मानवीय संवेदनाको चिरफार

- छविरमण सिलवाल

तामाङ भाषामा सोइनम भन्नाले यात्री भन्ने बुझाउँदो रहेछ । शुरूमा पुस्तकको शिर्षक कस्तो होला भन्ने लागे पनि सोइनम शब्द प्रिय लागेको थियो मलाई । एउटै जिल्लाको भए पनि परिचित थिइन म बिकु लामाजीसंग । आखिर सोइनम पुस्तकले परिचित मात्र नभएर आत्मिय पनि बनाइ दियो । पुरानै चिनजान जस्तै परिचित बनाइदियो । एउटा भाषाको माध्यम थियो यो, जीवन यात्राको एउटा नयाँ तथा सुमधुर मोडमा उनलाई भेटिए जस्तो लाग्दै थियो, एउटा साहित्यिक मित्र, एउटा असल मित्र । साँच्चैँ जीवन एउटा सोइनम नै हो यात्रा हो, हामी त केबल यात्री हांै चलिरहन्छौ अन्तेम गन्तब्यको खोजीमा, थाह छैन त्यो गन्तब्य कहिले भेटिने हो ।
लामाले सोइनम पुस्तकबाट प्राप्त भएको पैसालले काभ्रेकै श्यामपाटीको स्कुलमा सोइनम नामको पुस्तकालय नै खोलिदिएका रहेछन् । काभ्रे जिल्लाकै यात्रा वृत्तान्त भएको यस पुस्तक सोइनम पढ्दा आफै त्यहाँ घुमिरहेको जस्तो लाग्छ । नेपालको राजधानीसंग जोडिएको जिल्ला भए पनि यहाँ निकै दुर्गम स्थानहरु रहेका छन् । ति स्थानहरुमा प्रत्यक्ष पुगेर उनले तयार पारेको यो सोइनम भित्र प्रस्तुत भएका विभिन्न पात्र, स्थान र समयले पुस्तकलाई जिवन्त बनाएको छ । मेरो जन्मथलो नै काभ्रे भए पनि मैले म जन्मेको जिल्ला पुरै घुम्न सकेका छैन् । तर मलाई यो सोइनमले पुरै जिल्ला घुमाई दियो । डाँडापारी घर्तीछापमा म पुग्न सकेको छैन आज पनि । कोशीपारीका केही स्थानहरु वाहेक तिमालसम्म पुगेको छु । ति विकट स्थानहरुमा पुग्ने धोको भने सोइनमले पुरा गरिदिइको छ । लामाले जोन उडको शैलि पछ्याउँदै आफ्नै जिल्लाको विविध आयामलाई पुस्तकमा लेखेका छन् । उनको यो पहिले प्रयास भएपनि निकै सह्रानिय कार्यको थालनी गरेका छन् । लामा कार्यरत संस्था पीपीयूकेले काभ्रे जिल्लाका १९८ स्कुलहरुमा पुस्तकालय सञ्चालन गरिरहेको छ । र, तिनै पुस्तकालयहरुको अध्ययन अवलोकन भ्रमणको शिलशिलामा उनले देखेका, भोगेका कुराहरु डायरीका रुपमा लेखेका यी लेखोटहरु पढ्दा लाग्छ, उनको यो पहिलो पुस्तक होइन, लेखाइमा गम्भिर्यता र कलात्मक शैलिले उनलाई परिपक्क बनाएको छ । उनमा निहित कवि भावनाले उनी एउटा कुशल कवि पनि हुन् जस्तो देखिन्छ । पिछडिएका तामाङ् समुदायकालाई कसरी माथि उठाउँने भन्ने चिन्ताले उनलाई पिरोलेको देखिन्छ । ति दुर्गम वस्तिहरुमा बिहानै देखि रक्सी खाएर बस्ने युुवाहरुलाई देख्दा उनको मन कुढिन्छ, यीनीहरुका माँझ शिक्षाको ज्योति छर्ने कार्यमा उनी सफल भएको देखिन्छ । उनको निश्कर्ष छ, ‘उडेर कहिल्यै छुन नसकेको आकाश, पुग्न नसकिने गन्तव्य, चुम्न नसकेको हिमशिखर, बुझनै नसकिने रहस्य, जति पारङ्गत तरिकाले खेले पनि जित्न नसकिने कठिन खेलजस्तो रहेछ मानव–जीवन । मेरा अनेकौं प्रश्नहरु मेरै काखमा डाको छोडेर रोइरहेका छन् । मक्किएको जीवनका शब्द, अर्थ र व्याख्या बुझिनसक्नु नै छ ।’
