कैदी नम्बर ११

- बद्री अधिकारी

महिला बन्दीगृहको कोठाको एक छेउमा म बसिरहेकी थिएँ, अन्य महिला कैदीसँग
दुःखसुखका कुरा गर्दै । यहाँ बस्न थालेको पनि एक महिना पुग्न लागेको छ,
सायद पर्सि पुग्छहोला । अन्य महिला कैदीहरू मलाई आफ्नो अतीत सुनाउन कर
गरिरहेका थिए । जहाँ बस्यो त्यहीँ साथीभाइ हुँदारहेछन् । उनीहरूको
जिद्धीलाई म टाल्न नसक्ने अवस्थामा पुगिसकेकी थिएँ । मैले हारेँ,
उनीहरूले जीते । मैले आफ्नो अतीत सुनाउनै पर्ने भयो । मनको पीर अरूलाई
सुनाउँदा आफूलाई पनि केही हल्का हुन्छ झैँ लागिरहेको थियो । मैले आफ्नो
अतीत उनीहरूलाई सुनाउन सुरु गरेँ– “हेर्नुहोस्, यस दुनियाँमा दुईटा कुरा
हँदारहेछन्, असल र खराब, सत्य अनि असत्य, पुरुष तथा महिला, सिधै मानौ
नेगेटिभ र पोजेटिभ । एक हप्ता अगाडि मेरो मुद्दाको बहस भएको थियो ।
मेरो मुद्दाको बहसको लागि माइती नेपालले एक महिला वकिल पठाइदिएको थियो ।
अनुराधा दिदीलाई मैले अन्तर्मनदेखि धन्यवाद दिएकी थिएँ । असहायलाई सहायता
गर्ने अनुराधादिदीले आफ्नाहरूलेभन्दा बढी सहयोग गरिरहनुभएको थियो र गर्दै
हुनुहुन्छ मेरा लागि । त्यस दिनको बहसमा मेरो पक्षको बहस फितलो देखिँदै
थियो । भवितव्यले मेरो हातबाट लोग्नेको मृत्यु भएको भनी मेरो पक्षको
वकिलको दलिल थियो । समय अभावको कारणले त्यस दिन मेरो मुद्दाको फैसला हुन
सकेन । एकहप्तापछि मुद्दाको फैसला गरिने दिन तय गर्दै इजलास उठेको थियो ।
सायद शनिवारको दिन थियो होला दिउँसोको खाना खाइसकेर खैनी माड्दै म आफ्नो
कोठामा बसिरहेकी थिएँ । पहिला त म खैनी खान्नथेँ, ऊ चाहिँ खाना खाइसकेर
खैनी खाने गर्दथ्यो । ऊ मेरो लोग्ने, जहिले पनि घरमा हुँदा मलाइ नै खैनी
माड्न लगाउँथ्यो र माडिदिन्थेँ । ऊ अलिकति खैनी मेरो हत्केलाबाट निकालेर
ओठको बीचमा च्याप्तथ्यो । उब्रेको मलाई चाख भनी कर गर्दथ्यो । लोग्नेको
मन राख्नको लागि खैनी चाख्ने गर्थँ मन नलागी–नलागी । चाख्दाचाख्दै बानी
परेँ, भनौं लतै बसि– गयो । कुलतलाई छाड्न मुस्कि पर्दोरहेछ । अहिले त्यो
लत छाड्न खोज्दा पनि सकिरहेकी छुइँन । ऊ मेरो लोग्ने भएको झण्डै दश बर्ष
बितिसकेको थियो । ऊ मलाई असाध्यै माया गर्दथ्यो । म पनि उसलाई त्यति नै
माया गर्थँ । ऊ करिब ४० पुगिसकेको थियो भने मैले पनि ३५ पार गरेकी थिएँ ।
म ६ वर्षकी छोरी र चार वर्षको छोरोको आमा भइसकेकी थिएँ । हामी आनन्दसँग
गृहस्थ जीवन भोगिरहेका थियौं । ऊ घरमा हुँदा छोरीलाई बोडिङ लाने र
ल्याउने गर्दथ्यो । ऊ नहुँदा सो कार्य म आफैं गर्दथेँ । सहरको बोडिङमा
राखेर पढाउने हाम्रो पहुँचले पुग्दैनथ्यो । बोडिङ सारै टाढा थिएन । चार
महिनाजति भएको थियो होला, उसमा केही परिवर्तन आए जस्तो मलाई लागिरहेको
थियो । प्रायः पहिलाको जस्तो घरमा रात गुजार्दैनथ्यो । काम विशेषले धरान,
इटहरी, विराटनगर बस्नुपरेको कुरा बताउँथ्यो । ऊ प्रायः घरमा बस्दा पनि
एकान्तप्रिय हुन थालेको थियो, छोराछोरीको खासै वास्ता गर्दैनथ्यो पहिलाको
जस्तो । जहिले पनि मेरो सामिप्यता रुचाउने मान्छेमा अलि पृथक भएको म
महशुस गरिरहेकी थिएँ । ऊ एकान्तप्रिय हुँदै गइरहेको कारण मैले बुझ्न
सकिरहकी थिइनँ । मेरो जन्मदिनको दिन ऊ जहिले र जसरी भए पनि घर आइपुग्थ्यो
। त्यो दिन मेरो जन्मदिन भएकोले म उसको आगमनको प्रतीक्षा गरिरहेकी थिएँ ।
सदाझैँ मिठाइ ल्याएर चिमोट्दै, जिस्कँदै, इत्रिँदै मैले भयो अघाँएभन्दा
पनि कर गरी ख्वाउँछ भन्ने आश बोकेर राति एक बजेसम्म छट्पटाइरहेकी थिएँ ।
मेरो आश, आशमै बित्यो । त्यो रात आउँदै आएन । कतिखेर निदाएँ, मलाई थाह नै
भएन ।

