नीलो तृष्णामाथि एक पाठकीय टिप्पणी

- सिरुखर्के जेठा

शब्दहार क्रियसन्सले प्रकाशनमा ल्याएको विद्या सापकोटाको कथासंग्रह नीलो तृष्णाको समाचार प्रवासमै भएपनि विभिन्न अनलाइन माध्यमहरुबाट सुनेको थिएँ तर म त्यसतर्फ विशेष आकर्षित थिइनँ । नहुनुको दुईओटा कारण थिए । एक, लेखक मेरो निम्ति नौलो हुनु र अर्कोचाहिँ पढ्न चाहीहाले पनि पुस्तक उपलब्ध हुने कुनै सहज माध्यम नहुनु । तर जब एकदिन अनलाईन खबरमा नीलो तृष्णाबाट साभार गरिएको ‘सौता’ शीर्षकको कथा पढेँ तब मलाई आफ्नो धारणा बदल्न कर लाग्यो । उदीयमान कथाकार भनिएकी लेखकको यति सुन्दर रचना ? म त छक्कै परेँ । त्यस कथामा मानव मनोविज्ञानलाई अति नै सिपालु प्रकारले बुनिएको थियो । पात्रहरु हाम्रै छेउछाउका थिए । हाम्रै घरदलान छरछिमेकका जस्ता लाग्ने थिए । पात्रहरुको सम्वाद त जति नै सुस्तरी बोले पनि बुझिन्थ्यो, तिनका छातीभित्र धड्कने मुटुको चालसम्म सुन्न सकिन्थ्यो । धेरै समयपछि एउटा राम्रो कथा पढ्न पाएको थिएँ । र त्यसै दिनदेखि नीलो तृष्णा कसरी हात पार्न सकिएला भन्ने ध्याउन्नमा लागेँ । अरु त कुनै उपाय थिएन सिवाय किताबको मोलभन्दा दोब्बर ज्यादा शुल्क तिरेर हुलाकमार्फत् प्राप्त गर्नु । त्यसै गरियो । आखिर पहेँलो ठूलो खामभित्र छः सातओटा किताबहरुको बीचमा च्यापिएर नीलो तृष्णा मलेसिया आइपुग्यो ।

नीलो तृष्णा हातमा परेपछि मैले सबभन्दा पहिला पेज नम्बर अड्तीसमा रहेको ‘सौता’ शीर्षकको कथा नै पढेँ । त्यसलाई आईप्याडमा पढेर धीत मरेको थिएन । एक–एक शब्द तौलँदै पढेँ । मलाई यस्तो लाग्यो, कथाकार अपरिचित तथा नयाँ हैनन्, नयाँ र अपरिचित त उनको लेखनसँग म आफै पो रहेछु आजसम्मन् । खासमा म एउटा राम्रो पाठकमा पनि नपर्दो रहेछु जस्तो लाग्यो । त्यसो त नीलो तृष्णाभित्रका सबै कथा कोभन्दा को कम भने जस्तै रहेछन् । प्रायः सबै कथा मानिसको मनोविज्ञानमा आधारित रहेछन् तर पनि मलाई सौता शीर्षकको कथा नै उत्कृष्ट लाग्यो । बेलायत जस्तो अति विकसित मुलुकमा उच्च शिक्षा लिएर फर्केकी आधुनिक तर पे्रम र फगत आकर्षणबीचको भिन्नता नचिन्ने युवतीलाई गाउँमा बसेर घाँसदाउरा, कुटो कोदालो गर्ने आईमाईले कसरी आँखा खोलीदिन्छे, यो कथामा बडो रुचीकर शैलीमा प्रस्तुत गरिएको छ । त्यो गाउँमा घटेको एउटा सानो घटनाले कसरी त्यस युवतीको जीवन र सोचमा कसरी आकाशपातालको फरक ल्याउँछ, त्यसलाई गहिरो र गहन रुपमा प्रस्तुत गरिएको कथा हो यो ।

अरु कथामध्ये मानवीय सम्वेदनालाई छुन सफल कथा ‘रङ आशिर्वादको’ हो । देशमा चलेको गृहयुद्धमा छोरी गुमाउन पुगेका एकाघरका बूढाबूढीको जीवनमा छोरीजस्तै एउटी केटी आउँछे । ऊ छोरी बन्छे ती अभागी बाउआमाको र त्यो अनाथ केटी जसले बाउआमाको माया कस्तो हुन्छ भन्ने पनि थाहा पाएकी हुन्न, त्यसले पनि बाउआमाको रुपमा ती बूढाबूढीलाई पाउँछे । एकछिन त जीवनचक्र ठीक बाटोमा आएर चलेको जस्तो देखिन्छ तर एक दिन ती बाउआमाको निश्छल स्नेहको मर्यादा राख्न नसकेकोमा पीडाबोध गर्दै र आफुलाई दोष्याउँदै त्यो केटी त्यहाँबाट हिँडिदिन्छे । त्यतिबेला ती बूढाबूढीको मनोस्थितिको बारेमा सोँचेर पाठक अवश्यै भावुक बन्नेछन् ।

