रुपान्तरण

- विश्वम्भर चन्चल

एक दिन घरमा सबै जना भएको बेलामा सुनाएँ, “खोइ, काउली खान मन थियो । हिजो कालीको पसलमा राम्रो काउली देखेर सोधेको त किलोको चालीस पो भनी ए ! अब त काउली खान पनि दशैँ आउनुपर्ने जस्तो भयो हामीलाई ।”
”खोइ, मलाई पनि माछा खान मन लागेको एक वर्ष जति भयो होला, कहिल्यै ल्याउन सकिएको होइन,” माहिलो भाइले पनि आप्mनो मनको बह पोख्यो ।
साहिँलोले सोध्यो, “माछा सस्तो कि कुखुरा सस्तो हँ ? मैले पनि कुखुराको मासु खाउँ भनेको.... ।”
घरभरिकी जेठी भाउजू हामी सबैको कुरा सुनेर मुसुमुसु हाँसिरहेकी थिइन् । हामीमध्यैकै एक भाइले भन्यो, “भाउजू के हाँसेर मात्र बसिराखेको नि ? के खान मन छ भन्नोस् न !”
“भइहाल्यो नि ! तपाईँहरूले खाए म पनि खान पाउँला । तपाईँहरू नखाएपछि मलाई पनि चाहिँदैन,” उनले सुनाउन त सुनाइन् तर आज नभने पनि हामीलाई यो थाहा थियो कि भाउजूलाई मासु खाने धेरै पहिलेदेखिकै धोकोे थियो । यसैकीच सानुभाइले भन्यो, “भाउजू माछाको पनि मासु खानु हुन्न र कुखुराको पनि । भाउजूलाइ त खसीकै मासु चाहिन्छ, होइन त भाउजू ?”
सानुभाइको कुरामा हामी सबै जना हाँस्न थाल्यौँ, तर साहिँलो भने खूब मरीमरी हाँस्न थाल्यो र सानुभाइको डँडाल्नुमा पिट्दै, ठट्टा गर्दै धेरै बेरसम्म रमाइलो मानिरह्यो । सानुभाइले बुभ्mन सकेन र सोध्यो, “किन हाँसेको नि बिनासित्ति ?”
साहिँलोले हाँस्दै र रमाइलो मान्दै नै भन्यो, “बुझिस् भाइ, हाम्रो अफिसमा एक जना अमेरिकी थियो धेरै पहिले । उसले खसीको मासु, बोकाको मासु, कुखुराको मासु जस्तै माछाकोलाई पनि मासु नै भनिन्छ भनेर होला एक दिन उसले हामीलाई ‘माछाको मासु खाएर आएको’ भनेर सुनायो । र त्यस दिनदेखि हामीले उसलाई ‘माछाको मासु’ भनेर नाम राख्यौँ । अहिले तैँले पनि त्यस्तै भनिस् ।”
घरमा बेलाबखत हामी खुशी मनले यस्ता रमाइला काम कुरा त गथ्र्यौँ तर कुनै बखत हाम्रा अभावहरूले पनि हानमीलाई कम चिन्तित तुल्याउँदैनथ्यो । घरमा परिवारका धेरै सदस्य, विभिन्न इच्छा तर साधन र श्रोत सिमित । त्यसैले सबैले आ–आप्mना इच्छालाई दबाएरै बस्नुपथ्र्यो र मन लागेर पनि घरमा जे पाकेको छ खानैपथ्र्यो ।”
एक दिन बेलुका भात खाएर हामी जब सबै आ–आपूmमा देश–विदेशका परिस्थितिहरूमाथि छलफल गरिरहेका थियौँ, जेठा दाजुले सुनाए, “ए ! आज मैले ढुङ्गानालाई भेटेथेँ ।”
“को ढु्ङ्गाना ? उही अर्धपागल ?” माहिलोले सोेध्यो ।
“उसलाई म कहिल्यै यसो भन्दिनँ, मानिसहरू जे भनून्,” जेठा दाजुले प्रतिकार गरे, “ऊ एउटा साह््रै विव्दान मानिस हो । उसको सोचाइ र कुराकानीले विशाल क्षेत्र आगटेको हुन्छ । यस्ता विव्दान मानिसहरू प्रायः असाधारण प्रकृतिका नै हुन्छन् । तर मानिसहरू उसको कुरा बुभ्mदैनन् र उसलाई बहुलठ्ठीको संज्ञा दिन्छन् । यस कारणले कि उसले कुनै कुराको उठान र बसान कहाँ गर्छ थाहा नै हुँदैन । एक कुरामाथि अर्को कुराको उदाहरण दिँदै जाने उसको बानी छ– माकुराले जालो बुनेको जस्तै । त्यसैले साधारण मानिस उसको कुरामा अलमलिन्छन् ।”
“आपैmँ त अलमलियो जीवनको बाटोमा । त्यत्रो सारा सम्पत्ति एउटाको रिसले अर्कालाई दान दिएर र आपूm पाटीको बास भएर....,” माहिलोले खिसिको भाषामा उसलाई उडायो, “त्यस्तो मनिसले अरूलाई कुरामा अल्मल्याउँछ भन्नेमा के आश्चर्य ?”
