समयको प्रतिध्वनी ‘‘प्रतिबिम्बित अनुभूतिहरु’’

- राजेन्द्र पहाडी

सबै मानिसका लागि जिन्दगीको उहापोह सोचे जस्तो सरल र सपाट हुन्छ नै भन्ने हुँदैन । जन्मेर, हुर्केर, बढेर र पढेर कर्म क्षेत्रमा भिड्दै जाँदा अनेकौं थरी अनुभवका भुक्तमानहरु बग्रेल्ती ओइरिन्छन् व्यक्तिका पोल्टामा । खासमा अपेक्षित गन्तव्यको मार्ग तय गर्ने उपक्रममा हिँडिएका उकाली–ओराली, भञ्झ्याङ–चौतारीले नै यात्रीको अनन्त यात्रालाई सामलको काम गर्दछन् । सुख–दुःख, मीलन–विछोड, हाँसो–रोदन, सफलता–असफलता, अग्रता–पछौटेपन, आपद–विपद र सभ्यता–असभ्यता आदिको चक्रीय यथार्थ नै वास्तविक जीवनको समष्टी मान्नेहरुको संख्या ठूलै छ आजको समयमा ।

बाँच्ने दुई तरिका हुन्छन् भन्ने मान्ने हो भने जिन्दगीलाई आशावादी दृष्टिबिन्दुबाट नियाल्ने या चरम निराशाको आँखीझ्यालबाट चियाउने भन्ने व्यक्तिको आफ्नो वैयत्तिक छनोटको विषय हो । दुःख, निराशा, अभाव, छटपटी, विभेद, अन्याय, शोषण, हेलाहोचो, अज्ञानता र तमाम खाले विषमताका बीचबाट सुखको झिल्को पहिल्याउने उपागममा लाग्ने हो भने दुईवारको जीवन सरल, सरस र झरल हुने कुरामा शंका गर्नै पर्दैन । अपितु सबै मानिसमा यो खाले चेत, मति र गति हुन्छ नै भन्ने छैन । अतिशय कुण्ठा, हैरानी र पीडाबाट गुज्रने नियति भएकालाई जिन्दगी जिउनुको खै के स्वाद होला र ।

लेखक महेशचन्द्र प्रधान अघिल्लो वर्गका अर्थात् दृष्टिको सही उपयोगबाट सृष्टीमा रुपान्तरण गर्न सकिन्छ भन्ने आँट, जोश, जाँगर र अन्तरदृष्टि भएका सर्जक हुन् । केही वर्ष अघि ‘‘भजन सरोवर’’ कृति प्रकाशन गरेर पुस्तक प्रकाशनको क्रम आरम्भ गरेका यिनी पछिल्लो समयमा निकै सोच, विचार, चिन्तन, मनन र परिपक्वताको साख सहित उदाएका छन् निबन्धात्मक पुस्तक कृति मार्फत । आफू, आफ्नो परिवार, देशीय परिवेश र परिस्थितिलाई वस्तुगत रुपमा पर्गेल्न सक्ने तागत भएका यी स्रस्टाले आफ्ना बाल्यकालदेखि आजसम्मका अनुभवका गुथ्थीहरुलाई सहज र सरस ढंगले बुनेका छन् ‘‘प्रतिबिम्बित अनुभूतिहरु’’ भित्र । उनको यस सङ्ग्रहमा अत्यन्त निजात्मक भावना, अनुभूति, गन्थनमन्थन तथा समकालीन समाजप्रतिको दृष्टिकोण प्रस्तुत भएका छन् । प्रधान आफ्नो लेखनको माध्यमबाट समाजको सर्वतोमुखी उन्नती प्रगति भएको देख्न चाहान्छन् । उनले मनुश्य जीवनको उद्देश्य सच्चिदानन्दको प्राप्ति हुनुपर्दछ भन्ने पक्षमा वकालत गर्न चाहेका छन् आफ्ना लेखकीय आग्रह मार्फत ।