उपभोक्तावादी सँस्कृतिले मानवतालाई ऐँजेरुले बेह्रेझैँ बेह्रिरहेको समयमा चेलीहरु आफ्नो शरीरको मोलमोलाई गर्न कसरी विवश बनिरहेछन् भनेर कारुणिक रुपमा रहस्योद्घाटन गर्ने दुईओटा कथा ‘निशा’ र ‘बयान’ हुन् ।

‘धब्बा’ शीर्षकको कथामा प्रेम के हो भन्ने नबुझेको तर आफुलाई घनघोरै पे्रमी देखाउने एउटा पात्रको चरित्र चित्रण गरिएको छ । प्रेमको नाममा त्यसले देखाएको केटाकेटीपन, उरन्ठेउलोपन, अनावश्यक भावुकता र शंकाले एउटी युवतीलाई परेको तनाव यस कथामा प्रस्तुत गरिएको छ ।

अर्को कथा छ ‘समर्थन’ शीर्षकको । यसमा गरीब निमुखाको नाममा गरिएका बन्द हड्ताल र नाराजुलुशले गर्दा तिनै निमुखाहरुको बिचल्ली भइरहेको र उनीहरु भोकभोकै सुत्नु परेको विडम्बनालाई लिपिबद्ध गरिएको छ ।

त्यसैगरि ‘डायरी’ शीर्षकको कथामाचाहिँ पाहुना बनेर घरमा आएकी श्रीमतीको सँगीले एउटा ‘लोग्ने’को जीवनमा पारेको मनोवैज्ञानिक प्रभावलाई राम्ररी दर्शाइएको छ । यसमा सामान्य बसउठ, कुराकानी, हाँसोठट्टा र जिस्काइलाई असामान्य ठानेर आफुप्रति आकर्षित भइरहेकी एउटी स्वास्नीमान्छेको व्यवहारसँग बेखबर एउटा लोग्नेले भोगेको सहज असहज दुवै परिस्थितिलाई राम्ररी केलाइएको छ ।

यस कथासंग्रहको सबैभन्दा अमुत्र्त जस्तो लाग्ने र अलिअलि नाटकीय जस्तो पनि लाग्ने कथा ‘स्वास्नी मान्छे’ हो । एउटी कुमारी आमाको मनोदशा मार्मिक ढंगले राखिएको यस कथामा घटनाक्रम भने अपत्यारिलो प्रकारको छ । जस्तो कि पूर्णिमा नामकी युवतीसँग सपना हो कि विपना भनेर आफैले छुट्याउन नसकेको अवस्थामा अचिनारु युवकले शारीरिक सम्बन्ध राखेको छ । यही घटनाविवरणकै कारण यो कथाको विश्वसनीयता खस्केको छ । यसमा सम्पादनको खाँचो अवश्यै थियो ।

एचआइभीभन्दा डरलाग्दो गरी फैलँदै गएको बेरोजगारीको महामारी र त्यसले हाम्रो गाउँसमाजमा ल्याइरहेको भयावह विसंगतिलाई ‘प्रारम्भ’ शीर्षकको कथामा उनिएको छ । स्वदेशमा जतिसुकै तेरो र मेरोको भावना मुख्खर बन्दै गइरहेको सुनिए पनि विदेश नामको कान्छा बाउको अनुहारले कसैलाई पनि छोडेको छैन । यसले न बाहुन भन्छ न त मगर भन्छ । यसले न खसआर्य भन्छ न त यसले आदिवासी जनजाती भन्छ । न मास्टर्स डिग्रीधारी भन्छ न त औँठाछाप । सबैलाई निलिरहेछ यसले । त्यही विवशतामा लाखौँ सुबोध र सुधाहरु पिल्सिनु परिरहेको छ । देशको नीतिनिर्माणको तहमा बसेका नालायकहरुको नालायकीपन थाहा छैन कहिलेसम्म रहन्छ र थाहा छैन कहिलेसम्मन् रगतको आँसु बगाउन अभिशप्त हुन्छन् सुबोधहरु र कहिलेसम्म आधा मनले स्वीकारेको गल्ती गर्न बाध्य हुने हुन् ती सुधाहरु ।

