आदिकवि भानुभक्त सम्बन्धी अन्तर सम्वाद कार्यक्रमलाई फर्केर हेर्दा

- राजेन्द्र पहाडी

माता धर्मावतीदेवी र पिता धनञ्जय आचार्यका सुपुत्रका रुपमा आजभन्दा दुईसय वर्ष अघि विसं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा भानुभक्त आचार्यको जन्म भएको थियो । सानैदेखि कवित्वशक्ति भएका भानुभक्तलाई युवावस्थामा घाँसीसँगको भेटले झनै उद्देलित बनायो र लोकको उपकार हुने केही काम गर्नु पर्दछ भन्ने ध्याउन्न पलायो । फलतः समयको क्रमसँगै उनले नेपाली भाषा साहित्यको क्षेत्रमा अनुदित र मौलिक गरी विभिन्न विधाका कृतिहरु सुम्पिए । उनका ४० भन्दा बढी फुटकर पद्य, प्रश्नोत्तर, बधूशिक्षा, भक्तमाला जस्ता लघुकाव्य र सिङ्गो रामायण महाकाव्यले नेपाली साहित्य सागर समृद्ध बन्नमा सहयोग पुगेको छ ।

यस वर्ष आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकी समारोह विविध कार्यक्रमहरुको आयोजना गरी देशभित्र र देशबाहिर मनाइँदै छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत विभिन्न कार्यक्रमहरु आयोजना भैरहेका छन् भने देशैभरी छरिएर रहेका साहित्यिक संघ संस्थाहरुले पनि आ–आफ्नै ढंगले कार्यक्रम सम्पन्न गरिरहेका छन् । भानुभक्त आचार्य (१८७१–१९२५) ले नेपाली भाषा, साहित्यको श्रीबृद्धिमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने सन्दर्भमा आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी जिल्ला समारोह समिति पर्वतले पनि ‘‘नेपाली भाषा साहित्यको विकासमा भानुभक्तको योगदान’’ विषयक अन्तर सम्बाद कार्यक्रम यही २०७१ असार ४ गते आयोजना गरी भब्य रुपमा मनाएको छ ।

अञ्चल समारोह समिति धौलागिरिसँगको समन्वय तथा सहकार्यमा जिल्ला सदरमुकाम कुश्मामा आयोजित अन्तरसम्बाद कार्यक्रममा प्रमुख अथितिको रुपमा अञ्चल समारोह समितिका कार्यवाहक अध्यक्ष तथा साहित्यिकार महेशचन्द्र प्रधानको गरिमामय उपस्थिति रहेको थियो । उहाँले आदिकवि भानुभक्त आचार्यले नेपाली बाङ्मयको श्रीबृद्धिमा उल्लेखनीय योगदान पु¥याएकाले नै उहाँलाई नेपाली साहित्यिक फाँटले अनन्तकालसम्म भुल्न नसक्ने विचार प्रकट गर्नुभयो । विशिष्ट अथितिको रुपमा रहनुभएका भाषासेवी, अनुसन्धाता तथा धौलागिरि बहुमुखी क्याम्पस बागलुङका उप–प्राध्यापक डा. दीनबहादुर थापाले भानुभक्त आचार्यको भाषा साहित्य प्रतिको लगावबाट हामी सबैले पाठ सिक्नुपर्ने आवश्यकता रहेको विषयमा चर्चा गर्नुभयो ।

