दलित समुदायका पक्षमा दुर्गा दर्जीको लेखन

- राजेन्द्र पहाडी

दुर्गा बहादुर दर्जी (४४) परिपक्व, जुझारु र लगनशील अधिकारकर्मी तथा साहित्यिक व्यक्तित्व हुन् । यिनले आफ्नो जीवनको धेरैजसो समय दलित, युवा, बालबालिका, महिला, पछाडि पारिएका तथा सिमान्तकृत वर्गको पक्षमा वकालत, बहश–पैरवी, लेखन तथा नेतृत्व गर्नमा खर्चिएका छन् । आवाजविहीनहरुलाई बाणी भर्ने काममा यिनको लगाव साच्चिकै उदाहरणीय देखिन्छ । संगठन, चेतना र सशक्तीकरणको माध्यमबाट आवाज, अधिकार र छनोटको विषयलाई मूल मुद्दा बनाउन यिनी र यिनी सम्बद्ध संस्थाले अनवरत काम गरिरहेको देखिन्छ धवलागिरी क्षेत्रभित्र ।
मानवअधिकारको सार्वभौम पक्षलाई सुरक्षित नगर्दासम्म सबै वर्ग, जातजाति, धर्म, संस्कृति, सम्प्रदाय र क्षेत्र विशेषको समुचित विकास तथा उन्नयन हुन नसक्ने कुरालाई आत्मसाथ गरेर अधिकार प्राप्तिको लडाईँमा अग्रिम मोर्चामा जुट्न आतुर दर्जीले आफ्ना विचार, दृष्टिकोण, सोच र भावनाहरुलाई लेखनको माध्यमबाट पनि अघि सार्दै आएका छन् । दलित सुमदायको सम्मान, परिचय र प्रतिष्ठालाई स्थापित गर्न दर्जीले गरेको लगानीको एउटा उपयोगी प्राप्ती हो प्रस्तुत पुस्तक ।
‘दलित अधिकार र विकास’ शीर्षकको निबन्धात्मक पुस्तकाकार कृति यिनको पछिल्लो पुस्तक हो । यस अघि यिनले ‘खुल्न लागेका आँखा’ नामक पुस्तक प्रकाशन गरिसकेका थिए । पुस्तक लेखनका माध्यमबाट दलित वर्गको अधिकारका पक्षमा वकालत गर्ने यिनको पहल स्तुत्य देखिन्छ । यस पुस्तकमा दलित समुदायका समस्या, भुक्तमान, दलितमाथि गरिएका विभेदका श्रृङ्खलाहरु तथा अपेक्षित परिणामका पक्षमा प्रसस्त कुराहरु उठान गरिएका छन् । वर्तमान कानुनी व्यवस्था, अभ्यास एवम् कमीकमजोरीलाई केलाउँदै समाधानका उपाय निरुपण गर्ने ध्येयमा यिनले आफ्नो लेखनीलाई सोझ्याएका छन् । दलितलाई ‘दलित’ बनाउन विगतमा के के गरियो भन्ने ऐतिहासिक छिन्द्रान्बेषण गर्ने लेखकको प्रयत्न सार्थक देखिन्छ ।
विगतको असजिलो परिस्थितिलाई विश्लेषण गर्दै वर्तमानको अन्तरकुन्तर केलाउन दुर्गाजीले गरेको प्रयास रोचक, घोचक र समय–सान्दर्भिक छ । राज्य–सरकार, यसका संयन्त्रहरु, हाम्रो परम्परागत धारणा र ‘घोचो सधैँ होचोको मुखमा’ नै सोझिने नियतीलाई के कसरी सच्याउन सकिन्छ भन्ने अपेक्षा यिनका सबैजसो लेखनीमा यत्रतत्र देखिन्छन् । समतामूलक, सम्पन्न, सभ्य, समृद्ध र सकारात्मक शक्ति सम्बन्धले ओतप्रोत भएको राजनैतिक प्रणालीले मात्र सदियौंदेखि हेपिएका, थिचिएका, मिचिएका र पछाडि पारिएकाहरुको समग्र मुक्ती सम्भव हुन्छ भन्ने मान्यतामा लेखक अविचलित निष्ठावान छन् । साँचो लोकतान्त्रिक कानुनी शासन व्यवस्थाबाट मात्र सबै वर्ग, लिङ्ग, धर्म–संस्कृति, सम्प्रदाय, जातजाति र क्षेत्रका नागरिकको हित संरक्षण हुन सक्ने भएकाले सुशासनयुक्त र लोककल्याणकारी सरकारको आवश्यकता देखेका छन् लेखक दर्जीले ।