‘अदृष्य घाउ’ शीर्षकको कथामा अष्ट्रेलिया पढ्न जाने मोहमा एउटी केटीले आफ्नो प्रेमीसँगको न्यानो सम्बन्ध नै तोडेर गएको उल्लेख छ । दुनियाको रँगेलीमा प्रेम अलपत्र परेको यस घटनालाई यथार्थपरक लाग्ने किसिमले अक्षराङ्ककन गरिएको छ ।

जनयुद्ध नामको लडाईमा ज्यानको बाजी थापेर होमिएको एक युवकलाई युद्धपछि अयोग्यको बिल्ला भिराएर घर फर्काइदिएको नमीठो कथा ‘सुदूर यात्रा’ हो ।

भरपूर मनोविज्ञान प्रयोग गरिएको अर्को कथा छ ‘मुक्ति बन्धन’ । अकारण या सकारण बिहे नगरी बसेकी एउटी चालीस नाघेकी आइमाईमान्छेको मनोस्थिति चित्रण गरिएको कथा हो यो । ठ्याक्कै यही कारण भन्ने नखुलाइए पनि आफ्नो उमेर र यौवन तथा नजीकका नातेदारहरुको मायालाई नै जीवनको पूर्णता ठानेर बसेकी त्यस आइमाईको जीवनमा एउटा यस्तो मोड आउँछ कि उसलाई आफु अपूर्ण रहेको हठात् बोध हुन्छ ।

यस संग्रहको पहिलो कथा ‘निष्कषर्’ हो भने अन्तिम कथा हो ‘कपासको बोट’ । निष्कर्ष शीर्षकको कथामा एउटा सेवानिवृत्त सिपाहीले बुढेशकालमा सम्झिरहने आफ्नो यौवनका रहरलाग्दा दिनहरु र अहिलेको यथार्थ तर बेलाबेलामा उसले बिर्सिरहने आफ्नो श्वेत केशराशी र चाउरी परेको गालाबीचको समयलाई फ्ल्यासब्याक शैलीमा चित्रकारी ढंगले उतारिएको छ । त्यसैगरि कपासको बोट शीर्षकको कथामा एउटी आइमाईमान्छेको मनोभाव र जीवनका उकाली–ओह्रालीलाई मार्मिक किसिमले प्रस्तुत गरिएको छ । सन्तानहरु भएर पनि उनको बुढेशकालको शून्यतालाई कथामा मिहिन रुपमा वर्णन गरिएको छ । अहिले अधिकांश बाआमाहरुले भोगिरहेको समस्या कथामा साँच्चै यथार्थपरक बनेको छ ।

‘नीलो तृष्णा’ यस संग्रहको शीर्ष कथा हो । एउटा चालीस नाघेको पुरुष जो ‘जनयुद्ध’ भोगेको सुरक्षाअधिकृत हो, कसरी एउटी बीसबाईस उमेरकी चञ्चला, वाचाल, अध्ययनशील र स्वप्नदर्शी युवतीमाथि आकर्षित हुन्छ भनेर बडो रोचक शैलीमा लेखिएको छ । त्यो आकर्षणलाई उसले प्रेम ठान्छ तर त्यसलाई प्रेम नै हो भनेर दाबी गर्न चाहिँ डराउँछ । यस कथाको अन्त्य मधुर पीडादायी क्षणमा भएको छ ।

नीलो तृष्णा कथासंग्रह नेपाली साहित्यमा एउटा सफल उपलब्धीको रुपमा आएको छ । कथाकारको कविता जस्ता लाग्ने हरफहरुमा सजिएका पन्ध्रओटै कथा कोभन्दा को कम लाग्ने खालका छन् । अझ केही सम्पादन पुगेको भए हुन्थ्यो कि जस्तो पनि लाग्छ । त्यो त सबै किताबहरुमा गरिने अपेक्षा नै हो । जे भएपनि विद्या सापकोटाले नेपाली कथा साहित्यमा आफ्नो उपस्थिति सफलताका साथ दर्ज गर्नुभएको छ । आगामी दिनमा उहाँका कृतिहरु अझै उज्याला र चहकिला बनेर आउनेछन् भन्नेमा पाठक विश्वस्त बन्ने आधार उहाँले बनाइ सक्नुभएको छ । उहाँलाई साधुवाद ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 2 श्रावण, 2071

लेखकका अन्य रचनाहरु