सकारात्मक चेतनाको आवाज: ज्ञान सिन्धु

- राजेन्द्र पहाडी

‘दुई बारको’ जीवन सार्थक, समुन्नत, सुललित, सुरम्य, शान्त, समृद्ध, सकल र सबल बनाउने इरादा कसलाई नहोला र ? अधिकांशको चाहना हुन्छ आफू सम्बद्ध सबै कुरा ठीकठाक चलोस् । धन, सम्पत्ति, मान, सम्मान, पद, मर्यादा र सबै खाले शान शौकत भलीभाँती भएको देख्न चाहानु औसत मानव स्वभाव नै हो । परन्तुः चाहनालाई प्राप्त गर्ने बहाना पृथक–पृथक व्यक्तिका भिन्दा–भिन्दै भएको पाइन्छ । कोही इमान्दारीपूर्वक कथनी अनुरुपको करनी गर्दछन् भने कोही छलकपटपूर्ण तरिकाले बोल्ने एक थोक गर्ने अर्कै थोक गर्दछन् । तथापि जुग जुगलाई स्तुत्य र स्मरणीय हुने मार्ग भनेको सदाचार, सतविचार, सतकर्म र सकारात्मक दृष्टिबिन्दु सहितको फराकिलो मार्ग नै हो ।

बाटो बिराउन खोजेकालाई झस्काउँने, बिराइसकेकालाई सतमार्गमा डो¥याउने काम भनेजस्तै सहज हुँदैन । अवस्था बिग्रीसकेपछि ‘ज्या’ भन्नुभन्दा बिग्रनै नदिनु बुद्धिमानी हो भन्ने हाम्रो परम्परागत कथनी नै छ । आफू पनि सज्जन बन्ने र बाँकी दुनियालाई पनि सदाचारी, सादगी र निष्कपट बन्नका लागि उद्देलित गर्ने काम सबैबाट सहजै फत्ते हुन सक्दैन । यही जोखिमपूर्ण काममा कदम उठाएकी छन् बह्माकुमारी ताराले आफ्नो पुस्तक ‘ज्ञान सिन्धु’ मार्फत । सरसर्ती नजर लगाउँदा जिन्दगीको वास्तविक उज्यालोले आलोकित गरेको बाटोमा हिँड्नलाई सतत् आव्हान गर्ने एउटा लेखकीय जमर्को हो ‘ज्ञान सिन्धु’ ।

‘ज्ञान सिन्धु’ लेखिकाको विशिष्ट जीवन अनुभव, आध्यात्मिक साधना, अविश्रान्त अभ्यास, अविचलित अध्ययन र अनेकानेक प्रवचनमयी अवसरको योगको रुपमा प्रकाशनमा आएको पुस्तक हो । पुस्तकको प्रकाशकीय बन्दोबस्त ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र, पश्चिम नेपाल, पोखराले गरेको हो ।

लामा–छोटा गरी जम्माजम्मी ३५ वटा आलेखहरु समेटिएको यो सङ्ग्रहभित्र यो वा अर्को कोणबाट व्यक्तिलाई सत्य, न्याय, समभाव, शुभभाव र सर्वजन हितायको पक्षमा लाग्न हार्दिक आव्हान गरिएको छ । मानव चोलाको सार्थकता सत्यम्, शिवम् र सुन्दरम्को प्राप्तिमा छ भन्ने तथ्यलाई यसमा अनेकौं उदाहरण र घटनावलीको सहयोगमा प्रष्टाइएको छ । वस्तुतः मूल्यनिष्ठ समाज र मूल्यग्राही मानवजनको परिचय भनेकै सत्य, ज्ञान र सो अनुकुलको असल आचरण नै हो । यसो भएकाले पनि हरेक मनुश्यले ‘जीवमा शिव’ पहिल्याउने कर्म गर्ने पर्ने आग्रह प्रस्तुत पुस्तकका रचनाहरुमा यत्रतत्र पाइन्छ ।

