स्वविवेकीय दण्ड

- बद्री अधिकारी

दुई वर्षअघि नै एस.पी.को जागीरबाट रिटायर भएर विजयशंकर घरमै बसि–रहेका
थिए । पञ्चायत कालमै एकैचोटि इन्सपेक्टर पदमा जागीर खाएका थिए । हुने
खाने परिवाको एक्लो छोरो । जागीरको अवधिभर सुगम–दुर्गम विभिन्न ठाउँमा
सरुवा भएको थियो । श्रीमती सुलोचनाले यस पटक तीर्थ धाम घुम्न जाउँ
भनेकीले दुबै जना हिजो बनारस आइपुगेका थिए । दुईटी छोरी दुबैको बिवाह
गरिसकेका थिए । एउटी आफ्नै छोरी र अर्की चाहिँ लालनपालन गरी हुर्काएकी
छोरी...। आफ्नै कोखबाट नजन्मेकी छोरी भए पनि विभेद गर्दैनथे । बुढेसकालमा
तीर्थ जाने कुरा पलाउनु स्वभाविकै ठान्नुपर्छ । गङ्गा स्नान गरिसकेर
विजयशंकर र श्रीमती सुलोचना सिँढी उक्लँदै फकँदै थिए । लामा सेतै
दाह्रीजुँगा भएको गेरुवा बस्त्र धारण गरेको लट्टा– धारी खवटे योगी गेरुवा
झोला बोकेर स्नानका लागि होला गङ्गातिर सिँढी उत्रँदै अगाडि बढिरहेको
थियो । उसले विजयशंकरलाई देख्ने बित्तिकै चिनेछ ।

“नमस्कार सर !” नम्रतापूर्वक योगीले दुबै हात जोड्दै भन्यो । विजयङ्करले
प्रति– उत्तरमा हात जोड्दै टिठ्याएर हेर्दै चिन्ने प्रयास गरे ।

“सरले मलाई चिन्नु भएन ?” योगीले मुस्कुराउँदै प्रश्न ग¥यो ।

“पिताम्बर तिमी यस हालतमा !” विजयङ्करको अचम्मपूर्ण स्वर छरियो । सूलोचना
श्रीमान नजीकै उभिएर दुबैको वार्तालाप सुनिरहेकी थिइन् ।

“हजुर ! खोइ, मर्न सकिएन योगीको मुखबाट खिन्न स्वर बाहिरियो । तपाईंले
दिएको दण्ड भोग्न सारै कठिन भइरहेछ म पातकीलाई, तपाईंले त्यसबखत तीन दण्ड
मध्ये मलाई नै एउटा दण्ड छान्न भन्नुभएको थियो । आत्महत्या गर्ने,
इनकाउन्टरमा मर्ने अथवा सदाका लागि मुङ्गलान भासिने ? बरु मैले जीवनको
मोह नगरी तेस्रो दण्ड नरोजेको भए आज यस्तो कष्ट भोग्नु पर्ने थिएन होला
!”

“धत् ! अब त्यो कुरालाई बिर्स, मलाई त यादै छैन । अरू ठीकै छ हैन ?”

“खोइ के ठीक के बेठीक ! सर, मलाई मुक्ती मिल्दैन होला हगी ?”

“विश्वासले सम्भावना नजीकपु¥याउँछ । विरूपाक्ष्य पनि भगवान शङ्करले दिएको
फलामको रुद्राक्षलाई जपेर खियाउन एकाग्र भएको थियो मुक्तिका लागि, तिमी
पनि प्रयास गर, एक दिन अवश्य सफता नजीक पुग्नेछौँ ।” विजयङ्करले योगीलाई
सान्त्वना दिँदै भने ।

“सर ! एउटा कुरा सोधुँ ?” अनुमति माग्ने मुद्रामा योगीले भन्यो ।

“सोध न ...।”

“मेरी छोरीको बारेमा तपाईंलाई केहीँ जानकारी छ कि ?”

“उनको लागि तिमी चिन्ता नगर । राम्रो केटासँग बिवाह भएको छ, एउटी छोरीको
आमा भइसकेकी छन् ।”

“धन्य हो प्रभू .... तिम्रो लीला अपरम्पार ....।” यति भन्दै योगीले लामो
स्वास फे¥यो । आकाशतिर हेर्दै दुबै हात उठाएर नमस्कार गर्दै, मानौ ऊ
सन्तुष्ट छ ।

“पिताम्बर ! तिमी छोरीसँग भेट गर्न जाँदैनौ ? गफ गर्ने भए फोन नम्बर
दिन्छु ।” विजयशंकरले योगीको मुहारमा जाँदैआउँदै गरेको भावको अध्ययन
गर्दै भने ।