रातभर उसको आगमनको प्रतीक्षामा आँखा ओछ्याएर बसेकीले आँखा पोलि–रहेको
थियो । जीउ भारी भएको थियो । शरीरमा काम गर्ने जाँगर नै थिएन । विनीताकी
आमा बिहान चिया पिउने समयमा मेरोमा आएकी थिइन् । हामी दुबै असाध्यै
मिल्ने साथी थियौँ । हाम्रीबीचमा कुनै प्रकारको गोपनियता थिएन । हामी
द्वयमा प्रगाढ मित्रता थियो । उनले मलाई मेरो उसको बारेमा गाइँगुइँ हल्ला
भएको कुरा थाहा छ कि भनेर सोधेकी थिइन् । मैले थाहा नभएको जनाएपछि उनले
कुरो अगाडि बढाएकी थिइन्–“खोइ ! होकी होइन, म त जान्दिन तर कुरा चाहिँ
मान्छेहरू गर्दारहेछन् । तिम्रो लोग्ने आजकल कामिनी भन्ने एउटी केटीसँग
लागेको छ रे !”


“केटी चाहिँ कहाँकी रहिछ ? ”–मैले आत्तिँदै झस्केर सोधेकी थिएँ ।

“त्यो त थाह छैन । धरान, इटहरीको होटलमा बस्ने गर्छन् अरे । फेरि मैले
भनेको भनेर नभन्नू नि, मलाई नराम्रो हुन्छ ।”–उनले डराउँदै यतिमात्र
भनेकी थिइन् । मैले उनलाई उनले भनकै भनेर सुनाउँदिन भनी विश्वास दिलाएकी
थिएँ । उनी चिया पिइसकेर मसँग विदा मागी आफ्नो घरतिर लागेकी थिइन् ।
मेरो दिमाग त्यो कुराले चकराउन थालेको थियो । योभन्दा अगाडि पनि अरू–
द्वारा उसको यस्तो कुरा चल्ने गरेको सुनेकी थिएँ तर मलाई विश्वास
लाग्दैनथ्यो । बिनीता नचाहिँदो कुरा नगर्ने भएकीले होला उनको कुराले मलाई
पिरोल्न थालेको थियो । ‘सिँगारी हराउनु र चितुवा कराउनु’ भन्ने उखान मैले
त्यस बखत स्मरण गरेकी थिएँ । वास्तविकता उसले नभनेपछि मलाई थाहा हुने
कुरा भएन । पहिलाको भन्दा हाम्रो आर्थिक स्थिति प्रतिदिन गिरिरहेको थियो
। त्यसको कारण मलाई ज्ञान हुन सकिरहेको थिएन । ऊ निकै खर्चालु भएको
थियो पहिलाभन्दा । के कामको लागि खर्च गर्दथ्यो ? मलार्ई सुनाउन
छाडिसकेको थियो । ‘गृहस्थ आश्रम सञ्चालन प्रकृया त्यतिखेरसम्म आनन्ददायी
हुँदोरहेछ, जतिखेरसम्म जोईपोइको हरेक कुरामा सर सल्लाहा मिल्दो रहेछ ।’
यो मेरो नितान्त व्यक्तिगत विचार हो तपाईहरू सहमत हुनुहोस् वा नहुनुहोस्
