"आनन्दभूमिको आँगन" पढिसकेपछि मनमा लागेका कुरा

- सिरुखर्के जेठा

मलेसियाको राजधानी क्वालालम्पुरमा यहाँका साहित्यिक संघसंस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको आदिकवि भानुभक्त आचार्यको द्वीशतवार्षिकी समारोह तथा मलेसियाव्यापी खुला कविता प्रतियोगितामा सहभागी बन्ने अवसर पाएँ । कार्यक्रम सकिनासाथ केही साथीहरु मिलेर गजलकार साथी दिप दर्शनलाई त्यहाँबाट झण्डै–झण्डै अपहरणको शैलीमा निकाल्यौँ र उनी बसेको होटेलमा पु¥यायौँ । त्यसो गर्नुको एउटै कारण थियो– उनी विदामा घर गएर भर्खर फर्केका थिए र नेपालबाट किताबहरुको भारी उनीसँग आइपुगेकोछ भन्ने समाचार हाम्रो कानमा परेको थियो ।

होटेलमा पुगेपछि देख्यौँ, केही किताबहरु मात्रै बाँकी थिए । सबै हातहातै कताकता पुगेछन् । तर हामीले अपेक्षा गरेका दुईओटा किताबचाहिँ त्यहाँ सलामत अवस्थामा थिए । एउटा कवि रमेश सायनको ‘भागेर भूगोलभरि’ र अर्कोचाहिँ साहित्यकार प्रतीक ढकालको नियात्राकृति ‘आनन्दभूमिको आँगन’ । भागेर भूगोलभरिको पाठकीय टिप्पणी कुनै दिन अवश्य गर्ने नै छु । यसपटक भने आनन्दभूमिको आँगन पढेपछि एउटा पाठकलाई मनमा लागेका केही कुरा लेख्न गइरहेको छु । यो समालोचना हैन केवल पाठकीय टिप्पणी मात्रै हो ।

परिचित गाताचित्र देखा प¥यो । केही दिनअघिदेखि नै सामाजिक सञ्जालहरुमा देखिँदै आएको गाताचित्र । त्यो थियो आनन्दभूमिको आँगनको । तर त्यो पनि अन्तिम एक प्रति मात्रै बाँकी रहेछ । कवि तथा गजलकार निश्चल परदेशी र मेरो त्यस पुस्तकलाई लिएर एकछिन तानातान नै चल्यो । उनले एकातिर समातेका थिए मैले अर्कोतिर । आखिर मैले हात उठाएँ । आनन्दभूमिको आँगन निश्चलको पोल्टामा प¥यो तर पालैपालो गरेर त्यस आँगनमा विचरण गर्न पाउनुपर्ने शर्तसहित । म पनि किन त्यति सजिलै हार मान्थेँ र !

हामी अर्थात् निश्चल र मेरो फर्कनुपर्ने स्थान एउटै थियो– शाह आलम । त्यसैले एउटै बस चढ्यौँ, ६५ नम्बरको ¥यापिड केएल । बसमा चढिसकेपछि मैले झल्याँस्स सम्झेँ– झोलामा ‘परिक्रमा अन्नपूर्णा’ राखेको थिएँ साथीभाईहरुलाई पढ्न दिनै भनेर । प्रतीक ढकालकै पोहोर साल प्रकाशित नियात्राकृति । दिउँसोको त्यो भीडभाडमा कसैलाई सोध्ने फुर्सद नै मिलेन । अहिले बल्ल निश्चललाई सोधेँ । ‘कहाँ पाएर पढ्नु नि ?’ भन्ने उनको प्रश्नसहितको जवाफ आएपछि लगभग हजार वाटको बिजुली मेरो दिमागमा चम्कियो । अनि त के थियो, केही क्षणमै परिक्रमा अन्नपूर्णा र आनन्दभूमिको आँगनले आ–आफ्ना वासस्थान साटिसकेका थिए ।

नियात्राकार प्रतीक ढकालको लेखनशैलीसँग म परिचित भएको धेरै समय भएको छैन । झण्डै छ–सात महिनाअघि शब्दहार क्रियसन्सका रमेश कँडेलले हुलाकमार्फत केही किताबहरु सशुल्क पठाइदिनुभएको थियो । जसमा मैले परिक्रमा अन्नपूर्णाको नाम टिपाउन भुलेको थिइनँ । जब मैले त्यो पुस्तक पढेँ, एकपटक पढेर धीत नै मरेन । पाठकलाई आफुसँगसँगै लिएर हिँडन सक्ने यी लेखकको विचित्रको खुबी रहेछ । आफु हिँडेका बाटोघाटो, पुलपुलेसा, गल्लीगल्छेँडा, उकालीओह्रालीको उनी यति सुक्ष्म र सजीव वर्णन गर्दारहेछन् कि पाठकलाई आफु पनि लेखकसँगै हिँडिरहेको जस्तो लाग्दो रहेछ ।