“जाँन्न सर ! गफ पनि गर्दिन । खाटा बसिसकेको घाउलाई कोट्याउनु ठीक छैन,
उनलाई राम्रै छ भन्ने खबरले नै म सन्तुष्ट भएँ ।”

“म धर्मशालामा बसेको छु, स्नान सकेर त्यतै आऊ, अरू गफ उतै गरौँला ।”

“गफ नै केही छैन, जे बुझ्ने अभिलाषा थियो, बुझेँ ।संतोष लाग्यो ..... ल
त... सर म लागेँ ..।” पुनः नमस्कार गरी योगी गङ्गातिरको सिँढी उत्रन
थाल्यो । छक्क परेर सूलोचना विजयशंकरलाई हेरिरहेकी थिइन् ।

“यो योगी को हो ? दण्ड भनेको के हो ? मैले त केही बुझ्न सकिन ?”
श्रीमानलाई प्रश्नवाचक दृष्टीले हेर्दै सूलोचनाले भनिन् ।

“लामो कथा छ .... अहिले जाऊँ ।”

“कस्तो कथा उत्सुकता जन्मियो, भन्नु न ।?”

“भरे कुरा गरौँला, अहिले जाऊँ ।”

दुबै जना धर्मशालातिर लागे । सूलोचनामा त्यो योगीको बारेमा जान्ने
उत्सुकता बढ्दै थियो । बिर्सिसकेको घटना पिताम्बरसँगको जम्काभेटले गर्दा
विजयङ्करको दिमागमा ताजा हुँदै गइरहेको थियो । गङ्गाको प्रत्येक सिँढी
उक्लाइको साथसाथै त्यस बेला विलाप गर्दै दीप्तिले सुनाएको दारुण कथाका
हरेक शब्दहरू विजयशङ्करको दिमागमा तरोताजा हुँदै थिए ।

००

“अघि पिताम्बरको बारेमा भन्छु भनेको होइन ? भन्नु न सुनौं ।” सूलोचनाले
श्रीमानसँग धर्मशालमा पुगेर बसेपछि कर गरिन् ।

“खोई ! के भन्नु, तिमी यति नै सम्झ ऊ एक अपराधी हो ।”

“उसले कस्तो अपराध गरको थियो ? तपाईंले के दण्ड रोज्न लगाउनुभएको थियो ?”

“जुन अपराधलाई समाजमा ल्याउन उचित थिएन, त्यसैले मैले कानुनी दण्ड गराउन
उचित ठानिन् ।” यति भन्दै विजयङ्करले लामो स्वास फेरे । सूलोचनाभित्र
श्रीमान्को कुराले झन उत्सुकता बढाउने काम ग¥यो । उनी राम्रो कथा लेखिका
थिइन् । महिला लेखिकाको रूपमा उनको राम्रै स्थान थियो । उनले श्रीमानसँग
पिताम्बरले गरेको अपराध सुनाउन कर गरिन् ।

“सूलोचना ! त्यो कुरा म कसरी भनुँ, मलाई भन्नै मन लाग्दैन । मैले बीसौँ
बर्ष लुकाएको कुरा भन्न कर नगर । मलाई डर लाग्छ । तिमी एउटी कथाकार हौ,
त्यही घटनलाई परिवेश बनाएर कथा लेख्न सक्छ्यौ । त्यसबाट तिमीजस्तो
कथाकारको बदनाम हुनुका साथै धेरै आलोचना सहनुपर्ने हुनसक्छ ।” उनी यति
भन्दै चुपलागेर श्रीमतीको मुहारमा आउँदैजाँदै गरको भावको अध्ययन गर्न
थाले ।

“भन्नु न... कस्तो मान्छे तपाईं त झन उत्सुकता मात्र बढाउनुहुन्छ ।”
सूलोचनाले श्रीमानको पाखुरा दुबै हातले पकडेर झक्झक्याइन् ।
“म भन्न त भन्छु, यदि तिमी त्यो घटनाको आधारमा कुनै कथा लेख्दिनौ भने
मात्र..।” विजयङ्करले आफ्नो हठ छाडेनन् ।

“तपाईं कस्तो मान्छे ! पहिला हरेक घटनाहरू तिम्रो लागि नयाँ कथाको परिवेश
भनी सुनाउनु हुन्थ्यो ... अहिले कर गर्दा पनि भन्नु हुन्न ।“सूलोचना गाला
फुलाएर ठुस्स परिन् श्रीमानसँग ।

“तिमी मसँग किन रिसाएकी ? मेरो सर्त माने मैले सुनाउँदिन भनेको छुइन ।”
विजयशंकरले मुस्कुराउँदै उनीतिर हेर्दै भने ।

