निलोे मसी

- धीरकुमार श्रेष्ठ

घरिघरि मेरा आँखा उसमा पुग्छन् । अन्त कतै हेरुँभन्दा पनि फर्कीफर्की उसमा पुग्छन् । हेर्दै नहेरुँ भनेर यताउति डुलाए पनि उसैमा पुग्छन् । अब त ज्यान जाला हेर्दिनँ भनेर जबरजस्ती बाहिरी दृश्यमा पु¥याएँ भने पनि उसैमा पुग्छन् । उसमा के त्यस्तो आकर्षण थपियो र ! आँखा, उसबाट हट्न मान्दैनन् । उसले मेरा आँखालाई मोहनी लगाए जस्तै भयो । अन्त हट्दै हट्दैनन् । जाँदै जाँदैनन् ।
मेरो जन्मदेखि ऊ मसँगै छ । मेरो अभिन्न अङ्ग भएर बसेको उसले कहिल्यै साथ छाडेको छैन । जीवन यात्रामा कति आए कति गए थाहा भएन । घुम्तीमोडहरुमा कति भेटिए, विछोडिए र कति छुट्टिए; गन्ती भएन । उकाली ओराली र आरोह अवरोहहरुमा कति साथ पाइए, कति एक्लो भइयो; हिसाब किताब भएन । यति हुँदाहुँदै पनि उसले सधैँ आफ्नो धर्म निर्वाह गरिरह्यो । कहिल्यै कर्तव्यच्युत भएन । उसले आफ्नो जिम्मेवारी र दायित्व कुशलतापूर्वक निर्वाह गरिरह्यो । र त जहिले पनि मसँगै छ ऊ । कहिले टाढा भएको छैन । टाढा हुने चाहना व्यक्त गरेको पनि छैन । ऊ केवल कर्तव्य निर्वाहमा दत्तचित्त छ । भुलेर पनि अधिकारको खोजीमा वण्डापत्रको माग गरेको छैन । बरू यदाकदा बिरामी हुँदा उसको उपचारको अभिभारा मैले नै बहन गर्नुपर्छ । अरु कसैलाई त्यो अधिकार छैन । मैले आफैले उसको हेरचाह गर्नुपर्छ । बिरामीका बेला केही ध्यानाकृष्ट भए पनि ऊ तङ्ग्रिएपछि मेरा आँखा उसबाट विकर्षित हुन्छन् । ऊतिर ध्यान जाँदैन । उसमा रहेको आकर्षण समाप्त हुन्छ ।
यी सब यथार्थका विरूद्ध आज मेरा आँखा उससँग जोडिएका छन् । उसलाई जति हेरे पनि थाक्दैनन् । जति हे¥यो उति ‘हेरुँ हेरुँ’ लागिरहन्छ । जति हे¥यो उति उसमा सौन्दर्य थपिएको छ । घट्ने नामै छैन । बत्तीस लक्षणले युक्त भएकी षोडशीले त्यति धेरै लट्ठ्याउन सक्दैन जति उसले मेरा आँखालाई एकोहो¥याएको छ ।
उसप्रतिको एकोहोरो लगावका कारण मेरो ध्यान पत्नीबाट टाढा प¥यो । क्षणभरका लागि स्मृति पटलबाट टाढा नभएकी पत्नीको ठाउँ उसले लियो । यसका लागि उसले जबरजस्ती गरेको पनि होइन । हरक्षण पत्नीको वरिपरि घुमिरहने मेरो मानसलाई मबाट टाढा लान जालझेल वा षड्यन्त्र गरेको पनि होइन । कुनै छलछाम वा विश्वासघात गरेको पनि होइन । यसैले मेरो मानस पटलमा एकछत्र रुपमा बस्न उसले चोरबाटो अपनाएको हुँदै होइन । तर पनि उसले मेरो मानस बिम्बमा एकोहोरो कब्जा जमायो । फलस्वरुप मेरा आँखा उसबाट एक छिनका लागि पनि हटेको होइन ।
उसप्रतिको मेरो अनवरत मोहका कारण पत्नीमा ईष्र्याभाव जन्मियो । उनलाई खपिनसक्नु डाहा भयो । हुने र सक्ने भए करप्पै बटारेर उनले उसको अस्तित्व नामेट पारिसक्थी । उसको उपस्थिति उनका लागि सौता भित्रिए सरह भयो । उनको र मेरो बिचमा आफैले जन्म दिएका प्राणप्रिय सन्ततिलाई पनि आउन दिँदैैनथी मेरी पत्नी । यसो भएकोले उसको उपस्थितिलाई सहने कुरै भएन । यसैले मबाट उसलाई अलग गराउने अवसरको प्रतीक्षामा थिई । मौका पाउनेबित्तिकै मबाट उसलाई अलग्याएर पुनः आफ्नो पूर्वस्थान सुरक्षित पार्न चाहन्थी ।
