गड्यौला उर्फ सत्यराज

- कृष्ण बजगाईं

लन्डनमा आनन्द त कल्पना मात्र हो । खुब टेन्सन् दिन्छ यो सहरले । यसको चमकधमक सब नक्कली हुन् । यसका वैभव इतिहासका हुन् । इतिहास देखाएर वर्तमानमा गर्व गर्दछ यो लन्डन । स्वार्थी, धोकेवाज र चिसा छन् यहाँका मानिस । भित्र भित्र पीडा बोकेर हिडेका छन् । बाहिर मुस्कान छाड्छन् । तिनका मुस्कान कृत्रिम हुन । यहाँ पैसाले दौडाएको छ मानिसलाई । दासलाई झैं जोताईरहेको छ कामले । कुनै सामन्ती शोषकले झैँ विभिन्न नामको ट्याक्स लगाएर जनताका पैसा लुटिरहेको छ सरकार । झट्ट हेर्दा दानी जस्तो पनि देखिन्छ सरकार । त्यो भ्रम हो । आखिरमा ती सबै जनता कै पैसा हुन् । त्यसैले यहाँ सरकार धनी छ र जनता गरिव । हाम्रो देशमा सरकार र जनता गरिव छन् नेता धनी ।

लन्डनमा बसेर आर्थिक उन्नती र स्थायीत्वका लागि संघर्ष गरिरहेका हरेक विदेशीले लगाउने माथिको आरोपसँग सत्यराज सहमत थिएनन् । सरकारी जागिरको रवाफ र खान्दानी धंगधंगी लन्डनको महँगाईले केही महिनामै झारी दिएपछि उनी पनि अरुले झैं लन्डनलाई गाली गर्न थाले । विचरा सत्यराज उता सरकारी कर्मचारी यता छात्रवृत्तिमा पिएच्डी गर्न आएका बिद्यार्थी ।

उनकी श्रीमती अनुलता । यता लन्डनमा काम गर्न चाहिनन् । नेपालको शिक्षा र अंग्रेजी भाषाको दक्षताले पाउने काम भनेको तल्लो स्तरकै काम हो । हुन त काममा भेदभाव छैन यहाँ । तर उनले काम गर्न चाहिनन् । उनलाई अलिकति अधिकृतको श्रीमती हुँ भन्ने घमण्ड थियो । बाँकी खान्दानी रवाफ । उता पनि नपुग्दो केही थिएन । नोकरचाकर राखेर बसेका थिए । उनकै खुशीको लागि श्रीमान्ले काम गर्नु भनेर कर गरेनन् । नेपालबाट के पैसा मगाउनु बरु नपुग खर्च यतै पार्टटाइम काम गरेर पुर्याउने विचार गरे सत्यराजले ।

सुरुसुरुमा उनीहरुलाई नेपालमा झैं जमेर बसौंला भन्ने लागेको थियो । बेला बेलामा आफन्त तथा साथीभाई आउलान रमाईलो होला भनेर अलग्गै कोठा श्रीमतीकै ईच्छा बमोजिम लिए । तर यहाँ पाहुना त टाढाको कुरा भयो । न त साथीभाइलाई बोउँदा उनीहरु आउने न त उनीहरुले बोलाउँदा आफू जान पाइने !

उताको तलब र यताको छात्रवृत्तिको पैसाले खर्च धान्न पुग्दैन भन्ने थाहा पाएको भए उनीहरुले त्यत्रो महँगो फ्लाट भाडामा लिने थिएनन् । आफैं भाडामा बसे पनि कागजीरुपमा घरबेटी हुनुको जिम्मेवारी उठाउनु पर्ने बाध्यता आइलाग्यो । लन्डनमा बस्ने अरुले जस्तै एउटा कोठामा आपूmलाई खाँदेर बैठक कोठालाई भाडामा लगाउने विचार गरे सत्यराजले । अनुलताले त्यसमा असहमती जनाई ।

‘एकछिन प्रयोग गर्ने भान्सा, ट्वाइलेट र बाथरुमले के फरक पर्दछ र ? बाँकी त आआफ्नै नीजि जीवन बाँच्ने हो त नि ! हेर, नसोचेको खर्च कति हो कति ? सत्यराजले सम्झाए । अन्ततः ऊ राजी भई ।
................................................................

