आज केटा आउने रे

- विश्वराज अधिकारी

‘हेर तिमीहरु सबै उमेरदार भइसकेका छौ। सवैको बिबाह गर्ने उमेर पनि भइसकेको छ। त्यसकारण केटाले तिमीहरु मध्ये जसलाइ मन पराउँछ उसैको बिबाह गरिदिने। पहिले जेठीकै हुनु पर्दछ भन्ने छैन। जेठी दिदीलाई मन पराउनु पनि त पर्यो नि केटाले। उसको बिबाह हुन सकेन भन्दैमा अरुको पनि रोक्न मिलेन नि हामीले। तिमीहरु मध्ये जसलाई मन परायो उसले र ऊ पनि मन पराउनेलाइ मन पर्यो भने एक हप्ता भित्रमै बिबाह गरिदिने। बिबाह गुहेस्वरी मन्दिरमा गर्ने। छिटो छरितो …………’।
बाले आमाको सहमतिमा सुनाएको यो प्रस्तावमा चारवटी छोरीहरुले सहमती जनाए। कान्छी छोरीले भनी पनि ‘ठूल दिदीलाई नै मन पराइदिए हुन्थ्यो। दिदी हामी सवैभन्दा जेठी हुनुहुन्छ पनि। त्यस्तो भइदिए राम्रै हुन्थ्यो। पालो पनि उहाकै हो।’
प्रतिउत्तरमा जेठीले बैनीहरुले मात्र सुन्न सक्ने गरी भनी ‘म त हेर नानी, तिमीहरु जस्तो नया उमेरमा छैन। लोग्ने मान्छेको मन, ढल्केको उमेरलाइ के मन पराउथे।’ त्यस पछि आमा बाले पनि सुन्न सक्ने गरि भनी ‘तिमीहरु मध्ये कुनैलाइ भए पनि मन पराइ दिए हुन्थ्यो। कमसे कम एक जनाको त घरजम हुन्थ्यो। बहिनीहरु यो उमेरमा पनि कन्या कुमारी रहेको देखेर मनमा कस्तो शूल उठ्छ। थाहा छ तिमीहरुलाई’?
जेठीको कुरा सकिएपछि माहिलीले पनि भनी ‘ठूल दिदीलाई नै केटाले मन पराइदिए कस्तो हुन्थ्यो केटाले, त्यस्तो भइदिए कति राम्रो हुने थियो हगि? भगवानले त्यसै गरुन …………..।’
साँहिलीले केवल यति मात्र भनी ‘हो नि त्यस्तो भइदिए कति राम्रो हुने थियो?’
योजना अनुसार नै, केटा आउनु पूर्व, तयारी सुरु भयो। चार वटी दिदी बैनीहरु सिङार टेवल अगाडि जम्मा भए। सिङार गर्ने क्रम सुरु मात्र के भएको थियो आमाले कोठा भित्र प्रवेश गरेर सचेत गराइन् ‘छोरीहरु हो, धेरै नक्कल झक्कल न गर्नु नि, कसै कसैलाइ धेरै नक्कल झक्कल गरेको मन पर्दैन’।
आमाले थपिन पनि ‘कस्तो किसिमको केटा हो केही थाहा छैन। उताबाट कुरा ल्याउनेले पनि केटाको बारेमा त्यति धेरै भनेको छैन। केटाले काठमाडौमा बसेर एम ए पास गरेको हो रे, काम चाहि….., काठमाडौको कुनै क्यामपसमा पढाउने गर्छ रे । घर भने पहाडतिर हो क्यारे? कतै। हामीलाई यति भन्दा बढि केही पनि थाहा छैन।’ आमको कुरा छोरीहरुले ध्यानदिएर सुनेको लागेन। त्यसैले कुनै प्रतिक्रिया पनि जनाएनन्। उनीहरु सिङार पटार गर्नमै ब्यस्त देखिए।
तयारी चलिरहेकै क्रममा कान्छीले जेठीतिर हेर्दै भनी ‘आमै , दिदीले कति छोटो ब्लाउज लगाएको? ज्यादै नक्कली देखियो। छि:, भएन। सवैभन्द जेठी भनाउँदीको लगाइ भने कति उत्ताउलो, उत्ताउली भन्लान है………।’
