बिबिसि-को कुकुर

- गोबिन्दसिंह रावत, पीएचडी

सेलफोनको घण्टी लगातार बजेपछि कार्यालयको काममा अरु सहकर्मीसँगै रहे तापनि मैले एक्सक्युजमी भन्दै मैले फोन उठाए । फोनमा उप्रेतीको नाम आएकोले मैले फोन उठाएको थिए । काम पर्दामात्र फोन गर्ने भएकोले मैले उप्रेतीको फोनलाई जरुरीनै ठानेर उठाउने गर्थे । त्यस दिन पनि जरुरीनै फोन रहेछ । फोनबाट उसले मलाई बि.बि.सि. र कुकुरको बारेमा भनेपछि म तुरन्तै कार्यालयबाट आपातकालिन कामको लागि जानु पर्ने जानकारी गराएर उप्रेतीले भनेको ठाँउतिर लागे । घर कुनबेला पुगिएला र ढिलो होला भनेर मैले गंगालाई फोनबाट जानकारी गरासकेको थिए ।
उसलाई हामी क्यम्पसमा बिबिसि भनेर बोलाउने ग¥थ्यौं । उसको खास नाम बमबहादुर छेत्री हो । प्रारम्भमा उसलाई बम भनेर बोलाउने गरिन्थ्यो रे तर २०५८ तिर साथीभाइहरुले अचानक बमबाट उनको बोलाउने नाम बिबिसि राखिदिएका थिए । कारण थियो त्यसताका चलीरहेको जनयुद्ध र बमको त्रास । बिबिसि र म त्रिचन्द्र क्याम्पसमासँगै थियौं । मैले स्नातकपछि स्नातकोत्तर गर्न थालेपछि बिबिसिसँग सम्पर्क विहिन हुँदै गए । त्यसपछि मैले अस्कल क्याम्पसमा अध्यापन गराउन थाले । अस्कल क्याम्पसमा कार्यरत रहदा एउटा कार्यक्रममा बिबिसिसँग धेरै अन्तरालपछि भेट भएको थियो । त्यसबेला उ शिक्षा मन्त्रालयको उच्चशिक्षा आयोगको प्रमुखका रुपमा क्याम्पसको उच्चाशिक्षा सम्बन्धी एउटा कार्यक्रममा आएको थियो । म पनि शिक्षण विभागको प्रमुखको हैसियतले उपस्थित हुँदा बिबिसिलाई भेटेर हामीले हाम्रो सम्बन्धको नवीकरण गरेका थियौं । त्यसपछि आकल झुकल हामीबीच भेटघाट भईनै रहन्थ्यो र क्याम्पसकाललाई सम्झने ग¥थ्यौं । त्यसपछि म सपरिवार क्यानाडामा आएर बस्न थाले ।
क्यानाडा आएको लगभग आठ वर्षपछि समुदायको कार्यक्रममा बिबिसिलाई देखे । मान्छे पुड्को पुड्को भएर होला त्यसबेला पनि तरुणो नै देखिन्थ्यो । त्यसबेला हामीबीच कुराका आदान प्रदान हुँदा बिबिसि चार वर्षअघि परिवारसहित मोन्ट्रियलमा आएको थियो । तर टोरोन्टो आएको दुईचार महिनामात्र भएको थियो । मैले मेरो घरमा परिवारसहित आउने आग्रहलाई अस्वीकार्दै बिबिसिले आफु एक्लै टोरोन्टोमा आएको र परिवार मोन्ट्रियलमा नै छन् भनेपछि मैले उसलाई शनिवार घरमा आउन आग्रह गरेको थिए । शनिवारको भेटमा मैले मेरो श्रीमती गंगा र छोराहरुसँग पनि परिचय गराइदिएको थिए । त्यस दिन बिबिसिले आफ्नो अतीत सुनाउँदै वर्तमानसम्मको जीवन यात्राको कथा बताएर मलाईनै अमन्जस्यमा पारी दियो । स्वदेश त्यागेर विदशी भूमीमा आएपछि यस्तो विसङ्गतिपूर्ण घटनाहरुका बारेमा मैले यसअघि पनि सुनेको थिए । त्यसैले मेरो लागि यो कुनै आश्चर्य मानिने घटना नभए तापनि सहपाठी मित्रको जीवनसँग गाँसिएकोले विस्तृत जानकारी खोतल्दै गएको थिए ।