प्रस्तुत आत्मपरक निबन्ध सङ्गालोमा प्रधानकृत २१ वटा लेखोटहरु सङ्ग्रहित छन् । स्रस्टा महेशचन्द्र प्रधान(६१) जीवनको लामो यात्रा तय गरिसकेका अनुभवी व्यक्तित्व हुन् । यिनले जिन्दगीका सजिला अप्ठ्यारा थुप्रै घुम्ती र मोडहरु सहजतापूर्वक पार गर्दै जीवनरुपी गाडी आजको बिसौनीसम्म कुशलतापूर्वक ल्याइपु¥याएका छन् । बागलुङ बजारको देउराली चोकमा विक्रम सम्बत् २०१० मा माता मोहन कुमारी प्रधान र बाबा हरीकुमार प्रधानको कोखबाट जन्मिएका यिनले आफू जन्मे हुर्केको माटोमा खेलेको पौंठेजोरी, बुझेको समाज, पाएको हण्डर–ठक्कर र देशदेशावरको भ्रमणबाट प्राप्त ज्ञान, बुद्धि, विवेक र सीपलाई शैक्षिक क्षेत्रमा निष्कपट खर्चिएका छन् आजपर्यन्त । शिक्षा क्षेत्रबाट नै देश विकासको मूल फुटाउन सकिने तथ्यमा विश्वास राख्ने यिनले सानै उमेरदेखि शैक्षिक कर्ममा समर्पित भएर लागेको कुरा यिनका सबैजसो लेखोटमा यो वा अर्को कोणबाट उल्लेख भएको देखिन्छ । धवलागिरि अञ्चलका बागलुङ, म्याग्दी र पर्वत जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्यापन गरेको अनुभव सङ्गालेका प्रधान आज पनि बागलुङ बजारमा निजी क्षेत्रबाट संस्थागत उच्च माध्यमिक विद्यालय सञ्चालन गर्दै आफ्नो शिक्षा क्षेत्रको अनुभवलाई विद्यार्थीहरुमा बाँडिरहेका छन् । यसैले चिन्ने जान्नेहरु यिनलाई शिक्षाका अगुवा व्यक्तित्व मान्न कत्ति पनि हिच्किचाउँदैनन् । यिनी ‘रिटायर्ड बट नट टायर्ड’ प्रतिभाशाली व्यक्तित्व हुन् । धवलागिरि क्षेत्रमा यिनको छुट्टै इज्जत, प्रतिष्ठा, शान, मान र सम्मान छ ।

नेपाली भाषा, साहित्य, कला, सङ्गीत तथा संस्कृति प्रतिको झुकाव, सिर्जनकर्मीहरुसँगको सानिध्यता, साहित्यिक संघसंस्थाहरुसँगको आवद्धता र साहित्यानुरागीसँगको बाक्लो उठबशपूर्ण सङ्गतले महेशचन्द्र प्रधानलाई धौलागिरि अञ्चलकै परिपक्क सर्जक, शिक्षासेवी, सचेतक, प्रखर अध्येता र समाजसेवीका रुपमा परिचित गराएको छ । प्रधान आफ्नो दिलको आवाजलाई यथोचित तवरबाट बुझ्न सक्ने स्रष्टा र द्रष्टा दुबै गुण भएका व्यक्ति हुन् भन्न सकिन्छ यिनका निबन्धहरुभित्र घोत्लिँदा । यिनका वैयक्तिक अनुभवमा आधारित निबन्धले खास–खास समयको आवाज तथा सङ्गत एवम् विसङ्गत परिस्थितिको साङ्गोपाङ्गो उद्घाटित गरेका छन् । यिनका हरेक प्रसङ्ग र बृतान्तहरु तात्कालीन समयको शास्वत प्रतिध्वनीका रुपमा अभिव्यञ्जित भएको पाइन्छ ।

त्यसो त समस्यालाई खोतल्नुमात्र ठूलो कुरा होइन, अपितु समस्याको निवारणका उपाय सुझाउन सक्नु प्रशंसनीय विषय हो । निबन्धकार महेशका प्रस्तुतीहरुमा यो वा अर्को कोणबाट समस्यासँग जुध्ने काइदा पनि प्रस्तुत भएको भेटिन्छ । यस अर्थमा यिनी आफ्नो लेखनीमार्फत समाज जागरण, शैक्षिक उद्बोधन तथा साँस्कृतिक रुपान्तरणका अभियन्ता बन्न चाहेकाछन् । आफ्ना निबन्धमा प्रधानले केवल घटना विवरण मात्र प्रस्तुत गरेका छैनन्, बरु तिनको समीचिन व्याख्या र विश्लेषण गर्दै सकारात्मक परिणाम प्राप्तिका हेतु उपायहरु पनि पस्केका छन् । यिनका निबन्धहरुले गतिलो कर्मको मुक्त कण्ठले प्रशंसा गरेका छन् भने समाजमा व्याप्त घोरमुखो प्रवृत्तिका विरुद्ध लल्कार छेडेका छन् ।