२६ ओटा निबन्धात्मक शैलीका शिर्षक भित्र विभिन्न उप शिर्षकमा लेखिएका उनका यी यात्रा वृत्तान्तहरु काभ्रेकै सेरोफेरोमा लेखिएका छन् । उनी निरन्तर यात्रामा रमाएका छन्, यात्राकै क्रममा उनी आफ्ना भावनाहरु यसरी व्यक्त गर्छन् ः–‘भविष्यको गुलियो र मीठो फलप्रति पूर्ण आशावादी हुँदै अध्यारोमा कुमारी जूनको उज्यालो खोज्दै हिँडेजस्तो आफ्नै एकलब्य सुरमा हिँडिरहेँ म । वरिपिरिका तिखा काडाले रोक्न खोजे पनि रोकिइनँ, थकाइले चुर भएर विश्राम लिन खोजे पनि लिइनँ । मन्दमन्द आफ्नै गतिमा हिँडिरहेँ । लोलाएका मेरा आँखाले चम्किलो तारालाई नियालेझैँ यत्रतत्र नियाल्दै बढिरहेँ । रहरलाग्दो गन्तव्यको यात्रा गर्न पाउनु पनि भाग्य नै हो । जिन्दगीका तरेलीहरुलाई कहिले पछ्याउँदै त कहिले पन्छाउँदै ह्ृदयको परेली खुला रुपमा उघारेर हिँड्न पाउनु झन महाभाग्य हो ।’ उनको यो रोमाञ्चक मात्र नभएर चुनौतीपूर्ण पनि रहेको थियो । गाऊँलेहरुलाई सम्झाउँन अति कठिन, फेरि बिहानै देखि रक्सी पीएर टिल्ल भैरहने त्यो समाजमा कसको पो के लाग्थ्यो र ? अरु कुनै कार्यक्रम संयोजक भएको भए सदरमुकाममै बसेर रिपोर्ट बनाएर पेश गर्ने थिए यो कुरा पक्का छ । लामा दृढनिश्चयी रहेछन्, साहसिक रहेछन्, त्यसैले त उनी आफ्ना हरेका कार्यमा सफलताको सिढीँ चढिरहेका छन् । सोइनमले जीवनका अदृश्य पर्खालहरुलाई उजागर गर्न खोजेको छ । जीवनलाई सहि बाटोमा दौडाउन खोजिरहेको छ । पढ्न खोज्नेहरुका लागि पुस्ततका उपहारहरु बाढिरहेको छ । खानेपानी, सरसफाई आदि जीवनसंग सम्वन्धित कुराहरुलाई मूल उद्देश्य बनाएर भएको उनको यात्रा र यहि यात्रामा भेटिएका भोगिएका जीवन र जीवनसंग गाँसिएका कुराहरुले गर्दा सोइनम पुस्तक पढन योग्य भएको छ । यात्राकै क्रममा उनी कति ठाँउमा हतास भएको महशुस देखिन्छ, वर्तमान परिवेशले गर्दा उनी लेख्छन् ः–‘मान, प्रतिष्ठा,सम्मान, मायासमेत खरिद–बिक्री भइरहेको छ अहिलेको हाम्रो समाजमा । विश्वकै परिवेशमा पनि मानवीय गुण, मूल्य र मान्यताको कुनै अर्थ रहेको छैन । आर्थिक शक्तिका अगाडि मानव जीवनसंग सम्बन्धित ती यावत् विषयमाथि हामीले पनि गहन रुपमा चिन्तन गर्नुपर्ने अवस्था आइरहेको छ ।’ यस्तै मानवीय संवेदनाहरुको स्थलगत रुपमा चिरफार गरिएको सोइनमलाई याम्बुरी बुक प्वाइनले प्रकाशन गरेको हो ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 19 आसाढ, 2071

लेखकका अन्य रचनाहरु