नेपालमा राम्रै पारीवारिक जीवन चलाईरहेको मित्र बिबिसिले स्नातक गरेपछि शिक्षा मन्त्रालयमा अस्थाई शाखा अधिकृत भएर काम गर्न थाल्यो । उसले थोरै समयमा धेरै उन्नति गरेको थियो । पहिलैदेखिनै प्रेमका शौकिन बिबिसिले स्नातक पढ्दासम्म पाँचवटा प्रेमिका फेरेको कुरा क्याम्पस पढ्दा सुनिएको थिए । तर शिक्षा मन्त्रालयको उच्चशिक्षा आयोगको प्रमुखका रुपमा भेट हुँदा उसले बिहे गरिसकेको थियो भन्ने जानकारी हामीबीच परिवार विस्तारका बारेमा कुरा चल्दा गराएको थियो । अनि उसको एउटा छोरो पनि रहेको जानकारी पाएको थिए । क्यानाडाको पि.आर. (स्थाई वासिन्दा) लिएर आएपछि श्रीमतीले पनि काम गर्न थालेको र छोरा पनि पढ्न थालेको थियो । तर विस्तारै विस्तारै उनीहरुको दाम्पत्य जीवनमा दरार पर्दै गएपछि श्रीमतीले पारपाचुकेका लागि दबाब दिन थालेको र अन्त्यमा श्रीमती र छोरालाई छोडेर बिबिसि टोरोन्टो आएको रहेछ । त्यस भेटमा उसले जागिरका लागि सहयोगका लागि अनुरोध गरेको पनि थियो । मैले हुन्छको वाँचा गरे तापनि त्यो वाँचा पुरा गर्नै परेको थिएन ।
बिबिसि टोरोन्टो सरेको वर्ष दिनपछि नेपाली सामुदायको नयाँ वर्षको कार्यक्रममा एकजना गोरी महिलासँग उसको पनि उपस्थिति रहेको देखे । उसले गर्वसाथ जेनिफरलाई आफ्नो प्रमिकाको रुपमा परिचय गराएर अहिले दुवैसँगै बस्ने गरेको जानकारी गरायो । त्यसबाहेक जेनिफरसँगै काम गर्दा चिनेको र अहिले जेनिफरले क्यानाडा पोष्टमा काम पाएको र चाडै दुवैले बिहे गर्ने जानकारी समेत दिन भ्याएको थियो । त्यसबेला हामीले आआफ्नो फोन नम्बर पनि साटासाट गरेका थियौं । त्यसपछि एक दुईपटक हामीबीच फोनमा हेलोसम्म भएको सम्झन्छु ।
मबाहेक बिबिसि र मलाई चिन्नेमा सनम लामा र सरोज उप्रेती हुनुहुन्छ । तर लामा र उप्रेतीलाई भने मैले यहीँ आएर चिनेको हुँ । त्यस दिन अचानक उप्रेतीजीले फोन गरेर बिबिसिलाई प्रहरीले समातेको कुरा गर्नु भयो । के भाको भन्नेबारे वहाँलाई पनि राम्ररी थाहा भएन । यतिमात्र हो कि बिबिसि आजै नेपाल जान भनेर निस्कदै हुनु हुन्थ्यो रे । यस बारेमा पनि म अनभिज्ञ नै थिए । उप्रेतीजीको फोन आएपछि वहाँले भनेको प्रहरी कार्यालय डिभिजन ४१ मा पुगेको थिए । त्यहाँ उप्रेतीजी मात्रलाई देखे । वहाँले मलाई प्रहरी कार्यालयबाट बाहिर ल्याएर ‘बुडा अनाहकमा फस्यो सर’ भनेर बिबिसिको विवरण सुनाउन थाल्नु भयो ।
