समयले साथ छोड़ेपछि…!

- युवा बराल ‘अनन्त’

लालबजारको एउटा कुइनेटोमा अवस्थित त्यो रामावतार भैयाको पान दोकान अघि उभिएर ‘मेरो पान’ भन्दै आफ्नो ओभरकोटको भित्री खल्तिमा हात घुसारेर के के खोजेको जस्तो गर्छन् दिनेश बाउ सधैं जस्तो तर निकाल्न भने केही पनि निकाल्दैनन् ।

‘भएन ?’ पुन: गोजीमा हात हाल्दै सोध्छन् ।

‘ एक छिन भैहाल्यो … अनि सर त्यो पुरानो अलिक घटाउनु हुन्छ कि !’ अनुनय जस्तो भावमा बोल्यो त्यो पानवाला ।

‘थेत् तेती जाबोको पनि किन सुर्ता गर्छस । खाएर भाग्छु क्या’हो !’ रिसाएको लवजमा निकै ठूलै हाँकमा बोल्छन् उनी ।

‘मैले सुन्दा सर’को त यो पालीदेखि अवकास भइहाल्यो भन्छ नि … अब उता घर जान्छ होला होइन र ?’ डराउँदै बोल्यो त्यो ।

‘थेत, बजिया के कुरा गर्छस हौ… मेरो घर याँइ हो नि था’छैन? डेभलोपमेण्टमा…’ ठूलो रवाफिलो आवाज थियो त्यो । घमण्ड जस्तो अनुहारमा धर्साहरु उम्रिएका । ‘यो पनि लेखिराख … मान्छे चिन्ने गर है । तेरो बाँकि खाएर काँईं टाड़ा जाने होइन नि, एक्सट्रा पाँचोटा बनाएर प्याक गर” । उस्तै बोली गह्रुङ्गो भारी जस्तो ।

“ काँ सर, मो त मजाक कर्छ नि तपाईंसंग । सचमुच त काँ सरसंग जवाब लाग्छ र! अब अरु तपाईंको मर्जि !’ मुखभरि पान चपाँउदै अलिक नम्र स्वरमा बोल्यो त्यो ।

‘अँ म गएँ । भोली आउँछु’ । भनिराखेर दिनेश बाउ आफ्नो बाटो लाग्छन् ।

दिनेश बाउको अनुपस्थितिमा दोकान अघि उभिरहेको अर्को ग्राहकसंग मनको भड़ास पोखाउँछ त्यो रामावतार ‘ अब केही दिनको बात छ। त्याँदेखि यो मान्छे मुसा जस्तो हुन्छ हेर्नोस ल दाजु। तारावाला उर्दीमा छ कि मान्छे बाघ भइजान्छ । मान्छे पनि किसिम किसिम’ कोसंग भेट भैहाल्छ ’! थुप्रै थरीका मान्छेसंग सम्पर्क भएर होला रामावतार भैया बोल्न भने अनुभवि झैं नहिच्किचाइकनकटरस बोल्छ ।
दिनेश बाबु पुलिस विभागमा कन्स्टेबल अहोदादेखि काम गर्दै आएर पदोन्नति हुँदै ऐले सब इन्सपेक्टरको अहोदामा पुगेर भर्खरै अवकास ग्रहण गर्दैछन् । जीवनको अड़तीस बर्ष उनले सरकारी सेवामा व्यतित गरेका छन् । यही अवधिमा उनले सिक्किमका चारै जिल्लाका प्राय जसो सबै ठाँउ घुमिसकेका छन् । विशेष गरेर रम्फु, मल्ली, जोर्थाङ्ग, उत्तरे, राभाङ्ग्ला, टुङ्ग, याथाङ्ग, रंगेली, पाकिम अनि रिकेपमा सेवा पुर्याएपछि अन्तमा गान्तोक सदर थानामा आइपुगेर अवकाश ग्रहण गरेका हुन । स्थानन्तरणको यही नै त छ मजा । ठाँउ-ठाँउको हावा-पानी, रहन-सहन, मान्छेहरु अनि चाल-चलन जान्न बुझ्न अनि त्यसलाई नजिकबाट हेर्न सकिन्छ । सम्पर्क बढ़छ, अनुभव खारिन्छ । सबैले चिनेको उनको सजिलो नाम ‘दिनेश बाबु’ हो अनि ऐले ‘ दिनेश हल्दार ’ भनेर सम्बोधन गर्छन् । उनी ओ सी भएर पनि हल्दार कै अहोदाले परिचित छन् । भनिन्छ उनको कर्मको र नामको चर्चा उनी हवल्दार हुँदा चरम चुलीमा थियो । उनलाई त्यतिखेर सबैले मान्थे, इज्जत दिन्थे अनि पहिचान पनि थियो ।

