समयचक्र

- उज्ज्वल जी.सी.

हाकिमहरुलाई चाकडी र चाप्लुसी गरेर सूर्यदेव जागिर खाएको छोटो अवधिमै दुई प्रमोशन लिई अधिकृतको कुर्सीमा पुग्न सफल भएको थियो । आजकल कार्यालयको हर्ताकर्ता अधिकृत बन्न खोजेकोले इमानदारी र वफादारीमा अडिग रही चाप्लुसीको विरोध गर्ने कर्मचारीहरुले उसलाई छट्टुदेव भन्न थालेका छन् ।
तर आफ्नो व्यवहारले अरु चिढिएका छन् भन्ने कुरामा उसले कहिल्यै गहिरिएर सोचेको छैन । आपूmभन्दा धेरै पूरानो अधिकृतले गरिआएको कामकाज समेत हाकिमलाई चुक्ली लगाएर आफ्नो हात पार्न सकेकोमा उसले आपूmलाई झन् बुद्धिमान सम्झेको छ ।

आफ्नो कुर्सी नहल्लियोस् भन्ने हेतुले ऊ स–साना कामहरु पनि हाकिमलाई सोध्न पुग्छ– दुई हात जोड्दै । हाकिमको मुडअफ भएको दिन त ऊ एक–दुई किलो मासु, फलपूmल र तरकारीहरु लि‘ंदै हाकिमनीलाई खुसी बनाउन पुग्छ र कहिलेकाही‘ं त मानौ‘ं हाकिमकै घरमा काम गर्न बसेको केटोलेझै‘ं खटिन समेत पछि पर्दैन । त्यसैले हाकिमले ऊ जस्तो कर्तव्यपरायण र इमानदार कर्मचारी अफिसमा अरु कुनै देखेका थिएनन् ।

कुनै पनि काम सूर्यदेवको बिनासल्लाह गर्न नरुचाउने हाकिमको मनस्थिति देखेर कर्मचारीहरुमा असन्तोषको वातावरण छाएको थियो । कसैले–‘सूर्यदेवले पक्का पनि हाकिमलाई टुना लगाएको हुनुपर्छ । हैनभने आफ्नो छोरालाई भन्दा पनि बढी विश्वास किन गर्नु पथ्र्यो र ?’ भन्थे ।
कोही– ‘आखिर छट्टुदेव न प¥यो । त्यसले टुना–मोहनी नलगाएको होला भन्न पनि कहॉं सकिन्छ र ? आफ्नो स्वार्थको लागि स्वास्नी समेत बेच्ने खालको छ त्यो । हेर्दै जाउ‘ं न कतिन्जेलसम्म यसले रजाइ‘ं गर्ला ?’ भन्दै मनभित्रका असन्तोषहरु साम्य पार्थे । तर सूर्यदेवको विरोधमा खुलस्त उत्रन सक्ने हिम्मत कसैमा पलाएको थिएन ।

अफिसमा ठूलठूला ठेक्कापट्टाका कामहरु भैरहने हुनाले सूर्यदेव प्रायः ठेकेदारहरुसंग गोप्य कुराकानीमा व्यस्त हुन्थ्यो । ‘पैसा कसरी झार्ने र हाकिमलाई कसरी खुसी पार्ने’ दुई कुरामा मात्र उसका सम्पूर्ण कृयाकलापहरु केन्द्रित रहन्थे । ठेकेदारहरुसंग मोटो रकम असुलेर एक पैसा तलमाथि नपारी हाकिमलाई नै सुम्पिन्थ्यो ऊ । वाल्यकालमा दुःखसंग राम्ररी परिचित भएकोले समय–समयमा चार–पॉंच हजार हाकिमले हातमा राखिदि‘ंदा खुसीको पराकाष्टामा पुगि दिनभर काममा जोतिन्थ्यो– इमान्दारीको मखुण्डो लगाएर ।

आपूmभन्दा मुनिका कर्मचारीहरुले आफ्नो काम सिक्लान् कि भन्ने ठूलो त्रास थियो उसलाई । त्यसैले साधारण पत्रहरु फाइल गर्न लगाउने वाहेक अरु सम्पूर्ण कामहरु भ्याइ–नभ्याइ आफैे नै गथ्र्यो ऊ । वास्तवमा त्यो कार्यालय एउटा कार्यालय नभएर सूर्यदेवको निजी घरजस्तै थियो । चाकडीकै भरमा सूर्यदेवले कार्यालयमा देखाउने हैकमको विरोध गर्न जॉंदा ‘अब आइन्दा पुनः सूर्यदेवको विरोध गर्न आउनु भयो भने म तपाईंहरुलाई कडा कारवाही गर्छु’ भन्ने चेतावनी पाएका थिए– केही कर्मचारीहरुले । त्यसै दिनदेखि उनीहरु ‘सत्यको जित त एकदिन हुन्छ हुन्छ’ भन्दै अटल विश्वास लिएर बसेका थिए ।

