पुस्तान्तर

- पेशल आचार्य

घन्टाघरको पुरानो घडीले ठीक दिउँसोको तीन बजाएको छ, यतिखेर । म महेश र मेरो साथी अशोक दुवै रत्नपार्कबाट लोकन्थलीका लागि बसको खोजीमा हतारिइरहेका छौं । दुवैलाई आज अलि चाँडो घर पुग्नुपर्ने बाध्यता छ । मेरो घरमा आज साउनको मौका पारेर पूजाको आयोजना गरिएकाले म आफ्नो मन मिल्ने साथी अशोकलाई साथै लिएर अफिसबाट अलि चाँडो घरतर्फको पूजाको चासो राखेर हिँडेको हूँ ।
च्यामसिँह जाने बस कोटेश्वर, जडिबुटी, लोकन्थली, कौशलटार र ठिमीहुँदै जानेगर्छ । यो रुट हामीहरूका लागि सोझो पनि छ तर तीन बजेभन्दा पछाडिका भक्तपुरे गाडीहरूमा मानिसको घुँइचो भएर खुट्टो हाल्ने ठाउँ हुँदैन । हामीहरू केहीबेरमा पुरानो बसपार्क पुगेर निर्धारित आफ्नो रुटको बस समात्छौं । बस खालि छ । हामीहरू लोकन्थलीमा झर्नुपर्ने हुनाले चालकको विपरीत पट्टिको अगाडिको सिटमा बसेका छौं ।
खलाँसी भाइ कराउदै छ –ठिमी, गठ्ठाघर, च्यामसिँह, जडिबुटी, लोकन्थली, कौशलटार !
फाट्टफुट्ट यात्रुहरू आएर मन लागेका सिटमा बसेका छन् । बस क्रमशः भरिन खोज्दैछ । मलाई आज अलि हतारो भएको भान भएको छ । सधैँ राति नभइकन घर नजाने म आज घरमा पूजा भएरभन्दा पनि आफ्नी श्रीमतीका करबलले चाँडै घर जान लागेको हूँ । हुन त मैले आजको दिन अफिसमा विदा लिएर घरको काममा श्रीमतीलाई सघाउनुपर्ने हो तर आर्थिक वर्षको सुरूआतसँगै अफिसमा भएका कामको चापले मलाई विदा लिएर घर बस्न फुर्सद नभएको हो ।
‘यार, भाउजू त सारै धर्मभीरु हुनुहुन्छ । तैँले त्यस्ती श्रीमती पाउनु भनेको त तेरो जीवनकै अहोभाग्य हो । बुझिस् महेश ?’
म अशोकले गरेको आफ्नी श्रीमतीको प्रशंसामा भित्रभित्रै खुसी हुन्छु तर मेरो खुसीको डिग्रीलाई मेरै साहसले थिचेर सामान्य भावमै प्रकट हुन्छु –‘सन्तुष्टिको प्रतिशतमा भन्दा मलाई घरबाट पसाच प्रतिशतमात्रै सन्तुष्टि छ ।’
‘किन र ? श्रीमतीको सन्तुष्टिलाई पनि पच्चीस या पचास भनेर आँक्न सकिन्छ ।’ उसले मायाको गणितको भाषा र भाव नबुझेको स्पष्ट शैलीमा सोध्छ ।
म लामो उच्छवास छाडेर आफ्ना पीडाका तुनाहरू क्रमशः फुकाउँन थाल्छु ।
‘म पूर्वको मानिस । काठमाडौँमा बसेको आजका मितिसम्म लगभग बीस वर्ष भैसक्यो । राजधानी छिर्दा मसँग एक थान मेरा जीउमा लगाएका सग्ला लुगा, एउटा नाइक ब्याग, ब्यागभित्र मेरा र श्रीमतीका घरमा बस्ने अद्र्धाना भन्नलायक फेरुवा लुगा र जम्माजम्मी त्यही एक थान श्रीमतीमात्र थिइन् । जीवनको नौकालाई राजधानीको खाल्डोभित्र साहसले चलाउने मेरो अध्ययनको मानसिक बल र श्रीमतीको दरो शान्त्वनाबाहेक मसँग अरू केही पनि जोगार गर्ने चिज थिएन ।’
‘अनि ?’
