आशाको किरण

- बद्री अधिकारी

बाँच्नका लागि खानु पर्ने, खानका लागि द्र्रव्य आर्जन गर्नु पर्ने र
द्रव्य आर्जनका लागि कामको आवश्यकता पर्ने, काम नै नपाएपछि, पैत्रिक
सम्पत्ति हुनेहरूले त सीप भए, व्यवसाय गर्लान् तर नहुनेहरूले ? शैक्षिक
बेरोजगारहरूको सङ्ख्या दिनहुँ बढ्दो छ । रोजगारीका लागि विदेश जानेको
सङ्ख्यामा प्रतिबर्ष वृद्धि भइरहेको देखिन्छ । राज्यले बेरोजगारहरूका
लागि झुठो आस्वासन बाँडेकोले मात्र पेट भरिन्न । हुने खानेहरूको
धाक–रवाफ, चाल–चलन र उनीहरूसँग दाँजिएर बाँच्नलाई हुँदा खानेहरूले कसरी
प्रतिस्पर्धा गर्ने ? राज्य सञ्चालकहरूसँग कुनै ठोस विचार र तर्जुमा छैन
। तर्जुमा गरेको भनी राज्यले हुँदा खानेहरूको बीचमा लाखौँ कुखुरालाई एक
मानो चामल छरे झैँ गरेर भोट बटुल्छ । अनि कुर्सी रक्षामा केन्द्रित,
राजनीतिक चिन्तन नमिल्नेहरूसँग साँठ गाँठ गर्न व्यस्त हुन्छ । यस्तो
चालले कुर्सी च्याखे दाउमा पर्छ । अनि विचार सिद्धान्त पनि सधैँ धरापमा
परिरहने गर्दछ । मेरो लागि त्यो कुर्सी भन्नुभन्दा ऊ त्यो कुर्सीका लागि
योग्य भनी अरूहरूले औँल्याइ दिए पो त्यो कुर्सी रक्षामा अरूहरूले पनि
चासो राख्दथे । यहाँ यस्तै छ, यस्तै चल्दै छ, कहिलेसम्म चलिरहने हो,अनि
त्यो कुर्सीको खुट्टा भाचिन्छ । त्यसमा विराजमान हुने तीन बलढ्याङ हुन्छ
। होइन र ? भानु यसरी नै दिमागमा अनेकौँ कुराहरू खेलाएर वर्तमान राजनीतिक
स्थितिको बारेमा छतमा बसेर घाम ताप्दै एउटा लेख लेख्ने विचारले औँलामा
डड् च्यापेर सोच मग्न थिए । उनको सोच भङ्ग भयो । मानिसहरूको भागदौड
घरअगाडिको बाटामा हुनथालेकोले गर्दा अगाडि बाटोको दुवै छेउमा पसल फिजाएर
व्यापारीहरू ग्राहकको आशमा देखिन्थे । जुत्ता, चप्पल, शृङ्गार सामग्री र
अन्य घरायसी प्रयोजनका सामग्रीहरू किन्ने ग्राहकको पनि घुइँचो नै हुने
गर्दथ्यो । नित्य यहाँ यसरी नै व्यवसाय गर्नेहरूको भीड नै हुने गर्दथ्यो
। स्थानीय स्थायी दोकानको भन्दा कम मूल्यमा सायद सामग्रीहरू पाइने
गर्दथ्यो क्यारे ! पसलेहरू र ग्राहकको भागा भाग देखेर भानुले चारै तिर
आँखा दौडाए । नगर प्रहरीहरू पसलेहरूलाई खेदिरहेका देखिन्थे ।

“लातको भूत वातले कहाँ मान्दछ’ तिमीहरूलाई यहाँ पसल नथाप भनेको होइन ।”
नगर प्रहरीको एउटा जवान हातको कटबाँस घुमाउदै ठूलो स्वरमा कराइरहेका थियो
। त्यो प्रहरीले एउटा पसल उठाउँदै गरेको नौजवानलाई केशमा पक्डेर लछार
पछार गर्न थाल्यो । त्यो नौजवान पसलेकोमा अस्ति उनले एउटा स्विटर किनेका
थिए । त्यो पसलमा खरिदारको सदा अरूकोमा भन्दा घुइँचो नै देखिन्थ्यो ।
नम्र व्यवहार झर्को नमानी ग्राहकहरूले भने बमोजिम माल देखाइदिने बानीले
पनि होला ?“उठाउँदै छु त किन हात हालेको ? आखिर हामीहरूसँग तपाईंहरूले
हप्तावारी असुलेकै छ ।” “कसले लग्यो हप्तावारी ? जे मुखमा आयो त्यही
बोल्छस् । जसले लग्यो उसैलाई भन् ।” प्रहरीले पसलेलाई घोक्राइदियो । पसले
पनि मापाको रहेछ । पसले औँला ठड्याएर भन्दै थियो—“म भन्दै छु हात नलगाउनु
होस् है । के यो देशमा हामी जस्ता गरीबले बस्न र व्यवसाय गर्न पाइँदैन
!” “बढी गफ गर्छस् ।” यति भन्दै प्रहरीले पसलेलाई अन्धाधुन्द कटबाँसले
हिर्काउन थाल्यो ।

