त्यो मान्छे र उ

- युवा बराल ‘अनन्त’

“दिदी ! दिदी !! भिनाजुलाई साँपले ठुङ्ग्यो रे’ । रमेश दाजु र बिक्रम मामा भएर अस्पताल लाँदैछन्’।

“ साँप कस्तो रंगको थियो ?”

“ कुन्नि थाह भएन तर भिनाजु बेहोश छन् रे”।

“ बाँच्छ के त्यो मान्छे !” संत्राश जस्तो बोली उ । आत्तिएकी पनि थिइन उ, जस्तो हुनु पर्थ्यो । खाँदैगरेको थाल पनि भूईंमा राखिन । खाई रही अन्तिम गाँस नसकुञ्जेलसम्म । अनि मात्र उठेर उ चलमलाई । हात धोई । हात पुछी । फेरि मुख खोकली । मुख पुछी । अर्को कोठामा गई । उसका हेर्न लायकका लुगाहरु झिकी । जुत्ता निकालेर धुलो टकटकाई । तर उसलाई निस्केर हिंड़न मन छैन बाहिरतिर । किन जान्छे उ त्यो मान्छेको पछि पछि ?

“ बाँच्छ के त्यो मान्छे ?” प्रत्यक्षमा साँच्चै बर्बराई उ । साँपको ठुङ्गाईले मान्छे मर्न सक्छ । के उसलाई त्यही विषालु साँपले डस्यो होला जसको विषले तत्कालै मान्छेको ज्यान जान सक्छ ! के त्यो मान्छे पुन: होशमा फर्कन सक्छ ?

निकालेर बाहिर राखेको सेण्डल उसले यथा स्थान मै थनक्याई । लुगा जो लाउन भनी तयार गरेकी थिई त्यो पनि डल्लो पारेर दराज मै घुसारी । मोबाइल फोन उठाई । कुनै नम्बर डायल गर्न कन्टेक लिस्ट खोली । धेरै नामहरु एक पछि अर्को निहारी … रमेश, दिनेश, रघु, बिक्रम, चन्द्रमाया, दिपक, किशोर, विनिता, रुपेश्…\\\ अनि उसको पनि जसको नाम ड्याड भनेर सेभ गरेकी थिई । कहाँ छ होला त्यो मान्छेको फोन ? किन त्यो फोनबाट ऐलेसम्म कुनै कल आएन ?

“ घरमा बेसी अशान्ति भा’को पनि राम्रो होइन रहेछ”। उसको सोंचले त्यो विगतको रातलाई दोष्यायो । त्यो रात त्यो मान्छे निकै पिएर आएको थियो । उल्टा-सुल्टा निहुँ निकालेर उसंग झगड़ा गरिरह्यो । उसलाई लछार-पछार पनि पार्यो । शक्तिको प्रयोग गर्दै उसको सतित्वको मनमानि गरिरह्यो । अनि त्यो मान्छेको आगो निभे पछि बिहान अबेलासम्म सुतिरह्यो । उ रोई रही रातभरी । तर बिहानै नानीहरु स्कुल जान्छन्, उठेर तैयार पारिवरी पठाई । उसको पति दिउँसोतिर उठेर त्यतिकै बाहिरिएको थियो । “जतासुकै जावोस त्यो, म त अब मरे पनि त्योसंग बोल्दिनँ, खोज खबर पनि लिंदिनँ” । अनि उ नआएको नआएकै भयो ।

“बाँच्छ के त्यो मान्छे ?” मान्छेले के भन्छन् ! उ सोंच्छे । “म भन्छु तर मान्छेलाई – त्यो मान्छे मेरो निम्ति मरेतुल्य थियो” । त्यो मान्छे हुनु नहुनुले म अनि मेरा दुई सन्तानलाई कुनै फरक पर्ने छैन । निर्जीव उपस्थिति थियो उसको यो घरमा । बलेको आगो भित्र होमिएको भान थियो उसको सामिप्य । काँड़ायुक्त प्रेम ! प्रेमको नाममा नरपिशाचिय स्वामित्व ! अर्थहीन वैवाहिक सम्बन्ध !! पिड़ादायक शारिरिक सम्बन्ध !!!