तर उसको आकर्षणमा मन्त्रमुग्ध भइरहेँ । यसैले उनी भित्रभित्रै मुरमुरिएकी थिई । धारिलो वचन प्रहार गरेर त्यसको प्रष्ट जानकारी दिन्थी । सायद आफ्नो गुमेको स्थानको क्षतिपूर्ति गरिरहेकी थिई । कहिलेकाहीँ त्यतिले नपुगी भरभराउँदो छड्के नजरले हेर्थी । यसरी उनको र मेरो आँखा यदाकदा उसैमा केन्द्रित हुन्थे । फरक थियो त केवल हेराइको र दृष्टिकोणको । मेरा आँखा मोहित थिए, उनका दग्ध ।
सुतेका बखत पनि मेरा चेतना उसैमा केन्द्रित थिए । यसका विपरीत एक जोर लामा हातहरु मेरा आँखालाई छल्दै ऊतिर बढे । एउटामा सानो सिसी र अर्कोमा कपास थियो । हातहरुसँगै अगाडि बढेका एक जोर आँखाले मेरा आँखामा पहरा दिए । चिम्म गरेर निदाएको अभिनय गरेँ । तर सानो आँखीझ्याल खुला राखेँ । आँखा र हातका क्रियाकलाप चियाएँ । पहरेदार आँखा मबाट निश्चिन्त भयो । एक हातले सिसीको बिर्को खोलेर कपासमा घोप्ट्यायो । हसक्क स्पिरिट गन्हायो । मबाट ढुक्क भएका हातहरु ऊतिर बढे । अचानक अनिष्टको कल्पना भयो । चेतना बिजुली भएर चमक्क चम्क्यो । सुतिरहेको ओछ्यानबाट जुरूक्क उठेँ ।
सपना देखिरहेको रहेछु । ऊप्रतिको मोह यथावत् रहेछ । ऊसँग विच्छेदित हुन सपनामा समेत तयार रहेनछु । सपनामा समेत उसको सुरक्षा मेरो चेतनामा जाग्रत रहेछ । ऊसँग टाढा हुने कल्पनाले निद्रा भङ्ग हुँदो रहेछ ।
वरिपरि हेरेँ । रातको अँध्यारोमा मेरी पत्नी एक हातमा सिसी र अर्को हातमा कपास बोकेर गजधम्म बसेकी रहिछ । उनी र उनको असफलता मुख फुलाएर बसेका रहेछन् । दुवैले एकै पटक डाढे नजरले मतिर हेरे । मैले उनको हाततिर हेरेँ । बिर्को खुला भएको सिसीबाट स्पिरिटको गन्ध टड्कारो आइरहेको थियो ।
+ + +

भएको के थियो भने देश ‘एक युगमा एकपटक आउने एक दिन’को स्वागतमा प्रतीक्षारत थियो । देशबासी पनि व्यग्रतापूर्वक त्यसैको प्रतीक्षामा थिए । देश र देशबासी मिलेर सम्पूर्णतः अर्जुन दृष्टि लगाएर पर्खिरहेका थिए । केटाकेटीदेखि बुढाबुढीसम्म तरूना तन्नेरीदेखि अधबैँसेसम्म सबै आतुरतापूर्वक प्रतीक्षारत थिए । के पहाड, के हिमाल, के तराई, के मधेस, के पूर्व, के पश्चिम, के उत्तर, के दक्षिण, के चुरे, के भावर, के भित्री मधेस, के खोँच; सबै सबै त्यसैको प्रतीक्षामा थिए । दुई दुई पटक घर सँघारमै आइसकेर पनि भेट्न नसकिएकाले महिला पुरूष, मधिसे पहाडे, दलित– जनजाति, हिमालबासी तराईबासी सबैलाई त्यसै दिनको चाहना थियो । यसरी सबै सबै त्यसैको प्रतीक्षामा थिए ।