“तैपनि ऊ सुखी छ हामीभन्दा, सन्तुष्टि लिन जानेको छ जीवनमा, सँधैँ हाँसिरहन्छ, सधैँ मानिसलाई ज्ञान–ज्ञुनका कुरा सुनाइरहन्छ । तर दुःख त यसमा छ कि उसका ती ज्ञानका कुरालाई मानिसहरूले रमाइलोको रूपमा मात्र लिने गर्छन् ।”
जेठा दाजुका यी कुरामा यसपाला चाहिँ मैले नै मुख फुटाएँ, “आज दाजुले ऊबाट के ज्ञान लिएर आउनुभो त ?”
“ऊ भन्छ– मानिसलाई जीवनमा दुःख पर्दै पर्दैन र जब साँच्चिकै दुःखको अनुभव उसले गर्छ वा भित्री आँखाले दुःखको स्वरूप प्रस्ट निहार्छ, त्यसपछि ऊ एक पल पनि बाँच्न सक्दैन, मरिहाल्छ । कुनै पनि उपायले उसले आत्महत्या गर्न बाध्य हुनु पर्छ....,” जेठा दाजुले सुनाउँदै गए, “....हामी जीवनमा जुन कुराहरूको दुःख मानिरहेका छौँ, त्यो दुःख नै होइन । त्यो त केवल पाइरहेको सुखको क्षणमा एकपाइला अघि वा पछाडिको क्षण मात्र हो । यस अर्थमा ऊ भन्छ– जीवन सुखपूर्ण छ, सुन्दर छ र शान्त छ । यसका लागि हामीले हामीभित्र रहेको भित्री चेतना भन्नोस् वा आँखा खोल्न सक्नु पर्दछ । जुन अवस्थालाई हामीले दुःख मानेर भ्रममा परिरहेका छौँ, त्यसलाई सुख नै मानेर जीवनको उतार–चढावको एउटा अर्को क्षणको आनन्द लिन सक्छौँ । जीवन भनेकै त यही हो.... सुखको अनुभूति.... !”
“त्यसपछि ढुङ्गनाले के भनेर मलाई उदाहरण दियो थाहा छ .... ?” यस बेलासम्ममा जेठा दाजु गम्भीर हुँदै गएका थिए र त्यही गम्भीर रूपमा नै हामी सबैतिर हेरेर यो प्रश्न गरेका थिए । हामीले सोच्यौँ दाजुसँग हाम्रो समझदारी नबिग्रियोस् ! यस कारणले पनि कि हामी अरू बखत र कुनै दुःखका दिनमा पनि ती सबैलाई भूल्ने प्रयत्न गर्दै आपसी प्रेममा जुन प्रकारका गफ ठट्टाहरू गर्ने गथ्र्यौँ र जेठा दाजुको सहि कुरामा साथ दिन्थ्यौँ, अहिले पनि हामी जीवनप्रतिको सोचाइमा ढुङ्गनाबाट प्राप्त दाजुको धारणालाई मनन गरिरहेका थियौँ कि उनको सोधाइ एकैपटकमा हाम्रा कानमा परेन । उनले फेरि जोड दिएर सुनाए, “थाहा छ ? ढुङ्गानाले के भनेर उदाहरण दियो मलाई ?”
