के कवितासँग दम छ ?

- चन्द्र घिमिरे

कविताको झोला बोकेर बाटामा खुत्रुक निस्कने कवि त्यसदिन श्यामल थिए । सामुन्ने मारामार चलिरहेको देखे । ढँुगा उनको टाउकैमा आईलाग्यो । उनी जाईलागेनन । उनी पनि अपहेलित वा सिमान्तकृत होलान् जीन्दगीको आरोह–अवरोहमा । यद्दपी अर्बेला पनि उनी हिँसा गर्दैनन । बजार बन्द गर्दै हिँड्दैनन । राजमार्ग थुन्दैनन । नानीहरू जाने विद्यालय बन्द गर्दैनन । प्रयुक्त नाम श्यामल सबै कविहरूको चेतलाई प्रतिनिधित्व गर्न उतारिएको बिम्बात्मक पात्र हो ।

सडकमा हानेको ढुँगाबाटै चेत नापिने भए कवि र कविताका अनुरागीहरू निरक्षर ठहरिन्थे । र प्रौढकक्षामा पठाईन्थे होला । तर उनीहरू समाजको सकारात्मक गन्तव्यका लागि बाँचेका अक्षरजीवि हुन् । कवि र कविताको शक्ति यही हो । व्यवहारमा यो कति संभव छ ? त्यो पनि अहिलेको विषम परिस्थितीमा । यही बहस छेड्न खोजिएको छ यो लेखको बहानामा ।

चालिसे दशकमा धरानमा ‘अर्काे जमात’ (साहित्यिक समूह) जन्मँदा हाम्रा एक जल्दाबल्दा कवि मित्र थिए टँक घिमिरे । अल्पायुमा बिते । तीनले कविताबाट एउटा घोषणा गरेथे । ‘कवि चोर हुन सक्तैन’ । कवि रुमानी, भावुक र विचारशिल मात्र होईन । जिम्मेवार पनि हुन्छ भन्नेमा उनी ढुक्क थिए । शायद यसैले अइ्यया हुने गरी दुख्दा पनि सडकमा श्यामल ढुँगाकर्मी नबनेका होलान् ।

यत्तिखेर मतर्फ गत सालको एनसेल लिटरेरी फेस्टिबलको एउटा सेसन लम्किदैछ । कविताको शक्ति भन्ने सेसन थियो । प्यानलिष्टहरू थिए समकालिन काव्य जगतका चर्चित चार कवि कवियत्रीहरू । दर्शकदिर्घाबाट मैले उभ्याएको एउटा प्रश्न थियो । अँग्रेजकालीन भारतमा बँगाल पुर्नजागरण भित्राउने कविताको सामथ्र्यता नेपाली कविताले देखाउला नदेखाउला ? दशैँ पछि हुने सन् २०१३ सिरिजको फेस्टिबलले यो पर्गेल्ला वा नपर्गेल्ला कुर्नै पर्ला ।

नेपालबाट अलि विश्व परिवेशमा उक्लौँ । विलियम्स कार्लोस विलियम्सले एकदिन भनिदिए ‘अचेल न्यूजपेपरमा तिमीले न्यूज भेटदैनौँ’ । उनले सल्लाहा दिए न्यूज खोज्न कविता तिर पस्नु पर्छ । तर के नेपाली कविताले आम मान्छेको समाचार पस्केको छ ? छ भने कवितासँग नेपाली समाजमा पुर्नजागरण ल्याउने औकात बढेको मान्न सकिएला । कविताले पस्कने आम मान्छेको समाचारसँग कविताको प्रतिष्ठा गाँसिन्छ । पस्किए प्रतिष्ठा बढ्ला, नपस्किए घट्ला । यो घटाउने र बढाउने समकालिक कविहरू हुन् ।

हाम्रो घर बाहिर पनि कवितामाथि गालीगलौज अलि बढेको छ । वाशिङटन पोष्टमा स्तम्भकार अलेक्जान्ड्रा पेत्री २०१३ जनवरी अँकमा लेख्छिन् अहिलेका कविहरु हुलाक सेवामा काम गर्ने मान्छे जस्ता छन् । हुलाक सेवा जस्लाई फोन, इमेल र इण्टरनेट जस्तो प्रविधिले अधिकाँशत विस्थापन गरिसक्यो । उपयोगिता निख्रि सक्दा पनि हुलाकीहरु भने आँफूले उपयोगी सेवा दिई रहेको भ्रममा छन् । व्यस्त भए जस्तो गरिरहन्छन् । पेत्रीको विष्फोटक लेखले कविताप्रेमी धेरैलाई अहिलेसम्म हल्लाई राखेको छ ।