आज भाडावालले चाबी लिन आउने दिन । अनुलता पर्खि रहेकी थिई । डोर बेल बज्यो । अवश्य त्यही मान्छे हुनु पर्दछ । उसले ढोका खोली । झण्डै छ फुट अग्लो, बलिष्ठ पाखुरा र चौठा छाती भएको एउटा चकलेटी हिरो जस्तो मान्छे आफ्नै अगाडि देख्दा हेरिरही ।

पहेँलो रंगको कुर्ता पाइजामा सजिएकी, लामो केश, गोरो अनुहार, झण्डै साढे पाँच फुट उचाई, छिनेको कम्मर र कुर्तासँग ठेलाम्ठेल गरिरहेका उन्नत वक्ष भएकी सुन्दरी ढोका खोलेर उभिएकी थिई । उनको यौवन पुष्पित देहलतामा चलेको ज्वारभाटा त्यसले पनि हेरिरह्यो ।

दुबैले तुरुन्तै आफूलाई सम्हाले । दुबै मुस्कुराए ।

‘आपको हिन्दी आती है ।’ उसले ढोका बाहिरैबाट सोध्यो ।

कुराको प्रथम सुरुवात नै मन परेन उनलाई । यस्तो प्रश्नले अनुलतालाई भाउन्न भएर आयो । अंग्रेजी बोल्ने मुलुकमा के को हिन्दीको कुरा गरेको ? मज्जाले हिन्दी बोल्ने अनुलतालाई हिन्दी भाषाको दवदवा मन परेन । एकाएक उनमा भारतविरोधी भावना र राष्ट्रियता जागेर आयो । उसको भाषा बोलेर त्यसलाई किन ठूलो बनाउनू ? उनको मन राष्ट्रवादी बन्यो ।

‘डु यु स्पीक नेपाली ?’ अनुलताले प्रतिप्रश्न गरी ।

‘नो, सरी ।’ उसले जवाफ फर्कायो ।

‘सरी, आइ डोन्ट स्पीक हिन्दी ।’ अनुलताले बडो गर्व साथ भनी ।

त्यसपछि दुबै जनाले अंग्रेजीमा संवाद चलाए । उसले आफ्नो नाम राधेश्याम बतायो ।

उसलाई कोठाको चाबी थमाएर अनुलता आफ्नो कोठामा गई । राधेश्यामले ढोकाको चाबी खोल्यो । र बत्ति बाल्यो । घाम लाग्ने उज्यालो रंगको कोठा र भर्खरै देखेको रुपवतीलाई सम्झेर मुस्कुरायो ।

अनुलताको दिनभर जसो कोठामै बस्दथी । टिभी हेर्नु, इन्टरनेटमा फेशन, लाइफ स्टाइल सम्बन्धी लेख पढ्नु र नाम चलेका ब्राण्डका नयाँ उत्पादनको बारेमा आफूलाई अपडेट राख्नु उनको दैनिकी थियो । बेलाबेलमा अनलाईनमा देखिन्थी, भ्वाइस च्याटमा रमाउँदथी । त्यसपछि बचेको समय फेसबुकमा अल्मलिन्थी ।

विचरा सत्यराज ! उनको जीवन यन्त्र जस्तै थियो । विहानै उठेर युनिभर्सिटीको ल्यावमा छिरेपछि दिनभर गड्यौलासँग बिताउँदथे । दिनभरको मानसिक थकानपछि साँझ कुनै रेष्टुरेन्टमा पार्टटाइम काम गर्न जान्थे । शारिरिक र मानसिक थकानपछि सित्तैमा पाइने खाना त्यहीँ खाएर राती गड्यौला जस्तै लुलो भएर घर फर्कन्थे ।

