२३ माइला

- रुपेश राई

२३ माइलाको मताइले घरलाई पिरलो भइरहेको थियो…। ऊ जान्दथ्यो तरै पनि त्यो लतबाट छुट्न भने सकेको थिएन! गलत निर्णयको गलत मार्गले गलत दिशातिर उसलाई खिचिरहेको थियो। केवल उसले उचित उपाय र संसर्ग भने पाइरहेको थिएन।
एक दिन बिहानै २२ की छोरीले- “छ्याः त्यो काका त के साह्रो मातेको हौ; हिजो र्‍यालै-र्‍याल भएर सेँडीको छेउमा पल्टिरहेको थियो।” भन्दै बाऊलाई सुनाउँदै गरेकी २३ ले सुन्यो। ऊ रनक्क रन्कियो तर उसलाई जाडो जाडो महसुस भयो। अनि गनगनायो- “म जत्तिकै मातऊँ यो गाउँलाई केको खसखस?”
घरकाले उसको गति देखेर केटी खोजी बिहे गरिदिए कतै सुद्रन्छ कि भनी विचार विमर्ष गरे। तर यस्तो मत्थुसँग कसले बिहे गर्छ भन्ने कुराले पनि परिवारमा द्विमत चलिरहेको थियो। यो उल्झनबाट कसरी मुक्ति पाउने भन्ने उनीहरूलाई भइरहेको बेला कहाँबाट २३ लाई दशा चलेछ। भोलिपल्टै फ्याट्ट कहाँबाट एउटी केटी भित्र्याइ गाउँलाई झन् सङ्कोचमा पार्‍यो।
मातेरै भए पनि ऊ छोरीको बाऊ भयो। अनि छोरीको बाऊ भएपछि, अब उसो उसले नपिउने विचार गर्‍यो; अर्थात् नमात्ने। तर विचारलाई व्यावहारमा ल्याउन भने कत्ति हो कत्ति गाह्रो भइरहेको थियो, उसलाई। कताकता, कहीँकहीँ जुरिहाल्थ्यो। अनि भि...त्र रहेको तुस मार्न अलिकति खाइहाल्थ्यो। खाएपछि मुख जिस्किहाल्थ्यो। मुख जिस्केपछि ऊ मातिहल्थ्यो। मातेपछि व्यवहार, बेहोरा भइहाल्थ्यो।
अनि कोल्टे परेर घुर्दै सुत्थ्यो। आजै अन्जान स्वास्नी मगनी गरेर भित्र्याएको जस्तो।
त्यसरी मातेको देखी स्वास्नीले उसलाई घृणा गर्न थाली। घृणा भनेको लोग्नेको मायाबाट टाढिनु हो भन्ने त उसले सोचेकै थिएन। घृणा गर्दागर्दै उसले कमानमा आफ्नो व्यथा विसाउने ठाउँ पाउँछु भन्ने पनि पत्याएकै थिएन। उसको पीडाको मलम भएर कोही आउछँ भन्ने त झन् एक मनमा दुई मन पनि थिएन। तर अहिले त उसले बुझी कि विस्तारै ‘म’ भन्ने भित्रको अहम पर पुरुषसँग आकर्षित हुँदैछ। उसको आवाजले पनि आनन्द दिँदैछ। बेलाबेला कर्के नजरले पनि उसलाई नजिक्याउदैछ। यसैले ऊ सोच्छे-“अरे म के भाको मेरो लोग्ने छ, एउटी छोरी छे। हैट, मैले यस्तो गलत काम गर्नु हुँदैन भनेर आफैलाई सम्झाउँथी।” तर मन एकपल्ट अर्कापट्टि ढल्केपछि पल्किहाल्छ। नबुझेरै बुझ्दैन यो मनले। सोच्दै ऊ मुर्छा पर्थी। तर फेरि श्यामलाई देखेपछि ‘साँपलाई न्याउरी काठ’ देखाएको जस्तो हुन्थी ऊ ।
उसलाई पनि थाहै नदी सम्बन्धले गाढा आत्मीयता पायो। बस एउटा वातावरण चाहिएको थियो, त्यो बुझ्न।
शनिवारको दिन पन्ध्रको खर्च थापेर बेलुकी भाले ढुङ्गो तेर्सो श्यामसँग हात गाँसी आउँदै गरेको तल्लो बाटाबाट छोरीले देखी। उसको अनुहारमा रगत सँगसँगै लाज पनि फैलियो। तर नजानिदो पाराले ऊ साथीहरूसँग त्यो दृश्यदेखि अदृश्य भई। घरमा पुगेर फ्यात्त झोला फ्याकी ओछ्यानमा पल्टी। ठीक आधा घण्टा पछि आमा पनि घर आइपुगी। गोहीको आँसुजस्तो अनुहारमा हेरेर छोरीलाई अवाक भयो। जे भए पनि आमा हो।
अब छोरीलाई घरको मायाले नपुग्ने भयो। बाऊ केही निहु पाउनु हुँदैन, मातिहाल्छ। अनि आमा त झन् संसारका सबैभन्दा डरलाग्दो लतमा फँसेकी थिई। उसलाई माया र सुसंस्कारको ठिक आवश्यक भएको बेला यी कुरा नै उसले पाउन सकिरहेको थिएन। अज्ञात र कलिलो उमेरमा उसलाई नराम्रो असर पार्न थाल्यो।
तथापि, बाऊको उसप्रति अघोर माया र स्नेह भए तापनि मातले गर्दा विस्तारै टाढिन थाल्यो।
‘वास्तवमा बिहेको अर्थ नबुझी बिहे गर्दा यस्तै हुन्छ। किनभने बिहे गरेर परिवार बनाउनु मात्र दाम्पत्य जीवनको धर्म होइन। सुसंस्कार र सुसंस्कृत परिवार बनाउनु अति नै आवश्यक हुन्छ। नत्र सफल जीवन र सफल परिवार नहुन सक्छ। हेर! २३, आजदेखि तैँले तेरो बानी सुधारिनस् भने साँच्चै तेरो परिवार गाउँमा नमुना हुन्छ; यसैले मेरो बात मान र परिवारलाई माया र प्रेमले बाँध।’-टाढाकै भए पनि सानैदेखि साह्रै माया र स्नेह दिने २९ बाजेले सम्झायो।
कान्छाको दोकानबाट चुपचाप निस्किएर घरमुनि पुग्दा मातेकै भए पनि कताकता हाँसेको आवाज सुन्यो,२३ ले। माथि पुगेर हल्लँदै भन्सा घरमा हेर्‍यो; कहिले नदेखेको स्वास्नीको अनुहारको हाँसोले त्यो पल्लो गाउँको श्यामलाई समेत उज्यालो पारेको देखेर उसको मनभित्र कटकट खायो। त्यो दृश्य उसलाई सहन नभएर ठूलो घरमा झटारिँदै पस्यो।
ओछ्यानमा छोरी मुखबाट फिँज निकाली अलसतलस भइरहेकी देख्यो। ऊ अवाक भयो!


पेशोक, दार्जिलिङ

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 श्रावण, 2071

लेखकका अन्य रचनाहरु