निर्गमन

- युवा बराल ‘अनन्त’

आज बिहानै बेबीलाई उसकी आमा सुनिताले नयाँ लुगा पहिर्याइदिएकी छिन् फिरेल भएको सेतो फ्रक । स्वर्ग कै परी झैं सुन्दर देखिंदैछे उ ऐले । नयाँ लुगा लगाउन पाउँदा उसको मन खुशी त भयो तर बाहिर साथी-संगीहरुसंग खेल्न जान नपाउने हुनाले उ खिन्नतावश छ्ट्पटाइरही ।

उतापट्टि, बाहिरको ठूलो आँगनमा बेबीका साथीहरु कराउँदै, यित्रिंदै, चल्दै, उफ्रिंदै उन्मुक्त खेलिरहेछन् । लुगामा मैला लाग्छ, हात-खुट्टामा धुलो लाग्छ, चोट-पटक लाग्नसक्छ भनेर उसलाई बाहिर जानबाट शख्त मनाहि छ । घरमा नै बसिरहोस भन्न खातिर उसकी आमा सुनिताले किसिम किसिमका खेल्ने खेलाउने कुराहरु किनिदिएकी छिन् । ती खेल्ने चिज-बिजहरुमा गुड़िया, गाड़ी, हेलिकप्टर, पानी-बोट, ट्रेन-गाड़ी, बेट्रीले चल्ने रिमोट कन्ट्रोल गाड़ी, सुपर मेन, स्पाइडर मेन अनि क्रिसको मोडल भएको प्लास्टिकको आकृति आदि छन् । यसको अतिरिक्त एउटा ल्यापटप, प्ले-स्टेशन, गेम-सिडिहरु, कार्टून पिक्चर, ठूलो बत्तीस इञ्च स्क्रिन भएको एल ई डी टि भी पनि उसैको सुविधा र खुशीको निम्ति भनेर ल्याइदिएका छन् ।
उसलाई ती खेल्ने उपकरणहरु एकदमै झिंजो लाग्न थालिरहिछ यतिबेला । आफ्नो कान चनाखो राखेर उ उसका साथीहरु, छुङ्कीत, पेडेन, उर्मी, राहुल, सोनाम अनि धनमायाहरु , के खेलेको, के बोलेको अनि कसरी रमाइलो गरेको भन्ने तिर ध्यान-केन्द्रित भएकी छे । उ एक ठाउँ निर्धक्क बस्न सकिरहेकी छैन । चञ्चल छ उसको मन, व्याकुल छ उसको तन । बाहिर जाउँ… बाहिर के निउँ बनाएर निस्कूँ योजना बुनिरहिछ उ ।
कुदेर उ बोजु बसेको कोठामा पुगी । बोजुलाई पुलुक्क हेरिराखेर फनक्कै फर्की । पुन: उसको कोठामा आएर त्यो बार्बी गुडिया उचालेर भित्तामा बजारिदिई । यत्नले मिलाई राखेको अन्य सामानहरु पनि एकै झट्कोमा गज्याङ्ग- गुजुङ्ग बनाई उसले । फेरि झस्केको अभिनयमा सचेत भइ ती छरिएका खिलौनाहरु यथास्थितिमै मिलाएर राखी । भूईंमा दुई-तीन पल्ट खुट्टा बजारी । रोदनी अनुहार बनाई । टाउकोको केश बिथोली । बाँधेको केश खोली । भ्यात्तै भुईंमा बसी । यतिबेला उसको अनुहार केशराशिले छोपेको छ । उही अवस्थामा उठेर उ झ्यालतिर बड़छे । बाहिरको आकृति ठिकसंग नदेख्दा, हातले ती आँखा छोप्ने केश अनुहारबाट पन्छाउँछे । झ्यालबाट बाहिर सोझै ती केटा-केटीहरु खेलिरहेको देखिन्न । तर बोलेको हाँसेको भने प्रत्यक्ष सुनिन्छ । सुनेर मात्र पनि रोमाञ्चित बनिरहेकी थिई कि अर्को कोठाबाट उसकी आमाको बुलावट सुनेर झस्कन्छे ।
‘बेबी, ह्वेर आर यु ? डुइङ्ग ह्वाट? आर यु लिसनिङ्ग मी !’