“के सही, के गलत म पनि छुट्याउन सक्छु । म त्यति अबुझ छुइन । एउटा कुरा
के भने हरेक कथाकारले राम्रो र नराम्रो दुबै कुरा लेख्न सक्नुपर्छ । सत्य
कुरा लेख्नु नै लेखकीय धर्म हो । त्यो धर्म पालना गर्दा सलमान रुस्दी र
तशलीमा नसरीनलाई झैँ कष्ट आउन सक्छ तर त्यसदेखि आत्तिनु हँदैन ।”
सूलोचनाको क्रोध मिश्रित भावुक स्वर धर्मशालाको कोठामा छरिएर बिलिन भयो ।

“बाबा ! मैले हारेँ ;म तिमीलाई रिसाएको हेर्न सक्दिन, बरु एक जग पानी र
ग्लास लिएर आऊ म सबै कुरा भन्नेछु ।” यति भन्दै विजयशंकर गोजीबाट चुरोट
निकालेर सल्काउन थाले । सूलोचना पनि रमाउँदै पानीको जग ल्याउन कोठाको
पल्लो छेउतिर लागिन् ।

०००

“म त्यस बखत सहर उन्मूख हुँदै गरेको एउटा गाउँमा इन्सपेक्टरमा कार्यरत
थिएँ – विजयशंकरले आरामसँग शोफामा ढल्केर त्यो बिर्सिसकेको घटनाको वर्णन
गर्न थालें–‘एक दिन बेलुकी सात बज्न लागेको थियो होला । अन्दाजी अठार
वर्षकी एउटी युवती दगुर्दै थानाको कम्पाउण्डभित्र छिरिन् । म थानाको
बाहिर बनेको प्रतीक्षालयमा बसिरहेको थिएँ । उनी हतास देखिन्थिन् । दगुरेर
आएकीले उनको स्वास फुलिरहेको थियो । केश कोरेको थिएन । उनको शरीर छोपेको
पातलो आकाशे रङको कुर्तासुरुवाल गर्मिको समय र दौडाइको कारणले पसिनाले
निथ्रुक्क भिजिसकेको थियो । डिउटीमा उभिएको सेन्ट्रीले गेटमा रोक्न
खोज्दा यति चाँडो कम्पाउण्डमा प्रवेश गरिन कि ऊ पनि छक्क परेको थियो ।
उनले कम्पाउण्डभित्र प्रवेश गरिसकेपछि टाउको घुमाएर यताउता हेरिन् ।
प्रतीक्षालयमा मलाई देखेपछि उनी त्यतैतिर आइन् । “हजुर ! मैले इन्सपेक्टर
साहेवलाई खोजेकी ”–मेरो अगाडि उभिएर उनले मसँग प्रश्न गरिन् ।

“भन न के काम छ ?”

“होइन, म इन्सपेक्टर साहेवलाई मात्र भन्छु ।”

“मै हुँ भन न ।”

“सर ! मलाई ठूलो आपत परेको छ, एकान्तमा भन्ने कुरा छ ।”–उनले यताउती
हेर्दै भनेकी थिइन् । उनको हेराइले पछ्याउनेको खोजी गरेझैँ लाग्दथ्यो ।
त्यसपछि मैले उनलाइँ आफ्नो अफिस कोठामा लिएर गएँ । पानी मगाई दिएँ । पानी
पिएपछि उनले आफूमाथि भएको जुन अत्याचारको कथा सुनाइन्, त्यो मेरो लागि
असह्य भयो । म यति क्रोधित बनें कि, त्यो अपराधीलाई पक्रेर जेलमा
हाल्नुभन्दा गोली ठोकिदिन मन लागिरहेको थियो । साँच्चै सूलोचना जागीरको
अबधिमा थुप्रै अपराधी र पीडितसँग साक्षात्कार भएको थियो । उनीजस्ती
पीडित उजुरी कर्तासँग मेरो कहिल्यै भेट भएको थिएन न त त्यस्तो अपराधीलाइ
नै खोज्नुपरेको थियो ।” यति भनेर विजयशंकर केही क्षण रोकिए । सूलोचनाले
श्रीमान्लाई प्रश्नवाचक दृष्टीले हेरिन् । श्रीमतीको आसयलाई बुझेर
विजयङ्करले पुनः आफ्नो कुरालाई अगाडि बढाए ।