‘भन्न दे। तैले पनि त मै जस्तो साडी लगाएको भए हुन्थ्यो नि। किन लगाएकी त्यस्तो छोटो पैन्ट? हाफ पैन्टमा कस्तो देखिन्छ, थाहा छ तँलाइ ? एकदम………।’ कान्छीको भनाइमा जेठीको जबाफ यस्तो आयो।
माहिली र साँहिलीलाई भने एउटा साझा समस्याले पिरोलेकोलेको थियो र त्यसैको समाधानका लागि दुबैले आपसमा विवाद गरिरेका थिए। समस्या थियो दुबैलाइ एउटै मिड्डी मन पर्नु। त्यो मिड्डी कसले लगाउने भन्ने कुराको टुङो लाग्न सकिरहेको थिएन। धेरै तर्क बितर्क गर्दा पनि। आफुले लगाउँदा उचित हुने प्रमाणित गर्न दुवैले तर्कहरु खोज्ने र प्रस्तुत गर्ने क्रम चलिरहेको थियो। तर एउटाको तर्कलाई अर्कोले च्वाटै काट्ने खालको तर्क भने दुबैले भेट्न सकेका थिएनन् र त्यसैले विवाद लम्बिएको थियो।
कान्छीले भनी ‘तपाँइहरुको समस्याको किनारा म लगाउँछु। तपाँईहरु झगडा गर्नुको साटो त्यो मिड्डी मलाइ दिनुहोस म लगाउँ छु। तपाँइहरुले पैन्ट लगाए हुन्छ। पैन्ट लगाउदैमा नराम्रो देखिन्छ भन्ने छैन क्यारे।’
कान्छीको यो प्रस्तावमा साँहिली र माहिली दुवैले एकैचोटी प्रतिक्रिया ब्यक्त गरे ‘ओ हो कस्ती बाठी।’
अघिदेखि बहिनीहरुको बिबाद सुनिरहेकी जेठी दिदीले आफुलाइ रोक्न सकिन र भनी ‘खोइ देओ त्यो मिड्डी म लगाउँछु। तिमीहरुको झगडा नै समाप्त हुन्छ।’
जेठी दिदीको त्यस्तो प्रतिक्रिया सुनेर बैनीहरु सबैको मुखबाट एकै पटक निस्क्यो ‘छि:, दिदी, तपाँइले यस्तो लगाउने?’
जेठी दिदी अलिकति आक्रोसित भइ। बहिनीहरु माथि रिस पोखी ‘त्यो लुगामा मैले लगाउँन हुदैन भनी कतै लेखेको छ?’ यति भनेर आखाँ ठूलो पारी र सवैलाइ पालै पालो हेरी पनि। फेरि थपि ‘मैले लगाए भने नक्कल झक्कल, तिमिहरुले लगाए भने एकदम सुहाउदो …………..।’
‘ओ हो, कस्तो कडा परफ्युम? कसले लगाएको यस्तो? माहिलीले सोधेको यो प्रस्नको उत्तरमा बाँकी तिनबटी दिदी बहिनीहरुले केवल मुखामुख गरे मात्र केही बोलेनन्। जेठी दिदीको कानमा मुख टास्दै अरुले न सुन्ने गरी कान्छीले खस्याक खुसुक गरी ‘साँहिली दिदीले लगाए जस्तो छ।’
‘आफु जस्तै मलाई नक्कली ठानेकी छस् कि क्या हो? आफुले लगाएकी छे, उल्टो मैले लगाएको पो भन्छे। तैले बिस्तारै बोल्दैमा म सुन्दिन कि क्या हो?’ साँहिलीले आफूले परफ्युम नलगाएको प्रमाण यसरी प्रस्तुत गरी।
कान्छीको कुनै प्रतिक्रिया तत्काल भने आएन। घोरिएर केही सोची अनि बिस्तारै भनी ‘भयो भयो यति सानो कुरालाइ के बढाउनु। तिल लाइ ताड ……। सिङार गर्ने क्रममा केही क्षण पूर्व सवैको आखाँ छली साँहिलीले परफ्युम लगाएको कान्छीले देखिसकेकी थिइ।
माहिली ऐना अगाडि केही बेर उभिएको देखेर सबैको ध्यान उतिर आकृष्ट भयो। साँहिलीले आश्चर्य मान्दै सोधि ‘ओहो त्यसतरी गाजल लगाउनु पर्दछ? आफु मात्र लगाउने? खोइ कहाँ छ? दिनुस त, म पनि लगाउँछु।’