आनन्दभूमिको आँगन सुन्दर कलेवरमा प्रकाशित छ, यद्धपि मुद्रणमा अलि ध्यान पु¥याउन नसकेको हो कि जस्तो लाग्छ । तस्वीरैतस्वीरले सजिएको यो पुस्तक अलि राम्रो कागजमा छापिएको भए कति सुन्दर बन्थ्यो होला जस्तो पनि लाग्छ । तर भन्छन् नि, गाता हेरेर किताबको मूल्याङ्कन नगर्नू । यति खँदिलो किताब छापेर डिकुरा पब्लिकेसनले पनि नेपाली साहित्यलाई ठूलो गुन लगाएको छ ।

एक हप्ताको समय पाएको थिएँ मैले साथी राज अविरल यात्रीबाट । अर्थात् मपछि यसलाई पढ्ने पालो उनको थियो । त्यसपछि बल्ल निश्चलको । अनि त्यसपछि थाहा छैन अरु क–कसको पालो आउनेवाला थियो ? मलेसियामा नेपाली साहित्यिक पुस्तकको महत्व कति छ भन्ने त यसरी पनि थाहा लाग्छ । दर्जनौँ नाम चलेका प्रकाशन संस्थाहरु छन् काठमाडौमा तर कसैले पनि विदेशमा व्यवस्थित तवरले बजार व्यवस्थापन गर्न नसकेको या नचाहेको यथार्थ यस्तै दुःखलाग्दो छ ।

एक हप्ताको समय बढी नै थियो मेरो लागि । पढ्न सुरु गरेपछि रोकिनै मन नलाग्ने किताब पढि सिध्याउन किन पो एक हप्ता कुर्नुपथ्र्यो र ? परेन । १५ देखि २२ तारिखसम्म दोहो¥याएर पढेँ । कति प्रसङ्गहरु त तीनपटक चारपटक पनि पढेँ । विशेषगरि चीन भ्रमणको त्यो गर्विलो विवरण त पटक पटक पढेँ । सरोकारवालाहरुले चाहे भने नेपालको शीर संसारभर उच्च देखाउन कति नै बेर लाग्दो रहेछ र ? यदि राज्यले कुनै पनि देशमा कुनै पनि विषयमा प्रस्तुति दिन सक्कली विशेषज्ञहरुलाई अवसर दिने हो भने हिमालका ज्ञाता प्रतीक ढकालले चीनमा गएर त्यहाँका सरकारी उच्चाधिकारीहरुको बीचमा हाम्रा हिमालहरुको बारेमा दिएको ओजपूर्ण प्रवचनले देखाएको जस्तो सकारात्मक नतीजा आउन कहाँ ढिलो हुँदो रहेछ र ? तर के गर्ने, सत्ता र शक्तिमा रहनेहरुले विषयप्रति चासो र गम्भीर नभएका, केवल मनोरञ्जनको उद्धेश्य बोकेका आफ्ना नालनाताहरुलाई छानी–छानी विदेश भ्रमण गराउँछन् । अनि जनताको रगत पसिनाले सँगालेको राष्ट्रिय ढुकुटी रित्याउनेवाहेक तिनले के गर्न सक्छन् र ? अनि कसरी पो देश उँभो लागोस् । कसरी पो शानले भन्न सकियोस् दुनियालाई हो, म नेपाली हो भनेर ।

प्रतीक ढकालको यो नवीनतम कृति आनन्दभूमिको आँगन पढिरहँदा मैले उनको पुर्वप्रकाशित कृति परिक्रमा अन्नपूर्णामा जस्तै सरलताको निरन्तरता पाएँ । लेखक स्वयं सरलताको शक्तिप्रति सम्मोहित छन् र त्यसको छाया उनको लेखनीमा झल्कन्छ । मलाई यस्तै लाग्यो । उनको पठन क्षमताउपर मलाई कुनै शंका छैन । यसै पुस्तकमा पनि सँस्कृतका गहन शब्दावलीहरु उद्धृत गरिएका छन् । अरुले लेखेका थुप्रै रचनाहरु साभार टिपिएका छन् प्रसङ्गलाई थप फलवन्त र बलवन्त बनाउनका लागि । यसकारण उनी खूब पढ्छन् अनि आफुवाहेकका लेखकका कृति पनि पढ्छन् भन्ने प्रमाणित हुन्छ । तर जब उनको आफ्नो लेखनको ठाउँ आउँछ उनी पूरै सरलतामा बग्छन् । शब्द चयनमा कुनै–कुनै ठाउँमा केही क्लिष्टता अप्नाए पनि धेरै ठाउँमा चाहिँ उही परिचित शैली अर्थात् सरलता नै प्रयोग गरेका छन् । र यो प्रतीक ढकालले जानीबुझी गरेका हुन् जस्तो लाग्छ । किनकि एक ठाउँमा उनले सरलताको शक्तिबारे आफुले सुनेको देखेको प्रसङ्ग झिकेर उनी आफुु स्वयं सरलताको पछाडि लागेको झल्को दिएका छन् ।