“अँ.... भन्नोस् न....,” हामी सबै सचेत भएर ले एकैस्वरमा भन्न पुग्यौँ । दाजुले भने, “ढुङ्गाना भन्थ्यो कि कुनै एक वस्तुलाई एउटै आँखाले पनि विभिन्न रूपमा हेर्न सहिन्छ । जस्तो कतै एकान्तमा सुतेर आपूmमाथि आकाशको एक टुक्रो बादललाई हेरौँ । त्यस बादलको आकारलाई हामी जेमा पनि बदल्न सक्छौँ । कहिले जनावर, कहिले मानिस, कहिले कुन अनुहारको, कहिले कुन अनुहारको, आदि–इत्यादि । त्यसैले मानिसभित्र जुन त्यो भित्री आँखा छ, त्यसले आप्mनो स्थितिलाई कुन अवस्थामा देख्छ– सुख या दुःख, अभाव या सन्तुस्टि, त्यसमा नै भर पर्दछ.... ।”
“अर्थात् हाम्रा सारा अभावलाई हामीले सन्तुस्टिका रूपमा मात्र हेर्यौँ भने ती अभाव पूरा हुन्छन् त ?” माहिलो पनि यस बखत गम्भीर बन्यो र जेठा दाजुलाई सोध्यो । जेठाले भने, “वस्तुगत रूपमा पूरा नहुने त अर्कै कुरा हो । तर त्यस अभावलाई हामी अभावकै रूपमा नहेर्न पनि त सक्छौँ जुन कुराको अभाव भन्ने सम्झनै नहोस् !”
यस बखतसम्ममा सानुभाइ जसले चूपचाप मात्र सबै कुनिरहेको थियो, नबोली बस्न सकेन । बोल्यो, “त्यसो भए त संसार स्वर्गतुल्य बनिहाल्यो नि ! अभाव नै नहोस्, दुःख नै नहोस्, कत्ति मज्जा हुने थियो हगि दाई ?”
“हो त नि !” दाजुले सहमति जनाए, “हामीले पनि हाम्रा सारा इच्छालाई एकैरूपमा समेट्न सक्छौँ यदि हामीले चाह्यौँ भने.... ।”
“त्यो कसरी सम्भव छ ?”
“यो सबै भावनात्मक कुरा हो भाइ । यो यसरी सम्भव छ कि हामी कुनै कुरामथि प्रयोग गरी हेरौँ पहिले ।”
“के कुरामा प्रयोग गर्ने” साहिँलोको यस उत्सुकतामा जेठा दाजुले बाटो देखाए, “अहिले हामी सानै कुरा लिऊँ । हामी सबै भाइलाई केही न केही बेग्लाबेग्लै कुरा खान मन छ तर हामीलाई पुगिरहेको छैन । यसैले अब हामी एउटा सम्झौतामा पुगौँ कि सबै भाइलाई पूरा मात्रामा नहोस् तर केही न केही रुचिकर लाग्ने एउटा चीज बताउँ र त्यो कुरा सबैले अ–आपूmलाई खान मन लागेको कुरासँग जोडेर सन्तुस्टि प्राप्त गर्न खोजौँ । अनि हेरौँ हामी सक्छौँ कि सक्दैनौ ?”