जेठी र कान्छीले केही पनि बोलेनन् , चुप लागेर नै बसे। दुबैले साँहिलीलाई नियालेर केही बेर हेरे मात्र। कान्छीले साँहिली तिर हेरेर केही बेर हाँसी।
सिङ्गारिने क्रम अझै केहि बेर लम्बिन्थ्यो होला । आमाले कोठा भीत्र प्रवेस गरी ‘तिमीहरुले सिङ्गार पटार मै दिन बिताउने हो कि क्या हो? केटा आउने बेला भइसक्यो। अब आधा घण्टामा आउने रे’ भने पछि सबै केही सचेत भए। तयारी छिटै सक्याउन आमाको त्यो सूचनाले उनीहरुलाई बाध्य पारेको थियो।
एक पछि अर्को गरी चारवटी दिदी बहिनीहरु ऐना अगाडि उभिए। आफ्नो छबिलाई एकैछिन घोरिएर हेरे पनि। त्यस पछि सवै दिदी बहिनीहरुले एक अर्कालाइ अरुले थाहा नपाउने गरी हेरे। तर सबै चुपचाप रहे, केही बोलेनन्। एकै छिन मौनता रह्यो। साहिलीले मौनता तोड्दै भनी ‘यति राम्री देखिएकी छिन्, जेठी दिदीलाइ नै मन पराइ दिए कुरै टुङगिन्थ्यो।’ साँहिलीको भनाइमा माहिलीले थपी ‘त्यस्तो भइ दिए त क्या राम्रो हुने थियो।’ कान्छिले पनि हो मा हो मिलाइ ‘भगवानको कृपाले त्यस्तै होस्। पालो पनि उहा कै हो।’
बहिनीहरुबाट आएका यी बिचारहरुमा जेठी दिदीले कुनै प्रतिक्रिया व्यक्त गरिन्। भावशून्य मुद्रामा उसले बहिनीहरुलाइ केही बेर हेरी मात्र।
केटा आयो। साथमा उसका बाबु आमा, केही नातेदार र दुइचार जना साथी भाइहरु पनि आए। वातावरणलाइ केटी हेर्न आएको जस्तो नपारी दुइ पक्षहरु बिच भेटघाट कुराकानी हुने जस्तो बनाइको थियो। केटा र केटी पक्ष बिच त्यस्तै सहमति बनेको थियो। केटा र केटी पक्षबाट कुरा अगाडि बढाउने जिम्मेबारी पाएका दुइ ब्यक्तिहरुले यो उपाए सुझाएका थिए। कोठाको पूर्वतिर राखिएको दुइबटा सोफामा एउटामा चार जना दिदी बहिनीहरु र अर्कोमा आमा र बा बसेका थिए। मन मिल्ने नातेदार एक दुइ जना वाहेक अरु कसैलाइ बोलाइएको थिएन। बाले एकदुइ जना छिमेकीलाई पनि बोलाउने कि भनि राखेको प्रस्तावमा आमाले छिमेकोलाइ बोलाएर कुरा काट्ने मौका दिनु बाहेक अरु केहि पनि नहुने भनेकोले थप ब्यक्तिहरु उपस्थित हुनेबाटो बन्द भएको थियो। दिदी बहिनीहरुले पनि भनेका थिए- बुढी कन्याहरुलाई हेर्न फेरि कुनै केटा आउदै छ हेर्न भनी छिमेकीहरुले घोचपेच मात्र गर्ने छन्। अरुको आँङमा जुम्रा हिडेको देख्ने आफ्नोमा भैसी हिँडेको नदेख्ने छिमेकिहरुबाट कुरा काट्ने काम वाहेक अरु केही पनि आस गर्न सकिदैन।
कोठाको पश्चिमतिर रहेको दुइवटा सोफामा केटा,केटाका बाबु आमा र परिबार केही अन्य वरिष्ट सदस्यहरु बसेका थिए। केटाको बाबुले तिनलाइ विशेष महत्व दिएको हुनाले तिनीहरु त्यस परिवारका थप वजन सहितको विशेष सदस्य भएको प्रतीत हुन्थ्यो।