सुनिता छोरीसंग नेपाली भाषामा कुरा-कानी गर्दिनन् । घरका अन्य सदस्यहरुलाई पनि छोरीको छेउमा अंग्रेजी मै बोल्ने आदेश दिइएको छ । बेबी भर्खर कक्षा ‘तीन’मा पढ़दैछे, शहरको एउटा प्रचलित निजी पाठशालामा । त्यहाँ विध्यार्थीलाई भन्दा पनि विध्यार्थीका अभिभावकलाई अधिक महत्व दिइन्छ रे । लाई-ख्वाई, घर-वार, शैक्षिक योग्यता, अहोदा, कमाई, खान्दानी, गाड़ी आदिको पनि निरिक्षण अथवा पत्तो लगाएर मात्र बच्चाको भर्ना विषय फैसला हुन्छ भन्छन् । यस्तो पाठशालामा भर्ना गर्न पाउनु पनि उस्तै त्यस्तैको पहुँचको विषय भएन । सुनिता सक्षम बनेकी छिन् बेबीलाई त्यहाँ दाखिल गराउनुमा । आखिर उसको भविष्यको विषय छ यो । अनि सुनिताको सामाजिक प्रतिष्ठाको ।
बेबी त्यही अवस्थामा कुदेर आमा छेउ पुग्छे । उसका झुस्लिएको खेश देखेर फेरि बम्किम्छिन् सुनिता-‘ ओ बेबी, व्हाट इज दिस ! व्हाट आर डुइङ्ग इन्साइड? कमन गो एन कम्ब । गो!’ बुनु उल्टा पावँ आफ्नो कोठामा फर्किन्छे ।
केवल नौ वर्ष पुगेकी छे बेबी । आमाले बोलेको भाषा उ छर्लङ्गै बुझ्छे । स्कूलमा पनि नेपाली विषय बाहेक अरु बेला अंग्रेजी मात्र बोल्ने अनुमति छ तसर्थ सबैले जानि-नजानि बोल्नै पर्छ । आफ्ना मनका कुराहरु सोही माध्यमबाट प्रस्तुत गर्नै पर्छ । हो यही वाध्यताले पनि सबै विध्यार्थीहरु अंग्रेजी बोल्न सक्छन् ।
कोठामा फर्केपछि उ पुन: झ्यालतिर गई । बाहिर कोई देखिएको छैन । कतै देखिन्छ कि, उ उँभो लम्किएर हेर्न चाहन्छे । तर आवाज मात्र सुनिन्छ, आकृति देखिन्न ।
‘बेबी ! कम सून!’ सुनिताको आवाज सुनेर उ कुदेर काईंयो टिप्न ड्रेसिङ्ग टेबलको छेउ जान्छे र एक निमेषमा ड्रअर खोल्छे । त्यहाँ उसले काईंयो पाउँदिन । यता-उता हेर्दा पनि अभेटेपछि उ रित्तै हात फर्किन्छे । बुनु उही हालमा फर्केको देखेर सुनुता चिड़िन्छे – ‘ ह्वायर इज कम्ब ?’ ‘ मम्मा, आई डिड्न्ट फाउण्ड’। बेबी लाड़े स्वरमा बोलेकी थिई । ‘ओ सिय्ट! सर्च न … इट मे बी समह्वेर देयर’।
‘काईंयो यहाँ छ बेबी… ला…’ बोजुको आवाज आउँछ अर्को कोठाबाट । बोजु पनि अंग्रेजी बुझ्ने भैसकेकी छिन् यो घरको हाव-भाव अनि वार्तालाप सुनेर-सुनेर । उनी बृद्धा छिन् झण्डै सत्तरी एकत्तर तिरकी । बिमारले सिकिस्त बनाएकोले उनी साह्रै बाहिर भित्र गर्न सक्दिनन् । एकलै कोठाभित्र बस्दा-बस्दा नियास्रो लाग्दा नातिनीलाई बोलाएर के के कुराहरु सुनाईरहन्छिन् ।
‘डोन्ट युज ग्रान्मा’स कम्ब! सर्च युअर वोन । केयर्लेश वन!’ हकारेकै लवजमा बोलेकीले बेबी केही डराएकी छे । उ दुविधामा परी । बोजुको त्यहाँ जाऊँ या अर्को काईंयो खोजूँ ।
‘ला ! यो तेरै काईंयो हो, लैजा’। बोजु थर्थराउँदो आवाजमा बोलिरहेकी थिइन् सुनिता झटारिन्दै आएर उनको हातबाट काईंयो थुतिन् । बेबी कै थियो त्यो काईंयो । ‘काँ को चिज काँ पुगिराखेको हुन्छ’। गन्गनिन्दै बेबी भए ठाउँ पुग्छिन् र काईँयो फ्यात्त भूईंमा फ्याँकदै- ‘ केयर्लेश … गो एन वास द कम्ब, अदर्वाइज… !’