व्यक्तिको अजस्र महत्ता त्यतिखेर मात्र देखिन्छ जव उसको कर्म र बाणीमा एकरुपता हुन्छ । चिन्तन, सोचाई, कर्म र प्राप्तिका बीचको सामञ्जस्यता तथा उच्च वैराग्यबाट मात्र मनुश्य जगतले बोधिसत्व प्राप्त गर्न सक्ने तथ्यलाई आलेखहरुले घच्घचाउने प्रयास गरेकाछन् । वियोग होइन, बरु योगका माध्यमबाट जन्मलाई सार्थक बनाउन सकिने सुक्ति सुझाइएको छ । परिस्थिति जे जस्तो भए पनि मनस्थिति बदलेर अनुकुलन हुन सक्यौं भने मात्र जीवन र जगतलाई वास्तविक रुपमा बोध गर्न सकिने यथार्थ दर्शन प्रस्तुत पुस्तकका पाना–पानामा भेट्टाउन सकिन्छ ।

हाम्रा चाडपर्व, तिनको साँस्कृतिक तथा व्यवहारिक मूल्य एवम् हाम्रो मनोवृत्तिलाई सच्चाईका आधारमा विश्लेषण गरिएको छ कतिपय निबन्धहरुमा । होली, तीज, दशैंजस्ता चाड्पर्वको धार्मिक, आध्यात्मिक, सामाजिक, आर्थिक र मानवोचित उपादेयताका पक्षमा सविस्तार चर्चा परिचर्चा गरिएको छ । यसका अलवा आजको समयमा शिक्षा, स्वास्थ्य आदिका क्षेत्रमा देखापरेका प्रवृत्तिहरुलाई औल्याउँदै मानव जीवनलाई साँच्चिकै सुखमय बनाउन कुन दिशामा अघि बढ्नुपर्ने हो भन्ने बारेमा विस्तारपूर्वक चर्चा गरिएका आलेखहरु पनि यस पुस्तकमा अटेका देखिन्छन् ।

वर्तमान मानव समाज हामीले अपेक्षा गरेजस्तो सपाट, निश्कलङ्क, शान्तिमय र निखुट पक्कै छैन । हामी रहे बसेको समाजमा अनेक खाले विकृति, विसङ्गति, कुसंस्कृति, कुरिति र कुसंस्कारको थुप्रो लागेको अवस्था छ । यी विसङ्गतीका सर्जक अरु कोही नभएर हामी मनुश्य र हाम्रो मैमत्तापन हाबी भएको मनोवृत्ति नै जिम्मेवार छ । यो वा अर्को ढंगले अपसंस्कृतिको मुहान हामी भित्रै छ । तसर्थ सृष्टिको सुन्दरतालाई कुरुपता नदिनका लागि सविनय अनुरोध गरिएका लेखहरुको प्रचुरता छ यस सङ्ग्रहभित्र । सृष्टि एकै भएपनि दृष्टिमा पाइने भेदलाई पनि सम्मान गर्दै सच्चाई पग्रेल्ने मार्गमा लाग्दा नै सबैको कल्याण हुने कुरामा लेखिकाका तर्कहरु सबल ढंगले प्रस्तुत भएकाछन् ।

पछिल्लो समयमा आधुनिकता, पश्चिमाकरण तथा परसंस्कृति ग्रहणका नाममा अन्यौलग्रस्त बन्न पुगेको समाजको बेढंगी चित्रले लेखिकालाई दिक्क बनाएको छ । अनीश्वरवादी प्रवृत्ति, अनैतिक जीवनवृत्ति, विधि विहीनता, हत्या, हिंसा, अराजकता, पापाचार, दुराचार, भ्रष्टाचार, अहंकार, भोगवाद, शोषण, अन्याय, अत्याचार, बेविचार, घमण्ड, रिस, राग, द्वेष, इश्र्या, बदलाको भावना, छाडातन्त्र जस्ता नकारात्मक परिदृश्यले उनलाई भित्रैदेखि उकुसमुकुश भएको छ । तसर्थ लेखिकाको सादर आग्रह छ पाठकहरुका लागि ‘मानव जीवनको अत्याधिक लाभ लिंदै भोगीबाट योगी बन्ने प्रयास गरौं ।’