।’ (मैले केहीक्षण रोकिएर माड्दै गरेको खैनी हत्केलामा पड्काएर मुखमा
लगाए ।)महिला बन्दीहरू इशाराले कुरा अगाडि बढाउन सङ्केत गर्दै थिए ।
“आखिर मेरो ऊ लोग्ने.., लोग्नेमा भएको परिवर्तनको ज्ञान हरेकले अनुमान
गर्छन् र गर्न पनि सक्नुपर्छ । बिनीताकी आमाको कुराले झन मभित्र खटपटी
जन्माएको थियो । सायद त्यसैले होला उसले मेरो जन्मदिनसम्म भुलेको ।
लोग्नेमान्छे कति स्वार्थी ! म उसलाई भित्रभित्र घृणा गर्न थालीसकेकी
थिएँ । के गर्ने के नगर्ने दुविधा उत्पन्न भएको थियो आफूभित्र । आमाको
कर्तव्य बोधले गाँज्न पुगेकोले छोरीलाई बोडिङ पु¥याएकी थिएँ । ऊसँग रीस
उठ्दैमा आफ्नो दैनिकी बन्द गर्न सक्ने कुरा भएन । ऊ घर आई सकेको रहेछ, म
बोर्डिङबाट फर्कँदा मलाई झनक्क रीस उठेको थियो उसको अनुहार देख्दा ।
आफूलाई संयमित बनाउँदै कृत्रिम मुस्कानकासाथ उसको स्वागतमा रमाएको अभिनय
गरेकी थिएँ ।” “खाना खाएको ?”–भनी सोधनी गरेकी थिएँ । पतिले जे गरे पनि
पत्नीधर्म त पालन गर्नै परेको थियो, गरेँ । त्यसमा होचिएको महशुस पनि
गरिन् । “धर्म–संस्कार पनि पक्षपाती हुन्छ ?”–आफूले आफैसँग प्रश्न गरेकी
थिएँ । उत्तरमा मस्तिष्कभित्रको सचेतन पक्ष चिच्याएको थियो–“पुरुषलाई छुट
अनि महिलालाई नेलकडी लगाउने पम्परा र धर्म–संस्कार ...., विडम्बना ...!
यो केबल निर्माताको कन्जुस्याइँ मात्र हो ।”–बिरोधमा मुख उघार्न खोजे पनि
‘एक्लो बृहस्पति झुट्टो’ भन्ने उक्तिले रोकेको थियो । प्रमाणबिना थुतुनो
बजाउनु ऊसँग उचित थिएन । म मनमनै बडबडाएकी थिएँ –“अपुष्टले अनिष्ट
निम्त्याउन सक्छ । प्रमाणबिनाको सत्य पानीको फोका समान हुन्छ, तथ्यसहितको
सत्य बोलीले मानिसको उचाई बढाउने काम गर्छ ।”–यस्तै अनेकौँ तर्क बिर्तकमा
मलाई दिन बितेको थाहै भएन । बोडिङबाट छोरीलाई उसले लिएर आएको थियो ।
बेलुकाको खानासँगै बसेर खाएका ठीयौँ । त्यतिबेला मैले आफूलाई रोक्न
नसकेर सोधेकी थिएँ –“आजकल तिमी घरमा बस्दैनौ, प्राय बाहिरै बस्छौ, के काम
गर्छौ ?”