कार्यक्रममा धौलागिरि बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा साहित्यकार लक्ष्मीप्रसाद शर्मा पौडेलले भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण, संबद्र्धन तथा विकासमा पु¥याउनुभएको योगदान एवम् उनको व्यक्तित्व र कतित्वका बारेमा अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । सोही अन्तरसम्बाद कार्यक्रममा पर्वत जिल्लाबाट प्रकाशित हुँदै आएका साहित्यिक त्रैमासिक पत्रिकाहरु क्रमशः कालीको सुसेली र सगुनका भानुभक्त विशेषांकको प्रमुख अतिथि महेशचन्द्र प्रधान र विशिष्ट अतिथि डा. दीनबहादुर थापाले संयुक्तरुपमा विमोचन गर्नुभएको थियो भने विमोचित विशेषांकहरुका बारेमा पर्वत साहित्य सङगमका अध्यक्ष इन्द्रमान खत्री र प्रगतिशील वाङ्मय प्रतिष्ठान पोखराका अध्यक्ष शंकर गिरीले सविस्तार चर्चा परिचर्चा गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न साहित्यकार तथा साहित्यानुरागी महानुभावहरुले भानुभक्तका बारेमा आ–आफ्ना बुझाई, भावना र विचारहरु राख्नुभएको थियो । यसरी विचार व्यक्त गर्नेहरुमा क्रमशः गुप्तेश्वर बहुउद्देश्यीय पुस्तकालयका अध्यक्ष शान्तिनारायण श्रेष्ठ, पर्वत साहित्य सङ्गमका संरक्षक इन्द्रकुमार विकल्प, निबृत्त शिक्षक समाजका अध्यक्ष बाबुराम सुवेदी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतका सभापति सुन्दरप्रसाद जोशी, पूर्व कर्मचारी सेवा परिषदकाका अध्यक्ष देवीप्रसाद विलासी, शिवालय बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख कमलनाथ शर्मा, कवि तथा कलाकार गणेशकुमार, ¥याण्डम रिडर्स सोसाइटीका अध्यक्ष लेखनाथ उपाध्याय, कुश्मा शिवालय खानेपानी तथा सरसफाई संस्थाका निवर्तमान अध्यक्ष कमलनाथ पोखरेल लगायत हुनुहुन्थ्यो । भानुभक्तले जसरी नेपाली भाषालाई स्थापित गर्न योगदान गरे यसको सदा स्मरण गर्दै वर्तमान र आगामी पुस्ताले आफूलाई भाषा साहित्यको विकासमा निरन्तर लगाइरहनुपर्ने कुरामा अधिकांश वक्ताहरुले जो दिनुभएको थियो ।

अन्तरसम्बाद कार्यक्रमको बीच–बीचमा पर्वतमा क्रियाशील विभिन्न स्रष्टाहरुले भानुसम्बन्धी विभिन्न साहित्यिक सिर्जनाहरु प्रस्तुत गर्नुभएको थियो । यसरी साहित्यिक रचना वाचन गर्ने स्रष्टाहरुमा क्रमशः ओमप्रसाद घायल, रुद्र दुर्लभ, डीआर शर्मा, यम ढुंगाना केसी, अन्तिम गुरुङ, बलराम श्रेष्ठ, टंकप्रसाद सुवेदी, किशोर मनस्वी, सागर तमु, मुस्कान झा, सन्दिप बस्याल लगायत हुनुहुन्थ्यो । कार्यक्रममा उपस्थित विभिन्न संस्थागत विद्यालयका विद्यार्थीहरुले भानुसम्बन्धी आ–आफ्ना रचनाहरु पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थी पुस्ताको समेत उल्लेख्य सहभागिता रहेको हुनाले भानुको बारेमा सानै उमेरदेखि जान्ने बुझ्ने र उनका कृतिलाई पढ्ने पढाउने काममा मद्दत पुग्ने कुरामा सहभागीहरुले विश्वास जनाएका थिए ।

भानुभक्त आचार्यको फोटोमा माल्यार्पण गरेर सुभारम्भ गरिएको तथा आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी जिल्ला समारोह समिति पर्वतका अध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षतामा भएको अन्तरसम्बाद कार्यक्रममा उपस्थित पाहुनाहरुलाई जिल्ला समारोह समितिका सदस्य अर्जुन पौडेल निर्जनले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सदस्यसचिव जगन्नाथ पौडेल नूतनले गर्नुभएको थियो । कार्यक्रमलाई उपलब्धीपूर्ण तरिकाले सम्पन्न गर्नका लागि सदरमुकामस्थित निजी विद्यालयहरु नमुना आवासीय उच्च मावि, कालीगण्डकी एकेडेमी, आदर्श आवासीय मावि, गुरुकुल एकेडेमी र राष्ट्रिय बाल शिक्षा सदनका शिक्षक तथा विद्यार्थीहरुले सक्रीय सहभागिता जनाएका थिए ।