ठाँउ ठाँउको पानी पिएर हिंड़ेको मान्छेलाई मल्लीको पानीले भने निकै चुर्लुम्म डुबाएको थियो । त्यहीं उनी एउटी सुन्दरी युवती सिमासितको प्रेम जालमा फँसेर परिणय बन्धनमा गाँसिन पुगे । उत्तरे पुग्दा उनी दुई सन्तानका बाबु भइसकेका थिए ।

एउटा सानो साइड गान्तोकको डेभ्लोपमेण्ट (विकासक्षेत्र) एरियामा लिइराखेकोले दिनेश बाउले लोन-सोन थपेर त्यहीं चार तले घर बनाएका हुन् अनि ऐले तीन तला किरायवालालाई दिएर माथिल्लो तलामा स्वयं राज गरिराखेका छन् । यो सिक्किमे नोकरीधारी नागरिकको सोझो जीवन जिउने पद्धति हो । उद्देश्य अनि लक्ष्य पनि । यति गर्न पाए, नोकरी गरेको सार्थक प्रतिफल पाएको सम्झन्छन् नोकरीदारहरु । गान्तोकलाई त्यसै बिल्डिङ्गको जंगलले ढाकेको होइन ।

दिनेश बाउको अवकाश पन्ध्र दिन अघि नै भइसकेको छ । घरमा बस्दा बस्दा पनि वाक्कै लागिसकेको छ । जवानीमा सुनदरी देखिएकी स्वास्नी पनि यति बेला झोलिएर बूढ़ी देखिन्थी । एउटै कुरा दोहोर्याउँदा दोहोर्याउँदा दिक्क लाग्दो स्थिति । घरमा काम गर्ने केटीसंग घर साफ सफाइ गर्छन् । कम्मर दुखेर फत्रक्कै । अलिक बलको काम गर्यो जिउ दुखेर कक्रक्कै । यो शरीरले पनि अवकाश नै खोजे जस्तो ।

बेलुकीपख सब्जि गर्न त्यो संधै झैं त्यो बिहारी गुड्डुको दोकानमा जान्छन् । संधै झै, त्यो गुड्डु उठेर “नमस्ते सर” पनि भनेन । उ उसको गल्ला मै बसिरह्यो, देखेर पनि नदेखेको अभिनयमा । उसमा त्यो तत्परता पनि थिएन । भनौं उसले अन्य ग्राहकलाई झैं साधारण व्यवहार गर्यो । ‘भोली देखि म यो दोकानबाट सब्जि खान्नँ’ मनमनै सोच्दै बोले ‘कति भयो ? अनि पुरानो कति छ?’ ‘तपाईंको एक सौ बीस, पुरानो चार सौ पचास । सर अरु केही दिउँ ?’ ‘ पर्दैन’। भनेर दिनेश बाउ फनक्कै घर फर्कन्छन् अनि स्वास्नीलाई हपार्छन् –‘त्यो मदिसेको दोकानबाट अब चैं सब्जि ल्याउने काम छैन है । त्यो त्यो त्यो निकै चढ़िएछ अब । पैसा निकै कमायो होला । पर्दैन क्यै किन्नु । यो गान्तोकमा त्यसको मात्रै दोकान छ क्याहो । यिनारुले लुटेरै खाइसक्यो… हामीलाई !”