“उमेर ढल्किसक्यो, अहिले नकमाए कहिले कमाउने, छोरा छोरी त्यसै पालिदैनन्
।”– ऊ झर्केको थियो मेरो प्रश्नको उत्तरमा । ममा पनि रणचण्डी सबार
भइसकेको थियो तर आफूलाई सम्हाल्न सफल भएकी थिएँ । मुख नफर्काए पनि मनमनै
बडबडाएकी थिएँ मुर्मुरिँदै– “उमेर ढल्किसक्यो ! नकच्चरो ! भर्खर बैँश
चढेर केटीसँग लजमा रात बिताउन थालेको छस् रे ! पख् न, फेला मात्र पारौँ न
– “भित्रभित्रै मुर्मुरिए पनि बाहिरी रुपमा मैले ऊसँग नम्रसँग भनेकी थिएँ
– “कमाउन रातोदिन मेहनत गरिरहेको छु भन्छौ ... तर अस्ति नै बीस हजारमा
राखेका गहना उकास्न सकेका छैनौ,खोई म के भनौ !”

७“..........”–ऊ बोलेनथ्यो ।

मैले पनि एकैदिन बढी कुरा कोट्याउन उचित ठानिने । रात परिसकेकोले
हामीहरू सुत्ने तरखरमा लागेका थियौँ । ऊ मेरो छेउमा पलङ्गमा निदाइसकेको
थियो । मेरो भने निदाउने प्रयास विफल भइरहेको थियो । समयको अदृश्य चक्का
आफ्नै पाराले गुड्किरहेको थियो, कसैको वास्तै नगरी । हाम्रो सानो भए पनि
चिटिक्क परेको काठको दुईतले घर थियो । मेरो वर्तमान मनलाई भविष्यको
चिन्ताले पिरोलि–रहेको थियो । छोराछोरीको भविष्य निर्माण गर्ने कार्य
ठिङ्ग उभिएर मुख बाइरहेको थियो । पर्तिरको खाटमा छोरा र छोरी निदाइसकेका
थिए । कोठामा जिरो वाटको बल्भ जलिरहेको थियो । मधुरो प्रकाशमा मैले
छोराछोरीको अनुहारलाई पालै पिलो हेरेँ । कता–कता मनभित्र एक प्रकारको
त्राश उत्पन्न भयो । पिसावले च्यापेकोले उठेर बस्दै आफ्नो लोग्नेको
अनुहारलाई ध्यान दिएर हेरेँ । ऊ पलङगमा मस्तसँग उत्तानो फर्केर सुतिरहेको
थियो । निद्रामै ऊ मुसुमुसु हाँसिरहेको थियो । ओठ हल्लिरहेका थिए । ऊ
सपनामा कसैसँग गफ गरिरहेको जस्तो लाग्दथ्यो । ऊ बडबडाउँदै थियो, अपुष्ट
स्वर मुखबाट बाहिरीदै थियो –“कामिनी ! प्लिज .... आह .... उम
.....क्या...... आन .....क.....।”–योभन्दा बढी उसको मुखबाट स्वर बाहिरिन
सकेको थिएन । त्यसपछि कोल्टे फर्केको थियो । ऊ र उसको बलिष्ठ शरीरदेखि