एकदिन अचानक सूर्यदेवलाई ज्वरो आयो । ऊ कार्यालय हाजिर हुन सकेन । उसको अनुपस्थितिले मुख्य–मुख्य कामहरु ठप्पै रोकिए । आवश्यक पत्र र फाइलहरु उसले कुन दराजमा कसरी लुकाएको छ भन्ने कुरा कसैलाई पनि थाहा थिएन । त्यसदिन हाकिमले फाइलहरु खोज्दा सम्पूर्ण कर्मचारीहरुले एउटै जवाफ दिए– ‘हामीलाई केही थाहा छैन सर, सूर्य माडसापले नै राख्नु भा’छ ।’ भन्दै ।

भोलिपल्ट पनि सूर्यदेव कार्यालयमा उपस्थित भएन । संयोगवश हाकिमलाई एउटा महत्वपूर्ण फाइलको आवश्यकता प¥यो । उनले तुरुन्त सूर्यदेवलाई घरबाट ल्याउन ड्राइभरलाई अह्राए । तर सूर्यदेव ज्वरोको कडा आक्रमणबाट गाडीमा समेत आउन सकेन । वरु उसले अफिसको दराजहरुका सॉंचो पठाई दियो । कर्मचारीहरु मनमनै ‘आज भने हाकिमको सेखी झर्ने भयो’ भन्दै सारा दराजहरु खोजतलास गर्न थाले । तर कसैले पनि फाइल फेला पार्न सकेनन् । ‘तपाईंहरुले पनि त अफिसका फाइलहरु कुन ठाउ‘ंमा छ भन्ने कुरा थाहा पाउनु पर्छ नि !’ भन्दै हाकिम पनि फाइलकै खोजीमा तल्लिन भए ।

सूर्यदेवले आफ्नो प्रभुत्व जमाउन फाइलहरु लुकाउने गर्छ भन्ने कुरा हाकिमलाई थाहा थिएन ।

झण्डै डेढ घण्टासम्म खोजी गर्दा पनि सम्वन्धित फाइल फेला नपरेपछि हाकिम निराश हु‘ंदै आफ्नो हनुमानजस्ता सूर्यदेवलाई नाना थरीका अपशब्दहरुले गाली गर्न थाले । यत्तिकैमा अफिसको एक इमानदार अधिकृत शरण विक्रमले भन्यो– “अफिसमा यस्तो परिस्थिति सिर्जना नहोस् भन्नाका लागि हजूरबाट सबै कर्मचारीहरुलाई समान व्यवहार गरिबक्सनु पर्छ । आखिर हामी सबै हजूरकै कर्मचारी न हौ‘ं, सूर्यदेव कस्तो व्यक्ति हो भन्ने कुरा हजूरलाई हामीले पहिल्यै भन्न खोजेका थियौ‘ं । तर हजूरबाट हाम्रो कुरै नसुनी एक्कासी कारवाही गर्ने चेतावनी भो । त्यस्तो धूर्तलाई विश्वास गर्नु त आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु सरह हो हजूर ! हजूरको आड भरोसामा ऊ अचेल हामीलाई कर्मचारी नै गन्दैन । भनौ‘ं त हजूर ! आजसम्म हामीले कुन दिन हजूरको इज्जतमा असर पार्ने काम गरेका छौ‘ं ?”

“यस्ता कुराहरु तपाईंले पहिल्यै जानकारी दिनु पर्दैन त मलाई ?” भन्दै हाकिम रन्किए ।

“कसरी दिने हजूर ? सूर्यदेव बाहेक अरु कसैको विश्वासै थिएन हजूरलाई । तर हजूर, हजूरको जुन कुरा पनि ठीक भन्ने कर्मचारीसंग केही सतर्क होइबक्सनु पर्छ । हजूरबाट भएको गल्ती औ‘ंल्याइदिने कर्मचारीलाई पनि हजूरले आफ्नो सम्झिबक्सनु पर्छ ।”