पुस्तक खासमा विविध विषयमा आधारित छ । यसले सारभूत रुपमा ‘जसको सवाल–उसैको आवाज र उसैको नेतृत्व’ को मर्मलाई आत्मसाथ गर्न खोजेको देखिन्छ । दलित वर्गले भोग्नुपरेको विभेद, असमानता, अन्याय, शोषण, जातीय छुवाछुत र हेलाहोचोको अवस्थाबाट उन्मुक्ति पाउनका लागि त्यही वर्ग जागरुक हुँदै अघि बढ्नुपर्ने सत्यतालाई कुनै न कुनै कोणबाट पक्षपोषण गरिएको छ पुस्तकभित्र । यस पुस्तकमा पाठकले जनजागरण, जनसंगठन तथा जनसचेतीकरणका विभिन्न विधि, प्रक्रिया र तरिकाहरुका बारेमा पनि जानकारी राख्ने अवसर पाउँछ । ग्रामीण समुदायमा काम गर्ने सामाजिक कार्यकर्ता, समुदाय परिचालक तथा अन्य इच्छुकहरुका लागि यो पुस्तकले सहजीकरण सीपका बारेमा पनि थुप्रै कुराहरु पस्कन खोजेको छ । यस अर्थमा समाज परिचालनको क्षेत्रमा क्रियाशील जो सुकैलाई पनि यो पुस्तकले स्रोत सामग्रीका रुपमा पथप्रदर्शन गर्न सक्ने विश्वास लिन सकिन्छ ।
पछिल्लो समयमा नेपालले अबलम्वन गरेको शासनपद्दति, धर्म निरपेक्षताका अन्तरवस्तु, आत्मनिर्णयको अधिकार, धर्मका आडमा दलित समुदायमाथि भएको ज्यादती, विभेद र असमानताका अन्तरकुन्तर केलाउनेदेखि संघीयताका विविध पाटापक्षहरुका बारेमा आफ्ना अभिमतहरु राख्ने कुरामा लेखक दर्जी सचेततापूर्वक अघि बढेका छन् । नयाँ नेपाली राज्यले अवलम्बन गर्ने कस्तो खालको संघीय संरचनाले दलित जातिको समग्र मुक्तिका लागि मार्ग प्रशस्त गर्न सक्छ भन्ने बारेमा लेखकले आफ्ना तथ्य तथा तर्कहरु प्रस्तुत गरेका छन् । यस सङ्ग्रहको अध्ययनबाट पाठकले संघीयताको बहशमा आफूलाई कुन स्थानमा उभ्याउने भनी निर्णय लिन पनि सहयोग पुगेको अनुभूत गर्न सक्छ ।
लेखक दर्जीले पुस्तकमा दलित वर्गको सर्वाङ्गिण उन्नती प्रगतिका लागि राज्यले सामाजिक, साँस्कृतिक, राजनैतिक, प्रशासनिक, धार्मिक तथा आर्थिक क्षेत्रमा चाल्नुपर्ने कदम तथा गर्नुपर्ने बैधानिक व्यवस्थाका बारेमा आफ्ना अवधारणाहरु प्रस्तुत गरेका छन् । राज्य जिम्मेवार हुँदा मात्र तृणमूल तहमा नागरिकहरुको आवाजले उद्घाटित हुन पाउने उनको तर्क छ । यतिमात्र नभई उनले आजको समयमा राज्य व्यवस्था, राजनैतिक दलहरु र अन्य सरोकारवालाहरुले सम्पादन गर्नुपर्ने तत्कालीन कार्यभारका बारेमा पनि सविस्तार चर्चा परिचर्चा गरेका छन् । यसका साथै लेखकले दलित सवाललाई आमसञ्चार माध्यमले के कसरी हेर्नु जरुरी छ भन्ने बारेमा पनि आफ्ना बुझाई र दृष्टिकोणहरु राखेको देखिन्छ । उनको विचारमा आमसञ्चारको क्षेत्रमा दलित समुदायकै प्रत्यक्ष संलग्नता हुन सक्ने हो भने यो वर्गको सवाललाई यथोचित ढंगले उठान गर्न सहयोग पुग्ने अवस्था बन्न सक्छ ।
दलित समुदायकै तर्फबाट आमसञ्चारका क्षेत्रमा प्रभावकारी उपस्थिति र हस्तक्षेप हुन सकेमा त्यसले मुक्तीको आन्दोलनमा न्याय गर्न सक्ने उनको ठहरलाई अन्यथा मान्न सकिँदैन । मूलतः दलित–दलित भित्रको एकता, समवेत आवाज र गन्तव्यको प्रष्टता भएमा मात्र राज्य संरचनालाई सामाजिक न्यायलाई मूर्तीकरण गर्न दबाब पुग्ने लेखकको निश्कर्ष मननीय छ । लेखकले दबिएको अनुभूत गर्ने वर्ग नै नतातेसम्म ‘अरुले गरिदेला र पाउँला’ भन्ने सोच घाती हुन सक्नेतर्फ सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।