‘मैले मेची क्याम्पसबाट मानविकी फ्याकल्टीमा बी.ए.पास गरेपछि मलाई अब सबैभन्दा पहिले एउटा राम्रो जागिरको आवश्यकता थियो । मैले जुन मङ्सिरमा बी.ए. पास गरेँभन्दा हुन्छ त्यही साल माघमा मेरो घरपरिवारको जिद्दीले आइए पास भएकी केटीसँग बिहे भयो । हाम्रो समाजले सरकारी जागिरेलाई जसरी हत्ते हालेर हेरेको छ त्यसको प्रभाव ममा पनि नराम्ररी परेको थियो । समयले मलाई सजिलै जागिर मिलाइदिने जोहो नगरेकै बेलामा कताकताबाट केके गरी हो मेरा भागमा एक थान केटी मेरी श्रीमती भएर मेरो ओच्छ्यान तताउन आएकी थिई । मैले जिन्दगीलाई कुनै फिराद नगरीकन मेरो भागमा परेकी केटीलाई सकारनामा गरेको थिएँ ।’
‘अनि ?’
‘मैले जीवनमा कहिले पनि निराशालाई मेरो यो छातीभित्र प्रवेशाज्ञा दिइनँ । म पढाइमा औसत खालको विद्यार्थी । न त मैले कहिले स्ट्रापिनै खाएँ । न मैले क्याम्पसको अध्ययनमा फ्याकल्टी टप गरेर स्कलरसिप नै पाएको थिएँ । घरको पनि म माहिलो । स्कुल र क्याम्पसको पनि सधैँ माहिलो नै रहेँ ।’ मलाई मेरा साथीहरू सधैँ भन्नेगर्थे –‘यो मस्ती मरेको मानिस हो । यसलाई न कसैको जितमा जिन्दावाद मनाउँनु छ न कसैको हारमा मुर्दावाद । कसैलाई केही पनि भन्दैन । न वादविवाद । न प्रतिस्पर्धा । दिए लिन्छ, नदिए फिस्स हाँसिदिन्छ । चुपचाप शैली यसको निजी शैली हो ।’ ‘हो, मेरो आजसम्म पनि कसैसँग केही गुनासो छैन । क्याम्पसमा औसत दर्जाको विद्यार्थी भए पनि केटाहरू अलिअलि जानेबुझेका छन् र क्लियर गरेका छन् भने त कक्षाका खासगरी स्त्रीलिङ्गी साथीहरूका अगाडि आफूलाई तामझामका साथ प्रस्तुत गर्नेगर्थे । मलाई पनि कहिलेकहिले त्यस्ता साथीको वाध्यताबस् सङ्गत गर्नु पर्दथ्यो त्यसबेलामा तिनीहरू घुमाएर मर्नेगरी भन्नेगर्थे ।’ ‘यो मोरो घुसघुसे हो । बाहिरबाट यो सफा जोगी भएको हाउभाउ गर्नेगर्छ तर यस्ले कम्मल ओढेर घिउ खाएको हामीलाई धेरै थाहा छ ।’ बदलामा मभनेँ फिस्स हाँसिदिन्थे । मैले त्यस्ता संवादको कुनै प्रतिक्रिया दिनु पर्ने नपर्ने केही योजना नै बनाएको हुन्नथेँ ।
‘जो बढी बोल्छ त्यसले आफूले बोलेर गल्ती भएको एउटा कुराको गलत पक्षलाई ढाकछोप गर्न कैयौँ गल्ती अरू बोल्नुपर्छ भन्ने कुराको मलाई राम्ररी हेक्का थियो त्यसैले म नबोलेरै टारिदिन्थँे, नबोलेरै जितिदिन्थेँ । समस्याहरू नबोलेरै टार्न सकिन्छ भन्ने मेरो अभिमत अहिलेको वैवाहिक जीवनमा पनि काम लागिरहेको छ । कम बोल्ने स्वभावकै कारण मेरो र श्रीमतीको कहिलै कटाक्ष र काटामार भएन । यस मानेमा म खुसी छु ।’
‘अनि ?’