घृणा लागेर आएको थियो । उसको घाँटी निचोरेर सिध्याइदिने रहर पलाउँदै थियो
मभित्र । ऊ सुतेको पलङगमा सुत्न पनि घृणा लागिरहेको थियो । टाउको टनटन
दुखिरहेको थियो । मलाई अत्यास र क्रोधको कारणले होला चिटचिट पसिना
आइरहेको थियो । पसिना त त्यसरी आएको रहेनछ, मलाई भ्रम भएको रहेछ । पिसाब
फेर्न एक्लै तल उत्रिन मन नलागेकोले कुनामा राखेको कोपरामा पिसाब फेर्न
शुरु गरेँ । केही क्षणको मेरो प्रयास गराइ बिफल भयो । मलाई पिसाब नै
आएन..। “के भएको हो यस्तो ?”– मनमनै फत्फताउँदै छोराछोरी सुतेको खाटमा
आएर बसेँ । उसको अनुहार हेर्नुभन्दा छोराछोरीसँग सुत्न बेस लागिरहेको
थियो । विपनामा कामिनीसँग रचाएको रासलिलाले तृष्णा नमेटिएकोले सायद
सपनामा तृष्णा मेटाइरहेको थियो क्यारे ऊ । म मनमनै बडबडाएकी थिएँ–“छि !
छि ! कति स्वार्थी ! घिनलाग्दो छदम्भेषी हँदोरहेछ पुरुष ...।”– यो कुरा
सबै पुरुषमा लागू नहुनसक्छ । यो जीवनमा पहिलो पटक प्रचुर मात्रामा आफ्नो
लोग्नेप्रति घृणा जागेर आएको थियो । भविष्यको चिन्ता र छोराछोरीलाई
सुयोग्य बनाउने विचारले मेरो मन पिरोलिइ–रहेको थियो । गाईँगुईँ हल्ला
यथार्थ रहेछ भनेर मलाई पूर्ण विश्वास भइसकेको थियो । ‘‘हावा नचली पात
हल्लिँदैन’ उसको निद्रा अवस्थाको बड्बडाको मुहारको आकृती आँखाअगाडि
बारम्बार मडारिन थालेकोले गर्दा त्यो रात मलाई निदाउन गाह्रो भइरहेको
थियो । छेउमा सुतेका छोराछोरीको शरीर पालैपालो सुम्सुम्याउँदा झन खटपटी
बढेर आएको थियो, मुटुको चाल बढ्दै थियो, हातखुट्टा बाउँडिन खोजिरहेका थिए
। “आ... के पीर जे लेखेको छ, त्यही हुन्छ । अरू कत्तिका पनि दुई स्वास्नी
भए पनि गरेरै खाएका छन् ।”– आफूले आफैंलाई आस्वस्त पार्दै निदाउने प्रयास
गरेकी थिएँ । ऊ बिहान चिया पिउँदै घरमा बसिरहेको बेला पी.सी.ओ.को केटाले
फोन आएको खबर गरेको थियो । फोन आएको खबर सुन्नासाथ पिउँदै गरेको चिया
छोडेर हत्तारिँदै ऊ लागेको थियो । “सायद त्यही नखरमाउलीको फोन होला ।”– ऊ
घर आउनसाथ मैले सोधेँ “कस्को फोन रहेछ ?”