अनुलतालाई थाहा थियो उसको दैनिकी । दिनभरको सामान्य हालखबर सोध्दथ्यो । जो टेपरेर्कडरमा रेकर्ड गरिएको टेप जस्तै सँधै उही प्रश्न दोहराउँदथ्यो । एकछिन ल्यापटपमा गड्यौला खोजेर फेरी गड्यौंला जस्तै गुँडुल्किन्थ्यो ओच्छ्यानमा ।

‘गड्यौला हो कि मान्छे हो ?’ हरेक रात ओच्छ्यानमा उसलाई अनुलताले ओल्टाईपल्टाई गरेर सोध्दथी ।

‘नचलाउ न । थाकेको छु ।’ लामो सास तानेर सत्यराजले हरेक दिन उही जवाफ दिन्थे ।
रातभरी सुतेर उठेपछि विहान आफूलाई रिचार्ज भएको ठान्दथे सत्यराज । तर रातभर राम्ररी सुत्न सक्दिन थिइन अनुलता । विहान उठेपछि आफूलाई पुरा डिस्चार्ज भएको ठान्दथी । ब्याट्रीका बिपरित ध्रुव जस्तै थिए उनीहरु । बिल्कुलै बिपरित ।

विबाह भएको चार वर्ष भैसकको थियो । तर उनीहरुको बच्चा भएको थिएन । आफन्त र साथीभाइहरु ठान्दथे सत्यराज आफ्नो करिअरको लागि हतारमा बच्चा जन्माउन चाहाँदैनन् । अनुलता ठान्दथी यो गड्यौलाबाट बच्चा हुँदैन । तर वास्तविक सत्य कि भगवानलाई थाहा थियो, कि ल्यावमा गएर दुवैको टेष्ट गरेपछि थाहा हुन्थ्यो । तर बच्चाका बारेमा सत्यराजलाई भने कुनै चासो थिएन । उनले त्यस बिषयमा सोचेका पनि थिएनन् ।

नेपाल हुँदाको कुरा हो, एउटा अनुसन्धान रिपोर्ट बुझाउने अघिल्लो साँझको अति ब्यस्त समयमा अनुलताले बच्चाको बारेमा कुरा उठाई । रिपोर्ट तयार गर्दा गर्दै टाउको खाइरहेको बेला सत्यराजले रिसाएर भने– ‘जाऊ डाक्टरकोमा गएर ल्याब टेष्ट गराऊ ।’

ल्याब टेष्ट गराउन भनेपछि अनुलताको सातोपुत्लो उड्यो । के थाहा आफ्नै पो समस्या हो कि ? आफ्नै समस्या रहेछ र थाहा पाए भने अर्की पो ल्याउने हुन कि ?

अनुलताले चलाखी पूर्ण जवाफ दिई– ‘पहिले आफ्नो जाँच गर्नू, अनि म गरौंला ।’

सत्यराज काममा ब्यस्त थिए । उनले कुनै जवाफ फर्काएनन् । त्यसदिन देखि सन्तानको अभावको बारेमा सत्यराजलाई अनुलताले कहिलै केही भनिन ।

एकदिन अनुलतालाई एक्लै गएर सुटुक्क टेष्ट गराउँकि जस्तो लागेको थियो । तर आफ्नैमा कम्जोरी देखियो भने ? जीन्दगीभर पीडा भइरहन्छ । आ..होस् भनेर उ चूप लागी । तर सन्तान प्राप्तीका बारेमा सँधै तड्पी रही ।

यता लन्डनमा आएदेखि बच्चाको चासो कम भएर गयो । उनीहरु बसेको घरको अर्को फ्लाटमा बस्ने एक जोडीले बच्चा जन्माउन सक्षम भएर पनि बच्चा नचाहेको कथा सुनाएका थिए । त्यसको पनि प्रभाव पर्यो उनलाई ।

बच्चा जन्माउन विबाह गरेको हो र ? यस्ता कैयौं टिभी कार्यक्रम र फिल्म हेरिसकेकी थिइ । जन्मदिने बुबाआमालाई सन्तानले नहेरेको कथा उतै नेपालमा पनि देखेर तथा सुनेर आएकी थिई । आखिर सन्तानमा के नै छ र ? सन्तान नहुँदा पूर्ण आइमाई भईदैन त ? आफूले आफैलाई धेरै पटक प्रश्न गरी । आखिर यस्तै भ्रम र डरमा हुर्केकाले नेपालका नारी पिछडिएका हुन् । माथि उठ्न नसकेको उनको निष्कर्ष रह्यो । त्यसपछि बच्चा जन्माउने कुरा मनमा आउन छाड्यो ।