‘माघमा मैले गार्जेन स्तरबाट बिहे गरेर काठमाडौँ आउँन भनेर नाइट बसको टिकट लिँदा बिहेमा मेरा गोडा धोएका पैसा लगभग सबै तुरिइसकेका थिए । मैले कन्सेसनमा दुइटा टिकट लिएर झोला कसेँ । बिर्तामोडमा टिकट काउन्टरमा मेरो बीएको परिचयपत्रमा भ्यालिड् डेट कोलममा सच्याएको ठाउँमा प्रहार गर्दै बस कर्मचारीले व्यङ्ग्यै गरेको थियो तर मैले चुपचाप दिए दिन्छ कन्सेसन, नदिए दिँदैन भनेर त्यति करकर पनि गरिन । बसहरू खालिखालि नै काठमाडौँ आउनेजाने गर्थे । यात्रु चापाचापको त्यति सिजन पनि थिएन । अन्त्यमा ऊ आफैँ गलेर मलाई दुइटै टिकट कन्सेसनमा मिलाई दियो । ’
‘काठमाडौँ जान पाइने आसामा मेरी नव दुलहीको भैँमा खुट्टा थिएन । भर्खर बिहे गरेका जोडी हामी, घरको आर्थिकस्थिति पनि त्यति राम्रो नभएको अवस्था र गोडा धोएका पैसा पनि सबै सकिएकाले हाम्रो अवस्था रातभरि बिहेमा अनिदो बसेका भोका जन्तीको जस्तो थियो । म जवाफविहीन थिएँ भने उनी प्रश्नले रित्तिएकीजस्ती थिइन् । यसरी हाम्रो जिन्दगीको नाइट बस बिर्तामोडबाट दिनको दुई बजेर तीस मिनेटमा हिँडेको थियो । अरू त अरू हामीले लाहानमा हापहाप भात त्यसमा पनि सादा किसिमको खाएका थियौं । सँगैको टेबलमा बसेका मानिसहरूलाई मासुदिन भनेर बेराले ल्याउँदा हामी शाकाहारी भनेर मासुको लकछक नै नगर्नेजस्तो व्यवहार गर्दथ्यौं तर वास्तविकता त्यस्तो होइन । म सानैदेखि मासु भनेपछि भुतुक्कै हुने मानिस । आज मसँग पैसा नभएको आभाष भएपछि मैले मेरो आँतले मागेको इच्छालाई पनि मारेर भात खाएँ । म त्यतिखेर चिसो भात कम र मेरा ताता सपनाहरू कल्पनामा बढी मीठो मानेर खाँदै थिएँ । श्रीमती के खाँदै थिइन् वरिपरि मानिसहरू भएकाकारण मैले पनि सोधिन उनले पनि भनिनन् ।’
‘यसरी हामी राजधानी छिरेका । पैँतालीस सालमा आएको मैले छयालीस सालमा नै खरदारको लोकसेवा पास गरेँ र काभ्रेमा पोष्टिङ् भएँ । अर्को साल मैले सुब्बा निकालेँ र दोलखा गएँ । त्यही साल बैशाखको पहिलो हप्तादेखि छयालीसको जनआन्दोलनपछिको अन्तरिम शासन सुरु भएको हो । तीनतीन वर्षसम्म मैले एउटै डेरामा बसेकी श्रीमतीलाई राम्ररी पनि नहेरी शाखा अधिकृतको परीक्षामा सामेल भई सरक्कै नाम निकालेँ । परीक्षाको तयारी गर्दा म पत्रिका ओढ्नओच्छ्याउनै प्रयोग गर्नेगर्थेँ । त्यस बीचमा हामी लोग्नेस्वास्नीको कति दिनसम्म बोलचाल पनि बन्द भयो ।
