निबन्धमा उत्तरवर्ती कालखण्डको आतिथ्यमा रमाउँदा

- प्रा.डा. कुमारप्रसाद कोइराला

निर्बन्ध निबन्धहरूको निम्तो पाएर
अभि सुवेदी नेपाली र अङ्ग्रेजी भाषामा समानान्तर कलम चलाउने प्रसिद्ध स्रष्टा हुन् । उनको साहित्यिक व्यक्तित्व बहुआयमिक छ । यस्तो द्विभाषिक सिर्जनात्मक सामथ्र्य र शक्ति भएका नेपाली साहित्यकार अत्यन्त थोरै छन् । ती थोरैमध्ये पनि गम्भीर, व्यापक र बहुआयामिक सिर्जना र शक्ति भएका चाहिँ झन् थोरै छन् र तीमध्ये अभि एक हुन् । उनको स्रष्टा व्यक्तित्व नाटककार, कवि र निबन्धकारमा विभक्त छ भने द्रष्टा व्यक्तित्व समालोचक र साहित्यिक चिन्तकका रूपमा प्रसिद्ध छ । उनी कुशल अनुवादक, सम्पादक र सहलेखकका रूपमा पनि नामुद छन् । करिब तीन दर्जन कृतिका कृतिकार सुवेदीको साहित्यिक छवि उनको बाह्य छविजस्तै सर्वथा भिन्न, उच्च र गम्भीर छ ।
‘निबन्धमा उत्तरवर्ती कालखण्ड’ (२०६५) अभिसुवेदीय नैबन्धिक यात्राको तेस्रो डोब हो । यसभन्दा अघि उनले नेपाली निबन्धमा दुईवटा अमिट डोब लगाइसकेका छन् । ती हुन्ः ‘कार्पेट टाँगिएको आकाश’ (सन् १९९८) र ‘निबन्ध र टुँडिखेल’ ( सन् २००८) अभिका निबन्धले दुइटा शक्ति सधैँ सँगै लिएर हिँडेका हुन्छन् । पहिलो हो समसामयिकताको प्रतिबिम्बन गर्ने शक्ति र दोस्रो हो तिनलाई व्याख्या र विश्लेषण गर्न पाठक÷समालोचकलाई आमन्त्रण गर्न सक्ने शक्ति । म अभिका निबन्धको सामान्य पाठक भएकाले मलाई उनका निबन्धको पहिलो शक्तिले प्रभाव पारेको थियो । ‘निबन्धमा उत्तरवर्ती कालखण्ड’मा भने मलाई दोस्रो शक्तिले आमन्त्रण ग¥यो । आतिथेयको आमन्त्रण पाएर म एकातिर खुसी पनि भएँ र अर्कातिर डराएँ पनि । मेरो पाठकीय स्थिति कुनै नौलो र सुन्दर वस्तु देखेर समाउन पनि खोज्ने तर डर पनि मान्ने बालकको जस्तै भयो । मलाई अभिका निबन्ध अर्थहरूका चक्रव्यूहजस्ता लागे । म यिनीहरूभित्र पसेर बाहिर निस्कन सक्तिनँ भन्ने पीरमा परेँ, तर सम्झेँ आतिथेय (कृति) र अतिथि (पाठक) एकअर्काका परिपूरक हुन् । ती दुवैविना दुवैको अस्तित्व हुँदैन अनि मलाई हिम्मत आयो र मात्र मैले निम्तो स्वीकारेँ । अभिकै कृतिमा पसेर त्यसैको आतिथ्यले पोषित हुन थालेँ ।
अभिका निबन्धको पठन कसरी गर्ने ? यो झन् ठूलो समस्या भयो । उनका निबन्धको पठन परम्परित साहित्य सिद्धान्तका आधारमा गर्दा ती साँचामा नमिल्ले खालका देखिए । स्वयं निबन्धकारले भूमिकामा भनेका छन् – “मलाई साहित्यमा मन पर्ने विधा निर्बन्ध निबन्ध हो । त्यो कविता पनि हो र आख्यान पनि हो, अनि त्यो एक सीमाहीन विधा हो, जसको विधागत परिभाषा गर्न आजका समीक्षकलाई पनि हम्मेहम्मे परेको छ ।” वास्तवमा यी निबन्धमा कवि, समालोचक, नाटककार, कलाकार, कलासमीक्षक, सौन्दर्यशास्त्री, इतिहासकार, शिक्षाशास्त्री, समाजशास्त्री, दार्शनिक चिन्तक, राजनीतिक आदि अभिका विभिन्न छवि मिसिएका छन् र यी खाँटी निबन्ध नभएर क्वाँटी निबन्ध भएका छन् । मलाई लाग्यो यी निबन्ध आफैँले नयाँ साहित्य सिद्धान्त निर्माण गरेका छन् र तिनकै आधारमा यी निबन्धहरूको व्याख्या र विश्लेषण गर्न सकिन्छ । यसो भनौँ यिनको व्याख्या र विश्लेषण यी आफँैले गरेका छन् । आफ्नो व्याख्या र विश्लेषण गर्ने समालोचक आफैँसँग ल्याएका छन् ।
दुर्लभ सौन्दर्यका पछि दौडँदाको आनन्द
अभि सुवेदीका निबन्धको पठन दुर्लभ सौन्दर्यका पछि दौडनु जस्तो लाग्छ । मलाई उनका निबन्ध बिहानको झुल्के घाममा चम्किरहेका अनुपम सुन्दर हिमशिखर जस्ता लाग्छन् । मैले भारतको कन्याकुमारीमा पहिलोपटक देखेको अतल सागरको नीलिमा जस्ता लाग्छन् । हिमशिखरमा चढ्न र सागरमा पौडन सबै सक्तैनन् । कोहीकोही हिम्मती, साहसी र आँटीले मात्र ती दुर्लङ्घ्य कार्य गर्न सक्छन् । सौन्दर्यको परख गर्न नसक्ने मजस्ता पङ्गुले परबाट हेरेर चित्त बुझाउनुपर्छ । आहा ! मात्र भन्नुपर्छ । यो मेरो पठननियति हो । अभिले देखेको आकाश मसँग छैन । अभि सुवेदीका निबन्धको क्यानभास यति विस्तृत छ जसलाई हम्मेसि नाप्न सकिँदैन । यो क्यानभास नेपाली इतिहास, राजनीति, शिक्षा, साहित्य, पूर्वीय पाश्चात्य, प्राचीन अर्वाचीन दर्शन, विश्वराजनीति, विश्वसाहित्यसौन्दर्य आदिबाट निर्मित छ । त्यसमा उनी युगीनताको फ्रेम हाल्छन् र सृजनाको रङ्ग पोतेर निबन्धका अमूर्त चित्रहरू बनाउँछन् । ती हामी नेपालीका नियतिचित्र जस्ता लाग्छन् । तिनले हाम्रा पतनका, हाम्रा उत्थानका, हाम्रा जडताका, हाम्रा चेतनाका, हाम्रा दासत्वका हाम्रा मुक्तिका, हाम्रा विकृतिका हाम्रा सुकृतिका, हाम्रा प्रकृतिका हाम्रा संस्कृतिका प्रतिकृति देखाए जस्तो लाग्छ । तिनले वर्तमान विश्वको प्रतिबिम्ब उतारे जस्तो लाग्छ । उनका निबन्ध नेपाली कला, संस्कृति र साहित्यका कीर्तिस्तम्भ जस्ता लाग्छन् । यिनैलाई हेरेर भोलिको पुस्ताले सुवेदीलाई भेट्ने छ र आजको नेपाली इतिहाससँग भलाकुसारी गर्न पाउनेछ । यी पिकासोका घनत्ववादी चित्र जस्ता छन् । यिनबाट नेपालको विगत, आगत र अनागत एकैपटक देख्न सकिन्छ । यी सुवेदीका मनबाँसुरीबाट निक्लेका रागरागीनी हुन् । यिनको अभिगुञ्जन अत्यन्त मेलोडियस छ । अभि सुवेदीमा समयलाई हेर्ने ठूलो शक्ति छ । यी निबन्ध त्यही शक्तिले लेखिएका छन् । उनी भन्छन्– “हामी नेपाली समयलाई बालकको जस्तो निर्बोधपनाले नाप्छौँ । हिजो यस्तो थियो आज यस्तो भयो भनेर साधारण चित्रहरूको अन्तर देख्नु बाहेक हामी समयलाई अर्को ढङ्गले नाप्दैनौँ (पृ २६) ।” यो भनाइ सामान्य देखिन्छ तर यसको अर्थ अत्यन्त गम्भीर छ ।