अनुलताको खासै साथीहरु लन्डनमा कोही थिएनन् । न त नयाँ साथी नै बनाउन चाही । कसैकोमा जानु थिएन । कोही आउनेवाला पनि थिएन । सामान्य बोलचाल भाडामा बस्ने राधेश्याम र अर्को फ्लाटमा बस्ने जोडीसँग थियो । काम थिएन, दिनभर कोठामा बस्दथी । इन्टरनेटमा बिभिन्न वेबसाईट चाहार्दथी । खास गरी नेपालबाट प्रकाशित हुने युवा वर्गको रुचिका रंगिन पत्रिकाका नेटमा नछुटाई पढ्दथी । त्यसमा पनि हिरोहिरोइनको निजी मसलादार कुरा खुब चाख मानेर पढ्दथी । यौन सम्बन्धी लेख प्राथमिक रुची पर्दथ्यो ।

‘आजकलका आधुनिक युवतीहरु श्रीमान् हुँदा हुँदै बाहिर परपुरुषसँग गोप्य सम्बन्ध राख्छन् । ...र सन्तुष्ट हुन्छन् ।’ इन्टरनेटमा यौन सम्बन्धी नयाँ लेख पढी । त्यो लेखले अनुलताको पवित्र मन धमिल्याई दियो । हो त नी मान्छेले जहाँ जसरी सन्तुष्टी मिल्छ, तरिका पुर्याएर लिन जान्नु पर्दछ । जहाँ जसरी खुशी भइन्छ त्यसैमा रमाउनु पर्दछ । आखिर पतिदेव गड्यौलामा रमाएका छन् । म चाहीँ केमा रमाऊँ त ? नेटमा पढेको उदार यौनका कुराको प्रभाव उनको विचार र सोँचमा देखिन थाल्यो ।

‘खाली दिमाग शैतानको घर’ भन्ने भनाई छ । दिनभर कोठामा बिना काम बसेपछि अनुलताको मनमा नकारात्मक कुराहरु खेल्न थाले । लोग्नेसँगै रिस उठ्न थाल्यो । विबाह गरेदेखि अरुको बारेमा चासो नलिने र आफ्नै करियर भनौं वा गड्यौलासँग मात्र रमाउने लोग्ने स्वार्थी जस्तो लाग्न थाल्यो ।

राधेश्याम भाडामा बसेको पनि निक्कै भैसकेको थियो । अनुलताले उसँग सामान्य बोलचाल मात्र राखेकी थिई । साझा भान्सा थियो । राधेश्याम भने विभिन्न बहाना बनाएर भान्सामा आइरहन्थ्यो । त्यहाँ जरुरत परेर नभई अनुलतालाई चारो फाल्न आउँदथ्यो । विस्तारै उसले घनिष्ठता बढाउँदै लग्यो । सभ्य रुपमा, आदरसाथ साह्रै मिठो बोल्दथ्यो । ठूल्ठूला ब्यावसाय र योजनाको कुरा सुनाउँदथ्यो । उसको आकाश पातालका कुरा सुनेर अनुलतालाई लाग्यो यो भिजन भएको मानिस हो । यसले राम्रै काम गरिरहेको होला । उनीहरुका बीचमा थुप्रै पटक विभिन्न विषयमा कुराहरु भइसकेको थियो ।

अनुलता लोग्नेसँग खुशी नभएको कुरा चतुर राधेश्यामले बुझ्यो । र राम्ररी पढ्यो उनको ईच्छा र कमजोरी ।

हुन त उसैले कुरैकुरामा अलिकति चुहाएकी थिई –‘मेरो मनमा आगो लागेको छ, आगो !’ बस् राधेश्यामले आँ... गर्दा अलंकार बुझ्यो । उसले प्रष्टै देख्यो आगो ।