दुबै पक्षहरु बिच भएको अग्रिम मञ्जुरी अनुरुप नै भेटघाट र कुराकानी गर्ने कार्य सम्पन्न भयो। दुई तिन घण्टको बसाइ पछि केटा पक्ष बिदा लिएर गयो।
भेटघाट, कुराकानी मात्र भनी नामाकरण गरिएको कार्यक्रम छिटै सकिएकोमा केटी पक्ष खुसीनै देखिए। आमाले सबै छोरीहरुतिर मुख फर्काएर सोधिन ‘केटा कस्तो रहेछ?’ प्रस्न सोधी सकेपछि उनको आँखा भने जेठी छोरीतिर केन्द्रित हुन पुगेको थियो।
‘एकदम हैण्डसम’ सवै दिदी बहिनीहरुको मुखवाट एकैपटक निस्केको । माहिलीले थपी ‘हिरो जस्तो’। यो छोटो कुराकानी सकिएपछि सवै केहि समय सम्म हाँसे।
एक हप्ता बित्यो केटा पक्षबाट कुनै प्रतिक्रिया आएन। उताबाट कुरा ल्याउनेले एक हप्ता भित्रै टुङो लगाउने भनेको थियो। दोस्रो हप्ता पनि बित्यो । बाबु आमा दुबैको धैर्यको बाँध टुट्यो। बाबुले भने ‘होइन, अब त हामीले नै सोध्नु पर्ला जस्तो छ? केटाको घरमै फोन गरौ?’
आमाले सचेत पार्दै भनिन् ‘कस्तो कुरा गरेको? त्यस्तो गरेर आफ्नो हात तल पार्नु हुन्छ, कै?’ आमाको कुरा बालाई पनि चित बुझ्यो। छोरीहरुले शब्द उच्चारण नगरी केवल सहमतिमा सिर हल्याए मात्र।
भेटघाट कुराकानी भएको तेस्रो हप्ताको पहिलो दिन दुवैतिरको कुरा ल्याउनेहरु एकैपटक उपस्थित भए। ती दुबैको आँखामा खुसीको भाब कतै नदेखिए पछि आमाले हतारिदै केटा पक्षवाट कुरकानी अगाडि बढाउनेलाइ प्रश्न गरिन ‘के भने त, कमल बाबु तिनीहरुले? एक हप्ता भित्रमै खबर ल्याउछु भन्नु भएको थियो, तपाँइले त।’
केटा पक्षबाट कुराकानी अगाडि बढाउनेले मुख खुमच्याउदै उत्तर दियो ‘महाको लोभी रहेछन् सालेहरु। राम्रै भयो,कुरा धेरै अगाडि बढन पाएन। के दिनु त्यस्ता निचहरुको घरमा छोरी? आफुलाइ एम ए पास, क्यामपसमा पढाउँछु भन्ने तर महाको लोभी। बाबु आमा पनि त्यस्तै।’
आमालाइ असह्य भयो। उनले भनिन ‘कमल बाबु, कुरा छोट्याएर खास कुरा के हो त्यो भन्नुहोस न।’
केटा पक्षबाट कुराकानी अगाडि बढाउनेले आँखा ठुलो पार्दै भन्यो ‘ केटालाई मोटरसाइकल चाहिने रे। सोफा दराज त साधारण कुरा भयो रे। अनि कसरी थाहा पाएछन, तपाँईको चारवटा घडेरीहरु काठमाडौमा छन्। ती मध्ये ती लोभीहरुलाई एउटा घडेरि पनि चाहिने रे।’
आमा र बाबु दुबैको आँखा क्रोधले राता राता भए। तैपनि आफूलाइ नियन्त्रणमा राखे। कान्छी छोरीले भने आफुलाइ नियन्त्रणमा राख्न सकिन र भनी ‘त्यस्ताले त बिहे गर्ने होइन चोरी गर्नु पर्दछ। आजकाल चोरी ब्यवसाय काठमाडौमा खुब फष्टाएको छ।’
कान्छीको प्रतिक्रियामा केटीतिरबाट कुराकानी अगाडि बढाउनेले सहमतिमा सिर हल्यायो।
