कविको घर

- युवा बराल ‘अनन्त’

उसका आँगनभरि अक्षरका चल्लाहरु चिल्बिलाइरहेका छन्
उसका सिकुवातिर झन झन अटेरि गर्दै लहसिन्छन्
थुप्रै परेवाहरु…
हच्काएर कहाँ हच्किन्छन् र !

साँझपख गुँड़ खोज्दै पुन: छिल्बिलाउँछन् ती चल्लाहरु
उसरी नै ती परेवाहरु घुर्दै कविको आश्रय माग्छन् ।

कविको घर !
कलमको सिह्रानी
पन्नै पन्नाको ओछ्यान ।
पल्टाएर सुत्छिन् कविकी श्रीमती कविको बेस्याहार कविता

शब्दका मुलायम हातहरुले केश सहलाउन चाहँदै
एकपल्ट अनुनय गर्छिन् उनी
कविता मीठो कि म ?

बिहानी पख कविका बालबच्चाहरु उड़ाउदै गरेका हुन्छन्
कविता रचिएका पन्नाहरुको पुतली !
घरको बलेंशीमा उभिएर…

परेवा अक्षरका, चिङ्गना शब्दका, चारो मागिरहेका निरीह माथि
कविकी अर्धाङ्गनी झटारो हान्दै गरेकी भेटिन्छिन्
एकाबिहानै अभावको अगुल्ठोले ।

अझ थपिन्छन् कविका घरमा उसका शुभचिन्तकहरु
जुरेली रुपी अनि कल्चुँड़ाहरु
क्ररेसा बारी अनि घुरेनभरी चिर्बिराउँदै अपुगहरु ।

शरीर एकातिर मन अर्कोतिर उछिटिएकोको बेला
काम गर्ने पातलीले बड़ारेर कहाँ हुत्याइदिन्छे
कविको अधकल्चो भावना ।

डोकोमा दुहीरहन्छ कवि, भाग्यको कविता
उत्तरदायित्वको बिरालोले चालै नपाई चाटिसकेको हुन्छ
उसको अलिकति पग्रिएको लाग्ने दिमाग ।

भावहरु अभावको गाली सुनेर एकातिर तर्सिन्छन्
विचारहरु कर्तव्यबोधको भारीले थिचिन्छन् अनि
उसको मनको धुरीबाटै हच्किएर उड़िजान्छन् ती परेवाहरु ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 6 भाद्र, 2071

लेखकका अन्य रचनाहरु