यी निबन्धमा समयका छाप र चाप छन् । समयकै छाप र चापको छिनो लिएर अभिले नेपाल र नेपालीको चित्र कुँदेका छन् । उनी विचारहरूको मन्थन गरेर नौनी जस्तो वैचारिक धरातल निर्माण गर्छन् र त्यसैको शिखर टेकेर बोल्न थाल्छन् । उनका बोलाइमा स्वच्छ खोलाको कलकल सुनिन्छ तर उनका निबन्धको वैचारिक वेग भने सप्तकोसीको जस्तो हत्तपत्त तर्नै नसकिने खालको छ । उनका निबन्धले सामन्ती शक्तिसंरचना र हिंसासँग परिणय गरेर मस्तसँग सुतिरहेको नेपाली वर्तमानलाई जगाउन खोजेका छन् । उनका निबन्धमा व्यङ्ग्यात्मकताको अप्रतिम सौन्दर्य छ । उनी हाम्रो जडताप्रति, हाम्रो अज्ञानता र अन्धताप्रति, हाम्रो दासत्वप्रति, हाम्रो विडम्बनापूर्ण जीवनप्रति व्यङ्ग्य गर्छन् । अर्काको बुइ चढेर हिँड्नेप्रति, अरूका मनमा डर उमारेर आफ्नो खोक्रो मालिक्याइँ ओडेर शक्तिरचना गर्ने निरङ्कुश र क्रूर शासकप्रति, जनतालाई भ्रमका सपना बाँडेर दिउँसै रात पार्ने कपटी नेतृत्वप्रति व्यङ्ग्य गर्छन्
यसमा विरोधको सौन्र्दय छ । यसले कलासाहित्य राजकीय सत्ताको विरोधी हुन्छ भन्ने नयाँ सौन्दर्य शक्तिको रचना गरेको छ । यस निबन्धसङ्ग्रहको सुरूमा ‘फोहोर, सहिद र युवा’ नामक निबन्ध परेको छ । त्यसमा अभि लेख्छन्ः “राजालाई रिझाउने उन्नाइसौँ शताब्दीका कविहरूले साँढेलाई ‘साँढ्या’ भनेका हुनाले मेरो नाम त्यही स्वीकारेको छु । त्यसबाट एउटा इतिहास र मेरो नैरन्तर्य बुझेको छु–म साँढे यस सहरमा छु को नैरन्तर्य (पृ.२५) ।” यसको अर्थ के हो भने नेपालमा साहित्यलेखन राजामहाराजाको स्तुतिबाट भयो र त्यसको निरन्तरता अहिलेसम्म पनि छ । मलाई के लाग्यो भने यसैलाई थिम बलाएर यस कृतिको रचना गरिएको रहेछ, तर यो कृति पढिसक्ता के देखियो भने यो कृति त्यस बीज वा सार वा थिमको विरोधमा लेखिएको छ । यसले साहित्य सधैँ सत्ताविरोधी हुन्छ भनेर सङ्केत गरेको छ । यो निरङ्कुशताविरोधी सौन्दर्यले टनाटन भरिएको काव्य हो । यो हिंसा र आतङ्कको विरोधमा लेखिएको छ । यसमा वैचारिक सहिष्णुताको, उदारताको र बहुलताको सौन्दर्य छ । यसले वैचारिक अहम्को, वैचारिक अधिनायकताको अन्त्य गरिदिएको छ । यसले एकल वैचारिक भ्रमको घेरालाई तोडिदिएको छ । यो मानवतावादी चिन्तनको नवगाथा हो । यसमा मानवमुक्तिको सौन्दर्य छ ।
हेरिरहूँ जस्तो भाषिक अभिव्यञ्जनाको सौन्दर्य
भाषाले प्रौढता प्राप्त नगरी साहित्य लेखिँदैन र निबन्ध त झन् लेखिँदैन, त्यसैले निबन्धलाई साहित्यको कान्छो विधा भनिन्छ । नेपाली भाषाले भानुभक्त, लेखनाथ, देवकोटा, सम आदिका कृतिबाट नै एउटा कलात्मक स्वरूप वा मानक साहित्यिक रूप ग्रहण गर्न पायो । बढी प्रौढ भाषा चाहिने भएकाले होला आधुनिक नेपाली निबन्धको जन्म देवकोटाबाट नै भयो । उनले उपमा र रूपकले भाषामा प्रौढता ल्याए । रूपक उपमाभन्दा बढी अभिव्यञ्जनामुखी हुन्छ । देवकोटाको निबन्धीय शैलीसौन्दर्य यसैबाट हेर्न सकिन्छ । प्रतीक, बिम्ब, अन्योक्ति, प्राक्सन्दर्भ आदिले भाषालाई सर्वाधिक अभिव्यञ्जनात्मक, साङ्केतिक, ध्वन्यात्मक, बह्वर्थक, मुक्तार्थप्रधान बनाउँछ । यस्ता भाषिक युक्ति, सीप र सामथ्र्यले नेपाली निबन्ध सिँगार्ने शिल्पी अत्यन्त थोरै छन् । देवकोटापछि शङ्कर लामिछाने, कृष्णचन्द्रसिंह प्रधान, गोविन्दराज भट्टराई, दुर्गा भण्डारी, अभि सुवेदी आदि केहीका निबन्धमा यस्तो शक्तिसौन्दर्य देख्न पाइन्छ । यहाँ प्रसङ्ग अभि सुवेदीको छ । उनको भाषा प्रतीक र बिम्बप्रधान छ, त्यसैले सर्वाधिक अभिव्यञ्जनात्मक छ । उनको भाषा व्यङ्ग्यमूलक छ । उनका प्रायः धेरै निबन्धले बाहिरबाट हेर्दा सामान्य घटना वा तथ्यको वर्णन गरिरहेका जस्ता देखिन्छन्, तर तिनको निहितार्थ बेग्लै हुन्छ । तिनले अर्कै अर्थको सङ्केत गरिरहेका हुन्छन् । यसलाई डेरिडाका शब्दमा भन्दा सुवेदीका निबन्धीय भाषाले भिन्नता देखाउँछ । उनका भाषाले अर्थको निश्चिततालाई स्थगन गरिदिन्छ अथवा उनका भाषाले अर्थको बीउ छरेर टाढाटाढा फैल्याइदिन्छ । यसरी अर्थगत भिन्नता र अर्थको बीउ छराइबाट यस्तो चकाचौध प्रकाश निक्लन्छ जहाँ अनगिन्ती अर्थगत अन्तर्विरोध एवम् समाधानातीत विरोधाभास देखिन थाल्छन् र अर्थको एकत्व लुप्त हुन्छ । यसैलाई भाषिक अभिव्यञ्जना भन्न सकिन्छ । यस्तै अनिश्चित र साङ्केतिक अर्थहरूको पानीले डम्म भरिएका असारे खेतका गरा जस्ता छन् उनका निबन्ध ।