समय र समाजबाट भाग्ने भए आउँदा दिनहरू कविताका लागि निर्दयी हुन सक्छन् । समाजकेन्द्रित नभएर आत्मकेन्द्रित संवाद बोलि रहे कविता थप एक्लिन सक्छ । यति बुझ्न जोखाना हेर्नु नपर्ला । अब पनि आम मान्छेको समाचार र भाका नबोल्ने भए हुलाकीका दिन गए झैँ कवि र कविताका दिन पनि पखालिन्छन् । अहिलेको मान्छेलाई प्रविधि र बजारले विकल्प चौडा गरेकोछ ।

न्यूजविकले मे ४ २००३ संस्करणमा छापेको ‘कविता म¥यो, यसको वास्ता कस्ले ग¥यो?’ (पोइट्री इज डेडः डज एनिबडि रियल्ली केयर?) विवादित लेखको आलोचना गर्ने मस्सूर निकै भए । एजरा पाउण्डले पनि भन्दा हुन् सो लेखको अन्तिम हरफको जवाफ दिन आजका कवि र कविताले खलखली पसिना बगाउनु पर्छ । भनिएको थियो ‘मसँग हेर्नलाई टेलिभिजन छ, पढ्नलाई वेष्टसेलर छ, सुत्न ओछ्यान जान अघि खोल्नलाई इण्टरनेट छ’ ।

कविता विरुद्ध राँके जुलुस निकाले पनि कविता कविता नै हो । अभिव्यक्तिको सर्वोत्तम स्वरुप कविता हो । भारतीय बजारमा डिस्कोर्स निकै चले पनि नेपाली बजारमा उपन्यास निकै चले पनि औलो उन्मूलन भएझैँ कविता उन्मूलन भएको छैन । बरु ती विधाहरू औधी पढिनुमा तिनमा प्रयुक्त काव्यिक शिल्पको जादूको कमाल छ ।

मेरा लागि उत्तम कविता विचार र कलाले रेखाचित्रमा सृजना गरेको इक्विबिलिया हो । असामाजिक हैन कविता सामाजिक जेनर (विधा) हो । यसले समाजको भाका टिप्छ । भाषागत रुपमा समाजसँग संवाद गर्छ । विचार पक्ष तिखारिन्छ । परिवर्तनको सन्देश छर्छ । तर एकोहोरो समाजपक्षिय हुँदा राजनीतिक कार्यकर्ता भएको आरोप खनिन्छ । नारा वा राजनीतिक पर्चाको बिगबिगी बढ्छ । कवितालाई नाराबाट सर्लक्क बचाउने कलात्मक शैली नै हो । दुवैको हाइब्रिडले उत्तम ब्राण्डको कविताको उत्पादन गर्छ ।

कविताको सिजन छैन भन्ने दौर चल्तीमा छ । कसैकसैबाट पाठकहरुलाई दोष दिइँदैछ । भनिन्छ, कविता ‘गर वा मर’को दोधारमा छ । कवितालाई अभियुक्त झैँ केरकार भईरहेछ । सम्पादक भाग्दै छन् । प्रकाशक पन्छिँदै छन् । सेप्टेम्बर २०१३ को पैलो साता एक साँझ प्रसिद्ध भारतीय कवि केदारनाथ सिंह कलकत्तामा मकहाँ अतिथी थिए । काव्य चर्चा गर्ने क्रममा उनले पेरिसमा धेरै वर्ष अघि भएको साहित्यिक सम्मेलन र फ्रेन्च प्रखर कवि एभेज बोनफोयलाई सम्झे । गणित र दर्शनशास्त्रका विद्यार्थी रहेका बोनफोय समक्ष धेरैले कविता मरिरहेको आवाज तेर्साए । काव्यमाथि दोषारोपण र बहस त्यतिखेर पनि रहेछ ।

कविता सरल लेख्ने वा गंभीर लेख्ने भन्ने बारेमा केदारनाथ सिंहको आफ्नै कन्भिक्सन छ । म तर्फ फर्किए, “डण्ट सिम्प्लीफाइ टु बी सिम्पल” (सरल हुन कवितालाई सरल नबनाऊ!) । उनी थप्छन् यो निकै जटिल पहेली हो । सरल कविताका नाममा प्राणहिन शव्दहरूको थुप्रो नलगाउ । यसो भन्दा गालिबलाई सम्झिए “म दैनन्दिन टुटिरहेको आवाज हुँ” । समाजको उथलपुथल र अवमूल्यनलाई सरलता र गंभिरताका साथ पोखिएको यो अनुपम नमूना हो ।