“साथीको ”–ऊ हत्तारिँदै लुगा लगाएर घरबाट फुत्त बाहिरियो ।

मैले आँखाले देखुञ्जेल उसलाई हेरिरहेँ, आफ्नो रीसलाई दबाउने प्रयास गर्दै
। मस्तिष्कमा एउटा विचार उत्पन्न भएकोले लुगा लगाएर म घरबाट बाहिरिएँ ।
धरौट राखेका गहना दुई महिनाअगाडि नै बेचेको रहेछ । म घरतिर फर्किएकी
थिएँ, मनमा कुरा खेलाउँदै । “ममा खैनीको कुलत बसे जस्तै ऊ पनि कामिनीको
स्वादिलो शरीर भोगाइको कुलतले ग्रसित भयो त ? कुलतबाट मुक्ति पाउन
सकिन्छ, दृढतालाई आफूभित्र कायम राख्न सकेको खण्डमा ।”– तृष्णालाई जति
जगायो त्यति नै वृद्घि हुँदै जान्छ । घर पुगेँ तर काम गर्ने जाँगर
थिएन । निराशाले जाँगर सेलाउँदोरहेछ । मस्तिष्कमा बारम्बार एउटा विचार
उत्पन्न भइरहेको थियो –“कुलतले ग्रसित भएपछि मान्छे कुकर्मी हुन्छ अनि
कुकर्मी मान्छेले आफ्नो कर्तव्य, दायित्व, जिम्मेवारी, नैतिकता सबै
भुल्दोरहेछ ।” मेरो उसमा पनि यो कुरा लागू भए झैँ मलाई लागिरहेको थियो
। समय आफ्नै पाराले चिप्लिरहेको थियो । उसले घर छाडेको पनि एक हप्ता
भइसकेको थियो । निकै दिन यसरी बाहिर बस्दैनथ्यो । ऊ आएको थिएन र खबरखाबर
पनि पठाएको थिएन । मबाट पाउने सुखभन्दा बढी सुख कामिनीबाट पाएकोले मलाई
बिर्सेको थियो कि ? ऊ मेरो लोग्ने, दुई बच्चाको बाबु पनि । “बाबुलाई
छोराछोरीको माया ममता र सम्झना आउँदैन होला ? कपटी, पापी मानिसको हृदय
मासुको हुँदैन ? के ऊ पिता र लोग्नेको नामको कलङ्क हो ? मेरो मानसिकतालाई
मेरो आफ्नो भन्नेले त बुझ्ने प्रयास गरिरहेको थिएन भने अरू कसले बुझ्ने ?
यस्तै कुरा गिदीमा सल्बलाईरहेका थिए । त्यति नै बेला बिनीताकी आमा
आइपुगेकी थिईन् ।

“के गरिरहेकी छ्यौ ?”

“काम छैन, त्यतिकै बसिरहेकी छु ।” मैले उनलाई बस्ने सङ्केत गर्दै भने ।
उनी बाँसको मूढामाथि आएर बसिन् । मैले आफूभित्रको उकुस्मुकुस् बिस्वासी
साथीको नाताले सबै उनीसँग पोखेँ ।

उनले मेरो कुरा सुनेर सारै दुःखीत हुँदै थकित स्वर मुखबाट निकाल्दै
भनिन्– “के गछ्यौँ त ! ऊ लोग्ने मान्छे, कृष्ण अरे, उनीहरूलाई यस समाजले
धेरै छुट दिएको छ ।”

“पराधिनतालाई हामी महिलाहरूले सहँदै र स्वीकार्दै आएकाले पुरुषहरू
स्वेच्छाचारी ढङ्गले हामीमाथि प्रस्तुत भइरहेका छन् । यदि महिलाहरू
प्रतिकारमा कुना–कन्दाराबाट उत्रने हो भने जरा गाडिएको पुरुषप्रधान
मानसिकतालाई बदल्न सक्नेछौँ ।”–मैले आफ्नो विचार पोखेकी थिएँ ।

“खोइ ! शिक्षित नारीहरू नतमस्तक छन् ।“–उनी शिथिल भएकी थिइन् ।

“महिषाशुरजस्तो कामुकलाई महिलाले नै बध गरेकी थिइन् ।”–मैले उत्तेजित
हँदै भनेकी थिएँ ।

“हन, तिम्रो मानसिकता खराब भयो कि ? यस्तो कुरा दिमागमा नल्याऊ,
साना–साना छोराछोरीलाई हेरेर पनि तिमीले सहनुपर्छ ।”–बिनीताकी आमा डराएकी
थिइन्, मेरो रढणचण्डीरूप देखेर ।

“डर केवल मनको भ्रम हो, यसले मान्छेलाई कमजोर बनाउँछ । पुरुषहरूले
महिलाको यही कमजोरीको फाइदा उठाउँदै शरीरिक र मानसिक दुबै रूपले जहिले
पनि बलात्कार गर्दै आइरहेका छन्, यसलाई कति दिन सहेर बस्ने ?” मेरो
मुखबाट क्रोधिलो स्वर बाहिरिएको थियो, उनी बोलिनथिइन् । सायद उनीलाई मसँग
बोल्न डर लागिरहेको थियो क्यारे ! कायर, हुतिहारा महिलाप्रति घृणा
उत्पन्न हुन थालेको थियो मभित्र । बिनीताकी आमा उठेर घरतिर लागेकी थिइन्
। टाढा पुगुन्जेल मैले उनलाई हेरिरहेँ ।