उनी शब्दचित्र बनाउन खप्पिस देखिन्छन् । बिम्ब व्यक्तिको अचेतनमा संस्कारका रूपमा रहेका अमिट चित्रहरूको अभिव्यक्ति पनि हो । यो कल्पनाको सहाराले बाहिर आउँछ । सुवेदी ग्रामीण परिवेश र प्रकृति, वाणी र प्राणीमा हुर्केका व्यक्ति हुन् । उनका मानसमा गाउँकै चित्र अमिटरूपमा बसेको देखिन्छ । उनी त्यसैलाई शब्दचित्र बनाएर प्रस्तुत गर्छन् । आफू ग्रामीण भएको यसरी परिचय दिन्छन्ः “म सहरका गाडीका आवाजका बीचमा पनि कहिलेकाहीँ अर्धतन्द्राजस्तो अवस्थामा खोला कराएको जस्तो सुन्छु । कुनै अनौठा यन्त्रका आवाज सुन्दा खोरूङ्गा खोलाको जङ्गलमा न्याउली कराएको जस्तो सुन्छु, तर सहरमा जन्मेर बढेका मानिसका सपनामा ती बिम्बहरू नहुन सक्छन् (पृ.५३) ” । “मेरो चेतनामा गाउँ नै भएकाले मेरा बिम्बहरू पनि त्यतैबाट बनिएका रहेछन् । (पृ.३१०)
म यहाँ अभिका केही ग्रामीण बिम्बका उदाहरण प्रस्तुत गर्न चाहन्छु । “डिठ्ठादाजु त्यस कथालाई पुनर्जीवित गरेर गाईबस्तुले पेटको घाँस मुखमा ल्याएर उघा्रएझैँ कहिलेकाहीँ चपाएर बस्थे”(पृ.९०) । हामी स्कुले केटाकेटी उनको वरिपरि कुखुराका चल्ला जस्तो उनको युटोपियाको न्यानामा लुटपुटिन्थ्यौँ । काँल्दाजु पोथीले जस्तै इतिहासको आफूले लिएको न्यानो फैल्याउन उनका विचारका सकेसम्म प्वाँखहरू फैलाएर हामीलाई समाहित गर्थे (पृ.१९०) ।”
उनी यस्ता शब्दको प्रयोग गर्छन् जसले एकैपल्ट प्रतीक र बिम्बको काम गरिदिन्छन् । म यहाँ उदाहरणका रूपमा ‘लुरे’ शब्दलाई लिन चाहन्छु । अभिले जानीजानी कवि, लेखक, चिन्तक र बुद्धिजीवीलाई लुरे शब्दले चिनाएका छन् । हरेक शब्द वस्तुका चिह्न मात्र हुन् । डेरिडाका विचारमा तिनको काम हो अनुपस्थित उपस्थितिलाई देखाउनु । लुरे शब्दले एउटा दुब्लो, पातलो, ख्याउटे, निर्धो, अशक्त, कमजोर शरीरधारी व्यक्तिको मानस छवि हाम्रा अगाडि उपस्थित गराउँछ । क्रूर शासक, सामन्त र अधिनायकहरू आफूलाई मात्र शक्तिशाली ठान्दछन् र आफ्ना शक्तिले अरूका शक्तिलाई हेप्छन् । उनीहरू विरूद्ध बोल्नेलाई देख्न सक्तैनन् । अभिले उनीहरूको यही दृष्टिभ्रमप्रति व्यङ्ग्य गर्न ‘लुरे’ शब्दको प्रयोग गरेका हुन् । यहाँ ‘लुरे’ शब्दको अर्थ निषेध गरेर मात्र अनुपस्थित अर्थ आउँछ त्यो हो शक्तिमान् । शासकहरू लुेरेहरूका शब्दशक्तिबाट थरथर काँप्छन् । उनी लेख्छन् – “हिन्दु पुराणहरूमा जब देउता कुनै लेखक, कुनै विचारक, तपस्वी आफ्नो साधनाले बलियो हुन लागेको देख्छन्, तिनलाई अमृतै खाए पनि पच्न छोड्छ । उनीहरू अनेकरूरूप लिएर, मानिस पठाएर ती लेखक÷चिन्तकका साधनामा विचलन ल्याउने काममा लाग्छन् । कोही अुनहार बदलेर तिनका पत्नीहरूसँग समेत सुत्छन् । ताकपरे साधकलाई मारिदिन्छन् (पृ.१२३) ।”
अभिसँग प्रतीक वा बिम्ब रचना गर्ने अर्को नितान्त नवीन काइदा पनि देखिन्छ । त्यो हो उनी कुनै घटना सुनाउँछन् र त्यस घटनालाई प्रतीक वा बिम्ब बनाइदिन्छन् । जस्तै “मलाई लाग्यो इतिहास एउटा चोट लागेको काठको कलात्मक दलिन हो । काठका संरचना बनिन्छन्, भत्किन्छन्, तर इतिहास त्यही कलामा डोब बनेर रहिरहन्छन (पृ.१६०) ।” यस प्रतीक वा बिम्बलाई पाठभन्दा बाहिर ल्याएर बुझ्न सकिँदैन । यसलाई पाठकै सन्दर्भ र प्रसङ्गबाट मात्र बुझ्न सकिन्छ । त्यस्तै अर्को प्रतीक वा बिम्ब छ, जस्तै – “मौनतामा अक्षरका संस्कार जीवनसँग जोडिन नसक्नु आज नेपालको दुर्दशा भएको छ । अहिले ती अक्षरहरूबाट नरप्रसादको नाकबाट आएको जस्तै रगत बगिरहेको छ (पृ.३४) ।” यसलाई पाठभित्रै बुझ्न सकिन्छ । बाहिर ल्याएर बुझ्न सकिँदैन । नरप्रसाद को हो ? उसको नाकबाट किन र कसरी रगत आयो आदि नबुझी अक्षरबाट रगत बगेको प्रतीक वा बिम्बको अर्थ बुझिँदैन ।
यस्ता अनगिन्ती उदाहरण छन् । मलाई के लाग्यो भने बिहानको अँध्यारो डाँडामा भुकभुके उज्यालो झरेझैँ उनका शब्दहरू पाठकका मनमा बिस्तारै झर्छन् र अर्थप्रकाशले पाठकको हृदयलाई प्रकाशित गरिदिन्छन् । उनको यस्तै भाषिक सामथ्र्यले नै यो कृति नित्य नवीन लाग्दछ । पुनः पुनः पढिरहन मन लाग्दछ । यही नित्य नवीनता नै यसको सर्वाधिक शक्तिशाली सौन्दर्य हो ।
यो विभेदीकृत वर्गको इतिहास जस्तो लाग्छ