त्यस बखत ती पीडित युवतीले मसँग यस प्रकार आफ्नो दुःख–पीडा पोखेकी थिइन्
– “म तपाईंको शरणमा ठूलो आशा र भरोसा बोकेर आएकी छु । मेरी आमाले ममाथि
बाबुद्वारा भएको अत्याचारलाई सहन नसकेर तीन महिनाअगाडि विषादी सेवन गरी
आत्महत्या गरिन् । मेरा दुईटा भाइ छन् । हामीहरूलाई सरसहयोग गर्ने नजीकै
काकाको परिवार छ । मावली अलि पर पर्छ...., उहाँहरूबाट पनि बारम्बार
सरसहयोग भइरहन्छ । बाबु मान्छेको नामको कलङ्क पशु स्वभावको रक्स्याहा छ ।
एक दिन बेलुकाको कुरा हो, आमा काकाकोतिर टी.भी.. हेर्नु जानुभएको थियो ।
म दश कक्षाको स्कूलको काम सकेर आफ्नो कोठाको खाटमा सुतिसकेकी थिएँ । बाबु
रक्सि खाएर दैनिक घर ढिलो आउँथ्यो । त्यो दिन पनि ऊ आइपुगेको थिएन ।
भाइहरू आफ्नो कोठामा निदाइसकेका थिए । म करिब झकाइसकेकी थिएँ । आफूमाथि
कसैले बलजफत गर्न खोजेकोले म ब्युझिएँ । मेरो नाकमा रक्सिको गंध ठोकियो ।
मेरो मुख थिचिएकोले हारगुहार गर्न सकिन । मद्ले मातिएको साँढेरूपी बाबुको
अत्याचारबाट म बेहोस भएछु । मलाई होस खुल्दा आमा पशु स्वभावको बाबुलाई
रुँदै सरापी रहनुभएको थियो । आज ६ महिनापछि मलाई एक्लै फेला पारी त्यो
राक्षसले हमला गरेकोले भाग्न सफल भएर तपाईंको शरणमा आएकी छु । मेरो
उद्वार गर्नुहोस् ।"
योभन्दा अगाडि उनको मुखबाट शब्दहरू बाहिरिएनन् । उनी डाँको छाडेर रुन
थालिन् । उनको रुवाइले मभित्रको मानवता छताछुल्ल भएथ्यो । मैले उनलाई
शान्त्वना दिँदै भनेथेँ–“छोरी ! तिमी धन्ना नमान ! म अब तिमीमाथि कुनै
अत्याचार हुन दिन्न, ममाथि र मेरो कुरामाथि भरोसा राख ।” मेरो कुराले
उनलाई केही आस्वासन मिलेछ क्यार । उनले मलाई पुलुक्क हेर्दै बिन्तिपूर्ण
स्वर उकलेकी थिइन् ।

“सर ! यो अपराधको हल्लै नगरिकन मलाई त्यो पुरुषबाट जसरी भए पनि
मुक्ति दिलाइदिनुहोस्, म आजन्म ऋणी हुनेछु ।”

“के ऊ तिम्रो निजी बाबु हो ? ” मैले आश्चर्य मान्दै प्रश्न गरेको थिएँ ।

“म नौ महिनाकी हुँदा मेरी आमा ऊसँग पोइल आउनुभएको थियो रे ...! म
झड्केली छोरी भए पनि सानैदेखि उसले हुर्काएकाले उसकै छोरी सरह भइ न र !”
उनले रुँदै मसँग प्रतिप्रश्न गरेकी थिइन् । साँच्चै सूलोचना उनीको
व्यवहारिक ज्ञानको अगाडि म आफूलाई त्यति बेला होचो महशुस गरिरहेको थिएँ ।

“कठै बरा...! उनी को हुन् र अहिले कहाँ छिन् ? उनको भाइहरू अहिले छन्
कि छैनन् ?” सूलोचनाले श्रीमान्को कुरालाई उछिनेर झ्वाट्टै
प्रश्नमाथि प्रश्न गरिन् ।

“उनका काकाले भाइहरूको पालन–पोषण गरे । उनी चाहीँ हाम्री दीप्ति हुन् ।”

“दीप्ति जो हामीले पालेकी केटी...। जसलाई यिनका कोही छैनन्, टुहुरी
केटी भन्नुहुन्थ्यो तपाईं, हाम्रैमा बसेर उनले एस.एल.सी.पास गरिन्, भानु
हवल्दारले मन पराएछ, माग्न आउँदा तपाईंले बिवाह गरिदिनुभएको थियो ।”
आश्चर्यपूर्ण स्वर सूलोचनाको मुखबाट बाहिरियो । चकित हुँदै श्रीमान्लाई
एकोहोरो उनी ट्वाल्ल परेर हेर्न थालिन् । विजयशंकर मन्द–मन्द
मुस्कुराउँदै चुरोट सल्काउन थाले । सूलोचनाको मनभित्र दीप्तिप्रति माया र
श्रद्धा झन थपिँदै थियो । दीप्तिको बुद्धिको प्रशंसा गर्नुको साथसाथै
श्रीमानको स्वविवेकीय दण्ड दिने क्षमताको पनि उनी मनमनै कदर गरिरहेकी
थिइन् ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 21 कार्तिक, 2071

लेखकका अन्य रचनाहरु