प्रधानका सबैजसो निबन्धहरु अनुभूतिप्रधान, घटनाप्रधान र विवरणात्मक छन् । यिनलाई सरसर्ती पढ्दा जो कसैले पनि आफूलाई लेखक सँगसँगै भएको र उनीसँगै गाउँ–ठाउँ घुमेको अनुभूत गर्न सक्दछ । बागलुङ बजारछेउ भएर बग्ने काठेखोलाको सेरोफेरोसँग जोडिएको आफ्नो वाल्यकालदेखि भूमिगत नेतासँगको साहचर्यसम्मका निबन्धहरुले पाठकलाई आफ्नो जीवनका इतिबृतान्त सम्झन बाध्य पार्दछन् । सबै मानिसका आ–आफ्ना अनुभवका श्रृङ्खलाहरु हुन्छन् नै, फगत तिनलाई हामीले के कसरी सम्झिन्छौं भन्ने कुरा फरक हो । महेशचन्द्र प्रधानले विभिन्न उमेरवयमा आफूले अनुभव गरेका विषयवस्तुलाई निबन्धात्मक रुप दिए, जुन उनको सिर्जनशीलताको सुखद पक्ष बनेको छ । यिनका निबन्धभित्र विचरण गर्दा पाठकले घरी बुद्ध जन्ममूमि तिलौराकोटको त घरी भारतका प्रसिद्ध तथा धार्मिक–साँस्कृतिक महत्वका क्षेत्रको परिभ्रमण गर्ने अवसर पाउँछ ।

‘‘काठेखोलाको सेरोफेरो मेरो नजरमा’’ शीर्षकको निबन्धमा प्रधानले प्रकृति र आफू जन्मे हुर्केको तथा बालवयमा खेलेका स्थानहरु प्रतिको लगाव, स्नेह र सामिप्यताको स्मरण गरेका छन् । यस निबन्धलाई एकसरो अध्ययन गर्दा स्थान परिचय जस्तो लागे पनि यसबाट बागलुङ जिल्लाको विशिष्ट भौगोलिक अवस्थाका बारेमा जानकारी हासिल गर्न सकिन्छ । यतिमात्र होइन, यस आलेख मार्फत लेखक प्रधानले तात्कालीन समाजको वस्तुगत यथार्थ चित्रण गर्न सफल भएका छन् । बागलुङ बजारमा पिउने पानीको समस्या भएको, अव्यवस्थित बजार, बाटोघाटोको समस्या, पुस्तकालयको अभावजस्ता कुरादेखि महिलाहरु विस्तारै विस्तारै संगठित हुन थालेको प्रसङ्ग, समाज सुधारका लागि समाजसेवी ओमप्रसाद गौचनले दिएको योगदान आदिका बारेमा पनि यस निबन्धमा सविस्तार चर्चा गरिएको छ ।

पैसा कमाएर मात्र केही हुँदैन, समाजसेवाको माध्यमबाट नाम कमाउन पनि अघि सर्नु पर्दछ भन्ने सन्देश यो आलेखमा थप्रै स्थानमा पाउन सकिन्छ । यसका साथै राजनैतिक अदूरदर्शीता, खिचातानी र मनमुटावले बागलुङको विकास निर्माण चुस्त ढंगले हुन नसकेको कुराले उनका मानसपटलमा उब्जिएको चिन्ता र चासोलाई पनि उनले उल्लेख गरेका छन् । यो लामो लेखोटमा लेखक प्रधानले सकेसम्म आफ्नो बाल्यकालका स्मरणहरुलाई तरोताजा तुल्याउन खोजेका छन् । आफ्नो प्रगतिवादी सोच, आस्था र दृष्टिकोणलाई खुलस्त पार्न लालायित देखिन्छन् यिनी यो निबन्धभित्र । अनेकौं व्यक्ति, पात्र र तिनका प्रवृत्तिलाई उजिल्याउँदै समाजलाई सद्भावयुक्त, सभ्य, शान्त, समृद्ध र वैभवयुक्त बनाउन के गर्नुपर्ला भन्ने बारेमा उनले अनेकानेक विधि सुझाएको देखिन्छ यो निबन्धमार्फत ।