यो कृति पढेपछि मलाई यो विभेदीकृतहरूको इतिहास जस्तो लाग्यो, तर यो कुरा गर्नुभन्दा पहिले म इतिहासवाद र नवइतिहासवादको कुरा अतिसङ्क्षेपमा गर्न चाहन्छु । त्यसले मलाई भुइँमान्छेको इतिहास बुझ्न सजिलो पार्छ कि जस्तो लाग्यो । पहिलेदेखि साहित्य इतिहाससापेक्ष हुन्छ, साहित्य मानवेतिहासको हिस्सा हो भनेर जानिएको थियो । पछि संरचनावादले साहित्य स्वायत्त हुन्छ, आत्मनिर्भर हुन्छ भनेर सिकायो । साहित्यिक पाठ एउटा संरचनात्मक एकाइ हो । यसको अध्ययन साहित्यिक सिद्धान्तका आधारमा स्वतन्त्र रूपमा गर्नुपर्छ । बाह्य विषय जस्तै ऐतिहासिक, सामाजिक, राजनीतिक सिद्धान्तबाट गर्नु पर्दैन भनेर सिकायो । साहित्यक अध्ययनलाई भाषाशैली र संरचनामा सीमित गरायो । त्यस्तै साहित्यको जन्म साहित्यकारको मानसबाट हुन्छ, यो नितान्त मौलिक हुन्छ, निजी एवम् अद्वितीय हुन्छ, त्यसको अध्ययन भित्री मूल्यका आधारमा गर्नुपर्छ । बाह्यमूल्यलाई साहित्यिक अध्ययन गर्न ल्याइरहनु पर्दैन भन्ने अर्को पक्ष थियो । यसरी साहित्यलाई इतिहाससापेक्ष र इतिहासनिरपेक्ष मान्नेहरूबीच मतभिन्नता बढ्दै गयो । यी दुवैलाई मिलाउन र दुवैका अभाव हटाउन इतिहासवादका दृष्टिले तीनवटा नयाँ धारणा अघि आए । ती थिएः सङ्केतविज्ञान, पाठकाभिमुख समालोचनाको अभिग्रहण सिद्धान्त र नवइतिहासवाद । अब म अभिको कृतितिर फर्कन्छु । मलाई लाग्छ अभिको यस कृतिले उनलाई नवइतिहासवादीका रूपमा चिनाएको छ । अभिका निबन्धमा इतिहास पाठका रूपमा आएको छ । उनका निबन्धले इतिहासलाई सग्लो वा सिङ्गो रूपमा प्रस्तुत नगरेर असम्बद्ध र अन्तर्विरोधले भरिएको विविधतायुक्त रूपमा प्रस्तुत गरेका छन् । यी निबन्धहरूले इतिहासलाई वस्तुगत रूपमा प्रस्तुत नगरेर विषयगत रूपमा प्रस्तुत गरेका छन् । सबै विषयवस्तु इतिहासकै अन्तर्वस्तुका रूपमा आएकाले ती सबै अन्र्तपाठात्मकताको सूत्रमा बाँधिएका छन् । प्रत्येक भिन्न पाठ अन्य प्रत्येक पाठका सन्दर्भको अभिन्न अङ्ग हुन्छ भन्ने नवइतिहासवादी धारणाले यी निबन्धहरू निर्मित छन् जस्तो लाग्छ । यी निबन्धले साहित्यले इतिहास र संस्कृतिमा र इतिहास र संस्कृतिले साहित्यमा सास फेर्छन् भन्ने नवइतिहासवादी धारणालाई अगाडि सारेका छन् ।
उनका निबन्धमा प्रभुत्ववादी र विभेदीकृत वर्गको इतिहास छ । उनी नेपाली इतिहासलाई विचारधारात्मक विमर्शलाई महत्वदिने मिसेल फुको र लुइ आल्थुजरका आँखाले हेर्छन् । इतिहासले विचारधाराका भरमा यात्रा गर्दछ । प्रभुत्वशालीहरू विचारधाराका आक्रामकताबाट सामाजिक असमानतालाई आफ्ना हितका लागि जीवित राख्छन् भन्ने फुको र आल्थुजरका विचारलाई अभिका निबन्धले अभिव्यञ्जित गरेका हुन् कि जस्तो लाग्छ । लौ अब घर जाओ है, डिठ्ठादाजु र पिकासो, राल्फ टर्नर र मेरो मुहारचित्र, शब्द, नाटक र नारी, एसिया, इतिहास र हामी, हामी गणतन्त्र र विमुक्ति, कुखुरा, उत्तरपुँजी र राष्ट्रपति, अधिकारी गुरू र पोलो फ्रेर, नरशम्शेर इतिहास र अवसान आदि निबन्धहरूले प्रभुत्ववादी र विभेदीकृतहरूको इतिहासलाई प्रतिबिम्बित गरेका छन् । यी निबन्धहरूमा सत्तासीन र सत्ताहीनको इतिहास छ, राज्यका प्राथमिक स्रोतमाथि सयौँ वर्षदेखि ढलीमली गर्ने र त्यसबाट जबर्जस्ती वञ्चित गराइएकाहरूको इतिहास छ, युगीन अन्यायलाई कायम राख्ने र त्यसलाई सदाका लागि अन्त्य गर्न चाहनेहरूको इतिहास छ । उनका निबन्धले के अभिव्यञ्जित गरेका छन् भने उत्पीडक र उत्पीडितको परिचय समाप्त हुनुपर्छ अनि मात्र एउटा विचारधाराको अन्त्य र अर्को विचारधाराको उदय हुन सक्छ ।
प्रभुत्ववादीले निर्माण गरेको विचारधारा वा शक्तिरचना र निरीह नेपालीहरूको विडम्बनापूर्ण दासत्वलाई लौ अब घर जाओ है निबन्धका तलका पङ्क्तिले यसरी अभिव्यञ्जित गरेका छन्ः
“मैले सानै छँदा सुनेअनुसार राणाजीसँग बोलेको मुखलाई केही समयसम्म त्यही महत्वको अवस्थामा राख्न त्यो बोल्ने व्यक्ति पन्ध्र दिनसम्म अरूसँग बोल्दैनथ्यो अरे । मलाई आश्चर्य लाग्छ, त्यो व्यक्ति श्रीमतीसँग एक्लै हुँदा, भोजन माग्दा पनि ‘हुम्हुम्’ मात्रै गरेर कसरी काम चलाउँथ्यो होला ! यस्ता सोझा हुम्हुम्कारीलाई शासन गर्ने शासक तिनलाई नै समातेर सामान बोकाएर बनाइएको भर्साइको दरबारजस्तो महलमा बस्थे । त्यो हुम्हुम्कारी अहिले पनि झन्डै त्यस्तैत्यस्तै अवस्थामा छ । त्यस्तो महल बनाएर बस्नेका विशृङ्खल सपना अहिले पनि नेपाली शक्ति सन्तुलनका संरचना भएका छन् । खरी बोटोत्तर समयको खुलामञ्चमा उभिएर बोल्ने शक्ति, भित्र ठाउँठाउँबाट बोल्ने शक्तिशाली आदि सबैका ठ्याक्कै नभए पनि जुद्धशम्शेर सँग मिल्ने खालका सपना छन् । ती सबैको रचना गर्ने वा बनाइदिने त्यो हुम्हुम्कारी सनातन छ । यो हुम्हुम्कारीका चेतनाको कन्टिनुअम् अनि उसका सोझा सपना र डरलाई समातेर इतिहास चलाउने आजका इतिहास निर्माता हुन् ती जोसुकै किन नहुन् (पृ.५६)” ।
