त्यो झरी

- विन्देश मगर

हत्तेरीका कति चाँडो उज्यालो भएको ।
यो घामलाई पनि के म उठ्नु भन्दा अगाडि नै आउनुपर्ने । म साह्रै अल्छी मानेर उठ्छु । उठ्ने बित्तिकै मोबाइलमा बिहान ६ बजेको कायाकैरन सुन्न रेडियो बजाउछु । पौने सात भइसकेछ । काया कैरन जानुभन्दा ढिलो उठिएछ बा ।
अब मुख धुने विचारले धारातिर लाग्छु । त्यहीनेर त्यही परिचित अनुहार घामभन्दा उज्यालो गरी झुल्किन्छे ।
“भर्खर उठेको ?”
विना सम्बोधन, विना उपहार । एकैचोटी चोटिलो प्रश्न तेर्सिन्छ –ममाथि ।
पहिलापहिला त सम्बोधन र ग्रिटिङ्स पनि चल्थ्यो । सायद् अब मलाई एकदम नजिकको ठानी होला र मैले पनि त्यस्तै सोचें हुँला सम्बोधन, नाम काट्ने र ग्रिटिङ्स विनाको संवाद बोलिन्छ । उनीसँग प्राय !
“म उठेको पन्ध्र मिनेट भइसक्यो ।” मुखमा दाँत माझ्ने ब्रसको ठुटो मुखमा कोच्दैै उत्तर दिन्छु ।
“म त जान रेडी भैसकेँ ।” म झस्कन्छु ।
“तिम्रो रोमियोलाई यत्तिकै छोडेर जान्छौ जुलियट ?” भन्न मन लाग्छ तर त्यति सजिलै कहाँ भन्न सक्छु र ?
“कति हतार रहेछ ? यो ठाउँ छोड्न । होइन राति निद्रै परेन कि क्या हो ? घर जान भनेसी ?”
“हैन गाडी भेट्नु छ । त्यै भएर ।”
“ल । यसो भए त अझ हतार गर्नु प¥यो । अब केही क्षणमा गाडी त हिँड्छ ।”
तयार भएर झोलै बोकेर आफ्नो कोठबाट ऊ निस्की । सायद् मलाई जान्छु भन्न खोज्दै छे । तर म पनि तयार भएको देखेर सोध्छे ।
“कहाँ जान तयार हो हत्तार हत्तार ?”
“म पनि तपाईंसँगै देउराली बसपार्कसम्म जाने ।”
“तपार्इंको क्यै काम छ कि त्यसै मलाई पु¥याउन जाने ???” बडो अप्ठ्यारो लाग्यो ।
सायद् यो प्रश्नभित्र अर्को प्रश्न लुकेको छ । “तिमी मलाई माया गर्छौ ?” वा यस्तैयस्तै ।
“जाउँला नि । गएपछि केही न केही त काम होला नि ।” यस उत्तरमा “मेरी जुलियट म तिमीलाई माया गर्छु । त्यसैले तिमीसँग छुट्न सक्दिनँ । म तिमीलाई बस स्टेसनको देउरालीसम्म पु¥याउन जाँदैछु ।” भन्ने उत्तर लुकेको छ । तर मभन्दा बढी चतुर यी केटीले मेरो कुरा बुझ्या हुन कि हैनन् ?
आफ्नै भूतकालका कुरा, परिवार, आफन्त, फलानो तिलानो, आफ्नो करियर आदि कुरा गर्दै दुवै जना अगाडि बढ्छौँ । सायद् कसैले देखे भन्नेछन् “वाह क्या मिलेको जोडी ।” अलिपर पुगिसकेपछि, “तपार्इंको काम होला फर्कनु ।” भन्छिन् ।
उनको आँखाले भने “आऊँनु आँऊनु” भन्दै थियो सायद् ।
“काम छैन । त्यै भएर त हिँडेको नि । यहाँ एक्लै झ्याउ लाग्छ । त्यसैले देउराली बजारतिर हिँडेको । ल तपार्इंसँग म हिँड्दा अप्ठरो लाग्छ भने तपाईं जानुस् म केही बेरपछि आऊँला ।”
“होइन होइन । मलाई पु¥याउनकै लागि हो भने र तपाईंको यहाँ काम छ भने नजाँदा पनि हुन्थ्यो भनेको ।” उनको मनोविज्ञान म सजिलै बुझ्छु । हितैसी साथी भैसकेका हामी तर बेला बेलामा घुर्की पनि चल्न थालेको थियो ।
अगेरा बगेरा गफ गर्दै बाटो लाग्छौं ।
देउराली नपुग्दै दर्केर पानी पर्छ । उनी झोलाबाट छाता निकाल्छिन् अनि ओड्िछन् ।