‘‘भूतप्रेतको डर ः हाम्रो शिक्षाको टुटेको कडी’’, ‘‘म्याग्दीको शिक्षक संघर्ष ः मेरो स्मृतिमा’’, ‘‘शिक्षाका अनौठा सन्दर्भहरु’’, ‘‘बागलुङमा शिक्षाको थालनी र निजी क्षेत्रको भूमिका’’, ‘‘बाल वैज्ञानिक कुशलको कुशलता प्रस्फुटन गराने विद्यालय’’ लगायतका केही निबन्धहरु नेपालको शिक्षा क्षेत्रमा चलेका शैक्षिक बहशहरुसँग सम्बन्धित छन् । बाल मनोविज्ञानलाई सही ढंगले आत्मसाथ नगरी दिइने शिक्षाले कालान्तरमा प्रतिकुल प्रभाव पार्ने कुरातर्फ यी निबन्धहरुले सचेत गराउन खोजेका छन् ।

भूतप्रेत, बोक्सी, डाइनी आदिजस्ता अन्धविश्वासी परम्पराले गर्दा हाम्रा बालबालिकाहरुले बैज्ञानिक र तथ्यपरक ज्ञान पाउनबाट बञ्चित हुन परिरहेको कुरातर्फ निबन्धहरुले ध्यानाकर्षण गरेको देखिन्छ भने सरकारी तवरबाट देखाइएको शैक्षिक तदर्थवादले देशको शिक्षा डामाडोल भएको कुरालाई निर्धक्क उठान गरिएको छ । के के न गर्ने भनेर मुलुकमा नयाँ शिक्षा पद्दतिको योजना लागु गरिए पनि त्यसले सोचेजस्तो नतिजा दिन नसकेको तर्फ पनि उनले व्यङ्ग्य प्रहार गरेका छन् । यसका अलवा बालबालिकाको सर्वोपरी विकासका लागि अभिभावकको भूमिका तथा बाल विकासका लागि उपयुक्त घरेलु वातावरणको आवश्यकता पर्ने कुरामा उनले निर्भिक तर्क प्रस्तुत गरेको देखिन्छ निबन्धभित्र ।

बालमैत्री वातावरणमा विद्यालीय शिक्षा प्रदान गर्ने वातावरण निर्माण गर्न सक्ने हो भने विभिन्न सम्भावनाले सुसज्जित बालबालिकाले आफूलाई स्वतःस्फूर्त अघि बढाउन सक्छन् भन्ने विश्वास लेखकले व्यक्त गरेका छन् । आफ्नो विशिष्ट प्रतिभा प्रदर्शन गरेर राष्ट्रिय चर्चामा आएका प्रतिभाशाली विद्यार्थी कुशल केसीको सफलताबाट उद्वेलित र उत्साहित बनेका लेखक प्रधानले सबै बालबालिकाहरुका लागि उचित पठनपाठनको वातावरण दिनका लागि अभिभावक, विद्यालय, शिक्षक र सरकारले समेत आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिएका छन् । राज्यका तर्फबाट दुईखाले शिक्षालाई अघि बढाएको कुरामा खासै सहमत हुन नसकिने मत राख्ने लेखक प्रधान पछिल्लो समयमा निजी क्षेत्रबाट पु¥याइएको शैक्षिक योगदानलाई कम आँक्न नमिल्ने तर्क गर्दछन् । आफ्ना राजनैतिक अभिष्ट पूरा गर्न बेला न कुबेला विद्यालय बन्द गराउने, हड्ताल गर्ने, द्वन्द्वमा बालबालिकाको प्रयोग गर्ने र शिक्षा क्षेत्रलाई राजनैतिक अखडा बनाउने कुरामा उनको गम्भीर विमति रहेको छ ।

लेखकले आफू सामुदायिक विद्यालयको शिक्षक भएको समयमा पञ्चायती व्यवस्थाको अर्घेल्याइँपूर्ण व्यवहारबाट पाएको दुःख, दमन र पीडालाई मनै छुने गरी उल्लेख गरेका छन् ‘‘म्याग्दीको शिक्षक संघर्ष ः मेरो स्मृतिमा’’ शीर्षकको निबन्धमा । म्याग्दी जिल्लामा कार्यरत रहँदा लेखकले सत्ताका कथित ठेकेदारहरुबाट भोगेको हण्डर–ठक्कर र दुर्दान्त पीडाले पाठकलाई नै मर्माहत बनाउँछ । तात्कालीन सत्ता र सत्तासिनहरुको घिनलाग्दो व्यवहारले शिक्षामा अपेक्षाकृत सुधार हुन नसकेको तथ्यलाई पनि लेखकले आफ्ना निबन्धहरु मार्फत सविस्तार चर्चा परिचर्चा गरेका छन् । विसं. २०३५÷३६ सालको विद्यार्थी आन्दोलन र त्यस सँगसँगै उठेको शिक्षक आन्दोलनका संगत विसंगत पक्षका बारेमा उनले सविस्तार चर्चा गर्न प्रयन्त गरेको देखिन्छ । नेपाल राष्ट्रिय शिक्षक संगठन, म्याग्दीको संस्थापक अध्यक्षको रुपमा आफूले निर्वाह गरेको भूमिकालाई पनि उनले सगौरब उठान गरेका छन् आफ्नो निबन्धात्मक फ्लेसब्याक मार्फत । निस्वार्थ भावले कुनै पनि संगठनको नेतृत्वदायी भूमिका निर्वाह गर्नु चानचुने कुरा रहेनछ भन्ने उनले उल्लेख गरेका घटना परिघटना विचरण गर्दा बोध हुन्छ ।