गाउँका आफ्नै शोषक दाजुभाइले आफ्नै दाजुलाई उठीबास लगाएको र दाजु थातथलो छोडेर रूँदै आसाम भासिएको मार्मिक र करूण गाथा ‘डिठ्ठादाजु र पिकासो’ निबन्धले सुनाएको छ । ‘शब्द नाटक र नारी’ निबन्धमा पुराणकालदेखि अहिलेसम्म पुरूषले नारीलाई गरेको अनन्त शोषण र उत्पीडनको मर्मलाई प्रकट गरिएको छ । ‘हामी गणतन्त्र र वियुक्ति’ निबन्धमा भूपि शेरचनको ‘हामी’ कविताको हामी सम्पूर्ण नेपालीको प्रतीक थिएन, त्यो सवाल्टर्नहरूको मात्र प्रतीक थियो । सामन्त वर्ग बेग्लै थियो । त्यसले आफू बेग्लै र अरू बेग्लै हुन् भनिरह्यो । अब त्यसको अन्त्य भयो र नेपाली सबै एक भएका छन् भन्ने नयाँ अर्थ निकालिएको छ । यो वास्तवमा छेलिएको अर्थ थियो । कुखुरा उत्तरपँुजी र राष्ट्रपति निबन्धमा श्वेतहरूको आधिपत्य रहेको अमेरिकामा विभेदीकृत अश्वेत बाराक ओबामाले राष्ट्रपति पदमा विजय प्राप्त गर्नु नयाँ इतिहास र नयाँ युगको आरम्भ हो । नेपलीले पनि नयाँ युगको थालनी गर्नुपर्छ भन्ने भाव व्यक्त गरिएको छ । एसिया, इतिहास र हामी निबन्धमा अब आवाज नभएका मानिसको आवाज सुन्ने बेला आएको छ । यो सवाल्टर्नहरूको समय हो । यसको सङ्केत नेपालमा पनि देखिँदैछ भनेर विश्वास प्रकट गरिएको छ । उनी लेख्छन्– “इतिहास आजसम्म माथिबाट हेरिँदै आएको रहेछ, तर अब यसलाई तलबाट हेरौँ भन्ने तर्क आए । ती तर्क मलाई मन पर्दछन् । तलबाट इतिहास हेरिनु भनेको आवाज नभएका मानिसहरको आवाज सुनिनु हो । सक्रिय भए पनि कामको शोषण मात्र गरिएका मानिसहरूको विषयमा लेखिनु हो । तिनका कामबाट समाज र देशमा धेरै काम भइरहेका भए पनि तिनलाई जस दिन नसक्ने समाजको आलोचना गर्नु हो । अत्यन्त दृष्टिगोचर तर नदेखिने पारिएका मानिसहरूलाई देखाउनु हो (पृ.३१०) ।” मलाई अभिका यी निबन्धहरू विपन्नता र सम्पन्नताको भिन्नता देखाउने अस्कर वाइल्डले लेखेको ‘प्रसन्न राजकुमार’ कथा जस्ता लाग्छन् ।
यो पृथ्वीका चिन्ताले लेखिएको कृति हो
यस सङ्ग्रहमा सङ्कलित केही निबन्धहरूले मानवेतर जगत्प्रति, प्रकृतिप्रति यसको पर्यावरणप्रति चिन्ता व्यक्त गरेका छन् । उनका निबन्धले मानव क्रियाकलाप प्रकृति विनाशक भए । मानवले आफू बसेको ग्रहलाई आफैँले बस्न नहुने बनाउँदै लगेको छ । आफ्नो वासस्थानलाई यति प्रदूषित बनाइसकेको छ जहाँ बसेर एक मुठ्ठी सास फेर्न सकिँदैन भनेर चिन्ता देखाएका छन् । मान्छेले मानवेतर प्राणीको अस्तित्व सङ्कटमा पारिदिएको छ । यसबाट त्यस प्राणीलाई मात्र नभएर स्वयम् मानवलाई नै ठूलो सङ्कट परेको छ भन्ने चिन्ताले लेखिएका निबन्ध पनि छन् । यस्ता विषयमा लेखिएका निबन्धहरूमा आँखा, रूख, राजनीति र सहर, साँढेको मुक्ति, वसन्त, घुँडा र ग्यालरी, बग्गीखाना, नदी र जीवन, चुनामी प्रलय र हामी, फोहोर, सहिद र युवा, गोगँवु र लुरेका सपना, खडेरी, हामी र भविता आदि पर्दछन् ।
अभिका प्रायः धेरै निबन्धमा अप्रदूषित, स्वच्छ, निर्मल प्रकृति र प्राकृतिक ग्रामीण बिम्ब आउँछन् । उनका निबन्धमा तीव्र सहरीकरणले प्रकृति कसरी नष्ट हुँदैछ भन्ने ठूलो चिन्ता छ । सुविधाका खोजमा मान्छेले सहर त बनाए तर प्रकृतिलाई जोगाउन सकेनन् भन्ने चिन्ता छ । उनले सहरियाहरूको बाँच्ने शैलीप्रति चिन्ता व्यक्त गरेका छन् । सहरले प्रकृतिको हरितिमा निलेकामा चिन्ता व्यक्त गरेका छन् । उनी भन्छन् – “पहिलो अब रूखमा कसैलाई चाख छैन । दोस्रो, रूखको विनाश हरियो चेतनाको विनाश हो । (पृ.१५१)” “रूखले हाम्रा संवेदना नाप्छन् । आकाशतिर अभिमुख हरियो र शान्त चेतनाका संरचना बुझाउँछन् । घाम, जून र तारामुनि हावाले बिस्तारै संवादको विचलन ल्याएका रूख बुझ्न सक्ने मानिसले मात्र शान्ति र मायाको महत्व बुझ्छन् (पृ.१५२)” “हामी सहरमा रूख काटेर, देशमा सिद्धाएर एक अशान्त मनस्थितिले पिरोलेको भूराजनीति र भूसंकृतितिर अभिमुख हुँदैछौँ (पृ.१५३) ।” अभिले आधुनिक प्रविधिको पिछलग्गु भएर मान्छेले प्रकृतिसँगको एडजस्टमेन्ट गुमाएकोप्रति चिन्ता व्यक्त गरेका छन् । आजको साहित्य वातावरणनिरपेक्ष हुनै सक्तैन भन्ने विश्वास अभिका निबन्धले व्यक्त गरेका छन् । पर्यावरणीय चिन्ता, मानवेतर प्राणीप्रतिको चिन्ता र प्रकिृत र मान्छेबीचको बिग्रँदो सम्बन्धलाई अभिका निबन्धले विषय बनाएका छन् । उनका निबन्ध वर्गीय चिन्ता, नेपाल र नेपालीको चिन्ता, प्रकृतिको चिन्ता, प्रकृतिमा रहेका मानवेतर प्राणीप्रतिको चिन्ता र मानवीय चिन्ताले मात्र लेखिएका नभएर सम्पूर्ण पृथ्वीकै चिन्ताले लेखिएका छन् । उनले पृथ्वीप्रतिको चिन्ता यसरी व्यक्त गरेका छन्– “पृथ्वी अहिले सङ्कटमा छिन् । तिनका धारहरू धमिला भएर बग्छन् । तिनको अन्तरिक्ष विषालु ग्याँस र धूवाँले आच्छादित छ । तिनको आयोनेस्फेयरमा प्वाल पर्न थालेको छ । पृथ्वीमाता परमाणुका चपेटामा परिसकेकी छन् । तिनका देश, जाति र राजनीतिक प्रपञ्चले वास गरेको ठाउँमा निर्दोष बालबालिकाहरूलाई दिनदिनै पीडा दिइन्छ, जीवन लिइन्छ । तिनका बाबुआमा साङ्घातिक हमलामा हराउँछन् । युद्ध, हमला र विस्फोटमा निर्दोष मानिसहरू मरिरहन्छन् । छानामा पानी खसेको सुनेर मानिस आनन्दले सुत्न सक्तैन । पृथ्वीको पीडा हामीले भोगेको यातनामा प्रतिबिम्बित छ (पृ.२१२) ।” पृथ्वीप्रतिको चिन्तामा अभि कति गम्भीर र संवेदनशील छन् म उनकै भनाइ उद्धृत गरेर देखाउन चाहन्छु । उनी भन्छन् – “पानी परेर भलले फोहोर काँधमा लिएर हतारहतार हाम्रै बाग्मतीतिर कुदिरहहेको देख्दा पनि ए, यो लिएर कहाँ जान लागेको, हाम्रो बाग्मतीमा लान लागेको हो कि भनेर सोध्न मन लाग्छ (पृ.२१४) ।”अभिका यी निबन्धहरूले भूमण्डलीय र स्थानीय दुवै चेतनालाई एकैपटक प्रस्तुत गरेका छन् । भूमण्डलीय र स्थानीय चेतनाको युगपत् प्रयोगले नै यी अत्यन्त सुन्दर र शक्तिशाली भएकाछन् ।