कुरा शब्दाक्षरको मात्र हैन । यात्रा–क्रममा उनले अनुभूत गरेका, छोएका, देखेका यावत् विचार, वस्तु तथा दृश्यको वर्णन गर्दा जब उनी आफ्नो मनको कुरा नलुकाई ईमान्दारितापूर्वक राख्छन् तब उनी एउटा निर्दोष बालकजस्तै लाग्दछन् । तब पाठकलाई थाहा हुन्छ कि जति सरल लेखन छ प्रतीक ढकालको त्यो भन्दा पनि सरल उनको जीवनव्यवहार छ । उनले आफुलाई सरल देखाउन कुनै कसरत नै गरेका छैनन् र पनि उनको सरलता पाठकलाई राम्ररी थाहा हुन्छ । उनी यात्राक्रममै थुप्रै ठाउँमा रोएको, भावुक बनेको कुरा लेख्छन् अनि मनोविज्ञहरु भन्छन् जो रुन जान्दैन त्यो व्यक्ति कमजोर हो । र जुन मान्छे सानोतिनो कुरामा पनि रुन्छ सुखले होस् या दुःखले ऊ अत्यन्तै सरल प्रकृतिको हुन्छ । आनन्दभूमिको आँगन पढिरहँदा कतिपय ठाउँमा पाठकले लेखकसँगै उभिएर आँसु पुछिरहेको हुनेछ, दुःखको आँसु हैन बरु अतिरेक खुसीको आँसु । र कतै भने लेखक हाँसिरहेको हुनेछ पाठकचाहिँ रोइरहेको हुनेछ । जस्तो कि खप्तड यात्राको अन्तिम प्रहरको उदाहरण लिउँ । गन्तव्यमा पुग्न नसकी भोकभोकै लगातार हिउँ परेको रात एउटा टहरोमा बिताएर जब लेखक र उनीसँग गएका यात्रुदल त्यस समयको अन्तिम बिन्दुमा पुग्छन् तर त्यहाँ यात्रीहरुको सुरक्षार्थ बसेका सैनिकहरुले उनीहरुलाई पूरै वेवास्ता गर्छन् । डिलमाथि तातो चियाको गिलास समातेर लहरै उभिएका सैनिकहरुले ती हिउँमा कठाँग्रिएकाहरुलाई राम्ररी हेर्दा पनि हेर्दैनन् । गेटमा बसेकाहरु बोल्छन् तर स्वचालित यन्त्रजस्ता । सम्वेदनाहीन, भावनाशून्य । लेखकको ठाउँमा म भएको भए मन्त्रालयको सहसचिवको मशान त्यहाँ पक्कै जाग्नेथियो । तर उनी त कुनै जापानीज साधुको निर्विकार जीवनव्यवहार पाठकलाई सुनाउँदै आफ्नो टोलीसँग फर्कने बाटोतर्फ ओह्रालो झर्छन् । पाठक भने माथि नै उभ्भिरहन्छ, भावविह्वल बन्दै । यहाँनिर पाठक दुुईओटा प्रश्नले द्रवित बन्छ । एक, जनताको रगत पसिनासँग साटेको भात खाएर बसेको सेनाले आफ्नो अगाडि उभिएको राज्यको एक उच्चाधिकारीलाई त त्यसरी उपेक्षा गर्छ भने साधारण मानिसलाई त्यसले के वास्ता गर्छ ? अर्को, ल ठीकै छ तिनले चिनेनन् रे तर त्यहाँ पुगेका यात्रुहरुको सुरक्षा र सेवा गर्छु भनेर कसम खाएकाहरुले त्यो तीनजनाको यात्रुदलसँग किन आम नागरिकसँग गर्नुपर्ने कत्र्तव्य पनि निभाउन चाहेनन् ?