मेरो छोरालाई बेलुकादेखि ज्वरो आइरहेको थियो । गाउँको उपचार केन्द्रमा
बिहान लाँदा सामान्य दवाइ दिएर राम्रो ठाउँमा लगेर देखाउनु भनेको थियो
स्वास्थ्य–कर्मिले । पैसा थिएन, ऊ पनि आएको थिएन । बिनीताकी आमासँग दुई
सय सापटी लिएमध्ये एक सय सकिइसकेको थियो । मेरो ऊ बिराटचोकमा उप्रेतीको
घरमा डेरा लिएर बसेको छ अरे भन्ने गाईँगुईँ हल्ला सुनेकी थिएँ । ऊ आउँदैन
भने व्यर्थ किन खोज्नु ? अभावले पिरोलेकोले गर्दा झन उसप्रति रीस
उठिरहेको थियो । म मनमनै कुरा खेलाउँदै थिएँ, छोरा सुतेको कोक्रो
हल्लाउदै । ‘कस्तो निस्फिक्रिको मान्छे ! छोराछोरीले के खाँदै छन् होला
भन्ने सम्म नसोचेको, मैले उसले गरेजस्तो गरेकी भए ! समाजले के भन्थ्यो
होला ! के पुरुष साँढे हो ?! जसको बाली खाए पनि सदा नधपाउनू पाप लाग्छ
भनेर, यहाँको चलन र रीत यस्तै छ । शनिवारको दिन भएकोले छोरी पनि घरमै
थिइन् । छोरीलाई भाइ हेर्दै गर्नू भनी मुख्य ढोकामा साँचो लगाएर घरबाट म
बाहिरिएँ । बिराटचौक पुगी उप्रेतीको घर पत्ता लगाएकी थिएँ, राजमार्ग
नजीकै रहेछ । म देखाइदिएको कोठा नजीक पुगेर उभिएकी थिएँ । भूइँतलाको बाटा
नजीकैको कोठा रहेछ । ताला झुण्डिएको थिएन, केबल ढोका बन्द थियो,
ढपक्याएजस्तो लाग्दथ्यो । ढोकाको पल्लालाई विस्तारै ठेल्दा ढोका उघ्रेको
थियो । कोठाभित्र रहेको पलङगमा मैले अचम्मको दृश्य देखेकी थिएँ ।
कामिनीमाथि ऊ दिउँसै राशलीलामा मग्न । मलाई असह्य भएको थियो त्यो दृश्य
देख्दा । शरीरमा एक प्रकारको शक्ति उत्पन्न भएको थियो । ढोकाको कापमा
रहेको आग्लो मैले बिजुलीको गतिमा दुबै हातले उठाएकी थिएँ । शरीर कसिलो
हँदै मेरा हातखुट्टा दरिएका थिए । टाउको टन्टन् दुःख्नुका साथै अनुहारमा
रगत चढेको थियो । मेरो गाला र ओंठ फरफरिदै थिए । चितुवाको वेगले झम्टँदै
दुबै हातमा रहेको आग्लो उसमाथि अन्धधुन्द बर्षाउन थालेँ । त्यो
घिनलाग्दो कामुक पुरुषमाथि आग्लो बर्साउँदै बडबडाएकी थिएँ– “कर्तव्य
बिहीन बुबा, बेश्यागामी लोग्नेले यो दुनियाँमा बाँच्नु पाप हुनेछ ।”
कामिनी कतिबेला पलङगबाट उत्रेर ढोकाबाट बाहिर निस्की मलाई त्यतिबेला थाहै
भएनथ्यो । म आग्लो बर्साउँदा–बर्साउँदै थाकिसकेकी थिएँ । स्वास फुलेर
आएको थियो । निधारमा पसिना चिटचिट आइसकेको थियो । कसैले मलाई पछाडिबाट
पक्रेकोले झस्केकी थिएँ । मेरा हातबाट अरू कसैले आग्लो खोसी सकेको थियो ।
पलङगमा ऊ घोप्टो परेर लडिरहेको थियो, तन्ना रगतले निथ्रुक्कै भिजेको थियो
। लोग्नेको टाउको जताततै फुटेको र फुटेको ठाउँबाट भुलभुल रगत निस्किरहेको
थियो । प्रहरी, भ्यानबाट ओर्लिरहेका थिए । मानिसहरू मेला लागेर मलाई
हेरिहेका थिए । महिला प्रहरीले मेरो पाखुरा समाएर गाडीमा चढाइन् ।
साँच्चै भनौ भने मभित्र सञ्चित रहेको लोग्नेको मायाँले त्यतिबेला मबाट
उत्तेजनामा भएको त्यस प्रकारको कार्यलाई सरापिरहेको थियो । अर्कोतिर
मभित्र रहेको विप्लवी स्वभावले मलाई स्याबासी दिइरहेको थियो । पछुतो र
स्याबासीको बीचमा लोग्ने गुमेको पीडा बोधले मेरो आँखाबाट श्रावण–भदौको
भेल बगिरहेको थियो । म मेरो हातद्वारा लोग्ने मरेकोमा सारै दुःखीत थिएँ
भने अर्कोतिर एउटा व्यभिचारी कामुक पुरुषको दासत्वबाट मुक्त हुन पाएकीमा
सारै गोरवान्वित भइरहेकी थिएँ । लोग्नेको रिक्तताले पिरोलीरहेको थियो भने
अर्कातिर व्यभि– चारी लोग्ने मार्न सफल भएकीमा सारै आनन्द लागिरहेको थियो