आत्मजीवनीको मोहनी रूपले मोहित हुँदा
यी निबन्धहरू विविध विषय र समस्यासँग सम्बन्धित छन्, तर ती सबैसँग अभिको सम्बन्ध कतै न कतैबाट रहेको देखिन्छ । हुनत उत्तरसंरचनावादीहरूले रचयिताको हक रचनामा हुदैन । ऊ त प्रतिलिपिक मात्र हो । लेखकले मेरो अर्थ यही हो भनेर ठोकुवा गर्न मिल्दैन भनेका छन् । त्यो पनि ठीकै होला, तर सबै निबन्ध पढिसकेपछि यस्तो लाग्छ यी त अभिका आफ्नै कथा पो रहेछन् । यो कृति त उनको जीवनचरित्र पो रहेछ । अनि मलाई भ्रम भयो यो निबन्धसङ्ग्रह हो कि आत्मजीवनी हो ? ‘गोँगबु र लुरेका सपना,’ ‘आमा, क्रान्ति र जून’ ‘काठमाडौँ महायात्रा,’ ‘डिठ्ठा दाजु र पिकासो,’ ‘धरान, गोली बोली र म,’ ‘भक्तपुर, आरुका फूल र समयरेखा,’ ‘वसन्त, घुँडा र ग्यालरी’ जन्म राष्ट र अवकाश आदि निबन्धले अभि सुवेदी को थिए, कुन गाउँका थिए, उनको शिक्षा कसरी सुरु भयो, उनी कसरी घर छाडेर पढ्न हिँडे, उनमा साहित्यिक रुचि कसरी पलायो, उनी राजनीतितिर कसरी लागे, कसरी काठमाडौँ आए, कसरी पढे, कसरी साहित्यलेखनतिर लागे, केकस्ता साहित्यकारसँग सम्बन्ध गाँसे, कसरी प्राध्यापक भए र कसरी निवृत्त भए, किन सरकारी सेवामा गएनन्, कसरी घर बनाए, कसरी नाटक लेखे, साहित्यिक कार्यक्रममा कुनकुन देश घुमेर कस्तो अनुभव बटुले, स्वतन्त्रता र मानवताका पक्षपाती कसरी भए, नेपालीको मुक्तिका लागि लेखनलाई कसरी माध्यम बनाए, तत्कालीन शासकबाट उनलाई कति खेदो गरियो । अमेरिकाले उनलाई किन यात्राअनुमति दिएन आदि सबै प्रश्नको उत्तर दिन्छन् । यी सम्पूर्ण कुराले सम्पूर्ण निबन्धलाई एउटै सूत्रमा बाँधेका छन् र कृति निबन्धसङ्ग्र जस्तो नभएर निबन्धकारकै आत्मजीवनी जस्तो हुन पुगेको छ । उनको जीवनवृत्त क्रमिक रूपमा विन्यस्त भएजस्तो लाग्छ । यस निबन्धसङ्ग्रहमा उनको जीवनी कुनै गीतमा स्पष्ट नसुनिए पनि भित्रभित्रै बजिरहेर लय सिर्जना गर्ने पृष्ठधुनजस्तो भएर रहेको देखिन्छ ।
यी निबन्ध पढ्दा उनी कुनै आत्मविद् ऋषिजस्ता देखिन्छन् । उनले यहाँ आत्मप्रदर्शन गरेका छैनन्, आत्मदर्शन गरेका छन् । यो कृति उनको उनीसँगैको आत्मसंवाद हो । यो उनको आत्मखोज पनि हो । अभिले यहाँ अभिलाई नै खोजेका छन् । उनी उत्तराद्र्धबाट आफ्नो पूर्वाद्ध हेरिरहेका छन् जस्तो लाग्छ । आफूले आफैँलाई हेरेर उनले जीवनको अन्तर्यात्रा गरिरहेका छन् । उनको आत्मदर्शन मनोरञ्जक, उतारचढाव युक्त छ । उनको आत्मकथनको मोहक मन्त्रले पाठकलाई लठ्याउँछ । यी निबन्धले अभिको भौतिक छवि देखाउँदैनन्, मानसी छवि देखाउँछन् । यहाँ उनले आत्मप्रशंसा वा आत्मश्लाधा गरेका छैनन्, त्यसैले उनको आत्मजीवनको रूप आत्मश्लाघाको कलङ्कबाट मुक्त छ । यी सबै निबन्ध अभिकै अनुभवले अभिरञ्जित छन् । आत्मजीवनीपरकताले गर्दा यो निबन्धहरू अत्यन्त विश्वासिला र पत्यारिला भएका छन् । उनी भन्छन्, “कुरा मेरो आफ्नै हो, कुरा देशको हो अनि यो कुरा कला र साहित्यको पनि हो (पृ.३१५) ।” उनको यस वाक्यले भन्छ यसमा उनको आत्मजीवनी छ, देशको समसामयिक राजनीति छ र अनि छ नेपाली कला र साहित्यको दिग्दर्शन ।
यसले पुराना समालोचनाको पर्खाल भत्काइदिएको छ
यो साहित्यिक चिन्तनको अर्वाचीन उचाइले लेखिएको कृति हो । यसमा विश्वसाहित्यका नवीनतम चिन्तनहरू प्रतिबिम्बित भएका छन् । यसले अभिमा रहेको साहित्यिक चिन्तनको गम्भीर, व्यापक, सूक्ष्म र तीक्ष्ण छवि अभिव्यञ्जित गरेको छ । यसले अभिको साहित्यसौन्दर्यको उचाइलाई देखाएको छ । यसमा अभिका दुई खाले निबन्धहरू छन् । साहित्यमा आएका नवीनतम सिद्धान्तको विमर्श गर्ने वा समालोचनाको सैद्धान्तिक पक्षको चर्चा गर्ने निबन्धहरू र समालोचनाको व्यावहारिक स्वरूप प्रस्तुत गर्ने निबन्धहरू । सैद्धान्तिक विमर्श प्रस्तुत गरिएका निबन्धहरूमा ‘अक्षर र आँखा,’ ‘जन्तरेदाजु र डेरिडा,’ ‘उत्तरआधुनिक र विकासे कुखुरा,’ ‘डेरिडा, लुरी र हलचल,’ बिजुलीपत्र, साइवर पाठ र अतिपाठ,’ ‘उत्तरआधुनिक, साइकल र बजार’, आदि पर्दछन् । व्यावहारिक स्वरूप प्रस्तुत गर्ने निबन्धहरूमा ‘धरान, गोली, बोली र म,’ ‘भूमिका, इँटा र सपना,’ ‘अ।र्थर मिलर, बोक्सी र मक्कार्थी,’ ‘विकल, इन्द्रावती र गान्धी,’ वेस्टसेलर पल्पसा क्याफे र बिराला,’ अफ्रोएसियाली साहित्य र राजनीति,’ ‘नेपाल भारत नेपाली लेखक,’ ‘साहित्यिक पुरस्कार र त्रासदी,’ रङ्गमञ्च समीक्षा र बिलौना,’ ‘दुःख,’ नाटक र भविता,’ हामी गणतन्त्र र विमुक्ति,’ नयाँसडक, आधुनिक साहित्य र कर्म,’ जोनलेनन, गीत र मुक्ति,’ ‘नेपालमा कलाको दोभान,’ नयाँसडक, रश्मि र साहित्य’ आदि पर्दछन् ।
