म रिहाना यो सोधीरहेछु

- सिरुखर्के जेठा

मेरी अम्मी,
हजुरले माया गरेर हजारौँपटक चुमेको मेरो गालामा
दाग छ रे, मेरी सासले भनेकी
मेरो अब्बु,
हजुरले प्रेमसाथ सहस्रौँपटक चिमोटिदिएको मेरो नाकमा
खोट छ रे, मेरो शाैहरले भनेको ।
किनकी म हैन सम्पत्ती रहेछ तिनले खोजेको
किनकि म हैन दहेज रहेछ तिनले रोजेको ।

त्यही कारण त तिनको नजरमा मेरो शरीर
सुकेको दाउराभन्दा बढी मोलको थिएन
तिनको न्यायकाे तराजुमा मेरो यो मानव-जूनी
झरेको पातभन्दा बढी ताैलको थिएन ।

सुकेको दाउरा त आगोसँग आफै सल्कन्छ
मामाथी त माटीको तेल छर्कनु परेको थियो ।

मेरी अम्मी
मेरो अब्बु

आधाघण्टा नमाज पढ्नलाई
दुईघण्टा लगाएर हात ्-खुट्टा पखाल्ने मेरी सास
पिसाब फेरेपिच्छै खतना गरिएको गुप्ताङ्ग धुने मेरो शाैहर
कसरी विश्वास गर्नु मैले
यती ज्यादा घिनलाग्दा रैछन भनेर
कसरी विश्वास गर्नु मैले
मस्जिद्भित्रै हैवान बस्दा रैछन भनेर ।

जन्नत र जहन्नुमको कथा
अल्लाह र नबीहरूको गाथा
सुनेकी छु मैले थुप्रैपटक-थुप्रैपटक

तर यसपटक

हामीमात्र पाक
हामी मात्रै पवित्र भन्ने मेराे भ्रम टुटेको छ
परम्परालाई सोध्नुपर्ने
थुप्रै-थुप्रै प्रश्नहरू मेरो मनमा उठेको छ ।

मेरो अब्बा
मेरी अम्मा

हाम्रो मौलवीले दोहोर्याउँदै भनिरहने एउटा कुरा-
अल्लाहको नाम लिनेहरूमात्र
जन्नतको यात्रा गर्न पाउँछन
अरु सबै जहन्नुममा जान्छन
त्यसो भए
हिँड्दा हिँड्दै अडिएर
मेरो हालतमा आँसु पुछेका
ती शिव-शिव अलाप्नेहरु
यहोवा राफ्फा भन्नेहरु
र ॐ मानेपेमे हुम जप्नेहरु
कता जान लागेका यात्री थिए ?

हाम्रो मौलवीले भनेको अर्को कुरा-
मोहम्मद अन्तिम नबी हुन
अब यो दुनियाँमा कुनै ईश्वर-दूत आउने छैनन्

त्यसो भए

म अचेत भई ढलिरहेको मृत्यु-शैयामा
मलाई छुन आएका ति हजारौँ हातहरु कसका थिए ???

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 10 पौष, 2071

लेखकका अन्य रचनाहरु