सम्पूर्ण देश र देशबासी प्रतीक्षामा भएका बखत म मात्र छुट्ने कुरा भएन । चौसट्ठी वर्षपछि एक पटक फेरि गोपालप्रसाद रिमालहरु महानिद्रा त्यागेर ब्युँतेका थिए । म मात्र सुतिरहने कुरा भएन । देश र देशबासीसँगै सम्मिलित हुन चाहन्थेँ । महायज्ञमा चरू होमिन चाहन्थेँ । बत्तीमा पुतली होमिन तयार थिएँ । सदियौँदेखि कुच्रिएर बसेको कायरताको आवरण फ्याँकेर कवच पहिरी रङ्गभूमिमा उत्रिन चाहन्थेँ । पछाडि परेर इतिहासमा छुट्नु थिएन । मूक दर्शक भएर इतिहास निर्माणको साक्षी किनारा मात्र बस्नु थिएन । प्रतीक्षालयमा निष्प्राण अकर्मण्य उभिएर आउने जानेलाई ट्वाल्ल नियालिरहनुथिएन । यथावस्था र यथास्थिति नीलकाँढा बनेर घोचिरह्यो ।
तर मेरो अभिमताधिकार म बसेकै देशको भूगोलमा थिएन । त्यो मेरो देशको मेरै भूगोलमा थियो । अर्थात् जुन माटोले जन्म दिएर हुर्कायो र आफूलाई अरुका सामु उभ्याउन सक्ने परिचय दियो; त्यहीँ थियो मेरो अभिमताधिकार । अभिमताधिकार विना म गोपालप्रसाद रिमालहरुको जमातमा मिसिन पाउँदिनथेँ सक्दिनथेँ । हुरी चलेका बखत पात भएर पछ्याउन सक्दिनथेँ पाउँदिनथेँ । अभिमताधिकार विनाको म गोपालप्रसाद रिमालहरुमा अनुवादित हुन पाउँदिनथेँ सक्दिनथेँ । यो मलाई मञ्जुर थिएन । किमार्थ गोपालप्रसाद रिमालहरु हुने अवसरबाट वञ्चित हुन चाहँदिनथेँ ।
तर भावना र यथार्थका बिच गहिरो विपरीत ध्रुवीय अन्तर थियो । चाहना र वास्तविकताका बिच धारिलो अन्तर्सम्बन्ध थियो जसले जुनसुकै बेला बज्रसमान प्रहार गर्न सक्थ्यो । जसको चोट असह्य हुने निश्चितप्रायः थियो । यसको पूर्वाभास शुभ चिन्तकहरुको चेतावनीमा व्यक्त थियो ।
‘हलउ ।’
‘हलउ ।’
‘को बोलेको ?’
‘म, सानु ।’
‘के छ बाबु तेरो ?’
‘ठिक छ । त्यता के छ नि ? भोलि आऊँ भनेको ।’
‘नआइज् नआइज् । यताको थिति ठिक छैन । कति बेलाँ के हुन्छ, कसैलाई था’ छैन । जति बेलाँ जे पनि हुन सक्छ । बरू चुप लागेर त्यतै बस् । आउने कुरो गर्दै नगर् । याँ हामी त कस्तरी बसिराछम् !’
‘अनि सरकारले पाँच दिन बिदा दि’सक्यो । सबै जना आआफ्ना क्षेत्र जाँदै छन् । म मात्र किन नआउने !’
‘बढी कुरो गर्दै नगर् । तँलाई गाह्रो हुन्छ ।’
‘के गाह्रो हुन्छ । अरु जस्तै त हुँ नि । अरु र ममा के फरक छ ! मान्छेले छुट्ट्याए पनि माटोले चिन्छ । उसले अरु र ममा फरक देख्दैन । उसका लागि अरु र ममा कुनै भेद छैन गर्दैन । उसका लागि सबै एकै हौँ । सबै बराबर । यस्ता अवस्थामा म मात्र डराएर इतिहासको पृष्ठबाट भागूँ । तपाईंले के भन्नुभएको ! तपाईं जस्ता मातृशक्तिले पनि युग युगसम्म देश निर्माणका लागि आवश्यक पर्ने विधान निर्माणका बखत पुत्रमोह देखाउन मिल्छ ?’ भन्न मन लागेको थियो ।
तर मैले वाक्य सुरू गर्नुपूर्व नै उहाँले सम्पर्क विच्छेद गरिसक्नुभएको थियो । म हेरेको हे¥यै भएँ । जिल्लिएँ । उहाँ मलाई किमार्थ गोपालप्रसाद रिमालहरुको पङ्क्तिमा सम्मिलित देख्न चाहनु हुन्नथ्यो । बुझेँ । तर त्यहाँ निस्तो पुत्रमोह थियो अथवा अरु केही ? त्यो बुझ्ने अवसर दिनु भएन । किंकर्तव्यविमुढ भएँ । तैपनि भावनाको ज्वार उम्लिन छाडेन । फेरि एक पटक उचाइ लियो ।
‘हलउ ।’
‘हलउ ।’
‘के छ त्यताको खबर ? आउँदा हुन्छ ?’