उसलाई हप्ताको तीनचोटि शारीरिक सम्पर्क गर्नुपर्ने । मलाई भने शाखा अधिकृतको परीक्षाको चटारो । कुरो के रहेछ भने मैले अधिकृतको परीक्षा आफूले लेखेर पास गरे पनि मलाई पास गर्न ढाढस दिने भनेकी मेरी श्रीमती नै हो ।’ ऊ भन्थी –‘मानिसलाई हजारौं तनावहरूबाट मुक्त बनाउने माध्यम भनेकै शारीरिक सम्पर्क हो । अझ श्रीमान्श्रीमतीका बीचमा हुने पवित्र दैहिक मिलनले त मानिसलाई अपराजेय शक्ति संचरणको अवसर दिन्छ ।’ ‘प्रविधिगत रूपमा त्यसलाई अथ्र्याउँनुपर्दा मैले निर्जीवै भएपनि कम्प्युटरको उदाहरण दिनेगरेको छु । धेरै बेरको काम गराइपछि हामी जसरी कम्प्युटरलाई राइट क्लिक गरेर रिफ्रेस गर्छौं । शारीरिक थकावटका लागि पनि मानिसले आफूलाई रिफ्रेस गर्न सेक्सको सहारा लिनैपर्ने रहेछ ।
मैले सुरुसुरुका दिनमा यस्तो प्रस्तावको विरोध गरेँ तर जब मैले बिहानबिहान ध्यानमा बस्दा उसको कुराको प्रभावकारितालाई सूक्ष्म विचार गरेँ तब मेरी श्रीमती मलाई मभन्दा पनि ट्यालेन्ट लागी । मैले यौनबाट ऊर्जा लिएँ । यसलाई अध्ययन शक्तिका रूपमा परिणत गरेँ । फलतः मैले शाखा अधिकृतको परीक्षामा आफूलाई अब्बल दर्जामा सिफरिस गर्ने सामथ्र्यको बनाएँ । म जनयुद्धकालीन समयमा मुलुकका धेरै जिल्लामा फुटबल शैलीमा सरुवा हुनुपरेको थियो जब मैले माहिलो नम्बरमा सिफारिस हुने मौका पाएँ । त्यसपछि मैले राजधानीमै रहने इच्छाले मन्त्रालयमै रहने इरादा गरेँ ।’
‘अनि ?’
‘त्यसपछि मेरा भटाभट छोराछोरीहरू भए । मैले जागिरको दाम्लामा आफूलाई बाँधिएको पाए पनि मेरी जीवनसँगीनीले अनेक दुःख गरेर छोराछोरीहरू हुर्काई । म यहाँनेर भने उसलाई सहयोगी पात्रका रूपमा मात्र उपस्थित भएँ कारण मेरो जागिरको प्रकृत्ति नै त्यस्तै व्यस्त किसिमको थियो । केटाकेटीहरू बोर्डिङ् जाने भएपछि श्रीमतीले पनि सानोतिनो जागिर नै खाई । यसरी मलाई उसले हरतरहले सहयोग गरेपछि मलाई जीवनको सतप्रतिशत खुसीको अनुभूति भयो ।’ मैले सानोमा कथाका किताबमा पढेको थिएँ –‘जीवन केवल वसन्त होइन यो त तुषारे शिशिर पनि हो । फूलको कालिन होइन तर संघर्ष पनि हो ।’
‘मेरो जीवनमा भएको पनि त्यस्तै छ । जब मेरा छोराछोरीहरू अलिअलि गर्दै हुर्कन थाले तब मलाई सन्तान भनेका मिठो झन्झट हुन् भन्ने ब्रह्मज्ञान भयो । बाबुआमाको विचार र इच्छामा जब सन्तानहरू हिँड्दैनन् तब भने बाबुआमाको मन कुँडिदो र’ैछ । सानोमा अधिक गरी पुल्पुल्याएका केटाकेटीहरूले बाबुआमाका टाउकामा टेक्दा रहेछन् । मलाई पनि भयो –त्यस्तै । प्रवेशिका परीक्षा पास गरेपछि छोराछोरीहरू पखेँटा लागेका चराका बच्चाझैँ जब उडेर बेलायत र अमेरिका गए त्यसपछि मैले एकाएक रित्तो भएको महसुस गरेँ । अहिले मेरा दुई सन्तानमा एउटा अमेरिका छ र अर्की बेलायतमा छे ।’
