विचित्र मुलुकको विचित्र अनुभूति

- छविरमण सिलवाल

२०४० सालमा कथाका माध्यमबाट नपाली साहित्यमा प्रवेश गरेका चन्द्रप्रसाद भट्टराईका ‘सहयात्रा’ कथासङ्गह र ‘प्रशान्तका छालहरुमा मेरो नेपाल’ नियात्रासङ्ग्रह प्रकाशित भएका छन् । र, अर्को नियात्राको पुस्तक भर्खरै प्रकाशनमा आएको छ, ‘अनौठो मुलुक अनौठो अनुभूति’ । दक्ष्ोिणी प्रशान्त क्षेत्रको सुन्दर देश पपुवा न्युगिनीको अर्थ मन्त्रालयमा अन्तर्राष्ट्रिय सल्लाहकारका रुपमा चार वर्ष कार्यरत रहँदाका आफ्ना अनुभूतिहरुलाई ‘अनौठो मुलुक अनौठो अनुभूति’ पुस्तक मार्फत प्रस्तुत गरेका छन् । यात्रा साहित्य भनेकै विभिन्न स्थानहरूको भ्रमण अवलोेकन गरेर त्याहाँका सत्यतथ्य कुराको जानाकारी दिनु नै हो । नयाँ ठाऊँमा पुग्न नसकेका व्यक्तिहरूको लागि यस्ता जानकारीमूलक पुस्तक पढेर नै मनोरञ्नजनका साथै जानकारी लिन सकिन्छ ।
हालका दशकमा यात्रा साहित्य निकै लोकप्रिय विधाको रूपमा रहेको छ । थुप्रै पुस्तकहरू प्रकाशन भए पनि राम्रा र पठनीय कृतिको भने कमि महशुस भैरहेकै छन् । पाठकलाई भ्रममा पार्ने साहित्यले समाजमा उन्नती हुनुको साटो उधोगति तर्फ डो¥याइरहेको हुन्छ । एउटा सचेत पाठकले नै राम्रो नराम्रो छुट्याउन सक्छ । हालका व्यस्त समयमा लेखकका अनेकन गन्थनमन्थन सुन्ने फुर्सद कसलाई पो हुन्छ र ? त्यसैले लेखक पनि सचेत भएर लेख्नु पर्ने समय आएको छ । राम्रा र उत्कृष्ट सिर्जनाहरूको माग युगौंयुगसम्म उस्तै रहन्छ, सबैले मन पराउँने गर्छन् नै । र, यस्ता लेखकहरू सम्मानका पात्र बन्ने गर्छन सदियौंसम्म । यस्तै विषयहरुलाई मनन गरेर नै पाठकको रुचिलाई मध्यनजरमा राख्दै चन्द्रप्रसाद भट्टराईले ‘अनौठो मुलुक अनौठो अनुभूति’ पुस्तक प्रकाशनमा ल्याएका छन् । सधैं लेखनमा फरक भएर प्रस्तुत हुन रुचाउँने भट्टराई संख्यात्मकतामा भन्दा गुणत्मकतामा वढि केन्द्रित छन् । लेखनमा कलात्मकताका साथै भौगोलिक, सांस्कृतिक, राजनीतिक, ऐतिहासिक भाव चेतनाहरूलाई मुख्यरूपमा चित्रण गरेकाछन् आफ्ना नियात्रामार्फत ।
यात्रामा देखेका भोगेका, भोगाईहरूलाई संस्मरणात्मक रूपमा वर्णन गरेका छन् । उनको पछिल्लो यात्रासंस्मरणको पुस्तक ‘अनौठो मुलुक अनौठो अनुभूति’ भित्रका यात्रा संस्मरणमा डुबुेल्की मार्ने कोशिस गरिरहेको छु म पनि । पुस्तक मार्फत भए पनि पपुआ न्युगिनीको भ्रमणमा रमाइरहेको छु । उनी जहाँ पुग्छन् त्याहाको माटोलाई प्रेम गर्छन्, त्यहाँको समाजसंग घुलमिल गर्छन् । स्थानिय वासिन्दासंग धेरै जानकारी बटुल्छन्, उनीहरुलाई नै साथी बनाएर उनीहरुको घरमा बस्छन् । त्यसैले उनको पुस्तक आम पुस्तक भन्दा फरक भएको छ । विवरणत्मक भन्दा त्यहाँको सामाजिक चित्रणलाई गहन रुपमा लेखेका छन् । विदेश होस वा स्वदेश बन्धुबान्धवको मायामोह र, मनाविय संवेदनाको संवेगलाई सधैं आफ्नो काब्यमा अग्रणी स्थान दिन सफल भएका छन् ।
पुस्तक भित्र डा.तारानाथ शर्मा लेख्नु हुन्छ ः–‘मानवजीवनका सशक्त, जीवन्त र रमाइला प्रस्तुतिले पूर्ण यो भट्टराईकृत भाषैभाषाले भरिएका भूस्वर्गको भ्रमणवृत्तान्त अरुतिर कतै पनि नपाइने, छक्कै पार्ने र पत्याउनै गाह््रो पर्ने तथ्यहरुमध्ये पपुआ न्युगिनीका जनताले केही वर्षअघिसम्म पनि मानिसहरुको मासु एकचाख मानीमानी खान्थे भनेजस्ता अनेकौ अनौठा, अद्भुत र आङै सिरिङ् पार्ने कुराहरुका वर्णनले पढिरहूँ र पुस्तक नसिध्याई उठ्तै नउठूँजस्तो लाग्ने यस नियात्रात्मक ग्रन्थको प्रकाशन हाम्रो नेपाली साहित्यको अवश्य पनि अमूल्य उपलब्धी हो ।’