केटातिरबाट कुराकानी अगाडि बढाउनेले पनि सहमतिमा सिर हल्यायो। केटीतिरबाट कुराकानी अगाडि बढाउनेले थप्यो ‘ मलाई त पहिले नै लागेको थियो ,तिनीहरुसंग हाम्रो सम्बन्ध हुनसक्तैन भनेर। हेर्दै छट्टु होलान जस्ता थिए, मोराहरु। केटाको बाबु त, कुरा गर्नु कता हो कता, कहिले झ्यालबाट गाडितिर हेर्ने, कहिले आँगनतिर। कहिले कोठाहरुतिर त, कहिले टिभी र दराजहरु तिर, आँखा घुमाइ घुमाइ। यो जमानामा पनि दाइजो माग्ने? छि कस्ता लाछीहरु। घिन लाग्दा ……..।’
केटीतिर बाट कुराकानी अगाडि बढाउनेको भनाइ सकिन मात्र के पाइको थियो बाबुले कुरा छोट्याउने अभिप्राय दर्शाउदै भने ‘जे हुनु थियो त्यो भयो । अबदेखि भने अलि सोचेर कुरा अगाडि बढाउनु पर्ला।’
छोरीहरुले बाको कुरा सुने । केही प्रतिक्रिया व्यक्त गर्ने उत्सुकता चाहिँ देखाएनन्।
बाले लामो साँस फेरे। त्यहाँ उपस्थित सबैलाइ पालै पालो हेरे अनि फेरि भने ‘के गर्ने ? उनीहरुले भनेको कुराहरु दिएर नै भए पनि बिबाह गर्ने हो त?’
बाको त्यो प्रस्ताबमा तुरुन्तै बिरोध गर्दै आमाले भनिन ‘के त्यस्ता लोभीहरुसंग सम्बन्ध गाँस्ने? अहिले जग्गा देउ भन्दैछन। भोलि घर बनाइ देउ भन्लान। त्यस्ता लोभीहरुको के भर?’
आमाको त्यो प्रतिक्रियामा छोरीहरुले कुनै मनसाय प्रकट गरेनन्। मौन बसे। केटी पक्षबाट कुराकानी अगाडि बढाउनेले भन्यो ‘त्यस्ताको घरमा सम्बन्ध गाँसेर छोरीको जिन्दगी बरबाद गर्नु पनि हुदैन।’
यो भनाइमा केटा पक्षबाट कुराकानी अगाडि बढाउने ले पनि सहमति जनायो र भन्यो ‘केही चिन्ता लिनु पर्दैन दाइ, खुट्टा सलामत रहनु पर्दछ ,जुत्ता जति पनि पाइन्छ।’
केटा पक्षबाट कुराकानी अगाडि बढाउने हतारिदै उठ्यो। हातको घडी हेर्दै उसले केटीहरुका बालाई भन्यो ‘दाइ अब म लाग्छु, अफिस जाने बेला पनि हुनथाल्यो।’
उसको पछि पछि केटी पक्षबाट कुराकानी अगाडि बढाउने पनि हिड्यो।
दुबै सरासर घरतिर लागे। केटी पक्षबाट कुराकानी अगाडि बढाउने केटातिरका मान्छेहरुले देखाएको व्यवहार आफूलाई पटक्कै चित्त नबुझेको भाव मुहारमा प्रदर्शित गर्दै भन्यो ‘निचहरु रहेछन् तिनीहरु त, है। मुखै खोलेर दाइजो माग्ने हो त, त्यसरी?’ केटा पक्षबाट कुराकनी अगाडि बढाउनेले प्रतिक्रिया स्वरुप बिस्तारै भन्यो ‘के को निच हुनु केटा पक्षहरु , के को दाइजो माग्नु तिनीहरुले, खासमा, बिहे नै गर्न मानेन। केटा, केटाको बाबु र आमा, सबैलाइ ती केटीहरुको लगाइ, खवाइ, नक्कल, झक्कल मन परेन। उत्ताउलो लाग्यो रे।’
केटी पक्षबाट कुराकानी अगाडि बढाउनेले आश्चर्य मान्दै सोध्यो ‘अनि, कमल जी, केटीहरुका बाबु आमा र ती केटीहरुलाई तपाँईले भन्नु भएका ती कुराहरु नि त………..?’
केटा पक्षबाट कुराकानी अगाडि बढाउनेले हाँस्दै भन्यो ‘ती कुराहरु, कथा थिए, मन गढन्त ………….।’

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 21 जेठ, 2071

लेखकका अन्य रचनाहरु