बहसपछि न्यायधिसले अन्तिम पटक मलाई आफ्नो कुरा राख्ने मौका दिनुभएको
थियो । म कठघरामा पुगेर उभिएकी थिएँ । उपस्थित मानिसहरूले मेरो अनुहारलाई
अचम्म मानेर हेरिरहेका थिए । म पनि उनीहरूका मुहारमा उब्जेको भावलाई
अध्ययन गर्ने प्रयास गर्दै थिएँ । मेरो पक्षका महिला वकिलको मुहार
निन्याउरो देखिन्थ्यो । नकोरेको कपाल, मैला लुगा, बिनामेकअपको अनुहार
लिएर म कठघरामा उभिएको देख्दा कतिपयलाई मायाँ लागेको थियो कि ! यो मेरो
अडकल मात्र थियो, म के भनौ ! भन्ने कुरा रित्तिसकेका थिए । कुनै
दुःख–कष्ट, चिन्ता–पीर मभित्र बाँकी रहेको थिएन । छोरा–छोरीलाई पनि
मावलीले पाल्न लगिसकेकाले त्यतातिरको चिन्ता पनि समाप्त भएको थियो ।
बोल्न मन लागेकोले गर्दा वाक्यहरू छनौट गर्दै आफ्नो कुरा राखेकी थिएँ–
“श्रीमान् मैले बयानमै आफ्नो आध्योपान्त वणर्न गरिसकेकी छु मैले आत्मगत
निणर्य गरेर नै ऊजस्तो व्यभिचारीलाई मारेकीले कुनै प्रकारको पछुतो र
थक्थकी छैन । कानुनको नजरमा म अपराधी ठहरिउँली तर ईश्वर र विवेकी मानिसको
नजरले मलाई सो श्रेणीमा राख्ने छैनन् भन्ने कुरामा म विश्वस्त छु ।
न्यायधिशको कुर्सीले मलाई सजाय दिनसक्छ तर न्यायधिशको अन्तर्मनले चाहिँ
पक्कै स्याबासी देला ।”

अदालतले १० बर्षको जेल सजाय तोकेकोले अहिले म तपाईंहरूकी साथी कैदी
नम्बर ११ भएकी छु । मभन्दा पाकी उमेरकी महिला कैदीले स्यबासी दिए झैँ गरी
मलाई धाप मारिन् । अन्य महिला कैदीहरूको दृष्टीमा पनि स्याबासी नै
झल्किरहेको म देखिरहेकी छु ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 14 कार्तिक, 2071

लेखकका अन्य रचनाहरु