‘‘विर्तामोड–तिलौराकोटको यात्राले उरालेको मन’’, ‘‘मेरा हिमालसँग हाँस्न पाउँदा’’, ‘‘पर्यटनको क्षेत्रमा बागलुङको भूमिका’’ र ‘‘व्यस्त सहरमा आँखा जुध्दा’’ जस्ता शीर्षकका आलेखहरुले नेपालको पर्यटन क्षेत्रका बारेमा दृष्टिपात गरेका छन् । लेखकले विभिन्न समय र सन्दर्भमा नेपाल र भारतका विभिन्न पर्यटकीय तथा धार्मिक साँस्कृतिक महत्वका क्षेत्रहरुको भ्रमण गर्दा पाएका कुरा र ती क्षेत्रको परिभ्रमण गरिसकेपश्चात मनमा उब्जेका भावनाहरुलाई लिपिबद्ध गरेका छन् । पछिल्लो समय छलफल र चर्चामा आएका शान्ति पर्यटन, स्वास्थ्य पर्यटन, धार्मिक पर्यटन, पर्यापर्यटन आदिका सन्दर्भहरुलाई सम्बोधन गर्ने गरी लेखकले आफ्नो ठाउँको विकासमा स्थानीय बासिन्दा र सरकारले समेत संयुक्त पहल गरेर पर्यटन व्यावसायलाई फस्टाउँदै लैजानुपर्ने कुरामा जोड दिएका छन् ।

उनले बहुसाँस्कृतिक, बहुजातीय, बहुभाषिक तथा बहुभौगोलिक विशेषताले भरिपूर्ण देश नेपाल र आफ्नो जिल्ला बागलुङको विकासका लागि पर्यटन क्षेत्रको भरपूर प्रयोग गर्नुपर्ने तर्क अघि सारेका छन् । कोशी बाँधको भ्रमण गरिसकेपछि लेखकमा आएको दक्षिणी छिमेकी देश भारत प्रतिको धारणा पनि प्रकटीकृत भएको छ निबन्धमा । उनले भारतले नेपाललाई हेर्ने र व्यवहार गर्ने हेपाहा र मिचाहा प्रवृत्तिप्रति गुनासो गरेका छन् । शासकहरु पनि विदेशीकै इशारामा अघि बढ्ने कुराले देशको हित नहुने कुरातर्फ उनले आफ्ना निबन्ध मार्फत ध्यानाकर्षण गराउन चाहेका छन् ।

‘‘संयोगपूर्ण अपूर्व साक्षात्कार’’ ‘काठमाण्डौंमा हराउँदा’’, ‘साङ्गीतिक यात्राका क्रममा पारिजात दिदीसँगका केही क्षण’’ आदि लेखहरुले लेखक प्रधानको साङ्गीतिक क्षेत्रतिरको लगावलाई परिचित गराएका छन् । यी सिर्जनाहरुमा लेखक प्रधानले समाजलाई चेतनाकरण गर्न नाट्य तथा संगीत क्षेत्रले अतुलनीय योगदान दिन सक्ने कुराको पटाक्षेप गरेको देखिन्छ । चर्चित तथा बरिष्ठ गायकहरु रायन, जीवन शर्मा लगायतका कलाकारहरुसँगको सम्पर्क तथा कार्यानुभवको बृतान्त पनि साच्चिकै रोचक रुपमा प्रस्तुत गरिएको छ निबन्धमा ।