उप्रेती र बिबिसि नेपालमा सरकारी कर्मचारी र एउटै मन्त्रालयमा काम गरेकोले पुरोनो अनि नजिकको चिनाजानी थियो । बिबिसि नेपालबाट क्यानाडा आएर उनै उप्रेतीको घरमा बसेका थिए । त्यसबेला उप्रेती मोन्ट्रियलमा बस्नु हुन्थ्यो र पछि सरकारी जागिर पाएर टोरोन्टो आउनु भएको रहेछ । बिबिसिले पछि मोन्ट्रियलमा आफ्नो श्रीमती र छोरा छोडेर आएपछि पनि उप्रेतीको घरमा नै बसे पछि अन्यन्त्र सर्नु भएको थियो । एउटा फर्निचर फेक्टरीमा सेल्सम्यान भएर काम गर्दागर्दै त्यही सेल्स मेनेजर जेनेफरसँग नजिकता बढ्दै गएपछि उनीहरु सँगै बस्न थालेका थिए । दुई छोरीकी आमा जेनेफर पनि एक्लै बस्दै आएकोले बिबिसिले पनि उनको सहारा पाएकोमा खुशी भएको बारे उप्रेतीलाई भन्नु भएको थियो । जेनेफर एउटा कुकुरसँग बस्दै आएकी थिईन । बिबिसि आउनुअघि कुकुरनै जेनेफरको साथी थियो । बिबिसि आएपछि दुईवटा कुकुर भयो भनेर जेनेफरले ठट्टा गर्ने गरेकोबारे पनि उप्रेतीलाई भनेका रहेछन् । सेतो छाला अग्ली उमेर पचास नाघे पनि पैतीसको देखिने क्यानेडियन महिला पाएपछि बिबिसिले नयाँ जीवन शुरुभएको र चाडै बिहे भोज खुवाएर आफ्नी छोडी सकेको स्वास्नीलाई देखाउने अभिलाषा रहेको बारे पनि उप्रेतीबाट थाहा पाए ।
जेनेफरको कुकुरको हेरचार गर्ने सबै जिम्मा बिबिसिको थियो । बिहान उठेर कुकुरलाई बाहिर डुलाएर कुकुरले गरेको शौच उठाएर घर फर्केपछि मात्र बिबिसिको बिहानको नित्यकर्म शुरु हुन्थ्यो भने राती पनि आधारातमा कुकुरलाई शौच गराउन लिएर जानु प¥थ्यो । जेनेफरले गर्दै आएको काम बिबिसिलाई हस्तान्तरण गरेर जेनेफरलाई हाईसञ्चो भएको थियो भने बिबिसि पनि जेनेफरको कुकुर हेरेर सेतो छाला भएकी जेनेफरको माया पनि बरोबर पाएकोमा मक्ख थिए । विस्तारै विस्तारै बिबिसिले कुकुरलाई जेनेफरझै छोरा भन्न थालेका थिए । जेनेफरले कुकुरको रेजिष्ट्रेसनको नविकरण गर्ने क्रममा खै किन हो कुन्नी बिबिसिलाई अविभावक बनाइदिएर सहीछाप पनि गर्न लगाएको थियो । उप्रेतीका अनुसार बिबिसि कहिलेकाहीँ उनको घरमा कुकुरनै बोकेर पनि आउने गर्थे र कानूनी रुपमा यो कुकुरको म मालिक भईसके भन्दै अब जेनेफरको कानूनी रुपमा चाडै मालिक बन्ने कुरा गर्ने गर्थे । जेनेफरले