एउटै देश एउटै नगर जहाँ भाषा, संस्कृति फरक फरक रहेको अनौठो मुलुक रहेछ पपुआ न्यूगिनी । साना देखि ठूलासम्मको एउटै खाना सखरखण्ड । आफ्नो भाषाप्रतिको स्नेह र धेरै सस्कृतिको धनि रहेछ । तर त्यहाँ भै रहने सानोतिनो दङ्गा र झगडाले कहिले काहीँ ठूलै रुप लिने रहेछ । लेखककै अफिसबाट ल्यापटप हराएको र आफैले चढ्दै आएको गाडी आफ्नै आँखै अगाडिबाट हराउँदा नमज्जा लागेको प्रसंग पनि यहाँ प्रस्तुत गरिएको छ । पचासवर्ष अगाडिसम्म त्यहाँका वासिन्दाहरुले मान्छेको मासु खाएको र मान्छेको मासु खाने व्यक्तिलाई भेटेर गरिएको वार्ताले पुस्तकलाई सजिव बनाएको छ । पुरुषहरुले जे शिकार गरेर ल्याएपनि खुशि नहुँने महिलाहरु मान्छेको शिकार गरेर ल्याउँदा खुशि हुने र सबै रमाएर मनोरञ्जन गर्ने परम्परा रहेको कुरा एक जना जिवित व्यक्तिबाट सुनेर पुस्तकमा उल्लेख गरेका छन् । उनीहरुको नाममा पनि निकै फरक र अचम्म लाग्दो प्रसंङ्ग सुन्दा लेखक आफै रमाएको कुरालाई हेरौं ः–‘एक दिन एक जना स्थानिय गाऊँले मलाई भेट्न अफिसमै आएका थिए । उनको नाम थियो ‘काग’ । नाम सुनेर एकछिन आश्चर्य पनि लाग्यो, दोहो¥याएर सोधें । थर जान्न मन लाग्यो, त्यो पनि सोधें । उनले भन्न पाएका थिएनन्, मलाई हाँस उठ्यो । थर रहेछ ‘कुट्ने’ उनको पुरा नाम ‘काग कुट्ने’ थियो । त्यति परको देशमा हाम्रै शब्दहरु पुगेका त अवश्य होइनन् होला । उनको नाम सुन्दा एकछिनलाई भने खुब रमाइलो मानें ।
नेपालीहरु प्रायः कमै पुग्ने पपुआ न्युगिनीमा केही नेपालीहरु कुटनितिक नियोगका र केही अमेरिका जाने सपना बोकेर दलालको फन्दामा परेर उन्थनिएका रहेछन । जे भए पनि एकदम कम थिए नेपालीहरु । संयोगवश पुगेका भट्टराई लेखक भएकै कारणबाट त्यहाँको बारेमा जासो राख्नु र त्यसलाई लिपिवद्ध गरेर पुस्तक प्रकाशन गर्नुका साथै पाठकलाई नयाँ तथा नौला मुलुकमा पुस्तक पढेरै घुमाउने प्रयत्न गर्नु एउटा सार्थक पक्ष मान्नु पर्छ । उनले त्यहाँका एक जना लेखक सर पलिअस मटानेलाई भेटेने मौका पाए । मटानेका प्रसंङगलाई पनि पुस्तकमा उल्लेख गरेका छन् । हेरौं उनका केही प्रसंङ्गहरु–‘पहिलो अढाई वर्ष बसेर नेपाल फर्केको म झण्डै एक वर्षपछि फेरि पपुआ न्युगिनी गएँ । त्यस विचमा ँत्यहाँको संसद्मा राष्ट्राध्यक्षको चुनाव भएछ । म पुग्दा त सर पलिअस मटाने राष्ट्राध्यक्ष पो भएका रहेछन् । पोर्टमोस्बी पुगेकै रात होटलमा टेलिभिजनबाट समाचार हेर्दा उनलाई त्यस रुपमा देखेर म खुव उल्लसित भएँ । आफ्नो देशको माटो र मुटुप्रतिको मटानेको गहिरो प्रेमसँग म राम्ररी परिचित भएसकेको थिएँ । विकास त्यस देशले गर्छ, जहाँ आफ्नो माटो र मुटुलाई माया गर्ने ब्यक्ति नेतृत्वमा पुगेको हुन्छ ।’ ज्वालामुखी विस्फोटले हरियाली शहरलाई आक्रन्त बनाएको स्थानमा पुगेर लेखेका कुाराहरु, त्यहाँका अनौठा रितिरिवाज, चालचलन र सास्कृतिक पर्वहरु अति नै अनौठा र उदेकलाग्दा रहेछन् । पुस्तक पढेर धेरै कुराको जानकारी पाइन्छ । उत्कृष्ट प्रकाशनको पहिलो केसेलीको रुपमा आएको ‘अनौठो मुलुक अनौठो अनुभूति’ पुस्तकले यात्रा साहित्यलाई नयाँ मोड प्रदान गरेको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 6 भाद्र, 2071

लेखकका अन्य रचनाहरु