बेबी डराउँछे आफ्नी आमासंग । चुपचाप काईंयो टिपेर बाथरुमतिर जान्छे । बाथरुमबाट निकैबेर पानी छचल्केको आवाज आईबस्छ ।
‘अगि त्येसले नै खेल्दै ल्याकी थिई… मैला लागेकै छैन, किन धुनु पर्यो होला’। बोजुको प्रतिक्रियामा सुनिताले किन हो यसपटक चुप्पि साधेकी थिइन् । काम गर्ने केटी लैजोलाई बोलाएर अह्राइन् –“जा गएर एउटा काईंयो ले ले रामलखन भैयाको दोकानबाट!’
धोएको चिसै काईंयो बोकेर बेबी आई आमा छेऊ । सुनिताले उल्टा झर्किन्दै बोलिन्-‘दे तेरो बोजुलाई!’ यतिबेला उनी नेपाली बोलेकी थिइन् छोरीको छेउमा । बेबी हुकुमको गुलाम नै थिई । कुद्दै गएर सुम्पीदिई त्यो काईंयो बोजुको हातमा । बोजु तर एक शब्द बोलिनिन् केवल बेबीको गालामा मायाले सुस्तरी मुसारिन् मात्र ।
बुहारीको आनि-बानी यस्तै हो जान्दा-जान्दै पनि कोही बेला सियो झैं चस्सै बिझ्छ कतिपय कुरा अनि हाव-भावहरु । बोजु आफ्नो पतिको देहान्त पछि, बस्तीमा एकलो भएपछि, यो शहरमा आफ्नो छोराको घरमा आएर बस्न वाध्य भएकी छिन् । ‘छोरो त ठिकै छ, ब्वारीले पो अलिक कर्कशा व्यौरा देखाउँछे’। भन्नु कसैलाई छैन, एकलै केही चित्त नपरेका कुराहरु फतफताउँदै धुमधुम्ति बसिरहन्छिन्, दिएको खान्छिन् अनि ज्यादा ओछ्यानमा ढल्किरहन्छिन् ।
बोजुको कोठामा एउटा सानो पलंग छ । पलंगमा एउटा तोसक, एउटा सिरक अनि एउटै सिह्रानी छ । छेउमा स्टूल छ तातो पानी राख्नलाइ । लैजो पनि त्यही कोठाको भूईंमा सुत्छे । यहाँ उनका निम्ति भनेर केही मनोरञ्जनका साधनहरु राखिएका छैनन् । हेर्न मन पर्दा कोइ कोइ बेला छोरा-बुहारीको कोठामा पसेर हेर्ने गरेको छ, त्यो पनि ‘ब्वारीको मूड’ विचारेर । घरकी काम गर्ने केटी र उनी झण्दै एउटै थान्कोमा छन् । यति हो काम चैं ज्यादा लैजोले गर्छे । बस्तीवाला परिन् उनी । त्यहाँका कामहरु उनलाई गर्न आउँदैन या त पारा पर्दैन । तर पनि उनी बिहानै उठेर सकिनसकि पनि घर बड़ार्छिन्, पूजा गर्छिन्, फूलमा पानी हाल्छिन्, गर्न सक्ने र हुने ठहरिएका कामहरु गरिनै रहन्छिन् ।
बेबीको निम्ति फुर्सदको समय भनेको यही आइतबारको दिउँसो हो त्यो पनि भनेजस्तो खेल्न उफ्रिन पाउँदिन उ । उसले पहिरिएको नयाँ लुगासंग पनि रिस उठिरहेछ उसलाई । त्यो लुगामा मैला लाग्नसक्छ, बिग्रनसक्छ, च्यातिन फाट्न सक्छ । त्यही कारण उ बाहिर जानबाट वञ्चित छे । मनभरी डर पालेर उ त्रस्त-त्रस्त बसिरहन्छे ।