भानु पनि डट बन्द गर्दै छतबाट उत्रेर त्यतैतिर लागे । उनी त्यहाँ
पुग्नुभन्दा अगावै दुईजना प्रहरीले उसलाई नगर प्रहरीको भेनमा हाली सकेका
थिए । अन्य पसलेहरू समान बोकेर र ग्राहकहरू खरीद सामग्री च्यापेर छेउ
छाउका घरहरूको चेप चापमा लुकिसकेका थिए । अलकत्रे सडक सुनसान थियो । पसले
नौजवानको आलो रगत यत्रतत्र सडकमा छीटा र फाल्साको रूपमा जमेको देखिन्थ्यो
। पसलेको आधा समान बोरामा र आधा समान त्यतिकै पसल फिजाएको अवस्थामा
देखिदै थियो । “अमृतमानले बिना सित्ती कुटाइ खायो, मुख नचला न भनेको
टेर्दैन कठै बरा !” यसरी फतफताउँदै उसको छेउमा पसल थापेर बस्ने एउटा
अधवैसे पसले छरिएका र बाँकी रहेका सामाहरू टुक्रुक्क बसेर बोरामा
लगाइरहेको थियो । भानुले पनि उसलाई सहयोग गर्न थाले ।

“सर तपाईंंको घर त्यो अगाडिको होइन् ?” बोरामा समान लगाउँदै अधबैँसे
पसलेले उनीलाई सोधिरहेको थियो ।

“हो के ? तपाईंहरू प्रहरीलाई हप्तावारी पनि दिनुहुन्थ्यो ?”

“बीसदेखि पचाससम्म दोकान हेरी दिनुपर्दछ ।”

“घुस खाएर पनि यस्तो व्यवहार ।” उनले आश्चर्य व्यक्त गरे । प्रहरी नयाँ
थियो या त उसले राम्रो भाग पाएको थिएन ।

प्रहरीले अमृतमानलाई नछाडेसम्मका लागि उनीकोमा नै समान राखिदिनका लागि
पसलेले गरेको अनुरोधलाई भानुले अस्वीकार गर्न सकेनन् । अधवैसे पसले
उनीसँग विदा मागेर आफ्नो गन्तव्य तिर लागिसकेको थियो ।

“यस देशको नागरिकहरूको कहिले सुखका दिन आउलान् ? जनयुद्ध पछाडि देशको
अवस्था यस्तो छ ?” हुँदा खानेहरूको कहाली लाग्दो अवस्थाले भानुलाई
पिरोलिरहेको थियो । मनोसम्वाद गर्दा पनि मन्द ध्वनी उनको मुखबाट
बाहिरिएको थियो । अमृतमानको अवस्थालाई नजिकैबाट बुझ्ने र सक्दो सहयोग
पु¥याउने विचार उनीभित्र उब्जन थाल्यो । मन र मस्तिष्कले निर्देशित गरेको
कार्य गर्न मानिस विवश हुन्छ । भानु पनि आफ्नो मोटर बाइक निकालेर प्रहरी
थानातिर लागे । उनले निकै ढिपी गरेपछि इन्सपेक्टर अमृतमानलाई उनी जिम्मा
लगाउन राजी भयो । अमृतमान उनलाई आश्चर्य साथ हेरिरहेको थियो । राम्रो चिन
जानसम्म नभएको मानिसले आफूलाई सहयोग गरेको कारण ऊ सायद बुझ्न सकिरहेको
थिएन । भानुलाई उसका आँखाले आफूलाई स्यावासी दिएझैँ लागिरहेको थियो ।
“हेर्नुहोस् भानु सर मैले तपाईंको कुरा काट्न नसकेर यसलाई छाडिदिएको छु ।
अमृतमान तिर हेर्दै इन्सपेक्टरले आफ्नो कुरा जोड्यो— “अब उप्रान्त तैँले
हुलहुज्जत गरिस् भने सार्वजनिक मुद्दा लगाएर जाकिदिनेछु ।” अमृतमान बोलेन
तर उसका दुई आँखामा प्रष्ट रूपले क्रोध झल्किरहेको थियो । उसको टाउकोमा
पट्टी बाँधिएको थियो । पीचमा घोप्टो परेर लडेकोले होला नाक र निधार
पिल्सेको देखिन्थ्यो । शरीरमा कति सुम्ला थिए लुगाले छोपेकोले अनुमानसम्म
पनि गर्न सकिदैनथ्यो ।

“अमृतमान जाऊँ हिँड ।”–भानु यति भन्दै अगाडि लागे । ऊ लुरुलुरु
आज्ञाकारी बालकझैँ पछिपछि लाग्यो ।

“सर ! मेरो समान के भयोहोला ?”