आफनो पतिको हाव-भावमा आएको परिवर्तनले निकै चिन्तित बनिन सिमा । ‘के भयो होला ! किन रिसाउनु भो !’ जस्ता शंकाहरु उब्जिरहे उसमा । बेलुकी खाना खान पनि त्यति रहर गरेनन् । टाउको निकै तातिएको थियो । छिट्टै ओछ्यान पसेता पनि निदाउन चैं हतपत सकेका थिएनन् । कस्तो पिरमा पिरोलिए हुन दिनेश बाउ ! सिमाले केहीला भेउ पाउन सकिन ।

भोलीपल्ट दिनेश बाउ लाल-बजार जानको निम्ति तलको मूल-सड़कमा निस्किए । ट्याक्सी भ्यान पक्रिएर जानु पर्छ त्यहाँ जाँदा । त्यो बाटो भएर बजारपटि जाने प्राय सबै भ्यानलाई हात हल्लाएर रोक्ने इसारा दिए । तर एक घण्टासम्म गाड़ी रोक्दा पनि कुनै गाड़ीले उठाएन उनलाई । उनको आक्रोशले सिमा नाघ्यो । भूईंमा खुट्टा बजार्दै पैदलै लागे उनी लालबजारतिर । अलिक पर पुग्दा एउटा भ्यानले हर्न बजार ‘जाने?’ को इसारा गर्दै रोक्न रोक्न खोज्यो । ‘जान्नँ’ ठूलो स्वरमा बोल्दै लम्र्याङ्ग लम्र्याङ्ग हिंड़िबसे उनी । लालबजारमा पनि पसलेहरुसंग बाज्दै फल, सौदा अनि सब्जिहरु किने । फर्किने बेलामा स्टेण्डमा त पुगेका थिए, फेरि किन हो त्यत्रो गह्रुङ्गो झोला झुण्ड्याएर त्यतिकै हिंड़ेर घर आइपुगे ।

घर आइपुगेपछि बिछौनामा ढल्केर ती सल्याङ्ग मल्याङ्ग मान्छेहरु एकपछि अर्को सम्झिरहे – ‘ त्यो रामे ड्राइभर ; त्यो फुचुङ्ग़, रोकेन तिनेरले मेरो निम्ति गाड़ी । त्यो फूलमाया सब्जिवाल्नी; टाड़ैबाट नमस्ते सर भन्थी, आज त बोल्न त परै हेर्न पनि हेरिन । त्यो जिग्मी पाला; ‘खाम्री लोपेन’ भन्दै त्यसको त्यो कुहिएको छुर्पि लैजा भन्थ्यो । त्यो बूड़ोले पनि ख्यालै गरेन । बाटोमा धिरेन सर भेटेका थिए । हात मिलाएर निकै लामो गफिने मान्छे आज त हात पनि उठाएन । त्यो राजेन्द्रमल कैंया; संधै त बोलाएर गद्दीमै बसाएर चिया मगाएर पिलाउँथ्यो, नयाँ थानका लुगाहरु सिलाउनलाई ढिपी गर्थ्यो, गुरामा, नानीहरुको लागी नयाँ डिजाइनको लुगा आएको छ भनेर सिल्लि लाएर हुन्छ कि आकाश पातालको कुरा गरेर हुन्छ, हजार दुई हजारको चुना लगाई छाड़थ्यो । त्यसले हात त मिलायो तर मन खोलेरै बोलेन, बस्नोस पनि भनेन ।