शरण विक्रमको तर्कले हाकिमको मन च्वास्स बिझ्यो ।

“ठीकै छ, एकदिन तपाईंहरुसंग बसेर सर–सल्लाह गरौ‘ंला” भन्दै आफ्नो ध्यानलाई पुनः फाइलकै खोजीमा मोडे उनले । यत्तिकैमा फोनको घण्टी बज्यो–
“हेलो..........।”
“देवेन्द्र लालज्यू हुनुहुन्छ ?”
“हजुर..... बोल्दैछु ।”
“नमस्कार सर ! आज दुई बजे अस्तिकै विषयमा जरुरी मिटीङ छ । त्यस सम्बन्धी फाइल लिएर सचिवज्यूको कार्यकक्षमा आउनु प¥यो रे !”
“हुन्छ.... म दुई बजेभित्र आइपुगौ‘ंला” भन्दै रिसिवर राखेर नाडीको घडी हेरे– हाकिमले ।

समय बाह्र बजेर तीस मिनेट गइसकेको थियो । फाइलसहित मन्त्रालय हाजिर हुनुपर्ने वाध्यतामा अत्तालि‘ंदै फेरि भन्न थाले–“लौ न के गर्ने शरणजी ? फाइल भेटिएन भने त ज्यादै नराम्रो हुन्छ । अहिले दुई बजे बैठक छ – मन्त्रालयमा । मिटिङका लागि चाहिने कागजातहरु त्यसै फाइलभित्र छ ।”

हाकिमको मुहारमा छाएको उदासीनताले शरणको मनमा दयाको भेल उर्लियो– “के गर्ने हजुरले त्यस्तो छट्टुलाई आफ्नो सम्झिबक्स्यो । त्यसले त मौकामा ज्यानै पनि लिन सक्छ । आफ्नो कुर्सी बचाउनका
लागि त्यसले कस्तो–कस्तो भूमिका खेल्छ भन्ने कुरा हजुरलाई के थाहा ? सायद त्यसले फाइललाई कुनै पूरानो पोकातिर लुकाएको पनि हुन सक्छ” भन्दै शरण विक्रम अघिल्ला वर्षका फाइलहरुका पोका फुकाउ‘ंदै हेर्न थाल्यो ।

“त्यसको नियत त्यस्तो छ भन्ने मलाई थाहा हु‘ंदो हो त जमानामै के गरिसक्थे‘ं । अब देख्ला त्यसले देवेन्द्रलालको शक्ति” भन्दै बर्वराउन थाले हाकिम । उनका कुराहरु सुनेर सबै कर्मचारीहरु भित्रभित्रै ‘लौ भगवान ! जसरी भए पनि सूर्यदेव र यो हाकिमको सम्बन्ध टुटोस्’ भन्दै पोकाहरु केलाउन थाले ।

अन्ततः देवराजले अघिल्लो वर्षको पोकामा फाइल फेला पा¥यो । फाइललाई पूरानो आर्थिक वर्षको पोकाभित्र राखिएकोले सूर्यदेवको चलाखीप्रति हाकिमलगायत अन्य कर्मचारीहरुले पुनः एकपटक राम्ररी विश्लेषण गर्ने अवसर पाए । जे होस्, फाइल भेटिएकोले सबैको मुहारमा खुसी पोतियो । एकछिन अगाडि मात्र आफ्नो जागिर र फाइल एकै सम्झि वेहोस हुन लागेका हाकिमसाहेवको होश केही नियन्त्रित भयो ।

समय दुई बज्न पन्ध्र मिनेट मात्र बॉंकी थियो । त्यसैले फाइलको साथै शरण विक्रमलाई पनि गाडीमा लिएर दौडिए– हाकिम । ड्राइभरले ठीक समयमा मन्त्रालय पु¥याउने आदेशको पालना गर्न खोज्दा दुर्भाग्यवश गाडी अर्को एक ट्याक्सीसंग जुध्न पुग्यो । दुर्घटनाको स्वरुप ठूलो नभए पनि ट्याक्सी ड्राइभरले देखाउन खोजेको ताण्डव नृत्यले लगभग एक घण्टा जति समय लियो । अन्ततः तीन हजार नगद हातमा थमाउ‘ंदै आफ्नो गन्तव्यतिर सोझिए उनीहरू ।