यी निबन्धहरू अभिका साहित्यिक अनुचिन्तन हुन् । यी हिजोका साहित्यसिद्धान्तका आधारमा लेखिएका छैनन् । अहिलेका अन्तरविषयक सिद्धान्तले लेखिएका छन् । यिनले पहिलेका साहित्यसिद्धान्तप्रति सन्देह प्रकट गरेका छन् साहित्य सिद्धान्तलाई मात्र आधार मानेर लेख्दा ती नवसिर्जना नभएर सैनिकले परेड खेलेजस्ता मात्र हुन्छन् भन्ने सङ्केत गरेका छन् । यी नवीन साहित्यिक विचारका विमर्श हुन् । यी समीक्षाका पनि समीक्षा हुन् । यिनको निर्माण अन्तरविषयकताले भएको छ । यी अरूसँग मिसिएर आएका छन् । उनी साहित्यिक चिन्तनलाई युगीनतासँग, समकालीनतासँग जोडेर हेर्छन्; सांस्कृतिक, राजनीतिक र सामाजिक परिवर्तनसँग जोडेर हेर्छन् । उनी साहित्यको अध्ययन साहित्येतर सिद्धान्तले गर्छन् । उनी साहित्यबाट समसामयिक समाज, राजनीति संस्कृति र मनोविज्ञान बुझिनुपर्छ भन्ने धारणा राख्छन् । डेरिडा, फुको, लकाँ, मिलर, कुलर, वार्थ, आल्थुजर, इगल्टन, गायत्री स्पिभाक आदिले साहित्यको पठनमा जसरी साहित्येतर सिद्धान्तको प्रयोग गरेका छन्, अभि त्यसरी नै गर्न चाहन्छन् । उनी विविध चिन्तनको इन्द्रेणीले साहित्यलाई हेर्छन् । उनका यी निबन्ध पढेर के थाहा पाइन्छ भने साहित्य सिद्धान्त व्यापक, विस्तृत र सीमाहीन कुरा हो । यसलाई अब पुराना काव्यसिद्धान्तका चौघेरामा छेकेर राख्न सकिँदैन, अबको साहित्य सिद्धान्तलाई कुनै सिद्धान्तको अग्लो पर्खालले घेरेर राख्न सक्तैन । अबको साहित्य सिद्धान्त आकाश जस्तै विशाल हुनुपर्छ ।
यो कृति नेपालीको मुक्तिगाथा हो
यो कृति नेपालीको मुक्तिसङ्घर्षको अभिलेख हो । यसले नेपाली राजनीतिक इतिहासलाई विषय बनाएको छ । यसले नेपाली जनताको सङ्घर्षशीलता, साहस र धैर्यलाई देखाएको छ । नेपालीहरूले निरङ्कुशताविरोधी सङ्ग्राम कहिलेदेखि थाले, त्यस सङ्ग्राममा के कस्ता मोडहरू देखापरे, त्यस्ता सङ्ग्रामको नेतृत्व के कस्ता व्यक्तिले गरे, जनशक्तिका सामु निरङ्कुशताले कसरी घुँडा टेक्यो, नेपालीहरूले त्यस मुक्तिसङ्घर्षलाई कसरी निर्णायक मोडमा पु¥याए । नेपालीको मुक्तिसङ्घर्षले विश्वलाई कसरी चकित पा¥यो आदि प्रश्नको उत्तर कृतिले दिएको छ ।
यसमा निरङ्कुश वा अधिनायकवादीका दमन, शोषण, अन्याय र अत्याचारका हृदयविदारक कथा छन् । यसमा निरङ्कुशताका विरुद्धमा लाग्ने मुक्तिसेनानी, साधारण जनता, लेखक, स्वतन्त्र चिन्तक आदिका गाथा छन् । यसमा हिंसा वा आतङ्कविरोधी रचना छन् । म यहाँ केही उदाहरण दिन चाहन्छु । हिंसा र आतङ्कको विरोधमा लेखिएका निबन्धहरूमा ‘कोटीहोम, मोहनचन्द्र र भविता,’ ‘काँल्दाजु कार्लमाक्र्स र आँखा,’ ‘बुद्ध, गान्धी र बन्दुक,’ ‘आमा, क्रान्ति र जून,’ ‘पीपलको रूखमुनि भोको इतिहास,’ ‘विरूपाक्ष बम र आतङ्क’ आदि पर्दछन् । यी निबन्धले अभिका अहिंसावादी क्रान्तिकारी विचारलाई अभिव्यञ्जित गरेका छन् । यी अहिंसावादी विचारका अधिरचना हुन् । यी बेजोड छन् । यिनबाट निक्लेको वैचारिक शक्तिको तुलना अरू कुनै शक्तिसँग गर्न सकिँदैन । यसमा मुक्तियोद्धा वा नेपाली मुक्तिसेनानीहरूका त्याग, आत्माहुति र भगीरथप्रयासका कथा छन् । यहाँ उनीहरूको अभिनन्दन गरिएको छ । यस्ता निबन्धहरूमा ‘वि.पि.इतिहास र आँखा,’ ‘वि.पि.पुष्पलाल र असारे हिलो,’ ‘सालिक डिठ्ठा र इतिहास,’ ‘भाषा, प्रजातन्त्र र नेता,’ ‘शान्ति घाम र इतिहास,’ आदि पर्दछन् । म यहाँ एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु । अभि कवि व्यथितको भनाइलाई यसरी उद्धृत गर्छन, ः “सन्तान्नब्बे सालतिर सिंहदरबारमा उनीहरूलाई थुनेर केरकार गरेका अनि कोर्रा लाएको ठाउँमा सबै शरीर सिक्रीले बाँधेर छर्लम्छर्लम् आवाज गर्दै हिँडाएर एउटा मानिस ल्याइयो । त्यसका दारी थिए अनि त्यो यिसुख्रिष्ट जस्तो देखिन्थ्यो । हामीलाई कोर्राले हानेको देखेर त्यस जीवन्त मूर्तिले भन्यो – “ए कोर्रा हान्न बन्द गर ! यिनीहरूलाई । यिनीहरूले केही गरेका छैनन् । मैले गरेको हुँ । छोड्दे यिनीहरूलाई !” त्यो मानिसलाई छर्लम्छर्लम् पार्दै अन्तै लगियो । कोर्रा हान्न बन्द भयो । त्यो मानिस तपार्इंको टङ्कप्रसाद थियो (पृ.१४४) ।”