‘तपाईंले बनारसको पान खानु भएको छ ?’ एक दिन अनुलता भान्सामा खाना बनाई रहेको बेला राधेश्यामले सोध्यो ।

‘छैन ।’ अनुलताले छोटो जवाफ दिई ।

‘मैले ल्याएको छु खानु न ।’ राधेश्यामले अनुरोध गर्यो ।

लन्डनमा बनारसको पान !? खाउँकी नखाउँ भयो अनुलतालाई । बनारसका पानका बारेमा सामाजिक जीवनदेखि फिल्मि दुनियाँ सम्ममा गफ सुनेकी थिई । खाने पनि पछुताउने नखाने पनि पछुताउने । के छ त बनारसको पानमा ?

खानोस् खानोस्.. भन्दै आफ्नो कोठाबाट पान ल्यायो । अनुलतालाई एउटा पान दियो र आफूले एउटा मुखमा राख्यो । अनुलताले पनि पान चपाउन थाली ।

जिन्दगी पहिलो पटक हो पान खाएकी अनुलताले । ‘के पानको रस पनि निल्ने हो ?’ उसले सोधी ।

‘हो हो निल्नोस् । सबै निल्नोस् ।’ राधेश्यामले जवाफ दियो ।


अनुलताले पानको रस थुपै पटक निली । एकछिन पछि हेर्दा हेर्दै राधेश्यामलाई दुइवटा देख्न थाली ।
राधेश्याम उपयुक्त समय हेर्दै थियो । जब अनुलता लट्ठ भई, डोर्याएर आफ्नो कोठामा पुर्यायो । केही घण्टापछि अनुलता ब्यूँझिई । ब्यूँझेपछि आफूलाई राधेश्यामको बिस्तारामा पाई । लुगा सम्हाल्दै जुरुक्क उठी । कोठामा राधेश्याम थिएन । शरिर र लुगामा पानको दाग लागेको थियो । नलाग्नु पर्ने ठाउँमा पनि पानको दाग लागेको देखी । तर आफूलाई चाहीँ ताजा महसुस गरी । शरिर चंगा जस्तै हलुका थियो । केही समय अघिको घटना सम्झने प्रयास गरी । डरले कोठाबाट फुत्त बाहिर निस्की । बाथरुमबाट राधेश्याम आउँदै थियो ।

‘पान कस्तो लाग्यो ?’ राधेश्यामले सोध्यो ।

अनुलताले केही जवाफ दिइन । मुसुक्क हाँसी । पान मन पराएको कुरा राधेश्यामले बुझ्यो ।

राधेश्याम कोठा भाडामा लिए पनि नियमितरुपमा सुत्न आउँदैन थियो । कहाँ जान्थ्यो, के काम गर्दथ्यो भन्न चाहाँदैन थियो । पैसाको गफ र योजना भने खुब सुनाउँदथ्यो ।

बनारसी पान खाएदेखि अनुलताले उसको नियमित चियो गर्न थाली । कति बेला आउँछ र जान्छ भनेर ।

चार दिनपछि साँझमा राधेश्याम आयो । अनुलता भान्सामा खाना तयार गर्दै थिई ।

‘मैले मार्केटिङ म्यानेजरको जागिर पाए । खुशियालीमा यो लड्डु ।’

राधेश्यामले मिठाईको डिब्बा खोल्यो र एउटा लड्डु हातमा लियो ।

‘यो बनारसको लड्डु हो । आँ.. गर्नुहोस् ।’ राधेश्यामले आग्रह गर्यो ।

आज्ञाकारी बालक झैं अनुलताले मुख खोली । राधेश्यामले लड्डु मुखमा राखिदियो ।

‘बनारसको लड्डुको बेग्लै विशेषता हुन्छ । खाई सकेपछि त्यसको मजा आउँदछ ।’ राधेश्यामले मुस्कुराउँदै भन्यो ।