दिन प्रतिदिन कृतिमताको दास बन्दै गएको मानव समुदायलाई दृष्टिगोचर गर्दा उनका मनमा छटपटी चलेको अनभूत हुन्छ उनका निबन्ध पढ्दै जाँदा । अनावश्यक फेसनको प्रतिष्पर्धा, मानवीय सम्बन्धमा आएको कटुता, नैराश्यता, कुण्ठा र बैरभावले मानवजाती झन्भन्दा झन् विश्रृङ्खलित भएको देखेर उनी स्तब्ध हुन्छिन् । अतिइन्द्रिय सुखका लागि मानिस अतिशय पाखण्डी बन्दै गएको कुराले उनलाई नराम्रोसँग पिरोलेको छ । त्यसैले उनको अभिमत छ यदि हामी जीवनमा खुशहाल भित्राउन चाहान्छौं भने हामीमा प्रेम, भाइचारा, बन्धुत्व, पारस्परिक सद्भाव, सहयोग र सह–अस्तित्वको भावना हुनै पर्दछ । उनी सुझाउँछिन्– ‘मानव जीवनमा अमर रहने रङ्ग भनेका आत्मिक प्रेम र परमात्मिक प्रेमको रङ्ग हो ।’ उनको विचारमा यदि मानवले चाह्यो भने आफ्नो विचारलाई संयमित र सकारात्मक बनाई जीवनलाई परमात्माको वरदान बनाउन सक्दछ । उनको रायमा असल चरित्र नै मानवको सर्वोत्तम औजार हो । उनी भन्छिन्– ‘धार बिनाको हतियार र चरित्र बिनाको जीवन मूल्यहीन हुन्छ ।’

वर्तमान समयमा बढिरहेको मानव मूल्यहीनतालाई कम गरी आदर्श मानव समुदाय सिर्जना गर्न शिक्षाले महत्वपूर्ण भूमिका खेल्न सक्ने बारेमा लेखिकाले आफ्ना विचारहरु राखेकी छन् । उनको समझमा शिक्षाको परम उद्देश्य मुक्ति दिलाउनु हो । भयदेखि मुक्ति, अनुमान तथा कल्पनाबाट मुक्ति, मानसिक बन्धनबाट मुक्ति, चिन्ताबाट मुक्ति, अन्धविश्वासबाट मुक्ति आदि शिक्षाका प्रधान उपागम बन्नुपर्दछ भन्ने उनको तर्क छ । अँध्यारो कोठामा जसरी एउटा दियोले उज्यालो छर्दछ त्यसरी नै शिक्षारुपी दियोले अज्ञानतालाई चिरेर व्यक्तिलाई ज्ञानको मार्गमा लैजानुपर्दछ भन्ने उनको अपेक्षा रहेको देखिन्छ । प्रज्ञाले असहजतालाई सहजतामा, अप्ठ्यारोलाई सप्ठ्यारोमा, अन्यायलाई न्यायमा र प्रतिकुलतालाई अनुकुलतामा रुपान्तरण गर्ने सार्मथ्य प्रदान गर्ने तथ्यमा उनको विश्वास छ ।

लेखिकाको विचारमा मानव मूल्य हरेक व्यक्तिको अनिवार्य गहना हुनुपर्दछ । निष्ठा, इमान्दारिता, आत्म गौरव, स्वाभिमान र वैयत्तिक अस्मितालाई बाजी राखेर मनपरी गर्नुको कुनै अर्थ नहुने उनको तर्क छ । वनावटी वा कृतिम चित्रलाई देखाएर होइन, बरु चरित्रका माध्यमबाट दुनियालाई प्रभावित गर्नु श्रेयष्कर हुने उनको सोचाई रहेको देखिन्छ । उनका अनुसार मानव मूल्य भन्नाले हर्षितमुख, गम्भीरता, धैर्यता, सरलता, पवित्रता आदि हुन् जुन मानिसले जीवनमा अवलम्बन गर्दछ, जसले जीवन सुरम्य बन्दछ ।

लेखिकाले आफ्ना कतिपय आलेखहरुमा स्वधर्मको जर्गेना गर्नुपर्ने पक्षमा वकालत गरेकी छन् । हरेक व्यक्ति स्वधर्मको पालनबाट मात्र अनन्त सन्तुष्टि प्राप्तिको दिशामा अघि बढ्न सक्ने हुन्छ भन्ने उनको दलिल छ । उनले एक निबन्धमा व्यक्तिको समग्र चरित्रबारे रोचक ढंगले प्रस्तुत गरेकी छन्– ‘व्यक्तिमा आँपको जस्तो व्यक्तित्व हुनु हुँदैन जुन बाहिर नरम छ तर भित्र कडा छ, नरिवल जस्तो व्यक्तित्व पनि राम्रो हुँदैन जुन बाहिरी रुपमा कडा छ तर भित्र नरम छ । केरा व्यक्तित्व हुनुपर्दछ जुन भित्र पनि नरम छ र बाहिर पनि नरम अर्थात भित्र बाहिर समान छ ।’ स्थिर तन र स्थिर मनको संयोजनबाट नै लक्ष्य उद्देश्यमा पुग्न सहज हुने कुरामा लेखिकाको जोड रहेको छ । व्यक्तिले ‘म को हुँ ?’ भनी पहिचान गर्न पनि स्थिरता आवश्यक पर्ने उनको मत रहेको छ । उनी लेख्छिन्– ‘जसरी स्थिर पानीमा हेर्दा पानी भित्रको दृश्यलाई छर्लङ्ग देख्न सकिन्छ त्यसै गरी चञ्चल मनले स्वयं भित्रको वास्तविक रुपलाई देख्न सकिंदैन, त्यसको लागि स्थिर मन चाहिन्छ ।’