तपाईँ मैले यहाँ प्रयोग गरेको क्रियापदिक प्रयोगबाटै स्पष्ट भैसक्नु भयो होला । ‘मेरो जेठो छोरो र कान्छी छोरी हो । अहिले पनि उनीहरूसँग बेलाबेलामा मेरो इमेलमा सम्पर्क भैराख्या छ । आफ्नो देशमा फर्किने विचार उनीहरूको अहिले कम हुँदै गएको छ । हरेकजस्तो च्याटमा कुराकानी हुँदा हामीलाई जागिरसागिर छोडरै भए पनि तुरुन्त उतैतिर बोलाउँछन् । उनीहरू हामी दुवै बाउआमालाई एउटाले अमेरिका बोलाउँछ अर्कीले बेलायत बोलाउँछे । कति पटक त मैले अब हाम्रो मुलुकमा पनि गणतन्त्रको स्थापना भैसक्यो । यहाँ अब शान्ति छाउँछ । विकास हुन्छ । हामीलाई बोलाउन बन्द गर । बरु तिमेरु नै नेपाल आओ भन्दा हामीलाई त पाखे र साखे भनेर तथानाम पो भन्छन् । ढुकुरका जोडीझैँ भएका अब यो उमेरमा आएर हामीले छुट्टिनु रे ! लगभग बूढ्यौलीको यो प्रवेशद्वारमा आएर हामी बाउआमालाई छुट्ट्याउँन खोज्ने तिनीहरूको कस्तो इच्छा होला ? के तपाईँ दुःखसुखमा साथ दिएकी आफ्नी प्राणप्यारी पत्नीलाई बूढेशकालमा छोड्न सक्नुहुन्छ ? बूढेशकालमा बाउआमालाई त्यसरी नछुट्याऊ भनेर मैले ‘बागवान’ नामको हिन्दी सिनेमाको डिभिडी किनेर एकएक वटा पार्सलमा प्याक गरी दुवैलाई पठाइदिएँ । तैपनि तिनीहरूको मनले मानेको होओइन ।’
मलाई याद छ अशोक जी, जुन बेला मसँग मेरी श्रीमतीबाहेक केही थिएन त्यसबेला मैले उसलाई पाएरै संसारको सबै भन्दा भाग्यमानी मैँ हूँ भनेको थिएँ । आज मेरो सफलता र सन्तुष्टिको द्योतकलाई नै मबाट छुटाएर लाने करबलले मलाई कताकता म संसारकै दुःखी मानिस हूँजस्तो लाग्न थालेको छ । अब तपार्इँ नै न्यायाधीश बनेर मेरो जीवनको मुद्दा फैसला गरिदिनुस् । के मलाई न्याय मिल्छ ? मैले गर्ने के ? नगर्ने के ? सरकारी जागिरमा मैले लगभग पेन्सनको अवस्थामा आफूलाई उभ्याएको छु । मैले जिन्दगीभर हाडछाला घोटेर कमाएका नाम, दाम र इज्जत चटक्क छोडेर म के आप्रवासी भिसामा लोग्ने एकातिर र स्वास्नी अर्कोतिर गरेर छुट्टिनु राम्रो हो त ? बूढेशकालमा एकर्काको सहारा बन्ने बेलामा मलाई यस्तो भाउँतो आइलाग्या छ, अशोकजी !’
ं ं ं
यति भनेर मैले अशोकजीका मुहारमा के हेरेको मात्र थिएँ वहाँका आँखाबाट टिलपिल गर्दै अश्रुधारा खसेको देखेँ । अशोकजीलाई मेराअगाडि त्यसरी प्रस्तुत हुन अप्ठ्यारो भएछ । खल्तीबाट रुमाल निकालेर चस्मा झिकी नाकेडाँडीदेखि आँखाको दुवै भाग पुछ्नुभयो । यत्तिकैमा खलाँसी भाइले –ए लोकन्थली ! लोकन्थली भनेर कराएकाले हामी दुवै गाडीबाट झ¥यौं ।
बस स्टेसनदेखि मेरो घरसम्म पुग्दा म र अशोकजीको बोलचाल केही भएन । गेट खोलेर घरभित्र पस्दा हामीलाई झ्वाट्ट घरमा पसेको देखेर हाम्रो घरको नयाँ ‘डोर म्यान’ जातको कुकुर जोड्ले भुकिरहेको थियो ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 21 जेठ, 2071

लेखकका अन्य रचनाहरु