वास्तवमा आदिकवि भानुभक्त आचार्य र उहाँले नेपाली भाषा साहित्यको क्षेत्रमा दिनुभएको देनलाई कर्मकाण्डीय ढंगले मात्र हेरिनुभन्दा पनि उहाँको योगदानका बारेमा पर्याप्त अध्ययन तथा अनुसन्धान गरेर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ । भानुभक्तले तात्कालीन नेपाली समाजको साङ्गोपाङ्गो अवस्थालाई कसरी आफ्नो सिर्जनाहरुमार्फत अभिव्यक्त गरेका थिए र सभ्य, समुन्नत र अनुशासीत समाजका पक्षमा के कसरी वकालत गरेका थिए भन्ने तथ्यलाई केलाउन र विश्लेषण गर्न पनि हामीले बिर्सनु हुँदैन । निरपेक्ष ढंगले भानुभक्तको देवत्वकरण गर्ने र कटु आलोचना गर्ने दुबै प्रवृत्ति हानिकारक हुन्छन् । तसर्थ तथ्यका आधारमा सत्यको पहिचान गर्दै भानुभक्तका बारेमा बोलिनु र लेखिनु न्यायोचित हुन सक्दछ ।

नेपाली भाषालाई आम सर्वसाधारणमा स्थापित गर्न भानुभक्तले खेलेको भूमिका चानचुनै छैन नै । न त उनका कृतिमार्फत तात्कालीन नेपाली समाजलाई चिन्न र बुझ्न पाइने अवसरलाई नै कम आँक्न सकिन्छ । भानुभक्त युग द्रष्टाका रुपमा नेपाली सिर्जन फाँटमा उदाएकाले नै उनलाई आदिकविको उपादीले विभुषित गरिएको हुनुपर्छ । भानुका कृतिको अध्ययनका माध्यमबाट हामीले त्यो बेलाको नेपाली समाजको समग्र चरित्र, संरचना र शक्ति सम्बन्धको स्वरुपलाई विश्लेषण गर्न सक्दछौं भने समाज विकासको समष्टी प्रक्रियाको आँकलन गर्न सक्दछौं । भानुभक्त एक सिल्पी अनुवादक र मौलिक सर्जक मात्र थिएनन्, बरु उनी त्यो बेलाको समाजलाई दुरुस्त चित्रण गर्न सक्ने अन्वेषक पनि थिए । गिरिधारी भाटसँगको साँध–सीमानाको मुद्दामामिलासँग जुध्दै उनले तात्कालीन समाजका चरित्रहरुलाई आफ्ना कृतिमार्फत उद्घाटित गरेको देखिन्छ ।

यतिखेर भानुलाई र उनको योगदानलाई सर्वत्र सम्झना गर्ने र उनीप्रति सम्मान प्रकट गर्ने गतिविधिहरु सम्पन्न भैरहेको अवस्था छ । यसै अवसरमा हामी पनि उहाँ प्रति हार्दिक श्रद्धासुमन अर्पित गर्न चाहान्छौं । हामी तमाम साहित्यप्रेमीजनहरुमा आव्हान गर्न उचित सम्झन्छौं कि भानुप्रतिको सच्चा सम्मान उनको उच्च आदर्शलाई मनन र प्रयोग गरेर हुन सक्दछ । तसर्थ हामी सबैजना हातमा हात मिलाउँदै नेपाली लोकभाषाको समुन्नयनमा भानुले दिएको योगदानको सम्मान गरौं । अन्य भाषाहरुको यथोचित स्थान स्वीकार्दै नेपाली भाषालाई साझा भाषाको रुपमा विकास गरौं । सबै जातिको पहिचानमा आधारित साझा नेपाली संस्कृतिको निर्माण गरौं । यति हुन सक्यो भने भानुप्रतिको सम्मानको साँचो अर्थ स्थापित हुन सक्नेछ भन्ने हामीलाई विश्वास लागेको छ । अन्त्यमा, पुनः एकपटक आदि कवि भानुभक्त प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दैै जिल्ला समारोह समितिले सञ्चालन गरेका भानुसम्बन्धी गतिविधिहरुमा साथ र समर्थन दिनुहुने सम्पूर्णलाई हृदयतः धन्यवाद दिन उपयुक्त ठान्दछु ।
कुश्मा, पर्वत

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 24 आसाढ, 2071

लेखकका अन्य रचनाहरु