मूलतः मनुश्य जीवनलाई सार्थक बनाउने उपाय भनेको आध्यात्मिक मार्ग नै हो भन्ने लेखिकाको निश्कर्ष रहेको छ । आत्मा र परमात्माको गठजोडबाट विशेष खालको प्रज्ञाको अवस्थामा पुग्न सकिने गुह्यको उनले उद्घाटन गरेकी छन् । शस्त्रको माध्यमबाट होइन कि शास्त्रका माध्यमबाट नै जीवनमा परम आनन्दको सञ्चार हुनसक्छ भन्ने कुरामा लेखिका विश्वस्त देखिन्छिन् । सृष्टीको सर्वश्रेष्ठ प्राणी भैकन पनि सबै भन्दा दुःखी र चिन्चित बन्न पुगेको मानिसको हालत देखेर खट्पटी भएको छ उनलाई । धन, दौलत, इज्जत, प्रतिष्ठा र मान–सम्मान प्राप्तिका हेतु मानिसले आफ्नो गरिमा र स्वत्वलाई च्वाट्टै बिर्र्सिएको देखेर उनलाई पीडाबोध भएको अनुमान गर्न सकिन्छ । अनवरत साधना र समर्पणका माध्यमबाट साध्य प्राप्तिमा लाग्न उनले जोड दिएकी छन् आफ्ना सिर्जनाहरु मार्फत । ध्यान, ज्ञान, बुद्धि र विवेकको सही प्रयोगले नै सांसारिक दुःखको दुष्चक्रलाई तोड्न सकिन्छ भन्ने उनको मत छ । यसैले उनले निर्धक्क सुझाएकी छन्– ‘हामीले अहंकारले होइन अलंकारले र बाहुबलले होइन योगबलले जीवनको लडाईँ जित्नु पर्दछ ।’

समग्रमा ‘ज्ञान सिन्धु’ चिन्तन, विचार, सिद्धान्त र मानव दर्शनले भरिएका बौद्धिक खुराकहरुको अब्बल दस्तावेज हो भन्न सकिन्छ । यसले पाठकलाई सकारात्मक सचेतनाको सन्देश सम्प्रेषण गर्न चाहेको कुरा निश्चित छ । यस पुस्तकमा समाविष्ट आलेखमा रहेका दृष्टिकोण र भावनाहरुलाई यथोचित मनन गर्ने र व्यवहारमा कार्यान्वयनको प्रयास गर्ने हो भने सभ्य, शान्त र भव्य समाज व्यवस्थाको स्थापना टाढाको कुरा हुनै सक्दैन । लेखिकाको विषयप्रतिको सोचपूर्ण, खोजपूर्ण, इमान्दार र गहन प्रस्तुतिले सबैजशो आलेखहरु पठनीय तथा मननीय बनेका छन् । आगामी दिनमा पनि लेखिका ब्रह्माकुमारी ताराको लेखकीय यात्रा अनवरत अघि बढिरहन सकोस् । अनन्य शुभकामना तथा आत्मिक शुभभावना । इति ।

कृति ः ज्ञान सिन्धु
विधा ः आध्यात्मिक लेख संग्रह
लेखिका ः ब्रह्माकुमारी तारा
प्रकाशक ः ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र, पश्चिम नेपाल, पोखरा
पृष्ठ ः १२०
सेवा शुल्क ः १०५।–
प्रथम संस्करण ः २०७०

शिवालय बहुमुखी क्याम्पस, कुश्मा, पर्वत

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 6 भाद्र, 2071

लेखकका अन्य रचनाहरु