक व्यक्तित्व मुकुन्दशरण सनातनत धर्म सेवा समिति लगायतका धार्मिक एवं सामाजिक संस्थामा निर्णायक र प्रभावकारी नेतृत्व दिएर समाज सेवाको पृथक पहिचान स्थापित गरेका कर्मशील साधक हुन् । बुढ्यौलीले छुँदा पनि आधुनिक प्रविधिसँग खेल्दै भाषावाङ्मय र नेपाली व्याकरणको अतल गहिराइ छाम्न अभ्यस्त उनका भगिरथ प्रयासहरु बन्दनीय एवं स्तुत्य छन् । काठमाडौंको टंगाल गहना पोखरी नजिकै घरको भुइतलामा कितावै कितावले पुरिएर अविरल साधना संसारमा विचरण गरिरहने उनको नमुना दैनिक प्रायः कर्मवीर, कलमवीर र खोजवीरहरुको लागि गङ्गोत्री नै हुन पुगेका छ ।
तत्कालीन ने.रा.प्र.प्र.बाट बि.सं. २०२६ मा प्रकाशित “महाभारत सूक्तिसुधा” पछिल्लो समयमा सर्वज्ञ पब्लिकेशन प्रा.लि.ले दोश्रो संस्करणको रुपमा प्रकाशित गरेर महाभारत ग्रन्थका अध्येताहरुलाई ठूलो गुन लगाएको छ । अनुवाद कलामा निष्णात उपाध्यायको झर्झराउँदो छवि यो ग्रन्थले अझ खुलाइदिएको छ । “महाभारत सूक्तिसुधा” महत्वपूर्ण पद्यावली संकलन गरेर संस्कृतविज्ञ, प्रेमी र अनभिज्ञ सबै खाले पाठकहरुलाई ललितमय लयात्मक काव्यिक संस्कारमा सरल र जीवन्त ढङ्गले अनुवादलाई पस्कनु भएको छ । महाभारत ग्रन्थको विश्वव्यापी गरिमा यसको चिरन्तर र शाश्वत महत्तालाई भूमिका दर्शाएर पूर्व, पश्चिम, उत्तर र दक्षिणका प्रकाण्ड मनीषीहरुका सारगर्भित अनुभूतिलाई पनि कोट्याईदिनु भएको छ । ३८१ पृष्ठमा महाभारतको अट्ठार पर्वको रोचक, राजनीतिक, कूटनीतिक, सामाजनीति तथा दर्शनको सार उद्घाटन गरेर अपार गुन लगाएका छन् उपाध्यायले । हरेक पर्वभित्रका गर्व र गौरव उचाल्न त्यसलाई अझ स्पष्ट एवं रुचिकर तथा सुस्वाद बनाउन पर्याप्त उपशीर्षकहरु पनि दिएका छन् । सबैभन्दा बढी शीर्षक वा उपखण्ड दिएर “वन पर्व” जहाँ १७ भाग छन्, त्यसै गरी दोश्रो शान्ति पर्व १४, र उद्योग पर्व ११ खण्डमा बाँडिएका छन् । त्यसै गरी मौसल पर्व तथा महाप्रस्थानिक पर्वलाई खण्डविहीन बनाएर कथासारलाई मात्र प्रस्तुत गरेका छन् । जसरी अन्य पर्वहरुको अन्त्यमा विविध महत्वपूर्ण सूक्तिहरु समाहित गरिएको छ त्यसै गरी यी दुई पर्वमा पनि चोटिला सूक्तिहरु उद्धृत गरिदिएको भए हामी पाठकहरुको क्षुधा अझ मेटिने थियो कि ? सबै पर्वहरुको विभाजन र कथासारबाट थालनी गरेर अन्त्यमा काव्यात्मक आस्वाद दिँदै जीवनोपयोगी, घतलाग्दा र अनुभूतिजन्य दूरदृष्टि सृष्टि गर्ने क्षमताका लयात्मक संस्कृत पद्य र त्यसको छायाँनुवाद भावानुवादहरुले मूल श्लोकका आसयलाई टड्कारो रुपमा राख्न सफल भएको देख्दा उपाध्यायको पाण्डित्य र लगनलाई अभिवन्दना गर्नै पर्छ ।