“ल ल हुन्छ, दाजुले राम्रो उपाय बताउनुभयो,” घरमा सबैको मञ्जुरी भयो र अब हामी सबैले मिल्ने एउटा तरकारीको खोजी गर्न लाग्यौँ । यसबीच कसैले के भने, कसैले के भने । तर सम्पूर्ण परिस्थितिलाई हेर्दा रायो, चम्सूर र पालुङ्गोको सागमा आलु मिसाएर खाने अवस्थामा आयौँ । अनि त त्यसै दिन जेठा दाजुले ल्याए रायो, चम्सूर र पालुङ्गोको साग । आलु त घरमा छँदैदियो । दाजुको यस प्रकारको प्रयोगमा हामीलाई पनि रमाइलो क्षणको अनुभूति हुँदै आयो । त्यसमाथि कहिल्यै दुःख नमान्ने जेठी भाउजू, सँधैँ हँसिलो अनुहार र उनका हातले पकाएको त्यो साग, आलु र भात खान हामी सबैले उत्सुक बनेर पर्खिरह्यौँ ।
भात पाक्यो । भाउजूले हामी सबैलाई खान बोलाइन् । हामी आ–आप्mनो ठाउँमा गएर आजको भान्छाको विशेषतामा रमाइलो मान्दै खान बस्यौँ । भाउजूले पहिले सुकिलो तर घेरा सबै फाटिसकेको चोलाको दुवै बाहुलालाई माथि सारिन् र खुइलिएको धोतीको टुप्पोलाई कमरमा घुसार्दै भात पस्किन लागिन् । दाल चाहिँ कचौरा–कचौरामा हालिदिइन् । अनि जब तरकारी हामी सबैका थालका छेउछेउमा हाल्दैथिइन्, उनले हामी प्रत्येकपट्टि हेरेर र जस—जसको जुन–जुन भाग हो, त्यस–त्यसमा जस–जसलाई जे–जे खान मन थियो, त्यही–त्यहीको नाम लिँदै “ल यो माछा तपाईँलाई...., यो कुखुराको मासु तपाईँलाई...., यो खसीको मासु तपाईँलाई...., यो काउली तपाईलाई...., तपाईँलाई.....” भन्दै गम्म–गम्म ठूलो डाडुको एक एक डाडु हलिदिइन् । भाउजूको यस तरिकामा हामीलाई झन् रमाइलो लाग्यो र सम्भ्mयौँ केटाकेटी अवस्थामा जब हामी हाम्री आमाले हामीलाई खुवाउन भनी कचौरामा लिएकी भात अनेक निहुँ खोज्दै खान मान्दैनथ्यौँ त्यस बखत हाम्री आमा त्यो भातलाई थुप्रो–थुप्रोमा विभाजन गरेर “ल यो खसीको टाउको, यो बोकाको टाउको, यो चराको टाउको....” आदि आदि भनेर हामीलाई खुवाउँथिन् र हामी कचौराको सप्पै नै भात बुत्याउँथ्यौँ । हो ! त्यस्तै नै स्थितिको महशुश भयो अहिले हामीलाई ।
हामी सबैले अनेकन् गफ र कुराकानी गर्दै धेरै बेर लगाएर भात खायौँ । यहाँसम्म कि त्यस बखत हामीले के खाइरहेका छौँ भन्नेसमेत राम्रो होश भएन । जब खाइसक्यौँ र सबैले चुठ्नु–ओर्नु गर्यौँ, मैले एकपटक ड्याम्मै डकारेँ र भनेँ, “क्या ! काउलीको स्वाद आयो बा साग आलुमा.... !”
माहिलोले पनि त्यसै गरी डकार्यो र भन्यो, “भाउजूले माछा भनेर थालमा हलिदिएको त माछा खाएजस्तै भयो मलाई.... ।” अनि साहिँलोले पनि कुखुराकै मासुको बास्ना आउने जस्तै गरी डकार्यो र अरूहरू जस–जसलाई जे–जे खान मन थियो, उही–उही स्वादमा आपूm–आपूmमा सन्तुस्टि मनाए । यो सन्तुस्टि नै हाम्रा विभिन्न थरीका अभावहरूको एउटा रुपान्तरण थियो र त्यसै रुपान्तरित क्षणले त्यस दिनदेखि हाम्रो परिवारभित्र एउटा अर्को नयाँ सुखको जन्म पनि दियो.... ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 2 श्रावण, 2071

लेखकका अन्य रचनाहरु