अनुलताले लड्डु खाएपछि पानी पिई । पानी पिए पश्चात हेर्दा हेर्दै राधेश्यामलाई साक्षात कृष्ण देख्न थाली र आफूलाई राधा । त्यसपछि वृन्दावनमा पुगे जस्तो लाग्दै थियो अनुलतालाई । राधेश्यामले निकै बेर बाँसुरी बजाईरह्यो । अनुलता नाँचिरही ।

स्वर्गिय आनन्दबाट कसैले ब्यूँझायो अनुलतालाई । राधेश्याम हो की जस्तो लागेको थियो । तर आँखा खोलेर हेरी सत्यराजलाई गड्यौंला जस्तै ठिंग उभिएको देखी ।

‘के भयो अनु ? संचो भएन ?’ सत्यराजले उनको टाउको सुम्सुम्याउँदै सोध्यो ।


‘संचो त कहिले पो भएको छ र ? तर आज चाहीँ अलिक फ्रेस छु । किन चाँडै आउनु भयो ?’ अनुलताले गुनासो, सन्तुष्टी र जिज्ञासा एकै साथ राखी ।

‘निकै लामो समयको अनुसन्धान पछि गड्यौंलाको प्रजनन शक्तिका बारेमा नयाँ कुरा पत्ता लगाएँ आज । मैले पत्ता लगाएको अनुसन्धानबाट गड्यौंलाका धेरै सन्तान बनाउन सकिने छ । उनीहरुको प्रजनन दर तिब्र हुने छ । तिनीहरुले माटोमा मिसिएका सबै विषादीलाई पचाउने छन् । र बदलामा प्रांगारिक मल दिने छन् । माटोको उर्वरता बढ्नेछ । अनि... मेरो पनि बढुवा हुनेछ । यही कुरा सुनाउँ भनेर साँझको काममा नगई सिधै कोठा आएको ।’ सत्यराजले आफ्नो खुशी र प्रगति सुनाउन चाहे ।

गड्यौंला अनि फेरी गड्यौंलाकै कुरा । अनुलताले सत्यराजको कुरामा कुनै चासो लिइन । ए... भनेर पूर्णविराम लगाई ।

साँझको खाना खानु पर्ने । खानाको कुनै तयारी थिएन । अनुलतलालाई खानाको बारेमा सोधे, खान मन नलागेको कुरा बताई । भोका सत्यराजले भान्सामा चिहाए । स्पेगेटी बाहेक केही थिएन । तातो पानीमा स्पेगेटी उमाले । स्पेगेटीमा हाल्नु पर्ने ‘सस’ थिएन । सोँचे टमाटर राख्नु पर्ला । त्यो पनि थिएन । अनि नुन छर्के । प्याज र हरियो खोर्सानी काटेर माथिबाट राखे । बल गरेर केही स्पेगेटी निले ।

भान्साबाट उनी कोठामा गए । अनुलता टीभीमा खाना बनाउने कुनै कार्यक्रम हेर्दै थिई ।

सत्यराजले वातावरणलाई सहज बनाउन कुरा निकाले । ‘हेर अब मेरो थेसिस सकिन लाग्यो । कामको अफर पढिरहेको युनिभर्सिटीले पनि गरेको छ । नेपाल सरकारले मलाई त्यत्रो पढ्ने अवसर दिएर यहाँसम्म पठायो । गर्वसाथ नामको अगाडि पिएच्डी थप्न पाउने भएको छु । आफ्नै देशमा गएर सिकेको सिप प्रयोग गर्न मन लागेको छ । राष्ट्रले लगाएको ऋण पनि तिर्नु पर्यो ।

‘गड्यौला माटो बाहिर एकछिन निस्केर जति चलमल गरेपनि उसले फेरी माटो मुनि नै जानु पर्दछ । र जान्छ । नत्र केही समयमै उसको मृत्यु निश्चित हुन्छ । तपाईं पनि एउटा गड्यौला नै हो । संसारको सपनाको मुलुकबाट फर्केर हण्डर खान फेरी उतै जाने । हुन त गड्यौला फोहर जन्मन्छ, हुर्कन्छ र फोहर मै बाँच्दछ ।’ वर्षौदेखिको असन्तुष्टि अनुलताले एकै चोटी पोखी ।