यहाँ लोकतन्त्रका पक्षमा लेखिएका, नेपालीले गरेका संसार प्रसिद्ध लोकतान्त्रिक आन्दोलनलाई दिशा र गति दिन लेखिएका, स्वतन्त्रताका पक्षमा लेखिएका निरङ्कुशताका विरुद्धमा लेखिएका निबन्धहरू छन्, जस्तैः ‘राजनीति, कल्पना र हामी,’ ‘जुत्ता, इतिहास र कला,’ ‘कान्तीपुर त्रोजन पर्खाल र म,’ ‘ चुनाउ, बिमा र बन्दी,’ ‘संसद्, मुक्ति र जुँगा,’ ‘मध्ययुग, बाघचाल र डिजिटल,’ ‘काठमाडौँ आन्दोलन र विनिर्माण,’ कालापानी र गाउँखाने कथा,’ मोबाइल पशुपति र सिसिफस,’ आदि । मलाई यी निबन्ध पढेर के लाग्यो भने यो कृति लोकतन्त्रको महागायन हो र अभि त्यसका महागायक हुन् । यसमा लोकतन्त्र जोगाउने चिन्ता पनि छ । लोकतन्त्र ल्याएपछि नेताहरूमा देखिएको दिशाहीनताप्रति चिन्ता छ । उनी नयाँ नेपालको चिन्ताले निबन्ध लेख्दै छन् जस्तो लाग्छ । यसमा द्वन्द्व र युद्धका अभिघात छन् । द्वन्द्व र युद्धका भुमरीमा परेर मानवीय मूल्य गुमाएका मान्छेका असीम वेदना, करूणा, पीडा, चीत्कार र अवसाद छन् । यी इतिहास नहुनेहरूका, बोली नहुनेहरूका पीडाको उत्कर्षबाट नै लोकतन्त्रको उदय भएको हो भन्ने गुप्त सन्देश बोकेका निबन्धहरू हुन् । यसमा नेपाली जनताको आत्मगौरव, आत्मविश्वास, आत्मशक्ति र आत्मत्याग देखाउने निबन्ध छन् ।
यो कृति लेखकीय स्वतन्त्रताको उद्घोष हो
लेखकीय स्वतन्त्रता भनेको अभिव्यक्तिको स्वतन्त्रता हो । लेखकले आफूलाई लागेका कुरा लेख्न पाउने स्वतन्त्रता हो । लेखकले अरूले भनेका कुरा पढ्न वा सुन्न पाउने स्वतन्त्रता हो । विश्वका जुनसुकै राज्यले पनि लेखकीय स्वतन्त्रताको अपहरण गरेका, कदर गरेका, सीमित र निर्देशित गरेका इतिहास छन् । लेखक थुनिएका, थुनामै मरेमा, देशनिकाला गरिएका र लेखकलाई राज्यले अमानवीय यातना दिएका इतिहास छन् । लेखकहरू आफ्नो स्वाभिमान रक्षार्थ मर्न तयार भएका तर राज्यसँग नझुकेका इतिहास छन् । लेखकले निर्भीक भएर निरङ्कुश र सर्वसत्तावादी राज्यका विरूद्ध अनेकौँ उत्कृष्ट कृति सृजना गरेका इतिहास छन् । मलाई लाग्यो अभिको यो कृति तिनै इतिहासको निरन्तरता हो । उनी यस कृतिमा राज्यबाट गरिने लेखकीय स्वतन्त्रता हननका जस्तासुकै कार्यको पनि कडा विरोध गर्ने खरा निबन्धकारका रूपमा अगाडि आएका छन् । उनी भन्छन्– “सपनाका बिम्बहरू बनाउने, कुनै दाबी नभएको, मानिसको मुक्तिलाई प्रेम गर्ने म एक स्वतन्त्र र अराजक लेखक हुँ (पृ.३१८) ।” यो उनको लेखकीय स्वतन्त्रताको उद्घोष हो । उनको यस उद्घोषणमा परेको अराजक शब्दले मलाई झसङ्ग पा¥यो । उनी किन आफूलाई अराजक भन्छन् । म गम्भीर सोचमा परेँ । मलाई उनका निबन्ध पढेर के लाग्यो भने उनी सबै प्रकारका सर्वसत्तावादका सशक्त विरोधी लेखक हुन् । उनी पहिले निरङ्कुश शासकीय सर्वसत्तावादका विरोधी हुन् । त्यसैले उनी आफूलाई अराजक भन्छन् । त्यस्तै उनी साहित्यलेखनको निरङ्कुशताएकस्वरता र एकरूपताको सर्वसत्तावादलाई पनि रुचाउँदैनन् । उनले आफ्ना निबन्धलाई निर्बन्ध भनेका छन् । एकरूपता र एकस्वरता सृजनाका ठूला शत्रु हुन् । यसले पराधीनतालाई जन्माउँछ । उनी पराधीन लेखनका कट्टर विरोधी देखिन्छन् । साहित्यिक सिद्धान्त वा वैचारिक पूर्वाग्रहका लिकमा चलेर लेख्नु, चिन्तनमा स्थिरता कायम गर्नु, अर्थलाई अवरुद्ध गर्नु सर्वसत्तावाद हो । मलाई लाग्छ अभि यही सर्वसत्तावादका विरुद्धमा लेख्छन् । त्यसैले उनी आफूलाई अराजक लेखक भन्छन् । यही अराजकताबाट नै उनी आफ्नो लेखकीय स्वतन्त्रताको उपयोग गरिरहेका छन् जस्तो लाग्छ ।
‘राज्य, लेखक र मुक्का,’ आर्थर मिलर, बोक्सी र मक्कार्थी,’ ‘मोवाइल पशुपती र सिसिफस,’ ‘लिखुरे लेखक, कथा र शक्ति,’ ‘जोनलेनन, मुक्ति र गीत,’ ‘राजनीति, कल्पना र हामी,’ ‘साहित्य पुरस्कार र त्रासदी,’ ‘बिम्ब, सपना र हामी’ आदि निबन्धहरूले लेखकीय स्वतन्त्रताको उद्घोष गरेका छन् । यी निबन्ध मात्र होइन यस कृतिमा सङ्कलित सम्पूर्ण निबन्धहरू यही लेखकीय स्वतन्त्रताको तीव्र चेतनाको रसायनले निर्मित भएका छन् । त्यही चेतनाले गर्दा नै यी निबन्धहरू अत्यन्त शक्तिशाली भएका छन् ।

सन्दर्भसूची
गुरिन, बिलफ्रेड र अन्य (सम्पा.). ( सन् १९९९). अ ह्यान्डबुक अफ क्रिटिकल
अप्रोचेज टु लिटरेचर . न्युयोर्क ः अक्सपोर्ड युनिभर्सिटी प्रेस ।
गौतम, कृष्ण. (२०६४). उत्तर आधुनीक जिज्ञासा. काठमाडौँ ः भृकुटी एकेडेमी पब्लिकेसन ।
नारङ्ग, गोपीचन्द. (सन् २०००). संरचनावाद उत्तरसंरचनावाद एवं प्राच्य काव्य शास्त्र. दिल्ली ः साहित्य अकाडमी ।
पचौरी, सुधीश. (सन् २०००). आलोचना से आग े. दिल्ली ः राधाकृष्ण प्रकाशन ।
भट्टराई, गोविन्दराज. (२०६२). उत्तरआधुिनक ऐना . काठमाडौँ ः रत्न पुस्तक भण्डार ।
” ” (२०६४). उत्तरआधुनिक विमर्श .काठमाडौँ ः मोडर्न बुक्स ।
राइस, फिलिप र अन्य. (सम्पा.). (सन् २००२ चौ.सं.) . मोडर्न लिटरेरी थ्योरी . दिल्ली ः रिप्लिका प्रेस प्रा.लि. ।
सुवेदी, अभि. (२०६५). निबन्धमा उत्तरवर्ती कालखण्ड . काठमाडौँ ः रत्न पुस्तक भण्डार ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 15 मङ्गसीर, 2071

लेखकका अन्य रचनाहरु