हप्ताका अन्य दिनहरु उसको यस्तरी बित्छ कि उसैलाई ज्ञात हुन्न कि दिन कतिबेला बित्यो । बिहान उठ्ने बितिक्कै हात-मुख धोएर केहीक्षण पढ़नु बस्नु, रहेको स्कूलको र ट्युसनको होमवर्क गर्नु, ट्युसन जानु, करीब डेड़-दुई घण्टापछि फर्केर आउना साथ ब्रेकफास्ट खाएर स्कूल जानको निम्ति तैयारी हुनु, स्कूल जानु, स्कूलबाट लखतरान थाकेर घर आइपुग्नासाथ होमवर्क गर्नु, पुन: ट्युसन जानु, त्यहाँ पनि पढ़नु, फर्केर आएपछि फेरि घरमा पढ़नु, गर्न बिर्सेको, रहेको होमवर्क सिध्याउनु… अनि खाना खाएर सुत्नु । खोई उसको फुर्सद्को समय । खोई उसको आमा-बाबासंग माया ममता अनि लाड़-प्यार पाउने समय । खोई त्यो सानो दिमागले कल्पेको कल्पना या विचार सुन्ने या सुनिदिने समय !!
बेबीका बाबा उपेन्द्र सरकारी विभागीय दोस्रो अहोदाका अधिकारी हुन । यो शहरमा उनको आफ्नै घर छ । सरकारी गाड़ी छ । परिवारको निम्ति एउटा नीजि गाड़ी पनि छ । घरमा उनको समय कि त टि भी अघि बित्छ, नभए ल्यापटप अघि । उनी घरमा भएको बेलामा पनि आफ्नी आमासंग बोल्ने, दु:ख सुखको या सञ्चो-विसञ्चो विषय यसो सोध-पुछ गर्ने, खबर लिने दस्तुर छैन । ‘आमा ठिकै छिन्?’ भनेर सुनितालाई पो सोध्छन् । ‘तपाईंकी आमा, गएर देख-रेख गर्नु नी आफैं, म एकलीले कतितिरको वास्ता राख्न सक्छु!’ सुनिताको जवाबले झन खुम्चिन्थे उपेन्द्र ।
सुनिता पनि बाबुनी हुन कुनै सरकारी विभाग कै । घरमा कामगर्ने केटी छे, लैजो… आदिवासी केटी लगभग पन्द्रह-सोह्र वर्षकी । बिहान उठेर चिया पकाउनु, ब्रेकफास्ट, लञ्च, डिनर बनाउनु देखि लिएर घर सफा गर्नु, पुछ्नु, लुगा धुनु, बजार गएर सौदा ल्याउनु, सर-म्याडमको लुगा प्रेश गर्नु, जुत्ता पलिस गरिदिनु, बेबीलाई तयार गरिदिनु, बाहिर मूल सड़कमा स्कूल बससम्म पुर्याइदिनु… र अन्य अनगिनत साना तिना कामहरु चुपचाप निब्ट्याउनु उसको ड्युटी हो । यी कामहरु उसले नअह्राइकन नै गर्नु पर्छ नत्र म्याडमको झपाइदेखि कुटाइसम्म खानसक्ने सम्भावना बन्दछ ।
बोजु एक मुक दर्शक बनिरहन्छिन् यी क्रियाकलापहरुको । दिउँसो सबै घरबाट गइसकेपछि, लैजोको स्वर पनि अलिक खोलिन्छ र बोल्छे पनि उ बोजुसंग । यतिबेला बोजु पनि निकै स्वतन्त्र अनि हल्का अनुभव गर्छिन् । यी दुवै प्राणी यहाँ आ-आफ्नै पाराले पिड़ित छन् ।
तेस्रो प्राणी छ यहाँ, स्वतन्त्र बेफिकर अनि भाग्यमानी देखिने बेबीको रुपमा । त्यो सानी दिमागी उपकरण त झन अर्कै बोझ अनि बाध्यताले ग्रसित छ । पढ़नु पर्छ उसले तर पढ़ने उपक्रममा उ पूर्ण रुपले प्रताड़ित बनेकी छे । जतिबेला नानीहरु आमा-बाबाको संरक्षणमा रहेर उन्मुक्त उड़िरहेका हुन्छन्, खेलिरहेका हुन्छन्, रमाइरहेका हुन्छन्, किसिमका सपना देखिरहेका हुन्छन्, त्यति बेला विभिन्न कारणवश तिनीहरुमाथि जिम्मेवारीको बोझ जबर्जस्ति भिराइनु उचित ठहरिन्न । बेबीमाथि पनि एउटा नदेखिने भारी लादिएको छ, जो उनीहरु जस्ता कलिला विद्यार्थीहरुले दिन-रात बोकी नै रहेका हुन्छन् ।