यस्तै ‘‘प्रतिक्षाको घडी ः कति सार्थक कति हृदय विदारक’’, ‘‘कुरा दशैंको व्यवहार अघिपछिको’’ र ‘‘दीपावली, आत्मपूजा र नववर्ष’’ शीर्षकका निबन्धहरुले धार्मिक तथा साँस्कृतिक सन्दर्भहरुलाई जोड्दै समाजलाई धर्म, रितीरिवाज तथा संस्कृतिका माध्यमबाट के कसरी नैतिकवान, आचारणशील, जवाफदेही, सहयोगी, र सभ्य बनाउन सकिन्छ भन्ने बारेमा चिन्ता प्रकट गरेको भेटिन्छ । समायानुकुल हाम्रा साँस्कृतिक तथा धार्मिक चाडपर्वहरुलाई पनि परिमार्जन गर्दै जानु उपयुक्त हुने कुरामा लेखकले जोड दिएका छन् । अर्काको नक्कल, देखासिकी र बडब्पन देखाउने बहानामा विस्तारित हुँदै गएको आडम्बरी प्रवृत्तिलाई समयमै सच्चाउनु पर्ने आग्रह उनको भावनाबाट अभिव्यक्ति भएको छ । आफ्नो मौलिक परिचय र स्वाभिमानलाई गुम्न नदिनका लागि सबैले सचेत हुनुपर्ने कुरामा उनको विशेष आग्रह रहेको छ ।

केही निबन्धहरुमा लेखक प्रधानले रोचक ढंगले आफ्ना विछट्टै लोभलाग्दा अनुभवहरुलाई उल्लेख गरेका छन् । खोलामा पौडी खेल्न जाँदा पानीभित्र डुबेर पानी खान पुगेको र पछि कसैगरी खोलाभित्रको ढुङ्गो समातेर बाँचेको प्रसङ्ग पनि त्यत्तिकै कुत्कुताउने खालको छ । विद्यालयमा सांगीतिक कार्यक्रम देखाउँदाका प्रसङ्गदेखि बहुआयामिक प्रतिभाका धनी व्यक्तित्व मोदनाथ प्रश्रितसँगको भेटका बारेमा उल्लेखित विषयले पाठकलाई भिन्दै खालको रोचकता र रौनकता प्रदान गर्दछ । यसैगरी स्वनामधन्य दिवङ्गत नारी स्रस्टा पारिजातसँगको भलाकुसारी पनि कम रोचक छैन । ‘मेरो साङ्गीतिक परिक्रमाका क्रममा पारिजात दिदीसँगका केही क्षण’’ शीर्षकको निबन्धमा उल्लिखित एउटा प्रसङ्ग झनै रोमाञ्चक रहेको देखिन्छ । यस प्रसङ्गमा लेखक प्रधान म्याग्दी जिल्लामा रहँदा पाहुना लागेको घरमा एक दिन केही युवतीहरुले उट्पट्याङ गरी उनी सुत्ने खाटमा कुनै नयाँ व्यक्ति मुख छोपेर सुतेको बनाएर लेखकलाई झुक्काएको कुरा उठाइएको छ । यस्ता अनेकन रमाइला दृश्य तथा परिघटनाहरु निबन्धहरु भित्र प्रसस्तै पढ्न पाइन्छन् ।

‘‘विश्वको चुनौती हाम्रो दायित्व’’, ‘बाजे ओमप्रसाद गौचनप्रति श्रद्धाका दुई शब्द’’, ‘द्विशतवार्षिकीले सिर्जेको तरङ्ग’’ र ‘‘भूमिगत नेतासँगको साहचर्य’’ शीर्षकका निबन्धहरुले विश्वव्यापीरुपमा रेडक्रसले खेलेको भूमिका, बागलुङको सर्वाङ्गीण विकासमा ओमप्रसाद गौचनले दिनुभएको योगदान, नेपाली भाषा, साहित्यको उन्नयनमा महत्पूर्ण भूमिका निर्वाह गर्नुभएका आदिकवि भानुभक्त आचार्यको बारेमा अभिव्यक्त भएका लेखकका भावनाहरु तथा नेपालको बाम आन्दोलनका मुर्धन्य चिन्तक तथा राजनीतिज्ञ मोहन विक्रम सिंहको सरल, सपाट र सादगी दिनचर्याबाट प्रभावित भएका लेखकका अनुभूतिहरुलाई उल्लेख गरिएको छ । पछिल्लो समयमा बढिरहेको राजनैतिक अपराधीकरण, मैमत्ताभाव, बेइमानी, छलकपट र नागरिकलाई भेँडाको जस्तो व्यवहार गर्ने नेताहरु प्रति लेखकले तीतो पोखेका छन् ।

