विगाउँ

- युवा बराल ‘अनन्त’

मलाई गाउँ फर्केर
हलो-जुवा समाउनु छैन
किनकि समयमा बा’ले मलाई
गोरु नार्न सिकाएका छैनन्
मलाई गाउँ फर्केर
खेत-बारी बिराउनु छैन
किनकि सानो छँदा बा’ले मलाई
माटो खेल्न दिएका छैनन् ।

बसोस् खेत-बारी बाँझै बरु
त्यो बाँझो बस्दा म भोको हुनेवाला छैन
मौलाइरहुन् घर-घुरेनमा लहरा र झार-जंगलहरु
त्यहाँको कमाइले मेरो भविष्य बनिनेवाला छैन ।

म पसिसकेको छु विगाउँ
दुई पैसा कमाउने उपाय रोच्दै
म पलायन भइसकेको छु बजारतिर
सहज उपभोगको वस्तु खोज्दै ।

मलाई थाहा छैन-
दाल-चामल रुखमा फल्छ कि भूईंमा
मलाई ज्ञात छैन-
स्कुस-फर्सी घुरेनमा फल्छ कि सड़कमा
भोक लाग्दा
भात पकाउन जानेको छु
निद्रा लाग्दा
ओछ्यान पस्न जानेको छु ।

मलाई ढुङ्गा-माटोसंग साइनो गाँस्न सिकाइएन
मलाई हावा-पानीसंग मितेरी जोड़न भनिएन ।
मलाई पर्म-परेवाको रह्स्य नै बताइएन
मलाई ईष्ट-मित्रको महत्व नै बुझाइएन ।

म चिन्दिनँ नी, साँल्दाई
मावलाकी आमै, गैरीघरे काकी अनि सानिमा
म जान्दिनँ नी ठूलदिदी
डोको, नाम्लो अनि घाँस दाउरा गर्न
धानको कुन्यु अनि मकैको झुत्ता पार्न।

स्मृतिमा अलि-अलि आउँछ्…
वर्खामा आमाको त्यो रातो गुन्यु रुझेको
सम्झनामा झलि-झलि आउँछ
अगेनाको डिलमा बसेर दन्तेकथा सुनेको ।

मलाई गाँउ फर्केर
काँटा-कोदालो खन्नु छैन ।
मलाई त ज्ञानी बनी आइज भनी
शहर पठाएका हुन् मेरा बा’ले
मलाई घर फर्केर
खेति-किसान गर्नु छैन ।
मलाई त आफ्नो खूट्टामा उभिनु भनी
गाँउको सिमानादेखि
टाड़ा कटाएका हुन् मेरा बा’ले ।

बसोस् खेत-बारी बाँझै बरु
त्यो बाँझो बस्दा म भोको हुनेवाला छैन
मौलाइरहुन् घर-घुरेनमा लहरा र झार-जंगलहरु
त्यहाँको कमाइले मेरो भविष्य बनिनेवाला छैन ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 12 आसाढ, 2071

लेखकका अन्य रचनाहरु