“तपार्इं भिज्नुभयो । अब के गर्ने ? अर्को छाता पनि छैन । मैले नआउनुस् भनेको हैन ?” उनी के भन्दैछिन् ? पानी पर्नु गलत थियो कि ? म उनलाई बस स्टेसन पु¥याउन आउनु गलत ?
म कन्फ्युज्ड भएँ ।
“यो छाता दुवैले ओढ्न नि हुन्थ्यो । बाटो साँघुरो छ । तलतिर भीर छ ।” फेरि फत्फताइन् ।
अझ भनौँ घुर्की देखाइन् । मिठो गफैगफमा आएका हामी पानी परेपछि गफ गर्न सकेनौँ । त्यसैले आधाभन्दा बढी बाटो कटे पनि बाटो धेरै लामो लाग्यो ।
बल्ल देउराली बजार आइपुग्यो । गाडी जान तयार नै थियो । पुग्ने बित्तिकै उनी गाडीभित्र छिरिन् । म पनि छिरँे । उनी सिटमा बसेपछि “ल, राम्रोसँग जानु होला शुभयात्रा ।” भनेर फर्केँ । फेरि मलाई हेर्दै उनी फत्फताइन् “नआउनु भन्दाभन्दै आएर बेकार पानीले चुटेर बिजोक ।” म मुस्कुराउँदै गाडीबाट निस्कन्छु । फेरि गाडीलाई फन्को लाउदै उनी बसेको झ्यालनेर पुगेर भन्छु “पुगेपछि फोन गर्नुुहोला ।”
“ल ल कति पानीमा भिज्न मन लाग्या ? छिटो मास्तिरको पसलमा ओत लाग्नु ।” सायद् म भिजे पनि उनलाई चिसोले छोएछ । मेरो पिडामा उनलाई दुख्छ सायद् । म पसल घरतिर जादिनँ, किनकि त्यहाँबाट उनलाई देखिन्नथ्यो । म अलिपर गएर उनलाई हेर्दैछु । उनी मलाई हेरेर फेरि इसारा मै गाली गर्दैछे । “पानीमा भिज्नु न । भरे चिसोले गानो नदुखाए त ।”
झरी उही दरमा पर्दैछ, तैपनि गाडी अगाडि बढ्यो बिस्तारै । नामै त हो गाडी, बढ्यो अगाडि । म उनलाई बाई बाई गर्दैछु । उनी मलाई हेरेर हाँस्दैछिन् । म उनको बोली नसुने नि उनको मुख चलाइलाई बुझ्छु । उनी भन्दैछे “पागल ।” म पनि हाँस्दै “टाटा” गर्दैछु । अहँ ! उनले “टाटा” गर्न हात हल्लाइनन्, अघि गाडी भित्रै पुगेर सिटसम्म पु¥याएर फर्कदा “धन्यवाद्” सम्म भनिनन् । उनी निष्ठुरी हो कि वा म धन्यवाद्को लायक भइनँ सायद् । त्यसै त धन्यवाद् पनि माँगेर लिनुपर्ने ठाउँमा छु । हात हल्लाउनुको साटो उनले नाक मुख खुमच्याएर मलाई जिस्काइन्...। सानो बच्चाझँै म छक्क परें । सायद् उनी मेरो उनी नभएर प्यारी छोरी पो थिइन् कि ? क्याहो ?
अब गाडी बढ्यो । साँच्चै अगाडि बिस्तारै मेरो मुटुको धड्कन पनि गाडीको वेगसँगै बढ्दै थियो सायद् । मेरो मुटु भन्दै थियो –मलाई तलार्इँ उनीसँग प्रेम भएछ । ......पानी पनि बस्यो । म यो देउराली बजारमा एकछिन पनि बस्न सक्दिनँ । उनलाई काम छ हुन्छ भने पनि मेरो केही काम थिएन । त्यहाँ काम थियो त उनीलाई पु¥याउने र दुईचार गफ गर्ने । दिक्क लाग्दै फर्कन्छु । बल्ल पो पानीले भिजेको महसुस भयो । यो झरी सायद् सधैँ याद् रहनेछ मलाई । सायद् उनलाई पनि । जब यस्तै झरी पर्छ र म एक्लो हुन्छु । गुनगुनाउने छु । यसकुमारको गीत
“धेरै वर्षपछि यस्तै झरी प¥यो
तिमीलाई नै सम्झेर होकी ।
हाँस्दा हाँस्दै आँसु झ¥यो....... ”
अनि उनको याद्मा हराउँछु ।
मनमा हिउँ जम्छ । चिसो चिसो ।
आँखा रसाउँ छ । बरर बरर ।
ओख्रेनी, रामेछाप ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 19 भाद्र, 2071

लेखकका अन्य रचनाहरु