घरमा पनि इंगलिस नै बोल्नु पर्छ बेबीले । यो हिज-आजको अर्को जिम्मेवारी हो । बोजुले बुझ्ने होइन । लैजोले झन के बुझ्ने । आमा-बाबाले मात्र बुझ्ने भाषा बोल्नु पर्दा उ टाड़िन्दै छे अन्य आफन्तहरुबाट अनि तिनीहरुको माया नि स्नेहबाट । सहर्ष स्वीकारेकी छे उसले ती निर्देश, हर आदेश । उ चाहेर पनि बोल्दिन नेपाली भाषा । बानी परिसकेपछि उसलाई हिनताबोधसम्म हुन थालेको छ जब उ आफ्नो मातृभाषा नेपाली प्रयोगगर्न कर पर्छे । तसर्थ बेबी बोजुसंग भरसक झ्याम्मिदिनँ, न त कुराकानी नै गर्छे ।
आफ्नो ब्याजको माया साउँको भन्दा पनि ज्यादा लाग्छ भन्छन् अनि यही कथन यहाँ उल्टो मुख लाएर केवल एक-पक्षीय दृष्टिकोणबाट अनुनयन गरिरहेछ भने ती पौराणिक मान्यताहरु सोझो अड़िन नसकी एकाएक युगको मझेरीमा ढलिरहेछन् । बेबीलाई बोजुको कुनै महत्व छैन न त आमा-बाबाले बुझाइदिएका छन् । बोजुलाई छ महत्व तर नातिनी उनीसंग झ्याम्मिएर आउन चाहन्न । बोल्नलाई मनको विचार अभिव्यक्त गर्ने सरल माध्यम नै अवरुद्ध भइसकेको अवस्था छ । यहाँ एउटा ठूलो पर्खाल ठड़िएको छ, पहिलो अनि तेस्रो पिंढ़ी माझ । यहाँ दोश्रो पिंढ़ीको गैर-जिम्मेवारीपनले यस्तो स्तिथिको निर्माण भएको भन्न सकिन्छ अर्थात दोष सोझै उनीहरुमाथि थोप्न सकिन्छ । त्यो छिचोल्न नसकिरहेको विस्तृत फाँट हुन् – भाषिक माध्यममा आएको आमूल परिवर्तनको,पौराणिक मान्यतामा आएको नवीन क्रान्तिको, परिवर्तित विचारको, विकृत मनोदशाको, बहुजातीय संस्कारको, पारिवारिक संरचनाको, शैक्षणिक बजारिकरणको, अन्धानुकरणको, मानसिक विघटनको, वर्गीय मनस्थितिको, विध्यमान अनियमित आर्थिक स्थितिको अनि निवर्तमान सामाजिक स्तरको ।
सुनिता जसरी बोल्छिन् आफ्नो सासुसंग, उसरी नै व्यवहार गर्छे बेबी पनि उनीसंग । ‘जस्तो आमा उस्तै छोरी’। बोजु गन्गनाउँछिन् मात्र । आमा बाबाको सोझो प्रभाव नानीहरुमा पर्नु स्वभाविक विषय हो, त्यो परिहाल्छ ।
‘नानु आइज, मसंग बसौं, खेलौं, यतै सुतौं ल… भरे आमा आए पछि जानु नि!’ बोजुको अनुनय सुनेर पनि नसुने झैं गर्छे बेबी । कुनै प्रतिक्रियाहीन उ बरु एकलै कोठामा टि भी नभए कम्प्यूटरमा गेमहरु खेलेर बसिरहन्छे । जिद्दि गरेर बोलाउँदा पनि आउन मान्दिन उ । ‘आमाले मार्नुहुन्छ’ एक पल्ट उसले टाड़ैबाट वास्तविक्ता वयान गरेकी थिई । ‘स्कूलबाट फर्केर आएपछि, होमवर्क गरिसकेर कि त टि भी हेर्नु ,नभए रुम मै बसेर के के खेलिरहनु, यता उता नजानु, चक-चक नगर्नु’। आमाको आदेशलाई गलत अर्थमा पनि बुझेकी हुनसक्छ उसले । आफ्नो बोजुको काखमा केहीक्षण बस्नु, बालशुलभ निश्छल कुराहरु गर्नु, या त अह्राएको नटेरे पनि प्रत्युत्तरमा बोल्नु त पर्थ्यो । तर सबैकुरा सोचे जस्तो कहाँ हुन्छ र !