भविष्यका कर्णधार भनिएका युवा युवतीहरुमा देखापरेका विकृति र कुसंस्कृतिले उनलाई ज्यादै नै चिन्तित बनाएको कुरा बुझ्न कठिन हुँदैन । मै खाउँ मै लाउँको भावमा अघि बढिरहेका युवाले कसरी मातृभूमि प्रतिको भूमिका प्रभावकारी रुपबाट निर्वाह गर्लान् ? भन्ने कुराले लेखकमा निराशा भावको सञ्चार गरेको देखिन्छ । तसर्थ उनी युवाहरुलाई जिम्मेवारी बोधका साथ अघि बढ्न अनुरोध विसाउँछन् आफ्ना शब्दको माध्यमबाट । देशको सबै नीति नियमको माउ नीति भएकाले पनि राजनीतिमा शुद्धीकरण हुनुपर्ने उनको राय रहेको छ । आदर्श, नैतिकता, इमान, जमान र स्वधर्म गुमाएर छाडा हुँदै गएको वर्तमान राजनीतिले आफूलाई सच्चाएर अघि बढ्नुपर्ने आग्रह लेखक प्रधानले गर्न चाहेको देखिन्छ ।

यसरी स्रष्टा महेशचन्द्र प्रधान एउटा विशिष्ट खालको उन्नत समाज व्यवस्थाको परिकल्पना गर्दै अघि बढ्ने चाह राख्छन् । उनले आफ्नो लेखनी मार्फत स्मरण गरेका घटना, दृष्टान्त र विवरणहरुको जगमा एउटा सुललित, सम्पन्न र सार्थक मानव समाजको परिकल्पना स्थापित गर्दछन् । प्रधानका अधिकांश निबन्धहरुमा सामाजिक वेथिति, कुसँस्कृति र कुशासनको विरुद्ध आवाजहरु बुलन्द भएका छन् । राजनैतिक भ्रष्टता, परनिर्भरता र दास प्रवृत्तिको विकासले देशको उँधोगती भैरहेको परिदृश्यले उनलाई निकै चिन्तित तुल्याएको छ । महाकाली सन्धी, कोशी–गण्डक सम्झौता लगायतका सन्धी सम्झौता गरेर देशलाई नोक्शानमा पारेको प्रति मन दुखाइले उनी राष्ट्र, राष्ट्रियता र देशप्रेममा कति आशक्त छन् भन्ने देखिन्छ । उनी घुमाइफिराइ समाजमा बढिरहेको व्यक्तिवादी, कपटी, खुराफाती, स्वार्थी र पदलोलुप प्रवृत्ति प्रति नाराजगी प्रकट गर्दछन् । राम्रा कुरालाई मुक्त कण्ठले प्रशंसा गर्नु र नराम्रा कुरालाई भित्तै पु¥याउने गरी खबरदारी गर्नु प्रधानको लेखकीय महत्ता बनेको आँकलन गर्न सजिलै सकिन्छ ।

मूलतः प्रधानका सबै निबन्धहरु खास खालको ऐतिहासिकतामा अघि बढेका छन् । प्रधानले बालवय बिताएको समय र त्यसपश्चातको समयको बिम्ब प्रस्तुत भएकाले आजको समयमा बाँचेका पछिल्लो पुस्ताका पाठकलाई यो निबन्ध कृति गतिलो समाजशास्त्रीय खुराक हुने कुराको अपेक्षा गर्न सकिन्छ । सङ्गृहीत केही निबन्ध वैयत्तिक संस्मरणमा आधारित छन् भने केही निबन्धहरु यात्राअनुभूतिमा आधारित छन् । केही निबन्ध लेख तथा आलेखजस्ता छन् । जती छन् रोचक, प्रेरणादायी र सन्देशमूलक छन् । सबै निबन्धहरु निःशर्त समयको प्रतिध्वनीका रुपमा गुञ्जित र झङ्त्रृmत छन् ।

यस सङ्ग्रहका सबैजसो निबन्धहरु तात्कालीन समाजको पात्र र प्रवृत्तिलाई उदाङ्ग पर्ने समाजशास्त्रीय दस्तावेजहरु हुन् । त्यो बेलाको समाज, उत्पादन संरचना तथा शक्ति सम्बन्धलाई बुझ्न यी निबन्धहरु सहयोगी हुने कुरा निर्विवाद छ । यी निबन्धमार्फत लेखकले सुझाएको सत्कर्म गर्न सक्ने हो भने आजको नेपाली समाज साँच्चिकै सुन्दर, शान्त, विशाल बन्ने कुरालाई कसैले रोक्न सक्दैन । विभिन्न समयमा भिन्दाभिन्दै पत्रपत्रिकामा प्रकाशित भैसकेका र प्रकाशन हुन बाँकी रहेका आलेखहरुको सँगालोको रुपमा दीअ प्रकाशन, रत्न श्रेष्ठ प्रकाशन गुठी, बागलुङले प्रकाशन गरेको महेशचन्द् प्रधानकृत यो सङ्ग्रहले धौलागिरि अञ्चलको र समग्र नेपाली साहित्यको क्षेत्रमा एउटा नवीन आयाम थपेको तथ्य निर्विवाद छ ।