कवि मुकुन्दशरणको अनुवाद कलाको प्रौढ क्षमताप्रति नतमस्तक हुँदै राष्ट्रकवि माधव घिमिरे भन्न पुग्दछन् –“सुपरिचित कवि तथा विद्वान् मुकुन्दशरण उपाध्यायले महाभारतका विशिष्ट प्रसङ्गहरुबाट उद्धृत गरेका मार्मिक सूक्तिहरु र तिनको समश्लोकी अनुवाद पढ्दा मैले अमृतरस पान गरेका अुनभव गरेको छु । सरल र मिठासपूर्ण शैलीमा रचना गर्न सफल कवि मुकुन्दशरणलाई आफ्नो रचना शिल्पमा उत्तरोत्तर सफलता मिलिरहोस् भन्ने हार्दिक कामना गर्दछु ।” यसै गरी उपनिषद् र ब्राह्मणग्रन्थका पारखी विद्वान्योगी डा.रामानन्द गिरी मुकुन्दशरणको महाभारत सूक्तिसुधाप्रति आफ्नो प्रतिक्रिया पोख्छन् –“नेपाली र संस्कृत वाङ्मयका अथक साधक प्रा. मुकुन्दशरण उपाध्यायले समाजलाई समर्पित गरेका उत्तोमोत्तम कृतहिरुमध्ये ‘महाभार सूक्ति’ पनि एउटा हो । महाभारत ग्रन्थरुपी महासागरबाट अमर उक्तिहरुको सङ्कलन गर्नु र मीठो शैलीमा अनुवाद गर्नु दुवै कठिन कार्य हुन् तापनि यसमा विद्वत्वर श्री उपाध्यायलाई राम्रो सफलता मिलेको छ । यो कृति नेपाली पद्य वाङ्मयका निम्ति पनि एउटा राम्रो उपलब्धि हो भन्ने मैले महसूस गरेको छु ।” यी दुई उद्गारभित्र अभिव्यक्त विचार, प्रचार स्तुति र बोक्रे प्रशंसाको कूट र झूट मिथ्यालाप क्यै गरे हैनन् । घिमिरेले अनुदित पद्यलाई अमृतरसको पान गरेको आभास भेट्टाएर रचना शिल्पको जादूगरी प्रस्तुतिलाई अभिवन्दना वर्षा गरेका छन् भने त्यसै गरी वीतरागी दार्शनिक रामानन्दले महाभारतरुपी महासागरका अमरभन्दा अमर सूक्तिहरुको सञ्चय अर्थात् संकलन गर्नसक्ने राजहाँसको जस्तै क्षमता र त्यसलाई नेपाली सुमधर शैली र भाषामा रुपान्तरित गर्ने विद्वत सामथ्र्य वा पौरुषत्वलाई प्रगाढ रुपमा उठाएर अथक साधकको सिर्जना संसारमा नमोनमको वर्षा गराएका छन् । साँच्चै वाङ्मयभक्त जगदीश राणाले भने झैं उनको ग्रन्थले हामी सबैलाई एकैचोटि तुष्टि र पुष्टि बाँडिदिएको छ ।
उदाहरणका लागि यहाँ विभिन्न पर्वका सूक्तिहरु जसका मूल भाषा र त्यसको अनुवादित रुपलाई छोटो रुपमा उल्लेख गरुँ –
कीर्तिरक्षणमातिष्ठ, कीर्तिर्हि परमं बलम् ।
नष्टकीर्तेमनुष्यस्य, जीवितं ह्यफलं स्मृतम् ।
(कीर्ति जोगाऊ ! हो कीर्ति, मान्छेको असली बल ।)
कीर्ति नष्ट भए जान्नु, भयो जीवन निष्फल ।।)
संरोहति शरैर्विद्धं वनं परशुना हतम् ।
वाचा दुरुक्तं बीभत्सं नसंरोहति बाक्क्षतम् ।
(बञ्चरो वाण लागेको पलाउला बरु वन ।
बोलीको बाण लागेको पलाउन्न कसै मन ।)
सा किं सभा यत्र नसन्ति बृद्धा ः ।
वृद्धा ः किं ते ये नवदन्ति धर्मम् ।।
नासौ धर्माे यत्र न सत्यमस्ति ।
न तत्सत्यं यच्छलेना नुविद्धम् ।।१।।
(त्यो के सभा ? वृद्ध जहाँ हुँदैनन् ।
के वृद्ध ? जो धर्म बताउँदैनन् ।।
के धर्म त्यो ? सत्य जहाँ रहेन ।
के सत्य ? जो निश्छल नै भएन ।।)
सर्वः सर्वं न जानाति, सर्वज्ञो नास्ति कश्चन ।
नैकत्र परिनिष्ठास्ति, ज्ञानस्य पुरुषे क्वचित् ।।
(एउटैमा सबै विद्या अटाउन्नन् सँगै अनि ।
सबैले सब जान्दैनन्, सर्वज्ञ हुन्न क्वै पनि ।।)
शत्रोरपि गुणा ग्राह्या, दोष वाच्या गुरोरपि ।
गुणै ः कस्याहिंत लोके, दोषैर्वाऽपि हिंत कुत ः।।
(लिनु पर्दछ मान्छेले शत्रुका पनि सद्गुण ।
भन्नु पर्दछ देखेमा, बुवाकै पनि दुर्गुण ।।
चलेद्धि हिमवानं शैलो, मेदिनी शतधा फलेत् ।