मन्त्रालय पुग्दा बैठक अन्तिम चरणमा पुगिसकेको थियो ।

निर्धारित समयमा उपस्थित हुन नसक्नाले सबैको अगाडि रातो मुख हुने गरी गाली खाए हाकिमसाहेबले । केही क्षणमै बैठक पनि सकियो । ‘कुर्सी हल्लिने हो कि’ भन्ने त्रास बोक्दै अफिसतिर फर्किने क्रममा सूर्यदेवका सम्पूर्ण कुकृत्यहरु पर्दाफास गरिदियो – शरण विक्रमले ।

भोलिपल्ट सूर्यदेवको प्रतिनिधित्व गर्दै अफिसमा बिरामी विदाको निवेदन आइपुग्यो ।

टाइफाइड भएकोले एक महिना अफिस हाजिर हुन नसक्ने व्यहोरा देख्नासाथ हाकिमलाई बलेको आगोमा घ्यू थपे सरहको अनुभूति भयो । रिसको झोकमा एकछिन पागलजस्तो हु‘ंदै वर्वराए । दुर्वाच्य शब्दहरुले सूर्यदेवको इमानदारीता, कार्यकुशलता र लगनशीलता राम्ररी सि‘ंगारियो ।
त्यतिले मात्र हाकिमको क्रोध शान्त भएन । मन्त्रालयमा खानु परेको हप्काई र ट्याक्सी ड्राइभरलाई बुझाएको तीन हजारको नोट झल्झली सम्झदै सूर्यदेवलाई काठमाडौ‘ं बाहिर सरुवा गरी उसले गरिआएका कामकाजहरु शरण विक्रमलाई जिम्मा दिए उनले ।

हाकिमले चालेका न्यायोचित कदमबाट चाकडी र चाप्लुसीका विरोधी सम्पूर्ण वफादार कर्मचारीहरुका मनमा खुसीको लहर चल्न थाल्यो । सबैले आपूmलाई स्वतन्त्र भएको अनुभव गरे ।

दुई दिनपछि सरुवाको पत्र सूर्यदेवको हातमा प¥यो ।

पत्रका हरफहरु पढ्दै जॉंदा ‘सपना हो कि विपना हो’ छुट्याउन सकेन उसले ।

आपूmले गरी आएका कामहरु अरु कर्मचारीले नजानेकाले सधै‘ं हाकिमको नजिक हुन पाउ‘ंछु भन्ने दीवास्वप्न क्षणमै भताभुङ्ग भयो उसको । सरुवा थमौती गर्न उसको चातुर्यले नभ्याउने भएकोले आफ्नी श्रीमतीलाई पत्रका हरफहरु सुनाउ‘ंदै नून खाएको कुखुराझै‘ं झोक्रिन थाल्यो – सूर्यदेव ।

ब्वॉंसोभन्दा चतुर लोग्ने एक्कासी हाकिमको नजरबाट झर्न पुगेकोले उसकी श्रीमती पनि एकछिन किंकर्तव्यविमुढ हु‘ंदै भन्न थाली– “आखिर लाटो खान्छ एक बल्ड्याङ्, बाठो खान्छ तीन बल्ड्याङ्’ भनेको सत्य नै रहेछ । हजुरलाई पनि यस्तो स्थिति आइपर्ला भनेर त मैले सपनामा पनि सोचेकी थिइन । के गर्नु दैव लागेपछि अचम्मै हुने रै’छ । नयॉं हाकिम कस्ता छन् ? फेरि त्यहॉंबाट पनि अन्यत्र पठाई दिने हुन् कि ?”

श्रीमतीको नैराश्यतामा हौशला थप्दै सूर्यदेवले भन्यो– “पीर नमान कल्पना ! घोडा चढ्ने जो पनि एकपल्ट लड्छ । कसैको भन्दा कम बुद्धि मेरो छैन । यो जस्तो दुष्ट हाकिमलाई त वशमा पारेर कत्रा–कत्रा कामहरु पट्याइयो भने अबका हाकिम कस्ता नै होलान् र ? चाकडीका नयॉं–नयॉं सूत्रहरु लगाई हाल्छु नि म ! रोग त ठीक हुन दे....।”

“भीरबाट एकपटक चिप्लेपछि अडिन गाह्रो हुन्छ भन्छन् । मुखले भन्या जस्तो कहॉं होला र खै ?’’ भन्दै उसकी श्रीमतीले लामो सुस्केरा हाली । मनमनै ‘कुरो त ठीकै हो’ भन्दै सरुवा थमौती गर्ने उपायहरु सोच्न थाल्यो– सूर्यदेव ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 21 कार्तिक, 2071

लेखकका अन्य रचनाहरु