“तिम्रो समान छिमेकी पसले र मैले भएर मेरैमा सुरक्षित राखिदिएका छौँ
चिन्ता नगर ।” भानुको कुराले उसको मुहारमा हल्का खुसीका रेखाहरू सलबलाए ।
उनले उसलाई मोटरबाइकमा बस्ने सङ्केत गरे ।

“सर तपाईंको यो सहयोगलाई म कहिल्यै भुल्ने छैन ।”

“तिमी मलाई यसो भनेर नहोच्याऊ, यो त मानवीय मूल्यको आधारमा गरिने

सहयोग मात्र हो । तिम्रो स्थानमा मनै भएको र मेरो स्थानमा तिमी भएको भए
पनि तिमीले मैले गरे झैँ नै गर्ने थियौ ।”

“.................” अमृतमान बोलेन, सायद उसलाई बढी बोल्न मन लागेन
क्यारे । भानुभित्र उसको बारेमा अन्य कुरा बुझ्ने उत्सुकता पलाइरहेको
थियो । उनी त्यो मौकाको तलास गरिरहेका थिए । घर पुगेपछि उनले उसलाई चिया
पिउँनका लागि कर गरे । उनको आग्रहलाई उसले अस्वीकार गर्न सकेन ।

“तिम्रो घर कहाँ हो ?”

“जन्मथलो त ओखलढुङ्गा हो, अहिले यतै बस्छु ।”

“डेरा कहाँ लिएका छौ ?”

“डेरा लिन सकेको छैन । फुटपाथकै बसाइ छ ।”

“परिवार, बुबाआमा हुनुहुन्न ?”

“कोही छैनन् म एक्लै ।” यति भन्दै अमृतमान मौन भयो ।अतीतको सम्झनाले
होला उसका आँखाहरू रसाउँदै थिए । मानौँ, उसको अतीत अति पीडादायक छ झैँ जो
कोहीले अनुमान गर्न सकिन्थ्यो । उसको अतीतलाई कोट्याएर दुःखीत बनाउने
विचार नहुँदाँ नहुँदै पनि भानु त्यसो गर्न सकिरहेका थिएनन् ।

“तिमीले कतिसम्म अध्ययन गरेका छौ ?”

“बाह« पास गरेपछि अध्ययन गर्न पाइन ।”

“किन बुबाले पढाउनु भएन ? बुबा के गर्नु हुन्थ्यो ?”

“बुबा हुनु भएको भए त पढाउनुहुन्थ्यो होला । उहाँ मा.वि.को शिक्षक
हुनुहुन्थ्यो । सुराकीको आरोपमा उहाँलाई अपहरण गरेको अहिलेसम्म अत्तो
पत्तो छैन.।”

“आमा, दाजुभाइ छैनन् ?”

“एक जना दाजु हुनुहुन्थ्यो, उहाँ माओवादीमा लाग्नुभएको थियो । मोरङको
प्रहरीथाना कब्जा गर्न जाँदा सहादत प्राप्त गर्नुुभयो रे भन्छन् ।”

“आमा त हुनुहुन्छ होला नि !” उसको परिवार छिन्न–भिन्न भएको कथा सुन्दा
उनीभित्र रहेको मानवता छताछुल्ल हुँदै थियो । उनलाई सारै नरमाइलो
लागिरहेको थियो । एकै परिवारका मानिसहरू वैचारिक मतभेदका कारण एक–आपसमा
काटामार गरेको सुन्दा र देख्दा उनको शरीर सिरिङ्ग भइरहेको थियो । “के
मातृभूमिले यही कुरा मागेको हो त ? हाम्रो मुलुकमा यस्तै अवस्था कायम
रहिरहे ! मुलुकको भविष्य कस्तो होला ? के जनसमुदायले शान्तिको
प्रत्याभूति गर्न पाउने छैनन् ? राज्य सञ्चालन गर्न तँ छाड र म छाड
गर्नेहरू मतभेदलाई त्यागेर किन सहमत हुन सकिरहेका छैनन् ? सहमति भए न
मुलुक समृद्धिको बाटोतिर अगाडि बढ्ने हो ।” भानु सर यसरी मनोसम्वाद
गरिरहेका थिए । अमृतमानको स्वरले उनको मनोसम्वाद भङ्ग भयो– “दाई ! दाजुको
मृत्यु र बुबाको अपहरणको पीडालाई सहन नसकेर आमा पनि बिरामी हुनुभयो ।
मेरो बुद्धिले भ्याएसम्म उपचार गरेँ तर मैले उहाँलाई बचाउन सकिनँ ।”
गोजीबाट रुमाल निकालेर आँखाबाट झरेको आँसुलाई पुछ्दै उसले कुरा
टुङ्ग्यायो ।