‘केको आउनु ! याँ हामी त जसोतसो ज्यान जोगा’र हिँड्या छम् । कहीँ जानुपरे सुरक्षा घेराभित्र बसेर जानुपर्छ ।’
‘आउन सकिन्न त ?’
‘आउन त जसोतसो सकिएला । तर हिँड्डुल गर्न सकिन्न । पो’रको जस्तो थुनिएर बस्ने हो भने आउनू ।’
‘अनि समाचारमा त शान्ति सुरक्षा छ । निर्भयतापूर्वक अभिमतदान सम्पन्न हुन्छ । क्यै बिघ्नबाधा छैन भनिन्छ त !’
‘समाचारमा नआएका थुप्रै समाचारहरु छन् गाउँघरतिर । कसले हेरेको छ त्यता ! याँ के के भइसक्यो !’
उचाइ लिएको ज्वार थामियो । आशाउपर तुषारापात भयो । तर भावना र चाहना थियो एक एक छिनमा विष्फोटक रुप लिन खोज्थ्यो । अन्तद्र्वन्द्वमा फसेँ । अन्तिम आशास्वरुप दुर्गेच्छा जान्न चाहेँ ।
‘यत्रो महाअभियानमा किन सामेल नहुने ! जाऊँ, जे पर्ला पर्ला । अरुको जे गति, हाम्रो त्यही गति । अरुले भोगेको हाम्ले भोग्न हुन्न भन्ने के छ ? यत्रा देशबासी समाहित भएको महाअभियानमा कोही छुट्नु हुन्न । इतिहासमा छुट्नु हुन्न । भविष्यमा ग्लानि र पश्चताप हुन्छ । दायित्वविहीन किन बन्ने ! देशलाई आवश्यक परेका बेला कर्तव्यच्युत हुनु हुन्न । देशको अभिभारा लाग्छ । जसले जिते वा हारे पनि देशले जित्छ । यसैले यस महाअभियानमा सहभागिता र स्वामित्व महङ्खवको हो । जसले जे भने पनि जाऊँ ।’
दुर्गेच्छामार्फत त्यान्द्रो सहारा प्राप्त भयो । कम्मर कसियो । प्रारम्भ भयो महाअभियानका लागि महायात्रा मञ्जुश्रीले आवाद गरेको खाल्डोबाट गुडेर । नभन्दै आधा बाटो गुडेपछि सुरक्षा सङ्गिन बोकेर उभिएको रहेछ । जम्काभेट भयो । आतङ्कित त्रासका बिच तय गरिएको यात्रामा भय व्याप्त भयो । जिउ सिरिङ्ग भयो । तैपनि उचालिसकेको खुट्टो पछाडि फर्काउनु थिएन । आँटिसकेपछि पिठ्युँ फर्काउने कुरो भएन । नागरिक सुरक्षाको आड लिँदै निष्पट्ट अँधेरी रातमा बाँकी यात्रा सुरक्षित पुरा गरियो ।
गुड्न छाडेर हिँड्न थाल्नेबित्तिकै आफ्नै माटोले चिन्न सकेन । ‘को हो ? को हो ?’ सोधिरह्यो । मेरो पालो ‘म हो । म हो ।’ भनिरहेँ । माटोले चिन्न नसकेको परिवेश चिर्दै निष्पट्ट अन्धकारका बिच पवन आइपुग्यो र पङ्खा हम्कन थाल्यो । यात्राका सम्पूर्ण थकाइ र असुरक्षा फुमन्तर भए । शरीर हलुको भयो । मन चङ्गा भयो । अन्ततः आफ्नै माटोको आफै अनिच्छित पाहुना भइयो ।
जे होस्, त्यो दिन आयो, जसको प्रतीक्षा सारा देशबासीलाई थियो । हामी पनि चिरप्रतीक्षित महाअभियानमा सम्मिलित हुन एकाबिहानै पङ्क्तिबद्ध भयौँ । महाअभियानमा आफूअगाडिका सामेल हुँदै थिए । आफ्नो पालो केही समयपछि परेकाले वरिपरि आँखा डुलाएँ ।