प्रस्तुत सङ्ग्रहमा अटाएका सबैजसो निबन्धमा प्रधानले आफूले देखेभोगेका घटनालाई यसरी प्रस्तुत गरेका छन् जहाँ पाठकले पनि उस्तै अनुभवहरु सम्झन पुग्दछ । निबन्धमा प्रयुक्त शैलीले पाठकलाई कुनै चलचित्र हेरेको अनुभूति हुन सक्दछ । किनकी निबन्धको सिलसिला एउटा सिङ्गो कथाको शैलीमा अगाडि बढिरहेकोजस्तो लाग्दछ । लेखन शैलीमा प्रधान यसरी अघि बढ्छन् जहाँ उनी मात्र दुःखी र प्रताडित हुँदैनन्, बल्की पाठक पनि सँगसँगै गहिरो चोट र पीडाको अनुभूति गर्न पुग्दछ । उनले प्रकट गरेको आक्रोशमा पाठक पनि सँगसँगै आक्रोशित महशुष गर्दछ । लेखकको सुखानुभूतिमा पाठक पनि आनन्दित महशुष गर्न सक्दछ । प्रधानले देखेको उच्च आदर्शात्मक समाज व्यवस्थाको चित्रमा पाठकका आँखा पनि एकाकार र डोलायमान हुन पुग्दछन् । प्रधानले सत्यम् शिवम् सुन्दरम् प्राप्तिको आफ्नो मनसालाई अक्षरमा सुन्दर ढंगले कुँधेका छन् । प्रधानलिखित सबैजसो निबन्धहरुले खास समयलाई चियाउने र छिमल्ने आँखीझ्यालको रुपमा समयक्रमलाई उजिल्याएका छन् । यस अर्थमा प्रधानको लेखनी आधारभूतरुपमा सफल छ भन्न सकिन्छ ।

निबन्धको खास सैद्धान्तिक आधारभित्र यी लेखोटहरु पर्छन् या पर्दैनन्, त्यो फरक र बहशको विषय हुन सक्ला तर समयसान्दर्भिकता र लेखकीय मूल्यका दृष्टिले यिनको भिन्दै र ठोस अर्थ रहन्छ भन्ने तथ्यमा कुनै विवाद शायदै होला । सङ्ग्रह पठनीय, उदाहरणीय र सम्प्रेषणीय छ । तात्कालीन समयका नालीबेली केलाउने ऐनाका रुपमा पनि यी निबन्धहरुलाई आत्मसाथ गर्न सकिने ठाउँ छ । त्यसो त व्यक्तिपिच्छे लेखनको लय, ध्वनी र गति फरक–फरक हुन्छ, यसो भएकाले प्रधानको आफ्नोपनमा र अनुभवनिःसृत मौलिकतामा सबैले उत्तिकै मजा मान्लान भनी किटान गर्न मुस्किलै हुन्छ । यस पुस्तकभित्र इतिहासका विभिन्न कालखण्ड र विविध प्रसङ्गमा लेखिएका घटनाक्रमहरुको सिलसिला टुट्नु फुट्नु स्वाभाविक पनि छ । परन्तु लेखक प्रधान हुर्के बढेको समाजका बारेमा पटक्कै जानकारी नभएका पाठकलाई पनि यस सङ्ग्रहका निबन्धले ध्यानाकर्षण गर्न सके भने लेखकलाई समग्र सफलता प्राप्त भएको मान्न सकिएला ।

अन्त्यमा, शैक्षिक, धार्मिक–साँस्कृतिक र सामाजिक सेवा क्षेत्रका जानेमाने अग्रज व्यक्तित्व स्रस्टा महेशचन्द्र प्रधानको लेखकीय श्रृङ्खला अविश्रान्त अघि बढिरहोस् । हार्दिक सुभेच्छा ।

शिवालय बहुमुखी क्याम्पस, कुश्मा, पर्वत

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 श्रावण, 2071

लेखकका अन्य रचनाहरु