सकमवरी

- ओमप्रसाद घायल

निरन्तर पढिनै रहेकोछु
अहिलेपनि म तिमीलाई ।
हे मेरी सकमवरी !
हारेर बाँच्न गाह्रो हुँदोरहेछ प्रेममा ।
हिजोआज
तिम्रा अक्षरहरुमा पोखिएको छ
वेहद आँसुको दर्द,
र रगतपच्छे भएका छन् तिम्रा कविताका हरफहरु पनि ।
मेरो अनुपस्थितिमा तिमी जतिनै
सुखी भएको गीत लेखिराख
तर प्रत्येक लयहरुमा
मैले सुनिरहेको छु तिम्रो विछोडको विलौना ।

पुरानो घाउ कोट्टाएर
आफैलाई रक्ताम्य बनाउँदै गरेको
तिम्रो शोकविस्मित अनुहार
किन प्रकट भइरहन्छ मेरो आँखाको क्यानभासमा ।
सकमवरी !
तिमीले दिएका आगोका फूलहरुलाई
मैले खेलाइरहेकोछु हातभरि
मैले सुम्सुमाइरहेकोछु मनभरि
र तिनै आगोका फिलिङ्गाहरुमा
जलेका हातका औलाहरुले
अहिलेपनि छामिरहेको छु आफ्नै मनमा तिम्रो अनुहार ।
सकमवरी !
यतिखेर निकै दुखिरहेको छ मेरो मुटु
निकै बढिरहेकोछ मेरो धड्कन
र यो विछोडको अ“धेरीमा
हामी आफैलाई पात्र बनाएर
लेखिरहेकोछु मैले पनि निरन्तर
सम्बन्ध छुटेका कथाहरु ।
तर जतिनै
प्रयास गरेपनि सकमवरी !
हारेर बा“च्न नसकि“दोेरहेछ प्रेममा ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 4 कार्तिक, 2071

लेखकका अन्य रचनाहरु