क्यानाडा पोष्टमा सरकारी जागिर पाएपछि बिबिसि धेरै खुशी भएका थिए । उनले जेनेफरसँग बिहे गरेर आफ्नो रिटायर लाईफ घुमीफिरी मनाउने परिकल्पनासमेत गरीसकेका थिए । तर अचानक जेनेफरले उनलाई छोडेर आफ्नै कार्यालयमा काम गर्ने एकजना कालेसँग बस्न थालेपछि बिविसिको समानान्तर रेखामा चल्दै गएको जीवन शैली वक्र रेखातिर मोडिन थाल्यो । उप्रेतीलाई बिबिसिले दिएको विवरण अनुसार केही महिनादेखि जेनेफरको व्यवहारमा परिवर्तन आउन थालेको थियो । बिनाकारण रिसाउने, कराउने, झर्कनेबाट लिएर आधारातका घर फर्कने र कहिलेकाहीँ भरै नफर्कने गर्न थालेपछि उनीहरुका बीच रहदै आएको समझदारी (अण्डसर््टेन्डिङ्ग) मा नै चिरा पर्न थाल्यो । यसरी हराउने क्रम बढ्दै गएपछि एक दिन कामबाट बिबिसि घर फर्कदा जेनेफरले कुकुरबाहेक आफ्ना साह सामान लिएर गइसकेको र जेनेफरले बिबिसिलाई आजैदेखि सम्बन्ध तोडेको (ब्रेक अप) जानकारीसहितको सानो कागजमा छोडेर गएकी थिईन । त्यसपछि जेनेफर बिबिसिको सम्पर्क बाहिर बस्न थालिन ।
नेपालबाट नयाँ गन्तब्यको खोजिमा क्यानाडामा बँसाई सर्दा बिबिसिसँग श्रीमती र छोरा थियो भने त्यसपछि उ एक्लो भएर भौतारिरहेको अवस्थामा जेनेफरको साथ पायो अनि जेनेफरको कुकुर थपिएपछि उ फेरी परिवारवाल भएको थियो । तर जेनेफरले छोडेर गएपछि उ फेरी एक्लो भएको थियो । जेनेफरले छोडेर गएको कुकुर विस्तारै उसको लागि घाडो बन्दै गएको थियो । कोठा भाडा र कुकुरको स्यहारसुसारको खर्च बिबिसिका लागि अतिरिक्त भार बन्दै गएको थियो । उप्रेतीको सहयोगमा अरुसँग पहिले जस्तै कोठा बाँडेर बस्ने बारे सोचे तापनि कुकुरका कारण कोही पनि बिबिसिलाई सँगै राख्न चाहदैन थिए । जेनिफरले छोडेर गएको दुई महिनामा नै उसलाई कुकुरसँग घर चलाउन गाहे भएपछि उसले कुकुर कसैलाई उपहार दिनेबारे पनि नसोचेको हैन । तर उसले चिनेकाहरुले कुकुर राख्न नमानेपछि एकरात उसले लगभग दुईघण्टाको बस यात्रा गरेर कुकुरलाई असवा भन्ने ठाँउमा छोडेर आयो । छोड्नअघि आफ्नो बुद्धिमता देखाउँदै उसले कुकुरको घाटीमा झुण्डिएको दर्ता नम्बरको पट्टा पनि झिकेर फाली दियो । उप्रेतीका अनुसार कुकुरलाई अनजान ठाँउमा छोडेर आएपछि उप्रेतीको घरमा आएर गलगाँड फालेकोमा खुशियाली मनाउँदै मात्ने गरी जाड पनि खाएको थियो । त्यसपछि बिबिसि तीनजना नेपाली भाइसँग बस्दै आएको थियो । आक्कलफुक्कल उप्रेतीको घरमा आउने बिबिसिले अचानक नयाँ जीवन शुरु गर्नेबारे जानकारी गराउँदै आफु नेपालमा गएर बिहे गर्ने र फर्केर व्यापार गर्ने भनेर नेपाल जाने टिकटसमेत बुक गराएको अनि आज घरबाट विमानस्थल जाने तर्खर गर्ने क्रममा प्रहरीले आएर समातेको थियो ।