उसलाई रोइरहेको देख्दा भानुका आँखाहरू रसाएर आए । उनलाई आफूलाई
नियन्त्रण गर्न गाह्रो भइरहेको थियो । सोही समयमा भानुकी श्रीमतीले दुई
प्लेट नास्ता लिएर कोठामा प्रवेश गरिन् । भानुकी श्रीमतीलाई शिष्टाचार
देखाउँदै उसले नमस्कार ग¥यो । नास्ताको प्लेट अगाडिको टेबलमा राखेर
प्रतिउत्तर दिँदै भानुकी श्रीमती कोठाबाट बाहिरिन् । दुई मौनसँग आआफ्नो
भागको नास्ता खान थाले । उनको दिमागमा उसलाई केही सहयोग गर्न सकिन्छ कि
भन्ने कुरा खेलिरहेको थियो भने उसको मनमा के कुरा खेलिरहेका थिए ? उनी
अनुमान गर्न सकिरहेका थिएनन््् । सबै कुरा अनुमानको भरमा पं्राप्त गर्न
पनि सकिदैन र सक्ने कुरा पनि हुँदैन ।

“अमृतमान तिम्रो व्यापारबाट तिमीलाई कतिको फाइदा हुन्छ ?” नास्ताको गाँस
निल्दै उसले भन्यो—“खासै हुँदैन सर.दुई छाक पु¥याउन हम्मे हम्मे
हुन्छ.त्यसैले त डेरासम्म लिन सकेको छैन ।”

“सानो तिनो काम पायौ भने गर्छौ ?”

“काम पाए किन नगर्नू.काम चाहिँ कस्तो सर !” उसको आँखामा उत्सुकताको साथ
साथै आशाको किरण टिलपिलाउँदै थियो ।

“हामीले सञ्चालन गरेको विद्यालयमा एउटा लाइब्रेरियनको आवश्यकता छ काम
गर्छौ भने म भन सुन गर्ने छु.।”

उसको आँखामा सलबलाई रहेको चमक क्षण भरमै रित्तियो । खिन्न हुँदै उसले
उनको अनुहार तिर हेर्दै भन्यो—“सर मसँग सर्टिफिकेट छैन ।”

“त्यसका लागि तिमी धन्धा नमान । हाम्रो निजी विद्यालय हो । पछि पेस
गर्छु भन्दा हुन्छ ।”—भानुले नास्ताको अन्तिम गाँस मुखमा लगाउँदै भने ।

भानुकी श्रीमतीले सोही समयमा दुई कप चिया टेबलमा राखिदिइन् ।

“म्याडमले किन दुःख गर्नु भएको ।”—आँेठमा मुस्कान छरेर उसले भन्यो ।

“पाहुनालाई सत्कार गर्ने कुरा नेपालीपन हो, यो नेपालीको मनमा सदा
रहिरहन्छ, नौलो कुरा होइन !” भानुकी श्रीमतीको कुरा सुनेर गम्भिर हँुदै
उसले भन्यो—“दिदी तपाईं र भानु सरको गुणलाई म आजन्म भुल्नेछैन । आज कैयौँ
दिनपछाडि मलाई पनि आफ्ना कोही छन् झैँ लागिरहेको छ ।”

“तिमी बढी भावुक नबन अतीतलाई सम्झेर छट्पटाउनु, वर्तमानलाई हेरेर
झोक्राउनुभन्दा भविष्य निर्माणका लागि अग्रसर हुनु नै साहसको परिचय हो ।”
भानुले उसलाई हौसला दिँदै भने । उनको छाती गर्वले चौडा भएको थियो । उसलाई
आफूले सहयोग पु¥याउन सफल भएकोमा उनी आनन्दको अनुभव गर्दै थिए ।
हुनेखानेहरूलाई त सबैले भरथेक गर्दछन् । तर हुँदा खानेहरूलाई सहयोग गर्ने
पो गर्ने ! उनी उसको आँखामा आशाको किरण नाँचिरहेको देखिरहेका थिए ।
उनीसँग भोलि भेट्ने बाचा गर्दै अमृतमान कोठाबाट बाहिरियो । उनले उसलाई
आँखाबाट ओझेल नहुनञ्जेलसम्म हेरिरहे ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 15 मङ्गसीर, 2071

लेखकका अन्य रचनाहरु