‘कसरी बेह्रो होला साँपले त्यो मान्छेलाई ! कति आवेशमा थियो त्यो साँप ? आफ्नो प्रतिरक्षामा डस्न पुग्यो कि अचानक अत्तालिंदा घट्न पुग्यो त्यो घटना ! कति दुख्यो होला उसलाई या दुख्दै दुखेन ? कि उ वेहोश भैहाल्यो ! निकै दुख्नु पर्थ्यो उसलाई…हो असह्य । जसरी उसको निर्मम व्यवहार र कठोर प्रहारले म आधारातसम्म मर्माहत बनें थिएँ । बिर्सन कहाँ सक्छु र म ती सब कर्तुतहरु !’ हृदयका औड़ाहाहरु एकलै बर्बराई रही उ । शिकार हो उ । चोट उसलाई लागेको छ आलो । घाउ उसको मासुमा उब्जेको छ । दुख्दो उ छे । यति प्रतिशोध अनि आक्रोश त उसको स्वीकारीय छ । उ जसरी पनि प्रतिक्रियाशील हुन स्वतन्त्र छे । त्यो उसको नितान्त व्यक्तिगत अधिकार हो ।

विगतको त्यो खाली समय –‘एउटा ठूलो खानदानको केटो छ, तँलाई सुख सयलसंग राख्नेछ, परी जस्तै सुन-चाँदीले सजाउनेछ, महलको रानी बनाउनेछ’ भनेकी थिइन उसकी आमाले । ती सब मोहलाई लत्याएर, ती सुनौला प्रलोभन्हरु सम्पूर्ण त्यागेर, प्रेम विवाह गरेकी थिई त्यो हेर्दै आकर्षक नवयुवकसंग । पहिलो भेटमै प्रेम बसेको थ्यो त्यो सुड़ौल शरीरधारी मान्छेसंग । त्यसले पनि कस्तो नजरले हेरेको थियो उसलाई । तीन वर्षसम्म चलिरहेको थियो त्यो प्रेमको अन्धो प्रसंग । अनि अन्तमा भागेर बिहे गरेका थिए ।

अघिल्लो एक वर्ष सुनौलो बितेको हो उसको । प्रेमै प्रेमको मखमली समय । रुप, रंग अनि रमाहटको अनौठो संगम । यौन, पैसा अनि जवानीको अनुपम मेल । फूलका दिन अनि वासनाका रातहरु । बिते ती रमाइला पल खेल खेल मै । खेलाँचि जस्तै ।इसराय

जब पहिलो सन्तान जन्मियो…त्यसपछि विस्तारै बिकराल रुप लियो त्यो वैवाहिक सम्बन्धले । उ सदैव मातेर अर्धमृत घर आउन थाल्यो । त्यो अर्धहोश मान्छेले घरमा ताण्डव मच्चाउन थाल्यो । त्यो मदहोश मान्छेले आफ्नो असलियत देखाउन चुकेन । अनि दिनहुँको तनावमा त्यो पहिलो सन्तान विकट परिस्थितिको मार झेल्दै हुर्कन थाल्यो । ठिक डेढ़ वर्ष पछि पुन: अर्को सन्तान जन्मियो । नचाहँदा नचाहँदै पनि बसेको गर्भ धारण गर्नै पर्ने वाध्यतामा परी उ । उसको जीवनमा एउटा अर्को बोझ अकस्मात लादियो ।

अत्याचार अनि लाञ्छना सहेर पनि जीवन धानिरहेकी उसको जिन्दगीमा वर्तमानको बाटो

पहिल्याउँदै एउटा अँधारो भविष्य अनिश्चिता बोकेर आइपुग्यो । एकदिन अचानक पुलिस आएर त्यो मान्छेलाई पक्रेर लछार-पछार पार्दै निर्दयता पूर्वक लिएर गयो- नशालु पदार्थ सेवन तथा ओसार पसारको अभियोगमा । तीन वर्षको जेल भएको थियो । तीन महिना पछि उसैले त्यो मान्छेको जमानत तिरेर घर ल्याएकी थिई ।

त्यो मात्ने मान्छेले घर परिवार सबै शनै शनै भुल्दै गयो । बिर्सियो त्यसले उसको उत्तर्दायित्व । अनि कहाली लाग्दो स्थितिमा ती दुई सन्तान हुर्काउने बड़ाउने पड़ाउने जिम्मा त्यो कोमल काँधमा लादियो ।

त्यो मान्छे बाँचेर के हुन्छ र ! त्यो मरेर जाँदा उसको केही नोक्सान हुने वाला पनि छैन । बरू एउटा गह्रुङ्गो बोझ नै हट्छ । उ हुनुमा जति बेमजा छ, बिरक्ति छ, ताड़ना छ त्यो सब उ नहुनुले अर्कै नयाँ दिनको उदय हुनेछ । नानीहरुको निम्ति खुशियालीको श्रृजना हुनेछ । एउटा स्वच्छ परिवेश । नितान्त शान्त घर ।