त्यो ठाड़ो बाटोको नारायण दासको मिठाई दोकान; जहाँ उनलाई देख्ने बितिक्कै चिया र उनको मनपसन्द कचौरी सित्थैमा ट्क्र्याउँथ्यो तर आज त्यसले पनि उनको उपस्थितिको त्यति महत्व दिएन । संधै पैसा दिंदा ‘होस पर्दैन सर’ भन्ने मान्छेले आज दश रुपियाँको चिया पिएर पाँचसौको नोट दिंदा खोज तलास गरिवरि ट्क्रा पैसा फर्काएको थियो । एमजी मार्ग भेटेको त्यो डम्बर नायकले सेलुट पनि हानेन । कि त देखेन त्यसले । देखेर पनि नदेखेको हो । ट्राफिकको त्यो डोमा बैनी; देख्ने बितिक्कै ‘दाजु सुर्ति खाइदिउँ न हौ’ भन्थी । त्यो पनि आज मुस्काई मात्र, कैले चिनेको पुरानो मान्छे जस्तो’ ।

सिमाले अनुहार पढ़ने विध्या आर्जन गरेकी छैन नत्र त उसकी पति झोक्राएको वास्तविक्ता सहजै थाहा पाउँथी । ‘रिटायर भएर होला !’ मनमनमा यस्तै कुरा खेलाउँथी । त्यो रौसिलो मान्छे एकाएक मुर्झायो । त्यो व्यस्त मान्छे अचानक घरभित्रै मात्र बस्ने भयो । धन्न उनको रक्सि पिउने आदत छैन । नत्र उ पक्कै पिएर आउनेथियो अनि घरमा तमासा मच्चाउनेथ्यो या घरै नआउनेथ्यो ।

वरिपरि छरछिमेकका पनि उर्दीमा हुँदाको ढकमक समयमा जस्तो बिहान बेलुकी ओहोर दोहोर गर्दा भेटेका छिमेकीले पनि त्यति मन खोलेर हाँसे बोले जस्तो लाग्दैन । औपचरिक्ता निर्वाह गर्न कोही कोही नमस्कार, गुड मर्निङ्ग, गुड इभिनिङ्ग भनेर तिनलाई आदर सत्कार गर्छन् । त्यतिले पनि उनको मन निकै बाँधिन्छ । रक्तचाप अलिक घट्छ । जिन्दगी अझै जियौं जियौं झैं लाग्छ ।

आज बिहानीको नौ बजिसकेको छ । दिनेश बाबु अघि देखि नै हतारिएको सिमाले देखिरहेकी थिई । घरि जुत्ता पालिस गर्छन्, घरि त्यो पुलिसको उर्दीबाट धुलो झट्काउँछन्, भित्र जान्छ्न्, कपाल कोर्छन्, बाहिर निस्केर ऐना हेर्छन् । यी क्रियाकलापहरुलाई चियो गरिरहेकी सिमाले एकाएक सोधिन, ‘ किन आज काँ जाने इच्छा छ ? कि ड्युटि जाने ?’

‘ तिमी मलाई किन गिज्याउँछौ ? म त समय विताउन खोजिरहेछु । म मेरो जागिरे जीवन भुल्न चाहँदैछु । म स्वयंलाई सम्झाउँदैछु’। अचानक बोले दिनेश बाबु । अनि भित्र कोठामा गएर एकलै धुमधुम्ति बसिरहे ।

दिउँसो एक बजीतिर उनका साथी माधवको फोन आएको थियो । ‘के उपजउ गर्दैछौ, तिम्रो समय कसरी बित्दैछ, फुर्सदका समय के गर्दैछौ’ भनेर जिज्ञासा राखेको थियो । भावुक बनेर जवाब दिएका थिए ‘ जिउँदो लाश जस्तो बाँचिरहेछु चुप-चाप चुप-चाप’ ।