दर्जीले आफ्नो पुस्तकमा दलित समुदायका युवाहरुले चाल्नुपर्ने कदम तथा अपनाउनुपर्ने होशियारीका बारेमा पनि सुविचारित ढंगले प्रस्तावना अघि सारेको देखिन्छ । देशमा उपलब्ध प्राकृतिक श्रोत र साधनको समुचित वितरण, उपभोग तथा सम्बद्र्धनका क्षेत्रमा दलित समुदायले राख्नुपर्ने चनाखो दृष्टिका बारेमा पनि लेखकले गम्भीरतापूर्वक विचारहरु राखेका छन् । आफू दलित अधिकारकर्मी हुनुका नाताले दुर्गा बहादुर दर्जीले आफ्नो पुस्तकमा दलित समुदायको मुक्तिका सबै उपायहरुलाई सविस्तार उठान गरेका छन् भन्दा अतिशयोक्ति नहोला । यस पुस्तकमा उनले दलित आन्दोलनको विगत र वर्तमानको फेहरिस्त प्रस्तुत गर्दै आगतको सभ्य, सुन्दर, शान्त, समृद्ध र समतामूलक नेपाली समाज व्यवस्थाको परिकल्पना गरेका छन् ।
वास्तवमा लेखक दर्जीले दलिल गरेजस्तै सबैखालको अतिवादी सोचबाट मुक्त भएर सामाजिक न्यायलाई सुनिश्चित गर्ने दिशाबाट सोच्ने हो भने कथित सिमान्तीकरण, विभेद र असमानताको जाँतोबाट कोही कसैले पिल्सिएको अनुभव गर्नु पर्ने थिएन । हाल मौजुदा कानुनी प्रावधान, मुलुकी ऐन, अन्तरिम संविधान र यसको भावनालाई आत्मसाथ गरेर अघि बढ्ने हो भने पनि नेपाली समाजमा विद्यमान अन्याय, असमानता, विभेद, जातीय छुवाछुत र तमाम खाले उत्पीडनबाट थिचिएको वर्गलाई माथि उठाउन कुनै कठिनाई हुने देखिँदैन । तर सदियौंदेखि जरो गाडेर बसेको मूल्य मान्यता, उच्च जातीय अहम्, पुरानै सोच, मति र काम गर्ने परम्परागत गतिलाई नसच्याएसम्म हामीले अपेक्षा गरेको सभ्य र भव्य नेपाल निर्माण गर्न उत्तिकै चुनौतिपूर्ण पनि छ ।
यि र यस्ता यावत विषयवस्तुलाई लेखक दर्जीले आफ्नो पुस्तकभित्र अटाएका छन् । सरसर्ती दृष्टिगोचर गर्दा पुस्तक पठनीय र सङ्ग्रणीय छ । अब बन्ने नयाँ संविधानमा दलित, उपेक्षित, उत्पीडित र सिमान्त वर्गका अधिकारलाई के कसरी सम्बोधन गर्न सकिएला भन्ने सन्दर्भमा दृष्टिकोण बनाउनलाई पनि यो पुस्तकको अध्ययनले सघाउन सक्ने विश्वास गर्न सकिन्छ । जिल्लाभित्र रहेर लेखन क्षेत्रमा लाग्ने स्रष्टाहरुले लेखेका पुस्तकमध्ये दलित समुदायका विषयमा तयार गरिएको यो एउटा उत्कृष्ठ पुस्तक बन्न पुगेको छ । पुस्तकले दलित र दलित वर्ग सम्बद्ध विभिन्न विषयका बारेमा जानकारी दिने जमर्को गरेको छ । यस अर्थमा पुस्तकका पाठकले यसबाट लाभान्वित हुने प्रयाप्त अवसर पाउने नै छन् ।
पर्वत जिल्लाको पुस्तक लेखन तथा प्रकाशन अभियानलाई निरन्तरता दिने क्रममा यो पुस्तकले नयाँ आयाम अघि सारेको तथ्य निश्चित छ । अन्त्यमा, पुस्तकका सर्जक मित्र दुर्गा बहादुर दर्जीजीको लेखकीय यात्रा थप निखारिँदै अघि बढिरहोस् भन्ने हार्दिक सुभेच्छा प्रकट गर्दछु ।
शिवालय बहुमुखी क्याम्पस
कुश्मा, पर्वत

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 25 कार्तिक, 2071

लेखकका अन्य रचनाहरु