शायद उ मरेर गए के हुन्छ ? उ सोंच्छे- ‘म एकली हुन्छु…विधवी… साधवी… यस्तै के के । जवान छु । केही दिन पश्चात मेरो एकलोपनको फाइदा उठाउँदै टोलका पट्ठोहरु के के निहुँ पार्दै जिस्कँदै, इत्रिन्दै, मस्किँदै आउलान । ती मध्ये कुनै एउटा मन मिल्दोसंग म पनि लहसिंदो हूँ । के थाहा समयले कस्तो करवट लेला । प्रेम पनि बग्ने वस्तु हो। यसले पनि निकास खोज्दो हो । यो पनि उन्मादित हुँदो हो । उछृङ्खल बनेर अन्य पुरुष मित्रहरुसित इत्रिंदो हो, छिल्लिंदो हो । कति उतौलो क्रियाकलाप गर्न तम्सिंदो हो । बदमास मन ! हृदयको खबरदारि नटेरेर उल्लास गर्दो हो । छि: छि: कस्तो पापी विचार यो, अनर्गल !

‘कस्तो थियो होला त्यो साँप - लामो ? मझौलो ? झिनो ? छोटो ? रातो ? कालो? छिर्केमिर्के ? या सेतो ??

किन ठुङ्ग्यो त्यो मान्छेलाई त्यसले ? कता गयो होला त्यो ? कि कसैले मारिदियो ? या त्यो ज्युँदो छ ? के के सोच्दै तन्द्रा जस्तो अवस्थामा उसले आफ्ना निश्छल नानीहरुलाई खिलाई, पिलाई अनि सुताई ।

टोल छिमेकबाट पनि कोही आएनन् त्यो मान्छेको हाल खबर बिचार्न । न उसले नै कुनै खोज तलास गरी । फोन बजेकै छैन धेरै लामो समयदेखि । यो पनि एउटा रहस्यै बनेको छ । कुनै बज्र पर्नु भन्दा अघिको निष्प्राण सन्नाटा जस्तो । कुनै आँधि-बेह्री आउन अघि मड़ारिएको कालो मेघ जस्तो कल्पना - घरि कस्तो, घरि कस्तो । थाहा छ, त्यो आउँछ तर कुन्नि कस्तो !!

त्यो मान्छे बाँचेर पनि त आउन सक्छ ! उसले प्रार्थना गरे जस्तो त्यो मान्छे नमर्न पनि त सक्छ । उसले प्रार्थना नगर्दा पनि त्यो मान्छे सकुशल बाँचेर फर्कन सक्छ । फर्केपछि त्यो मान्छेको अवस्था देखेर मुर्झाएको स्नेह पुन: पलाउन सक्छ । प्रेमको नयाँ मुना टुसाउन सक्छ । झ्यांङ्गिन सक्छ । बड़न सक्छ । फुल्न सक्छ । फल्न सक्छ । त्यो साँपको विष त्यति विषालु नहुन पनि त सक्छ । केही क्षणलाई त्यो मान्छे विहोश बनेको हुन सक्छ । मान्छे मर्नु त्यति सजिलो कहाँ छ र !

होश खुल्न साथ त्यो मान्छेले उसलाई कस्तरी खोज्यो हो । ‘ विनु ! विनु !!’ भनेर बोलायो हो । “तिम्रो रोशन म ज्युँदै छु’ ” भन्दै चिच्च्यायो हो । अस्पतालमा ‘म घर जान्छु ‘भनेर शायद जिद गर्यो हो । या’ मेरी प्रियतमा खोइ’ भनेर भित्र भित्रै रोयो हो । भक्कानियो हो । मन दुखायो हो । त्यो पत्थर जस्तो छात्ती पनि पग्लियो हो । ‘ सम्झेर उ यसबेला मायासरी भएकी थिई ।

ज्ञात थिएन उसलाई त्यो मान्छेको कुलत त्यतिखेर । बिहे भए पश्चात पनि शंका उब्जेन उसमा । अनि थाहा नहुनु नै सुगम थियो सुखमय वैवाहिक जीवनको निम्ति । यसै उ रमाईरही एकतमासले अनि चाटेरै राखि त्यो मान्छेलाई । त्यही आड़मा, त्यो मान्छेले अझ त्यो पदार्थ सेवन गर्ने मौका पायो । अझ अधिक मात्रामा खान थाल्यो हो । कति लाटी उ … ।