माधवले उनको मनस्थिति बुझेरै हुनुपर्छ, एउटा सानो बालकलाई जस्तो फोन मार्फत नै सम्झाएका थिए आफ्नो बिछोड़िएको सहकर्मिलाई – ‘ साथी ! तिमी ऐले जिम्मेवारी र अवकाशको दोसाँधमा छौ । यी कर्महीन रित्ता पलहरु कहालिलाग्दा हुन्छन्, साँच्चै । यो नसोच कि यस्तो अनुभव तिमीले मात्र भोग्दै छौ, यो दुनियाँमा । सबै नोकरीदारले एकदिन अवकाश ग्रहण गर्नै पर्ने नियति छ । यस्तोबेला तिमी भरसक आफुलाई व्यस्त राख्ने कोशिश गर । फूल स्याहार, घरका चोठा कोठा मिलाऊ, टिभी हेर, नानीहरु छन् भने तिनीहरुसंग खेल, हाँस, रमाऊ अनि मनको औड़ाहालाई शान्त पार्ने कोशिष गर । अँ, एउटा कुरा भन्न बिर्सेछु, के भने त्यहाँ तिम्रो वरिपरि कुनै आध्यात्मिक संस्था या त त्यस्तो माहौल छ भने गएर रहल जिन्दगी सहजताको साथ व्यतित गर्नका निम्ति योग अभ्यास गर । समाजिक हितका कामहरु गर,केही रचनात्मक काममा मन लगाऊ, समय बित्नेछ, मन प्रसन्न हुनेछ अनि तिमी पनि प्रफुल्लित बन्नेछौ ’।

बेलुकी पाँच बजेतिर उनको अर्को साथी पाल्देन उनलाई भेट्न आएका थिए । विसंगतिको त्यो शुन्य अवस्थामा कोही हितैषि साथी भेट्न आउँदा सानो नानी जस्तो रमाएर उफ्रिएका थिए उनी । हात मिलाउँदा हतपत छोड़नै मानेका थिएनन् । केही कामका, केही घर परिवारका अनि केही हँसि-मजाकका कुराहरु भए । उनी खिल्खिलाएर हाँसेको सुनेर सिमा पनि खुशी भइन् । हाँस्नै बिर्सिसकेको मान्छे अचानक रमाएको देख्दा उनको हृदय भरिएर आउनु स्वभाविक नै हो । दिनेश बाबु वास्तव मै ती साथी-सँगीबाट विछोड़िनुको व्यथाले ग्रसित थिए कि कसो । आज संधैभन्दा अलिक ज्यादै खाना पनि खाएका थिए ।

‘ भोली छोरा बुहारी अनि नातीहरुलाई बोलाऊ हई । एकदुई दिन हामी पनि बस्ती घुमेर आऊँ । नातीको बोली सुन्न पनि कस्तो मन परिरहेको छ’। भनिराखेर उता फर्केको, भुसुक्क निदाएका थिए दिनेश बाबु ।

राती अर्धनिद्रामा धताउँदै गरेको सुनेर सिमा जुरुक्क उठेर राम्ररी सुनिन्- ‘ ऐ गाड़ी रोक, गाड़ी रोक, लाइसेन्स निकाल, खोई ब्लुबुक, पर्मिट, पलुसन, इन्सुरेन्स सब याँ ले… तिमीहरुलाई म ठिक पार्छु । …। खोई तेरो मालिक त्यो गूड्डु… त्यसलाई भरे लाइसेन्स बोकेर मेरो अफिसमा जानु भन्नु… ओइ डम्बर! बिर्सिस यति छिट्टै… सिनियर्सलाई ... खोई कति छ तेरो बाँकि निकाल खाता … ला पैसा… काट तेरो हिसाब रामावतार… भोली देखि नमाग है ! सिमा … म रिटायर्ड भा’को छुइन … मेरो लुगामा स्तिरि लगाइराखिदिनु, जुत्ता खोई …भोली पाल्जोर स्टेडियममा स्वतन्त्रता दिवशको परेड छ, टिलिक्क टल्केको हुनु पर्छ जुत्ता ! ब्रेकफास्ट रेडी भयो ? खै लेऊ नत्र ढिलो हुन्छ्…!!’

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 28 श्रावण, 2071

लेखकका अन्य रचनाहरु