अनुलताले यस्तो भन्ली भनेर सत्यराजले सोँचेका पनि थिएनन् । यो उनलाई ठूलो चोट सरह भयो । प्रतिउत्तरमा जवाफ फर्काउन सकेनन् । गड्यौला जस्तै लल्याकलुलुक भए ।


एक कछिनपछि टेबल छेउको कुर्सीमा बसे । र ल्यापटप अन गरे । फेरी गड्यौंला खोजिरहे इन्टरनेटमा । अनुलता भने निदाए जस्तो गरेर सुतेकी थिई । सधै झैं आज पनि अनुलताको अनुमान गलत ठहरिएन । केही समयपछि सत्यराज ओच्छ्यानमा गड्यौला जस्तै गुँडुल्किए ।

सत्यराज मस्त निदाए । अनुलता निदाउन सकिरहेकि थिइन । पहिले खाएका बनारसी पान र लड्डुको स्वाद सम्झँदा सम्झदै कति बेला निदाई पत्तै पाइन ।


सधैँ झैं सत्यराज बिहानै युनिभर्सिटी गइसकेका थिए । मौका हेर्दै थियो राधेश्यामले । किचेनमा अनुलताले चिया बनाउन लागेको कुरा राधेश्यामले थाहा पायो । बिस्तारै चाल मारेर गयो । पछाडिबाट अनुलतालाई गम्लङ अंगालो हाल्यो । अनुलताले कुनै बिरोध गरिन । उसले अंगालो बिस्तारै कस्तै लग्यो । उष्णता बढ्दै थियो ।

यो अंगालो सधैभरि कस्ने हो कि एकछिनलाई हो ? अनुलताको प्रश्नले राधेश्याम तर्सियो । र तुरुन्तै छाड्यो ।

‘लन्डनमा बसेर लन्डन ब्रिज नहेरी मुलुक फर्कने धेरै छन् । हिड् आज म तिमीलाई लन्डन ब्रिज घुमाउँछु ।’ राधेश्यामले अनुलताको गम्भिर प्रश्नलाई अर्के तिर मोड्दै पूर्व योजना अनुसार प्रस्ताव राख्यो ।

उसको लोग्नेले झण्डै तीन वर्षका बीचमा जम्मा एकपटक नेचुरल पार्कमा घुमाउन लगेको थियो । घुम्न पनि के भन्नु पार्कमा गड्यौंला खोज्न । भए भरका गड्यौंलाको फोटा खिच्दा अनुलताको फोटो खिच्ने कुरै गरेन । त्यत्रो बिशाल नेचुरल पार्कमा गड्यौंला बाहेक केही देखेनन सत्यराजले । त्यति हो लोग्नेसँग घुम्न गएको ।

त्यसो त लन्डन ब्रिज पहिले पनि गएकी हो अर्को फ्लाटमा बस्ने आइमाईसँग । फुर्सदिली अनुलताको बित्ने केही थिएन । फेरी जाने भई । राधेश्यामको प्रस्ताव स्वीकार गरी ।
डबल डेकर रातो बसको माथिल्लो तलामा उक्ले दुबै जना । सबैभन्दा अगाडिको सिटमा सँगै बसे । थरिथरि र रंगरंगका मानिस देखी अनुलताले । हजुरआमा जस्ता बुढीहरु श्रृंगारिएर ढलेको बैश लर्काएर हिँडेका थिए । बैसालु युवायुवतीका जोडाजोडी नारिएर हिडिरहेका थिए । कोही चुम्बन साटासाट गर्दै थिए, कोही अंगालो कस्दै थिए । बसमाथिबाट लन्डनको सडकमा देखिएको मादकताले अनुलतालाई लट्ठ बनायो । छेउमा बसेको राधेश्यामको हात दह्रोसँग समाई । मौकाको ताकमा रहेको राधेश्यामले लन्डने माया देखायो । बसमा अरु पनि यात्री छन् भन्ने कुरा बिर्से दुबैले ।