यहाँ बेबीको जमानामा न मातृभाषाको महत्व छ, न साहित्यको जादु चल्छ, न सामाजिक संस्कार, न चाड़ पर्व, न रिति-रिवाज, न कला-संकृति ! यहाँ त आधुनिक सभ्यताको नाममा केवल पैंचो मागिएको अंग्रेजी चाल-चलन, होड़-बाजी अनि देखा-सेखी मौलाइ रहेको छ । न लाज, न शरम, न मान, न मर्यादा, न इज्जत, न सम्मान , न साईनो , न संबन्ध । यी सबै मानवीय गुण अनि आदर्श जीवनको उच्चतादेखि विखण्डित आजका पिंढ़ी कुन दिशातिर लम्किरहेका छन्… कोही जान्दैनन् ।

‘कस्तो लबस्तरी होली हई यो केटी ! ऐले सानैमा यस्तो छ, ठूली हुँदा झन कस्ती होली नि ! खै मैले हुर्काएका उसका बाबा, काका, फुपुहरु त यस्ता थिएनन् है’ । केवल खिन्नता बोध मात्र गर्न सक्छिन् बोजु ।

स्थितिलाई सुधार गर्न खोज्नु या चलिरहेको प्रचलनमा परिवर्तन ल्याउन खोज्नु एउटा ठूलो प्रलय या त विद्रोह निम्त्याउनु झैंको कुरा छ त्यहाँ । उनीबाट अब विरोध, सुधार या समाधानको निम्ति गरिने अभिभावकीय हस्ताक्षेपको आशा राख्नु सम्भव छैन । यस्तो लाग्छ कि उनी यो घरकी कुनै अधिकारिक सदस्य नै होइनन् । उनी त यो घरको मालिकलाई जन्मदिने एउटी जन्मदात्रीको हैसियतमा मात्र त्यहाँ बसेकी छिन् । उनी त यो धर्मशालामा… कालो मृत्युको बिकराल बाटोमा त्यो भयावह घड़ीको साउती रुँगेर बसिरहेकी, दुई दिनको यात्री सरह मात्र हुन् । उनीहरु हुनु या नहुनुको कुनै सार नै छैन यो संसारलाई । त्यही सत्य हो- उनीहरु अब नचल्ने दुवानी भइसकेका छन् ।

‘ म जान्छु अब, जान्छु… कहाँ जान्छु तर थाहा छैन । एकदिन तिमेरुले थाहै नपाई म यो घरबाट निस्केर जानेछु । अनि खोज्नु आमा ! आमा !! आमा !!! भन्दै … शहरका हरेक वृद्धा-आश्रमतिर । बरु त्यहाँ स्वतन्त्र रुपले जिउन पाइन्छ होला !!’ दिउँसो एकदिन विरक्त भावमा एकलै बोलेकी थिइन बोजु, आँखाबाट बलिन्द्र आँसु खसाल्दै ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 4 कार्तिक, 2071

लेखकका अन्य रचनाहरु