महाअभियानमा सामेल हुन हुलका हुल सहभागी आउँदै थिए । आएकाहरु ‘महिला’ र ‘पुरूष’का लागि निर्धारित छुट्टाछुट्टै पङ्क्तिमा पङ्क्तिबद्ध हुन्थे । पङ्क्तिबद्धहरु पालो पर्खिबस्दा यताउति आँखा डुलाउँदै थिए । मैले जस्तै तिनले पनि पर्यवेक्षक, प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, कर्मचारी र अधिकृतका बिल्ला भिरेका बिल्लादारहरु अवश्य देखे । बेला बेला धुलौटे बाटोमा धुलो उडाउँदै चिल्ला गाडीमा गुड्ने अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई तिनले पनि देखे । यसै गरी समय समयमा आइरहने घुमुवा सुरक्षा बलका गाडी पनि देखे ।
हामीअगाडि उभिएकाहरु पालैपालो जान्थे । लामो अभिमतपत्र बोकेर गोप्य कोठामा गई स्वस्तिक छाप लगाएर बाहिर आउँथे । सबैका अभिमतपत्र पट्ट्याइएका हुन्थे । गोप्य रहन्थे । त्यसको पूर्ण प्रत्याभूति थियो । यसैले सबै आश्वस्त थिए । कहीँकतै शङ्का गर्नुपर्ने ठाउँ थिएन ।
त्यसो त अभिमतको गोप्यताभन्दा सहभागिता महङ्खवपूर्ण थियो । त्यो, उपस्थित सबैले जनाइरहेका थिए । त्यही क्रममा गोप्यता सुरक्षित गरिएको अभिमतपत्रलाई खुला ठाउँमा राखिएको पारदर्शी बाकसमा खसालिन्थ्यो । यसरी महाअभियानमा संलग्नता जनाउने प्रक्रिया पुरा हुन्थ्यो । आफ्नो पालो नआउन्जेल त्यसैको प्रतीक्षामा थियौँ थिएँ ।
पालो आयो । अगाडि बढेँ । नाम सोधे । भनेँ । मिल्यो । अरु सोधेनन् । भन्नुको अर्थ लिङ्ग, उमेर, ठेगाना, बाबुको नाम आदि सोधेनन् । अभिमतदाता नामावलीमा नाममा ठिक (√) चिह्न लगाए । छाती ढक्क फुल्यो । गर्वले शिर उचालियो । नामका अगाडि बेठिक (×) चिह्न लाग्दा लाग्दा पहिलो पटक ठिक (√) चिह्न लागेकोले होइन । कारण साधारण थियो । तर मेरा लागि असाधारण र असामान्य थियो । जीवनमा पहिलो पटक नागरिक सम्मान प्राप्त थियो । विरलै आउने अवसर यस पुस्तालाई प्राप्त थियो ।
नामका अगाडि ठिक (√) चिह्न लगाइसकेपछि अर्का एक जनाले हात मागे । दायाँ हात दिएँ । होइन, बायाँ हात मागे । दिएँ । तिनले बुढीऔँला दह्रो गरी समाते । नङ र मासुको सङ्गम स्थलमा पर्ने गरी ल्याप्प निलोे मसी दले । अर्काले लामो अभिमतपत्र दिए । लिएँ । गोप्यकोठामा स्वस्तिक छाप लगाएँ । अरुले जस्तै पारदर्शी बाकसमा खसालेँ ।
सन्तुष्ट भएँ । सम्पूर्ण शरीर कपास सिद्ध भयो । ऋणमुक्त भएँ । उऋण भएँ । सारा बोझ हल्का भयो ।
उऋण भएको त्यही बेला बायाँ हातको बुढी औँलामा लगाइएको निलोे मसीबाट मन्त्रमुग्ध छु । आकर्षित छु । युद्ध जितेको खुसी भइरहेछ ।
उसको रङ निलोे छ तर गाढा छ । लरतरो प्रयासले मेटिन्न । उसको गाढापन यति सघन छ कि उसभित्र थुप्रै सहिदका रक्तकण सम्मिलित छन् । थुप्रै बलिदान गाथा समाहित छन् । थुप्रैका भविष्य सुरक्षित छन् । यति मात्र होइन, अर्को महङ्खवपूर्ण कुरा लुकेको छ उसभित्र । त्यो हो – उसको रङ गाढा निलोे भए पनि उसले लेखेको इतिहास स्वर्णाक्षरको हुन्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 29 मङ्गसीर, 2071

लेखकका अन्य रचनाहरु