यो पुस्तक पढ्दै गर्दा मलाई लागेको अर्को कुरा, यी लेखक आफ्ना पाठक र पात्रहरुलाई औधी माया र सम्मान गर्ने लेखक हुन् । यस्तोे गुण कमै लेखकमा मात्र हुन्छ । अधिकांश लेखकहरु आफुलाई आम मान्छेहरुभन्दा माथि सम्झन्छन्, विशेष सम्झन्छन् । तर आनन्दभूमिको आँगनमा सयौँ पात्र तथा साथीभाईहरुको नाम लिएर प्रतीक ढकालले यो सावित गरेका छन् कि उनी आफ्ना पाठक, साथीभाई तथा किताबका पानाहरुमा उल्लेखित सबै प्रकारका पात्रहरुलाई बराबर माया गर्छन्, सम्मान दिन्छन् । यो पुस्तक पढ्दा पाठकलाई यस्तो लाग्छ कि प्रतीक ढकालका कुनै शत्रु छैनन्, थिएनन् र हुने पनि छैनन् । अथवा यस्तो पनि लाग्न सक्छ कि उनले आफ्नो शत्रु नै चिन्दैनन् । उनी आफै सरकारी अधिकृतको रौब धारण गरेर हैन एउटा अति सामान्य नागरिक भएर पदयात्रा गर्न रुचाउने मान्छे भएर होला, भेटिएका सामान्य पात्रहरुलाई पनि हृदय खोलेर प्रेम गर्छन् । चाहे कसैले उनलाई माया गरोस् चाहे कसैले उनलाई गाली गरोस्, निर्विकार उनी सबैलाई माया दिँदै हिँड्छन् । आफुप्रति नकारात्मक बन्नेहरुलाई पनि उनी ईज्जत दिन्छन् । सहनशीलताको यो उच्चतम नमुना हो । एउटा उदाहरण हेरौँ, भारी बोक्न सहायता गरोस् भन्ने उद्धेश्यले लेखकको टोलीमा एकजना मानिसलाई सहभागी गराइएको हुन्छ । नाम उनको लाल बहादुर नेपाली । ती मान्छे एउटा पसलमा आइपुगेपछि त्यहाँका बयोबृद्ध मानिसहरुसँग, भद्रभलाद्मीहरुसँग र अझ महिलाहरुकै अगाडि तथानाम गाली बक्न थाल्छन् । सबैसँग निहुँ खोजेर झगडा गर्न थाल्छन् । आजित भएर टोलीले उनलाई ज्यालासहित विदा गर्छ । त्यति पढुञ्जेल पाठकलाई लाग्छ, यो लालबहादुर कति खत्तम मानिस रहेछ । उनीप्रति एकप्रकारको घृणा उब्जिसकेको हुन्छ पाठकको मनमा । तर किताबको अर्को पृष्ठ पल्टाउनासाथ लालबहादुरको तस्वीरलाई विना पुर्वाग्रह र ईज्जतसाथ लेखकले स्थान दिएको देख्नासाथ पाठकले उनीप्रतिको धारणा परिवर्तन गर्न करै लाग्छ । हाँस्न नसकेको रुन पनि नसकेको कस्तो कस्तो माया लाग्दो लालबहादुरको अनुहार देखेपछि उनीप्रति सहानुभूति जागेर आउँछ । पाठक यो सोँच्न बाध्य हुन्छ कि यी लाल बहादुरहरु यसरी रुखो बन्नुको कारण के हो ? को दोषी छ यसमा ? राज्य ? समाज ? या ती तमाम खाले निर्मम परिस्थितिहरु जुन उनको टाउकोमा बज्र बनेर निरन्तर बज्रिरहेका पो थिए कि ? हामीले त उनी रिसाएको, बोल्ने नबोल्ने बोलेको मात्र त देख्यौँ । त्यो त सतह न हो । भित्र पिँधमा थाहा छैन के–के डरलाग्दा रहस्यहरु पो थिए कि ? यो सहानुभूति प्रकट गर्न पाठकहरुलाई लेखकले नै बाध्य पार्छन् किनकि उनी स्वयं ती पात्रहरुप्रति सहानुभूतिशील छन् ।

आनन्दभूमिको आँगन नियात्राकृतिमा मानवीय सम्वेदना उच्च छ जुन मैले हरेक किताबमा खोज्दछु । यस पुस्तकमा लेखकको रुपमा एउटा सूत्रधारको काम गरिरहेका प्रतीक ढकालले आफ्ना पाठकलाई आफुसितै महाकाली पारिका वस्ती दोधारा र चाँदनीसम्म पु¥याएर घोरिन लगाएका छन् । मिचिएका दसगजामा लिएर गई आँसु पुछ्न लगाएका छन् । लाङ्टाङ हिमश्रृंखलालाई नजीकबाट छुन लगाएका छन् र अझ सिमाना नाघेर चीनसम्म पु¥याई हाम्रा अटल हिमालहरुको विषयमा थुप्रै थुप्रै रहस्योद्घाटन गराउँदै हामीलाई हजारौँ ताली र स्याबासीको भागीदार पनि बनाएका छन् । अनि मानवीय सम्वेदनालाई नजीकबाट अनुभव गर्ने अमूल्य अवसर दिएका छन् ।
‘आनन्दभूमिको आँगन’ पढिसक्दा मलाई यस्तै यस्तै लाग्यो ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 6 भाद्र, 2071

लेखकका अन्य रचनाहरु