हो नि, जीवनका लगभग सात-आठ वर्ष एउटै पलंगमा सुतेका छन् तिनीहरु । कम्ति हाँसेर धेरै रोएका पनि छन् । अधिक्तर रिस राग द्वेश अनि आवेगको रापिलो आगो तापेका हुन् तिनीहरुले । खुशीका क्षण रमाएर अनि दु:खका क्षण रोएर पनि बिताएका हुन् । हर्ष अनि विमर्षका आँसु एउटै रुमालले पुछेका पनि हुन् । त्यो मान्छेको माया लाग्छ नि उसलाई , किन लाग्दैन र ! तर उसको त्यो कुबानीले ती मायाका लहलह बाली सबै नष्ट पारिदिएको हो । बस एउटै आदत । नशालु पदार्थको सेवन । हो त्यसैले जलायो त्यो मायाको सानो संसार । संहार पारिदियो सबै ।

छुटाउनको निम्ति त्यो लत उसले हजार उपाय नलगाएको होइन । पैसा बगाएर त्यो मान्छेलाई मान्छे बनाउन उसले लाखौं कोशिश गरी । जड़ी-बुटी, धामी-झाँक्रि, माता-ओझा, डाक्टर-वैध्ये जे पायो त्यही उपाय लगाई । तर त्यो मान्छेको मन बाँध्न सकिन उसले । चोरेर खायो, ढाँटेर खायो, छलेर खायो अनि अन्तमा धमास दिएर हाका-हाकि खायो । खान पाइन भने मर्छु भन्यो । कुट्छु मार्छु भन्यो । कुटयो पनि… तर उसको जिद छोड़न त्यसले । त्यो ड्रग्सले सग्लै निल्यो उसलाई । समाजबाट एउटा उज्ज्वल लाग्दो नक्षत्र गहिरो खाड़लमा झर्यो अनि त्यहिं भासियो । त्यो निभ्यो ।

त्यो मान्छे बाँच्न पनि त सक्छ ! बाँचेर त्यो हाँस्दै हाँस्दै फर्कि आउन सक्छ अनि त्यही पुरिया डल्लै निलेर मृत्युलाई जितेर आएको विजय उत्सव मनाउन सक्छ । त्यसले आफ्नो पराय कोही नचिनि एकलै मनमानी गर्न सक्छ । उसलाई अनि उसका नानीहरुलाई अकारण कुट्न पिट्न सक्छ । त्यो मान्छे नभए झोक्रिएर कैयन दिन त्यतिकै बसिरहन सक्छ । घरमा बिना बित्थामा तनावको स्थिति स्रृजना गर्न सक्छ । त्यो मान्छेको के भरोसा !!

यसपल्ट झसंगै पार्नेगरि फोनको घण्टि बज्छ । उ तरंग व्युँझन्छे त्यो दिवा-स्वप्नबाट । हृदयको धड़कन तेजले धड़किन्छ – ढुक ढुक गर्दै । थर्थर काँप्दो हातले त्यो फोन उठाउँछे उ । झिनो स्वरमा बोल्छे –‘हेलो … हेलो…को बोल्नु भयो…!!!

प्रत्युत्तरमा पुरुष स्वर गुञ्जन्छ – ‘ तपाईंको श्रीमान अब यो दुनियाँमा रहेनन् । ओभर डोजले गर्दा उसको ज्यान गुम्यो । तपाईं अस्पताल आएर आफ्नो दिवंगत पतिको लाश लान सक्नुहुनेछ…’।

हाँसौं कि रोऔंको अन्यमनस्क स्थितिमा उ पत्थर जस्तो अचल बसिरही । यतिखेर ती अबोध नानीहरु खेल्ने क्रममा बोलेको उ स्पष्ट सुन्दैथिई – ‘भरे मेरो बाबाले मलाई यत्ति धेरै खेल्ने कुरा ल्यादिनुहुनेछ’ । ‘इस नापेर ल्यादिनुहुन्छ ! हाम्मो बाबा त खालि मातिबस्छ … न मिठाई ल्याइदिन्छ ,न खेलाउने कुरा …मलाई त मनै पर्दैन’…”।

“ दिदी ! दिदी !! सुन्नु भो … भिनाजुलाई त साँपले ठुङ्गेको होइन रहेछ … सुन्नु भो…” त्यो केटो आएर घर बाहिर कराउँदै थियो । अझ के के बर्बराउँदै थियो ।

त्यसभन्दा ज्यादा अब उ सुन्न सक्दिन थिई … सुनिन पनि…

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 7 श्रावण, 2071

लेखकका अन्य रचनाहरु