उपे्रतीसँग बिबिसिका बारेमा जानकारी पाएपछि हामी दुवै प्रहरी अधिकृतको कोठामा गएर समात्नु पर्ने कारण बुभ्mन थाल्यौं । प्रहरी अधिकृतका अनुसार उनीमाथि कुकुरको राम्ररी देखभाल नगरेको, कुकुरलाई मर्नका लागि अन्जान ठाँउमा छोडेको, कुकुरको पहिचान पट्टी (आईडेनटिटी ट्याग) निकालेको, देशबाट भाग्न खोजिएको र जनावरप्रतिको गरिएको अमानवीय व्यवहार जस्ता मुद्दा लगाइएको छ । उनीमाथि मुद्दा चल्छ र त्यसपछि क्यानाडाको कानून अनुसार के हुन्छ त्यो भविष्यले बताउने भनेर अहिलेको अवस्थामा उनलाई धरौटीमा पनि छोड्न नमिल्ने भनेपछि हामी निरास भएर फर्केका थियौं ।
प्रहरी अधिकृतका अनुसार बिबिसिको नाममा दर्ता भएको जेकी नामको कुकुरलाई उनले असवामा पहिचान पट्टी निकालेर छोडेका थिए । जसलाई केही दिनपछि एकजना भलादमिले समातेर सिटी एनिमल सेल्टरमा बुझाएका थिए । त्यहीँबाट कुकुरको सही पहिचान पत्ता लगाउन सिटी एनिमल सेल्टरले कुकुरलाई एनिमल कन्ट्रोल अफिसमा पठाएपछि यसबारे खोजतलास शुरु भएको थियो । खोजतलासको क्रममा असवा, ब्राह्म्टन, मिसिसाँगा, एजेक्सपछि टोरोन्टोको सिटी एनिमल रेजिस्ट्रेसन सेन्टरमा रहेका रेकार्डमा जेकीको फोटो पत्ता लगाएपछि प्रहरी टोली तैनाथ गरेर पहिले जेनिफरसँगै बसेको अपार्टमेन्टमा बुझँबुजारथ गर्दा त्यहाँबाट बिबिसिले डेरा सरेर केटाहरुसँग बस्न थाल्दा आवश्यक पत्रहरु नहराउन भनेर हुलाक कार्यालयमा गएर नयाँ ठेगाना दर्ता गराएका थिए । त्यसैका आधारमा प्रहरीले बिबिसिलाई आफ्नो जीवनको तेस्रो अध्याय शुरु गर्ने उद्देश्यका साथ नेपालका लागि प्रस्थान गर्ने क्रममा समातेको थियो । प्रहरीको सोधपूछको क्रममा बिबिसिले कुकुरका बारेमा आफुलाई केही थाहा नभएको र कुकुरदेखि सानैदेखि डराउने भएकोले पाल्ने प्रसङ्गनै नरहेको भन्दै टार्न खोजेको थियो तर जब प्रहरीले कुकुरलाई नै ल्याएर देखाउन खोज्दा कुकुरले आफ्नो मालिक चिनेर क्वाई क्वाई गर्दै बिबिसिसँग टासिदै गएपछि बिबिसिले नकार्नै सकेन ।
हामी बिबिसिलाई प्रहरीबाट निकाल्नका लागि नेपाली संस्थाहरुको सहयोग लिने भनेर प्रहरी कार्यालयबाट निस्केर आआफ्नो घरतिर लाग्यौं ।

टोरोन्टाे

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 4 कार्तिक, 2071

लेखकका अन्य रचनाहरु