कविताको ताकत केमा छ ? बिक्नुमा वा लेखिनुमा ? मेरो सोधाइमा सिंह एकछिन घोरिए । र बोल्दै गए । हो, कविता बिक्तैन । यो नै यसको ताकत हो । यसलाई खरिद गर्न सकिंदैन । आँफैलाई देखाए । “म लेखेर हैन, जवाहरलाल विश्वविद्यालय (जेएनयु) को पेन्सनले बाँचिरहेको छु ।” प्रोफेसर भएर उनले वर्षौँ भारतको जेएनयुमा अध्यापन गरेथे ।

बाघ सिरिजका कविता लेख्ने सिंह टुँगाउदै थिए, बजार उत्कृष्टताको मानक हुन सक्तैन । बजारले प्रमाणपत्र बाँड्न सत्तैmन । भारतीय बजारमा सबैभन्दा बढी रेल्वे साहित्य पढिन्छ । मनोहर कहानियाँ वा अपराध साहित्य करोडौँ प्रति बिक्छ । बजारमा सिरियस राइटिँग अपहेलित छ । उनको भनाईसँग म असहमत छुईन ।

कविताको समवेदना सन्देश धेरै फुकिए । हिन्दी कवि मृत्युन्जय कुमार सिंह मलाई सुनाउँछन् । मान्छेमा भावना रहेसम्म कसरी कविता मर्छ ? कविता मर्न पहिला मान्छे सिद्धिनु प¥यो । यात मान्छेबाट भावना रित्तिनु प¥यो । मैले थपि दिएँ रोबोट युग आएछ र मान्छेबाट सिक्न थालेछ भने कविताबाट शुरु गर्नेछ रोबोटले ।

एक कविता जर्नलका सम्पादक डेनियल जोम्पारेली थप्छन् । लोकप्रिय विज्ञापनमा काव्यिक भाषाले बजारमा ग्राहक बटुल्छ । मलाई पनि लाग्छ, कविता मरेको कविता इतरका लागि हो । अपरेसन थिएटरबाट निक्लँदै गरेका चिकित्सक वा ईराक अफगानिस्तान लडाइंबाट घर फर्किएका अमेरिकी सैनिक कविता अभिव्यक्त गर्छन् ।

मान्छेको समाचार लेख्ने कविताको कुरा चल्दा इतिहांसमा प्रतिष्ठीत कविताहरुले यस्तो समाचार लेखे । त्यसैले ती श्रद्धाले पढिन्छन् । वाल्ट ह्विटम्यानको ‘सङ अफ माइसेल्फ’, टिएस इलियटको ‘द वेष्टल्याण्ड’, एलेन गिन्सबर्गको ‘हाउल’ । लिष्ट धेरै लामो छ ।

‘राम्रो लेखन राम्रो लेखन हो’ भन्न रुचाउँछन् अहिलेको पुस्ताको प्रतिनिधी अमेरिकी कवि रिचर्ड ब्लान्को । उनले राष्ट्रपति बाराक ओबामाको दोश्रो कार्यकालको स्टेट कार्यक्रममा कविता पाठ गरे । उनलाई लाग्छ प्रतिस्पर्धामा नओर्लि कविता बाँच्दैन । कविता ज्यूँदो त छ, तर डार्विनको ‘सर्वश्रेष्ठले मात्रै बाँच्ने (सर्भाइभल अफ फिटेस्ट)’ शैलीमा कवि र कविता बाँच्नु पर्छ । तर बाँच्ने बजारमा अथवा गंभिरतामा?

केदारनाथ सिंहलाई लाग्छ समकालिक श्रेष्ठतम कविताहरू अरब भूमीमा लेखिँदैछन् । विश्व बजारमा तिनीहरूको काव्यिक आवाज कहीं भूमिगत बसे जस्तो छ । अरब मुलुकहरू ठूलो सामाजिक र राजनीतिक उथलपुथलको भेलबाढीमा छन् । स्प्रिङ्ग रिभोल्युशन पछिल्लो अध्याय हो । प्रखर काव्य चेतबाट यतिखेर त्यहाँ सर्वश्रेष्ठ कविताहरू लेखिँदै छन् ।

मानक बजार होस वा गंभिर लेखन कवि र कविता सामाजिक उत्पादन हुनै पर्छ । जेलाई मानक मानौँ कविताको हैसियत बढाउन गंभिर बहसको जरुरी छ । यस प्रसँगमा म सम्झन्छु बिलि कोलिन्सलाई । उनी भन्छन् कविताका पाठक अहिले अन्तै लागेका छन् । तिनीहरु फर्कने तयारी गर्दै छन् । नेपाली कवितातर्फ पाठक फर्काउने तयारी कस्तो भईरहेको छ?

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 7 श्रावण, 2071

लेखकका अन्य रचनाहरु