दिनभरको घुमाईपछि थाके पनि चंगा जस्तो हलुका मन लिएर कोठामा छिरी अनुलता । घरको सामान्य सरसफाई गरेपछि सुत्ने कोठामा गई । साँझको खाना खानु थिएन, राधेश्यामसँगै म्याकडोनाल्ड खाएर आएकी थिई । सत्यराजलाई खाना बनाउनु पर्दैन थियो । रेष्टुरेण्टको काममै उतै खाएर आउँदथिए । सत्यराज आउन अझै कम्तिमा एक घण्टा बाँकी थियो । त्यसै ओच्छ्यानमा पल्टी रही ।

बिगत केही समयदेखि राधेश्यामसँगको उठवस सम्झी । कतै आफूले कुनै गल्ती त गरिरहेको त छैन भन्ने लाग्यो । तर उनको एक मनले भन्यो– ‘जे गरेँ ठीक गरेँ । खुशी र सन्तुष्टि जे गर्दा, जोसँग पाइन्छ त्यसलाई लिनु पर्दछ । एकबारको यो जीवन खुशीसाथ बिताउनु पर्दछ ।’

अर्को मनले भन्यो– ‘एउटाको सिन्दुर अनि परपुरुषसँगको सम्बन्ध ! त्यसबाट प्राप्त हुने सन्तुष्टी क्षणिक हो । यो सरासर धोका हो । पाप हो । यस्तो कुकर्मको पोल एकदिन अवश्य खुल्छ । पोल खुलेको दिन दुर्घटना हुन्छ । दुर्घटनाको सिमा थाहा हुँदैन । दुर्घटनाबाट बेलैमा जोगिनु बुद्धिमानी हो ।’

‘के यो गड्यौले आजसम्म मलाई कुनै खुशी दिएको छ ? सन्तुष्टी दिएको छ ? अहँ छैन । आखिर बिहे गरेर ल्याएदेखि गड्यौला बाहेक अरु कुरा गरेको छैन । परिवारका कुरा छैन । भविष्यका कुनै योजना छैन । जे जति छन् गड्यौला छन् । र आफू पनि ठ्याक्कै गड्यौला ।’ अनुलताको मनले सत्यराज उपर हदैसम्मको घृणा पोख्यो ।

यी सब कुराबाट बेखबर बिचरा सत्यराज आफ्नो पढाईको सफलतामा रमाई रहेका थिए । पिएच्डी सकिन लागेको थियो । उनको योजना थियो यसपछि सबै समय र खुशी परिवारलाई दिन्छु । आखिर यो जे जति गरिरहेको छु सबै उनकै लागि त हो नि । सत्यराजलाई लागेको थियो अनुलता पनि खुशी नै छे ।

दिउँसो इन्टरनेटमा गड्यौला खोजिरहेका थिए । उनको प्रोफेसरले पिएच्डी सफलता साथ सकिएको कुरा इमेलबाट जानकारी गरायो । औपचारिक पत्र आउन र दिक्षान्त समारोह हुने अझै समय बाँकी थियो । उनको खुशीको सिमा रहेन । त्यो खुशी बाँडन साँझको काममा नगई हतार हतार घर आए । घरमा अनुलता थिइन । सोचे सायद किनमेल गर्न ‘ग्रोसरी स्टोर’ गएकी छे । नौ बज्यो । नजिकका सबै स्टोर बन्द भैसके । अझै फर्केर आइन । कहाँ गइ त? पटक पटक मोबाइलमा फोन गरिरहे । फोन बन्द थियो ।

आत्तिए सत्यराज । कसलाई हारगुहार गर्नू ? सहयोगको लागि भनेर राधेश्यामको ढोका ढक्ढकाए । ढोका स्वाट्ट खुल्यो । भित्रबाट केही आवाज आएन । स्वीच अन गरे । बत्तिको उज्यालोमा नांगो कोठा देखे । झसंग भए । दौडेर आफ्नो कोठामा आए । दराज खोले । अनुलताको लत्ताकपडा केही थिएनन् । एकाएक उनी गड्यौला जस्तै लुला भए ।

लन्डन, बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 26 जेठ, 2071

लेखकका अन्य रचनाहरु