द्यौः पतेत् च सनक्षत्रा ः, न मे मोघं बचो भवेत् ।।
(हिल्ला हिमाल आकाश, खस्ला टुक्रा हुनिन् धरा ।
तर बोले पछि कैल्यै, नफेर्ला कृष्णले कुरा ।।
ज्येष्ठो वा पूजनीयो वा, तथा च गुणवानपि ।
यदि चेत् क्रमते पूर्वं, विक्रमस्व यथा सुखम् ।।
(जोठो होस् गुणवान् होस् कि, पूज्य होस् जो हवस् तर ।
आइलाग्छ भनेदेखि, जाइलाग सरासर ।।
ननु नाम समं युद्धमेष्टव्यं युद्धजीविभि ः ।
न कदाचिदहो वीरैर्निबलो मृत्युमाप्नुयात् ।।
(योद्धाले युद्धको हाँक, वीरकै साथमा गरोस् ।
वीरको हातले निर्धो नमरोस् बरु जे परोस् ।।)
यस्ता थुप्रै सार्वकालीन, चिरन्तन र सधैं सामयिक लाग्ने कालजयी नीतिका सदुक्तिहरुलाई मूल भाषाकै छन्दमा उनेर आफ्ना मौलिक शिल्प र शैलीमा भावलाई विचलन हुनै नदिई गुरुप्रवर मुकुन्दले प्रस्तुत गरेका उल्था, अनुवाद वा रुपान्तरण अत्यन्त सजीव, सबल र भाव प्रबोधन दुरुस्तै तरिकाले दिने खालको छ । सलल बगेका सुन्दर मनोहर पदावली लावण्यमय रञ्जनमय भएर पाठकहरुलाई मर्मस्पर्शी बन्न पुगेका छन् । मदन पुरस्कार गुणराज पुरस्कार, दीपस्मृति पुरस्कार, पाणिनि पुरस्कार, प्रज्ञा स्वर्णपदक, शिरोमणि साहित्य सम्मान शिक्षा पुरस्कार र अ.भा. सं. सम्मान आर्जन गरेका मुकुन्दशरण साँच्चै नै कुवेरका नवरत्न झै उज्वल हार बन्न पुगेका छन् नेपाली र संस्कृत भाषा साहित्यसंसारमा । यतिखेर वहाँ नेपाली भाषा व्यारकणमा एक्लो बृहस्पति बनेर नेपाल र नेपालबाहिरका नेपाली भाषाभाषीहरुको दिलदिमागमा आफ्नै पनको भाषा व्याकरणलाई ज्यूँदो बनाउनु पर्छ भनेर क्रियाशील हुनुहुन्छ । पण्डितराज सोमनाथ सिग्द्याल, चन्द्रिका व्याकरणकार हेमराज गुरूहरुका व्याकरणिक नियमसित विमति जनाउँदै भानुभक्तीय र लेखनाथीय नेपाली भाषाको ठेट रुपलाई प्रचलनमा ल्याउनु पर्छ भनेर कटिबद्ध हुँदै प्राज्ञिक बहसलाई अगाडि बढाई रहनु भएको छ । यसरी सरकारी र आधिकारिक प्रतिष्ठान तथा अधिकारीसामु आफ्नो खोजमूलक उपलब्धि र तर्कलाई बहसमा ल्याउने नेपाली भाषालाई प्राण भन्दा प्यारो ठम्याउने उपाध्यायप्रति लखेट्ने, हियाउने, र अराजकता मच्चाउने सतही आरोपहरु आउनु सान्र्भिक छैनन् । नेपाली वर्णविन्यासको अहिलेको खैलाबैलामा उहाँ जस्ता साधकहरु नै नयाँ राजमार्गका स्रष्टा र द्रष्टा हुन सक्छन् । वहाँको विद्वत्ततापूर्ण र इतिहास मर्मज्ञ छलफललाई केबल भाँडभैलो र लहडीपन वा असामयिक भनेर पर्गेल्नु भन्दा त्यसका गुरुतम पक्षलाई मूलधारमा समाहित गराउनु सान्दर्भिक हुन्छ । अन्त्यमा स्वच्छन्दतावादी, परिष्कारवादी र राष्ट्रवादी कवि उपाध्यायको ७५ औं जन्मोत्सवको पुण्य महिनामा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै शुभेच्छा प्रकट गर्दछु । अझै महाभारतका अन्य थुप्रै सूक्तिहरुका सुधा पान गर्न पाउने अपेक्षा साथ मेरो लघु लेखलाई विश्राम दिन्छु ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 28 पौष, 2071

लेखकका अन्य रचनाहरु